Author Topic: साहित्यिक पत्रकारका रुपमा भरतपुर यात्रा -- वासुदेव अधिकारी  (Read 6274 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
साहित्यिक पत्रकारका रुपमा भरतपुर यात्रा
वासुदेव अधिकारी


– तपाईहरु चितवन आउनु भएकाले मौसम सितल भयो । (अनौपचारिक कथन)
– अक्षरकर्मीहरुले अविभाजित यात्रा गर्नुपर्छ ।
– साहित्यिक पत्रकारिता दधिचीको हाडघोटाइ हो । त्यो हामी गरिरहेकै छौं । यो काममा संलग्न हुनु शिवजीले बिख पिउनुतुल्य काम गर्नु हो ।
– देवकोटाले युगवाणी, प्रगति र इन्द्रेणी सम्पादन गर्दा अभिलिखित साहित्यिक पत्रकारिताको समस्या अझै हल भएको छैन, त्यो ज्यूँका त्यूँ छ ।
– साहित्यिक पत्रकारिताको अथक साधक चूडामणि रेग्मीलाई पुरस्कृत गरेर नेपाल साहित्यिक पत्रकार सञ्घले साँच्चिकैको हीरा चिनेको महसूस भयो ।
– वर्तमान लेखनले गम्भीरताका साथ आत्मसात गर्न र जनसमक्ष पु¥याउनु पर्ने कुरा धेरै छ । सीमा मिचिएको सम्वेदनशीलता हामीले व्यक्त गर्न सकेका छैनौँ ।
– साहित्यिक पत्रकारको हालत हुम्लाको गरीब किसानको जस्तो छ, रोग लाग्दा उपचार गराउने पैसा छैन, पैसा जुटे सिटामल किन्न पाउने अवसर छैन ।
– इलामको साहित्यिक पत्रकारिताले महानन्द सापकोटाहरुको गोडमेल पाउन सक्यो ।
– चितवनको साहित्यिक बाली आनन्ददेव भट्टहरुको सञ्चेतनाको उपज हो । चितवनको साहित्य डायस्पोरिक विशेषताले भरिएको छ ।
– मोफसलको साहित्य मोफसलमा फल्ने तर केन्द्रमा चाखिने फूल हो ।
– लिएर कति नै पुग्छ र ? जति सक्छौँ त्यति दिने हो हामीले ।
– ग्रिष्मबहादुर देवकोटाले प्रारम्भ गरेको साहित्यिक पत्रकारिताको इतिहास लेखनलाई अद्यावधिक गर्नु अहिलेको आवश्यकता हो ।
– सरकारसँग आफ्नो स्पष्ट कुरा राखौँ, धेरै रोइकराइ नगरौँ । साहित्यिक पत्रिका सके निकालौँ अन्यथा बन्द गरौँ ।
– साहित्यिक पत्रिकाको समस्या ठूलै छ तर त्यो भन्दा ठूलो कुरा ज्यान सुरक्षित गर्नु हो ।
– पत्रिका पठन संस्कृति विकसित गर्नु आवश्यक छ अहिले ।
– हाम्रो साहित्यमा पश्चिमी अक्टोपसको प्रवेश छ तर माटोको सुगन्ध अझै महकिन सकेको छैन ।
– साहित्यकारको दृष्टि मुलुकको मुल मुद्दा तथा सानातिना कुरा दुवैतिर बाडिनु पर्छ ।
– मोफसलले कतिपय अवस्थामा नेपाली साहित्यलाई धेरै महŒवपूर्ण गुन लगाएको छ ।
– २०२३ सालको वृहत् साहित्य सम्मेलनपछि चितवनमा यो नै महŒवपूर्ण साहित्यिक सञ्गोष्ठी हुनसक्यो ।
– १६ बुँदे चितवन घोषणपत्र कार्यान्वयन हुनसके साहित्यिक पत्रकारिताले गुणात्मक फड्को मार्न सक्छ ।

