Author Topic: रुपन्देहीको साहित्यिक पत्रकारिताः एक झलक  (Read 6282 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
रुपन्देहीको साहित्यिक पत्रकारिताः एक झलक
बालकृष्ण भट्टराई

कुनै पनि भाषा र साहित्यको विकासमा पत्रपत्रिकाको योगदान महŒवपूर्ण हुन्छ । नेपाली भाषा र साहित्यको विकासमा पनि पत्रपत्रिकाहरुले प्रभावकारी भूमिका निर्वाह गरेको पाइन्छ । नेपालको भाषा–साहित्यलाई अघि बढाउन गोरखापत्र, माधवी, चन्द्रिका, साहित्यस्रोत, शारदा, उद्योग, प्रगति, दियालो, नेबुला, रुपरेखा, मधुपर्क, गरिमा, नेपाली साहित्यसम्मेलन पत्रिका, गोर्खासंसार, युगवाणी आदि तमाम पत्र–पत्रिकाहरुको उल्लेखनीय भूमिका रहेको छ । सुरुका दिनहरुमा अधिकांश नेपाली पत्र–पत्रिकाको प्रकाशन कि त राजधानी काठमाडौँबाट कि भारतका बनारस, दार्जिलिङ, देहरादून, असम, कलकत्ता आदि सहरहरुबाट भएको पाइन्छ । शारदापूर्वका धेरै जसो पत्रपत्रिका प्रवासबाटै प्रकाशित भएका हुन् । रोजगारीका निम्ति वा शिक्षा आर्जन गर्न भारतका विभिन्न ठाउँमा गएका र लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरुको क्रियाशीलतामा ती पत्रिकाहरु प्रकाशित भएका देखिन्छन् ।

नेपाली पत्रपत्रिकाको ऐतिहासिक अध्ययन गर्दा वनारसमा पढ्न बसेका मोतीराम भट्टको प्रयासमा हिन्दी भाषाबाट नेपालीमा अनूदित ‘गोर्खाभारत जीवन’ (वि.सं. १९४३) नेपाली भाषामा छापिएको पहिलो नेपाली पत्रिका मानिएको छ । नेपाल भित्रबाट प्रकाशित पत्रिकामा भने ‘सुधा सागर’ (वि.सं. १९५५) लाई प्रथम मानिएको छ । परन्तु ‘सुधा सागर’ अप्राप्य भएकाले यो धारणा विवादास्पद रहेको छ । त्यसैले राणाशासक देव शमशेरको शासनकाल (वि.सं. १९५८) मा काठमाडौँबाट प्रकाशित ‘गोरखापत्र’ नेपालबाट प्रकाशित नेपालीको प्रथम पत्रिका हो । सुरुमा साप्ताहिक, वि.सं. २००० आश्विनदेखि अद्र्धसाप्ताहिक, २००३ पौषदेखि सातामा तीन पटक र २०१७ साल फागुन ७ गतेदेखि दैनिक रुपमा प्रकाशित यो पत्रिका नै नेपालको प्राप्त प्रथम र जीवित पत्रिका हो । साप्ताहिक परिशिष्टाङ्क र राष्ट्रिय महŒवका विविध सन्दर्भमा विशेषाङ्क निकालेर यस पत्रिकाले नेपाली वाङ्मयको विकासमा अविस्मरणीय काम गरेको छ । खास गरी नेपाली गद्यविधाको विकासमा यस पत्रिकाले प्रशंसनीय काम गरेको छ । नेपाली लेखकहरुलाई रचनाका लागि पारिश्रमिक प्रदान गर्ने परम्पराको थालनी पनि यसैले गरेको हो भनेमा अत्युक्ति हुने छैन । नेपालभित्रबाट गोरखापत्रले थालनी गरेको पत्रपत्रिका प्रकाशनको लामो यात्रामा धेरै आरोह–अवरोहहरु देखापरेका छन् ।

समग्रमा हेर्दा नेपाली वाङ्मयका विविध विधाको विकासमा कोसे ढुङ्गाको रुपमा काम गरेको पत्रिका भने ऋद्धिबहादुर मल्लको सम्पादनमा वि.सं. १९९१ सालमा प्रकाशित ‘शारदा’ पत्रिका हो । ‘शारदा’ पछि ‘उद्योग’, ‘साहित्यस्रोत’, ‘युगवाणी’ ‘पुरुषार्थ’, ‘आवाज’, ‘उदय’, ‘रुपरेखा’, ‘मधुपर्क’, ‘गरिमा’ आदि अनेकौँ पत्रिका स्वदेश र विदेशबाट प्रकाशित भए । नेपाली भाषा–साहित्यको विकास र उन्नयनमा समयानुकूल भूमिका ती पत्रिकाहरुले निर्वाह गरेका हुन् । राज्यको सञ्चारनीति, प्रेसप्रति सरकारको अनुदार दृष्टिकोण, उपयुक्त छापाखानाको अभाव, चेतनाको कमी, प्रकाशनका निम्ति उचित वातावरणको अभाव आदिका कारण धेरैपछि मात्र मोफसलबाट पत्रिकाहरुको प्रकाशन प्रारम्भ भएको पाइन्छ ।

