Author Topic: नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता -- रोचक घिमिरे  (Read 6546 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता -- रोचक घिमिरे


नेपाली पत्रकारिता बारेको चर्चामा साहित्यिक पत्रकारितालाई सामेल गरिएन भने त्यसको चर्चा अधुरो मात्र होइन निरर्थक नै ठहरिने छ । वास्तविक तथ्य के हो भने नेपालमा होस वा विदेशमा नेपाली पत्रकारिता विधाको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको हो । वि.सं.१९५५ मा पं.नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा पाशुपत प्रेस काठमाडौँमा मुद्रित भै निस्केको ‘सुधासागर’ साहित्यिक पत्रिका नेपालको सबभन्दा जेठो र पहिलो पत्रिका हो । त्यसो त ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका ‘सुधासागर’ भन्दा पहिल्यै नै वि.सं.१९४३ मा बनारसबाट निस्केको मानिन्छ । तर तत्कालीन केही पुस्तकमा त्यसको विज्ञापन देखिनु बाहेक हालसम्म त्यसको मुद्रित प्रति फेला परेको छैन । ‘सुधासागर’ र ‘गोरखा भारत जीवन’ दुवै पत्रिकाको प्रकाशनमा नेपालका अति गौरवशाली साहित्यिक व्यक्तित्व मोतीरामको मुख्य हात रहेको थियो । त्यसैले मोतीराम भट्टलार्ई हामीले नेपालका आदि पत्रकारका रुपमा मान्यता दिन पनि सङ्कोच गर्न हुँदैन । ‘सुधासागर’ निस्केको तीन वर्ष पछि मात्र वि.सं. १९५८ मा काठमाडौँबाट समाचारपत्रको रुपमा ‘गोरखापत्र’ प्रकाशित हुन थालेको हो । यसबाट के छर्लङ्ग हुन्छ भने साहित्यिक पत्रिकाले नै नेपालको जेठो पत्रकारिताको गौरवपूर्ण ठाउँ पाएको छ ।

नेपालमा छापाखानाको सुविधा नभएको हुँदा त्यो बेला पुस्तक पत्रपत्रिका छाप्न भारतको बनारस पुग्नुपर्ने बाध्यता थियो । अध्ययन निम्ति, तीर्थयात्राका निम्ति अथवा काशीवासका निम्ति नेपालीहरु ठूलो सङ्ख्यामा बनारस जाने गर्थे । शिक्षित र साहित्यप्रेमी उत्साही नेपालीहरुको बसोवास बनारसमा प्रशस्त हुने गथ्र्यो । यिनै कारणले पनि त्यो बेलाको बनारस नेपाली पुस्तक पत्रिका प्रकाशन निम्ति निकै सजिलो थलो मानिन्थ्यो ।

बनारसबाट त्यस बखत निस्केका साहित्यिक पत्रिकाहरु सादाशिव शर्माको सम्पादनको ‘उपन्यास तरङ्गिणी’ (वि.सं.१९५९), रसिक शर्माको सम्पादनको ‘सुन्दरी’ (वि.सं.१९६३), राममणि आ.दी.को सम्पादनको ‘माधवी‘ (वि.सं.१९६५), माधव प्रसादको सम्पादनको ‘चन्द्र’ (वि.सं.१९७१), सूर्य विक्रम ज्ञवालीको सम्पादनको ‘जन्मभूमि (वि.सं.१९७९), काशीबहादुर श्रेष्ठको सम्पादनको ‘उदय’ (वि.सं.१९९३), लक्ष्मीप्रसाद देवकोटाको सम्पादनको ‘युगवाणी’ (वि.सं.२००४), इत्यादि हुन् । त्यसैगरी दार्जिलिङ्ग र भारतका अन्य क्षेत्रबाट प्रकाशित पत्रिकाहरुमा पारसमणि प्रधानको सम्पादनको ‘चन्द्रिका’ (वि.सं.१९७४), ‘आदर्श‘ (वि.सं.१९८७), ‘नेपाली साहित्य सम्मेलन पत्रिका’ (वि.सं.१९८९), ‘नेबुला’ (वि.सं.१९९३), ‘खोजी’ (वि.सं.१९९८), ‘गोर्खा संसार’ (वि.सं.१९८३), ‘तरुण गोर्खा’ (वि.सं.१९८९) आदिको पनि बेग्लै महŒव रहेको कुरा नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा अङ्कित छ ।

नेपालभित्र चाहिँ ‘गोरखापत्र’ छापिएको ३२ वर्ष सम्म पनि साहित्यिक अथवा अरु कुनै पनि पत्रिका प्रकाशित भएको देखिंदैन । तीन दशकको त्यस कालखण्डमा भारतबाट प्रकाशित उपर्युक्त साहित्यक पत्रिकाहरुले नै नेपाली पत्रकारिताको दियो उकासेर जीवन्त बनाई राख्ने प्रयत्न गरेका थिए ।

‘गोरखापत्र’ छापिएको ३२ औं वर्षमा काठमाडौँबाट वि.सं. १९९१ मा सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’ मासिक पत्रिकाको प्रकाशन आरम्भ भयो । ‘शारदा’ले नेपाली साहित्यका अनेक सशक्त प्रतिभालाई प्रोत्साहित ग¥यो । ‘शारदा’ को छहारी पाएका त्यस्ता प्रतिभाले वाङ्मय क्षेत्रलाई सम्पन्न तुल्याउन कुनै कसर बाँकी राखेनन् । लेखनाथ, लक्ष्मीप्रसाद, बालकृष्ण, सिद्धिचरण, भिक्षु जस्ता कालजयी हस्ताक्षरहरुलाई उजिल्याएर अघि बढाउने जस ‘शारदा’ लाई नै जान्छ । सूर्यभक्त जोशीको सम्पादनमा वि.सं. १९९२ मा प्रकाशित ‘उद्योग’, हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा वि.सं २००४ मा प्रकाशित ‘साहित्यस्रोत’, २००६ को शेषराज रेग्मीको ‘पुरुषार्थ’ पत्रिकाहरुको पनि नेपाली साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ रहेको छ ।

जहानियाँ राणा शासनको अन्त्य भएर २००७ सालमा आएको प्रजातान्त्रिक प्रणाली पछि मुलुकमा साहित्यिक पत्रकारिताले पनि महŒवपूर्ण कोल्टे फे¥यो । साहित्यिक पत्रकारिताको स्वस्थ परम्परालाई सशक्ततापूर्वक अघि बढाउन त्यो बेला केही सक्रिय साहित्यिक व्यक्तित्वहरु जम्जमाएर लागि परे । नारायणप्रसाद बाँस्कोटाले वि.सं. २०१० सालमा ‘प्रगति’ निकाले । ईश्वर बराल र भवानी भिक्षुको सम्पादनमा ‘धरती’ वि.सं. २०१३ मा प्रकाशित भयो । त्यही वर्ष ईश्वर बरालको सम्पादनमा ‘इन्द्रेणी पनि निस्क्यो । वि.सं.२०१६ सालमा श्याम प्रसादको सम्पादनमा प्रकाशित ‘साहित्य’ र त्यसै सालमा कमल दीक्षितको सम्पादनमा प्रकाशित ‘नेपाली’ पत्रिकाको पनि आआफ्नै महŒव रहेको कुरा हामीले स्वीकार्नै पर्दछ ।