नेपाल साहित्यिक पत्रकार सञ्घको आयोजनामा चितवनको क्यान्सर अस्पतालस्थित सभाकक्षमा यसै जेठ नौ गते शनिबार सम्पन्न एक दिवसीय मोफसल साहित्यिक पत्रकारिता सञ्गोष्ठीमा बडा मीठो, गहिरो र सान्दर्भिक छलफल भयो । छलफलको केन्द्रविन्दु साहित्यिक पत्रकारिताको विकास थियो । साहित्यिक पत्रकारितमा गासिएकाहरुको ऐतिहासिक भेला थियो त्यो । झापादेखि कञ्चनपुरसम्मका निजी तथा संस्थागत साहित्यिक पत्रकारहरु भेला भएका थियौं हामी । संस्थाका अध्यक्ष रोचक घिमिरेको तन्मयता, बीपी क्यान्सर अस्पतालका कवि डाक्टर बालकृष्ण थापाको हार्दिकता, साहित्यिक पत्रकारिताका जीवित पुस्तामध्येका भीष्मपितामह नगेन्द्रराज शर्मा र चूडामणि रेग्मीको सार्थक उपस्थिति, प्रा. राजेन्द्र सुवेदी, प्रा. घनश्याम कँडेल, डा. तुलसी भट्टराई, विजय चालिसे, कृष्ण धराबासी, मोहन दुवाल, ज्ञानुवाकर पौडेल, डि.आर. पोखरेल, हरिगोविन्द लुईटेल, ईश्वरचन्द्र ज्ञावालीलगायत नयाँ पुरानो पुस्ताका पाँच दर्जनजति साहित्यिक पत्रकारहरुको जागरुक उपस्थिति र सक्रिय विचार विमर्शले चितवन तातियो यस पटक । चितवनको साविकको गर्मीलाई भने त्यस दिन तथा अघिल्लो रात परेको पानीले निकै मत्थर बनाइदिएको थियो । त्यही कारणले त आत्मीयजनलाई सितलताको कुरा गर्ने मेसो मिलेको थियो । कार्यक्रमबाट चितवनका स्रष्टाहरु आल्हादित भए । विषयवस्तुले पूरै तान्यो उनीहरुलाई । प्रेस काउन्सिल नेपालले समेत सघाएको उक्त कार्यक्रममा काठमाडौँ चितवनका स्रष्टा परस्परमा घुलमिल भए । आपसमा स्मृति, अनुभूति र चिनजान साटासाट भयो । भेटमा व्यक्तिगत, सामुहिक र संस्थागत कुराकानी भयो । साहित्य साधनामा लागेका उत्तरदायित्वपूर्ण स्रष्टाहरु नै हुन् साहित्यिक पत्रकारितामा लाग्ने पनि । यस भेटघाटले साहित्यिक पत्रकारहरुलाई अरु आत्मिय बन्न प्रेरित ग¥यो । हेटौंडा घोषणापत्र जारी गर्ने बेला भएको भेटघाट पछिको यो ऐतिहासिक समारोहमा झापा छुटेन, कञ्चनपुरले धरी नाइनास्ती गरेन त्यहाँ आउन । अधिकांश स्थानको प्रतिनिधित्व भयो । हामीले त्यसैमा खुशी साट्यौं । सञ्गोष्ठीमा नेपाल साहित्यिक पत्रकार सञ्घले मोफसललाई गरेको माया झड्कृत भयो । कार्यक्रममा आगामी सञ्गोष्ठी सुनसरीमा गर्ने प्रतिबद्धता व्यक्त भयो । खानापूर्व सुरु भएको गोष्ठी लगातार सात घण्टा जति चल्यो । तथापि सहभागीहरुमा थकानभाव देखिएन ।

