Author Topic: मोफसलको साहित्यिक पत्रकारिता - विजय चालिसे  (Read 6744 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
मोफसलको साहित्यिक पत्रकारिता
विजय चालिसे

साहित्यिक पत्रकारितालाई समस्याको पहिचान गर्ने र तिनको निराकरणमा सरकारलाई आह्वान गर्ने दृष्टिले प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल साहित्यिक पत्रकार सञ्घले आयोजना गरेको चितवन सञ्गोष्ठी उल्लेख्य रह्यो । “मोफसल साहित्यिक पत्रकारिता सञ्गोष्ठी ” नाम दिइएको त्यो सञ्गोष्ठीले मोफसलमा पुगेर मोफसलकै साहित्यिक पत्रकारितालाई केन्द्रविन्दु बनाइ गम्भीर छलफल चलाउने अवसर दियो ।

साहित्यिक पत्रकारिताको चितवन सञ्गोष्ठीमा सहभागी भइरहँदा यो पङक्तिकारलाई वि.सं. २०६५ पुस अड्ढको यसै स्तम्भमा चलाएको मोफसलको साहित्य चर्चाको सम्झना भइरह्यो । त्यतिबेला साहित्यको सन्दर्भमा जे चर्चा गरिएको थियो, एक अर्थमा साहित्यिक पत्रकारिताको सन्दर्भमा पनि तिनै कुरा सत्य लाग्छन् । मोफसल साहित्यले कतिपय सन्दर्भमा मूलधारका कथित केन्द्रीय साहित्यलाई जसरी चुनौती दिइरहेका छन् केन्द्रबाट प्रकाशनमा आइरहेका संस्थागत र केही निजी प्रकाशनलाई छाडेर हेर्दा आकार, पृष्ठ, सज्जा र सामग्रीको स्तरको दृष्टिले अन्य कतिपय साहित्यिक प्रकाशनमा पनि लागू हुन्छ । यस दृष्टिले अन्य कतिपय साहित्यिक पत्रिकाबाट अहिले नै पनि केन्द्रका कतिपय नियमित प्रकाशन पछि परिसकेका नदेखिने होइन । पूर्वका इलाम–झापादेखि सूदुर पश्चिमका महेन्द्रनगरसम्मका नियमित प्रकाशनमध्ये कतिपयलाई उदाहरणमा लिन सकिन्छ । त्यसैले राजधानीका भन्दैमा सबै स्तरीय र साधनसम्पन्न होलान र मोफसलका जति सबै स्तर–साधनविहीन छन् भन्ने कुनै वस्तुगत आधार भेटिन्न । वितरण समस्याका कारण मोफसलका प्रकाशनहरु केन्द्रमा उपलब्ध छैनन् । किनेर पढ्न त केन्द्रकै पनि केही स्थापित र स्तरीयबाहेक साहित्यिक पत्रिकाका पाठक पाइँदैन भने मोफसलका पत्रिका केन्द्रकाले किनेर पढ्ने कुरा त कल्पनाबाहिरको कुरा भइहाल्यो । यस कारणले पनि मोफसलको साहित्यिक पत्रकारिताको शक्ति केन्द्रसँग अपरिचित नै रह्यो, त्यसबारे केन्द्रले बुझ्न पनि चाहेन सायद । त्यसैले केन्द्र र मोफसलका साहित्यिक पत्रकारिताले एक अर्कालाई बुझ्न र एक अर्काको समस्या जान्न पनि यस्ता कार्यक्रमले महŒवपूर्ण सहयोग गर्नेछन् ।

