Author Topic: Nepali Flag (नेपालको राष्ट्रिय झन्डा)  (Read 9802 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
राष्ट्रिय झन्डाको हिन्दुत्व

स्रोत: नयाँ पत्रिका

-भोगीराज चाम्लिङ

संयुक्त राष्ट्रसंघले नेपालको राष्ट्रिय झन्डाका बारेमा लेखेको छ— ‘नेपालको राष्ट्रिय झन्डा विलक्षण छ । त्यसको कारण हो यसको परम्परागत हिन्दु रूपरंग ।’ राष्ट्रसंघले नेपालको राष्ट्रिय झन्डाको ‘हिन्दुत्व’का बारेमा गरेको यस व्याख्यालाई सजिलै पन्छाउन सकिन्न, न त यसलाई नेपाल एकात्मक हिन्दु अधिराज्य हुँदाको बखतको अधिनायकवादी व्याख्या भनेर नै बेवास्ता गर्न सकिन्छ । त्यसो गर्न नसकिने केही ठोस ऐतिहासिक आधार छन् ।

यस राष्ट्रिय झन्डामा हिन्दुहरूको विशाल योगदान छ । यसमा प्रयोग भएका रंग, रेखा र अर्थहरूमा हिन्दुहरूको अमिट छाप र सभ्यताको प्रतिविम्ब छ । तर, यसमा जनताभन्दा शासकहरूको स्वार्थकै पदचिह्न बढी परेका छन् । शासकले यसको व्याख्या त्यसरी नै गर्दै आएका छन् । यसका बारेमा गरिएका केही उल्लेखनीय व्याख्या यस्ता छन्— सिमि्रक राजतन्त्रबोधक रंग हो, चन्द्रमा चन्द्रवंशी शाह राजतन्त्र र सूर्य सूर्यवंशी लिच्छवि-मल्ल शासकहरूको प्रतीक हो, सूर्यवंशी भएकाले लिच्छवि-मल्लकालमा सूर्य माथि र चन्द्रमा तल थियो, तर चन्द्रवंशी पृथ्वीनारायण शाहको पालादेखि यता चन्द्रमा माथि र सूर्य तल पारियो, यसमा प्रयोग भएको एउटा त्रिकोणले हिन्दु मान्यताअन्तर्गतको त्रिशक्ति र अर्को त्रिकोणले त्रिगुणको प्रतिनिधित्व गर्छ आदि इत्यादि ।


यद्यपि, यस व्याख्यालाई कत्ति पनि फेरबदल गर्न सकिँदैन अथवा फेरबदल गर्न नै हुँदैन भनेर संकुचित तर्क गर्नु जरुरी छैन किनभने रंग, रेखा र आकारका स्वतः आफ्नै निजी अर्थ हुँदैनन् । यसलाई परिवर्तित सन्दर्भअनुसार व्याख्या गर्न सकिन्छ । शासकले आफ्नो अनुकूलतामा यसको व्याख्या गरे, हामीले हाम्रो अनुकूलतामा व्याख्या गर्ने हो । विद्यमान राष्ट्रिय झन्डामा अंकित सूर्य, चन्द्रमा, सिमि्रक, त्रिकोण सबैको पुनव्र्याख्या गर्न सकिन्छ । तर, सिक्काको अर्को पाटो हुन्छ भनेझैँ यो राष्ट्रिय झन्डाको पनि अर्को पाटो छ ।

सिक्काको अर्को पाटो

हिन्दु मठ-मन्दिरहरूमा शताब्दीऔँ पहिलेदेखि अहिलेसम्म दुई पताकायुक्त झन्डा प्रयोग हुँदै आएको छ । वैदिककालपछि दुई पताकायुक्त ध्वजा अध्यात्मीकृत हुँदै गयो र यसलाई हिन्दु मठ-मन्दिरहरूको ध्वजा बनाइयो । छैटौँ शताब्दीसम्म आइपुग्दा यसले राजकीय मान्यता पनि प्राप्त गरिसकेको थियो । लिच्छवि राजा मानदेवका पालामा निस्केको मुद्रा ‘मानांक’मा अहिलेको राष्ट्रिय झन्डाको पूर्वरूप मान्न सकिने दुई पताकायुक्त ध्वजाको प्रयोग हुनु त्यसैको अभिव्यक्ति थियो । सिंहले समातेको उक्त ध्वजालाई लिच्छवि शासकहरूको राजचिह्न मानिन्छ । यसले के कुरा स्पष्ट गर्छ त भन्दा राजतन्त्र र हिन्दु धर्मसँग अहिलेको झन्डाको परापूर्वकालदेखि अभिन्न सम्बन्ध रहँदै आएको छ ।