‘शारदा’ पत्रिकाको प्रकाशन नेपाली साहित्यिक पत्रकारितामा जसरी एउटा कोशे ढुङ्गा साबित भएको थियो, त्यसैगरी २०१७ सालमा प्रकाशित ‘रुपरेखा’ ले साहित्यिक पत्रकारितामा सबैभन्दा धेरै अङ्क निकालेर अनि अनेक नवोदित प्रतिभालाई प्रोत्साहित गरेर कीर्तिमान कायम ग¥यो । बालमुकुन्द देव पाण्डे र उत्तम कुँवरको सम्पादनमा प्रकाशित ‘रुपरेखा’ ले साहित्यको अत्याधुनिक चिन्तन धारालाई साहसिक रुपमा आफूमा सामाहित ग¥यो । वि.सं. २०१७ सालमा प्रकाशित अन्य साहित्यिक पत्रिकामा के.पी शैलको सम्पादनको ‘इन्दु’ र गोपालप्रसाद रिमालको सम्पादनको ‘दर्पण’ पर्दछन् । वि.सं. २०१८ मा रोचक घिमिरेको सम्पादनमा ‘रचना’ प्रकाशित भयो । २०१८ सालमा नै के.बी नेपालीको सम्पादनमा बिन्दु प्रकाशन, लामडिङ्ग (असम) भारतबाट ‘बिन्दु नेपाली साहित्यिक त्रैमासिक पनि प्रकाशित भयो । यो पत्रिकाले पनि यसै २०६७ सालमा ५० वर्ष पूरा गर्दैछ । २०१९ वि.सं.मा नेपाली साहित्य संस्थानको प्रकाशनमा ‘हिमानी’, पुरुषोत्तम बस्नेतको सम्पादनमा ‘मुकुट’ र वासुदेव त्रिपाठीको सम्पादनमा ‘सिंहनाद’ प्रकाशित भए । ‘बिहान’, ‘रत्नश्री’, अरूणोदय, ‘फूलपाती’, ‘भानु’, जस्ता साहित्यक पत्रिकाहरु वि.सं २०२० सालमा प्रकाशनमा आए । भवानी घिमिरेको सम्पादनको ‘भानु’ विशेषाङ्क परम्परामा आफ्नो प्रभाव र पन छोड्न सफल भयो । मदनदेव शान्तदेव भट्टराईको सम्पादनको ‘रत्नश्री’ ले नारी अङ्क प्रकाशनमा विशेषता कमायो ।

वि.सं.२०२० पछि निस्केका उल्लेख्य साहित्यिक पत्रिकाहरु ‘नयाँ कविता’, ‘कविता’, ‘रमझम’, ‘तुवाँलो’, ‘सौगात’, ‘कल्पना’, पारिजात; ‘मधुपर्क’, ‘बिम्ब’, ‘सञ्चय’, ‘प्रज्ञा’, सुनगाभा’, ‘बान्की’, ‘विदेह’, ‘सङ्कल्प’, ‘सन्दर्भ’, ‘अभिव्यक्ति’ आदि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’, ‘कविता’, गोरखापत्र संस्थानको ‘मधुपर्क’, र नगेन्द्रराज शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ अहिले पनि प्रकाशित भईरहेकै छन् । विगतका विभिन्न कालावधिमा प्रकाशित ‘उत्साह’,‘जुही’, ‘लहर’, ‘साँग्रिला’, ‘झिसमिसे’, श्रीजा, आदिले पनि साहित्यिक पत्रकारितामा उल्लेख्य ठाउँ बनाएका छन् ।

आज प्रकाशनमा आइरहेका साहित्यिक पत्रिकाहरु रचना, अभिव्यक्ति, बगर, उन्नयन, भानु, तन्नेरी, समकालीन नेपाली साहित्य, जनमत, शब्दाङ्कुर, शिवपुरी सन्देश, साथी, नव प्रज्ञापन, सुगन्ध, शब्द संयोजन, प्रलेस, नदी, फित्कौली, जुही, पल्लव, बनिता, वेदना, हाम्रो संस्कृति, कौशिकी, कलश, दायित्व, लिपीपौं, तेस्रो आवाज, नैमकानन (मैथिली भाषा), नवज्योति, गुगुल्डी, जनमत, कालीको सुसेली, जमघट, अक्षलोक, तीखो प्रहार, दोभान, निर्झर, अक्षर, नागार्जुन, दायित्व, रश्मि, कलम, कल्पतरु, अन्तर्वोध, अन्तध्र्वनी, हाम्रो यात्रा, प्रज्ञा, थाय् भु, आँगन, सयपत्री, कविता, गुन्जन, अभिनव, हाम्रो ध्वनि, निर्माण, हाम्रो सिर्जना, दियालो आदि हुन् । संस्थागत रुपमा प्रकाशित नेपाली, मधुपर्क, गरिमा, मुना, समकालीन साहित्य, सयपत्री, समष्टी, मिर्मिरे जस्ता प्रकाशनहरुले पनि आज पर्यन्त प्रकाशित भएर साहित्यिक पत्रकारिताको उल्लेख्य सेवा गरिरहेका छन् । रत्नश्री, नवकविता, सारस्वत, वन्दना, मुकुट, आकाश, गोलार्ध, श्रीजा आदि उल्लेख्य साहित्यिक पत्रिकाहरु हाल प्रकाशित भएका देखिँदैनन् । एक युगकै विश्रान्ति पछि ‘शारदा’ फेरि प्रकाशित हुन थाले पनि थलिएर हाल बन्द भएको छ ।

