Author Topic: मगर भाषा साहित्यिक पत्रिका - लोकबहादुर थापा मगर  (Read 6160 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
मगर भाषा साहित्यिक पत्रिका बीम्लीक र स्रष्टा
लोकबहादुर थापा मगर


स्थिर होइन गतिशील मानव चेतनाले नयाँनयाँ सोच र विचारले जन्म लिन्छ । दबिएका स्वरहरु आफूले जानेका भाषाहरुमा प्रकट हुन्छन् । राज्यको नीतिमा समयानुकूल सुधार र परिवर्तनले नेपालका विभिन्न दमित भाषा भाषीहरुमा नयाँ किरण छाउन लाग्दा मगर भाषा साहित्यको पनि सिर्जना गर्ने चाहना केही शिक्षित मगरहरुमा स्वाभाविक रुपले जागृत भयो । वि.सं. २०४६ सालको परिवर्तनले ल्याएको बहुदलीय व्यवस्थाको आगमनसँगै मातृभाषाको आवादमा लाग्ने इच्छाशक्ति जागेको देखिन्छ विभिन्न मातृभाषीहरुमा । यसैको परिणाम मान्नु पर्छ मगर भाषा साहित्यको श्रीवृद्धिमा ‘बीम्लीक’ (जुनकिरी) ले आफ्नो अभियानको थालनी गरेको हो ।

मगर भाषा साहित्यको कवितातर्फ सर्वप्रथम कलम चलाउने जीतबहादुर सिंजाली मगर, सु. रेखबहादुर थापा मगर तथा बालकृष्ण पोखरेल (रुपाखेती) अग्रस्थानमा रहेका छन् । त्यसैले जीतबहादुर सिंजाली मगर र सु. रेखबहादुर थापा मगरलाई मगर समुदायले आफ्नो भाषा साहित्यको यो थालनी पनि कैयौँ वर्षको भ्याकुम अन्तरलाई आपूर्ति गर्न ‘बीम्लीक’ ले २०५२ वैशाखबाट आफ्नो अभियान थालनी ग¥यो । पोखरा, कास्कीबाट प्रकाशन आरम्भ गरिएको तीन महिने साहित्यिक पत्रिका ‘बीम्लीक’ हालसम्म जम्मा ६ अङ्क प्रकाशित छन् । मगर भाषा साहित्यमा कविता, कथा, एकाङ्की नाटक, निबन्ध, नाटक आदि समेटिएका यस साहित्यिक पत्रिकाले मगर स्रष्टाहरुमा एउटा हलचल ल्याउन सफल देखियो । करिब डेढ वर्षजति निरन्तर रुपमा प्रकाशित रहे तापनि विविध कठिनाइले गर्दा पत्रिका प्रकाशन कार्यमा अवरोध आउन थाल्यो । पत्रिका प्रकाशनमा टुटेको कडी जोडिएर फेरि प्रकाशित हुन थालेको छ । यो शुभ सङ्केत मान्नु पर्दछ ।

मगर भाषा अन्तर्गत पर्ने मगर ढुट, मगर खाम÷पाङ र मगर काइके तीओटै मगर भाषालाई समावेश गरेर लैजाने लक्ष्य राखिएको यो साहित्यिक पत्रिकामा मगर ढुटका स्रष्टाहरु बढी क्रियाशील रहेकाले उनीहरुकै लेख रचनाहरुले बढी स्थान पाएको देखिन्छ । प्रधान सम्पादक लोकबहादुर बरही थापा मगर रहेको यस साहित्यिक पत्रिकामा विविध विधामा कलम चलाउने व्यक्तिहरु रहेका छन् । तीमध्ये ‘भावूक’ मगर, ‘वैरागी’ नाता मगर, पूmल कुमारी थापामगर, वेग आलेमगर, अमृता थापामगर, ईमान तमु, ‘संजोग’ लाफा मगर, मनबहादुर बगाले मगर, जङ्ग घले मगर, होमबहादुर आले मगर, सोम राना मगर, रामबहादुर थापा मगर, गणेश ठाडा मगर, विवश पाटा मगरको नाम लिन सकिन्छ ।

मगर भाषा साहित्यको उपन्यास विधामा बढी कृतिहरु प्रकाशित छन् । यस क्षेत्रमा योगदान पु¥याउनेहरुमा लोकबहादुर थापा (झुस्या मगर), ‘सन्जोग’ लाफामगर, ‘वैरागी’ नाता मगर, शिवलाल थापा मगर, विप्लव मगर, मेक राना मगर, टिकाराम आले, ‘गोरखाली’ मगर, उल्लेख्य रहेको पाइन्छ । यसरी नै कवितातर्फ पनि ‘वैरागी’ नाता मगर, लोकबहादुर थापा (झुस्या मगर), रुद्र थापा हिटान मगर, उमेश लाटो मगर, वेग आले मगर, सन्तोष बुढा मगर, बमकुमारी बुढा मगर, विष्णु सिंजाली मगर, हरिकला थापा मगर, मुन ‘मिगिन’, धनबहादुर मगर, खड्कबहादुर आले मगर, पूर्णबहादुर राना मगर, उजीर राना मगर, उमा राना ‘सानु’ रहेका छन् । कथा तर्फ टेकबहादुर सारू मगर, फुलकुमारी थापा मगर, विष्णु सिंजाली मगर, उमा राना मगर, उजीर राना मगरको नाम आउँछ ।

मगर भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याउने अन्य विधाका स्रष्टाहरुमा रूद्र ‘सन्देश’ मगर, (मुक्तक), मीमिक माकिम मगर (गजल), मीन थापा मगर (हाइकु) युवराज मास्की मगर (नाटक), शिवलाल थापा मगर (निबन्ध), ‘वैरागी’ नाता मगर (गीति खण्डकाव्य), जनक माकीम मगर (मुक्तक), हिरासिंह थापा मगर (मगर ढुट शब्दकोश), कर्णबहादुर बुढा मगर (खगर खाम शब्दकोश), जुक्तिप्रसाद पुन मगर (खाम शब्कोश), लोकबहादुर थापा मगर (मगर ढुट व्याकरण प्रकाशोन्मुख) प्रमुख रहेका छन् ।

हाल मगर ढुट (भाषा) को लागि कक्षा १ देखि ५ सम्मको पन्ध्र ओटा पुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार भई केही विद्यालयमा पठनपाठन गर्न सुरूवात भएको छ । यसरी नै यस भाषामा अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षाको लागि पाठ्यपुस्तक तयार गर्दै छ । मगर ढुटको खबर पत्रिका ‘कानूङ खबर’ दैनिक रुपमा पोखराबाट प्रकाशित (हाल रोकिएको), लाङ्घाली मासिक छन् । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा मगर भाषाका खबर तथा लेखहरु प्रकाशित भइरहेका छन् । सरकारको तर्फबाट सहयोगको नीति आएको खण्डमा मगर भाषा साहित्यको विकासमा गति लिने उज्ज्वल आशा गर्न सकिन्छ ।