Author Topic: First Love - कुमार नगरकोटी - ऋतुको चिया पसल  (Read 2397 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
ऋतुको चिया पसल


वि.सं. २०५१ ।

ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्... यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु ।

ज्ञानीहरू भन्छन्, "अतीतमा डुल्ने डुलुवाहरू मूर्ख हुन् ।"

आफू कुनै पनि 'रूप प्लस सार'मा ज्ञानी पुरुष नभएको हुनाले म लाक्षणिक हिसाब–किताबले मूर्ख नै हुँ । र, शायद पटमूर्ख पनि । रूप र सारको गन्जागोलमा नपर्नु नै यस बखत रुचिकर होला । कि कसो ?

तर पनि भन्नुपर्ने हुन्छ : जीवनमा भए गरेका सम्पूर्ण मूर्खतापूर्ण एवं सुरुचिपूर्ण घटना, उपघटना या कार्यकारी घटनाहरूको लेखाजोखा गर्न म यहाँकहाँ ती स्मृतिजन्य उद्यानहरूतिर डुली हिँड्छु, घुमी हिँड्छु ।

ऋतुको चिया पसल वास्तवमा एलेन गिन्सबर्गको कुनै कवितामा फेला पर्ने स–सानो कफी हाउसजस्तै थियो । सात–आठ थान मेच टेबल, खित्रिङमित्रिङ सामान, भित्तामा मोनालिसाको पोस्टर, प्लास्टिकका बाटा एवं बाल्टीहरू, स्टोभ, यस्तै यस्तै । अलमस्त टाइपका ग्राहकहरूले चिया पिउने अड्डा ।

ऋतु चिया बनाउँथी । के चिया बनाउँथी र ! चियासित आफ्नो पार्थिव–हृदय उमाल्थी, सायद । सादा कुर्ता सल्वार लगाउने ऋतु कुनै मौन तपस्वीझैँ सदा शान्त मुद्रामा हुन्थी । ऊ जवान थिई । म पनि कम जवान कहाँ थिएँ र ! ऊसित मेरो कुराकानी कमै हुने गर्थ्यो । गफगाफ गर्ने जिम्मा त अरु ग्राहकहरूको नै थियो । म त त्यहाँ छेउको टेबल ओगटी चुपचाप अद्भुत किताबहरूको रहस्यलोकतिर हराइरहेको हुन्थेँ ।

"अर्को कप चिया ?" ऊ आफैँ सोध्थी । मलाई उस्को अनुहार हेर्ने फुर्सद हुँदैनथ्यो । सायद ऊ नै चिया उमाल्दै मेरो मङ्गोल अनुहार हेरी बस्थी पसलको कुनाबाट । तात्तातो चिया मेरो अगाडि राखिदिन्थी ।

मैले पढिरहेको पुस्तकको नाम पनि ऊ यसो चिहाउँदी होला र ! डायरीमा, नोटबुकमा म के फुटनोट्स लेखिरहेको हुन्थेँ, उसले कहिल्यै थाहा पाई होला ?

वास्तवमा, त्यसबेला म साहित्यको नवोदित पाठक बन्ने सत्कर्ममा जुटेको थिएँ । आफूलाई म एक उदीयमान पाठक बनाउन चाहन्थेँ । साहित्यमा उदीयमान या नवोदित केवल 'लेखक' हुनुपर्छ भन्ने टिप्पणी विश्वसाहित्यको कुन संविधानको कतिऔं धारा/उपधारामा उल्लेख गरिएको छ, म बबुरोलाई थाहा थिएन ।

तसर्थ, म एक उदीयमान पाठक बन्ने सन्दर्भमा थिएँ । मेरो सम्पूर्ण पेसा भन्नु नै साहित्य, कला, दर्शन, चित्रकारिताको अध्ययन नै त थियो नि ! पढ्नैका निम्ति मैले आफ्नो जीवनको आकर्षक प्रथम नोकरी छाडेँ । कलेज छाडिदिएँ । विश्वविद्यालयको प्राज्ञिक इम्पेरियलिजममा कहिल्यै रुचि जागेन । स्वाध्ययनकै निम्ति वसन्तपुरस्थित दाजुभाउजूको परिवारलाई छाडिदिएँ । पाटनको चाकुपाटमा एउटा डेरा लिएँ जहाँ ऋतुको चिया पसल पनि थियो ।

त्यो चिया पसलमा मैले आफ्नो केही आयु फ्याँके । घन्टौं बसोवास गर्थें त्यहाँ ।

ऋतुको परिवार मेरो कोठाभन्दा माथिको तल्लामा बसोवास गर्थ्यो । तीन दिदीबहिनीमा ऊ माहिली छोरी थिई । दाइ पाटनको इलेक्ट्रिक पसलमा सेल्सम्यान थियो । आमा आध्यात्मिक पाराकी थिइन् । गुरू बाल योगेश्वरको शिष्य । भनूँ भने पूरै परिवार गुरूजीको आशीर्वादमा थियो । बुबाचाइने अस्तित्वदेखि सफाचट भैसकेका थिए !

ऋतुकी आमाले एक दिन भनेकी थिइन्, "कुमार बाबु ! हिँड्नुस् भोलि शनिबार तपाईंलाई गुरू महाराजजीकहाँ लैजान्छु । जानुहुन्छ ?"

"मैले त्यहाँ गएर के पो गर्ने होला ?" भनेँ ।

"प्रवचन सुन्ने । सत्संग गर्ने ।"

प्रवचन र सत्संगको अभ्यास नगर्नुपर्ने कुनै कारण थिएन । ओशो, युजी अनि कृष्णमूर्ति, नागार्जुनजस्ता आध्यात्मिक गुरूहरूको किताबी सत्संगको अद्भुत लत लागिसकेकै थियो । यसो गुरू महाराजजीको सत्संग 'ट्राई' मार्दा राम्रै त होला नि !

सामाखुसीको प्रवचन हल आध्यात्मिक फ्लेभरमा/सम्पूर्ण 'औरा एन्ड अरोमा' सितै मेरो प्रतीक्षा गरिरहेझैँ लाग्यो । ऋतु छेवैमा बसी । केही भजन कानभित्र छिरे । भिडियो स्क्रिनमा गुरू महाराजजी बाल योगेश्वर देखापरे । हलका सप्पैहरू आध्यात्मिक मुडमा देखा परे । ऋतुले भनी, "प्रवचन ध्यानपूर्वक सुन्नुस् । तपाईंको जीवनमा काम लाग्छ ।"

जीवनमा काम लाग्ने प्रवचन त ध्यानपूर्वक सुन्नै पर्‍यो । एउटी जवान युवतीले भनेपछि झन् टार्ने नै कसरी ! भिडियो प्रवचनमा गुरूजी उवाच–

"मनुष्यको इस तरह से सम्मोहित किया गया कि वो अपनी अन्दर की यात्रा हि तय कर नहीँ पाता । कितनी अजीव बात है ये कि अपना आत्माकी खोज वो बाहर की दुनियाँमे करता है । भौतिक पदार्थों मे वो खो गया है । मानव सभ्यता के इतिहास मे मैने आद्मीको इतनी विवश और दु:खदायी स्थिति मे कभी नहीँ पाया । बचपन से लेकर युवा तक, युवा से लेकर बुढापे तक आद्मी सिर्फ बाहर हि देख्ने की अभ्यास करता है । जब कोई बच्चा रोता है तो उसकी माँ उसे कोई खिलौना थमा देति है । बच्चाको आदत पड जाती है खिलौनासे । वो खिलौना वादमे बदल जाती है और आद्मी की स्थायी मित्र बन जाती है । वो पडोस की महल, सडक की ल्याम्प पोस्ट, विज्ञापन की होर्डिङ बोर्ड देखकर बडा होता है । अपनी भितर की यात्रा मे वो भला क्याँ पडे ! क्योँ कि उसे तो बस पकडना है । ट्रेन छुट जाती है । अपनी अस्तित्व की खजाना छुट रही है, उसे इसका कुछ पता नहीँ । मै कहेता हुँ, इस भागदौड की जीवन से कुछ देर विश्राम लो । ध्यानमे डुबो । अपनी अन्तसकी यात्रा मे तुम्हेँ कोई भिसा जरुरत नहीँ होगी । कोई पासपोर्ट जरुरत नहीँ होगी । जागो और अपने आपको ढुँडो । बहुत हो गई वेवफाइ अपनी आत्मा से । अपनी आत्मा की मौन प्रेम निवेदन स्वीकार करेँ ... ।"

झसंग भएँ । आफ्नो आत्माको प्रेम निवेदन स्वीकार गरियोस् भनी गुरूजीले भर्खरै भने । मौन तपस्वी ऋतुलाई यसो हेरेँ । ऊ त पद्मासनमा प्रवचनको आनन्द लिइरहेकी थिई आँखा चिम्लेर । भिसा या पासपोर्ट नै नलिई ऊ कुन आनन्दलोकमा उडिरहेकी थिई ? मेरो हृदयलोकमा आएको त कुनै खबर छैन । ऋतुलाई उसकै आफ्नो आनन्दलोकमा मैले छाडिदिएँ ।

जीवन मेरो औसत रूपमा सरल रेखामा कोरिएको गल्लीमा हिँडिरहेको थियो । तर पछि वक्ररेखामा मेरो जीवन कुनै भुस्याहा कुकुरझैँ अस्तित्वका तपसिल गल्लीहरूमा भड्कन थाल्यो । मैले चाल पाएँ, सारा मानिसझैँ बाँच्नु मेरो अधिकार थियो । तर, प्राथमिक अधिकार मात्रै मेरो निम्ति पर्याप्त थिएन । सार्वभौम भन्नुस् या संवैधानिक अस्तित्वमा जीवनका केही पर्सनल छनोट पनि त हुनु परो नि ए गाँठे ! मैले छनोट मन पराएँ । मैले मीरा भट्टराईलाई रूचाएँ । माफ गर ऋतु !

ऋतुको चिया पसल उस्तै थियो । त्यहाँ हजारौं कप चिया र त्यति नै खिल्ली चुरोट खाएँ हुँला । सत्संग या प्रवचनले मेरो आत्माको शुद्धीकरण खै किन हो, हुनै सकेन । हृदय परिवर्तन भन्छन् नि ज्ञानीहरू ! खै त ! आफ्नो हृदय त उस्तै छ, खनिज जस्तो, शिलालेखजस्तो…

चिया पसलमा कहिलेकाहीँ ग्राहकसित आध्यात्मिक भनाभन हुन्थ्यो । सन्त महाराजझैँ गरी फुर्ती लगाउँदै कोही भन्थ्यो, "मनुष्यको केन्द्र आत्मा हो । मानव देह त आखिर के नै पो हो र ! केवल भ्रम हो, माया हो, मृगतृष्णा हो ।"मलाई आत्मा र मानव देहबीचको यो डिमार्केसन–रेखा उचित लाग्दैनथ्यो । म भन्थेँ, "मृगतृष्णा नै सही मानव देह केही त हो नि, यार !"

म मानव देहवादी या आत्मवादी केही थिइनँ । तर मृगतृष्णाप्रति मेरो चाख किन त्यस्तो रोचक थियो त ? यसको एउटा कारण छ । म एउटी महिलाको प्रेममा चुर्लुम्म डुबेको थिएँ । ऊ मेरी छिमेकी थिई । जिजस क्राइस्टले भन्नुभएकै छ— लभ दाइ नेवर (आफ्नो छिमेकीलाई प्रेम गर) ।

मैले छिमेकीलाई प्रेम नगर्नुपर्ने कुनै कारण थिएनन् । प्रेममा तर्क नाजायज हो, प्रेममा विचार अवैध हो । यस्तै मनको लड्डुमा रमाइरहेँ । जर्मन दार्शनिक मार्टिन लुथर (अमेरिकी मार्टिन लुथर किङ होइन) ले भनेकै छन् नि- रिजन इज द डेभिल्स होर । त्यस्तै केही ठानेँ । उसलाई अझै प्रेम गरेँ । ऊ नै भई मेरो पहिलो (बूढाहरू भन्छन् नि) पिरेम ।

मेरो प्रेमको समस्या के मात्र थियो भने मीरा भट्टराई विवाहित थिई । ऊ कसैको आधिकारिक पत्नी थिई ।

मीरा मेरो डेराबाट लगभग सय मिटर परको एउटा घरमा केही महिनादेखि बस्दै आएकी थिई । तर, कालान्तरमा ऊ मेरो जिन्दगीको सुनसान करिडरमा चुपचाप ओहोरदोहोर गर्न थाली । र, एक साँझ मेरो हृदयको दैलोमा आफ्नो मसिना औंलाहरूले 'टयाक्क टयाक्क' गरी आवाज दिई । मैले दैलो उघारेँ । मुस्कुराउँदै उसले भनी, "मे आई कम इन् ?"


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
ट्वाँ परें । 'अहो ! एस प्लिज्, गेट इन्साइड' भन्नुपर्‍यो ।

उसलाई मैले आफ्नो हृदयको अतिथिकक्षमा स्वागत गरेँ । बेरोजगार युवाको अतिथि कक्ष कस्तो हुन्छ ? लथालिंग एवं अस्तव्यस्त न हो ! उसले सरसफाइ गरी । कुर्सीमा बसी । म ट्वाँ पर्दै उसलाई हेरिरहेँ ।

ओछयान पनि चिटिक्क पर्दो रै'छ त ! म हुस्सुलाई बल्ल पो थाहा भयो । कोठाभरि यत्रतत्र छरिएका तन्त्रशास्त्रका, दर्शनशास्त्रका, आख्यानशास्त्रका, कोकशास्त्रका ग्रन्थहरूलाई उसले जतनसाथ र्‍याकमा थान्को लगाइदिई । हेरचाह गर्ने, माया गर्ने स्त्रीको जीवनमा ठूलो महत्त्व हुँदो रै'छ । मैले मनमनै भनेँ ।

ओभरकोट, मफलर, ज्याकेट इत्यादि लुगाफाटाहरूलाई ह्यांगरमा झुन्डयाइदिई । खुम्चिएका, खजमजिएका कपडालाई प्लास्टिकको झोलामा प्याक गरी, र भनी, "इस्त्री गरेर ल्याइदिन्छु ।"

'मेरो मन पनि खुम्चिएको, खजमजिएको छ । त्यसलाई पनि स्त्री– ए सरी ! इस्त्री लगाइदिए क्या जाती, क्या दामी हुन्थ्यो' भन्नु मन थियो उसलाई, भनिनँ ।

चिया बनाएँ र उसलाई दिएँ ।

ती कालतिर म कविताको व्यसनमा थिएँ । कविता–कर्ममा थिएँ । डायरी लेख्ने पुरानो आदत ज्युँदै थियो । उसले पढ्ने रहर गरी । उसको चाहनामा ल्याप्चे लगाउँदै पाँचवटा नोटबुक रिफर गरेँ । गोविन्द गोठालेको 'पल्लो घरको झयाल' पनि पढिछाड्ने जिद्दी गर्न थाली । बदलामा मैले गोविन्दका भाइ विजय मल्लको 'अनुराधा' उपन्यास पनि बोनसमा चढाएँ ।

मेहदी हसन, गुलाम अली, जगजित–चित्रा सिंह, चन्दन दासका गजल चक्का पनि 'लौ तपाईंले यिनीहरूलाई पनि सुन्नुपर्छ' भनी दिएँ । अनुप जलोटाको भजनचाहिँ दिइनँ । भजन–कीर्तनले रोमान्टिक मुडलाई ध्वस्त पार्थ्यो कि ! अर्को कप चिया म आफैँ बनाउँछु भनी ऊ स्टोभ बाल्न थाली । पुरानो फिलिप्स टेप रेकर्डरमा 'अर्थ' फिल्मको चक्का घुसाएँ । गीत बज्न थाल्यो :

तुम इतना जो मुस्कुरा रहे हो

क्या गम है जिसको छुपा रहे हो … ।

चिया पिउँदै मेरो अव्यावहारिक जीवन–ढाँचाबारे उसले चाख राखी । अस्तव्यस्तता एवं अव्यावहारिकता नै मेरो जीवनको व्यावहारिकता भयो । यस्तै केही भनें ।

ऊसित प्रशस्त जिज्ञासा थिए, मेरो चरित्रलाई लिएर । म बर्सात्मा बिनाकारण किन रूझ्न मन पराउँछु ? साँझपख एक्लैएक्लै फगत गितार बजाई म किन उदास गीतहरू गाउने गर्छु ? बिनाकारण म किन शिव शर्माको (नजिकैको दारू अड्डा) पसलमा रक्सी पिउने गर्छु ? बिनाकारण म किन ऋतुको चिया पसलमा घण्टौं पुस्तक पढी आफ्नो युवा आयु खल्लास गर्दो रहेछु ? जागिर खान छाडी म व्यर्थमा किन चुरोट खाँदो रहेछु ? उसका यस्ता टाइपका जिज्ञासा सुनी म केवल फिस्स, फिस्स फगत फिस्स गरिरहें । मसित यस्ता प्रश्नहरूका नैतिक जवाफ पनि त थिएनन् नि !

जाने बखत उसले भनी, "कुमारजी ! तपाईं एकदमै अनौठो मान्छे हुनुहुन्छ । तपाईं जस्तो हरफनमौला मैले आजसम्म भेटेकी छैन । ज्यादै अजीव ! अहिले जान्छु । तपाईंको कोठा चिटिक्क बनाइदिएकोमा मसित नरिसाइदिनुहोला ।"

मेरो सामानहरू लिएर ऊ गई । सामानसित केही टुक्रा मुटु पनि लिएर गई । फर्केर कहिले पो आउली ?

पाटन, चाकुपाटको रू. ६०० को डेरा मलाई भव्य लाग्न थाल्यो । वरपर फैलिएका खेतबारीहरू सुन्दर लाग्न थाले । कहाँसम्म भने कोठाबाहिर बग्ने खुल्ला ढलको पानी पनि कलकल गरी बगेजस्तो लाग्न थाल्यो ।

'पल्लो घरको झयाल'मा बस्ने मीरा जादुगर्नी थिई । बेँसीसहरकी यो भद्र महिला आकारमा नेपाली महिलासमान औसतकी थिई । औसत उचाइ । औसत लवाइखवाइ । औसत रुचि । ओठ, आँखा, केशविन्यास, नितम्ब, वक्षस्थलका शास्त्रीय चर्चा यहाँ नगरूँ । यति हो, हरेक नेपाली स्त्रीझैँ ऊ आकर्षक थिई, राम्री थिई, सुन्दर थिई ।

उसको पार्टटाइम–पति पोखराको कुनै नुडल्स कारखानाको म्यानेजर थियो । बिदामा यदाकदा पोखराबाट चिनियाँ मोटरसाइकल कुदाउँदै ऊ मीरा भट्टराईलाई भेट्न आउँथ्यो । त्यो भद्र पुरुषसित मेरो कहिल्यै भेट भएन । मलाई ऊ कुनै भिजिटिङ प्रोफेसर जस्तै लाग्थ्यो । यस्तै पन्ध्र/सोह्र दिनमा आउँथ्यो, घर खर्च दिन्थ्यो, रातमा सम्भोग–सेक्स यस्तै केही गर्थ्यो र अर्को बिहानै भालेको डाँकसितै चिनियाँ बाइक स्टार्ट गर्थ्यो र नुडल्स फ्याक्ट्री भेट्टाउन पोखरा रवाना हुन्थ्यो । यस्तै थियो जम्माजम्मी मीरा भट्टराईको दाम्पत्य जीवनको रामकहानी ।

मेरो अजिवोगरिब जीवन–ढाँचा यथावत् थियो । पसलमा उधारोले डाँडा काटेपछि घरमा बुबालाई चिठी लेखेँ :

पूजनीय पिताज्यू !