माथि जति पनि चर्चा गरिए ती प्रायः सामयिक सङ्कलनको रुपमा निस्किए भन्दा बाहेकका पत्रिका हुन् । सामयिक साहित्यिक पत्रिकाको आवरणमा निस्केका पत्रिकाहरुको आफ्नै विशिष्टता र महŒव रहेको छ । नेपालको साहित्यिक पत्रकारिताको इतिहासमा सामयिक सङ्कलनको प्रकाशन एउटा आन्दोलनकै रुपमा भएको थियो । निरङ्कुश पञ्चायती शासनमा जब अभिव्यक्ति स्वतन्त्रतामा पूर्ण बन्देज थियो, व्यवस्थाको विरोधमा कतै कुनै गतिविधि सञ्चालन गर्न सकिंदैन थियो । त्यसबेला विरोधी स्वरका विविध सामयिक सङ्कलनहरु निकालेर थुप्रै युवाहरु सत्ताको कोपभाजन भएका थिए । वि.सं.२०२५ सालदेखि २०३० सालसम्म प्रकाशित केही प्रमुख सामयिक साहित्यिक सङ्कलनहरु यी हुन् ः– ‘मन्त्र’ सम्पादक शैलेन्द्र साकार, ‘स्वतन्त्रता’ सम्पादक किशोर झुत्रे र विनोद रिमाल, ‘सिउँडी’ सङ्कलक भुवन कोइराला र पुरुषोत्तम बस्नेत, ‘त्रिफला’ सम्पादक लक्ष्मण किरण, ‘जागरण’ सम्पादक तेज खरेल, ‘विचार’ सम्पादक किशोर नेपाल, ‘प्रतीक’ सम्पादक हरिश बमजन, हरि अधिकारी र ध्रुव सापकोटा, ‘सुस्केरा’ सम्पादक रामचन्द्र भट्टराई, ‘गुनकेशरी’ सम्पादक दीपक जोशी, ‘श्रीनगर’ सम्पादक विनय कसजु, ‘जस्केलो’ सम्पादक बलराम उप्रेती, ‘चित्कार’ सम्पादक खिलध्वज थापा र मोहन घिमिरे, ‘अभिनव’ सम्पादक विनय रावल, ‘रेषा’ सम्पादक अन्जीर प्रधान पीडित आदि ।
नेपाली साहित्यिक पत्रिका र सामयिक साहित्यिक सङ्कलनहरुको उपर्युक्त तत्थ्यात्मक वृत्तान्त पछि तिनको कालक्रमिक प्रवृत्तिगत वैशिष्ट्यको बयान गर्नु आवश्यक छ । सुरूका साहित्यिक पत्रिकाहरुको उद्देश्य मुख्यतया कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरुको मनोरञ्जन गर्नमा नै बढी लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन रचनाहरु दैविक अथवा लौकिक स्तुतिगान तर्फ समेत केन्द्रित हुने गर्दथे । मूल संस्कृत भाषाका रचनालाई उल्था गरेर प्रकाशित गर्ने प्रवृत्ति पनि त्यो बेलाका साहित्यिक पत्रिकाहरुमा रहेको थियो । नेपाली पाठकहरुलाई आफ्नै भाषामा लेखिएका रचनाको पठनीयतातर्फ पे्ररित गर्न र लेखकहरुलाई नेपालीमा लेख्न प्रोत्साहित गर्न ती साहित्यिक पत्रिकाको प्रशस्त योगदान रहेको थियो ।

राणा शासनको बेला नेपाल बाहिर भारतमा बसेर नेपालीहरुले निकालेका साहित्यिक पत्रिकाहरुमा स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त उकुसमुकुसलाई प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रुपमा देखिन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनारसमा बसेर ‘युगवाणी’ मार्फत नेपालीहरुलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर कोइराला, महानन्द सापकोटा जस्ता राष्ट्रप्रेमी कविहरुले भारतबाटै प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक कुरीति विरूद्ध शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरुको अभावको त्यो बेला साहित्यिक पत्रिका नै लेखक र बौद्धिकहरुका एकमात्र सशक्त अभिव्यक्तिका माध्यम बनेका थिए । यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरुले गरेको योगदान अत्यन्त स्तुत्य रहेको छ ।
वि.सं. २००७ सालदेखि २०१७ सालसम्मको अल्प अवधिको प्रजातान्त्रिक कालमा प्रकाशित विभिन्न साहित्यिक पत्रिकाहरुले विविध विधागत माध्यमबाट नेपाली भाषा र साहित्यलाई गतिशील ऊर्जा दिएका थिए । नेपाली वाङ्मयलाई विश्वजनीन आधुनिकतातर्फ डो¥याउन समेत ती पत्रिकाहरुको प्रशस्त योगदान रहेको तथ्य हामीले बिर्सनु हुँदैन ।

नेपाली साहित्यिक पत्रिकाले सर्वाधिक उर्वर सशक्त र प्रभावोत्पादक भूमिका निर्वाह गरेको समय चाहिँ वि.सं.२०१७ देखि २०३६ साल सम्मलाई मान्नु उपयुक्त हुनेछ । प्रजातन्त्र प्रतिबन्धित रहेको, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लागेको, जनताका शाश्वत मानवीय अधिकारहरु कुण्ठित रहेको त्यो समयमा प्रकाशित साहित्यिक पत्रिकाहरु र सामयिक साहित्यिक सङ्कलनहरुले मुलुकमा व्याप्त अन्यायको विरुद्ध सशक्ततापूर्वक आफूलाई उभ्याएका थिए । मुलुकको असहनीय बेथितिको प्रतिकारमा जागरणको सन्देश दिन प्रतीकात्मक माध्यमले ती पत्रिकाहरुमा सामग्री प्रकाशन हुन थाले । अनेक प्रयोगधर्मी युवा प्रतिभाहरुले दमन, शोषण र अन्यायको विरोधमा विविध माध्यमबाट चोटिलो प्रहार गरे । मुलुकको वेथिति र विसङ्गतिका यथार्थ चित्रणयुक्त समाचार सन्देशहरु कविता, कथा, नाटक र प्रहसनको आवरणमा साहित्यिक पत्रिका र सामयिक सङ्कलनहरुले जोखिम उठाएर प्रकाशमा ल्याए । यी प्रकाशनले आफूभित्र विद्रोह र विप्लवको ज्वाला नै समाहित गरेका थिए । फलस्वरुप तत्कालीन सत्ताका निमित्त यस्तो कुरा अपराध ठहरियो र पत्रपत्रिका र सङ्कलनहरुमा कडा सेन्सरको व्यवस्था लागू गरियो । पत्रिका र सङ्कलनहरुलाई सेन्सरको मारमा पारेर मुुद्रित सामग्रीहरुमा कालो पोतेर मात्र बाहिर निकाल्ने अनुमति दिइयो । यतिबाट मात्र तत्कालीन सत्ताको चित्त बुझेन र २०३१ सालमा सम्पूर्ण साहित्यिक सङ्कलनहरुमाथि नै प्रतिबन्ध लगाइयो । तर पनि जुन साहित्यिक पत्रिकाहरु दर्ता भएर प्रकाशित भएका थिए ती मध्ये थुप्रैले प्रत्यक्ष परोक्ष रुपले प्रतीकात्मक भाषा छद्म बिम्ब र प्रयोगशील शैलीयुक्त अभिव्यक्तिबाट प्रजातान्त्रिक स्वतन्त्रताको आह्वान गरिनै रहे । वि.सं. २०४६ सालको जनआन्दोलन अघिसम्मका पत्रिकाहरुमा यस्तो प्रवृत्ति टड्कारै देखिन्छ । वर्तमानमा पनि नेपालको साहित्यिक पत्रकारिता आफ्नो कर्तव्य निर्वाहमा अग्रणी नै रहेको छ ।

नेपाली साहित्यिक पत्रकारिता अहिले मुद्रित साहित्यिक पत्रिका प्रकाशनमा मात्र सीमित छैन । सूचना प्रविधिको अपूर्व वैज्ञानिक विकासको फलस्वरुप साहित्यिक पत्रकारिता पनि प्रगतिको तीव्र फड्को मारिरहेको छ । विश्वका अनेक मुलुकमा बसेका साहित्यप्रेमी युवाहरु वेबमा साहित्यिक पत्रिका चलाइरहेका छन् । घरमै बसेर कम्प्युटरको पर्दामा ती साहित्यिक पत्रिका पढ्न पाइन्छ । मुद्रित रुपमा प्रकाशित केही साहित्यिक पत्रिकाहरु पनि अहिले वेबमा भित्रिएका छन् । यस प्रविधिले नेपाली साहित्यिक पत्रकारितामा नौलो र चमत्कारिक आयाम थपिएको छ । विश्वको जुनसुकै कुनामा बसेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संस्कृतिसँग सधैँ नजिकिएर न्यास्रो मेट्ने अवसर वेब साहित्यिक पत्रकारिताले दिएको छ ।