रुपन्देही जिल्लाबाट प्रकाशित पत्रपत्रिकाको कालक्रमिक अध्ययन गर्दा वि.सं. २०१२ सालमा परीक्षितप्रसाद लाकौलको सम्पादनमा ‘बुटवल’ नामक समाचारप्रधान साप्ताहिक पत्रिका प्रकाशन भएपछि प्रकाशन प्रारम्भ भएको पाइन्छ । २०१२ पछि २०१७ सम्म रुपन्देहीबाट खासै पत्रिका प्रकाशित भएनन् । त्यसपछि भने फाट्टफुट्ट पत्रिका निस्के । समाचारप्रधान पत्रिकाहरुमा लुम्बिनी (२०१८, सं. सूर्यलाल), लुम्बिनी सन्देश (२०२२, सं. मोदनाथ प्रश्रित), दैनिक निर्णय (२०२३), सं. प्रतापकुमार भट्टचन), निष्पक्ष ध्वनि (सं. करुणानिधि शर्मा), विचार (२०२७ सं. लेखनाथ ज्ञवाली करुणानिधि शर्मा), खसोखास (साप्ताहिक सं. कपूर ज्ञवाली, २०२७) एक्सरे (साप्ताहिक २०३९) सं. वसन्तध्वज जोशी) समालोचना (२०३९, सं. रामचन्द्र भट्टराई), सिद्धार्थ (२०३९, संं बाबुराम अर्याल), परिवर्तन (२०३९, सं. बाबुराम अधिकारी), मुक्तिसन्देश (२०३९, सं. नारायण सापकोटा), प्रतिमान (सं. वामदेव पहाडी) लगायत थुप्रै साप्ताहिक, पाक्षिक, दैनिक रुपमा रहेका छन् ।

साहित्यिक पत्रिकातर्फ संस्थागत र खास गरी शिक्षण संस्थाहरुबाट प्रकाशित मुखपत्रहरुको सङ्ख्या उत्साहप्रद देखिन्छ । रुपन्देही जिल्लाबाट २०२० को दशकमा साहित्यिक पत्रिका विगतको तुलनामा निकै बढी प्रकाशित भए । प्रकाशन वर्ष र सम्पादक यकिन भएका केही पत्र–पत्रिका निम्नानुसार रहेका छन् – कोपिला (२०१६) (पछि नव कोपिला) सं. हर्षबहादुर बुडा मगर, (सिद्धार्थ २०२६ सं. हर्षबहादुर बुडा, बालकृष्ण भट्टराई, नरेन्द्रसिंह राना), गुराँस (२०२२ सं. मोदनाथ प्रश्रित), सगुन (२०२३, प्र.सं. माधव ओम), जुनकिरी (२०३०, सं. वसन्तध्वज जोशी) जनजीवन (२०२९, सं. बूँद राना) तिलोत्तमा (२०२३, संं नारायण घिमिरे, अमरकिशोर घिमिरे) सङ्कल्प (गोजिका, सं. अनन्तमणि पन्त) आदि ।

२०३० को दशकमा बालकृष्ण भट्टराईको सम्पादनमा क्षितिज (२०३३), रामचन्द्र भट्टराईको सम्पादनमा ‘सुस्केरा’ (२०३७), बालकृष्ण पाण्डेको सम्पादनमा ‘वीणा’ (२०३६), अर्जुन ज्ञवालीको सम्पादनमा ‘नमुना’ (२०३४), लवकुमार जोशीको सम्पादनमा ‘दौतरी’ (२०३१) आदि धेरै पत्रपत्रिका रुपन्देहीबाट प्रकाशित भए ।