साष्टांग ढोग ! आराम छु, आराम चाहन्छु । तपाईंले मेरोबारे कुनै चिन्ता नलिनुहोला । कलेज र रत्नराज्य बहुमुखी क्याम्पस नगए पनि आईए पढिरा'छु डेरामै । किताबहरू किन्नका निम्ति दस/बाह्र हजारको खाँचो परेको छ । पसलमा उधारो पनि तिर्नु छ । कृपया, पठाइदिनुहोला ।

हजुरको आज्ञाकारी छोरा,

उही, कुमार नगरकोटी

तर कालान्तरमा, केही समय म कुमार नगरकोटी रहिनँ । नाम परिवर्तन गरी 'मिराज' लेख्न थालेँ । मिराज अर्थात् मीरा भट्टराईको । मिराज (Mirage) को अंग्रेजी अर्थले पनि त्यस बेलाको मेरो मनोदशालाई म्याच गर्थ्यो । मृगतृष्णा…। मिराज अर्थात् मीराको । मिराज अर्थात् मृगतृष्णा ।

मिराजको नाममा मैले केही कथा, कविता लेखेँ । साहित्यिक उपनाम भन्छन् नि साहित्य अध्येताहरू ! समकालीन साहित्यको ३५ औ अंकमा मिराज श्रेष्ठको नाममा एउटा लेख प्रकाशित छ : 'स्यामुएल बेकेट : एक फ्ल्यासब्याक' ।

एक साँझ मीरा आई । इस्त्री लगाइएका कमिज र प्यान्टहरू, डायरी, कविताका नोट–बुक र गजलका चक्काहरू लिएर आई । आफैँले चिया बनाउन थाली । थोत्रो फिलिप्समा पुन: बज्न थाल्यो गीत :

तुम इतना जो मुस्कुरा रहे हो

क्या गम है जिसको छुपा रहे हो … ।

चिया पिउँदै उसले भनी, "तपाईंको डायरी मन पर्‍यो । तर, कविताहरू छेउटुप्पा केही बुझ्न सकिनँ । बुझिने कविता पनि लेख्नुस् न !"

स्वीकारें उस्का कुराहरू । कविताहरू मेरो युवा मनोदशाभन्दा जटिल नै थिए । मोहन कोइराला, ईश्वरवल्लभ, टीएस इलियट, एज्रा पाउन्ड, गिन्सबर्गलाई मन पराउथेँ, ती जटिल कालमा । भूपि शेरचन, वाशु र बासो, चुआङ जु कुन्नि कता थिए ! तर, मचाहिँ केही अब्स्ट्राक्ट अवश्य थिएँ ।

उसले अरू थुप्रै कुरा पनि गरी–आफ्नो बाल्यकालको बेँसीसहरको नोस्टाल्जियाहरू । पोखरामा बिताएका रमणीय दिनहरू । आफ्नो हजबेन्डसित घुमेका, बिताएका क्षणहरू । 'भिजिटिङ प्रोफेसर'ले उसलाई पत्नी बनाई काठमाडौं ल्याएको कुरा ।

मैले सुनेँ उसका अतीतका गाथाहरू ।

मीराको आवाज केही रूझेको, भिजेको थियो । सदा त्यस्तै अलिकति नासल–टोन आउँथ्यो । नाके आवाज र मलाई मन पर्ने गायक अरूणा लामाको वेदनामय आवाजझैँ ।

वास्तवमा, ऊ ज्यादै एक्ली थिई । 'भिजिटिङ प्रोफेसर' कहिलेकाहीँ मात्र आउँथ्यो । प्राय: ऊ पल्लो घरको झयालमा धुम्धुती बस्थी । साथीसंगीहरू कोही थिएनन् । आउटसाइडरझैँ थिई । मानिस कुरा काट्थे । उसका मनमा केके कुरा खेल्दै बस्दो हो । बच्चासच्चा थिएनन् । बच्चा जन्माउन चाहँदैन रे लोग्ने । के ऊ पत्नीलाई भेट्न मात्रै चाहन्थ्यो ? लोग्ने–स्वास्नीबीच उमेरको पनि ठूलो फरक थियो । कसोकसो माया लागेर आउँथ्यो, मीरा भट्टराईको ।

उमेरले ऊ पच्चीस–छब्बीसकी थिई । म थिएँ, बीस वर्षको । आफूभन्दा पाँच/छ वर्ष जेठी महिलासित पिरती लगाउन मिल्छ ? अर्काकी पत्नीसित पिरेम गर्न सकिन्छ ? यस्ता नैतिक प्रश्नहरूले दिमागलाई तर्साउँथ्यो । तर, मेरो आदिम हृदयले भन्थ्यो, जरुर मिल्छ बच्चु ! तर उत्तिखेरै चतुर दिमाग भन्थ्यो, न न, यो त पतन मार्गतर्फको अनैतिक यात्रा हो । मैले पतन मार्ग रोजेँ । आदिम हृदयको आवाज सुनें ।

प्रेममा तर्क गरिन्न, त्यो भनेँ । वैध, अवैधको हिसाब–किताब गरी प्रेम गरिँदैन, त्यो पनि भनिसकेकै छु । अब हातमा बहिखाता बोकी प्रेमको पवित्र मार्गमा हिँडिदैन । खलिल जिब्रान आफ्नो रचनामा प्राय: 'प्रेममा सहिद' हुने चर्चा गरी बस्छन् । मैले सहिद हुने पथ रूचाएँ । मध्यरातमा शंखमूल घाटमा गितार बजाउँदै गीत गुनगुनाउन रूचाएँ :

मैले पुण्य मन पराएँ, या पाप मन पराएँ

जे होस् मैले तिमीलाई, चुपचाप मन पराएँ… ।

मीरालाई मैले नि:सर्त मन पराएँ ।

"तपाईंलाई कस्तो रङ मन पर्छ ?" त्यो साँझ उसले सोधेकी थिई !

"सबै रङ मन पर्छ ।"

"तैपनि, विशेष ?"

"पहेँलो ।"

"छया यो त जोगीको रङ भैगो ।"

"म जोगी नै त हुँ नि," हाँस्दै भनेको थिएँ ।

उसले औंलाको बित्ताले मेरो छाती नाप्न थाली । कुम नाप्न थाली । "के गर्न थाल्नु भो ?" भनी सोधें ।

"जोगीलाई एउटा स्वेटर बनाइदिनु परो," उसले भनी ।

"त्यसो भए, मैले स्वेटर लगाउन पाउने भएँ, होइन ? होम मेड पहेँलो स्वेटर ।" त्यसपछि ऊ गई ।

उसले फर्काएका नोट–बुकहरूलाई यसो पुस्तक र्‍याकमा मिलाएर राख्नुपर्‍यो भन्दा एउटा कापीबाट तीनवटा फोटो भुइँमा झरे । उठाई हेरेँ । सबै तस्बिरमा ऊ उदास देखिन्थी । कापीको खाली पानामा पनि उसले केही लेखेकी रै'छे । बाङ्गाटिङ्गा शब्दाक्षरहरू पढेँ । त्यो लिखोट यहाँ जस्ताको तस्तै, "कुमारजी ! कहिलेकाहीँ जीवन किन यति खल्लो लाग्छ ? सबथोक भएर पनि केही नभएजस्तो । तपाईंका लेख, कविताहरू पढेँ । छपाउन पाए कस्तो जाती हुन्थ्यो । तर, तपाईं ज्यादै लापरवाही हुनुहुन्छ । म चाहन्छु, तपाईं राम्रो मानिस भएको हेर्न । तपाईं सुध्रिएको, व्यवस्थित भएको देख्न चाहन्छु । आफूलाई व्यवस्थित पार्नुहोस् । हुन त यस्तो भन्ने म तपाईंको को नै पो हुँ र ! तैपनि किन–किन तपाईंको माया लागेर आउँछ ।"

यसरी एउटा जोगीको सुनसान हृदयमा एउटा फूल फुल्यो । गुलाब नै त भनी हाल्दिनँ । त्यो फूल शायद ट्युलिप थियो । यसरी एउटा जोगीको सुनसान हृदयको मरूस्थल मनमा प्रेमका नयाँ घाँसहरू उम्रिए । पीरतिका अनाम पुतलीहरू हृदयाकाशमा उड्न थाले । प्रेमको दिव्य आभास, अनुभूति वसन्त ऋतु मात्रै होइन पतझरका मौसमहरू पनि महसुस गर्न थालेँ । हृदय नै एक सुकुमार काव्यखाना भइदियो । जीवन आशीर्वादपूर्ण लाग्न थाल्यो ।

काठमाडौंमा सुन्दर पार्क नभएकामा मेरो मनले मसित धेरै कचकच, गुनासो गरी बस्यो । त्यसो त पार्कमा, सार्वजनिक स्थलमा प्रेम गर्दै हिँड्ने मेरो प्रेम कदापि थिएन । मेरो प्रेम समाजका तथाकथित भद्र भलाद्मीहरूले गर्ने अनुष्ठानभन्दा अलि बेग्लै थियो । उनीहरू भनिदिन्छन् नि : एक्स्ट्रा मेरिटल अफेयर्स ... ।

त्यसपछि– लभ स्टोरी, रोमान्टिक फिल्म कहिल्यै नरूचाउने मैले मीरासितै पाटनको अशोक सिनेमा हल (आजकल त्यो हल पार्टी प्यालेसमा रूपान्तरण भएको छ) मा 'दिलवाले दुल्हनिया ले जाएंगे' टाइपका फिल्महरू रुचिसाथ हेरेँ, त्यो पनि ब्ल्याकमा टिकट काटेर ।

दक्षिणकालीको सवारी चलाइन्थ्यो । नगरकोटको 'मिड टावर'बाट अलिकति जीवन चियाउँथ्यौं ।

ऋतुको चिया पसलमा मीरा पनि मसितै घन्टौं बस्न थालेकी थिई । ऋतु केवल टुलुटुलु, फगत ट्वाल्ल–ट्वाल्ल मलाई हेरी बस्थी ।

म साँझ अबेरसम्म डेराबाहिरको आँगनमा बस्थेँ । 'पल्लो घरको झ्याल' खुल्लै हुन्थ्यो । झ्यालमै बसी ऊ कुरुसमा आफ्नो खिरिला औंला चलाइरहेकी हुन्थी । पहेँलो स्वेटर जो बन्दै थियो नि त ! रात अबेर हुने छाँट भएपछि मीरा झयालैमा उभिन्थी र इसाराले नै 'गुडनाइट–किस' दिन्थी । उताबाट उडी आएको त्यो उडन्ते चुम्बनलाई म पक्रेर राख्थेँ । त्यसपछि ऊ बत्ती निभाउँथी । मेरो हृदयमा जलिरहेको मैनबत्ती पनि निभ्थ्यो ।

अनि निद्रा ?

निद्रा त के लाग्थ्यो र ! निदाएको प्रशस्त बहानाचाहिँ निर्विकल्प रूपमा अवश्य गरिन्थ्यो ।

समय, आफैँ लुरूलुरू, खुरूखुरू हिँड्छु भन्यो । समयलाई रोक्ने कुरा पनि आएन । ऋतुको चिया–पसलमा मीराले एक साँझ भनी, "कुमारजी ! जिन्दगी किन सोचेजस्तो हुन्न ?"

यस्तो गहन प्रश्नको जवाफ कनीकुथी दिएँ । जिन्दगी सोचेजस्तो किन नभएको भनेर मानिस अनावश्यक रूपमा बढी नै सोच्छ । सोच्छ पनि के भन्नु र खै, बरू गुनासो गर्छ भनूँ । जीवनसित मानिसको धेरै गुनासो हुने गर्छ । यसो/उसो हुनुपथ्र्यो, भएन । यस्तो किन भएको होला ? यसो नभए उसो भएको भए कस्तो हुन्थ्यो ? मानिस अनावश्यक रूपमा बढी सोची बस्छ । जीवनप्रति ठूलो आग्रह, महत्त्वाकांक्षा राखी बाँच्छ । त्यसैले जिन्दगी सोचेजस्तो छैन ।

भन्न त भनेँ । तर, आफैँलाई चित्त बुझेन आफ्नो जवाफ । "चिया खाऔं ऋतु, कसो ?" मौन तस्बिरलाई भनेँ । ऊ चुपचाप चिया बनाउन थाली । चियासितै उसले आफ्नो पार्थिव–हृदय उमाल्न थाली स्टोभमा ।

त्यो साँझ मीराको कोठामा सन्ध्या–भोजन गरेँ । मांस–परिकार अरूले बनाएको रूचाउन्न थिएँ । तसर्थ, आफैँले 'मटन ग्रेभी' बनाएँ । स्वादिलो छ, मीराले मेरो पाक कलाको प्रशंसा गरी । स्वेटर लगभग आधाउधी तयार भएको रैछ । कुरूससितै उसले पीत–वस्त्रलाई मेरो आङमा जाँची । ऊ ढुक्क भई । स्वेटरको आकार मेरो तामसिक–देहसित म्याच गर्‍यो ।

केहीबेर यताउतिका सार्वजनिक चासोका विषयको चर्चा गरेपछि उदास मुद्रामा मीराले भनी, "कुमार ! यसरी कतिन्जेल गुपचुप बस्ने ? पोखरामा बूढाको अर्कै बूढी छ भन्ने मलाई शंका छ । मलाई त आफ्नो जीवनदेखि वाक्कदिक्क लागिसक्यो । तपाईंको माया लाग्छ तर के गर्ने खै ? यो प्रेमको अन्त्य कसरी हुने होला ? कहाली लाग्छ । चिन्ताले सताउँछ । निद्रा लाग्दैन । मेरो एक्लो जीवनमा तपाईं आउनुभयो, कहिले त लाग्छ किन आउनुभयो ? मलाई रूवाउन ? यो समाजले हाम्रो प्रेमको के फैसला गर्ने हो, कुन्नि ?"

उसको नासल टोनमा हिक्कहिक्क थियो । उसका आँखा आँसुले भरिएका थिए । उसको हृदयमा सायद कुनै टुहुरो ईश्वर रोइरहेको थियो । वेदनाको त्यो प्रशान्त गहिराइमा मेरो आत्मा पनि छट्पटाइरहेको थियो । समाज, व्यवस्था, ईश्वर, नैतिकता परिदृश्यमा आउँदा भए, जाँदा भए । प्रेममा जोखिम त उठाउनै पर्ने भयो ।

"डु हेल विथ दिस सोसाइटी । हामी विवाह गरौँ ?" भनेँ ।

मीरा अवाक् रही । मलाई टुलुटुलु हेरी केही बेर । त्यसपछि ऊ त झन् रून पो थाली । मलाई उसको लोग्ने अर्थात् 'भिजिटिङ प्रोफेसर'को बाल थिएन । समाजले, साथीभाइले, आफन्तले के भन्ला बाल थिएन । म केवल प्रेममा सहिद हुन चाहन्थेँ । उसका मोती दानाहरू पुछिदिएँ । उसलाई अँगालोमा बेरें । बोल्नु केही थिएन । मौनताको त्यो घडीमा नि:शब्द हुनु नै हाम्रो नियति, प्रारब्ध, उत्सव थियो ।

साँच्ची ! प्रेममा सहिद हुनु कति गाह्रो रै'छ । खलिल जिब्रानले कसरी भन्न सकेको होला त्यस्तो कुरा !

मेरो ओठलाई चुम्दै उसले भनी, "कुमार ! मेरो जीवनमा किन आउनुभयो यसरी ? कहिलेकाहीँ धिक्कार लाग्छ आफैँलाई देखेर । माया किन यस्तो अनौठो हुन्छ ? आज म पतित हुन चाहन्छु । पतित मीरा नगरकोटी हुन चाहन्छु ।"

आखिर, शारीरिक सुख भनेको के हो ? बायोलोजिकल–इच्छा भनेको के हो ? यौन–विशेषज्ञले भन्ने गरेको सम्भोग सुख भनेको के हो ? सन्तान–सुख भनेको के हो ?

'भिजिटिङ प्रोफेसर'को कन्डम प्याकेट छेवैमा थियो । मीराले त्यसलाई झ्यालबाटै मिल्काइदिई । पूर्णरूपमा बेहोसबेहोसमा, मादकताले खर्लप्प निलेको अवस्थामा उसले भनी, "केको डर कुमार ! भुँडी बोके पनि तिम्रै बोकूँला ।"

आजकाल लाग्छ मलाई, त्यो सेक्स पतित थिएन । अहिले त्यो अतीत भए पनि पतित थिएन । त्यो रातको स्मृतिले आजकाल पनि मलाई यदाकदा डस्न आउँछ । सर्पदशंझैँ ! संसारमा सम्भोग पवित्र कर्म थियो, छ र रहिरहनेछ । लुकीलुकी कामवासनाद्वारा ग्रस्त समाजका तथाकथित नैतिक भद्रभलाद्मीका सम्भोगप्रति मेरो 'आलोचनात्मक समर्थन' जस्तो कुनै राजनीतिक टिप्पणी छैन । मेरो प्रेम मन्दिर हो । सम्भोग एक पवित्र तीर्थयात्रा हो । तीर्थयात्रामा हिँडेको म एक जोगी थिएँ ।

तर, जीवन विरोधाभासको अर्को नाम पनि हो । टोलमा केही गाइँगुइँ–हल्ला बतासमा घुम्न थालेको मैले सुनेँ । म, अर्थात् कुमार नगरकोटी 'मीराको मोहन' भएको सामाजिक टिप्पणी मैले सुनेँ । म 'मोहनलाल' भएकामा मीराले दु:ख व्यक्त गरी । 'एक कान, दुई कान मैदान' भन्ने जुन सार्वजनिक लोकोक्ति छ, त्यसले अन्तत: 'पु्रफ' गर्ने छाँटकाँट देखाउन थाल्यो । भिजिटिङ प्रोफेसरलाई यसबारे केही थाहा हुने कुरा भएन । ऊ त आउँथ्यो, जान्थ्यो ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364

यही बेला बुबाको खबर आयो, गाउँबाट, "नाथे कुमार ! गाउँ आइज, म क्रमश: मर्दै छु...।"

मीरालाई भने, "गाउँ जाऔं । उतै बसौं । बुबा अलि लिबरल हुनुहुन्छ । हाम्रो सम्बन्धलाई स्वीकार्नु हुनेछ ।"

ऊ गाउँ जान तयार भइन । आफूसित प्रेमिकालाई फकाउने कला थिएन । सदा अडबांगे थिएँ र छु । मीरालाई फकाएर गाउँ लान सकिनँ । भनी, "चाँडै आउनुस् । म तपाईंलाई पर्खिन्छु ।"

वि. सं. २०५३ ।

गाउँ, खुर्कोट जाँदा थाहा पाएँ, बुबालाई घाँटीको क्यान्सर भएको रै'छ । डाक्टरहरूले उहाँलाई 'बाँच्ने' केही समय प्रेस्क्राइब गरेका रै'छन् ।

बुबा क्रमश: खिइँदै जानुभयो । दिन प्रतिदिन उहाँ मेरो अगाडि मर्दै जानुभयो । उहाँ मेरा निम्ति पिता, बुबा, बा, या ड्याडी मात्र हुनुहुन्थेन, साथी पनि हुनुहुन्थ्यो । उहाँका निम्ति म 'फुच्चे/नाथे कुमार' थिएँ ।

मृत्युशय्यामा आराम गरिरहेका बुबालाई मैले एक दिन भनेँ, "बुबा, म एउटी आइमाईसित प्रेम गर्छु ।"

"नाथे कुमार ! लोग्ने मान्छेले प्रेम गर्ने भनेको आइमाईसित त हो नि ! तेरी आमालाई मैले गोरखाबाट भगाएर विवाह गरी ल्याएको हुँ क्यारे !" हाँस्दै भन्नुभयो, "तेरी आइमाई चाहिँ के थरकी हो ?"

"भट्टराई ।"

"बजिया ! आफू नेवार भएर बाहुनी पो ताक्दो रै'छ !" आफ्नै सेन्स अफ ह्युमरमा उहाँले भन्नुभो ।

म चुप ।

"जातको त के कुरा भयो र ! प्रेममा जातभात हुँदैन । बुझिराख्, केटा । तेरी आमा पनि त गुरूङ हो । होइन भने भन क्यारे ?"