साहित्यिक पत्रिका प्रकाशित गर्नु नै साहित्यिक पत्रकारिता हो भन्ने भ्रम आज पनि साहित्यिक क्षेत्रमा देखिन्छ । वास्तवमा साहित्यिक पत्रकारिता आज त्यस्तो सङ्कुचित घेराबाट मुक्त हुन चाहिरहेको छ । विभिन्न माध्यमहरु मार्फत् साहित्यिक सामग्री प्रस्तुत गरिने कार्यलाई साहित्यिक पत्रकारिताको दर्जा दिन अब हामीले हिच्किचाउनु हुँदैन । कतिपय दैनिक, साप्ताहिक पत्रपत्रिकाहरुमा नियमित साहित्यिक स्तम्भ चलाउने व्यक्तिहरु साहित्यिक पत्रकार हुन् । रेडियो, एफ.एम.का साहित्यिक कार्यक्रम प्रस्तोताहरु साहित्यिक पत्रकार हुन् । टेलिभिजनमा साहित्य विषयका कार्यक्रम चलाउनेहरु साहित्यिक पत्रकार हुन् । इन्टरनेटमा साहित्यिक पत्रिका प्रस्तुत गर्नेहरु साहित्यिक पत्रकार हुन् । यी सबै माध्यमबाट साहित्य निम्ति गरिएका कामहरुको समष्टि नै साहित्यिक पत्रकारिता हो ।

उपर्युक्त कुराहरुलाई आत्मसात् गरेर नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारिताको मापदण्ड निर्धारित गर्दा सबै माध्यमबाट साहित्यिक पत्रकारिता गर्ने व्यक्तिहरुलाई साहित्यिक पत्रकार मानेको छ, र त्यस्ता व्यक्तिहरुलाई सङ्घको सदस्यता दिने प्रावधान बनाइएको छ । यसलाई स्वागतयोग्य मान्नु पर्दछ ।

पत्रकारिता साहित्य हुन सक्दैन अतः साहित्यिकहरु पत्रकार हुन सक्तैनन् अथवा साहित्यिक पत्रकारिता हुन सक्तैन भन्ने धारणा पनि यहाँ देखिन्छ । यसबारे पनि केही चर्चा गर्नु सान्दर्भिक नै ठहरिएला । साहित्यको मूल्य र मान्यता जीवनको मूल्य र मान्यता भन्दा फरक हुन सक्तैन र साहित्यिक अनुभूतिहरु जीवनका अनुभूतिहरु भन्दा बेग्लै हुन पनि सक्तैनन् । जीवन मूल्यहरुसँग पत्रकारिताको पनि सोझो सम्बन्ध रहेको हुन्छ । जीवन मूल्यको जस्तो स्थापना साहित्यमा गरिन्छ त्यसलाई पत्रकारिताले व्यावहारिक आयाम दिएर प्रस्तुत गर्ने गर्दछ । यसरी साहित्य र पत्रकारितामा खास भिन्नता छैन । शैलीको भिन्नता चाहिं छ । साहित्य अलि दिमाग खियाएर चिन्तन मन्थन गरेर लेखिन्छ भने पत्रकारितालाई हतारमा लेखिने साहित्य भन्ने गरिन्छ । प्रत्येक साहित्यकार पत्रकार हुन्छ भन्ने छैन, तर प्रत्येक पत्रकारमा कुनै न कुनै अंशमा साहित्यकारिता अवश्य नै रहेको हुन्छ । अभिव्यक्तिका अनेक शैली मध्ये केही शैली साहित्यकारका निम्ति उपयोगी हुन्छन् त केही शैली पत्रकारका निम्ति । साहित्यकार कुनै विषय लेख्न एक हजार शब्द प्रयोग गर्दछ भने पत्रकार त्यही विषयलाई निकै थोरै शब्दमा लेख्ने सामथ्र्य राख्दछ । पत्रकार आफ्नो शैलीलाई सरल र सरस बनाउछ भने साहित्यकारको शैली अलि दुरूह र बौद्धिक विलासमा रत्तिएको हुन्छ । पत्रकारको निम्ति कुनै पनि विषय अग्राह्य हुदैन तर साहित्यकार कुनै खास विषयमा सीमित रहन्छ । यसरी आपूm आफ्नो वेग्लै अस्तित्व राखे पनि पत्रकारिता र साहित्यको अन्तरङ्ग नाता गाँसिएकै हुन्छ ।

हाम्रै पत्रकारिताको कुरा गर्ने हो भने पनि यहाँका सबैजसो समाचार पत्रपत्रिकाका सम्पादक अथवा सम्बद्ध पत्रकारहरु कुनै न कुनै वेला अथवा अहिले पनि लेखक साहित्यकार वा कवि नै भएका व्यक्तिहरु छन् । साहित्यिक पत्रकार हुन सक्तैनन् भन्ने मान्यता राख्ने पत्रकारले आफ्नै साहित्यिक पृष्ठभूमि बिर्सनु विडम्वना नै मान्नुपर्दछ ।

सूचना पत्रकारिताले समाचार–सामयिक टिप्पणी र तात्कालिक महŒवका सामग्री प्रस्तुत गर्दछ भने साहित्यिक पत्रकारिताले शाश्वत मूल्य महत्ताका लेखरचना, कथा–कविता नाटक–निबन्ध आदि प्रस्तुत गर्दछ । दुवैमा खास भिन्नता यही मात्र हो । अझ सूचना पत्रकारिताले पनि अचेल कविता–कथा, निवन्ध सहितका साहित्यिक सामग्री आ–आफ्ना पत्रिकामा प्रशस्त पस्कने गरेका छन् । यसरी त तिनको र साहित्यिक पत्रकारिताको झन् समानता र निकटता पो देखिन्छ । उपर्युक्त दृष्टान्तहरुलाई केलाउने हो भने साहित्य, पत्रकारिता र साहित्यिक पत्रकारितालाई एक अर्कोका पूरक कै रुपमा हेर्नु उपयुक्त होला ।