चितवनको एउटै कार्यक्रमले छलफलको निकै लामो पोयो बाट्यो । रोचक घिमिरेको अध्यक्षता र राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम चल्यो । कार्यक्रम सञ्चालन गरे यादव भट्टराई तथा भूपिन ब्याकुलले । सभामा २ वटा कार्यपत्र प्रस्तुत भए । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई माल्यार्पणले मात्र होइन तुलसी भट्टराईलिखित देवकोटाको साहित्यिक पत्रकारिता विषयक कार्यपत्रमार्फत् पनि श्रद्धा र सम्मान गरियो । इलामको साहित्यिक पत्रकारिताबारे शिव रेग्मीको कार्यपत्र र चितवनको साहित्यिक पत्रकारिताबारे डी.आर.पोखरेलको कार्यपत्रले सहभागीहरुको मस्तिष्कमा प्रशस्त उज्यालो फाल्यो । दुबै कार्यपत्रउपर सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखे । कार्यक्रमको दुवै सत्र गरी करिब २०–२२ जनाले आफ्नो मन्तव्य राखे । मन्तव्यमा यस लेखको प्रारम्भमा टिपोट गरिएका बुँदाहरु नै मूल रुपमा उठाइए । साहित्यिक पत्रकारिताको उन्नयन र विकासका लागि सहभागीहरुले उठाएका जिज्ञासा साँच्चिकै मननयोग्य थिए र छन् ।

सञ्गोष्ठीमा केवल गुनासा, पीडा र सरकारसँग विज्ञापन लिने र खाने खालका मात्र कुरा भएनन् यस अभियानमा जीवन समर्पण गर्ने शीर्ष व्यक्तित्व चूडामणि रेग्मीलाई सगर्व सम्मान कार्यसमेत गरियो । जुहीका सम्पादक रेग्मीको साहित्यिक समर्पण सदैव अनुकरणीय रहिआएको छ । त्यस्तै, कार्यक्रममा रह शर्माको निबन्ध कृति पहाडको फेदीको पाहुनाघरको विमोचनका साथै जनमत प्रकाशनले डी.आर. पोखरेल विशेष भनी निकालेको जनमतको अड्ढ सम्बन्धित स्रष्टालाई प्रदान गर्ने काम पनि भयो । सञ्गोष्ठीले साहित्यिक पत्रकारिताको संस्थागत, दिगो, स्तरीय एवम् भरपर्दो प्रकाशनका लागि १६ बुँदे चितवन घोषणपत्र समेत जारी गरेको छ । घोषणपत्र सही तवरबाट कार्यान्वयन हुनसके साहित्यिक पत्रकारिताको भविष्य उज्यालिँदै जाने देखिन्छ ।

