Author Topic: मलेसियामा नेपाली साहित्यिक पत्रकारिता  (Read 7050 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
मलेसियामा नेपाली साहित्यिक पत्रकारिताः एक छोटो चर्चा
देवेन्द्र सुर्केली

साहित्य सङ्गालो वा नियमित रुपमा साहित्यिक खुराक पस्कने पत्रिका प्रकाशित गर्नेलाई साहित्यिक पत्रकारिताअन्तर्गत राखिन्छ । नेपालमा साहित्य सम्बन्धी खुराक पस्किने पत्रिकाहरुको वेग्लै सञ्जाल छ – नेपाल साहित्यिक पत्रकार सङ्घ । तर साहित्यिक पत्रकार सङ्घले प्रवासमा रहेर नियमित साहित्यिक पत्रिका प्रकाशन गरिरहेका प्रति दृष्टि पु¥याएको छैन ।

मलेसियामा पनि विगत १० वर्षदेखि नेपालीहरुले नेपाली साहित्यको विजारोपण गरिरहेका छन् । नेपालीहरु जहाँ गएपनि साहित्यको प्रादुर्भाव छाड्ने गरेका कारण मलेसियामा पनि सुरूवात भएको हो । सन् २००१ बाट मात्र मलेसियामा कानुनीरुपमा नेपालीहरु कामदार भएर भित्रिएका हुन् । त्यो भन्दा अगाडि पनि मलेसियामा नेपालीहरु पुगेका थिए । कामदारको रुपमा भने गैरकानुनी प्रवेश थियो । गैरकानुनी रुपमा मलेसिया पुगेका नेपालीहरुमा सम्पर्क धेरै कम थियो । थोरै मात्र नेपालीहरु सम्पर्क हुने गरेको र भेटको क्रममा रचनाहरु एकअर्कामा सुनाउने गरेका कुराहरु पनि केही व्यक्तिको संस्मरणमा आएका थिए ।

सन् २००१ देखि कानुनी रुपमा मलेसिया भित्रिएदेखि संस्थागत रुपमा एकत्रित हुन खोजेको आभास पाइन्छ । सबैभन्दा पहिले नेपालदेखि लगिएका पुस्तक तथा पत्रिकाहरु विक्रिवितरण गर्ने गरेको र केही पत्रिकाहरु फोटोकपि गरेर पुनर्प्रकाशन गरेको पाइन्छ । यो क्रम झन्डै डेढ वर्षसम्म भएको पाइन्छ । फोटोकपि पुनप्र्रकाशनले बजार लिने सम्भावना देखेपछि मलेसिया पुगेको रमेश पण्डित ‘तुफान’ ले नेपालबाट प्रकाशन हुने श्रम साप्ताहिकलाई मलेसिया संस्करणको रुपमा सन् २००३ देखि प्रकाशन गर्न थाले । सन् २००२ सालदेखि मलेसियामा नेपाली रेष्टुरेन्टहरु समेत खोलिन सुरू गरेपछि नेपालीहरुको सम्पर्क आदानप्रदान हुन थालेको हो । श्रम साप्ताहिकको प्रकाशन पछि उक्त समूहबाटै सृजनशील पुस्तकालयसमेत खोलिएको थियो । मलेसियाको राजधानी क्वालालाम्पुरस्थित सबैभन्दा पुरानो बजार कोतारायामा नेपालीहरुले अड्डा जमाउन सफल भएका हुन् । श्रम साप्ताहिकको प्रकाशन पछि त्यसै वर्ष नेपाल सन्देश, राज्यसत्ता, जनपृष्ठभूमि, सगरमाथा साप्ताहिकको प्रकाशन भएको छ । ती मध्ये कतिपय पत्रिकाहरु थोरै समयमात्र प्रकाशन भए भने श्रम साप्ताहिक, जनपृष्ठभूमि (पछि नेपाल पृष्ठभूमिमा नामकरण), नेपाल सन्देश साप्ताहिकहरु नियमित प्रकाशन भएका छन् । यी पत्रिकाहरु पूर्ण साहित्यिक नभए पनि साहित्यिक लेख रचनाहरुलाई बढी नै प्रोत्साहन दिने गरेका छन् ।