"त्यो त हो, बुबा । तर ऊ मभन्दा उमेरले जेठी छे ।"

"तब के भयो र ! दुईमध्ये एकजना जेठो, कान्छो हुने भइहाल्यो नि ! खै कुरो बुझेको तैंले ? अलिकति लिबरल बन् न यार् ।"

"तर एउटा समस्या छ, बुबा," सोचविचार गरी भनेँ, "ऊ विवाहित छे ।"

'नाथे कुमार ! संसारमा कुनै आइमाई फेला पारिनस् र अर्काको स्वास्नीसँग पीरति लाउन पुगिस्' भन्नुहोला सोचेको थिएँ तर बुबा मौन रहनुभयो ।

गाली खान तयार थिएँ । तर, गाली नै गर्नुहुन्न बा ! कान समाई उठबस् गर्न तयार थिएँ । तर, चाइँचुइँ केही छैन बा ! बडो यातना भयो । उहाँको अनुहार हेर्छु । त्यहाँ 'सेन्स–अफ–हयुमर'को कुनै लक्षण छैन । बुबाका थुप्रै आशा, आकांक्षा थिए होलान् । मैले ध्वस्त पारिदिएँ शायद, पिताका सारा सपना ।

केही समयपछि बुबाले शान्त मुद्रामा भन्नुभयो, "नाथे कुमार ! यो समस्या होइन, ठूलो समस्या हो । अरे स्वाँठेलाल ! कुनै विवाहित महिलासित प्रेम गर्नुअघि तैंले मलाई सोध्नु पर्दैनथ्यो ? म त मर्दै छु । म मरेपछि सबै जिम्मा तेरै हो । तेरो भाइ सानै छ, बुइनी सानै छे । पीरति लाउने पनि तरिका हुन्छ नि, नाथे !"

मुन्टो मेरो झुक्यो । बुबालाई हेर्न सकिनँ । तरै पनि बुबालाई सोधेँ, "म सजाय भोग्न तयार छु, बुबा !"

बुबा चुपचाप । मीरा भट्टराईको अनुहार मेरा आँखामा छाइरह्यो ।

बुबाले भन्नुभयो, "हेर्, केटा ! म तेरो बाउ हुँ । तँलाई मैले आमाको पाठेघरमा हुँदैदेखि चिनेको छु । टाउको झुकाउनुपर्ने कुनै लज्जित काम तैंले गरेको छैनस् । संसारमा यस्ता मानिस धेरै छन्, तँ मात्रै एक्लै होइनस् । प्रेम यस्तै हुन्छ, प्रेम अन्धो हुन्छ, मानिसहरू भन्छन् । म अर्थात् तेरो बाउ रत्नबहादुर नगरकोटी भन्छु, अन्धो/सन्धो हुँदैन प्रेम । यति मात्रै हो कि प्रेम गर्ने मानिस कहिलेकाहीँ अन्धो भइदिने गर्छन् । तेरो प्रसंग पनि त्यस्तै हो । तर, जीवनमा अनुभूति, अनुभव गर्दै जा । समयले तँलाई जम्मै सिकाउँछ । नाथे कुमार ! समय ठूलो गुरू हो ।"

बुबाले आफ्नो जीवनकालको अन्त्यतिर आफ्नो प्राइभेट डेथ–बेडबाट भनेको कुरा ठीकै त होला भन्ने लाग्यो नाथे कुमारलाई ।

समय आफ्नै गतिमा अगतिलो किसिमले हिँड्न थाल्यो । अस्तित्वसित, जगतसित मेरा थुप्रै प्रश्न थिए । एउटा कथा लेख्न बसेँ, "निकास" ।

०५४ वैशाख १७ मा बुबा अस्तित्वदेखि अन्तत: अन्त्य हुनुभयो ।

तेह्र दिनको बर्खी सकिएपछि एक साँझ डायरीमा लेखेँ :

प्रिय मीरा,

जीवन एक मिराज हो । मिराज अर्थात्, एक मृगतृष्णा ।

०००

चाकुपाटको पुरानो डेरामा स्मृतिका धुलो, धुवाँ पत्रैपत्र जमेका थिए । तैपनि, आफ्नो कोठा आफ्नो जस्तो लागेन । मेरो अनुपस्थितिमा धेरै कुरा परिवर्तन भइसकेको थियो । ऋतुको चिया–पसल सदाको निम्ति बन्द भै'सकेको थियो । उसको परिवारै डेरा सरी कुन्नि कता गएछन् ।

मीरा भट्टराईको 'पल्लो घरको झ्याल'मा अर्कै महिला देखा पर्न थाली । साँझपख, सिग्रेट उडाउँदै ती झ्यालहरूमा आँखा पुर्‍याउँदा आँखै उदास, उजाड हुन्थे । डेरा नजिकैबाट बग्ने खुल्ला ढलको पानी कलकल गर्न छाडयो । बरू, यति साह्रो किन गन्हाउँछ यो ढल भनी आफैँसित गनगन, फतफत गर्न थालेँ । बुबा रहेनन् । ऋतुको चिया पसल रहेन । मीरा रहिन । मेरो सडेगलेको आत्मा मेरो कोठामा निदाउन थाल्यो ।

मीरा भट्टराईले इस्त्री गरेका प्यान्ट कमिजहरू लगाउन मन भएन । पुरानो टयाङ्कामा थन्काइदिएँ, थान्को लगाइदिएँ । बरू, दुई–चार जोर लिभाइजका ब्लु, ब्ल्याक जिन्स प्लस टाइट टि–सर्ट लाउन थालेँ । थोत्रो फिलिप्स टेप रेकर्डरमा बीबीसी सुन्न थालें । पाटनको 'अशोक' सिनेमा हलमा यश चोपडाको 'दिलवाले दुल्हनिया ले जाएंगे' किन पो लाग्थ्यो र ! बरू त्यहाँ गई नाना पाटेकरका 'अग्निसाक्षी', 'युगपुरुष', 'प्रहार' टाइपका फिल्ममा रमाउन थालेँ ।

आफ्नो मनलाई जसोतसो सम्हालेँ ।

एकदिन चाकुपाटबाट आफ्नो सामान कसेँ । 'बसाइ' जानुपर्‍यो, सोचें । मरूभूमिमा अरू के बसाइ भयो र ! आफ्नो हृदयलाई सम्झाइबुझाइ गरेँ । यसो कहिलेकाहीँ, पुराना यादहरूले सताए भने नोस्टाल्जियाको उँट चढी घुम्न जानुपर्ला त्यो मरूभूमिमा ।

पाटनकै ल:खुशी नामक गल्लीमा नयाँ डेरा लिएँ रू. ९५० मा । पढाउनका निम्ति चापागाउँमा एउटा विद्यालय फेला पारेँ । अंग्रेजीका व्याकरण नवागन्तुक बच्चाहरूलाई सिकाउन थालेँ । तलब थापेँ । बिहानदेखि साँझसम्मै पढाएँ । टयुसन–कक्षा लिएँ ।

बिदाका दिनहरूमा पाटनका गल्लीहरू घुम्थेँ । कुनै क्याफेमा बसी ब्ल्याक–कफी पिउँदै कहिलकाहीँ सोच्थेँ :

प्रिय मीरा ! भिजिटिङ प्रोफेसरको चिनियाँ मोटरसाइकलको पछिल्लो सिटमा बसी तिमी अहिले कुन उपत्यका, वन, उपवन डुलिरहेकी छौ ?

मीरा, कुन्नि कुन प्रदेशमा थिई । ऋतु एक दिन अपर्झट मेरो हृदयको दैलो ढकढकाउन आइपुगी ।

समयको धेरै 'मध्यान्तर' पश्चात् ऋतुसित मेरो पाटनको गा:बाहालको भित्री चोकमा एक साँझ भेट भयो । हाई हेल्लो गर्‍यौं, एक वृक्षमुनि । चिया–पसल छोडेपछि उसको परिवार बगलामुखी मन्दिर छेवैको गल्लीको प्राचीन घरको एउटा फ्ल्याटमा बस्दा रै'छन् ।

उसले भनी, "तपाईं गाउँ जानुभयो । मीरा भट्टराई पोखरा गई आफ्नो लोग्नेसितै । तपाईंबिनाको हाम्रो चिया पसल खल्लो भयो, पसल बन्द गर्‍यौं ।"

भागवत् गीताको शैलीमा मौन तपस्वीलाई भनेँ, "ऋतु ! जे थियो ठीक थियो । जे हुन्छ ठीक हुन्छ । (व्यर्थ क्यों चिन्ता करे ।)"

ऋतुले भनी, "तपाईंलाई धेरै खोजेँ चाकुपाटको डेरा छाडी कुन्नि कता गायब हुनुभो ।"

कमसेकम, म गायब भएको कुरा उसलाई थाहा रहेछ । कसैले, यसरी मलाई खोजी गर्नु ठीकै कुरा हो । नत्र मानिसहरू संसारको भीडमा यसरी हराउँछन् कि के भनूँ ।

पाँच वर्षभरिको आफ्नो हृदयमा गुम्सिएर रहेको 'गुप्ती–कुरा' मौन तपस्वीले यसरी खोली, "कुमारजी, वास्तवमा म तपाईंलाई प्रेम गर्छु । तपाईंसित बिताएका क्षण याद आइरहन्छन् । तपाईं अनौठो मान्छे हुनुहुन्थ्यो । मलाई थाहा थियो, तपाईं मीरालाई प्रेम गर्नुहुन्थ्यो । अर्काकी स्वास्नीको पछाडि किन लागेको होला भनी तपाईंसित रिस उठ्थ्यो ! तर प्रेम भन्ने चीज पनि त अनौठो हुँदो रै'छ ।"

मौन तपस्वीको कुरामा 'वजन' थियो । वजनदार कुरा हुँदा म प्राय: चुप रहन मन पराउँछु । उसको कुरा सुनेर बसिरहें ।

त्यसको केही दिनपछि एक साँझ ऋतुलाई शंखमूल घाट लिएर गएँ । एउटा लाश जलिरहेको थियो । लाशका आफन्तहरू पेटीमा बसी रोइरहेका थिए । मौन तपस्वीलाई भनेँ, "ऋतु ! प्रेमस्रेम के गरिरहने ? त्यो विवाहपछि गरौंला । विवाह गर्ने हो ?"

वि.सं २०५८ ।

जेठ ५ गते ऋतुसित विवाह भयो ।

पुण्य अवसरको 'तिथि'मा आफ्नो सम्पूर्ण आफन्तजनलाई बोलाएँ अनि पाशुपात क्षेत्रको गुह्येश्वरी मन्दिरमा जीवनमा पहिलोपटक 'दुलाहा' भएँ । दुबोको माला घाँटीमा लगाएँ । मौन तपस्वी अर्थात् ऋतु गौतमको सिउँदोमा सिन्दुर भरिदिएँ । मान्यजनहरूले आशीर्वाद दिए । भोजभत्तेर (नेवारी ढाँचाको) भै पो गयो । आमालाई गाउँमा अन्तत: हवाई–खबरमार्फत विवाहको सुसमाचार पठाएँ ।

आफ्नो जोगी–छोराले अन्तत: विवाह गरेकामा उहाँ खुसी हुनुभएको कुरा थाहा पाएँ । खुसी जस्तै केही भएँ । तर, गुरुङसेनी आमाको 'खुसी' लामो समय टिकेन । वैवाहिक जीवनका ती संक्षिप्त लफडाहरूबारे यहाँ चर्चा नगरूँ !

लगत्तै जेठ १९ आइपुग्यो । त्यो रात, उता तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो । तथाकथित कालो पदार्थ खाएर दीपेन्द्रले नारानहिटीमा 'सुटआउट' गर्दा ऋतु र म (सम्भोग–पश्चात्) काजु, बदाम, किसमिस खाइरहेका रहेछौँ ।

बिहानै उठ्दा ढोकैमा 'कान्तिपुर' आयो । पढेँ, अशुभ समाचार रै'छ । टिभी खोलेँ, सबै राष्ट्रिय च्यानलमा शोक–धून बजिरहेथ्यो । ऋतुले आफ्नो सामान प्याक गरी । माइती जान्छु भनी । हुन्छ, जाऊ भनें । गल्लीको मोडसम्म पुर्‍याएँ । आफैँ जान्छु भनी । हुन्छ जाऊ भनेँ । ०५८ जेठ २० गते बिहान माइती हिँडेकी ऋतु मेरो घर फर्केर कहिल्यै आइन ।

काठमाडौंलगायत पूरै देश शोकमग्न थियो । राज्यले आफ्नो कर्तव्य पालना गर्दै राष्ट्रिय 'बिदा' घोषणा गर्‍यो । मेरो आफ्नै हृदयको 'राज्य' पनि क्रमश: टुक्रिरहेको थियो ।

मंगलबजारको पुरातात्विक चिया–पसलमा हलुवापुरी खाएँ । पसलमा, बाटोघाटोमा मुडुला टाउका बोकी हिँडेका भद्रजनहरू देखेँ । एउटा सैलुनमा छिरें । प्रिय हजामले नि:शुल्क केश मुण्डन गरिदियो । एक थान मुडुलो टाउको बोकी म सडकमा हिडेँ, सिग्रेट पिउँदै ।

(स्रोत : किताब 'फस्ट लभ'बाट । अजित बरालद्वारा सम्पादित यो पुस्तकमा १० लेखकका पहिलो प्रेमानुभूति समेटिएका छन् ।)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा २

आख्यान




भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।

११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।

लिट्ररी स्पिकिङ ः -यु वर हाफ-डेड्/इन योर ब्लडी बेड् ।

कुन्नि के कस्ता भविता/वस्तुता सोचेर तपाईं जर्‍याकजुरुक उठ्नु भएको थियो । सोफामा मस्तसित आराम गरिरहेकी एक टुक्रा जिप्सी-रातलाई महसुस गर्नुभयो ।

घना जङ्गलबीच अवस्थित तपाईंको एकान्तिक कटेज वास्तवमा विशाल सामुदि्रक मौनतामा डुबेको थियो । उदाङ्गो कोठामा तपाईं 'टपलेस' ओहोरदोहोर गर्नु भयो । उफ ऽऽऽ 'टपलेस' अर्थात् एक आदिम नग्नता......

ड्रेसिङ-टेवलको त्रिकोणात्मक ऐना अगाडि उभिँदै आफ्नो देहलाई कालो 'नाइट-गाउन'ले गर्लम्म ढाक्नु भयो । छोपिदिनु भयो आफूलाई तपाईंले कालो आवरणभित्र । असलमा तपाईं एक कुशल चित्रकार हुनुहुन्थ्यो । अस्तित्वको चित्रकारिता तपाईंले बडो भव्यरूपले गर्नुभएको थियो । विभिन्न एक्रेलिक रङ्गहरू मार्फत् तपाईंले जन्म एवं मृत्युको डिजाइन गर्नुभएकै हो ।

स्टुडियो तपाईंको प्राइभेट आत्माझैं सुनसान थियो । केही चारकोल चित्रहरू अधुरै छाडिएका थिए । यही जीवनकालमा तपाईंले एउटा 'मास्टरपिस' कृति कोर्नु थियो तर यस कामका निम्ति आफू अझै किन तयार भइँन भनी केही क्षण दुःखी हुनुभयो ।

मलाई जानकारी भएअनुसार केही समययता तपाईं आफ्नो 'सेल्फ पोर्टे्रट' बनाउने योजनामा हुनुहुन्थ्यो । त्यसका निम्ति तपाईंले आफ्नो अनुहारको गम्भीर अध्ययन/अवलोकन गर्नुभएको थियो । ऐनासामु तपाईं घण्टौं आफ्नो रङ खुइलिइँदै गएको अनुहारलाई हेर्नुहुन्थ्यो । बाल्यकालदेखि चिन्दै आएको आफ्नो प्राइभेट अनुहार समय सन्दर्भमा कसरी परिवर्तन हुँदै जाँदो रहेछ भनी एक्लै मुस्कुराउनुहुन्थ्यो ।

ड्रेसिङ-टेबलको एउटा कुनामा एउटा अनाथ सिग्रेट लम्पसार ढलेको थियो । हेर्नुभयो त्यसलाई । धुमपानको सौखिन नभए पनि कहिलेकाही तपाईंलाई सिग्रेट सल्काउनुमा आनन्द आउँथ्यो । धूवाँले बन्ने अमूर्त चित्रहरू तपाईंको अनुहार वरपर/क्यानभास वरपर कुनै काल्पनिक चराझैँ घुमी हिँड्दा/उडी हिँड्दा तपाईंको चित्रात्मक चित्तमा एक प्रकारको कलात्मक भावबोधको जन्म हुन्थ्यो ।

पछिल्लो पटक तपाईंको कटेजमा जाँदा त्यो सिग्रेटलाई मैले त्यहाँ त्यो ड्रेसिङ-टेबलमा छोडेर आएको थिएँ ।

सिग्रेटलाई दुई औँलाबीच च्याप्नु भयो । माथि ओँठमा च्याप्नु भयो । धूवाँको निकोटिन-वास्ना धूवाँ अनि अमूर्त रेखाचित्रको मोहले तपाईंलाई खिच्यो । ओँठबीच झुण्डिएर मर्छु भन्ने सिग्रेटलाई अब दागबत्ती केले दिने ! केले सल्काउने ! सलाई कहाँ छ ? लाइटर कहाँ छ ? अग्नि कहाँ छ ?

यो मूर्दालाई सल्काउने अग्नि कहाँ छ ? (गाली गर्दै फ्रिज खोल्नु भयो । त्यहाँ त बरफ थियो )

घरभरि सलाई या लाइटर नभेटिँदा तपाईंलाई अफसोस लाग्यो । घरमा अग्नि नहुनु एउटा दुःखद सूचना थियो । आगो घर बाहिर पो थियो कि !

बाहिर बगैंचामा देखा पर्नुभयो । घाँसमा फैलिएका शीतका थोपाहरू क्रमशः तुषारो हुने तरखरमा थिए । गुलाफ-झाडीमा केही झुसिलकीरा निदाएका थिए र सपनामा सम्भवतः ती सबै पुतली बन्दै थिए ।

तबेलामा दुई अश्वैत घोडाहरू शान्त थिए । आफ्नो मालिक आयो भनी ती जन्तुले तपाईंलाई करुणापूर्ण हेरे । तपाईले भन्नुभयो ः

-ओइ ! तिमीहरूसित सलाई छ ?

घोडा मौन रहे-

बगैँचाको गेटमा ठिङ्ग उभिनु भयो । सिग्रेट तपाईंको ओँठमा झुण्डिएकै थियो । बाटोमा कुनै प्रमिथिएस भेटिएला ! आ ऽऽऽ उसैसित सलाई मागी यसलाई सल्काउन पर्ला ! यस्तै केही सोच्नु भयो शायद ।

निर्जन रात । सुनसान गोरेटो । कोही त अवश्य भेटिएला ! चन्द्रमाको मद्यमि प्रकाशले तपाईंलाई बाटो देखाउन राजी भए । जङ्गली-पथ वरपर उभिएका अज्ञात वृक्षका हाँगाहरूमा यो रातले अझैँ झुण्डिएर आत्महत्या गरिसकेको थिएन ।

अघि बढ्नुभयो चुपचाप/निःशब्द ।

कोही आउँदा भएनन् । कोही किन भेट्न आउँदैनन् तपाईंलाई ! आफ्ना हितैषी/शुभचिन्तक/आफन्तजन/मित्रजन कोही नभएकोमा तपाईंलाई किन कहिल्यै अफसोस लागेन ?

कुनै 'सोम्नाबुलिस्ट' झैं तपाईं हिँडिरहनुभएको थियो ओंठमा सिग्रेट च्यापी । करिब १३ मिनेट हिँडेपछि तपाईँ त्यहाँ आइपुग्नुभयो -जहाँ कोही तपाईंलाई प्रतीक्षा गरिरहेकी थिई ।

वास्तवमा त्यो स्त्री को थिई ? मैले कहिल्यै बुझ्न/चिन्न सकिँन । यो निर्जन जङ्गलमा ऊ युगौँदेखि सलाई बेचेर बसेकी थिई । ऊ कहाँबाट आएकी थिई ? कसरी त्यहाँ आइपुगेकी थिई ? मलाई कहिल्यै थाहा भएन ।

बाटो छेवैमा त्यो सलाई-घर अवस्थित थियो । सलाइ-घर किन भनिएको हो भने त्यो काठैकाठले बनेको पसल सलाइको बट्टाकारमा थियो । त्यहाँ यावत आकार-शैलीका सलाइका बट्टाहरू कलात्मक रूप-शैलीमा सजाएर राखिएका हुन्थे । त्यहाँ सलाइबाहेक अरू केही पाइन्थ्यो भनी मैले कहिल्यै कल्पना गर्न सकिँन ।

सलाइ बेच्ने त्यो स्त्री स्वयम् चाहिँ सलाइको काँटी झैं थिई ।

यो घुम्ती-पसलमा आएर तपाईंका पाइलाहरू 'फ्रिज' भए । पसलमा एउटा सलाइ शैलीको कागजको लालटिन झुण्डिएको थियो । काठको मेचमा बसेकी स्त्रीले तपाईंलाई आश्चर्य मिश्रति नजरले हेरी । भुइँमा सलाइका निर्वस्त्र काँटीहरू यत्रतत्र छरिएका थिए ।

तपाईंलाई प्रमिथियस त भेटिएन/भेटिएन बरु ऽऽऽ प्रमिथिएसकी अवैध प्रेयसी भेटिएझैं लाग्यो शायद ! तपाईंलाई अलमलिएर उभिएको देखेर स्त्रीले भनी ः

-अग्निको खोजमा निस्कनुभा झैं छ । कि कसो ?