साहित्यिक पत्रकारिता कठिन कार्य हो अहिलेको अवस्थामा । न यसमा मनग्गे विज्ञापन प्राप्त हुन्छ न रोजगारीको अवसर । यो प्रकाशन गर्ने चेष्टाले न लेखकलाई पारिश्रमिक दिन सकिन्छ न पाठकको घरघर पु¥याउन सघाउने वातावरण नै प्राप्त छ । साहित्यिक पत्रिकालाई हुलाक दर्तासम्मको छुट छैन । लक्ष्मीप्रसाद देवकोटाले २०१३ सालमै माग गरेको विषय रहेछ हुलाक दर्ता । ५३ वर्ष व्यतीत भयो त्यो हुन सकेको छैन । सूचना प्रविधिको यतिविघ्न विकास भएको अवस्थामा राज्यले साहित्यिक पत्रिकाको स्तर निर्धारण गरी नियमित न्यूनतम विज्ञापन, शून्य लागतमा इन्टरनेट सुविधा, ५०० देखि १००० थानसम्म पत्रिका खरिद गरी विभिन्न पुस्तकालय, स्कुल कलेज वा स्थानीय निकायमा पठाउने काम गर्ने र सम्पादक÷प्रकाशकले पनि पत्रिकालाई अरु पठनीय र सुरुचिपूर्ण बनाउन सकेसम्मको मेहनत गर्ने हो भने यसको विकास असम्भव छैन । आफूखुशी सम्पादक बनेका व्यक्तिहरुलाई सम्पादन कला, पाठकअपेक्षा, स्तरीकरणको सवाल आदिबारे बेलाबेला छलफल, अन्तक्र्रिया र गोष्ठी गरेर पनि सरकार वा गैर सरकारी संस्थाले यस क्षेत्रको विकासमा टेवा पु¥याउन सक्छ । वर्षभरि प्रकाशित हुने स्तरीय साहित्यिक पत्रिकालाई आकर्षक पुरस्कारको व्यवस्था गरेर पनि यस कार्यमा मलजल गर्न सकिन्छ । आर्थिक तथा गैरआर्थिक दुवै तवरले टेवा दिँदा मात्र साहित्यिक पत्रकारिता अघि बढ्न सक्छ । यसको विकासको निम्ति आर्थिक सवाल महŒवपूर्ण समस्या हो तथापि केवल पैसाको बिटो बाँडेर मात्रै चाहिँ साहित्यिक पत्रकारिता बलियो हुने होइन । सम्पादक प्रकाशकले सिर्जना सम्प्रेषणमा निष्ठा, इमान्दारिता र समर्पणसहित लेखक पाठकको बीचमा प्रभावकारी भूमिका निर्वाह गर्ने, त्यस कार्यलाई सरकार, प्रज्ञा प्रतिष्ठानहरु, स्थानीय निकाय तथा गैरसरकारी क्षेत्रले यथोचित सहयोग गर्ने अवस्था सिर्जना हुनसके नेपाली साहित्यिक पत्रकारिताले निरन्तरता पाउन सक्ने थियो । साहित्यिक पत्रकारिताको निरन्तरताले स्रष्टा उन्नयनमा महŒवपूर्ण योगदान गर्ने यथार्थलाई आत्मसात गरी चितवन सञ्गोष्ठीले तदनरुप १६ बुँदे चितवन घोषणापत्र (खासमा मागपत्र) जारी गरेको हो । चितवन घोषणापत्र अघिल्ला घोषणापत्रहरुजस्तै थन्क्याउने कागजातमा परिणत नहोस् भन्ने सर्तकता यस पटकको कार्यक्रमको विशेष पूँजी थियो । त्यो पूँजीलाई कार्यान्वयन र अनुगमन मार्फत् अक्षय बनाउने काम भने नेतृत्व वर्गको नै हो ।

यात्रारम्भमै बिग्रिएको बसले मुड बिगारे पनि तत्काल तीनथानामा त्यसलाई बदली गरिएको हाम्रो चितवन यात्रा हादिकता र छलफल दुवै तहमा उपलब्धिपूर्ण रहयो । साहित्यिक लेखनमा मेधावी तवरले अघि बढिरहेका चितवनका युवा पुस्ता र इतिहास रचना गरिसकेका पाका पुस्ता सबैसँग भेटघाट भयो । कतिपयसँग आफ्नै पत्रिका शब्दसंयोजनको पनि कुरा भयो । आत्मियता बढ्यो । काठमाडौँबाट बसमा जाँदा नरेश श्रेष्ठसँग पहलमान सिंह स्वारको पुख्र्यौली घरसम्मको यात्राबारे कुरा भयो । मैले शब्दसंयोजनमा उनले खिचेको फोटो मागे । फर्किदा रामेश्वर राउत मातृदासँग हिंसामुक्त मनोविज्ञानको बारेमा लामै छलफल भयो । दुई दिनको चितवन यात्राले समय खेर गएको अनुभूति दिएन । चितवनले साँच्चै माया ग¥यो साहित्यिक पत्रकार समुदायलाई ।

(साप्ताहिक प्रकाश, २०६६ जेठ १५ गते शुक्रबार)