कार्यक्रममा विभिन्न कुराहरु आए, तिनमा विचारविमर्श पनि भए । करिब पाँच घण्टा लामो एकदिने त्यो कार्यक्रमको लामो समय उद्घाटन, परिचर्चा, प्रमाणपत्र र सम्मानपत्रहरुको वितरण हस्तान्तरण आदिमा उपयोग भयो । गोष्ठीको भागको समय यसरी सबैतिरबाट नखोसिएको भए वा मूल सञ्गोष्ठीलाई बढी समय उपलब्ध गराउन कार्यक्रमलाई दुई दिने बनाउन सकिएको भए मोफसलमा साहित्यिक पत्रकारिताका थप समस्या, सीमा र कठिनाइहरुका बारेमा अझ गहन ढङ्गमा छलफल हुनसक्थ्यो र कार्यक्रमको सक्रिय सहभागितामा समेत देखिने केन्द्रको वर्चस्व न्यून बनाउन पनि यसले मद्दत पु¥याउँथ्यो । त्यसो नहुँदा सञ्गोष्ठीमा होस् वा त्यसपूर्वका र समापनसमेतका अन्य चरणमा वक्ताहरुमा समेत केन्द्रकै मात्र वर्चस्व देखियो, केन्द्रकै वक्ताहरुको बाहुल्य रह्यो । कार्यक्रममा देखिएका यी केही पक्षबाहेक कार्यक्रम अरु हिसाबले निकै उपयोगी रह्यो, मोफसललाई केन्द्रले बुझने प्रयास गरिरहेको छ भन्ने सानो भए पनि सन्देश दिन सफल रह्यो । जे होस् थोरै समयमा जे जति छलफल भयो, त्यो निश्चय नै गम्भीर थियो र चितवन घोषणापत्रको मस्यौदा तयार भएर त्यसको अनुमोदनसमेत हुनसक्यो । गोष्ठीको सर्वाधिक सफल पक्ष पनि सायद त्यही रह्यो ।

सञ्गोष्ठीमा दुईवटा पत्र प्रस्तुत गरिए । साहित्यिक पत्रिकाका गम्भीर अन्वेषक शिव रेग्मीको “इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्र–पत्रिका” शीर्षक पत्र सबै प्रकारले कार्यपत्र थिएन । त्यो लेखकले प्राक्कथनमा भन्नुभएजस्तै उहाँको नेपाल अधिराज्यका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने जिज्ञासाको फलस्वरुप जन्मेको एउटा सामान्य आलेख मात्र थियो । त्यसैले त्यसमा कार्यपत्रको संरचना, विषयगत प्रतिपादन, राष्ट्रिय साहित्यिक पत्रकारिता र मोफसलबीचको तुलनात्मक अध्ययन र आजको मोफसल साहित्यिक पत्रकारिताका प्रवृत्ति, सीमा र समस्याहरुबारे वस्तुगत अध्ययनको अपेक्षा स्वाभाविक पनि रहेन । त्यसमाथि पत्र प्रस्तोता स्वयंको अनुपस्थितिमा ती कमी कमजोरीमाथि छलफल र सुझावको सन्दर्भ पनि त्यहाँ रहेन तर पनि गम्भीर अध्येता रेग्मीको त्यो आलेख पूर्ण नभए पनि इलामा जिल्लाबाट निस्किएका केही पत्रिकाको राम्रो परिचय गराउनमा उहाँको निकै परिश्रम परेको अनुमान गर्न नसकिने होइन ।

दोस्रो कार्यपत्र डी. आर. पोखरेलको कार्यपत्र चितवनको साहित्यिक पत्रकारितासँग सम्बन्धित थियो, तर पत्र उपलब्ध नहुँदा सहभागीहरु गहिरिएर त्यसको अध्ययन गर्ने अवसरबाट बञ्चित रहे तर पनि यो कार्यपत्रको ढाँचामा प्रस्तुत गरिएको थियो र केही कमजोरी भए पनि चितवनको साहित्यिक पत्रकारिताको लगभग साञ्गोपाङ्गो जानकारी दिन सफल थियो ।
जे होस् सञ्गोष्ठी कार्यक्रमले मोफसलको साहित्यिक पत्रकारितालाई केन्द्रीय विषय बनाएर गम्भीर छलफलको वातावरण सिर्जना ग¥यो । साथै सञ्गोष्ठी केन्द्रबाहिर आयोजना गरेर नेपाल साहित्यिक पत्रकार सञ्घले निश्चय पनि राम्रो काम गरेको छ । साहित्यिक सङ्घसंस्थाका कार्यक्रमहरु राजधानी केन्द्रित हुँदै आएका छन् र प्रायः सञ्घसंस्था राजधानी र राजधानीका सुविधाभन्दा बाहिर निस्कन चाहँदैनन् । यो परम्परामा परिवर्तन हुन आवश्यक पनि छ । आशा गरौं, सञ्घसंस्थाहरुको केन्द्रभिमुख कार्यक्रम र गतिविधिलाई केन्द्र बाहिर पुग्न पनि यस्ता कार्यक्रम प्रेरक बन्न सकून् ।

साभार, मधुपर्क, २०६४ असार