Author Topic: तामाङ साहित्यिक पत्रिका : स्थिति, चुनौती र सम्भावना  (Read 6450 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
तामाङ साहित्यिक पत्रिका : स्थिति, चुनौती र सम्भावना
अमृत योन्जन–तामाङ

१. परिचय

तामाङ पत्रपत्रिकाको इतिहासमा पहिलो देखा परेको पत्रिका हो म्हेन्दो

(पूmल) । वि.सं. २०१६ वैशाख पूर्णिमाको दिन भोजपुरबाट निस्केको यो पत्रिका हस्तलिखित पत्रिका थियो । भोजपुरका मोक्तान भाइ र गणेश योन्जनद्वारा सम्पादित यो पत्रिका ११ पृष्ठको थियो र जम्मा २० प्रति निस्केको जानकारी सम्पादकीयमा छ । यसपछि दोस्रो पत्रिकाको रुपमा थ्वीनडेल पत्रिका प्रकाशित भयो । यो छापा पत्रिका थियो । २०३३ मा काठमाडौँबाट प्रकाशित यो पत्रिका २८ पृष्ठको थियो । यसपछि छापा पत्रिकाले निरन्तरता पायो । पछि क्रमशः काठमाडौँ उपत्यका बाहिरबाट पनि तामाङ पत्रिका प्रकाशन हुन थाल्यो । नेपालबाहिर दार्जिलिङ, सिक्किम, आसाम, जापान, मलेसियाबाट पनि डेढ दर्जनभन्दा धेरै तामाङ पत्रपत्रिका प्रकाशित भएका छन् । ५० वर्षको इतिहासमा दैनिक पत्रिकाबाहेक अन्य विभिन्न प्रकारका पत्रपत्रिका, जस्तै–साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक पत्रपत्रिका देखा परेका छन् । २०१६ देखि २०६२ (२००६) सम्ममा अर्थात् ४६ वर्षको अवधिमा ७३ शीर्षकमा तामाङ पत्रपत्रिका प्रकाशित भइसकेको अभिलेख छ ।ज्ञ २०६२ यता पनि म्हारमेन (माघ २०६३) साप्ताहिक, तामाङ सरोकार (मङसिर २०६७) पाक्षिक लगायत अन्य आधा दर्जन जति पत्रपत्रिका प्रकाशित भएका छन् ।

तामाङ पत्रपत्रिकाको चाङभित्र तामाङ साहित्यिक पत्रिका निकै खोज्नु पर्ने हुन्छ । पहिलो पत्रिका म्हेन्दो (२०१६) साहित्यिक पत्रिका थियो । थ्वीनडेल (२०३३) मा साहित्यिक सुगन्ध भरिएको थियो । स्योम्हेन्दो (जेठ २०४५) तिप्लिङ (२०५१) आदिलाई पनि साहित्यिक पत्रिकाको रुपमा दर्ज गर्न सकिन्छ । तामाङ डाजाङ (जेठ २०५०) साहित्यिक पत्रिकाकै रुपमा देखापरेको छ । खोजखाज गर्दा १० ओटा जति पत्रिकालाई तामाङ साहित्यिक पत्रिकाको रुपमा स्थापना गर्न सकिन्छ ।

यस लेखमा तामाङ केन्द्रित सामग्री प्रकाशित भएको पत्रपत्रिकालाई मात्र ‘तामाङ पत्रिका’ भनिएको छ र तामाङ भाषामा छापिएको साहित्यिक सामग्रीलाई मात्र ‘तामाङ साहित्य’ भनिएको छ ।द्द यसैगरी ६० प्रतिशत भन्दा धेरै साहित्यिक सामग्री प्रकाशित भएका पत्रिकालाई ‘तामाङ साहित्यिक पत्रिका’ भित्र राखिएको छ । फाटफुट रुपमा मात्र तामाङ साहित्यिक सामग्री छापिएको पत्रपत्रिकालाई यहाँ तामाङ साहित्यिक पत्रिकाको श्रेणीमा राखिएको छैन ।

यस लेखमा परिचयपछि तामाङ पत्रपत्रिकाको बारेमा जानकारी सहज होस् भनेर कालविभाजन गरिएको छ । प्रत्येक कालको सङ्क्षिप्त जानकारीका साथै कालीन प्रकृति र प्रवृत्ति पनि प्रस्तुत गरिएको छ । कालविभाजनबाट पत्रपत्रिकाको इतिहास बुझ्न सजिलो हुनेगर्दछ । यसपछि साहित्यिक पत्रपत्रिकाको वर्तमान स्थितिको अवलोकन गर्दै यसले सामना गरिरहेको चुनौतीलाई बुझने प्रयास भएको छ र अन्त्यमा निष्कर्षसहित साहित्यिक पत्रिका विकासका लागि अबको बाटो के हुनु पर्ने हो ? सोबारे पनि यो लेख केन्द्रित छ ।