पत्रिकामा राजनैतिक समाचार, विचार विश्लेषण नेपालबाटै लेखिएका छन् भने मलेसियाबाट लेखिने विषयवस्तु भनेको साहित्यिक बढि हुने गरेको पाइन्छ । विशेषगरी कविताको बाढी नै हुने गरेको पत्रिकाको प्रत्येक अङ्क १० देखि ४० वटा सम्म रचना हुने गरेको पाइन्छ ।

साहित्यिक खुराक बढेपछि साहित्यप्रेमी नन्दकुमार सुब्बाको सक्रियतामा जीवन देवान गाउँले, पुष्पा राई सवाल, गणेश खड्का प्रतीक्षा, दिलिप राई सगर, पदमदुःखी सम्बाहाङ्फे आदि मिलेर मितेरी साहित्य सङ्गालो (सन् २००४) को प्रकाशन गरेका थिए । जुन सङ्गालोमा मलेसियामै रहेका करिब २ दर्जन साहित्यकारहरुको १ वटादेखि ६ वटासम्म रचना प्रकाशन भएको थियो । नन्दकुमार सुब्बाकै सक्रियतामा सगरमाथा मासिकको पनि प्रकाशन भएको थियो । जसमा पनि साहित्यिक खुराक बढी नै प्रकाशन गरेको थियो ।
बुझेर होस् या नबुझेर मलेसियामा साहित्यिक ढाँचामा पत्रकारिता ‘मितेरी साहित्य सङ्गालो’ ले गरेको हो ।

१. साहित्यको संस्थागत अभ्यास

साप्ताहिक पत्रिकामा छापिएको रचना र रचनाको मुनी हुने गरेको मोबाइल नम्बरबाट सर्जकहरु सम्पर्कमा आउन थालेदेखि साहित्यको संस्थागत विकास हुन थालेको हो । प्रकाशित रचनाहरु एसएमएसबाटै प्रतिक्रिया दिइने र सल्लाह सुझाव हुने लगायतका कामहरु बढेपछि १६ जुलाई सन् २००६ को दिन क्वालालाम्पुरको मर्डेकापार्क (स्वतन्त्रता पार्क) मा भेला भई प्रवासी नेपाली साहित्यिक मञ्चको जन्म भयो । यस संस्थाको जन्मपछि प्रतिभा श्रृङ्खला कार्यक्रमको आयोजना गर्न थालेको थियो । लोक कवि अलिमियाँको ८९ वर्षको उमेरमा वि.सं. २०६३ श्रावण १८ गते स्वर्गारोहण भएकोमा उहाँको श्रद्धाञ्जली प्रकट गर्दै ३१ अगष्ट २००६ मा प्रतिभा श्रृङ्खला भाग १ को आयोजना ग¥यो । त्यसैगरी प्रतिभा साहित्य श्रृङ्खला भाग २ मा प्रवासमा साहित्य लेखनको धार र मञ्चको आवश्यकता विषयक गोष्ठीको आयोजना गरी तत्कालिन सचिव इन्द्र नारथुङेले ‘मानवताको लागि साहित्य, एक परिकल्पना’ विषयक कार्यपत्र सहित सम्पन्न गरिएको थियो । प्रतिभा श्रृङ्खलाका विभिन्न भागहरु पनि यस्तै विशेषता बोकेका छन् ।

प्रवासी नेपाली साहित्यिक मञ्चबाट ‘बिम्ब’ साहित्य सङ्गालो मितेरीपछिको शसक्त सङ्ग्रह थियो । इन्द्र नारथुङेद्वारा सम्पादित बिम्बमा ४८ जना सर्जकका कविता, कथा, गीत, गजल, मुक्तक, निबन्ध र नाटक प्रकाशित छन् । विम्बको प्रकाशनपछि प्रवासी नेपाली साहित्यिक मञ्चले अनेसाससँग सम्बन्ध राख्यो र अनेसासको १९ औँ शाखाको रुपमा रुपान्तरित भयो । अनेसास बनेपछि ‘बिम्ब’ संयुक्त गजल सङ्ग्रह प्रकाशन भएको थियो । जसमा ४५ जनाको गजल प्रकाशित छ । गजल सङ्ग्रहको सम्पादन पनि इन्द्र नारथुङेले नै गरेका थिए । अनेसासको अन्तिम प्रकाशनको रुपमा अनेसास स्मारिका (सन् २००८) रहेको छ । त्यस यता अनेसासले प्रकाशन सम्बन्धी कुनै काम गरेको छैन ।