यो त्रिकोणीय पताका सुरुमा आर्य कबिलाहरूको गणचिह्न थियो । पछि बिस्तारै मठ-मन्दिरहरूको ध्वजामा परिणत भयो । मन्दिरको ध्वजा राज्यलाई हिन्दूकरण गर्ने क्रमसँगसँगै हिन्दु शासकहरूको राजचिह्न बन्यो । र, हिन्दु राजतन्त्रको एकछत्र शासन स्थापना भएपछि त्यही राजचिह्न राष्ट्रिय झन्डा बन्यो । त्यसकारण ‘हिन्दुत्व’ यो राष्ट्रिय झन्डाको मानक पहिचान हो । वास्तवमा ‘हिन्दुत्व’ वर्तमान राष्ट्रिय झन्डाका हकमा गीतको स्थायी अन्तराजस्तै हो । समस्या ठीक यहीँनिर छ— हिन्दुत्वसँग जोडिएको

यसको इतिहासको पुनव्र्याख्या हुन सक्दैन । यस ऐतिहासिकतालाई टुटाएर राष्ट्रिय झन्डाको व्याख्या गर्नु न त वैज्ञानिक हुन्छ, न त त्यसो गर्दैमा त्यो स्वीकार्य हुन्छ भन्ने ग्यारेन्टी नै छ ।

यस झन्डालाई उसको आफ्नै सांस्कृतिक सीमाभित्र रहन दिइन्छ भने यसको ‘हिन्दुत्व’ कसैको टिप्पणीको विषय बन्दैन । तर, जब यसलाई राष्ट्रिय झन्डा बनाइन्छ तब त्यो हिन्दूकरणकै निरन्तरता हुन्छ, र त्यो टिप्पणीको विषय बन्छ । अहिलेकै राष्ट्रिय झन्डालाई निरन्तरता दिनु भनेको ‘हिन्दुत्व’लाई सांस्कृतिक ध्वजा बनाएर ओलम्पिक दौडमा निस्कनुजस्तै हो । यो धर्मनिरपेक्षताको मर्मविपरीत हुन जान्छ । अब कुनै पनि रूपमा हिन्दूकरणको पुनर्मुद्रण आवश्यक छैन ।

यो राष्ट्रिय झन्डाले इतिहासमा आर्जन गरेको यही ‘हिन्दुत्व’का कारण यसले सबै जात, सम्प्रदाय र संस्कृतिलाई सम्बोधन गर्ने सामथ्र्य गुमाएको छ । त्यसो भएपछि यसले सबैलाई गोलबन्द गर्नसक्ने कुरा पनि भएन । तर, यसको अर्थ हिन्दुहरूलाई निषेध गर्नुपर्छ भन्ने होइन, निषेध हिन्दूकरणलाई गर्ने हो । कुरा यत्ति मात्र हो, राष्ट्रिय झन्डा धर्मनिरपेक्षताको मर्मलाई मिचेर नफहराओस्, ‘बहुसंख्यकवादी धर्मनिरपेक्षता’ले नेपालीहरूलाई झन्डा नबनाओस् ।

भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीका नजरमा धार्मिक बहुसंख्यकको रक्षा गर्नु नै साँचो अर्थमा धर्मनिरपेक्षता हो । आडवाणीको धार्मिक अल्पसंख्यक भर्सेस बहुसंख्यक अथवा एउटा जात-सम्प्रदायका विरोधमा अर्कोलाई उभ्याउने निषेधात्मक बहुसंख्यकवादी धर्मनिरपेक्षतालाई हाम्रो राष्ट्रिय झन्डाले नबोक्नु नै राम्रो हुन्छ । एउटा अमूक जातिलाई अमूक जातिले निषेध गर्नु भनेको साम्प्रदायिक हिंसालाई आमन्त्रण र वैधता प्रदान गर्नु हो । त्योजत्तिको घातक कुरो अरू हुन सक्दैन ।

के यो राष्ट्रिय झन्डा शाश्वत हो ?

झन्डा सार्वभौमसत्ता र राष्ट्रिय एकताको प्रतीक हो । सार्वभौमसत्तामाथि जोड तर राष्ट्रिय एकतालाई गौण बनाएर राष्ट्रिय झन्डाबारे बहस गर्नु एकांकी हुन्छ । यी एकसाथ उठाइनुपर्ने कुरा हुन् । राष्ट्रिय एकताविना सार्वभौमसत्ताको रक्षा हुन सक्दैन । न त राष्ट्रिय एकताको अमूर्त तर्कले सार्वभौमसत्ता बलियो हुन्छ । साँचो राष्ट्रिय एकता शताब्दीऔँदेखि उत्पीडनमा परेकाहरूलाई अधिकारसम्पन्न बनाएपछि, उनीहरूलाई सम्मानजनक व्यवहार गरेपछि मात्र सम्भव छ । यसरी मात्र सम्भव छ नयाँ आधारमा नयाँ राष्ट्रिय एकता । जुन कुरालाई राष्ट्रिय झन्डाको रंग, रेखा अथवा आकारप्रकार केले हुन्छ, सम्बोधन गर्नुपर्छ । त्यो सामथ्र्य अहिलेको राष्ट्रिय झन्डामा छैन ।