२. कालविभाजन र कालीन प्रवृत्ति

कुनै पनि क्रियाकलाप वा उपलब्धिको लामो परम्परालाई कालविभाजन गरेर अध्ययन गर्ने विश्व परम्परा रहिआएको छ । तामाङ पत्रिकाको ५० वर्षको लामो परम्परालाई पनि विभिन्न कालखण्डमा राखेर अध्ययन गर्नु समोचित देखिन्छ । कालखण्डलाई कसरी विभाजन गर्ने यो चुनौतीपूर्ण कार्य हो तर पनि अर्धशताब्दी लामो तामाङ पत्रिकाको इतिहासलाई मूलतः दुई आधारमा कालविभाजन गर्न सकिन्छ – (१) राजनीतिक कालखण्डको आधारमा (२) प्रकाशित सामग्रीको स्वरुप र प्रवृत्तिको आधारमा अर्थात् गुदी कुराको क्रमभङगताको आधारमा ।
राजनीतिक इतिहासको आधारमा तामाङ पत्रपत्रिकालाई (१) प्रजातन्त्रकाल (२००७–२०१६), (२) पञ्चायतकाल (२०१७–२०४६), (३) प्रजातन्त्र पुनस्र्थापनाकाल (२०४७–२०६२) र (४) लोकतन्त्रकाल (२०६३ देखि यता) मा विभाजन गर्न सकिन्छ । यी सबै कालखण्डमा तामाङ पत्रपत्रिका प्रकाशित भएका पनि छन् । राजनीतिक कालविभाजनको आफ्नै खाले महŒव त छ तर यस प्रकारको कालविभाजनबाट विषयगत ज्ञान उपलब्ध हुनसक्दैन ।घ यसबाट तामाङ पत्रपत्रिकाको गुदी कुरा भेटाउन र प्रकृति एवं प्रवृत्तिको भेउ पाउन गाह्रो हुन्छ । राजनीतिक परिवर्तनको छाप साहित्यिक रचना र पत्रपत्रिकामा नपरेको पनि हुन सक्दछ । उदाहरणको लागि प्रजातन्त्रकाल वा पञ्चायतीकालको प्रतिबिम्ब तामाङ पत्रपत्रिका र पुस्तकपुस्तिकामा कही पाउन सकिदैन । तामाङ प्रकाशनको दृष्टिमा यी दुई कालका तामाङ पत्रपत्रिकामा कुनै तात्विक भेद पनि छैन । तसर्थ यस प्रकारको कालविभाजनबाट के कति पत्रपत्रिका त्यस कालमा निस्के भन्ने जानकारी बाहेक अन्य थप सूचना हात पर्दैन । यसर्थ कालविभाजन विभाजनकै लागि मात्र हुने सम्भावना हुन्छ । यसर्थ यस लेखमा राजनीतिक कालखण्डलाई एकातिर पन्छ्याएर पत्रिकाको प्रकृति र प्रवृत्तिको आधारलाई पछ्याएर काल विभाजन गरिएको छ । यस आधारमा तामाङ पत्रिकाको परम्परालाई निम्न तीन खण्डमा वर्गीकरण गर्न सकिन्छ –

(१) पूर्व–स्योम्हेन्दो काल (२०१६–२०४४)
(२) स्योम्हेन्दो काल (२०४५–२०५८)
(३) तामाङ डाजाङ काल (२०५९ देखि हालसम्म)



(१) पूर्व–स्योम्हेन्दो काल (२०१६–२०४४)

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल कब्जा गर्ने योजना तयार गरी १८०१ मा नुवाकोट कब्जा गरेपछि उनको त्यो अभियान निरन्तर जारी रह्यो र १८७२ मा (सन् १८१६) मा सुगौली सन्धी भएपछि अभियानको अन्त भयो र हालको नेपालको सीमाना कायम भयो । १९०३ सालमा जङ्गबहादुरले राणा शासनकालको प्रारम्भ गरे । यो जाहनीया शासन क्रुरतम् बन्दै गएपछि राणा शासनको विरूद्ध नेपाली जनता उठन थाले र राणाशासन ढालेर २००७ को फागुन ७ गते प्रजातन्त्रको स्थापना गरे । राणाकालमा कुनै तामाङ पत्रपत्रिका मात्र होइन पुस्तकपुस्तिका समेत प्रकाशन हुन सकेन । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि पनि तामाङ साहित्य जगतमा २०१६ सम्म प्रजातन्त्र आएको कुनै अनुभूति भएको पाइदैन । प्रजातन्त्र स्थापना भएको एक दशकपछि २०१६ वैशाख महिनामा भोजपुरबाट मोक्तान भाइ र गणेश योन्जनको सम्पादनमा हस्तलिखित पत्रिका म्हेन्दो (फुल) निस्केको थियो र यो पत्रिका नै पहिलो तामाङ पत्रिकाको रुपमा स्थापित भएको छ ।

स्योम्हेन्दो मासिक पत्रिकाको प्रकाशन जेठ २०४५ देखि प्रारम्भ भएको थियो । यसभन्दा अगाडिको कालखण्डमा प्रतिनिधिमूलक पत्रिका नदेखिएकोले यस कालखण्डलाई पूर्व–स्योम्हेन्दो काल भनिएको हो । यस कालखण्डमा म्हेन्दो (२०१६), थ्वीनडेल (२०३३), फ्याफुल्ला (२०३८, फेब्रुअरी १९८२), बुलेटिन (२०४०, रिमठिम (२०४२) र पूmलबारी (२०४२) गरी ६ ओटा पत्रिका प्रकाशित भएको पाइन्छ र यीमध्ये म्हेन्दो, थ्वीनडेल र पूmलबारी पत्रिकालाई मात्र साहित्यिक पत्रिकाको रुपमा पहिचान गर्न सकिन्छ ।