हाँस्दै तपाईंले आफू सलाइको खोजमा निस्केको सूचना उसलाई दिनुभयो । हाँसी ऊ पनि । तपाईंको ओँठमा झुण्डिएको सिग्रेट हेर्दै उसले भनी ः

-चिन्ता नलिनुस् क्या ! आउनुस् ऽऽऽ म अब तपाईंलाई विस्तारै ऽऽऽ विस्तारै सल्काइदिन्छु ।

तर तपाई चिताझैं सल्किएर खरानी बन्ने मुडमा अवश्य हुनुहुन्थेन । यद्यपि भन्नुभयो ः

-म त केवल यो सिग्रेट सल्काउन आफ्नो घरबाट हिँडेको । यस्तो रहस्यमय रातमा ? (उसले भनी) यो रातमा त्यस्तो के रहस्य छ र ? वास्तवमा केही रहस्य नहुनु पनि एक रहस्य हो । तपाईंको ओँठमा झुण्डिएको सिग्रेट तपाईंको आफ्नो होइन । कसले दियो तपाईंलाई त्यो चुरुट ? (उसले सोधी) कुमार नगरकोटीले मेरो ड्रेसिङ-टेबलमा बिर्सेर गएको रै'छ । बिर्सेको होइन । उसले त्यसलाई त्यहाँ जानी जानी छाडेर गएको थियो । किन ?

किनभने ऊ चाहन्थ्यो यसरी मध्यरातमा तपाईं र मेरो भेट होस् । यो त बडो रहस्यमय कुरा भैगयो । त्यही त भन्या ! भैगो ऽऽऽ छाड्नुस् यी कुरा । बरु बताउनुस् कुमार नगरकोटीलाई पछिल्लो पटक कहाँ/कहिले भेट्नु भा'थ्यो तपाईंले ? गत साता ऊ मेरो कटेजमा आ'थ्यो मेरो 'सेल्फ-पोर्टे्रट' अवलोकन गर्न । भन्थ्यो ः "ग्लोबल वार्मिङ विषयमा एउटा कथा लेख्ने मुडमा छु । तिमीले मलाई सहयोग गर्नु पर्ला झैं छ ।"

मेरोबारे जुन सूचना तपाईंले स्त्रीलाई दिनुभयो, त्यो सही नै थियो । ग्लोबल वार्मिङ विषयमा एउटा आख्यान लेख्ने मेरो मुड यद्यपि छँदैछ । त्यसलाई अहिले थाती राखौं । यो त तपाईंको आफ्नै कथा हो । तपाईंको कथा मैले नलेखे अरु कसले लेखिदेला ?

तपाईं अघिकै ठाउँमा उभिइरहनुभा'थ्यो । स्त्री आफ्नो कुर्सीबाट बडो जतनका साथ/ तनमयका साथ उठी । तख्ताबाट एउटा आकर्षक सलाइको बट्टा निकाली र तपाईंसमक्ष ठिङ्ग उभिन आइपुगी ।

स्त्रीका सामु आज्ञाकारी बालकझैं तपाईं यन्त्रवत् हुनुभयो । स्त्रीले बट्टाबाट एउटा सलाइको काँटी निकाली । तपाईंका काँतर आँखामा आफ्ना आँखा जुझाउँदै उसले भनी ः

-खै, त्यो ओंठ यता ल्याउनुस् । म सिग्रेट सल्काइदिन्छु...

त्यसपछि तपाईंले आफ्नो नाइट-गाउन फुकाल्नु भयो । पुनः 'टपलेस' अवस्थामा अर्थात् आदिम नग्नतामा विवर्ण हुनुभयो । के सोचेर ल्याउनुभो 'कुन्नि ! स्त्रीका वस्त्राभूषण पनि एकएक गर्दै खोली दिनुभो' । स्त्रीले नाईनास्ती केही पनि गरिन । आदम र इभ झैं देखिनुभो तपाईंहरू... आफ्नो ओँठ यसो झुकाउँदै स्त्रीलाई दिनुभयो तपाईंले । स्त्रीले बडो रहस्यमय शैलीले सलाइ कोरीदिई ।

झ्यार्रऽऽऽ

आगोको झिल्कामा तपाईंको सिग्रेट सल्कियो धूवाँको लामो कस निल्नुभो ।

दुई औँलाबीच जलिरहेको सलाइको काँटीको आगोले स्त्रीका क्रमशः क्लासिक बूढी औंली अनि चोर औंली अनि माझी औंली अनि अनामिका औंली अनि कान्छी औंली जलाउँदै गयो । आगो फैलिँदै, सर्दै गयो, स्त्रीका दायाँ हातका, पाखुराका कोमल त्वचालाई डढेलो लगाउँदै अनुहार/केश/ स्तन/नितम्ब/योनी इत्यादि हुँदै, छुँदै आगो दनदनी बल्दै, जल्दै गयो नग्न देहभरि....

ठिङ्ग उभिई मौन/ सिग्रेट तपाईंले पिउँदै जानुभयो । धूवाँ तपाईंको श्वास नली हुँदै फोक्सोसम्म पुग्यो । त्यो फोक्सो एक डल्लो बरफ बन्यो । एक कङ्क्रिट बफिर्लो फोक्सो !

धूवाँ तपाईंको देहभित्र फैलियो करोडौँ/अबौर्ँ कोषहरूमा । रक्त बाहिनीमार्फत धूवाँ सम्पूर्ण शरीरभरि सञ्चारित हुँदै गयो । तपाईंका मुटु/कलेजो/मिर्गाैला क्रमशः बरफको ढिक्कामा परिणत भए ।

वस्तुतः तपाईं ठोस बरफमा रूपान्तरित हुनुभयो । मानवाकृत एक आइस-क्युब् । वास्तवमा, ड्रेसिङ-टेबलको एक कुनामा तपाईंले फेला पार्नुभएको सिग्रेट बडो अजिव थियो ।

तपाईंको कथा यस्तै अजिवोगरिब थियो । अद्भूत थियो । स्त्री क्रमशः दनदनी/हुर्रहुर्र जलिरहेकी थिई तर त्यो रात तपाईं बरफमा मात्रै सीमित हुने कुरा कदापि थिएन । स्त्री-अग्निको मायावी रापमा/तापमा तपाईं पग्लिनु पर्ने नै थियो । अनि क्रमशः तपाईं मोन्टाज शैलीमा/कोलाज शैलीमा पग्लिन थाल्नु भयो ।

सुरुमा तपाईं नाकबाट पग्लिनु भयो । कान/आँखा/ओंठ विस्तारै बिलाए । अनि बिलाए घाँटी एवं चौडा छाती । एवं रितले चाक/ लिङ्ग/तिघ्रा/पिडौला अनि कुर्कुच्चासमेत पग्लिएपछि तपाईं जलको स-सानु कुण्डमा 'ट्रान्सक्रियट' हुनुभयो ।

यस बेलासम्ममा त स्त्री खरानीको थुप्रो बनिसकेकी थिई । कागजको लालटिनले फ्याँकेको मधिम प्रकाशमा जलकुण्ड र खरानीको थुप्रो देख्न सकिन्थ्यो । अघि केही समयसम्म त्यहाँ पुरुष (आदम) र स्त्री (इभ) थिए भन्ने तथ्य कुनै अप्रकाशित किम्बदन्तीझैं अमूर्त भैसकेको थियो ।

त्यो रात वास्तवमै रहस्यमय थियो ।

(.......खरानीको कुनै अवशेष त्यहाँ छैन । पश्चिमी वायुले त्यसलाई उडाएर लगेको पनि आज त युगौं भैसक्यो । बरफ पग्लिएर बनेको त्यो सानु जलकुण्ड चाहिँ अहिले पनि त्यहाँ छ .....)

त्यो कु्ण्डमा म कहिलेकाहीँ आफ्नो अनुहारको प्रतिविम्ब हेर्न जाने गर्छु ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ३

तिम्रो मृत्युको समाचार
****

प्रोलग: कथाको प्रथम ड्राफ्ट
कभिकभि,
मौत भि जब
एक किताब लिखती है
तो, भूमिका लिखवानेके लिए
जिन्दगीके पास आती है
-अमृता प्रितम

प्रसङ्ग : एउटा मजदुरको बयान

कुरा एकदम साँचो हो । मैले नै त्यसलाई र्सवप्रथम देखेको हुँ। त्यसलाई मैले जिउ“दो अवस्थामा कहिल्यै देख्न पाइन“ । ऊ कहा“को थियो, कस्तो 'टाइप'को मान्छे थियो, मलाई केही थाहा भएन । कस्तो दुःखद कुरा उसका निजी सपनाहरू थिए होलान् उसका पनि व्यक्तिगत रुचि/रहर अनि लक्ष्य इत्यादि थिए हुनन् ।

आफ्नै प्रकारका मानवीय/दानवीय आहत एवम् स्वभाव थिए होलान् । आफ्नो भन्नलायकका आफन्त, मित्र एवम् शत्रुहरू थिए होलान् ।

धत्तेरकिा, त्यसरी पनि कोही मर्दो हो । वास्तवमा त्यो सा“झ म कामबाट र्फकंदै थिए“ । अब, काम के भनू“ - तपाईंलाई अघि नै बताइसकेको छु । दैनिक मजदुरी गर्छर्ुु म मजदुर हु“, साहेब । दिनभर काम गर्दा निकै गलेको थिए“ । आजकल कामको 'लोड' पनि त ज्यादा छ । तर, ज्यालाचाहि“ सधै“ उस्तै । आफू भने सधै“ ठन्डाराम ।

त्यो सा“झ हाकुचाको भट्टीपसलमा दर्ुइ गिलास दारु सितनबिना घुट्क्याएको हु“ । रक्सीले आजकल चा“डै छोइदिन्छ । आखिर, बूढो पनि त भइगए“, होइन र † त्यो साले ठेकेदारले भनेको 'ट्याम'मा कहिल्यै सुको झार्ने होइन । घर्रखर्च चलाउन पनि धौधौ पर्छ ।

के भनू“ सर, यस्तो बखत यता स्वास्नी फेर िदर्ुइ जीउकी भा'की छे । पहिल्यै दुइटी छोरीहरू छन् । भु“डी नबोक् भनेको थिए“ । त्यसले के भनी, थाहा छ - भन्छे, "आफ्नै भु“डी हो बोक्छु ।"

बच्चा फालौ“ भन्छु । उसलाई छोरा चाहिएको छ । मरेपछि आगो सल्काउन । दागबत्ती दिन छोरा चाहिन्छ भन्ने उसको ढिपी बुझिनसक्नु छ । अब, मरेपछिको कुरा दैव जानून् । तपार्इंले देखिहाल्नुभो नि † मरेपछि त्यो मान्छेको अवस्था । अब केको दागबत्ती ।

कहिलेकाही“ त कस्तो लाग्छ भने सर, आफ्नै दागबत्ती दिउ“m र त्यही मान्छेझै“ परलोक गइदिउ“m । स्वास्नीको त्यो भुक्क उठेको भोगटेजस्तो भु“डीले मलाई निकै तर्सर्ााछ । यस्तो गरबिीमा एउटा दरद्रि लोग्नेकी स्वास्नीले भु“डी बोक्नुजस्तो दुःखलाग्दो कुरा यो दुनिया“मा अरू के होला -

डेरामा फकर्ंदा त्यसलाई देखेको हु“ । त्यस्तो अ“ध्यारो/एकलास, सुनसान पाटीमा को सुतेको रै'छ जस्तो लाग्यो । नजिक गई हर्ेदा पो चाल पाए“ । त्यो त सुतेको होइन र'छ । लास मरसिकेको पो रै'छ ।

अ“ध्यारोमा त्यसको अनुहार राम्रँेसित देख्न पाइन“ । छामी हेरे“, चलमलाउ“दैन । आजसम्म मैले मरेको मान्छे छोएको होइन । बाफरेबाफ † धेरै साह्रँे र चिसो पो हु“दो रै'छ ।

लासका लुगाहरू दामी थिए ।

मेरो बाया“ हातमा प्लास्टिकको झोला थियो । त्यहा“ भरे बूढीलाई खुवाउ“ला भनी हाकुचाको पसलबाट ल्याएको उधारो रक्सी थियो । तर, मेरो दर्ुभाग्य हेर्नोस्, लासलाई छामछुम गर्दा सप्पै रक्सी उसको अनुहारमा पोखियो । घोप्टो परेर लासको मुख स“ुघे“ । मुखमा/अनुहारमा रक्सीको आलो गन्ध थियो ।

जुगा -

अह“ । होइन, होइन । वास्तवमा ऊसित जु“गा र दाह्री केही थिएन । भन्छन्, जु“गा भनेको मर्दको जङ्गी निसानी हो ।

अब केको जङ्गी निसानी -

वास्तवमा, लास जु“गाविहीन थियो । दाह्रीको अत्तोपत्तो थिएन । मलाई डर लागिरहेथ्यो । भनिहाल“े, मैले लासलाई आजसम्म छोएको थिइन“ । कहिलेकाही“ आफ्नै शरीर लासझै“ लाग्नु भनेको अब, अर्कै कुरा भई गो ।

म फटाफट हि“ड्न चाहन्थे -

तर, एउटा दुष्ट विचार दिमागमा आयो । दिमागमा प्रायः दुष्ट विचार नै आउ“छन् । मैले उसका खल्तीहरू छामे“ । कमिजमा दुइटा कलम रहेछन् । लिए“, किनभने ती कलमले मेरा हर्ुर्किरहेका छोरीहरूको भाग्य लेख्न सक्थे । उसको हाफ सुइटर बल्लबल्ल उतार्न सके“ । यसो गर्दा मैले धेरै बल गर्नुपर्‍यो । सुइटरलाई आफ्नो शरीरमा भिर“े । छालाको जुत्ता पनि लिइछाडे“ । लासको मोजा गन्हाइसकेका थिएनन् । आफ्नो थोत्रो चप्पल फ्याकिदिए“ र लासको जुत्ता/मोजा लगाए“ ।

वास्तवमा, लासलाई यी सबको अब आवश्यक पनि त थिएन -

उसको जीवनको यात्रा त समाप्त भइसकेको थिएन र - यात्रा त मलाई गर्नु थियो । लासको जुत्ता लगाएर मैले अझै कठिन यात्रा तय गर्नु थियो । लासको खल्तीबाट मैले थुप्रै कागजपत्र फेला पारेको थिए“ । लास वास्तवमा को रहेछ भन्ने कुरा म बुझ्न चाहन्थ“े । तर, त्यस्तो केही भएन । त्यहा“, थुप्रै सिनेमाका टिकटहरू थिए । लास प्रशस्त सिनेमा हेर्दो रहेछ । ऊ चिडियाघर पनि जा“दोरहेछ भन्ने कुरा चिडियाखानाका टिकटहरूले बताउ“थे । कागजहरूकै बीचमा मैले पा“च सय रुपिया“को कच्याककुचुक नोट पाए“ ।

तर, लाससित परचियपत्र र नागरकिताको प्रतिलिपि थिएन -

अ“ त, त्यसपछि मैले के गरे“ -

त्यसपछि म मासु पसलमा देखा पर“े । एक किलो बङ्गुरको मासु किन“े । पसलहरूबाट मैले दा“त माझ्ने बुरुस/मञ्जन अनि नुहाउने साबुन किने“ । चामल/दाल र आलु पनि मैले किनेको हुनर्ुपर्छ, अहिले बिर्सर्ें ।

कोठामा बूढीले स्वादिलो मासु पकाई । कलम छोरीहरूलाई दिए“ । बच्चाहरूले मज्जासित मासुभात खाएको देख्दा मेरो आत्मा रमायो । राती अबेरसम्म हामी बूढाबूढीले नानाथरीका रमाइला कुराहरू गर्‍यौ“ । सुत्नेबेला स्वास्नीले मेरो बाया“ हात समातेर आफ्नो चिल्लो भु“डीमा राखिदिई । त्यो नरम, चिल्लो भु“डी मलाई मेरी र्स्वर्गवासी आमाको कोमल गालाजस्तै लाग्यो । स्वास्नीको भु“डीभित्र केही चलमलाएजस्तो लाग्यो र मैले आफ्नो हात झट्कार“े । स्वास्नीले हास्दै मेरो कानैमा भनी ः

"यसपालि त छोरा कसो नहोला ।"

त्यसैबेला हो, त्यसैबेला, मलाई त्यो मरेको मान्छेको याद आयो । उसको सुइटर अझै म लगाइरहेको थिए“ । म डराइरहेको थिए“ । यस्तो लाग्थ्यो, त्यो लास मेरी स्वास्नीको भुडीभित्र चलमलाइरहेको छ र आफ्नो छालाको जुत्ता खोजिरहेछ, जसलाई लगाएर उसले सायद धेरै लामो यात्रा पार गर्नु थियो ।

सायद लासको यात्रा अझै टुङ्गिएको थिएन-

हो सर,
कुरा एकदम सा“चो हो । मैले नै त्यसलाई र्सवप्रथम देखेको हु“ ।

नेपाल साप्ताहिक
अंक २८०

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ४

पृथ्वी

****

-पृथ्वी न्वारन शा मेरो कन्टिनेन्टल ओछ्यानमा निदाइरहेको थियो ।

म, प्राय: घाटहरूमा देखा पर्दोरहेछु ।

मुर्दा जलाउने घाट या शव गाड्ने ग्रेभ-यार्डहरूमा कहिलेकाहीँ तपाईंले अवश्य देखेको हुनुपर्छ । तर, म घाटमा मुर्दा जलाउने मानिस या ग्रेभ-यार्डको क्रूर ग्रेभ-डिगर होइन ...।

पेसाले म आत्मा बोलाउने मानिस हुँ । पृथ्वीको वायुमण्डलमा फकिर शैलीमा यात्रारत अ-शरीर, अमर आत्माहरूसित मेरो बरोबर सहचार्य हुने कुरा तपाईंर्ंलाई 'प\mयान्टासी' या आश्चर्य लाग्नेछ । तर, यो साँचो हो ।

मेरो पुरातात्त्विक आश्रम घाटको छेवैमा छ । मेरो पुर्ख्यौली घरलाई तपाईंको सहरमा जाडोको छुट्टी मनाउन आउने पर्यटकहरू यदाकदा मुर्दा-गृह भन्ने गर्छन् । तर, मुर्दा अर्थात् डेढ बडीहरूसित मेरो कुनै 'अफिसियल' सम्बन्ध छैन । मेरो प्रेम त आत्माहरूसित छ । प्रेतात्माहरूसित...।

वैदिक मन्त्रोच्चारणमार्फत म आत्माहरूसित सदा सम्पर्कमा रहिरहन्छु । प्रेतात्माहरूको अतृप्त इच्छा, गुगलमा नभेटिइने उनीहरूका गुनासा, कथा/व्यथा इत्यादि सुन्दासुन्दै अब त म तपाईंको प्राइभेट राष्ट्रको ज्येष्ठ नागरकि पो भई गएँ । आत्माहरूको निरन्तर सम्पर्कमा सायद म पनि प्रेतात्मा बनिसकेको छु ।

जीवित मानिसहरूको पट्यारलाग्दो सम्बन्धमा कुनै भ्यानिला-आकर्षण नरहेपछि मैले एकालाप जवानीमा, धेरै वर्षअघि यो अनौठो पेसा अपनाउनुपर्‍यो । विश्व-प्रसिद्ध आत्माहरू मेरो लिभिङ्-रुममा रडिर्स डाइजेस्टका पुराना अङ्क पढ्न आउँछन् ।

समय मिले म ती प्रख्यात् आत्माका किम्बदन्ती अवश्य सुनाउँला । तर, आज म तपाईंलाई स्वदेश प्रसिद्ध, एक भट्किएको आत्माबारे ताजा घटना सुनाउने 'मुड'मा छु ।

घटना वास्तवमा गत इन्द्रजात्राको एकाबिहानै भयो ।

त्यसदिन म केही चाँडो उठेको थिएँ भन्ने छिमेकीहरूको हल्ला सत्य हो । प्रात:कालीन नित्यकर्मपछि ध्यानमा समाधिस्थ भएँ । केही वैदिक मन्त्र आफ्नो मङ्गोल एव म माङ्गलिक ओठबाट उच्चारण भएको अनायास सम्झिरहेछु । सूर्योदयको प्रथम किरण मस्तिष्कमा छताछुल्ल पोखिएपछि मैले ध्यानस्त आँखाहरू उघारेँ,

र, देखेँ :
-पृथ्वी
न्वारन शा
मेरो कन्टिनेन्टल ओछ्यानमा
निदाइरहेको थियो

कछाड प्लस गन्जीमा निदाइरहेको प्रेतात्मालाई मैले प्रसङ्गवश चिन्ने कुरा भएन ! कुन 'फकिर आत्मा' आएछ भनेर म आफ्नो स्ट्रबेरी कचिनतिर लागेँ । ग्यास बालेँ । नेस्क्याफे-कफी उमालेँ । इन्द्रजात्राको दिन, एकाबिहानै कुन आत्मा सम्पर्कमा आएछ भनी केही समय गुमसुम रहेँ ।

दुई मग ब्ल्याक-कफी लिई शयनकक्षमा छिरेँ । प्रेतात्मा उठिसकेको थियो । एक मग उसलाइदिएँ । हाम्रा अपरिचित आँखाहरू जुधे । अन्तत: प्रेतात्माले आफ्नो परचीय खुलायो । भन्यो :

"मलाई नचिन्याँ ? म हुँ बडामहाराज पृथ्वीनारायण शाह ।"

"गुड मर्निङ् पृथ्वी न्वारन शा !" अभिवादन गरेँ ।

पृथ्वी टुक्रुक्क बसेको थियो ओछ्यानमा । ऊसित श्रीपेच/राजदण्ड/सिंहासन केही पनि थिएन । तपाईंको देशको कुनै जमानाको शक्तिशाली राजा मेरो कोठामा कुनै भिखारीझैँ आत्मवत् उपस्थित थियो । र, यसबेला भित्तामा झुन्डिएका शशि शाहका एक्रेलिक क्यानभासमा बेलगाम घोडाहरूलाई एकनासले हेररिहेको थियो सुरुप सुरुप सुरुप कफी पिउँदै ।

"पृथ्वी आज इन्द्रजात्रा हो," भनेँ,"आफ्नो इतिहासबारे केही सम्झना छ ?"