साहित्यिक पत्रकारिताले सेवाको यत्रो चरण पार गरेता पनि यसको प्रगति निम्ति भने राज्यले आफ्नो दायित्व पूरा नगरेको कटु अनुभव यस क्षेत्रले गरेको छ । समाचार पत्रकारिता निम्ति जुन लगानी राष्ट्रले गरेको छ, त्यस क्षेत्रको विकास निम्ति जस्तो सहयोग गरिएको छ त्यस अनुपातमा साहित्यिक पत्रकारितालाई गरिएको उपेक्षा भनिसाध्य छैन । प्रेस काउन्सिलले यसलाई पत्रकारिताको एउटा अङ्ग मानेर साहित्यिक पत्रकारलाई प्रेस काउन्सिल सदस्यमा ठाउँ दिन थाले तापनि साहित्यिक पत्रकारितालाई अपहेलित गर्ने त्यहाँको प्रवृत्तिमा अझै सुधार आएको छैन । नेपाली पत्रकारिताको जनक साहित्यिक पत्रकारिता भएर पनि पत्रकारितासँग सम्बन्धित हाम्रा सङ्घ संस्थाहरुमा यस क्षेत्रलाई अछुत झैं ठान्ने प्रवृत्ति पनि यथावत् नै छ । साहित्य र साहित्यिक पत्रकारिताकै धरातलबाट उठेर प्रबुद्ध पत्रकार, चतुर राजनीतिज्ञ, सफल सत्ताधारी भएकाहरुले नै साहित्यिक पत्रकारितालाई हेला गरेको दुर्नियति आज साहित्यिक पत्रकारिताले भोगिरहेको छ । यो क्षेत्र अहिलेसम्म टिकिरहेको छ भने त्यो आफ्नै भरमा मात्र टिकेको छ । निस्वार्थ साहित्य सेवाको भावना लिएर हिडेका केही व्यक्तिहरुको बलबुतामा मात्र साहित्यिक पत्रकारिता बाँच्न बाध्य भएको छ । यो गम्भीर अवस्थाबाट साहित्यिक पत्रकारितालाई उकास्नु प्रत्येक बौद्धिकहरुको कर्तव्य हो । यस सन्दर्भमा नेपाल साहित्यिक पत्रकार सङ्घको आयोजनामा हेटौँडामा आयोजित ‘‘वृहत् साहित्यिक पत्रकारिता गोष्ठी, २०६४’’ र ‘‘मोफसलको साहित्यिक पत्रकारिता गोष्ठी, २०६६’’ मा जारी गरिएका घोषणापत्रहरुलाई कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकायहरुले गम्भीर पाइला चाल्ने हो भने साहित्यिक पत्रकारिताको भलो हुन्छ ।

निचोडमा के भन्न सकिन्छ भने नेपालको साहित्यिक पत्रकारिताले आफ्नो अतीतदेखि वर्तमानसम्म भाषा, साहित्य, संस्कृति, ज्ञान विज्ञान र कला क्षेत्रको विकासमा आफ्नो उत्तरदायित्व स्वाभाविक रुपले पूरा गरेको छ । त्यतिमात्र नभएर हाम्रो साहित्यिक पत्रकारिताले नेपाल राष्ट्र र नेपाली जातिलाई युगानुकुल प्रखर स्वतन्त्र चेतनातर्फ जागृत गराउन ऐतिहासिक महŒवको अत्यन्त सकारात्मक भूमिका निर्वाह गरेको छ । यसै तथ्यले गर्दा नै हाम्रो साहित्यिक पत्रकारितालाई बौद्धिक समाजले गरिमामय मान्यता र आदर समेत दिएको हो ।


sag

  • VIP
  • ******
  • Posts: 742
प्रसवकालीन ती दिनहरु
विवश वस्ती


नेपाल साहित्यिक पत्रकार सङ्घ आज पा“चौ वर्षमा हि“ड्दैछ । इतिहास निर्माणको हिसाबले चार–पा“च वर्षलाई लामो अवधि मान्न नसकिएला । तर पनि आफ्नो यात्राको अल्पअवधिमै देशभरिका सम्पूर्णजसो साहित्यिक पत्रकारहरुलाई समेटेर नया“ गति र दिशा पर्गेल्ने काममा भने सङ्घले उल्लेख्य उपलब्धि हासिल गरेको छ । र, सबै साहित्यिक पत्रकारहरुलाई छहारी उपलब्ध गराउने वटवृक्षको रुपमा यसले आफ्नो गहन चिनारी बनाउ“दै गएको छ । आज यो कुरा निर्विवाद रहेको तथ्यप्रति सायदैलाई शङ्का होला ।

यतिबेला एउटा प्रश्न स्वाभाविक रुपमा उठ्छ, किन आवश्यक ठानियो नेपाल साहित्यिक पत्रकार सङ्घ ? यो प्रश्नको उत्तर खोज्नुअघि छ–सात वर्षअघिको परिवेशमा फर्किनै पर्छ । देशमा शाहीतन्त्रको कालो बादल मडारिइरहेको बेला, स्वतन्त्रताका हातखुट्टाहरु बा“धिएको बेला र राजनीतिक अन्योल, अस्थिरता र उथलपुथल परिस्थिति जन्मिएको बेला नेपाल साहित्यिक पत्रकार सङ्घ स्थापनाको आवश्यकताबोध गरिएको थियो ।

२०६१ को नया“ वर्षको सुरूवातस“गै ‘शब्द–संयोजन’ मासिक साहित्यिक पत्रिका आरम्भ गरियो । संस्थागत रुपबाट निस्किरहेका सीमित साहित्यिक पत्रिकाहरुले प्रगतिशील मूल्य, मान्यता र स्वरहरु बोक्ने र बोल्ने सिर्जना प्रकाशनमा छेकबार लगाइरहेको कुरा अनुभूत हुनु स्वाभाविक थियो । र, एउटा बेग्लै धारको मासिक साहित्यिक पत्रिकाको आवश्यकता खट्कि“दै गएको थियो । त्यही आवश्यकता पूरा गर्न ‘शब्द–संयोजन’को प्रकाशनले सैद्धान्तिक मान्यता पाएको थियो । प्रखर प्रगतिशील स्रष्टा एवम् अग्रज वासुदेव अधिकारीसित मैले एकदिन मासिक साहित्यिक पत्रिका प्रकाशनको प्रस्ताव राखे“ । मधुपर्क, गरिमाजस्ता संस्थागत सहयोगमा चलिरहेका पत्रिकाहरु आर्थिक रुपले धरमर रहेको वास्तविकता एकातिर छ“दै थियो । त्यस्तो स्थितिमा केही व्यक्तिहरुको पहलमा साहित्यिक पत्रिका निकाल्ने विषय ‘लहड र दुई चार दिनको फूर्ति’ बाहेक अरु हुन सक्दैनथ्यो । मासिक रुपमा साहित्यिक पत्रिका निकाल्ने कुरा उप्काउ“दा प्रगतिशील वृत्तका स्रष्टाहरु हाम्रो कुरालाई ‘नितान्त गफ’ ठान्थे । र, महŒवाकाङ्क्षी सोचको उपजको रुपमा पनि हेर्दथे । वासुदेवजीले त भन्नु पनि भयो–‘महिना–महिनामा निकाल्न सकिएला र ?’