२०४० यता पुराना केही पत्रिकाले निरन्तरता पाइरहे भने अधिकांश पत्रिकाको प्रकाशन बन्द भयो । बालकृष्ण भट्टराईको सम्पादनमा ‘साधना’ र ‘मिलन’ (२०४२, २०४३, २०४४, २०४५), कपिल लामिछानेसमेतको सम्पादनमा ‘अणु’ (२०४४), रामलाल श्रेष्ठको सम्पादनमा ‘बौद्धिक जगत्’ (२०५४), गोपाल अधिकारीका सम्पादनमा अर्पण (२०३६) र कादम्बरी (२०४७) पत्रिका प्रकाशित भए भने विभिन्न सङ्घसंस्था विद्यालय क्लब आदिबाट सामयिक सङ्कलन निस्कने क्रम हाल पनि जारी रहेको छ । पछिल्ला दिनहरुमा भैरहवाबाट ‘पदचिह्न’ र ‘सोपान’ प्रकाशित भए । युवा पुस्ताका स्रष्टाहरुले जितगढी, गजलसागर, शब्ददीप, शब्ददूत, नवक्षितिज, सङ्गम, अनुराग आदि पत्रिका प्रकाशित गरे ।

स्थानगत दृष्टिले हेर्दा रुपन्देही जिल्लाका पत्रपत्रिकाको विकासमा बुटवल र भैरहवा दुवै ठाउँबाट समानान्तर रुपमा पत्रिका प्रकाशन भएको पाइन्छ । कुनै समय भैरहवाबाट झण्डै आधा दर्जन समाचारप्रधान पत्रिका प्रकाशित हुन्थे । मोदनाथ प्रश्रित रामचन्द्र भट्टराई, कपूर ज्ञवाली, करुणानिधि शर्मा, प्रतापकुमार भट्टचन, पृथ्वी शेरचन, वामेदव पहाडी, बाबुराम अर्याल, लक्ष्मीनाथ ज्ञवाली, वेदराज पन्त, बूँद राना, कृष्णराज पाण्डे, सुरेन्द्रप्रसाद आचार्य, श्यामसुन्दर गुप्ता, हर्षबहादुर बुडा, बालकृष्ण भट्टराई, नारायण घिमिरे आदिको संलग्नतामा भैरहवाबाट समाचार प्रधान र साहित्यिक पत्रिका प्रकाशित भए भने सूर्यलाल, वसन्तध्वज जोशी, लवकुमार जोशी, फणिन्द्रराज काफ्ले, गोपाल अधिकारी जयबहादुर खत्री, कर्णबहादुर कार्की, आदि बुटवलमा सक्रिय रहे । पाल्ही माझ खण्ड गोस्वारा, अञ्चलाधीशको कार्यालयसमेत भैरहवामा भएको र अदालत, मालपोत, प्रहरी कार्यालय यहीँ भएकाले पनि सामाजिक, सांस्कृतिक, शैक्षिक गतिविधिमा भैरहवा पहिले धेरै अगाडि थियो, तर पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग निर्माण भई यातायात नियमित हुन थालेपछि बुटवलको सहरीकरण तीव्र गतिमा भयो । अञ्चल सदरमुकाम, व्यापार–व्यवसायको पुरानो थलो, पहाड–तराईको मिलनविन्दु, चारैतिरको नाकाका रुपमा स्थापित भएपछि जनसङ्ख्याको चाप बुटवलमा अझ भनौँ खस्यौलीमा बढ्दै गयो अनि समाजविकासका यावत् क्षेत्रहरुमा परिवर्तन देखिन थाले । जनसङ्ख्याकै अनुपातमा खुलेका आधुनिक शिक्षालयहरुका कारण पनि बुटवल बौद्धिक क्रियाकलापको केन्द्र बन्यो । २००७ सालको जनक्रान्तिमा पश्चिमकै नेतृत्व लिएको भैरहवाको ठाउँ पछिल्ला दिनहरुमा बुटवलले लियो । राजनीतिक चलखेल बुटवलमा बढी हुन थाल्यो । त्यसको प्रभाव पत्रपत्रिका र साहित्यमा पर्नु अस्वाभाविक थिएन । यसरी समाचारपत्रहरुको प्रकाशनमा बुटवल अघि बढ्यो । रुपन्देहीको पत्रकारितामा बामबुद्धिजीवीहरुको वर्चस्व पहिलेदेखि नै रहेको हो ।
वामराजनीतिको केन्द्र क्रमशः बुटवल बन्दै गएपछि प्रकाशनको क्षेत्रमा त्यहाँ तीव्रता आयो । यति हुँदाहुँदै कुनै समयमा भूपिशेरचन, कुलमणि देवकोटा, टेकबहादुर पन्थी, मोदनाथ प्रश्रित, वामदेव पहाडी, शक्ति लम्साल, चूडामणि बन्धु, मुकुन्दशरण उपाध्याय, राचमन्द्र भट्टराई, माया ठकुरी, भागीरथी श्रेष्ठ, टङ्क न्यौपाने, दिल साहनी, पं. रामप्रसाद भट्टराई, हर्षबहादुर बुडा, हर्षध्वज राई, पृथ्वी शेरचन, पुरुषोत्तम भट्टराई, महेन्द्रनाथ खनाल, महेश्वर शर्मा, भाउ पन्थी आदि स्रष्टाहरुको अल्पकालीन र दीर्घकालीन कार्यस्थल रहेको सिद्धार्थनगरबाट प्रकाशित पत्रपत्रिकाहरुले साहित्यका विविधविधाहरुको विकासमा आ–आफ्नै किसिमको योगदान गरेको कुरा बिर्सन सकिँदैन । वि.सं. २०३८ सालमा स्थापित सिद्धार्थ साहित्य परिषद् त्यसअघि स्थापित मिर्मिरे मिलन, लुम्बिनी साहित्य परिषद्, नेपाली साहित्य संस्थान (लुम्बिनी शाखा) लगायत साहित्यिक, सांस्कृतिक प्रतिष्ठानहरुको ऐतिहासिक महŒव उत्तिकै छ । तीमध्ये सिद्धार्थ साहित्य परिषद्ले निरन्तर रुपमा साहित्यिक गतिविधि सञ्चालन गरिरहकै छ । यता आएर डा. घनश्याम न्यौपाने ‘परिश्रमी’का उत्प्रेरणाबाट स्थापित ‘सृजनशील साहित्यिक समाज’ भैरहवामा संलग्न केही युवाहरुले ‘सोपान’ नामक पत्रिका प्रकाशन गर्न लागेका छन् । युवाहरुको यो उत्साह प्रशंसायोग्य छ ।

