Author Topic: रौतहटमा साहित्यिक पत्रकारिताको - सञ्जय साह ‘मित्र’  (Read 6824 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
रौतहटमा साहित्यिक पत्रकारिताको आधा शताब्दी
सञ्जय साह ‘मित्र’

मोफसलीय पत्रकारिता साहित्यिक पत्रकारिताबाट आरम्भ भएको मानिन्छ । वीरगञ्जबाट श्यमप्रसादद्वारा सेवा सदनको नाउँमा वि.सं. २००८ मा सेवा नामक मोफसलको पहिलो ऐतिहासिक साहित्यिक पत्रिका निकालिएको झण्डै सात वर्षपछि रौतहटमा वि.सं. २०१५ देखि साहित्यिक पत्रकरिता आरम्भ भएको पाइन्छ ।

सम्वत्् २००४ को वसन्तपञ्चमीका दिन गौरमा स्थापित शारदा पुस्तकालयको २०१४ सालमा नाम परिवर्तन गरी कलाकुञ्ज पुस्तकालय बनाइएपछि नेपाल–भारत दुवैतिर साहित्यिक जागरण ल्याउन कलाकुञ्ज पुस्तकालयलाई प्रकाशक बनाई विक्रमाब्द २०१५ देखि वाणी मासिक पत्रिकाको प्रकाशनारम्भ हुन्छ । लखनउ विश्वविद्यालयका एम.ए. रिसर्च स्कालर (हिन्दी) का विद्यार्थी रुपेन्द्रनाथ शर्मा केही प्राचीन ग्रन्थको खोजी गर्दै इ.सं. १९६० जनवरी २१ मा कलाकुञ्ज पुस्तकालयमा आएका बेला उनले पुस्तकालयको निरीक्षण पुस्तिकामा वीणा पत्रिकाको बारेमा हिन्दी–नेपाली मासिक रहेको उल्लेख गरेका छन् । २०१७ सालमा मुलुकमा भएको राजनीतिक परिवर्तनको कालो छायाँ वीणा साहित्यिक माासिकमाथि परेर यो बन्द हुन पुग्यो । वीणाका तत्कालीन अङ्कहरुबारे जानकारी प्राप्त हुन सकेको छैन । प्रकाशन बन्द भएको उनान्चालीस वर्षपछि २०५६ सालमा नेपाली, मैथिली र हिन्दी रचनासहित स्मारिकाका रुपमा वीणा फेरि देखा परेको छ । त्यसपछि रौतहटको पहिलो पत्रिका वीणाको प्रकाशन हुन सकेको छैन ।

वीणाका तत्कालीन सम्पादकहरुमा जनकनन्दन वर्मा, विष्णुबहादुर मानन्धर, पं. मङ्गलकुमार उपाध्यायहरु रहेको पाइन्छ । त्यसै गरी २०५६ मा प्रकाशित वीणालाई चित्रबहादुर गिरी, सुशीलकुमार झा, दीपेन्द्रकुमार श्रीवास्तव, रणधीरकुमार चित्रकार रमण र नीलकण्ठ थपलियाले संयुक्त सम्पादन गरेका छन् ।

सम्वत् २०१७ मा वीणाको प्रकाशन स्थगन भएपछि एक दशकसम्म रौतहटमा कुनै साहित्यिक पत्रिका प्रकाशन भएको देखिन्न । पञ्चायतकालीन समयमा साहित्यिक रचनामार्फत् राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले हिमालीवासका केही शिक्षित युवाहरुले हिमाली पुस्तकालयको स्थापना गरी हिमाली आवाज पत्रिका प्रकाशन गरेको देखिन्छ । चार अङ्कसम्म प्रकाशित भएर बन्द भएको हिमाली आवाजका हर्ताकर्ताहरुमा कौशल पाण्डे, गणेश गौतम, महेन्द्रबहादुर अमात्य रहेका थिए ।