मैले भने“–‘योजनाबद्ध रुपले काम गर्दा निकाल्न सकिन्छ ।’

प्रकाशन प्रारम्भ भएर ‘शब्द–संयोजन’ले पाइला चाल्दै थियो । त्यही क्रममा साहित्यिक पत्रकारहरुको प्रभावशाली संस्थाको आवश्यकता खट्कियो । साहित्यिक पत्रिका र पत्रकारहरुका बारेमा बोल्ने संस्थाको सर्वथा अभाव रहेको महसुस हुन थाल्यो । लामो इतिहास बोकेको साहित्यिक पत्रकार सङ्घ थियो त्यो बेला । क्रियाशीलताको अभाव झेलेर बा“चिरहेको उक्त संस्थामा आबद्ध रहेर साहित्यिक पत्रकारिताको क्षेत्रमा संस्थागत पहल गर्न सकिने आशा सुरुका दिनहरुमा पलायो पनि । र, मैले साहित्यिक पत्रकार सङ्घको आजीवन सदस्यता लिए“ र एक–दुईवटा बैठकहरुमा सहभागिता पनि जनाए“ । उक्त संस्थामा आवद्ध भएपछि मैले अनुभूत गरे“, यो संस्था आफ्नै सा“घुरो वृत्तमा मात्र रुमल्लिइरहेको छ, फराकिलो क्षितिज नियाल्ने सोच र सङ्कल्पमा उभिएको छैन । उक्त संस्थामा औँलामा गन्न सकिने एकाध क्रियाशील पत्रकारबाहेक ठूलो सङ्ख्याका साहित्यिक पत्रकारहरु आबद्ध रहेनछन् । र, प्रायजसो पत्रकारका कुनै पनि पत्रिका नियमित रुपमा प्रकाशित रहेनछ र दस–पन्ध्र वर्षअघि केही अङ्क साहित्यिक पत्रिका निकालेको आधारमा साहित्यिक पत्रकार भइटोपलेको रहस्य क्रमशः खुल्दै गयो । सङ्घका तत्कालीन अध्यक्ष राधेश्याम लेकालीसमक्ष मैले प्रस्ताव पनि राखे“–‘सङ्घलाई फराकिलो पारौं, क्रियाशील पत्रकारहरुलाई समेटौं ।’ तर मेरो प्रस्ताव साहित्यिक पत्रकार भइटोपलेकाहरुका निम्ति सुपाच्य हुने कुरै भएन । मैले सो संस्थासित पारपाचुके गरेर क्रियाशील पत्रकारहरुको संस्था स्थापना गर्नुपर्ने सच्चाइ बुझे“ र त्यस्ता कोटीका पत्रकारहरुसित सम्वादको प्रक्रिया बढाउन आवश्यक ठाने“ ।

‘बगर’का सम्पादक नकुल सिलवाल पनि क्रियाशील पत्रकारहरुको संस्थाको अभाव महसुस गरिरहनुभएको थियो । नया“ संस्था स्थापना गर्ने सिलसिलामा एकदिन चावहिलमा भेला पनि भयौैं हामी । ‘सुगन्ध’का सम्पादक कैलाश भण्डारी (दिवङ्गत), मातृका पोखरेल, चेतनाथ धमला र म थिए“ त्यतिबेला । चावहिलको एउटा चिया पसलमा बसेर नया“ संस्थाका बारे छलफल भयो । क्रियाशील साहित्यिक पत्रकारहरुको संस्था स्थापनाका लागि जग बसालिएको सीमित व्यक्तिहरु उपस्थित रहेको त्यो भेलामा नकुल सिलवाल कार्यव्यस्तताका कारण आउनु भएन भने अरु साथीहरु पनि आउन सक्नुभएन । हुन त हामीले विशेष आग्रहसहित वियोगी बुढाथोकीलाई पनि निम्त्याएका थियौं, तर उहा“ पनि आउन सक्नुभएन । जोजति उपस्थित थिए, उनीहरुबीच क्रियाशील साहित्यिक पत्रकारहरुको संस्था गठन गर्ने कुरामा सैद्धान्तिक सहमति कायम भयो ।

२०६२÷०६३ को जनआन्दोलनपछि नेपाल साहित्यिक पत्रकार सङ्घ जन्मिएको भए पनि बिजारोपण भने एकाध वर्ष पहिले नै भएको थियो । तर विविध कारणबस त्यसले मूर्त रुप पाउन सकिरहेको थिएन । संस्था दर्ता गर्नुअघि साहित्यिक पत्रकारहरुलाई एकै थलोमा बसाउने उद्देश्यअनुरुप २०६३ जेठ २२ गते एउटा भेला बसी भेला आयोजक कमिटी गठन ग¥यौं । र, उक्त भेलाले संयोजकमा नकुल सिलवाल, सचिवमा विवश वस्ती, कोषाध्यक्षमा चेतनाथ धमला र सदस्यहरुमा मातृका पोखरेल, प्रकाश सिलवाल, नवराज पुडासैनी र लक्ष्मी उप्रेतीलाई चयन ग¥यो । २०६३ असार १० गते भेला बोलाउने टुङ्गो पनि भयो । भेला आयोजक कमिटीको बैठक २०६३ जेठ ३० गते बस्यो र उक्त बैठकले भेला आयोजक कमिटीमा रामेश्वर राउत ‘मातृदास’ र नवराज रिजाललाई मनोनयन गर्ने निधो पनि भयो ।

२०६३ असार १० गते भेला सम्पन्न भयो । उक्त भेलाले नया“ कार्यसमिति गठन ग¥यो । जसमा अध्यक्ष नकुल सिलवाल, उपाध्यक्ष लक्ष्मी उप्रेती, सचिव विवश वस्ती, सहसचिव प्रकाश सिलवाल, कोषाध्यक्ष चेतनाथ धमला र सदस्यहरु मातृका पोखरेल, नवराज पुडासैनी, नवराज रिजाल र यादव भट्टराई चयन भए । र, अग्रज पत्रकार रोचक घिमिरे, मोहन दुवाल र वियोगी बुढाथोकीले सल्लाहकारको रुपमा उभिएर संस्थालाई अग्रगति दिनका लागि अहम् भूमिका खेल्नुभयो ।

संस्था दर्ताको क्रममा केही तीता प्रसङ्गहरु पनि भए । सम्भवतः असारको तेस्रो साताको कुरा थियो । हामी चाहन्थ्यौँ, प्रशासनिक ढिलासुस्ती नहोस् । तर त्यस्तै सङ्केत पाइयो । मैले नकुल सिलवाललाई भने“–‘सिडियो मेरै जिल्लाबासी रहेछन्, एकपटक गएर अनुरोध गर्ने कि ?’

हामी सिडियोको कार्यकक्षमा छि¥यौँ । सिडियो स्थानेश्वर देवकोटाले सहयोगी भूमिका खेल्नुभन्दा पनि सबै प्रक्रिया पुगेको भएमात्र काम हुने बताए । काम छिटो हुने अपेक्षा स“गाल्दै ‘जिल्लाबासी’को लगाइएको साइनो त्यत्तिकै खेर गयो । उनको रवाफले मलाई भित्रभित्रै पोल्यो । नजिकै बसिरहेका कवि रामचन्द्र भट्टराईले हाम्रो बारेमा रामै्र कुरा गर्दा पनि उनले वास्ता गरेनन् । त्यसपछि हामी प्रशासनिक अधिकृतको कोठातिर हान्नियौं । नेमप्लेट हेर्नेबित्तिकै मैले भने“–‘ल, चिनेकै मान्छे रहेछन्, एकपटक अनुरोध गरौँ न ।’