जेहोस्, सिद्धार्थनगरबाट विगतमा कोपिला÷नवकोपिला, सिद्धार्थ, तिलोत्तमा, गुराँस, भेटघाट, क्षितिज, मिलन, बौद्धिक उद्यान, प्रतिमान, बहिरादर्पण÷वाणी उदय, नवजीवन, साधना, सुस्केरा, वीणा, प्रभात, इन्द्रेनी, सङ्कल्प (गोजिका), अणु (गोजिका), सिर्जना, दैनिक निर्णय, खसोखास, लुम्बिनी सन्देश, निष्पक्ष ध्वनि÷विचार, भावना, भैरहवा साप्ताहिक, नानी, सञ्जीवनी, शान्तिद्वीप, पदचिह्न, भैरहवा क्याम्पस जर्नल, मुक्तिसन्देश, यथार्थ, संश्लेषण, चित्कार, समालोचना, धवल, प्रयास, मुक्तिसन्देश आदि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, अद्र्धवार्षिक, वार्षिक र समसामयिक गरी तीन दर्जनभन्दा बढी पत्रपत्रिका प्रकाशन भएको पाइन्छ । तिनका अतिरिक्त सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, औद्योगिक–व्यापारिक र खेलकूद सम्बन्धी सङ्घ–संस्था एवं प्रतिष्ठानहरुबाट मुखपत्र, स्मारिका आदि फुटकर रुपमा धेरै प्रकाशित भएका देखिन्छन् । तर, ती सबैले निन्तरता पाउन भने सकेका छैनन् ।

यसरी विभिन्न समयमा विविध पत्रपत्रिका प्रकाशित भए पनि पर्यटनको मेरुदण्डका रुपमा रहेको सिद्धार्थनगरले अन्य क्षेत्रको तुलनामा साहित्यिक पत्रकारिताका क्षेत्रमा जे जति गर्नुपथ्र्यो त्यति गर्न सकिरहेको छैन । साहित्यिक क्षेत्रमा राष्ट्रिय कीर्तिमान कायम राख्ने कतिपय स्रष्टाहरुको कार्यस्थल रहेको सिद्धार्थनगरले मोदनाथ प्रश्रितको सम्पादनमा २०२० को दशकमा कतिपय अङ्क प्रकाशित ‘गुराँस’को स्तरलाई पछिका पत्रपत्रिकाले निरन्तरता दिनसकेका छैनन् । पत्रिका–प्रकाशनलाई संस्थाको वार्षिकोत्सव, रजतजयन्ती वा स्वर्णजयन्ती पर्खनुपर्ने संस्कारबाट यहाँको बौद्धिकजगत् मुक्त हुन नसकेको वर्तमान अवस्थामा हामीले फेरि एउटा जमर्को गर्न लागेका छौँ । शब्दसिन्धु (सं. यादव भट्टराई, २०६५) यसै जमर्कोको प्रतिफल हो ।

सिद्धार्थनगर –१२, रुपन्देही
(साभार ः शब्दसिन्धु वर्ष १, अङ्क १)