जम्मा ११ पृष्ठको म्हेन्दो पत्रिकामा तामाङ भाषाका ६ ओटा कविता छ र सम्पादकीय नेपाली भाषामा लेखिएको छ । यसपछि २०३३ सालमा टासीफिन्जो लामा र इमानसिंह लामाको सम्पादनमा थ्वीन्डेल पत्रिका प्रकाशित भयो । यहाँ पूर्वी तामाङ भाषा र पश्चिमी तामाङ भाषाका लोकगीत तथा लोककविता नेपाली व्याख्यासहित छापिएको छ । यसपछि २०४२ मा चन्द्रकुमार मोक्तान र लालबहादुर वाइबाको सम्पादनमा पूmलबारी पत्रिका प्रकाशित भयो । यस पत्रिकामा २० ओटा तामाङ गीत प्रकाशित छ र १२ ओटा नेपाली गीत–कविता पनि छ । तामाङ भाषामा एउटा विचार अंश पनि छ जसलाई तामाङ निबन्धको प्रारम्भिक रुप मान्न सकिन्छ ।

अखिल भारतीय तामाङ बौद्ध सङ्घ, दार्जिलिङको मूखपत्रको रुपमा प्रकाशित फ्याफुल्ला (नमस्ते) पत्रिकामा प्रायः संस्थाको गतिविधि छापिने गर्दथ्यो र गर्दछ । यो पत्रिका फेब्रुअरी १९८२ देखि बुद्धकुमार मोक्तानको सम्पादनमा प्रारम्भ भएको थियो । यसैगरी १ पुष २०४० मा तामाङ भाषा तथा संस्कृति विकास समितिको मुखपत्रको रुपमा सीताराम तामाङको सम्पादनमा बुलेटिन–१ प्रकाशित भयो । यस बुलेटिनमा दुईओटा तामाङ कविता छापिएको छ र अन्य गैरसाहित्यिक सामग्री छन् । यसैगरी सीताराम तामाङ कै सम्पादनमा रिमठिम (संस्कृति) पत्रिका प्रकाशित भयो तर यहाँ तामाङ भाषामा सामग्री पाइदैन । यसरी हेर्दा म्हेन्दो, थ्वीन्डेल, पूmलबारी पत्रिकालाई मात्र साहित्यिक पत्रिकाको श्रेणीमा राख्न सकिन्छ ।

यस कालमा म्हेन्दोले लक्ष्यबहादुर योन्जन, देवबहादुर योन्जन, धनप्रसाद तामाङ, सर्वध्वन मोक्तान र काजी तामाङ जन्माए तर उनीहरु पछि कतै देखा पर्दैनन् र थ्वीनडेलले जन्माएका कविहरु पनि कतै देखा परेनन् । यसैगरी पूmलबारीमा देखा परेका कविहरुमध्ये चन्द्रकुमार मोक्तान र लालबहादुर वाइबा पछिल्लो कालखण्डमा पनि देखा परे तर उनीहरु कसैले पनि पुस्तकाकारमा आफ्ना कृति प्रकाशित गरेका छैनन् ।

यस कालखण्डका पत्रपत्रिकाको विशेषता भनेको (फ्याफुल्ला बाहेक) एक÷एक अङ्क निस्केर बन्द हुनु हो । पत्रिकाहरुमा फुटकर कविता र गीत छापिएका छन् । कथा, निबन्ध, नाटक विधाका सामग्री प्रकाशित भएको पाइदैन । यस कालमा विशेष गरी पूर्व–आधुनिक कालका साहित्यिक सामग्री अर्थात् परम्परागत जीवन शैलीका लोकसाहित्यिक सामग्रीहरु प्रकाशित भएका छन् ।

(२) स्योम्हेन्दो काल (२०४५–२०५८)

अमृत योन्जन, प्रताप बल, लामा पि. पाख्रिन, लादुराम तामाङ आदि ८ जनाको सम्पादनमा स्योम्हेन्दो (बिहानीको पूmल) मासिक पत्रिका जेठ २०४५ देखि प्रारम्भ भएको थियो । यस पत्रिकाको प्रारम्भ भएपछि (१) तामाङ पत्रपत्रिकाको प्रकार लेख्न थालेको पाइन्छ – मासिक, पाक्षिक, साप्ताहिक आदि भनेर, (२) एक एक अङ्क मात्र निस्केर बन्द हुने पत्रिकाको परम्पराको पनि अन्त भयो, (३) तामाङ साहित्यमा विचार र शैलीमा आधुनिकताले प्रवेश पायो, (४) फुटकर कविता, गीत, हाइकु, निबन्ध, नाट्य आदि विविध साहित्यिक सामग्रीको प्रकाशन प्रारम्भ भयो,