उसले सोध्यो,"यो कुन शताब्दी हो ?"

"यो एक्काइसौँ शताब्दी हो," सिगरेट सल्काउँदै भनेँ,"चुरोट पिउने पृथ्वी ?"

"घुस खान्या र घुस दिन्या देशका बैरी हुन् । बुझी लिन्याँ । सबै प्रजामा चेतना भया !"

"घुस होइन । यो सिगरेट हो, पिउने ?" फेरि सोधेँ ।

"म घुस नखान्याँ ।"

त्यसो भए भुस खाऊ, मनमनै भनेँ र रेकर्ड प्लेयर खोलेँ । प्रिय जोन डेन्भर कोठाभरि मद्दिम स्वर-लिपिमा गुञ्जन थाल्यो : कन्ट्री रोड टेक मी होम ...।

पृथ्वीले म 'कान्तिपुर नगरी' हेर्न जान्या भनेपछि म केही सतर्क भएँ । उसलाई मैले आफ्ना पोसाकहरू लगाउन दिएँ । मसित अवश्य पनि श्रीपेच/राजदण्ड/मुगल सम्राटका क्लासिक जुत्ताहरू थिएनन् । पृथ्वी केवल कछाड र एउटा मैलो गन्जीमा थियो । उसले मेरो श्वेत टीसर्ट लगायो, नीलो जिन्स लगायो र गन्हाउने पहेँलो मोजा लगायो । श्रीपेच नभए पनि मेरो 'एडिडास क्याप' लगाउँछौ किभन्दा पृथ्वी प्रथमपटक मुस्कुरायो ।

त्यसपछि पृथ्वीलाई १८२५ सालको कान्तिपुरी नगरी होइन, ०६४ सालको काठमान्डू डुलाउन मैले उसको पथ प्रदर्शक बनिदिनुपर्‍यो । नरभूपाल शाहको छोरालाई लिई म काठमान्डू -विसङ्गति/पीडाको राजधानी)का अश्वेत गल्ली एव म सङ्ग्रहालयतिर गएँ । साथमा डिजिटल क्यामरा प्लस सेल फोन नभएको पृथ्वीनारायण शाह नाम गरेको पर्यटक बडो उदेकलाग्दो सावित भयो । पाको, इन्द्रचोक, असन, न्युरोड इत्यादि इलाकाहरूमा हिँडिरहँदा मैले पृथ्वीलाई उसका सन्तानहरूबारे अप्रसङ्ग व्याख्या गर्नुपर्‍यो ।

सहरको व्यस्त ट्राफिकमा पृथ्वीलाई जोगाउन मलाई बडो गाह्रो भइदियो । सिंहदरबारको ढोकाअगाडि छोपिएको सालिक देखाउँदै उसलाई भनेँ : "त्यो सालिक तिम्रो हो ।"

"मेरो सालिकलाई किन यसरी रातो वस्त्रले छोप्या ?" सोध्यो उसले ।

"यो रक्तक्रान्ति हो महाराज !" भनेँ ।

"यो रक्तक्रान्ति भन्याँ क्या हो, गाँठे !"

"आऊ/म तिमीलाई देखाउँछु ।"

त्यसपछि मैले पृथ्वीलाई सहरभरि घुमाउनुपर्‍यो । देशको पछिल्लो राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक घटना 'सर्ट ह्यान्ड' सुनाएँ । युद्ध, हिंसा, जातीय वचिलन, राज्य, सेना, राजनीति, विद्रोहका कुरा सुनेर पृथ्वी छटपटाउन थाल्यो । नारायणहिटी राजदरबार सामुन्नेको 'जय नेपाल' थिएटरमा देवनागरी होइन, बरु आङ्ल भाषाको बेट्रोलुसीको क्लासिक फिल्म द लास्ट एम्पोरर चलिरहेको थियो । नारायणहिटीबारे उसलाई बताएँ । पृथ्वीले भन्यो : "मेरा भूराहरू यस्ता भव्य महलमा बस्न्या गर्छन् ! इनीहरूलाई प्रजाको रत्ति चिन्ता छैन्याँ ?"

"छैन प्रभु," भनेँ ।

"यो महल अनि अर्को निर्मल निवास भन्या महलमा अचेल को बस्न्याँ ?"

"ज्ञानेन्द्र बस्न्याँ, पृथ्वी !" भनेँ ।

पृथ्वी उदास भयो । फुटपाथ/माइक्रो, बस/ट्याक्सीमा उसलाई राणाकाल, त्रिभुवनकाल, महेन्द्रकाल, वीरेन्द्रकाल एवम्रीतले ज्ञानेन्द्रकालका अलोकप्रिय कुरा मिडिया अन्दाजमा सुनाउनुपर्दा आपै“mलाई उदेक लाग्यो । भनेँ,"तिम्रा यी नालायक सन्तानहरूले आफूलाई विष्णुको अवतार ठाने र देशमा निरङ्कुुश राज गरे ।"

"यिनीहरूले आफैँलाई देउता ठानी बडो भूल गर्‍याँ । प्रजाले पनि यी पाजीहरूलाई देउता ठान्याँ ?" सोध्यो ।

"पाजीहरूले आफूलाई विष्णुको अवतार ठाने र प्रजा काजीहरूले चुपचाप माने ।"

"मैले धिक्कार गर्‍याँ मेरा यी नालायक खोटा सन्तानहरूलाई ।"

"पृथ्वी ! अब समय बदलिइसक्यो । प्रजा प्रजा रहेनन् । उनीहरू यस देशका सार्वभौम नागरकि भइसके ।"

"सार्वभौम नागरकि भन्याँचाहिँ कुन चिडियाका नाम ?" सोध्यो ।

"स्वतन्त्र देशवासी," विनम्रतापूर्वक बताएँ ।

नरभूपाल शाहको छोरा तैँ चुप मै चुप भयो । सरकारी बिदामा इन्द्रजात्रा धुमधाम मनाइँदै थियो । परम्परागत नेवारी धिमे बाजा बजाउँदै झुन्डझुन्डमा नरनारीहरू सहरका गल्लीहरूमा उल्लासित देहभङ्गिमामा नृत्यमग्न देखिए । बडो नोस्टाल्जिक फ्लेवरमा पृथ्वीले आफ्नै इतिहास सुनायो :

"समय बडो चलाख ! छट्टु ! सबैमा चेतना भया । १८२५ कहन्छु । असोज १२ । इन्द्रजात्राको दिन । यहाँका राजा जयप्रकाश मल्ललाई मैले जितिलियाँ । कसरी भुल्न्याँ होला त्यो दिन ! त्यसको १३ दिन वाद असोज २५मा पाटनका राजा तेजनरसिंह मल्ललाई पराजीत गर्‍याँ । दुई ढुङ्गाबीच रहन्याँ यो 'नेपाल' को आखिर एकीकरण गर्‍याँ ।

"मेरा सन्तानहरूचाहिँ यसरी मोजमस्तीमा बस्न्याँ ! प्रजाका दु:ख बिर्सन्याँ र मदिरापान गन्र्यां ! मेरो बडो दु:खले आज्र्याको राजतन्त्रको यिनी पाजीहरूले यसरी नाजायज फाइदा लिन्याँ ! वंशै नाश गन्र्यां ! राजा भई पञ्चायत चलाउन्याँ ! बेपार चलाउन्याँ ! प्रजाका कुराचाहिँ नसुन्याँ ! मैले सोच्याँ, मेरो देश अब कहाँ पुग्न्या हो ?"

एकनासले पृथ्वी एकालाप शैलीमा बर्बराउन थालेपछि मैले उसलाई रोक्नुपर्‍यो । भनेँ : "पृथ्वी ! त्यो तिम्रो प्वाल पर्‍याको थुतुनो अब बन्द गन्र्यां र मलाई सुन्न्याँ । कीर्तिपुरवासीको त्यसरी नाक काटेर किन त्यस्तो रास बनाको तिमीले ?"

"काजी ! सङ्ग्राममा यी कुराहरू चल्न्याँ हुन्," पृथ्वीले भन्यो ।

पृथ्वीले आफ्नो रणकौशलको असफल बचाउ गररिहेको उसको अनुहारमा स्पष्ट झल्कन्थ्यो । उसले 'एडिडास क्याप' निकाल्यो र गालाबाट पसिनाका स-साना मोती दानाहरू पुछ्यो ।

उत्तर-मध्याह्नका बेला ! भोक लागेर अब त करबि ३१ मिनेट गइसकेको थियो घन्टाघरको घडीमा ! पृथ्वीलाई व्यस्त बागबजारमा अवस्थित 'देवनागरी क्याफे कर्नर'मा पुर्‍याएँ । म यदाकदा जाने त्यो क्याफे सुनसान थियो । उसका ग्राहकहरू सायद नयाँ क्याफे खोज्न चन्द्रमातिर गएका हुँदा हुन् ! साहुनी/किराँती साहुनी एक्लै थिई र उसको वैदिक लोग्ने 'काम कुरो एकातिर गर्ल फ्रेन्ड बोकी ठिमितिर' इन्द्रजात्रा हेर्न गएको रहेछ ।

"आज कुन आत्मा तपाईंको पाहुना ?" सोधी मलाई,"यो भीखमङ्गाचाहिँ को ?"

"पृथ्वीनारायण शाह, चिन्छौ ?" सोधेँ ।

"यो नाम कताकता सुनेझैँ लाग्छ ।"

कफी प्लस पिज्जाको अर्डर गरेँ । पृथ्वीले पिज्जा खाने इच्छा देखाएन । "म घुस नखान्याँ" भन्यो र कफी मग उचाल्यो । किराँती साहुनीले टीभी स्क्रीन 'अन' गरी । 'ब्रेकिङ् न्युज' प्रसारण भइरहेको थियो : देशका विभिन्न ठाउँ/कुठाउँमा हिंसा, हत्या, अपहरणजस्ता समाचार विभिन्न च्यानलका संवाददाताहरूले 'कभर' गररिहेका थिए ।

मन्दिर-मस्जिदजस्ता पवित्र इलाकाहरू आगजनीमा परेका थिए । छुट्टै राज्य माग्ने प्रिय स्वदेशवासीहरू तरवार, खुँडा, बन्दुक बोकी एकापसमा मारकाट गर्नमा तल्लीन थिए । यावत् राजनेताहरू टीभी स्क्रीनमा आउँदा-जाँदा थिए । पृथ्वीलाई एक नजर फ्याँकेँ । ऊ उदास थियो । साहुनीलाई टीभी बन्द गर्न आग्रह गरेँ । आग्रह तत्काल पालना भयो । पृथ्वीको आवाज कानमा गुञ्जियो : "मैले एकीकरण गर्‍याँ यो देशको भविष्य क्या हुने हो ? म दु:खी भयाँ । बाइसे-चौबीसे राज्यहरूलाई मिलायाँ । अब यी एकापसमा लड्न्या, भीड्न्याँ नेपालीलाई कसले मिलाउन्याँ ?"

पृथ्वीको कुराले मलाई पनि चोट पुर्‍यायो । सिगरेट सल्काएँ । देशको पीडाग्निले मेरो कलेजो अँझ डढाइदियो । वास्तवमा, पीडाको दागबत्ती ज्यादै संवेदनशील/प्रज्ज्वलनशील हुने गर्छ । सिगरेट निभाउँदै पृथ्वीलाई मैले बताउनुपर्‍यो : "पृथ्वी ! तिमीले नेपालको भौगोलिक एकीकरण गर्‍यौ । तर, यो देशमा युगाैँदेखि बसोवास गरेका मानिसको पवित्र मनको एकीकरण गर्नबाट तिमी चुक्यौ । भूगोलको दसगजा क्षेत्र वरपर तिमी लड्यौ । सफल भयौ । तर, मनको दसगजा चिन्नमा तिमी असफल भयौ ।"

"म अब केही नसुन्याँ । म जान्याँ," पृथ्वी उजाड थियो ।

"कहाँ ?" सोधेँ ।

कुमारी घर, असनचोक, काष्ठमण्डप इत्यादि घुमेपछि पृथ्वीलाई हनुमानढोका सङ्ग्रहालय लगेँ । द्वारपालले पृथ्वीलाई रोक्यो : "तपाईंको टिकट ?"

"यो टिकट भन्याँ क्या हुन् ?"

द्वारपाललाई दुइटा टिकट दिएपछि मैले पृथ्वीलाई टिकटको अर्थ सम्झाउनुपर्‍यो । उसले भन्यो : "म बडामहाराज पृथ्वीनारायण शाह । मलाई यो आफ्नै दरबार छिर्न क्याँको टिकट !" द्वारपाले चकित पर्‍यो । सङ्ग्रहालयमा एउटा इतिहास लिपिबद्ध थियो । पृथ्वीले बुझ्यो । त्रिभुवनको कफिन बाकसअघि नरभूपाल शाहको छोरा केहीबेर अलमलियो । अनि, उदास भैगो । पृथ्वीले यही दरबारमा कान्तिपुरी नगरीको राजसिंहासन आरोहण गरेको तथ्य तपाईंले अवश्य पनि बुझिदिनु हुने नै छ ।

नौतले दरबारको भर्‍याङ चढ्दा जो कसैलाइरहस्यबोध हुन्छ । यसबेला पृथ्वी प्रसन्न मुद्रामा थियो । ऊ आफैँले बनाउन लगाएको दरबार त्यो जो थियो, जहाँको बालकोनीबाट पृथ्वी आदिम कान्तिपुरी नगरी हेर्थ्यो । नौतले दरबारको उपल्लो तल्लामा पृथ्वी र म मात्र थियौँ ।

आँखीझ्यालबाट मैले तपाईंको 'केटीएम' अर्थात् काठमान्डूलाई हेरेँ । तपाईंहरू परविार/प्रियजनहरूसित इन्द्रजात्रा मनाइरहनुभएको थियो ।

त्यसैबेला पृथ्वीको आवाज सुनेँ : "मेरा ठूला दु:खले आज्र्याको राजतन्त्र अब क्या हुन्या हो ?"

स्वयम्भूको डाँडामाथि ट्राफिक जाममा परेको गोधूलि सूर्यास्तलाई हेर्दै मैले भनेँ :

"पृथ्वी ! तिम्रो राजतन्त्र अब नष्ट हुन्याँ हो !"

क्लोज अप :

-नौतले दरबारको बालकोनी, घाटझैँ सुनसान थियो । पृथ्वी न्वारन शालाई त्यहाँ कतै देखिनँ । बरु एउटा कुनामा पोसाकको थुप्रो फेला पर्‍यो । हेरेँ । त्यसपछि देखेँ : श्वेत टीसर्ट, नीलो जिन्स, गन्हाउने पहेँलो मोजाबीच एउटा 'एडिडास क्याप'...।

पृथ्वी, कतै थिएन

नेपाल साप्ताहिक २६३

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ५

फुट नोट्स

****

म गुरुङसेनी हुँ। घले गुरुङसेनी।

बाउले मेरो नाम राखिदियाथ्यो- सरिता गुरुङ। मेरो माइती देश गोरखा हो। राजा पृथिवी नारान पनि गोरखाको थियो क्यारे ! जान्दिनँ। बुझ्दिनँ। भए पनि क्यार म त ! राजा-रजौटाहरूले मेरो जुनी फेरिदिएनन् क्यारे ! भावीको लेखा, दैवको खेला अनुठो हुँदो रेछ।

गाउँको माटोमा खेलीबढी हुर्कें। भीरपाखामा, पँधेराउँधी सुसेली गाउँदै तरुनी भएँ। गाईबस्तुलाई घाँसपात गर्दै हलक्क बढेँ। खोलाको चिसो पानीले आँतलाई सिँचाएँ। बाउले इस्कुल पठाएन। भेडी-गोठ जा भन्यो। किन जान्थेँ म, बिनसित्तैँ भेडाहरूसित भेडीगोठ ? बरू रोदीघरतिर गीत गाउँदै हिँडेँ।

एक दिन गाउँको प्रहरी चौकीमा एउटा हल्दार आयो। दुब्लो पातलो। त्यो मुन्छे मलाई भेडाजस्तो लागेन। त्यो हल्दारले के जादुटोना गर्‍यो कोनि ! मेरी बास्सै ऽऽऽ म त त्यो जुँगे हल्दारको पिरेममा भुतुक्कै भएँ।

गामठाममा आफ्नै सोल्टीहरू थे। केटाहरू थे। हट्टाकट्टा, सुङ्गुरको ज्यान भा'का पट्ठा। तर, तिनार्को मारुनी-नाचले मलाई लोभ्याएन। रोदीघरका ती अल्लारे भेडाहरूलाई, सोल्टीहरूलाई लोप्पा ख्वाइदिएँ। ती भेडाहरूसित क्यान मायापिर्ती लाउने नाइँ ! मेरो मन त जुँगे हल्दारले चोर्‍यो।

त्यो हल्दार गोडा एक दिन हाम्रो घरमा आयो। दैलोछेवै आँगनमा बस्यो। घरमा बाउ थिएन। आमा थिएन। दाजैहरू थिएन। म मात्तै थिएँ। बाउ भन्थ्यो, बेलुकाका पाउनाहरू देउताका मुन्छे हुन्। दैवको मुन्छेलाई के रुवाउने ?

घ्याम्पाबाट जाँड झिकेर एक बटुको त्यसलाइदिएँ। घुटुघुटु खायो। बरालाई कस्तो तिर्खा लाग्या रै'छ। अर्को जाँड थपिदिएँ। घुटुघुटु खायो। जुँगामा अल्झ्याको जाँड पुछ्दै हल्दारले भन्यो : "मैयाँ ! ब्या गर्ने हो मसित ?"