अनेसास मलेसियाको राजधानी क्वालालाम्पुरमा मात्र सिमित रह्यो । मलेसियाको दक्षिणी क्षेत्रको जोहोर राज्यमा प्रवासी साहित्यिक समाज र प्रवासी श्रमिक नयन समाज नामक दुई सङ्गठनको जन्म भयो । ती दुवै संस्थाबाट प्रवासी पाइला र श्रमिक नयन त्रैमासिक दुई÷दुई अङ्कसम्म प्रकाशित भएका थिए । प्रवासी पाइलाका सम्पादक राजकुमार मादेन दुःखी र श्रमिक नयनका सम्पादक राजु भट्टराई आशा थिए । एकै राज्यमा परेका कारण पछि दुई संस्था एकीकृत बनेर प्रवासी नयन साहित्य समाज भयो र त्यस संस्थाबाट ‘नयन’ साहित्य सङ्गालोको प्रकाशन भएको थियो । मलेसियाको उत्तरी पहाडी राज्य पाहाङमा सङ्गठित प्रवासी एकता समाजले ‘प्रवासी आवाज’ ४ अङ्कसम्म प्रकाशित भएको थियो । जसका सम्पादक ओमप्रकाश खापुङ र थीरबहादुर दाहाल थिए ।

गजलको लागि सङ्गठित संस्था अनाममण्डलीले गजलप्रधान पत्रिका दिपाञ्जलीको प्रकाशन गरिरहेको छ । मलेसियाकै अर्को सुन्दर राज्य पेराकको इपो क्षेत्रमा कार्यरत नेपालीहरुद्वारा गठित नेपाली साहित्य समाजले ‘नमूना’ साहित्य सङ्गालो (सन् २००९) प्रकाशन गरेको छ । युवराज साम्पाङ जेठाको सम्पादनमा प्रकाशित नमूना एक अङ्कमात्र प्रकाशित छ । त्यसैगरी मलेसियाको उत्तरी राज्य पेनाङमा सङ्गठित उदाँउदो तारा साहित्य समाजद्वारा ‘पुञ्ज’ साहित्य सङ्गालो र ‘सृजनाका स्वरहरु’ गजल सङ्ग्रह प्रकाशन भएको छ । यसका सम्पादक जीतमान राई सविन हुन् । मलेसियामा अस्तित्वमा रहेका साहित्यिक संस्थाहरुमा अनेसास, अनाममण्डली, प्रवासी नयन साहित्य समाज जोहोर, नेपाली साहित्य समाज इपो, उदाउँदो तारा साहित्य समाज पेनाङ र विश्व नेपाली साहित्य महासङ्घ, मलेसिया शाखा हुन् । यी संस्थाबाट पनि विभिन्न रुपको साहित्यिक प्रकाशनसँगै साहित्यिक पत्रकारिताको विकास भएको छ ।

२. साहित्यिक पत्रकारिताको सामुहिक अभ्यास

साहित्यिक संस्थाहरु बाहेकका केही व्यक्ति तथा कम्पनीका सृजनशील समूहबाट पनि साहित्यिक सङ्गालोको प्रकाशन भएको छ । यस्ता प्रकाशनहरु कुनै दुई तीन अङ्कसम्म प्रकाशन भएका छन् कुनै एक अङ्कबाटै पूर्णविराम पनि लगाएका छन् ।

श्रम साप्ताहिकको सहप्रकाशनको रुपमा ‘श्रमिक यात्रा’ साहित्यिक सहप्रकाशनकै रुपमा हेर्न सकिन्छ । रमेश तुफान, कोपिला गौतम तथा दिपक दैलेखीको सम्पादनमा प्रकाशन भएको श्रमिक यात्रा दुई अङ्कसम्म प्रकाशित भएको देखिन्छ ।

नेपालदेखि नै प्रकाशन आरम्भ भएको ‘नौलो मुस्कान’ मासिक साहित्यिक तथा मनोरञ्जनात्मक र विचारप्रधान रहेको थियो । २ अङ्कसम्म प्रकाशित नौलो मुस्कानका सम्पादक विचारी चाम्लिङ हुन् । मलेसियाको दक्षिणी प्रान्तमा पर्ने सुन्दर नगरी मलकाबाट हरि दियाली र मीन विश्वकर्माको सम्पादनमा ‘परदेशीको डायरी’ नामक साहित्य सङ्गालो प्रकाशित भएको थियो । रुसाहाङ चेम्जोङ र पुकार छन्त्यालको सम्पादनमा ‘परदेशको कोसेली’ नामक साहित्य सङ्गालो दुई अङ्कसम्म प्रकाशित भएको छ ।