(५) खोजमूलक गैरसाहित्यिक सामग्री पनि प्रकाशन हुन थाल्यो । यसरी हेर्दा अगिल्लो कालखण्डको प्रकृति र प्रवृत्ति भङ्ग भएको र नयाँ परम्परा प्रारम्भ भएको प्रष्ट देखिन्छ । स्योम्हेन्दोको प्रकाशनबाट यस प्रकारका प्रवृत्ति देखिएको हुनाले यसै आधारमा यस कालखण्डलाई स्योम्हेन्दोकाल भनिएको हो ।

यस कालखण्डमा एक भाषा एक भेषको पञ्चायती शासन व्यवस्थाको अन्त भएर प्रजातन्त्रको पुनस्र्थापना (चैत्र २०४६) भएको थियो । नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाल ‘बहुजातीय, बहुभाषिक …. राष्ट्र’ भनेर नेपालको इतिहासमा पहिलो पल्ट बहुलतालाई स्वीकारिएको थियो । तामाङ भाषाको प्रयोग क्षेत्रको प्रयोग विस्तार प्रारम्भ भयो । यसै अवधिमा रेडियो नेपालबाट तामाङ भाषामा समाचार (भदौ २०५१) साथै भाषिक कार्यक्रम प्रसारण (असार २०५४) र तामाङ फिल्म (२०५२) को प्रदर्शन र पाठ्यक्रम तथा पाठ्यपुस्तकको निर्माण (२०५४) आदि कार्यको प्रारम्भ भएको थियो । यसरी मातृभाषाको प्रयोग विस्तार र विचार अभिव्यक्तिमा पनि जागरण आउन थालेको देखिन्छ ।

यस कालखण्ड (२०४५–२०५८) मा अर्थात् १३ वर्षको अवधिमा स्योम्हेन्दो (२०४५) पछि कोकोम्हेन्दो (माघ २०४६), याम्बु (असार २०४७), छारम्हेन्दो (मङसिर २०४८), डम्फुला स्हेर (साउन २०४९), तामाङ (पुस २०४९), छारग्याम

(सन् १९९३), ज्यारूङ–खस्योर (वैशाख २०५०), कोनडोङडोङ (असार २०५० हवाइपत्र), लास्सो (असोज २०५०), डम्फु मासिक (वैशाख २०५१), लारग्युङ (जेठ २०५१), जिन्लाप (सन् १९९४), रिमठिम (१९९५), तिप्लिङ (२०५१ हवाइपत्र), दिनीम्हेन्दो (वैसाख २०५२), ह्युल्सा (मङसिर २०५२), हेराङ (२०५२), तिल्पुङ (साउन २०५३), छारग्याम (कार्तिक २०५३), सैलुङ (माघ २०५३), शान्ति (डिसेम्बर १९९९), नाङसाल (२०५८) आदि गरी ४८ ओटा शीर्षकमा तामाङ पत्रपत्रिका प्रकाशित भएका छन् । तर यी सबै पत्रिका साहित्यिक पत्रिका होइनन् ।
यीमध्ये स्योम्हेन्दो, तिप्लिङ, सैलुङ र नाङसाल पत्रिका मात्र साहित्यिक पत्रिका भन्न सकिने अवस्थामा छन् । यी पत्रिकाहरुमा अत्याधिक सामग्री साहित्यिक सामग्री छन् । स्योम्हेन्दो पत्रिका जेठ २०४५ देखि प्रारम्भ भएको हो र २०५२ सम्ममा २३ अङ्क सम्म प्रकाशित भएको देखिन्छ । केही हदसम्म यसले साहित्य प्रकाशनलाई निरन्तरता दिएको थियो । यीमध्ये तीन÷चारओटा अङ्क तामाङ कविता विशेषांक रुपमा पनि प्रकाशित भएको पाइन्छ । प्रारम्भिक अङ्कहरुमा साहित्यिक सामग्री धेरै भएकोमा पछिल्ला अङ्कहरुमा कम हँुदै गएको देखिन्छ । परम्परागत शैलीमा नै केन्द्रित तामाङ साहित्यलाई यस पत्रिकाले आधुनिक चिन्तन र जीवनशैलीमा आधारित कविताको प्रकाशन प्रारम्भ गरेको प्रष्टै देखिन्छ । यस प्रकारको सिको पछिका प्रायः सबै पत्रपत्रिकाले गरेका छन् । यस आधारमा पनि स्योम्हेन्दोलाई प्रतिनिधि पत्रिका मानिएको हो ।

यसपछि दुपवाङ्गेल मोक्तानको सम्पादनमा तिप्लिङ (२०५१) हवाइपत्रको प्रकाशन प्रारम्भ भएको थियो । यो हवाइपत्र ५ अङ्कसम्म प्रकाशित भएर बन्द भयो । यो साहित्य प्रधान पत्रिका थियो । यसैगरी रमेशकुमार तामाङको सम्पादनमा सैलुङ एक अङ्क मात्र प्रकाशित भयो । यो कथा अङ्कको रुपमा प्रकाशित भएको थियो । प्रतीक ङ्यासुरको सम्पादनमा नाङ्साल १९ अङ्कसम्म प्रकाशित भएर बन्द भयो र यसले साहित्यिक सामग्री प्रकाशनमा जोड दिएको देखिन्छ । यसैगरी अन्य पत्रपत्रिका विशेषगरी याम्बु, छारम्हेन्दो, डम्फुला स्हेर, तामाङ, ज्यारूङ–खस्योर, कोनडोङडोङ, लास्सो, लारग्युङ, दिनीम्हेन्दो, हेराङ, तिल्पुङ, शान्ति आदि पत्रिकाले पनि धेरथोर साहित्यिक सामग्री प्रकाशित गरेको पाइन्छ ।