आम्मुइ ! कस्तो ज्याद्रो मुन्छे रे'छ ! ब्या गर्छु पो भन्छ ! मोराले अर्को जाँड खाएपछि त झन् क्या पो भन्ने होला ? क्यार्ने ! मै मोरीलाई सरम भयो। लजाम्नु परेन त !

पछि बाटोघाटोमा मलाई मोराले पछ्याउन थाल्यो। आँखा सन्काउन थाल्यो। गोठाल्नी जाँदा हिन्दी गीत गाउँदै फकाउन थाल्यो। हाम्रो घराँ थुप्रै आरुका बोट थिए। मेरो पोल्टामा सधैँ गोडा दसेक आरु हुन्थ्यो। आरुले त्यल्लाई हिर्काउँथेँ। मोराले आरु त भुइँबाट टिपीकन खान पो थाल्थ्यो। त्यो लुरे हल्दारको त्यस्तो आँट !

साँच्चै आँटिलो थियो, त्यो मुन्छे। एक दिन त्यल्ले मेरो बाउसित भन्यो,"तिम्रो छोरी मलाई देऊ बूढा। ब्या गर्छु। पाल्छु। देश घुमाउँछु।"

बाउ काँ मान्थ्यो नाइँ ! परदेशीको के भर ! आज याँ/भोलि कुन्नि काँ ! बाउले भन्यो,"तिमी नेवारलाई छोरी दिन्नँ। परदेशीको के भरोसा ?"

"छोरीलाई बूढीकन्ने राख्ने कसम खा छौ कि बूढा !" परदेशीले बाउलाई भन्यो,"तिम्री छोरीलाई बहुत खुसीमा राख्छु।"

त्यो हल्दारले भनेको सुख कस्तो थियो ? कल्पेँ। पानीघट्टभन्दा पर नगाकी मलाई परदेशीले कुन देश डुलाउला ! म बूढीकन्ने किन बस्ने? अहँऽऽऽ नबस्ने। माइतीघरमा बिनसित्तैँ किन बस्ने ? अहँऽऽऽ अब नबस्ने। म त त्यो परदेशी मुन्छेसित देश घुम्न जाने।

बाउलाई असला माछा खुप मन पर्थ्यो। यो असल मुन्छे चैँ किन बाउले मन नपरा होला ? अलिअलि जाँड पनि खाने बानी रेछ। चुरट, बिँडी पनि खाने रे'छ। तब के ? बाउ पनि त खान्छ नि ! मर्दले खाइहाल्छन् केको लन्ठा !

बाउले छोरी दिने भएनन्। हल्दारले जुँगा मिलाउँदै बाउलाई भनेको हिजै जस्तो लाग्छ,"तिम्रो छोरीलाई ब्या गर्ने यो ज्यानले आँटिसक्या छ, हेर बूढा ! खाने मुखलाई जुँगाले छेक्दैन।"

जुँगा पाल्ने मुन्छेले त्यसो भनेको काइदाको हुँदो रे'छ। बाउको जुँगा थिएन। मर्दसित जुँगा नहुनु बेफाइदाको हुँदो रे'छ। जुँगा नभएकाले बाउलाई घाटा लाग्ने भयो। किनभने, उसको छोरी जुँगेसित पोइला जाने भई।

परदेशीको सरुवा भयो। जुनेली रातमा म त्यो हल्दारसित भागेँ। मैले माइती देश छाडेँ। बालापन भेडीगोठ, पानीघट्टतिर कतै छुटे। बाउ, आमै र दाजैहरूलाई मनमनै टाटा गरेँ। र, यौटा परदेशीको पछि लागेँ। म गुरुङसेनी। यौटा नेवार मुन्छेको भाग्यसित दैवसन्जोगले जोडिएँ।

अब त बूढी भइगएँ। नातिनातिनाको दन्तेकथाको बज्यैजस्तो भइगएँ।

परदेशीले आफ्नो भाका राखेकै हो। उसैको पछि लागेर नेपाल डुलेँ। कहिले काँ/कहिले काँ। मुन्छेको जुनी भन्याको यौटा यात्रा रे'छ। पुर्नेको रातमा गोरखा छाडेको मैले त्यसपछि आजसम्म माइती-देश जाने साइत जुराउन सकिनँ। नयाँ बेउली भा'थेँ। खुसी थिएँ। सुख-दुःख जे-जे पो पर्ला ! बूढासितै बेहोरुँला नाइँ ! पक्कै पनि आफ्नी दुलहीलाई नमार्ला, नकाट्ला ! आफ्नी जोईलाई नरुवाउला।

मेरो पैलो छोरा मरी गएपछि जन्मेको हो, कुमार। ढोरपाटनको हिउँमुनि पैलो छोरोलाई गाउँलेहरूले पुरिदिएका थिए। भावीले छैटीमा मेरो निधारमा यस्तै लेखिदिया रे'छ। तर, पैलो छोराको निधारमा भावीले क्यान केही लेखिदिएन ? भावीसित लेख्ने कलम, डटपेन, फुल्टिन पेन थिएन कि ! कलमको मसी पो सिद्धिया'थ्यो कि ! मेरो पैलो छोरा नाबालखमै मर्‍यो। मेरो काख रिित्तयो। मेरो कोख सिद्धियो।

कुमार राजाको गाउँमा जन्म्या हो। महाराजगन्जको यौटा ज्यापूको घराँ। राजाको गाउँमा यौटा कुरो निको लाग्थ्यो मलाई। त्यहाँ सिनिमा-दुकानहरू हुँदा रे'छन्। हल्दारले मलाई जैनेपालको सिनिमा दुकानमा थुप्रै फिलिमहरू देखायो।

यौटा फिलिम हेर्दा मलाई बेथाले च्याप्यो। बूढाले ट्याक्सीमा डेरा ल्यायो। रातभर बेथाले रुवाएपछि ज्यापूको डेराको छिँडीमा ब्यान मैले कुमारलाई जन्माको हुँ। चिहाँचिहाँ गर्दै जन्म्यो। राती भोड्का खाई सुतेको बूढालाई चिहाँचिहाँले जगायो। आँखा मिच्दै त्यसले भन्यो,"बजियाले चिहाँऽऽऽ चिहाँऽऽऽ त गर्‍यो सीधै। तर, सीधै चिहान जान्छु भनेको त होइन होला। कि कसो मैयाँ ?"

"टेरो डिमाख, मरु ?" घरबेटी माले बूढालाई गाली गरी।

मलाई ढोरपाटन याद आयो। हिउँमुनिको पुरिएको बालकथा सम्झेँ। चिहान सम्झेँ। गह भरेर आयो। मैले अठोट गरेँ, यो नयाँ छोरालाई चिहान, घाटको बाटो देखाउँदिनँ। यसलाई राम्रोसित पढाएर ज्ञानी, गुनी मुन्छे बनाउँछु...।

काले ज्ञानी, गुनी मुन्छे बन्ला भनेको त ज्याद्रो चकचके भएर निस्क्यो। बच्चामा कुमार कालै थियो। हाफ कट्टु लगाएर कताकता दौडिरहन्थ्यो। जोडले चिच्याएर बोलाउनुपर्थ्यो,"ए काले भात खान आइज।" अहिले पनि कालै छ। त्यसको दाह्री-जुँगा सेतो फुल्न थालेछ। त्यसको बच्चाको नाम नवराज थियो। नव घटेर पछि राजकुमार भयो। पछि राज हटेर कुमार मात्तै भयो। कुमार श्रेष्ठ। पछि श्रेष्ठ पनि हट्यो र कुमार नगरकोटी भइगयो।

त्यसलाई हुर्काउन कम्ता गाह्रो भएन ! डोकोमा थुनेर राख्नुपर्थ्यो। डोकालाई याँमानको ढुंगाले थिचेर। बूढाको सरुवा भैरन्थ्यो। सरुवा रोग लागेको मुन्छे पो थियो कि नाइँ ! गुल्मी, तम्घास, रडिीतिर काले बामे सर्दै अनि टुकुटुकु हिँड्न पो थाल्यो। दौडन थाल्यो। बाउको भोड्काको सिसी फुटाउन थाल्यो। डोल्पामा चौरी गाइसित कुस्ती खेल्यो। टाउकोमा गोडा पाँचेक टाँका लाउनु परो। त्यो खत कालेको 'खप्पर'मा अँझै होला।

डोल्पाको हिउँमा काले दोचा र बख्खु लगाई ठमठम हिँड्थ्यो। भोटेको बच्चोजस्तो पो देखिन्थ्यो। पैँतीस सालमा एउटी कमनिस्ट बहिनीले कालेलाई कपुरी क लेख्न सिकाइदेकी हो। त्यो कुसुम बहिनीलाई कुमारले बिस्र्यो कि ! अक्षर-ज्ञान दिने आफ्नी अक्षर-आमालाई बिस्र्यो कि !

हल्दारको सरुवा भइरन्थ्यो। कहिले सुर्खेत, कहिले दाङ, कहिले हुम्ला/जुम्ला। रकुम जिल्लाको चौरजहारीमा परदेशीको 'पोस्टिङ' भा बेला थियो। बूढा एयरपोर्टको हाकिम सा'ब भाथ्यो। प्रहरी इन्चार्ज। एक साँझ बूढाको बुद्धिको घैँटोमा घाम लागेछ क्यारे ! भन्न पो थाल्यो,"बूढी ! छोराको पढाइ बिग्रने भो। मेरो ठेगान भएन ! सरुवा भइरहनुपर्छ। जागिर नै यस्तो छ। मैले स्कुल पढ्न पाइनँ। तँलाई पनि कालो अक्षर भैँसी बराबरजस्तो हो। यसरी स्कुल फेर्दै हिँड्ने हो भने त बजियाको भविष्य बर्वाद हुने भो!"

"त्यसो भा म क्यार म त ?" बूढालाई भनेँ।

"कुमारलाई बोर्डिङ्मा पढाउने, बुझिस्। त्यसले मनलागि पढोस्। अंग्रेजी स्कुलमा बेपत्ता पढोस्। बढेर ठूलो मान्छे बनोस्।" बूढाले मनको गुनासो पोख्यो।

"खुप मुनासिब कुरा गर्‍यौ बूढा," भनेँ,"रौसी खान्छौ त ? पढाउने काइदा चैँ के हो ? कहाँ हो ? चौरजहारीमा त बोर्डिङ् छैनन्।"

परदेशीले भन्यो,"एउटा डीआईजी साथी छ। रणबहादुर चन्दसित कुरा गर्‍या छु।"

"को रणबहादुर ?" सोधेँ।

"त्यही त क्या डीआईजी। दाङमा भर्खरै पुलिस स्कुल खोल्या छ। मेरो फुच्चे कुमारले अब त्यहीँ होस्टलमा पढ्नेछ।"

"यो होस्टल चैँ क्या हो ?" सोधेँ

"प्रहरी ब्यारेकजस्तै हो।" बूढाले यौटा गिलास रौसी र मासु खाँदै भन्यो।

बूढाको पैसाले काँ पुग्थ्यो र ? नाकमा लाउने फूली, बुलाकी र कानको ढुङ्ग्री बन्धकी राख्ने भएँ। मेरो छोरा बुर्डिङ्मा पढोस्, सुनको के कुरा नाइँ ! होटल चलाउने भएँ। जुठो भाँडा माझेर भए पनि मेरो कालेलाई पढाउँछु/खुप पढाउँछु भनेँ। यौटा दिन चीलगाडी चढेर काले बुर्डिङ् स्कुल पढ्न गो।

हुस्टेल हो कि ब्यारेक कुन्नि क्या हो, त्यहाँ कक्षा तीनमा पढ्ने भो। चौरजहारीबाट नेपालगन्जसम्म चीलगाडीमा। नेपालगन्जबाट दाङसम्म बसमा। लौन नि ! कसरी जाने होला, त्यस्तो परदेशमा ! बूढाले छोरालाई पनि परदेशी बनाउने भो क्यारे !

आमालाई कहिल्यै नछोडेको, घरबाहिर एक दिन नबिताएको काले वषार्ंैसम्म अब घरबाहिर, मेरो काखबाहिर हराउने भो। खुप रोएँ। चीलगाडी चढ्नुअघि भन्या थेँ,"बाबुऽऽऽ राम्रोसित पढेर तिमी ज्ञानी, गुनी मुन्छे बन्नुपर्छ ल !"

ज्ञानी मुन्छे त मलाई अँगालो मारेर बेस्सरी रुन पो थाल्यो। बीचरो त्यो फुच्चे कुमार नगरकोटी...।

।। बा।।

आफ्नो संस्मरण म एउटा झुसिलकीराबाट सुरु गर्छु।

...एउटा झुसिलकीरा सदा मेरो पैन्टको खल्तीमा रहन्थ्यो। त्यो कीरालाई गोजीभित्र राखी म देश/परदेश घुमिहिँड्थे। वास्तवमा, म एक परदेशी नै थिएँ। वर्षौं वर्ष नेपालका दुर्गम गामठाममा डुलुवा बनी हिँडेँ। सरुवा भइरन्थ्यो। गोजीमा एउटा झुसिलकीरा सधैँ रहन्थ्यो।

चौरजहारीमा त्यो झुसिलकीरा एउटा दिन गोजीवाट निस्क्यो।

कस्तो अचम्म ! त्यो पुतलीले आफ्नै आकाश खोज्न रुचायो। स्वतन्त्र उडान भर्ने रुचि देखायो। अनि, उडी गयो।

मान्छेहरू भन्छन्, गोजीका झुसिलकीरा वास्तवमा म स्वयं थिएँ। म अर्थात् रत्नबहादुर। त्यो पुतलीको नाम थियो, कुमार नगरकोटी। गाँठी कुरो के भने हरेक पिता झुसिलकीरा हो र उसको पुत्र पुतली।

मेरो जीवन घुमन्ते परदेशीको एउटा यस्तो कथा हो, जसको कुनै स्थायी जरा छैन। आफ्नो जरा नभएको चरा थिएँ सायद म। काठमान्डूका रैथाने नेवारहरूलाई राणा प्राइम मिनिस्टरहरूले लगालग धपाउन थालेपछि मेरो पुर्खा दुई नम्बर रामेछाप बसाइँ गयो।

जीवनमा खुबै हन्डर खाइयो। काका, दाजुहरूले स्कुल जान दिएनन्। गोठालो जाँदा भुइँमा अक्षरहरू लेख्न सिकेको हुँ। तर, गोठालो बन्नु मेरो नियति थिएन। १२ वर्षको उमेरमा घरबाट भागेर कलकत्ता गएको हुँ। ६ वर्षको रहलपहल आयु हाउडा ब्रिजकै सेरोफेरोमा बित्यो। जुठो भाँडा माझिनँ कि ! कुल्ली, मजुरी गरनिँ कि ! पापी पेटका लागि के के गरनिँ? अलिअलि लेखापढी सिकेँ।

देश फिरेँ, प्रहरीमा भर्ती हुन। काठमाडौँमा।

"तँ श्रेष्ठ थरलाई कसरी जङ्गी जागिर खुवाउने ?" हाकिमले हप्कायो। थर्कायो। श्रेष्ठहरूलाई प्रहरी सेनामा भर्ना नलिने अलिखित आदेश रे'छ माथिको। मलाई जागिर त खानै थियो। के गरूँ भनी हाकिमलाई सोधेँ। उसैले जुक्ति फुराइदियो,"थर चेन्ज गर्। श्रेष्ठ होइन, तँ आजैका मितिदेखि रत्नबहादुर नगरकोटी भइस्।"

प्रहरी सत्य सेवा, सुरक्षणम्मा २७ वर्ष बिताएँ। सम्पत्ति आर्जनको हिसाबकिताबमा गएगुज्रेको भएँ। छोराछोरीलाई शिक्षादीक्षा दिएँ। मैले आर्जेको सम्पत्ति बस्, यत्ति हो। हाम्रो पुर्खा, वंशमै कसैले नगरेको काम नाथे कुमारले गरेको हो। बजियाले राम्रो स्कुलमा पढ्ने मौका पायो। मेरो त पुर्पुरोमा त्यस्तो कहाँ? त्यसले एसएलसी पास गर्दा म त झन्डै फेन्ट भाको !

बिए गरोस्, त्यसपछि बिहे गरोस् भन्ने मेरो इच्छालाई बजियाले लोप्पा खुवाइदियो। बिए गरेपछि इन्स्पेक्टर बनाउँला भन्थेँ। घरजम गरेपछि नातिनातिना खेलाउँला भन्थेँ। बजियाले त जोगी बन्ने छाँटकाँट पो देखायो। चिहानघाटतिर बरालिएर हिँड्न थाल्यो। साधु, जोगी, सन्तहरूको संगतमा लाग्यो। गाँजा, भाङ, धतुरो खाई मसानघाटतिर पो हिँड्न थाल्यो।

बजियाले रजनीश, गुर्जिफ, दोस्तोयब्स्की पढ्न थालेछ। अर्काकी स्वास्नीसित, आफूभन्दा जेठी आइमाइसित प्रेम गर्न थालेछ। त्यसको ह्यान्डराइटिङ् मलाई खुप मन पर्थ्यो। बच्चैदेखि बजियालाई औँला समाई मैले अभ्यास गराएको हुँ। उसलाई रंगीचंगी कलमहरू संग्रह गर्न मन पर्थ्यो। अरू जे जस्तो भए पनि अक्षरचाहिँ दामी हुनुपर्छ है केटा भनी म उसलाई बारम्बार सम्झाउँथेँ। किनभने, अक्षरसित मेरो मोह थियो।

नाथे कुमार 'हस् बा' भनी मैले किनिदिएका फुलस्केप कागजमा घन्टौँ अक्षर अभ्यास गर्थ्यो। विभिन्न राम्रा कलमहरूको त संग्रह नै बनाइदिएको थिएँ, त्यसका लागि।

मलाई लाग्थ्यो त्यसले कुनै दिन तिनै कलमहरूले आफ्नो दामी भाग्य लेख्नेछ। तर, बजियाले बरू कविता, कथा पो लेख्न थाल्यो। ए गाँठे! भएन त बर्वाद ? कुनै ठूलो हाकिम, खेलाडी, पाइलट, डाक्टर बन्ला भन्या त नाथे कुमार झुरपट्याँस लेखक पो बन्ने भो !

साहित्यसित वास्तवमा हाम्रो वंश परम्परामा गाई बेचेको साइनुसम्म छैन। साहित्य, दर्शन, कथा, संगीतमा त्यसको कसरी मन बस्यो ? बडो अचम्म छ। यो जेनेटिक समस्या हो क्यारे ! त्यसको 'जीन'मा कसले कविताको डिएनए इन्जेक्ट गरििदएछ कुन्नि ?