मलेसियाको दक्षिणी राज्य जोहोरको मुहार क्षेत्रबाट वसन्त सुब्बा र भीम राईको सम्पादनमा ‘प्रवासी’ साहित्य सङ्गालोको प्रकाशन भएको छ । मुहारबाटै प्रकाश दिप्साली मिराकद्वारा सम्पादित ‘मुग्लानी चिनो’ (सन् २००८) को प्रकाशन भएको थियो । क्वालालाम्पुरमै गठित मेचीमहाकाली युवा सङ्गठनले ‘अन्यौलको भूमरीभित्र मलेसियामा नेपाली युवाहरु’ नामक साहित्य सङ्गालोको प्रकाशन गरेको छ । जसका सम्पादक चन्द्र सुब्बा किराती र पदम नेपाल रहेका छन् ।

क्वालालाम्पुरको सुङ्गाइबुलोहस्थित कम्पुलान जेब्को कम्पनीका श्रमिकहरुको प्रयासमा ‘साहित्य विधामा नटुसाएको अटोग्राफ’ प्रकाशन भएको थियो । जसलाई मोहन थेबेले सम्पादन गरेका थिए । क्वालालाम्पुरकै काजाङस्थित केशव तथा रामकृष्ण खड्को सम्पादनमा ‘प्रवासीका आवाज’ नामक साहित्य सङ्गालो प्रकाशन भएको थियो ।

३. सामाजिक संस्थाबाट प्रकाशित साहित्य सङ्गालो

मलेसियामा लगभग ८० को हाराहारीमा सामाजिक संस्थाहरु गठन भएका छन् । ती संस्थाहरु जिल्लागत रुपमा बढी छन् । त्यस्तै गरेर जातीय, धार्मिक, राजनीतिक, गाविसस्तरीय तथा मलेसियाकै क्षेत्रसँग सम्बन्धित भौगोलिक संस्थाहरुको गठन भएको छ । ती संस्थाहरुले थोरै आफ्नो संस्थाको परिचय, उद्देश्य तथा कृयाकलापको कुराहरु राखेर बाँकी सम्पूर्ण खुराकहरु साहित्यसँग सम्बन्धित छन् । नेपालको कुनै एक जिल्लाबाट मलेसिया पुगी मलेसियाको विभिन्न स्थानमा रहनेहरुलाई गोलबद्ध गराई उनीहरुको डाइरेक्ट्री प्रकाशन गराउनुको साथै जातिहरुको भाषा, धर्म, संस्कृति र लिपिसम्मको कुराहरु ती सङ्गालोहरुमा प्रकाशन भएका छन् । विभिन्न संस्थाहरुबाट प्रकाशन भएको सङ्गालोहरुलाई यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ ।

३.१. जिल्लागत रुपमा गठन भएका संस्थाहरुबाट प्रकाशित सङ्गालोहरु

उदयपुरबाट मलेसिया जानेहरुको फोन डाइरेक्ट्री प्रकाशित गरेर सर्वप्रथम जिल्लागत संस्थाको परिचय प्रकाशनको माध्यमबाट आएको थियो । जनक ढकाल र टीकाराम अधिकारीको सक्रियतामा उक्त डाइरेक्ट्री प्रकाशन भएको थियो । त्यसपछि मलेसियामा स्थापित जिल्ला संस्थामध्येको खोटाङ सेवा समाजले ‘आगमन’ नामक साहित्यिक सङ्गालोको दुई अङ्कसम्म प्रकाशन गरेको छ । विशुद्ध साहित्यिक रुपमा प्रकाशित सङ्गालोको पहिलो अङ्कलाई इन्द्र जिजिविषा र दोश्रो अङ्कलाई युवराज साम्पाङ जेठाले सम्पादन गरेका छन् ।
कास्की सम्पर्क मञ्चले ‘कास्की सम्पर्क डायरी’, ‘सृजनशील कथाहरु (लघुकथा सङ्ग्रह)’ प्रकाशन गरेको छ । जसका सम्पादक राजु क्षेत्री अपुरो र सुमन केसी रहेका छन् ।
त्यसैगरी ताप्लेजुङ पाथीभरा प्रवास समितिद्वारा ‘ताप्लेजुङ स्मारिका’ प्रकाशन भएको थियो । जसका सम्पादक बाल मेयाङ्बो हुन् । स्मारिकाको दोश्रो अङ्क पनि आउने तरखरमा छ ।