यस कालखण्डमा फुटकर कविता र गीतका साथै हाइकु, कथा, निबन्ध, नाटक, पत्र, लोकसाहित्य आदि विधाको सामग्री प्रकाशन भएको पाइन्छ । यस कालखण्डका पत्रपत्रिका मार्फत् देखिएका साहित्यकारहरु अमृत योन्जन, ध्यानबहादुर मोक्तान, दुपवाङ्गेल मोक्तान, लामा धर्मराज तामाङ, प्रताप बल, अमात चोथेन, शङ्खबुद्ध लामा, निर्मलकुमार लामा, कृष्ण तामाङ, दिलबहादुर ब्लोन, विगेन्द्रसिं वाइबा, मोहन घिसिङ, रमेशकुमार तामाङ, मानध्वज ब्लोन आदि आआफ्ना साहित्यिक कृतिसहित पनि देखापरेका थिए । यस कालखण्डका अधिकांश साहित्यकारहरुले एकीकरण, व्यापकता, नवीनता, आधुनिकता र वैज्ञानिकताको पक्षमा वकालत गरेका छन् अर्थात् आधुनिक साहित्यको सिर्जना भएको पाइन्छ ।


sag

  • VIP
  • ******
  • Posts: 742
(३) तामाङ डाजाङ काल (२०५९ देखि हालसम्म)

दोस्रो कालखण्ड अर्थात् स्योम्हेन्दोकालमा प्रकाशित प्रायः सबै पत्रपत्रिकाहरु साहित्यिक वा साहित्य प्रधान पत्रिकाको रुपमा प्रकाशित हुनसकेको थिएन । केहीले प्रारम्भ गरे तर केही अङ्क निस्किेर बन्द भएका थिए । स्योम्हेन्दो पनि बन्द भइसकेको थियो । त्यस कालका अधिकांश पत्रपत्रिका सङ्घसंस्थाको मुखपत्रको रुपमा प्रकाशित हुन थालेको र संस्थाका गतिविधि र विचारप्रवाहमा नै केन्द्रित थियो । अर्कोतिर प्रायः सबै पत्रपत्रिका तामाङ भनिएता पनि नेपाली भाषामा नै प्रकाशित हुन्थ्यो । सामग्री प्रकाशनको दृष्टिले प्रजातन्त्रको पुनस्र्थापना भइसक्दा पनि प्रजातान्त्रिक प्रतिबिम्ब ती पत्रपत्रिकामा देखा पर्न सकेको थिएन, येनकेनप्रकारेण परम्परालाई धान्दै थिए । यी पत्रिकाहरुले कलान्तरमा एकालाप आवाज मात्र बोकेको देखिन्थ्यो । यस्तो परिस्थितिमा यी एकालापको परम्परालाई तोडेर फट्को मार्न आवश्यक थियो र यो कार्य तामाङ डाजाङ (तामाङ मञ्च) नामक मासिक पत्रिकाले प्रारम्भ गरेको पाइन्छ ।
यस कालखण्डमा तामाङ डाजाङपछि पुपुम्हेन्दो (भदौ २०५९), ह्याङ्ला पाक्षिक (मङ्सिर २०५९), छारगोङमा (जेठ २०६०), ग्रेनग्याम (२०६०) प्राङबोला छारन्हान (२०६०), छ्योर्तेन (मङ्सिर २०६२), ताम्सालिङ (माघ २०६२), दोखाङ (२०६२) म्हारमेन (माघ २०६३), तामाङ सरोकार (मङ्सिर २०६७) आदि दुई दर्जन भन्दा धेरै शीर्षकमा पत्रपत्रिका प्रकाशित भएका छन् ।