राष्ट्रिय एकताकै कुरा गर्दा ख्याल गर्नुपर्ने कुरा के पनि छ भने राजतन्त्रले हिन्दु अधिनायकत्व थोपरेर नेपाली समाजलाई चिराचिरा पारेको हो । त्यसैलाई जोड्न नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरिएको हो । यस्तो स्थितिमा फेरि ‘हिन्दुत्व’सहितको झन्डालाई नै अघि सार्ने हो भने त्यसले निश्चय नै राष्ट्रिय एकतामा बल पुर्‍याउँदैन, बरु सामाजिक-मनोवैज्ञानिक विभाजनतर्फ अग्रसर गराउँछ । भावनात्मक राष्ट्रिय एकताका वैचारिक जुइनाहरू खुस्काएर राष्ट्रिय एकता कायम राख्न सकिँदैन । त्यति मात्र होइन, राष्ट्रिय झन्डालाई धार्मिकताबाट टाढा नराख्दा त्यो कुनै दिन कुनै धर्म-सम्प्रदायको सांस्कृतिक हैकम थोपर्ने औजार बन्छ, जसरी यो राष्ट्रिय झन्डालाई बनाइयो ।

राष्ट्रिय झन्डा भनेको परिवर्तनको प्रक्रिया, बदलिँदो सामाजिक सम्बन्ध, जनताका आकांक्षा र राजनीतिसँग कुनै साइनो नराखीकन बन्न सक्दैन । त्यही कुरा आत्मसात् गरेर विश्वका प्रायजसो मुलुकले राष्ट्रिय स्वतन्त्रता प्राप्त भएपछि, क्रान्ति अथवा विशाल परिवर्तन हासिल गरेपछि राष्ट्रिय झन्डा बदलेका छन् । नेपाल पनि जनयुद्ध र जनआन्दोलनको संयोजनमार्फत राजतन्त्रको अन्त्य गरेर ऐतिहासिक चरणमा प्रवेश गर्ने तरखर गर्दै छ । नेपालको परिवर्तनको यस विकासले विश्वलाई आकषिर्त मात्र होइन, पाठ पनि सिकाएको छ । यत्रो भव्य परिवर्तन राष्ट्रिय झन्डामा अंकित नहुनु भनेको त्यसको अवमूल्यन गर्नुसरह हो । हामीले यो विशाल परिवर्तनलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्दै जाने हो भने त्यसको माध्यम राष्ट्रिय झन्डा हुन सक्नैपर्छ । त्यसैका लागि पनि नयाँ राष्ट्रिय झन्डा आवश्यक छ ।

हो, यस झन्डाको बनोट विश्वभरिमै ‘विलक्षण’ छ । राष्ट्रसंघले पनि यो कुरा स्वीकार गरेको छ । तर, विलक्षणता मात्र राष्ट्रिय झन्डाको योग्यता होइन । मुख्य कुरा त्यसले बोकेको सारभूत अर्थ युगसापेक्ष छ कि छैन, त्यसले हिँडेको इतिहासको पाइला पछ्याउनलायक छ कि छैन भन्ने हो । विलक्षण भएकै आधारमा मात्र अहिलेको राष्ट्रिय झन्डा यथावत् हुनुपर्छ भन्ने कुरा पुष्टि हुँदैन । विलक्षणतालाई मात्र समातेर तर्क गर्ने हो भने त वीरेन्द्रको वंशनाश गर्ने राजतन्त्र झन् कति विलक्षण थियो । हामीले त्यसलाई किन निरन्तरता दिएनौँ ? त्यसलाई किन ढालेर गणतन्त्र ल्यायौँ ? त्यही ढलेको राजतन्त्र र हिन्दु अधिनायकवादद्वारा यस झन्डालाई राजनीतिक-सांस्कृतिक वैधता प्रदान गरिएको थियो । ती दुवै बाँकी नरहेपछि यो राष्ट्रिय झन्डाको वैधता पनि समाप्त भएको छ । अर्को कुरा, यसलाई जनआन्दोलनले आफ्नो ध्वजा पनि बनाएन । त्यसकारण फेर्नैपर्ने चिजको ‘हिट लिस्ट’मै पर्छ राष्ट्रिय झन्डा, ‘लो प्रोफाइल’मा होइन ।

यो राष्ट्रिय झन्डा नफेर्ने हो भने प्रश्न उठ्छ— के यो राष्ट्रिय झन्डा ‘शाश्वत सत्य’ जस्तै हो ? कुनै पनि क्रान्ति, परिवर्तन र राजनीतिक प्रणालीले यही झन्डा फहराइरहनुपर्छ ? त्यसै हो भने हाम्रो झन्डाप्रेम उदेकलाग्दो छ ।

(चाम्लिङ मूल्यांकन मासिकका कार्यकारी सम्पादक हुन्।)