हिमाली आवाज बन्द भएको दुई दशकपछि चन्द्रनिगाहपुरको सूर्योदय पुस्तकालयबाट सूर्योदय साहित्यिक पत्रिकाको प्रकाशनारम्भ हुन्छ । रमेशमोहन अधिकारी, शङ्कर भट्टराई र भूपेन्द्र खड्काको संयुक्त सम्पादनमा २०४९ को वैशाखमा प्रकाशित सूर्योदय २०५७ सालसम्म रौतहट विशेषाङ्कसहित ६ अङ्क प्रकाशित भएर हाल प्रकाशन स्थगित रहेको छ । रौतहटको साहित्यिक इतिहासमा सर्वाधिक महŒवपूर्ण स्थान ओगट्न सफल सूर्योदयले जिल्लाभित्र तथा बाहिरसमेत लोकप्रियता हासिल गरेको थियो । रौतहटेली साहित्यमा पुनर्जागरण ल्याउन सफल सूर्योदय अस्ताचल गमनपश्चात् रौतहटमा स्तरीय साहित्यिक पत्रिकाको अभाव अझै पूरा हुन सकेको छैन ।

चन्द्रनिगाहपुरबाटै साहित्यकार यमकुमार श्रेष्ठको प्रकाशन सम्पादनमा २०४५ सालदेखि पाथीभराले नवप्रतिभाहरुलाई बढी स्थान दिने गरेको पाइएको छ ।

साहित्यिक प्रकाशनमा शून्यताको अवस्थामा रौतहटेली साहित्यकारत्रय रमेशहरि शर्मा ढकाल ‘समर्थन’, शीतल गिरी र सुशीलकुमार झाको सामूहिक प्रयासमा २०५७ वैशाखदेखि रौतहटरश्मि साहित्यिक त्रैमासिकको आरम्भ हुन्छ । प्रारम्भिक अङ्क हवाई पत्रिकाकारमा भए पनि पछि पुस्तिकाकार रुपमा प्रकाशन हुन थालेको रौतहटरश्मिले साँच्चिकै रौतहटको रश्मि बनेर १३ अङ्कसम्म निरन्तरता पायो । निरन्तरता तथा स्तरीयताका दृष्टिले मात्र नभई सर्वाधिक बढी अङ्क प्रकाशन हुने साहित्यिक पत्रिकाका रुपमा समेत रहेको रौतहटरश्मिले कविता, नारी र रौतहट विशेषाङ्क निकल्ने जस्ता ठोस कर्यहरु पनि गरेको छ । यस पत्रिकाले रौतहट रश्मिको प्रकाशन रोकिनाले यस जिल्लाको साहित्येतिहासमा निकै ठूलो धक्का लागेको छ ।
स्मरणीय कुरा, रौतहट रश्मीले प्रतिभा पुरस्कार÷सम्मान दिन आरम्भ गरेको थियो । यस पुरस्कार÷सम्मानबाट २०५७ मा सञ्जय शाह र २०५८ मा मकवानपुरका प्रतिभा श्यामकुमार बानियाँ सम्मानित भएका छन् । रौतहटको स्थानीय बजिका भाषामा रचनालाई समेत महŒवपूर्ण स्थान दिने गरेको छ ।