तामाङ डाजाङ नामक साहित्यिक संस्था चैत्र २०५८ मा स्थापना भएको थियो । यस संस्थाबाट प्रकाशित र सम्पादित तामाङ डाजाङ नामक मासिक पत्रिकाको प्रकाशन वैशाख २०५९ देखि समाचारपत्रको आकारमा प्रारम्भ भयो । यो पत्रिका प्रारम्भदेखि अहिलेसम्म नै तामाङ भाषाको साहित्यिक पत्रिकाको रुपमा प्रकाशित भइरहेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार काठमाडौँमा तामाङ साहित्यिक कार्यक्रम हुने र सो कार्यक्रममा पाठ गरिएका साहित्यिक सामग्री र अन्य तामाङ गतिविधिसहित आउँदो महिनामा प्रकाशित हुने परम्परा यस पत्रिकाले बसालेको पाइन्छ । यसरी यस संस्थाले पुस २०६७ सम्ममा तामाङ साहित्यिक कार्यक्रमको ९२ औं श्रृङ्खला सम्पन्न गरिसकेको छ र पत्रिकाको ७० औं अङ्क पनि प्रकाशित गरिसकेको छ । साहित्यिक सामग्री प्रकाशनको नियमित निरन्तरता यस पत्रिकाले वहन गरेको पाइन्छ । गत ९ वर्षमा यससँग सम्बन्धित भएर भगिनी संस्थाहरु जन्मेको र साहित्यिक पत्रिका पुपुम्हेन्दो (भदौ २०५९), प्राङ्बोला छान्न्हान (२०६०) आदि पनि प्रकाशित भएका छन् । साहित्य केन्द्रित तामाङ पत्रिका प्रकाशनको निरन्तरता र विस्तारको अवधारणाले गर्दा यस कालखण्डलाई तामाङ डाजाङ काल मानिएको हो । यस कालका साहित्यिक पत्रिकाहरुमा तामाङ डाजाङ प्रतिनिधि पत्रिकाको रुपमा देखा परेको छ ।

यस कालखण्डमा काभ्रेबाट साहित्यिक पत्रिकाको रुपमा पुपुम्हेन्दो (कोपिला) र सिन्धुलीबाट प्राङबोला छारन्हान (गरीबको चौतारी) प्रकाशित हुन थाल्यो । पुपुम्हेन्दो समाचारपत्र आकारमा साहित्यिक सामग्रीसहित प्रकाशित हुन्थ्यो र ७ अङ्कसम्म प्रकाशित भएर बन्द भएको छ । यस पत्रिकाले साहित्यिक गोष्ठीका साथै गोष्ठीमा पठित साहित्यिक सामग्रीको प्रकाशनसमेत गरेर काभ्रेका तामाङ साहित्यिक आन्दोलनको जग बसाएको देखिन्छ । यसैगरी प्राङबोला छारन्हानले सिन्धुलीको साहित्यिक सिर्जना र गतिविधिलाई उठाउने काम गर्दै आएको छ । यस पत्रिकाले २५ औं अङ्क सम्मको यात्रा तय गरिसकेको छ ।

यसका साथै छारगोङमा (नयाँ पाइलो), नाङसाल (दीयो) मासिक, ह्याङ्ला पाक्षिक (हाम्रो पाक्षिक), छ्योर्तेन मासिक, म्हारमेन सप्ताहिक (बत्ती), ताम्सालिङ सप्ताहिक, दोखाङ (लक्ष्य), म्हारमेन आदि पत्रपत्रिकाले पनि केही मात्रमा साहित्यिक सामग्री प्रकाशन गर्नेगरेका छन् ।

यस कालखण्डका साहित्यिक पत्रपत्रिकामा फुटकर कविता, गजल, ताङ्काका अतिरिक्त कथा, गीतिकथा, उपन्यास, जीवनी, डायरी, बालसाहित्य, अनुवादसाहित्य आदि विधाका सामग्री प्रकाशित भएको पाइन्छ । यस कालखण्डमा अर्थात् गत दशकभित्र अनगिन्ती साहित्यकारहरु देखापरेका छन् । दीपेन्द्र दोङ, योगबहादुर घिसिङ, इन्द्रराम मोक्तान, कुमारी तामाङ, क्रान्ति लामा, बुद्ध योन्जन, यकिना अगाघ, काजिमान थिङ, नेपालप्रशाद स्याङतान, सिर्जना गोले, लिलाबहादुर तामाङ, अस्मिता थिङ ‘म्हेन्दो’ आदि यस कालखण्डका पत्रपत्रिकामा देखा परेका साहित्यकार हुन् । उनीहरुले साहित्यिक कृतिसमेत प्रकाशित गरेका छन् । यसकालका रचनाकारहरु मूलतः स्वपहिचान, सङ्घीयता र स्थानीयता, समावेशीतिर उन्मुख छन् र मूलधारको केन्द्रिकृत शक्ति, संरचना र संस्कृतिको विनिर्माणतिर उन्मुख देखिन्छन् । मूलतः पहिचानको संस्कृति र स्थानीय जीवनयापनतिर बढी आकर्षित देखिन्छन् । यस आधारमा हेर्दा यस कालका रचनाहरु विशेषगरी २०६२ पछिका तामाङ साहित्यिक रचनाहरु उत्तरआधुनिकतातिर उन्मुख भएको देखिन्छ ।