३.२. जातीय संस्थाबाट प्रकाशित सङ्गालोहरु

मलेसियाका समग्र सङ्घ सङ्गठनहरुबीचकै बलिया सङ्गठनहरु हुन् जातीय संस्थाहरु । कतिपय संस्थाहरु नेपालको विद्यमान जातीय संस्थाकै नामबाट चलेका छन् कतिपय मौलिक नामबाट । किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज आदि संस्थाहरु नेपालकै नामसँग मिल्दो छ र कतिपय संस्थाहरु नेपाललाई केन्द्र गरेर खोलिएका पनि हुन् । प्रवासी मगर सङ्घ, नेपाल तमू समाज, प्रवासी तामाङ एकता समाज, क्षेत्री समाज आदि मौलिक नामबाट चलेका संस्थाहरु हुन् ।

मलेसियाको विभिन्न ठाउँमा रहेर नेपाल तमू समाज, मलेसियाको छातामुनी गोलबद्ध रहेको गुरूङहरुले ‘प्रवासी तमू आवाज’ वार्षिक ४ अङ्कसम्म प्रकाशित गरेको छ । यम तमू, बल तमू, केश तमूलगायतले सम्पादन गरेको प्रवासी तमू आवाजमा तमू समाजको गतिविधिलगायत बढिजसो नेपाली साहित्यनुरागीकै रचनाले पाना भरिएको छ ।

प्रवासी मगर सङ्घले नियमित रुपमा ‘लाङ्घाली आवाज’ प्रकाशन गरिरहेको छ । जातीय संस्थामध्येको सबैभन्दा स्तरीय प्रकाशन भन्न सकिने लाङ्घाली आवाजले साहित्यको अलावा मगर भाषाको बारेमा पनि जानकारी गराउने गरेको छ । दीपक मगर, सुन्दर आलेको सम्पादनमा लाङ्घाली आवाज प्रकाशन भइरहेको छ ।

प्रवासी तामाङ एकता समाज, मलेसियाले ‘मुग्लानला काअी (सन् २००८)’ को प्रकाशन गरेको छ । कुमार लामाको सम्पादनमा प्रकाशत मुग्लानला काअी एक अङ्कमात्र प्रकाशित भएको छ । यो प्रकाशन बढिजसो तामाङ सेरोफेरोमा दौडेको छ ।

किरात याख्खा छुम्मा, मलेसियाले ‘याख्खा स्मारिका (स्न २००८)’को प्रकाशन गरेको छ । धनबहादुर देवान र जीवन देवान गाउँलेको सम्पादनमा प्रकाशित स्मारिकामा याख्खा छुम्माको स्थापनाकालदेखि प्रकाशन मितिसम्मको गतिविधि, विभिन्न साहित्यिक खुराकहरु पस्केको थियो ।

त्यसैगरी क्षेत्री समाज मलेसियाले पनि ‘क्षेत्री स्मारिका (स्न २०१०)’ को प्रकाशन गरेको छ । यस स्मारिकामा पनि साहित्यिक खुराकहरु नै बढि छन् ।

३.३. धार्मिक संस्थाबाट प्रकाशित सङ्गालो

मलेसियामा धार्मिक संस्थाहरु पनि गठन भएका छन् । नेपालकै शाखाको रुपमा किरात धर्म साहित्य उत्थान सङ्घ, स्वर्गिक मार्ग नेपाल गठन भएका हुन् भने प्रवासी हिन्दू समाज मलेसिया, ख्रीष्टियन एकता साहित्य समाज मलेसियाकै पेरिफेरिमा सङ्गिठत संस्थाहरु हुन् ।