अङ्ग्रेजी र नेपाली भाषाका बालरचनाहरु समाविष्ट गरी चन्द्रनिगाहपुरकै नमुना इङ्लिस बोर्डिङ स्कुलले २०५८ सालदेखि नमुना बाल साहित्यिक द्वैमासिक पत्रिकाको प्रकाशन थालेको हो । प्रकाशन संस्थाकै बाल रचनाहरुको प्रधानता रहने नमुनामा नियमितता छैन र हाल यसको प्रकाशन स्थगन छ । नमुनाका सम्पादक प्रकाशक विद्यालयकै शिक्षक प्रकाश राई छन् ।
रमेशमोहन अधिकारीको सम्पादनमा शङ्कगुदर उच्च माध्यमिक विद्यालय समनपुरद्वारा २०६१ सालदेखि प्रकाशन सुरु गरिएको साहित्यिक त्रैमासिक पत्रिका हो– समनपुष्प । ग्रामीण समुदायमा साहित्यिक जागरण ल्याउँदै स्थानीय बज्जिका भाषालाई स्तम्भ नै उपलब्ध गराएको समनपुष्प नियमित रुपमा प्रकाशन हुँदै एघारौँ पाइलोपश्चात टक्क अडेको छ । प्रतिभा उत्पादन, संरक्षण, सम्बद्र्धन तथा रौतहटेली साहित्याकाशलाई फराकिलो पार्ने दिशामा सम्पूर्ण साहित्यप्रेमीहरुको आशाको स्तम्भ पनि चुँडिएको छ । असामयिक रुपमा बन्द हुने यसअघिका पत्रिकाको परम्परालाई समपुष्पले समेत तोड्न नसकेर रौतहटेली साहित्यलाई ठूलो क्षति भएको छ ।

विभिन्न सङ्घसंस्थाहरुले विभिन्न नाम र प्रकारमा दुई–चार अङ्कसम्म हस्तलिखित भित्ते पत्रिका निकाल्ने र हराउने क्रम जारी छ । कतिपय संस्थाले एक अङ्कलाई छापाका माध्यमबाट पनि सार्वजनिक गरेको पाइन्छ । तर जनसेवा नेपाल, माधोपुरले पुस्तिकाकारमा बालप्रयास पत्रिकाको पहिलो अङ्क २०६६ वैशाखमा प्रकाशन गरेको छ । सञ्जय शाह ‘मित्र’को सम्पादन तथा भाग्यनारायण महतोको संंयोजन रहेको बालप्रयासले निरन्तरताको प्रतिबद्धता जाहेर गरेको थियो ।

नेपाली भाषाका यी साहित्यिक पत्रिकाहरुबाहेक रौतहटमा बोलिने विभिन्न एघार भाषाहरुमध्ये तामाङ र बज्जिका भाषामा पनि पत्रिका प्रकाशनको अभ्यास भएको पाइएको छ । २०४०–०४२ सालतिर चन्द्रनिगाहपुरका केही उत्साही तामाङ युवाहरुको सक्रियतामा च्छारम्हेन्दो (उदाउँदो सूर्य) नामक साहित्यिक पत्रिका प्रकाशन भएको उल्लेख पाइन्छ । तीन अङ्कसम्म प्रकाशनपश्चात रोकिएको च्छारम्हेन्दोको पुनः प्रकाशन हुन सकेको छैन । यसै गरी रौतहटको प्रमुख मातृभाषाका रुपमा रहेको बज्जिकामा २०६४ सालदेखि अर्धवार्षिक रुपमा बज्जिकार्पण साहित्यिक पत्रिकाको प्रकाशन हुन थालेको छ । पुस्तिकाकारमा चार अङ्कसम्म प्रकाशित यस पत्रिकाको प्रधान सम्पादक सञ्जय शाह मित्र रहेका छन् ।

यसरी रौतहटेली साहित्यिक पत्रकारिताले आधा शताब्दीको लामो यात्रा तय गरिसकेको देखिए पनि, इतिहाससको एउटा लामो कालखण्ड बिताइसकेको भए पनि यथार्थमा रौतहटेली साहित्यिक पत्रकरिता वि.सं. २०१५ कै अवस्थामा छ । साहित्यिक पत्रकारितारुपी पुलबाट खोलो तरेर धेरै साहित्यकारहरु राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गर्न सफल भए पनि रौतहटेली साहित्यिक पत्रकारितालाई टेवा पु¥याउने ठोस कदम अहिलेसम्म कतैबाट चालिएको पाइन्न । इतिहासनै बनेको भए पनि रौतहटेली साहित्याकाशमा सूर्योदय, रौतहटरश्मि र समनपुष्प सर्वाधिक महŒवपूर्ण पत्रिकाका रुपमा देखिएका छन् ।

(जनमत पूर्णाङ्क १४८, २०६६, मङ्सिर)