३. स्थिति, चुनौती र सम्भावना

स्थिति जहिले पनि वर्तमान सन्दर्भसँग गाँस्सिएको हुन्छ । अहिले साहित्यिक पत्रिका दाबी गर्न सक्ने एक मात्र पत्रिका हो – तामाङ डाजाङ । यो पत्रिका २०५० देखि मासिक रुपमा नियमित प्रकाशित भइरहेको छ । २०६७ को पुष सम्ममा ७० औ अङ्क निस्केको छ । यसको निरन्तरताको लागि तामाङ डाजाङ संस्था सक्रिय देखिन्छ । अर्को अर्ध–साहित्यिक पत्रिका हो प्राङबोला छारन्हान । यो पत्रिका सिन्धुलीबाट प्रकाशित हुनेगरेको छ कहीले नियमित र कहिले अनियमित ढङ्गले । २०६७ को पुससम्ममा २५ अङ्क प्रकाशित भइसकेको छ । नियमित प्रकाशित भइरहेको अर्को पत्रिका हो – छारगोङमा । प्रतीक तामाङद्वारा सम्पादित छारगोङमा गैरसाहित्यिक पत्रिका हो । तर पनि यसले नियमित रुपमा १÷२ पृष्ठ साहित्यलाई छुट्याएको पाइन्छ । हाल दुई ओटा समाचार तथा विचारमूलक पाक्षिक पत्रिका ह्याङ्ला पाक्षिक र तामाङ सरोकार प्रकाशित हुन थालेको छ र यी पत्रिकाले पनि एक÷दुई ओटा साहित्यिक सामग्री प्रकाशन गर्ने गरेको छ । वास्तवमा तामाङ डाजाङ बाहेक अन्य कुनै साहित्यिक पत्रिका झुल्किन सकेको छैन । तामाङ डाजाङले नियमित रुपले २४ पृष्ठको साहित्यिक सामग्री प्रकाशन गर्नेगरेको छ । यस पत्रिकामा कविताबाहेक अन्य विधाका सामग्री फाटफुट मात्रमा प्रकाशित हुने गर्दछ । अझै समीक्षा र समालोचना विधाले स्थान पाउन सकिएको छैन ।

माथि भनिए झै साहित्यिक पत्रिकाको पृष्ठ थोरै भएकोले कविताविधा भन्दा अन्य विधालाई पर्याप्त स्थान दिन सकेको छैन । अन्य विधा अनुदित उपन्यास, कथा, निबन्ध तथा अन्य विविध फाटफुट रुपमा प्रकाशित हुनेगरेको छ । यसरी हेर्दा साहित्यिक पत्रिका फराकिलो हुनसकेको छैन, सबै विधालाई समान व्यवहार गर्न सकिराखेको देखिदैन । तामाङ साहित्यिक पत्रिकाको मुख्य चुनौती देखिन्छ – कसरी पृष्ठ बढाउने ? यसको अर्को चुनौती हो – निबन्ध, उपन्यास, नाट्य, समालोचना आदि विधाको प्रकाशनको लागि पनि पृष्ठको अभाव । तामाङ साहित्यिक शब्दावलीको निर्माण र प्रयोग विस्तार कसरी गर्ने अनि साहित्यिक पाठक कसरी बढाउने ? वितरण र आर्थिकको समस्या त जुनसुकै कालका पत्रपत्रिकाले सामना गरेकै चुनौती हो आदि । यी चुनौतीहरु साहित्यिक पत्रपत्रिकाको लागि निकै ठूलो बाधक बन्ने गरेको छ ।

चुनौती देखिनु भनेको सम्भावना बढनु हो । अहिलेको सन्दर्भमा एउटा पाठकले धेरै पृष्ठसहितको एउटा गतिलो र गहकिलो तामाङ साहित्यिक पत्रिकाको अपेक्षा गर्नु स्वाभाविक नै हुन्छ । पाठकको अपेक्षा बढेको हुन्छ भने परिपूर्तिको सम्भावना पनि बढेर जान्छ । प्रकाशनको लागि स्रोतको सम्भावनाहरुको खोजी हुनु आवश्यक छ । यसैगरी मातृभाषाको प्रयोग विस्तारका साथसाथै साहित्यिक सामग्रीको आवश्यकता र त्यसको परिपूर्तिको सम्भावना पनि प्रवल देखिदै छ ।