कहिलेकाहीँ बीचरोको माया पनि लागेर आउँछ।

त्यत्रो सानु बच्चोलाई सुदूर होस्टेलमा राखेर कुनै अपराध त गरिएन भन्ने लाग्छ। त्यसले कहिल्यै पारविारकि वातावरण पाएन। त्योसित आफ्नो जरा भन्ने चीज नै रहेन। हामीकहाँ जन्म लिनु त्यसको भौगोलिक त्रुटि थियो कि त ! आफ्नो भन्ने थातथलो, पहिचान उससित केही भएन। यस्तो मान्छेलाई मानिसहरू आउटसाइडर भन्छन् क्यारे ! काठमान्डूबाट चिट्ठीमा कविता लेखी पठाउँथ्यो बजियाले मलाई ।

कुमार नगरकोटीसित म कसो कसो जोडिन पुग्दो रहेछु। किनभने, म त्यसको बाउ हुँ। मेरै पसिना अनि रक्तबीजले त्यसको 'आत्मज्यान' सिँचिएको छ। मेरो नाम रत्नबहादुर। ऊ मेरो पुत्र थियो। तर, अचेल मलाई आफूमा कुनै पितात्मक भावना, अनुभूति आउँदैन। मसित अब पितात्मकताको प्राइभेट अहंकार छैन। हाम्रो 'सम्बन्ध' पिता र पुत्रको 'पैतृक-सम्पत्ति'जस्तो पनि थिएन।

मेरो मृत्यु विक्रम संवत् २०५४मा मध्याह्नको ठिक १२ बजेर ३ मिनेटमा भएको हो। वैशाख १७ गते। नाथे कुमार जन्मेको थियो, मंसिर १७ गते। हाम्रो जन्म र मृत्युको गतेमा संगति मिलेको मान्नुपर्छ, १७ गते...। मेरो मृत्युपश्चात्, कोसीको घाट-किनारमा नाथे कुमारले मलाई मुखाग्नि/दागबत्ती चढाएको कुरा एकदमै साँचो हो।

।। म।।

-आई डन्ट वन्ना बी फुट नोट्स अफ् एनिबडिज लाइफ स्टोरी... -गेलहर्न

वन्ना-बी-वुमन अर्थात् गेलहर्नले अर्नेस्ट हेमिङ्वेसितको आफ्नो सम्बन्धका बारेमा एउटा पत्रकारलाई भनेकी थिई माथिको कुरा- म कसैको जीवन-कथाको 'फुट नोट्स' हुन चाहन्नँ। ती वन्ना-बी-वुमनको सूत्र कथन मलाई गजब लागेको हो।

जीवनमा हामीले कति धेरै कुरा महत्त्वहीन ठानिदिन्छौँ। स-साना कुरा आत्मसंस्मरणबाट छुट्छन्/हराउँछन्। ती सीमान्तकृत सम्बन्ध, घटना, आस्था, विचार अन्ततः फुट नोट्समा देखापर्छन्। कहिलेकाहीँ मलाई कुनै रचनाको मूल लेखनभन्दा पाद-टिप्पणीहरू बढी मन परििदन्छन्।

फिक्सन-गल्लीको मापसे-गृहमा चुपचाप विस्तीर्ण छु...।

शरद्को यो आउट डेटेड साँझमा तमाम कुख्यात अनुभूति/स्मृतिसितै छायांकित छु। देहभित्र निद्रामग्न आत्मा बिस्तारो चलमलाउँदो छ। बुर्जुवा गिलासमा बिजुली-पानीको तरल पोटर््रेट छ। छताछुल्ल हुन खोज्छु। (मापसे-गृह) दुवै ठिंग उभिएको (लिंगजस्तो !) रूखबाट चराहरू उडी गएपछि सायद, म आफ्नो घर र्फकनेछु।

मृत्युको असामयिक निधनमा म एकपटक जिउने योजनाहरू बनाउँदो रहेछु। जीउनु, जीवनसितको अन्तरमि/अघोषित प्रतिबद्धता न हो ! तसर्थ, अलिकति/थोरै जिउँदो रहेछु, फुट नोट्सहरूमा...।

यी अलिखित अटोबायोग्राफिकल स्मृतिहरूमा फुट नोट्सले भूमिका खेलेका/लेखेका रे'छन्। बुझ्छु/सम्झन्छु/र ट्वाँ पर्छु।

मेरी गुरुङसेनी आमा भन्नुहुन्थ्यो,"बाबुऽऽऽ राम्रोसित बढेर तिमी ज्ञानी, गुनी मुन्छे बन्नुपर्छ ल !"

तर, फ्रयाङ्क्ली स्पिकिङ्, म ज्ञानी/गुनी मान्छे होइन। आमालाई अँझै भ्रम छ कि म ज्ञानी मुन्छे हुँ। किनभने, म कविता लेख्छु। मेरी आमाका निम्ति कविता लेख्ने मान्छे कवि होइन, बरू ज्ञानी मुन्छे हो। फसाद के भने म कथा पनि लेख्छु।

आमाको सोझो मनको हिसाबकिताब के हो भने ज्ञानी मुन्छेले केवल एउटैसित 'मायापिर्ती' लगाउनुपर्छ। विधवा नै सही, एउटै मुन्छेको अस्तित्वसित समर्पित हुनुपर्छ। आमा केवल रत्नबहादुर नगरकोटीसित समर्पित भएझैँ। तर, के गर्नु ? म अनैतिक रे'छु ! कवितासित मात्रै होइन, मेरो त कथा, फिक्सनहरूसित 'एक्स्ट्रा मरटिल लभ अफेयर्स' छ।

क्यारम त !

बा भन्नुहुन्थ्यो,"नाथे कुमार ऽऽऽ हाम्रो वंशमा कसैले नगरेको काम गरसि्। अंग्रेजीमै एमए ठोकेर म बूढालाई देखाइदिइस्। कथाको किताप पनि निकालिस्। यो नै त हो नि मैले आर्जेको कुल सम्पत्ति ऽऽऽ।"

स्वर्गीय बालाई मैले भन्नै सकिनँ,"बा ! म गाडधनजस्तो महत्त्वपूर्ण हुन सकिनँ, तिम्रो जीवनको। तिमी मर्दा मसित कात्रो किन्ने पैसा पनि भएन।"

मलाई थाहा छ, जीवनमा यस्ता कुरा मूल कथामा, टेक्स्टमा आउँदैनन्। यस्तै फुट नोट्समा पनि ती लिपिबद्ध हुने गर्छन्। ती फुट नोट्स हामीले वास्ता नगरेका शिलालेखहरू हुन्।

चिनुवा अचेवे आफ्ना रचनाहरूमा आफ्नो जरा खोजी बस्छन्। भिएस नयपाल आफ्नो जराको खोजमा आफ्नो थरसितै 'नेपाल' खोजी बस्छन्। थुपै्र कामु/काफका/लामिछाने/रोशन शेरचनहरू आ-आफ्ना जरा खोज्दै फुट नोट्स लेखी बस्छन्। आफ्नो पुर्खाले आर्जेको वंशमा कहीँकतै केही छुटेझैँ/हराएझेँ लाग्ने ती प्रशस्त पाद-टिप्पणीहरू कुन शिलालेखमा लेखिँदो हो ?

आत्माको विशाल संग्रहालयमा पाद-टिप्पणीको सेक्सन कहाँनेर होला ? मेरो जरा काँ हो, मेरी आमाको जरा काँ हो ? मेरा बा को जरा काँ हो ? कहिलेकाहीँ काव्यको लहडमा सोची बस्छु, म सायद चरा हुँ। चराको राज्य कहाँ हो ? चराले आफ्नो अस्तित्वको फुट नोट्स लेख्छ कि लेख्दैन ?

- कविता लेख्दालेख्दै
कुमार नगरकोटी
कुनै दिन,
बिलाउनेछ : अक्षर/शब्द
एवं विम्बहरूमा
बतासमा कपुर बिलाएझैँ

(कुनै अलिखित फुट नोट्सझैँ)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ६

वाचम्यान उर्फ गिद्धराम चौधरी

***
प्रिय पाठक !

दुर्भाग्यवश म सन्चै छु । तपाईं पनि त्यहाँ (ह्वेरेभर यु आर) कुशल–मंगल हुनुहुन्छ भन्ने झीनो कामना गर्छ । झीनो किन भनेको हुँ भने आजकल कामनाले कुनै सिद्धिप्राप्ति हुन छाड्यो । कामनाको इम्युनिटी पावर किन यति साँचो झुर भएको होला !

आज सेप्टेम्बर १२, बिहीबार । माओवादी प्लस ३२ दलको ज्वोइन्ट भेन्चरमा उपत्यका बन्द छ । देशको उपत्यका बन्द भएको बखत हृदयको उपत्यका खोल्नु उपयुक्त हुन्छ सायद । पुरानो डायरी खोल्नु अँझ डबल उपयुक्त हुन्छ । केही दिनदेखि म एउटा संस्मरण लेख्ने डरलाग्दो योजनामा छु । अफसोच के भने संस्मरणसित म उतिसारो कम्फर्टेबल फिल गर्दिनँ । अलिकति पनि लिट्ररी कर्टसी अर्थात् साहित्यिक विनम्रता राख्ने हो भने म भन्न सक्छु (अब अरु के नै पो भन्न सकिन्छ र !) किन–किन संस्मरणसित झुन्डिएको ‘मरण’ शब्दले सदैव (हे दैव !) मेरो विवेक अपहरण गरिदिन्छ । संस्मरणमा किन मरण झुन्डिएको होला ?

इन्फ्याक्ट– यो संस्मरण एउटा वाचम्यानको हो जसको नाम ‘थियो’ गिद्धराम चौधरी । ऊ अब त अस्तित्वमा ‘छैन’ । देशको आकाशबाट भल्चरहरू बिलाएझैं ऊ पनि शून्यमा बिलाइसकेको छ । उसलाई केवल भेट्टाउँछु म आफ्नो स्वर्णिम बाल्यकालमा, यादका फुटेजहरूमा, नोस्टाल्जियाका मोन्टाजहरूमा अनि डायरीका पानाहरूमा ।

उसलाई सम्झदा आज मेरो मन ओइलाएको छ । ओइलाएको घन्टी–फूलझैं । बेला कुबेला उसले बजाउने स्कुलको घन्टी मेरो कानमा गुन्जिन्छ । यो घन्टीको आवाज कर्णप्रिय छैन । गिद्धराम चौधरीले आफ्नै मृत्युको घन्टी बजाएझैं लाग्छ । डायरी पल्टाएको छु । उसको मृत्युलाई लिएर मैले केही लेखेको रहेछु अंग्रेजीमा । तपाईंसित सेयर गर्छु । फेब्रुअरी १७, १९९९ को डायरी इन्ट्री यसप्रकार छ :

‘डेथ इज अ मिस्टिक अर्गनाइजेसन । अ सिंगल लाइफ अलोन इज नट क्वाइट इनफ टु डिसाइफर द कोड–एन्ड–कन्डक्ट अफ डेथ ।’

यस्तो खालको सर्रियल–मृत्यु चिन्तन सके तपाईं पनि कहिलेकाहीं गर्नु हुँदो हो । खैर, छाडौं यी बकम्फुसे सन्दर्भहरू । यो संस्मरणको अनौपचारिक आरम्भ हुन्छ आमा र पुत्रको ‘बाल डिस्कोर्स’बाट ।

स्थान : मध्यपश्चिमाञ्चलको पहाडी–प्रदेश । रूकुम जिल्ला । चौरजहारी । त्यसपछि, म तपाईंलाई लिएर दाङतिर जानेछु जहाँ यो संस्मरणको दु:खी नायक वाचम्यान उर्फ गिद्धराम चौधरीको सानो संसार थियो । किंवदन्ती–संसार ।

प्लिज, बी कनेक्टेड विथ मी…

***

आमा : गिद्धराम चौधरी !

म : अँ, गिद्धराम चौधरी ।

आमा : छ्या ! त्यस्तो पनि कुनै नाम हुन्छ ? मैले आजसम्म त्यस्तो अलच्छिनी नाम सुन्या छैन ।

म : तर, आमा ऊ असल मान्छे हो । मेरो बेस्ट–फ्रेन्ड हो ।

आमा : तिम्रो क्लासमा पढ्ने हो ?

म : होइन । ऊ हाम्रो स्कुलमा घन्टी बजाउने पाले हो । वाचम्यान हो ।

आमा : अनि वाचम्यानलाई तिमीले कसरी आफ्नो बेस्ट–फ्रेन्ड बनायौ त ?

म : कुन्नि !

त्यो शरदको एक साँझ थियो । दसैंको एकमहिने लामो बिदामा म घर आएको थिएँ । त्यो मेरो जीवनको पहिलो लामो बिदा थियो । हाम्रो परिवार त्यसबेला रूकुम जिल्लाको चौरजहारीमा बस्थ्यो । एयरपोर्टमा बुबाको दरबन्दी थियो । उहाँ प्रहरी इन्चार्ज हुनुहुन्थ्यो । लामिछाने बाजेको सिंगो घर बुबाले भाडामा लिनुभएको थियो । मेरो स्कुल थियो सुदूर देशमा ।

स्कुल जानका निम्ति मैले हवाई जहाज चढ्नुपर्थ्यो । रोयल नेपाल एयरलाइन्सको सानो ट्वीनअटर । आकाशमा सत्र मिनेट चानचुन उडेर, डाँडाकाँडा, पर्वत, खोलानाला पार गरेपछि नेपालगञ्ज ओर्लनु पर्थ्यो । त्यो उष्णप्रदेशमा बजारलाइनको ‘मुसाफिरखाना’ नाम गरेको लजमा एक रात बिताएपछि एकाबिहानै कुनै दंगाली–दिवा–बस सेवाको थोत्रो बस समातिहाल्नुपर्थ्यो । त्यो डे–एक्सप्रेसले मलाई अपराह्नसम्ममा दाङ जिल्लाको घोराही बजार पुर्याइदिन्थ्यो । मसित साथमा कहिले बुबा हुनुहुन्थ्यो र कहिलेकाहीं बुबाले साथमा पठाइदिएको सिपाही हुने गर्थ्यो । साँझपखको सिनेमा हेर्ने मेरो जबर्जस्त इच्छा अवश्य पनि पूरा हुनुपर्थ्यो ।

भोलिपल्ट, घोराही बजारदेखि दक्षिणतिरको उदांगो चिहानडाँडामा मलाई मिल्काएर बुबा वा सिपाही फर्किहाल्थे चौरजहारी । त्यो बिशाल चिहान डाँडामा मेरो स्कुल थियो । दीपेन्द्र प्रहरी आवासीय विद्यालय । म त्यो स्कुलको प्रथम ब्याच थिएँ । ब्याच अफ नाइन्टिन एट्टी फोर । मलाई त्यो बोर्डिङ हाउसमा कक्षा तीनमा सशुल्क भर्ना गरिएको थियो । त्यहाँ नै मैले फेला पारेको थिएँ, जीवनको पहिलो बेस्ट–फ्रेन्ड । वाचम्यान उर्फ गिद्धराम चौधरी ।

पुलिस स्कुलमा पढ्ने म एक फुलिस–बच्चो थिएँ । हिमाली प्रदेश डोल्पाको दुनैमा साँवा अक्षर चिनेको मैले विभिन्न अरु प्रादेशिक–पाठशालाहरूमा छिर्नुपर्यो । काठमान्डु, महाराजगन्जको किन्डरगार्टेन–बच्चो भइनँ कि ! सुर्खेतमा धूलौटे विद्यार्थी भइनँ कि ! चौरजहारीमा कक्षा पाँचको चकचके बजिया भइनँ कि ! मेरो बाल्यकाल विभिन्न प्रदेशका तथाकथित पाठशालाहरूमा छिन्नभिन्न भयो ।

यसरी छिन्नभिन्न हुने भएपछि, मेरो शैक्षिक कल्याण हुने छाँट नदेखेपछि बुबाले दाङको बोर्डिङ स्कुलमा मलाई बन्द गरिदिए । दुई कक्षा घटुवा हुने गरी कक्षा तीनमा ।

गिद्धराम चौधरी कालो वर्णको पठ्ठो थियो । जवान हट्टाकट्टा । गुलरिया गाउँको थारू बस्तीको आदिवासी । तर, ऊ केट्यौली उमेरमा कामका खातिर रूपैडिहा र बहराइचसम्म पुगेको थियो । विभिन्न भारतीय ढाबाहरूमा उसले भाँडा माझ्दै आफ्नो किशोर–आयु रित्याएको थियो । बोलचालमा ऊ हिन्दी शब्दहरू घुसाउँथ्यो । हामी बच्चाहरूलाई उसको भाषा अनौठो लाग्थ्यो । हिन्दी लवजमा ऊ बेला कुबेला भन्थ्यो :

‘माँ कसम । यो स्कुलमा घन्टी बजाएर म बहोत दिन बस्दिनँ । थोडा रोपैयाँ जम्मा भएपछि यहाँबाट भागिहाल्छु । रूपैडिहा जान्छु । मैथुन चक्करवर्तीको पिक्चर हेर्छु । तिमीहरूले प्यार झुक्ता नहीं हेर्या छ ? माँ कसम, बहोत राम्रो छ ।’

भारतीय अभिनेता मिथुन उसको ‘मनपसन्द’ हिरो थियो । तर, मिथुनको नाम र सरनेम बिगार्थ्यो । मैथुन चक्करवर्ती भन्थ्यो । घरीघरी ‘माँ कसम’ भन्ने उसको चौधराइन–थेगो थियो । तनाव या उत्तेजना या आवेगमा आउँदा यो थेगोको ऊ प्रयोग गर्न रूचाउँथ्यो ।

गिद्धराम चौधरी तेलले जीउ मालिस गर्थ्यो । ऊ प्राय: गन्जी र हाप प्यान्टमा हुन्थ्यो । बायाँ सिउँदो कोरिएको उसको कपाल मात्र होइन, उसको मस्कुलर तिघ्रा, पिँडुला अनि पाखुरा पनि घाममा गजबले टल्कन्थ्यो । उसको माचो–शरीरबाट नरिवल तेलको मगमग बास्ना आउँथ्यो ।

धेरै समयपछि मात्र मैले फ्रेन्च लेखक भिक्टर ह्युगोको ‘हन्चब्याक अफ नोत्रेदाम’ पढेको हुँ । उपन्यासको ट्राजीक नायक क्वासिमोडोको एक प्रकारले भन्ने हो भने म ‘दिवाना’ हुँ । नोत्रेदाम–गिर्जाघरको बिशाल घन्टी बजाउँदा बजाउँदै क्वासिमोडो लगभग बहिरो हुन्छ र कुप्रिदा कुप्रिदा हन्चब्याक अर्थात् कुप्रे हुन्छ ।

हाम्रो स्कुलको घन्टी बजाउने गिद्धराम चौधरीमा कहिलेकाहीं म क्वासिमोडोको विम्ब खोज्ने गर्छु । एक आदिवासी मेटाफरलाई ओभरल्याप गरी हेर्छु । त्यो क्वासिमोडोलाई गहन प्रेम गर्ने एउटी जिप्सी नायिका थिई इज्मेराल्दा । अनि मेरो संस्मरणमा पनि कुनै जिप्सी नायिका हुनु परेन ?

प्रिय पाठक !

म अब तपाईंको परिचय एउटी आदिवासी स्त्रीसित गराउँछु जसलाई गिद्धराम चौधरी ‘बठिनिया’ भनी बोलाउँथ्यो । बठिनिया अर्थात् थारू भाषामा जवान एवं रहरलाग्दी युवती । बठिनिया हाम्री सिस्टर । तिनको नाम के थियो ? मलाई कहिल्यै थाहा भएन । मैले कहिल्यै सोधिनँ पनि । हो न हो बठिनिया नै उसको नाम हुनुपर्छ भन्ने ठान्थें । गिद्धरामलाई एक दिन सोधें पनि : ‘सिस्टरलाई किन बठिनिया भनेको ?’