किरात धर्म साहित्य उत्थान सङ्घले ‘चोःलुङ’ नामक पत्रिका प्रकाशन गरेको छ । दिलकुमार केरूङद्वारा सम्पादित चोःलुङमा साहित्यको आलावा लिम्बू लिपि तथा भाषाको बारेमा पनि खुराक हालिएको छ । त्यसैगरी ख्रीष्टियन एकता साहित्य समाजले ‘परदेशी मरुभूमिको आवाज (सन् २०१०)’ प्रकाशन गरेको छ । अङ्कध्वज मोते, सुभास राई र श्रीमान् छन्त्यालद्वारा सम्पादित यस आवाजमा ख्रीष्टियन दृष्टिकोणबाट नेपाली साहित्यको खुराकहरु हालिएका छन् ।

३.४. राजनीतिक सङ्गठनबाट साहित्य

मलेसियामा प्रायः सबै ठूला पार्टीका सङ्गठनहरु रहेका छन् । कतिपय साप्ताहिक पत्रिकाहरु राजनीतिक पार्टीका नजीक भएका हुनाले बेग्लै साहित्य सङ्गालो वा स्मारिकाको बारेमा सोच पु¥याएको छैन । तर रोजगार पीडित सरोकार मञ्च, केडाहले प्रवासी श्रमिक डायरीको प्रकाशन गरेको छ । रोजगार पीडित सरोकार मञ्च कुनै पार्टीको भातृ सङ्गठन त होइन तर पनि राजनीतिक विचारधाराकै नेतृत्व गरेको जस्तो यस प्रवासी श्रमिक डायरीमा देखिएको छ । यसका सम्पादक पुष्प भण्डारी हुन् ।

मलेसियामा यतिका सङ्गालोहरु प्रकाशन हुनु र अझै प्रकाशनको क्रममा हुनुलाई साहित्यको विकास भएको मान्नुपर्छ । अनुमानित चार लाख नेपालीहरु रहेको मलेसियामा सङ्गालो प्रकाशन हुनुपूर्व मलेसियाबाट प्रकाशित हुने साप्ताहिक पत्रिकामार्फत लेखरचना आव्हान गरिन्छ । धेरैजसो सङ्गालोहरुमा लेखकहरु दोहोरिने गर्दछन् । तर नेपालका स्थापित लेखकहरुको लेखरचना भने कम मात्र समावेश भएका छन् । मलेसियामा कम्प्युटर सेटिङ भएर मलेसियामै छापिने भएकाले पनि नेपालका लेख रचनाहरु कम भएका हुन् । निश्चित समयको लागि मलेसिया पुग्ने भएका हुनाले डायस्पोरिक साहित्य नै भनिहाल्न नसकिएता पनि १२ घण्टा काम गरेर उबारेको समयमा कोरिएको साहित्यको एउटा बेग्लै स्वाद पाइन्छ । कम्पनीवृत्तका बिम्बमा लेखिएको साहित्यले नेपाली साहित्यमा नयाँ उर्जा नै थप्छ । फरक देश र परिवेश, भाषा, संस्कृतिका मिश्रित शब्द संयोजनले दिएको मिठासलाई नेपाली साहित्यको नयाँ सम्पति मानिनुपर्छ ।

समग्रमा भन्नुपर्दा संस्थाको स्मारिका, संयुक्त सङ्ग्रहहरुलाई साहित्यिक पत्रकारिता मानिनुपर्छ भन्ने यो पङ्क्तिकारको जोड हो । प्रवासको ठाउँमा निश्चित समय र अवधि लिएर गएका सर्जकहरुबाट निरन्तरताको आशा गर्नुभन्दा एक अङ्क आउनु पनि ठूलो कुरा मान्नुपर्छ । साधारणतया ३ वर्षको समय लिएर त नेपालीहरु विदेश पुगेका छन् । मलेसियामा श्रमिकबाहेक व्यापारव्यवसाय, पत्रकारिता, विद्यार्थी, अध्यापन तथा अन्य पेशागत रुपमा जाने भएकाले संस्थाको निरन्तरता बढेको हो ।

तसर्थ मलेसियामा भएको यस प्रकारको सक्रियतालाई मध्यनजर गरेर एउटा बेग्लै कार्यक्रम बनाइनुपर्छ । साहित्यिक पत्रकारितालाई नै टेवा पुग्ने खालका सङ्ग्रहणीय सङ्गालोलाई प्रचारप्रसार गर्नमा उद्दत हुनुपर्छ ।