२०६१, साउनको पहिलो साता अछाम जा“दा नेपालगञ्जको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरि प्याकुरेलले अचम्मकै सहयोग गरेका थिए । हामीलाई अछाम छिट्टै पुग्नु थियो तर नेपालगञ्जबाट सा“फेबगरमा एक सातादेखि प्लेन उडिरहेको थिएन र झन् सिट पाउने कुरा त ‘आकाशको फल’जस्तै थियो । प्रशासनलाई दिने गरिएको दुईटा सिट पाउने अपेक्षा बोक्दै हामी बिहान दसै बजे पुगेका थियौं, प्रशासन कार्यालयतिर । प्याकुरेलजीले तत्कालीन शाही नेपाल वायुसेवा निगमका नेपालगञ्ज प्रमुखलाई फोनबाट आग्रह गर्दै भने–‘उहा“हरुलाई आज जसरी भए पनि सा“फेबगरको सिट मिलाइ दिनु । धेरै नै जरुरी कामले हि“ड्नुभएको हो ।’ संयोग पनि कस्तो प¥यो भने एक सातादेखि नगइरहेको प्लेन त्यही दिन उड्यो ।

तिनै सहयोगी प्याकुरेलजीसामु मैले भने“–‘हामी साहित्यिक पत्रकारहरुको संस्था हो यो, प्रहरी रिपोर्ट बुझ्ने बहानामा समय लगाउनु आवश्यक छैन ।’

प्याकुरेजीले भने–‘अब आज तीन बजिसक्यो, भोलि दस बजे नै आउनुस्, काम हुन्छ ।’

हामी भोलिपल्ट समयमै पुग्यौं । संस्थाको विधान रुजु गर्ने काम था“ती नै थियो । तर प्याकुरेलजीले त्यहा“का कर्मचारीलाई अ¥हाउ“दै भने–‘उहा“हरुको संस्थाको प्रमाणपत्र तयार पारेर ल्याउनुस्, विधान पछि हेर्दै गर्दा हुन्छ ।’ प्याकुरेलजीले भने–‘मैले तपाईको मुख हेरेर सही गरिदिएको छु, तलमाथि त नपर्ला नि ।’

यसरी, प्रशासनिक कार्यालयमा सामान्य माथापच्चीपछि नेपाल साहित्यिक पत्रकार सङ्घले विधिवत मान्यता पायो । र, हामी पनि नया“ संस्थालाई कसरी क्रियाशील बनाउने, देशभरिका साहित्यिक पत्रकारहरुलाई कसरी समेट्ने भन्ने धुनमा सामेल भयौँ । संस्थागत रुपमा अघि बढ्दा साहित्यिक पत्रिकाहरुले राज्यबाट पाउनु पर्ने सुविधा र सहयोगमा पनि निकै नै प्रगति भएको छ । लामो इतिहास बोकेको साहित्यिक पत्रिका र पत्रकारहरुले आज निरीह भएर बस्नुपरेको छैन । संस्थागत रुप नलि“दा साहित्यिक पत्रकारहरुलाई राज्यले जसरी बेवास्ता गर्दै आइरहेको थियो, आज आंशिक रुपमै भए पनि त्यो स्थितिमा फेरबदल आएको छ । साहित्यिक पत्रकारितामा देखिएका समस्याहरुलाई सामुहिक रुपमा उठाउन पाइएको छ र राज्यले पनि साहित्यिक पत्रकारहरुलाई उपेक्षा गरेर अघि बढ्ने दिन समाप्त भएको महसुस गर्न थालेको छ । नेपाल साहित्यिक पत्रकार सङ्घ स्थापना गर्नुको ठूलो फाइदा र खुसीको विषय नै यही हो भन्ने लाग्छ ।

आज देशभरिका साहित्यिक पत्रकारहरुको एउटा साझा मञ्चको रुपमा नेपाल साहित्यिक पत्रकार सङ्घले आफूलाई विकसित, समृद्ध र परिपक्व तुल्याउ“दै लगिरहेको छ । जसरी नेपाल पत्रकार महासङ्घमा सबै राजनीतिक आस्था बोकेका पत्रकारहरु आबद्ध छन्, नेपाल साहित्यिक पत्रकार सङ्घमा पनि त्यही स्थिति छ । राजनीतिक आस्था, वादप्रतिवादका कुराहरु आफ्नो ठाउ“मा भए पनि साहित्यिक पत्रकारिताको स्तरवृद्धिका लागि र पत्रकारहरुको हक, हित प्रवद्र्धनका लागि क्रियाशील रुपले अगाडि बढिरहेको छ । पा“च वर्षको हि“डाइमा नेपाल साहित्यिक पत्रकार सङ्घले आफूलाई एउटा समृद्ध र प्रभावकारी संस्थाको रुपमा स्थापित गरिसकेको तथ्यलाई अब कसैले पनि ढाकछोप गर्न सक्दैन ।

बालाजुटार, काठमाडौँ


sag

  • VIP
  • ******
  • Posts: 742
साहित्यिक पत्रिका सहयोग र वितरण प्रणाली
श्रीओम श्रेष्ठ ‘रोदन’

साहित्यिक पाठकको रुचि बढाएर पढ्ने र पढाउने साहित्यिक पत्रिकाको उद्देश्य रहेको हुन्छ । यही उद्देश्य अनुरुप प्रकाशन हुन प्रारम्भ गरेको साहित्यिक पत्रकारिताले एक शताब्दी पार गरिसकेको छ तर साहित्यिक पत्रकारिताले अतीतदेखि भोग्नुपरेको समस्या वर्तमानसम्म पनि यथावत् नै रहेको छ । हजारौँ लेखक कवि तथा बौद्धिक जमातको खुराक बन्नसकेको साहित्यिक पत्रकारिताले अझसम्म पेशागत रुप लिनसकेको छैन । समाज र राष्ट्रले यस क्षेत्रलाई अनुत्पात्दक क्षेत्रका रुपमा लिएकै कारण साहित्यिक पत्रकारिता व्यावसायिक बन्नसकेको छैन् ।

नेपाली साहित्यिक पत्रकारिता जगत्को विकास एवं संवद्र्धन गर्न तथा यस जगत्ले भोग्नुपरेको समस्याहरुको समेत अनुसन्धान गरी समाधानको विकास पहिल्याउने उद्देश्यले प्रेस काउन्सिल नेपालले साहित्यिक पत्रकारिता उपसमिति बनाए पनि खासै परिणाममुखी हुनसकेको देखिँदैन । प्रेस काउन्सिलले मासिक पत्रिकाहरुमा लगाएको बत्तीस दिने नियमले गर्दा साहित्यिक पत्रिकाहरुले सुविधा उपभोग गर्न सकिरहेका छैनन् । सरकारी तथा संस्थागत प्रकाशन बाहेकका अधिकांश साहित्यिक पत्रिकाहरु द्वैमासिक र त्रैमासिक छन् । मासिक रुपमा प्रकाशित पत्रिकाहरु पनि नियमित रुपमा बत्तीस दिनभित्रै प्रकाशित हुन सहज हुँदैन ।

यस्तो परिस्थिति भोगिरहेको साहित्यिक पत्रिकाहरुले गत वर्षदेखि अलिकति भए पनि राहत अनुभव गर्नपाएका छन् । श्री ५ को सरकारले आर्थिक वर्ष २०६१÷६२ को बजेटमा १५ लाख रुपिया साहित्यिक पत्रपत्रिकाका लागि विनियोजन गरेको थियो ।