४. अध्ययनको सारांश र अबको बाटो

तामाङ भाषामा रचिएको साहित्य नै तामाङ साहित्य हो र अत्याधिक मात्रमा साहित्यिक सामग्री प्रकाशन गर्ने पत्रिका नै तामाङ साहित्यिक पत्रिका हो भन्ने जस्ता जानकारी माथि परिचयमा नै स्थापित भइसकेको छ । तामाङ साहित्यिक पत्रिकाको परम्परालाई अध्ययन सुविधाको लागि तीन कालखण्डमा वर्गीकरण गरिएको छ । प्रारम्भिक कालखण्डमा म्हेन्दो, थ्वीनडेल र पूmलबारी निस्केका थिए भने दोस्रो कालखण्डमा स्योम्हेन्दो, तिप्लिङ, सैलुङ र नाङसाल पत्रिका साहित्यिक तथा अर्ध–साहित्यिक पत्रिकाको रुपमा देखा परेका थिए । पछिल्लो कालखण्डमा तामाङ डाजाङ, पुपुम्हेन्दो र प्राङबोला छारन्हान देखापरेकोमा तामाङ डाजाङ मात्र नियमित छन् । यी पत्रिकाहरुले तामाङ साहित्यिक क्षेत्रमा तुलनात्मक रुपमा बढी सेवा पु¥याइएका छन् । अन्य तामाङ पत्रिकाले फाटफुट रुपमा भए पनि तामाङ साहित्यिक सामग्री प्रकाशन गर्ने गरेको छ । माथिको छलफलबाट प्रष्ट भइसकेको छ तामाङ साहित्यिक पत्रिका फस्टाउन सकिएको छैन । साहित्यिक रचनाले पूर्वआधुनिक, आधुनिक हुँदै उत्तरआधुनिकतिर फट्को मारिसक्दा पनि साहित्यिक पत्रिकाको स्थिति परापूर्वकालको जस्तै देखिन्छ, उत्साहविहिन । यो नै तामाङ पत्रिकाको चुनौतीको हो र यो पहाड जस्तै गरी उभिएको पनि छ । साहित्यिक पत्रिका प्रकाशनमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्नका लागि सम्बन्धित क्षेत्रलाई केही सुझाव प्रस्तुत गर्न सकिन्छ –
(१) तामाङ साहित्यिक पत्रिका नियमित भए पनि खासै गति लिनसकिराखेको छैन । जिम्मेवारीपूर्वक परम्परा निभाउने काम मात्र भएको देखिन्छ । सीमित पृष्ठले गर्दा साहित्यका विविध विधाहरु प्रकाशन हुनसकेको छैन । साहित्यिक पत्रपत्रिकाले थप पृष्ठको व्यवस्था गरेर विभिन्न साहित्यिक सामग्री र साहित्यिक गतिविधि प्रकाशन गरिनु आवश्यक छ ।
(२) आख्यान, निबन्ध र नाट्य विधाका साथै समीक्षा तथा समालोचनात्मक सामग्री पनि हालसम्म प्रकाशनमा आउनसकेको छैन । यसको लागि सम्पादक, प्रकाशक, रचनाकार र पाठकको समेत पहल गरिनु पर्दछ ।
(३) लामो समयदेखि तामाङ लेखनमा मानकीकरणको अभाव थियो । तामाङ डाजाङले दुई पटक मानकीकरण सम्बन्धी गोष्ठी गरेर अनि हालै (मङ्सिर २०६७) तामाङ मानकीकरण नियमावली २०६७ पारित गरेर आपूmलाई मानकीकरणको बाटोमा अग्रसर गराएको छ । यसलाई अब व्यापक रुपमा प्रयोग गर्दै र निरन्तर परिमार्जन गर्दै लगिनु आवश्यक छ ।
(४) तामाङ भाषामा साहित्यिक शब्दावलीको अभाव देखिन्छ । यसको लागि पनि विषय केन्द्रित गोष्ठी गरेर नियमित रुपमा शब्दावली निर्माण गर्दै ती साहित्यिक तथा प्राविधिक शब्दावली प्रयोग गरिनुका साथै समय–सान्दर्भिक ढङ्गले प्रकाशन गरिनु पर्दछ ।
(५) साहित्यिक गोष्ठीका साथसाथै साहित्यिक संस्थाहरुले साहित्यका विविध विषयहरुमा केन्द्रित भएर सभा, गोष्ठी साहित्यिक यात्रा वा स्थलगत गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।
(६) तामाङ डाजाङले नवोदित साहित्यकारहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसलाई नियमित गर्दै अझ उद्देश्यमूलक र दीगो बनाउनु पर्दछ ।
(७) तामाङ साहित्यिक संस्था तथा पत्रपत्रिकाको निरन्तरता र स्थायित्वको लागि पाठकलाई पनि सहभागी गराउदै एउटा सहकारी संस्था स्थापना गरेर भए पनि स्रोत व्यवस्थापन गर्नु आवश्यक छ ।
(८) तामाङ साहित्यिक पत्रिकाको विकासको लागि विभिन्न मातृभाषा तथा नेपाली भाषाका साहित्यिक संस्था तथा पत्रपत्रिका र नेपाल प्रज्ञा–प्रतिष्ठानसँग पनि सहकार्य गर्नु पर्दछ ।
(९) वर्षभरिमा पत्रिकामा प्रकाशित स्तरीय साहित्यिक सामग्रीलाई सम्पादन गरेर पुस्तकाकारमा पनि साहित्यिक सामग्री प्रकाशित गरिनु आवश्यक छ ।
(१०) साहित्य स्रष्टाहरुलाई प्रोत्साहित गर्न हाललाई तामाङ साहित्य कोष स्थापना गर्न नसकेता पनि सानातिना पुरस्कारको व्यवस्था गरिनु आवश्यक छ ।

पुरानो बानेश्वर हाइट
बmचष्तथयलवबलत२थबजयय।अयm

--- यो सूचना अमृत योन्जन–तामाङ (२०६३) को तामाङ पहिचानका सन्दर्भहरु पुस्तकको ‘तामाङ पत्रपत्रिकाको विवरण (बैसाख २०१६ देखि चैत्र २०६२ सम्म)’ पृ. २९३–२९७) मा आधारित छ ।
--- यस सम्वन्धी थप परिभाषा र जानकारी अमृत योन्जन–तामाङ (२०६३) को उक्त पुस्तकको ‘तामाङ पत्रपत्रिकाको इतिहास’ मा पनि हेर्न सकिन्छ ।
--- यस प्रकारको कालविभाजनको लागि योन्जन–तामाङ (२०६३) को उक्त पुस्तकको ‘तामाङ पत्रपत्रिकाको इतिहास’ हेर्न सकिन्छ ।