साहित्यिक रचना मात्र प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा लामो समयदेखि योगदान पु¥याउँदै आएका साहित्यिक पत्रिकाहरुलाई सरकारले सहयोग गर्नु आवश्यक ठानी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमार्फत अनुदान प्रवाह गर्नेगरी रकम विनियोजन गरिएको थियो । सरकारले प्रदान गरेको १५ लाखमध्ये ५० प्रतिशत रकम सावाँको रुपमा स्थायी कोषमा जम्मा गरी बाँकी ५० प्रतिशतको साढे सात लाख रकम साहित्यिक पत्रिकाहरुलाई वर्गीकरणका आधारमा वितरण गरिएको थियो । उक्त आर्थिक सहयोग रकमको निर्धारण र वितरण सम्बन्धी कार्यक्रमको सुव्यवस्थापन र नियमनका लागि सातसदस्यीय साहित्यिक पत्रिका सहयोग कोष सञ्चालक समितिको गठन भएको थियो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा गठन भएको उक्त समितिमा अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका एकजना प्रतिनिधि, साहित्यिक पत्रिकाहरुमा प्रकाशक वा सम्पादकमध्येबाट एकजना, प्राज्ञ परिषद्का सदस्य मध्येबाट एकजना, साहित्यिक पत्रकार सङ्घका प्रतिनिधि र प्रज्ञाप्रतिष्ठानका पत्रिकाका प्रधानसम्पादकमध्येबाट एकजना मनोनित सदस्य रहेका थिए ।

साहित्यिक पत्रिका सहयोग कोष सञ्चालक समितिद्वारा आर्थिक सहयोगका लागि सिफारिस प्रस्तुत गर्न सार्वजानिक आह्वान गरे बमोजिम अधिराज्यभरिबाट ५४ वटा साहित्यिक पत्रिकाको आवेदन परेको थियो । उक्त आवेदनहरुको छानबिन गरी मूल्याड्ढन गर्न, प्राज्ञ भुवन ढुङ्गानाको संयोजकत्वमा सातसदस्यीय मूल्याड्ढन समितिको गठन गरिएको थियो ।

निर्णायक समितिको मूल्याड्ढनका आधारमा ५४ वटा पत्रिकामध्ये ३७ वटा साहित्यिक पत्रिकालाई सहयोग रकम वितरण गरिएको थियो । जसमध्ये धेरै लामो समयदेखि व्यक्तिगत वा सामूहिक प्रयासमा साहित्यिक सेवाभावबाट प्रकाशित हुँदै आएका र हालसम्म प्रकाशनको क्रमलाई निरन्तरता दिइरहेका तथा साहित्यिक जगत्मा स्थापित साहित्यिक पत्रिकाहरुलाई सबैभन्दा बढी सहयोग रकम प्रदान गरेको थियो । जसमध्ये रचना, भानु र अभिव्यक्ति साहित्यिक पत्रिकाले ६० हजारको सहयोग प्राप्त गरेका थिए । यसरी प्रदान गरिएको सहयोग रकम प्रोत्साहनस्वरुप पाँच हजारसम्मको रहेको थियो । सहयोग रकम प्राप्त गर्ने साहित्यिक पत्रिकाहरुमा उपत्यकाबाहिरबाट प्रकाशित भएका तथा तामाञ, मैथिली, नेवारी र राईभाषाका पत्रिका पनि थिए ।

आर्थिक सहयोग प्रयोजनका निम्ति साहित्यिक पत्रिकाहरुको प्रकाशन, इतिहास, नियमितता, लोकप्रियता, स्तरीयता र साहित्यिक योगदानलाई समेत आधार बनाएर मूल्याड्ढन गरिएको थियो । साहित्यिक पत्रिकाको वर्गीकरण र आर्थिक सहयोग प्रदान गर्नका लागि साहित्यिक पत्रिका सहयोग कोष सञ्चालन कार्यविधि २०६१ निर्माण भएको थियो । जसअनुसार काठमाडौँ उपत्यकाबाट न्यूनतम ५० अड्ढ प्रकाशित भएका उपत्यकाबाहिरबाट न्यूनतम ३५ अड्ढ प्रकाशित भएका साहित्यिक पत्रिकालाई बढीमा ६० हजारसम्म र लामो समयदेखि प्रकाशित भएर २५ अड्ढसम्मको निरन्तरता पाइसकेको साहित्यिक पत्रिकालाई ३० हजारसम्म प्रदान गर्ने गरी वर्गीकरण गरिएको थियो ।

यसैगरी काठमाडौँ उपत्यकाबाहिरबाट प्रकाशित नियमित साहित्यिक पत्रिकाहरु, राष्ट्रियभाषाका साहित्यिक पत्रिकाहरु र चालू वर्षमा नियमित छ अड्ढसम्म प्रकाशित भएका साहित्यिक पत्रिकाहरुलाई २० हजारसम्म र्आिर्थक सहयोग प्रदान गर्ने प्रावधान रहेको थियो । यसरी प्रदान गरिएको आर्थिक सहयोग सरकारी, सरकारको अनुदान प्राप्त र नियमित आर्थिक स्रोत प्राप्त हुने संस्थाहरुबाट प्रकाशित भएका साहित्यिक पत्रिकाहरुलाई प्रदान गरिएको थिएन् ।

साहित्यिक पत्रकारिताको प्रारम्भ नेपालमा मात्र नभएर विश्वभरि नै धेरै अगाडि भएको भए पनि अखबारी पत्रकारिताको तुलनामा साहित्यिक पत्रकारिता अगाडि बढ्नसकेको छैन । यस्तो स्थितिमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमार्फत साहित्यिक पत्रिकालाई आर्थिक सहयोग वितरण गर्नु सुखद कुरो हो तर साहित्यिक पत्रिकाहरुलाई प्रकाशित अड्ढको आधारमा गरिएको वर्गीकरणले पहिलोपटक भएकोले स्वाभाविकै भएको मान्नसकिन्छ तर यही आधारलाई निरन्तरता दिएर आर्थिक सहयोग वितरण गर्दा वैज्ञानिक र न्यायोचित नहुनसक्छ । यसबाट एउटै नामका पत्रिकाहरुले विशेष सहयोग पाउनसक्ने भएकोले विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

नेपाली साहित्यिक क्षेत्रमा साहित्यिक पत्रिकाहरुले पु¥याएको योगदानको तुलनामा यसपटक प्रदान गरिएको आर्थिक सहयोग ठूलो होइन तर यस कोषले प्रत्येक वर्ष निरन्तर पाउनसक्यो भने साहित्यिक पत्रिकाहरु नियमित र स्तरीय हुने आशा सहज रुपमा गर्नसकिन्छ ।

(प्रस्तुत लेख २०६१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वितरण
गरेको साहित्यिक पत्रिका सहयोग कोषमा आधारित छ । लेखक तत्कालीन साहित्यिक पत्रिका सहयोग कोष सञ्चालक समितिको निर्णायक सदस्यमध्ये एक हुनुहुन्थ्यो–सम्पादक)