‘मलाई मन परेर,’ ऊ छोटो जवाफ दिन्थ्यो ङिच्च हाँसेर ।

***

हाम्रो होस्टलसितै जोडिएको एउटा छाप्रोमा गिद्धराम चौधरीको ‘बसेरा’ थियो । शनिबार या छोटो छुट्टीका दिनहरूमा म उसको त्यो बसेरामा गइरहन्थें । त्यो गिद्ध–कुटी मलाई ज्यादै मन पर्थ्यो ।

भुइँमा उसको ओछ्यान फिजिएको हुन्थ्यो । ओछ्यान पनि के भन्नु ! एउटा दरी, छिर्केमिर्के बाक्लो तन्ना र सिरानी आदि । त्यहाँ सिरक या ब्लाङ्केटजस्ता बुर्जुवा टाइपका जिनिसहरू कहिल्यै देखिएन । सिरानीमा विभिन्न रंगका गम्छा अवश्य हुन्थ्यो ।

उसैको मुखबाट मैले सुनेको थिएँ कि हाम्रो स्कुल चिहानमा खडा भएको हो । उसका अनुसार त्यहाँ पहिले चिहान रहने गर्थ्यो जहाँ अधिकांश आदिवासी थारूहरूलाई गाडिन्थ्यो । चिहान डाँडालाई समतल पारेर त्यो बिशाल भू–क्षेत्रमा स्कुल ठड्याइएको थियो जहाँ देशका विभिन्न कुनाकाप्चाबाट मजस्ता फुच्चे पिशाचहरू आई पढ्न थालेका थिए ।

‘जमिन खन्ने हो भने यहाँ अँझै पनि मान्छेका नलीहाड, करङ, खप्परहरू भेट्टिन्छन्,’ ऊ मलाई तर्साउने किसिमले सुनाउँथ्यो, ‘माँ कसम ! राति–राति खोलामा मुर्कुट्टाहरू अँझै पनि पानी खान आउँछन् ।’

गिद्धराम चौधरी आम थारूझैं भूत–देउताको पूजा गर्थ्यो । तर, मलाई मुर्कुट्टाहरूसित भयंकर डर लाग्थ्यो । पहिलोपल्ट मैले त्यस्तो डरलाग्दो भूतको नाम उसैको मुखबाट सुनेको थिएँ: मुर्कुट्टा । होस्टलको करिब सय मीटरको दूरीमा एउटा सुकेनास–खोला थियो । खोंचमा । खोंचका स–साना गुफाजस्ता लाग्ने खाल्डाखुल्डीमा अजिंगरहरू भेटिन्थे । ती अजिंगर अल्छीका काल या महाकाल थिए जो निदाउन मात्रै जान्दथे । यस्तो लाग्थ्यो, ती अजीव–जीव निद्रा खपतका खातिर नै यो धर्तीमा पैदा भएका हुन् ।

खोल्सा छेवैका रूखहरू मलाई अचाक्ली मन पर्थे । किनभने ती रूखका सर्पिला–हाँगामा तोपचराले गुँड बनाउँथे । रूखमा तुर्लुङ्ग झुन्डिएका पातपतिंगरका ती गुँड बडो कलात्मक देखिन्थे । टाढाबाट हेर्दा ती तुर्लुङ्ग झुन्डिएका गुँडहरू नवजात शिशुझैं देखिन्थे जसलाई प्रिय ममीहरूले नुहाइसकिएपछि सुकाइनका निम्ति रूखमा झुन्ड्याइदिएका हुन् ।

गिद्धरामको एउटा बानी थियो । खैनी खाने । खैनीको बट्टा उसको हाफ प्यान्टको गोजीमा सदा पुक्क उठेको देखिन्थ्यो । उसको गिद्ध–कुटीमा खैनीका प्रशस्त ‘डिब्बा’हरू यत्रतत्र छरिएका हुन्थे । मैले उसैको लहैलहैमा एक दिन खैनी खाएँ । शनिबारको दिन । उसको अनुसार खैनी खानु मर्दको पहिचान हो । खैनी खाएर मलाई पनि मर्द बन्न मन लाग्यो । फुच्चे नै सही । तर मेरो मर्दाङ्गी छिनभरमै टाँय–टाँय फिस्स भयो ।

रसिलो थुक निल्दै म उसको गिद्ध–कुटीबाट निस्कें । मुख बेस्सरी कोक्याउन थाल्यो । केही क्षणमै टाउको फनफनी घुम्न थाल्यो । आन्द्राभुँडी बटारिन थाल्यो । दौडिँदै चौरको कुनामा रहेको धारासम्म पुगें । धारा खोलेर टुटीमै मुख जोडें । त्यसपछि सुरु भयो : एक्सप्रेस बमन । मुटु, कलेजो, फोक्सो मुखबाट निस्केर खस्लाझैं भयो । टाउको घुमी नै रहेको थियो । धारामुन्तिरै मुन्टिएँ ।

पछि होस्टल इन्चार्जले सोध्यो :

‘के खाएको थिइस् ?’

‘खैनी ।’

‘जाँ…ले बिताएछ ! तँलाई कसले दियो खैनी ?’

‘गिद्धरामले ।’

त्यो साँझ गिद्धरामको रामधुलाई भयो ।

***
क्रमस ..

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ६ (भाग २)

वाचम्यान उर्फ गिद्धराम चौधरी
***

एकाबिहानै होस्टलमा खैलाबैला मच्चियो ।

प्राय: बच्चाको चिचिला ओठमाथि कालो जुँगा उम्रिएको थियो । डर्मीटरीको भित्तामा झुन्डिएको लाम्चो ऐनामा मैले आफूलाई हेरें । मेरो नाकमुन्तिर पनि एकसरो जुँगा पलाएको थियो । रात्रिकालीन आकाशे नीलो छिर्केबिर्के नाइटड्रेसमा म छोटेमोटे बलभद्र कुँवरझैं देखिएँ । बडेबडे वीर–पुरूषले झैं जुँगामा ताउ लगाउँदै म ऐनामा मुस्कुराइरहेको थिएँ ।

केही साथी खिन्न भई अन्योल–मुद्रामा उभिएका थिए । कोही भने प्रफुल्ल थिए । डर्मीटरीको ढोका छेवैको कुनामा हामीसितै सुत्ने इज्मेराल्दा अर्थात् सिस्टर अचम्म मानी पालैपालो हेर्थी । यस्तैमा होस्टल इन्चार्ज (सई साप) हातमा छडी लिई प्रस्तुत भयो । गिद्धराम पनि बिहानको ब्रेकफास्टको घन्टी बजाउन बिर्सेर हामीमाझ देखा पर्यो । हामी सबै बच्चाहरूलाई लामबद्ध गर्दै इन्चार्ज चिच्याउन थाल्यो, ‘यस्तो नराम्रो काम गर्ने फटाहा को हो ?’

हामी सब तैं चुप मै चुप ! सई सापदेखि हामी सब थर्कमान हुन्थ्यौं । उसको हातमा छडी देखेपछि त झनै होसहवास पो उड्थ्यो ! उसले मायालु भाकामा भन्यो, ‘कसले गरेको हो खुरूक्क एक कदम अघि सर्ने । म केही गर्दिनँ ।’

म अघि सरें । जे परे पर्ला । लौ जा त !

‘मूला नगरकोटी ! तँ पो होस् साथीहरूको जुँगा बनाउने ?’

‘हो सर !’

‘किन गरिस् त यस्तो नराम्रो काम ?’

‘कुन्नि !’

मसित एउटा मार्कर–कलम थियो । त्यसलाई मैले गिद्धरामको छाप्रोमा, सिरानीछेवै भेट्टाएको थिएँ । गत राति मलाई निद्रा लागेन । के गरूँ, कसो गरूँ भयो । मसितै जोडिएको बेडमा प्रीतम शर्मा सुत्थ्यो । ऊ मस्तसित निदाइरहेको थियो । अनायास उसको नाकमुन्तिर मार्करले जुँगा कोरिदिएँ । यसो गर्दा मलाई बडो मज्जा आयो । त्यसपछि पालैपालो साथीहरूको जुँगा बनाइदिएँ । सुत्नुअघि आफूलाई पनि एक थान जुँगा बनाएँ ।

बिहान मेरो पोल खुल्यो । इन्चार्जले मेरो कान निमोठ्दै अब आइन्दा यस्तो नराम्रो काम नगर्नु भन्यो । मैले हुन्छ, गर्दिनँ भनें । अरुको जुँगा त बनाइस्–बनाइस् अनि आफ्नो किन बनाइस् भनी सोध्दा मैले ‘कुन्नि’ भनें । उसले जुँगा बनाउनु पर्दैन, ठूलो भएपछि आफैं उम्रन्छ भनी मलाई थप जानकारी पनि गराइदियो । बरू भन्, तँलाई यो मार्कर कसले दियो ? मैले गिद्धरामतिर आफ्नो इन्डेक्स फिंगर सोझ्याएँ । त्यसपछि इन्चार्ज गर्जियो, ‘मु… गिद्धे आगे बढ् ।’

बीचरो गिद्धराम चौधरी ! अगाडि बढ्यो । इन्चार्जले उसलाई झपार्यो, ‘नगरकोटीलाई जुँगा बनाउन लगाउने तँ मु… हैनस् ?’

‘होइन सर,’ गिद्धरामले याचना गर्यो ।

‘अँझ झूट बोल्छस् ?’

‘माँ कसम । मैले झूट बोलेको छैन ।’

गिद्धरामको माँ कसम व्यर्थैमा खेर गयो । गिद्धरामको रामधुलाई भयो । हामी बच्चाहरूकै अगाडि इन्चार्जले उसको चाकमा एक छडी हिर्कायो । दुई छडी हिर्कायो । तीन, चार मैले गनें, पाँच । कान समाती उठकबैठक गर्न लगायो । १०, १५, २०, ३०, ४० । मैले गनें, ५० । त्यसपछि चाकमा अर्को छडी बर्साउँदै उसलाई भनियो– जा, अब अबेर भइसक्यो । ब्रेकफास्टको घन्टी बजा ।

डर्मीटरीको हलबाट गिद्धराम चौधरी बेपत्तासित दौडियो । बीचरो गिद्धराम ! कसो–कसो उसको माया लागेर आयो । मैले त्यसरी चुक्ली लगाउन नहुने ! म किन त्यस्तो चुक्लीबाज भएको ! मेरो कारणले अँझै गिद्धरामको कतिऔं पटक रामधुलाई हुने हो ! आफैंलाई धिक्कारें । मनमनै भनें : अबदेखि चुक्ली लगाउँदिनँ । केही बेरमै ब्रेकफास्टको घन्टी बज्यो : ट्याङ ट्याङ ट्याङ् ट्याङ टिङ टिङ ट्याङट्याङ । हामी सबै तितरवितर भयौं ।

ब्रेकफास्ट खाँदा आँखामा घरीघरी गिद्धरामको निन्याउरो अनुहार आइरह्यो । दूध र जाम–ब्रेड कसोकसो मन नलागि निलें । उसिनेको अण्डालाई झोलाभित्र लुकाएँ ।

साँझपख गिद्ध–कुटीमा देखा परें । ऊ आफ्नो भुइँको ओछ्यानमा ढलेको थियो मुर्दाझैं । मैले ऊसित बिहानको घटनाको निम्ति ‘सरी’ भनें । हाफ प्यान्टको गोजीवाट अण्डा निकालेर उसलाइदिएँ । उसले बोक्रा छोडायो । उल्टै मलाई दियो । जति ‘बिन्तीभाउ’ गर्दा पनि उसले अण्डा खान मानेन । बरू मुखमा एक बुजो खैनी कोच्यो । भन्न थाल्यो, ‘माँ कसम, म अब याँ धेरै दिन बस्दिनँ । याँबाट भाग्छु । सुड्डो (पिताजी) पनि मर्यो । मलाई याँ कसैले मन पराउँदैन । अलिकति रुपैयाँ जम्मा होस् । रूपैडिहा जान्छु । बरू भाँडा माझ्छु । मैथुन चक्करवर्तीको पिक्चर हेर्छु ।’

‘तिमीलाई बठिनियाले माया गर्छे नि त !’ भनें ।

बठिनियाको नाम सुनेपछि ऊ ङिच्च हाँस्यो । त्यो साँझ गिद्धराम चौधरीले मसित अनौठो कुरा गर्यो । मलाई ऊ केहिरहस्यमय पनि लाग्यो । भन्यो, ‘सुतेको मान्छेको जुँगा बनाउनुहुँदैन ।’

‘किन र ?’

‘किनभने सुतेको मान्छे उठ्दैन । मर्छ ।’

‘नचाहिने कुरा ! जुँगा बनाउँदैमा कसरी मान्छे मर्छ ?’

‘हंशले ठाउँ छोडेपछि माँ कसम मान्छे मर्छ ।’

वास्तवमा गिद्धराम के भन्दै थियो ? हंशले ठाउँ छाडेपछि मान्छे कसरी मर्छ ? हंशले ठाउँ चाहिं कहाँ पो ओगटेको हुन्छ ? हंश भनेको के रै’छ ? पहिलोपटक सुन्दै छु । मुर्कुट्टा हो ? सोधें । होइन भन्यो । बडो रहस्यमय स्वरमा उसले भन्यो, ‘मान्छेले सपना कसरी देख्छ, था’ छ ?’ मैले थाहा छैन भनी मुन्टो हल्लाएँ । उसले सपनाको रहस्य यसरी खोल्यो, ‘राति मान्छे निदाइसकेपछि हंश ब्यूँझन्छ । हाम्रो शरीरबाट बाहिर निस्केर घुम्न निस्कन्छ । त्यसलाई कसैले पनि देख्न सक्दैन । हामीले पूजा गर्ने भूल–देवताझैं अदृश्य हुन्छ । त्यो संसारभरि बतासझैं डुलिहिड्छ । त्यो हंश जहाँ जहाँ जान्छ, हामी त्यसलाई सपनामा देख्छौं । पिक्चरमा जस्तो । ट्याम पुगेपछि त्यो फेरि शरीरमै फर्कन्छ । तर, ओठैमा जुँगा बनाइदिएपछि हंशले आफ्नो अनुहार चिन्न सक्दैन । शरीरभित्र छिर्न सक्दैन । त्यसपछि हंशले ठाउँ छाड्छ । बतासमै भड्कन्छ । फर्केर कहिल्यै आउँदैन । सुतेको मान्छे फेरि कहिल्यै उठ्दैन । मरेको मर्यै गर्छ ।’

गिद्धरामको कुरा मेरो मनमा गढेर बस्यो ।

उसको कुराको ममाथि कस्तो प्रभाव पर्यो भने साथीहरूको त कुरै छाडिदिऊँ । मान्छेका चित्रहरूमा समेत मैले जुँगा बनाउने आँट गर्न सकिनँ । चित्रकलाको कक्षामा कहिलेकाहीं समस्या पर्थ्यो । पोट्रेट बनाउँदा म सधैं जुँगा नभएको मानिसको स्केच गर्थें । पेन्टिङका हाम्रा गुरू सुरेश गुरूङ मेरो पोटे«ट साथीहरूमाझ देखाउँदै यसोगरी मेरो बेइज्जत गर्थे, ‘बोयज ! अब हामीमाझ प्रस्तुत छ मिस्टर नगरकोटीले बनाएको जुँगा नभएको वीर बलभद्र कुँवरको चित्र ।’

***

गिद्धराम चौधरीले एक दिन मसित अनौठो प्रश्न गर्यो । उसले सोध्यो, ‘यो नगरकोटी भन्या चैं के हो ?’

म फसादमा परें । यसको जवाफ मसित थिएन ।

त्यसअघि म श्रेष्ठ थिएँ । कुमार श्रेष्ठ । एकाएक दाङ स्कुलमा नगरकोटी भएको थिएँ । सामाजिक पढाउने गुरू भाष्कर भट्टराई मसित ठट्टा गर्थे, ‘नगरकोटी कुन चिडियाको नाम हो ?’ म यस्तो बेला चिडिया अर्थात् तोपचरालाई सम्झन्थें जो रूखका सर्पिला हाँगामा तुर्लुङ्ग झुन्डिने गुँड बनाउँथे । म पनि आफूलाई त्यही तोपचरो ठान्थें जसले मेरो जीवनको रूखमा ‘नगरकोटी’ नाम गरेको गुँड बनाइदिएको छ । तुर्लंग झुन्डिने गरी । जसलाई मैले जीवनपर्यन्त झुन्ड्याइरहनुपर्नेछ ।

भाष्कर सरले सोधेको प्रश्नको जवाफमा म केवल दुई शब्द उच्चारण गर्थे : कुन्नि ! गिद्धरामले राखेको जिज्ञासामा पनि मैले भनें : कुन्नि !

‘आफ्नो जात/थरबारे तिमीलाई केही था’ छैन ? म चौधरी हुँ । गिद्धराम चौधरी । म थारू हुँ । तिमी चैं के हौ ?’

‘कुन्नि !’

एक रातको घटनाले यो थारूको जीवन पूरै तहसनहस भयो ।

त्यो रातको सम्झना गर्दा मलाई अँझै पनि जीउभरि सर्प सलबलाएझैं लाग्छ । वास्तवमा यो संस्मरणको सबैभन्दा महत्त्वपूर्ण अंश पनि यही नै हो । त्यो रहस्यमय रात आजसम्म मेरो स्मृतिको नेपथ्यमा कैद छ ।

यसो गर्छु । अब नेपथ्यको पर्दा उघार्छु ।

त्यो रात किन–किन म निदाउन सकिरहेको थिइनँ । चकमन्न थियो रात । डर्मीटरीका सम्पूर्ण प्रेतात्माहरू निदाइसकेका थिए । खोंचमुनिको खोलामा पानी खान आउने मुर्कुट्टा पनि सायद निदाइसकेको थियो अजिंगरसितै । अँध्यारोको चुक हलभरि घोप्टिएको थियो । सिस्टरको बेडछेवै पिलपिल गर्दै एउटा पिलन्धरे लालटिन जलिरहेको थियो ।

बिस्तारै ढोका खोलेर हलभित्र एउटा छायाँ प्रवेश गर्यो । सुटुक्क चाल मारेर त्यो कालो छायाँ सिस्टर अर्थात् बठिनियाको ओछ्यानतर्फ बढ्यो । छायाँका दुवै हात एकछिनपछि बठिनियाका शरीरमा बिस्तारै चलमलाउन थाले । स्त्री शरीर पनि चल्मलाउन थाल्यो ।

क्षणभरमै लालटिनको छिपछिपे प्रकाशमा दुई अतृप्त आत्मा छिल्लिन थाले । बठिनियाले छायाँको कानमा के साउती गरी कुन्नि त्यसपछि त्यो छायाँ लालटिन बोकेर हाम्रो डबल–डेकर बेडमा पालैपालो उक्लन थाल्यो । सबै विद्यार्थीको अनुहारमै लालटिन सोझ्याउँदै हेर्न थाल्यो । एक बेडबाट अर्को बेड गर्दै त्यो छायाँ सबै विद्यार्थी सुतेको, नसुतेको चियो गर्दै थियो । जाँच÷पडताल गर्दै थियो ।

मेरो बेडमा पनि त्यो छायाँ चढिसकेपछि मैले आँखा चिम्म गरें । मेरो मुटु जोडजोडले ढुकढुक गर्न थाल्यो । त्यस्तो डर त्यसअघि कहिल्यै लागेको थिएन । लालटिनले मेरो अनुहार छुँलाछुँला जस्तो गर्यो । त्यसको न्यानो प्रकाश अनुहारभरि महसुस गरें । केही समयपछि मैले आँखा उघारें । लालटिन अब त साबिक ठाउँमै थियो । मधुरो मरन्च्याँसे प्रकाश अँझै पिलपिल गर्दै थियो । त्यसपछि ओछ्यानमा दुइटा छायाँ सर्पझैं चलमलाउन थाले । एक–अर्कामा खप्टिएका ती नांगा आदिम–शरीर मद्यिम प्रकाशमा स्फटिकझैं चम्किरहेका थिए । ती चिल्ला आदिवासी तिघ्रा एवं फिलाहरूमा प्रकाश घरीघरी चिप्लिरहेको थियो ।

दुई छायाँ एकाकार भएका थिए । मध्यरातको त्यस्तो रहस्यमय ‘ढिकिच्याउँ÷ढिकिच्याउँ’ खेल मैले त्यसअघि कहिल्यै देखेको थिइनँ । मायावी छायाँहरूको त्यो ‘चर्म–घर्षण’ तीव्र आवेग एवं उच्छ्वासका साथ जारी थियो । सन्नाटाको गहिराइमा केवल स्याँस्याँ र सुँसुँको सित्कार थियो । यस्तो लाग्थ्यो, हजारौं मानिस एकैपटक फोक्सो सुकाउँदै श्वास फेरिरहेछन् । निश्वास छाडिरहेछन् ।

केही बेरपछि ओछ्यानको ज्वारभाटा सामसुम भयो । छायाँले कट्टु लगायो । हाफ प्यान्ट लगायो । अर्को छाँयाले पेटिकोटमुनि सार्यो । त्यसपछि दुवै छायाँ ढोकासम्म पुगे । ढोकाबाहिर बिलाउनुअघि एउटा छायाँले बोलेका शब्दहरू मेरो कानमा ठोक्किन आए,

‘माँ कसम बठिनिया ! बहोत मज्जा आयो ।’

***

त्यो रातको रहस्यमय छायाँको ‘चर्म–घर्षण’को कथा मैले प्रीतमलाई सुनाएँ । प्रीतमले जुम्लाको जनकलाई सुनाएछ । जुम्लीले हुम्लाको देवराजलाई सुनाएछ । हुम्लीले सल्यानको चूडामणिलाई सुनाएछ । सल्यानीले मैलाई सुनाइदियो, ‘थाहा छ कुमार ! सिस्टरको बेडमा हिजो राति भुइँचालो आएछ ।’

त्यो गोप्य घटना आखिर गोप्य रहेन ।

एक कान, दुई कान हुँदै मैदानसम्म पुग्यो । फुटबलको मैदानसम्म । फुटबलको कोचले मसित सोध्यो :

‘तैंले देख्या होस् ?’

‘हो, मैले देख्या हो ।’

‘आफ्नै आँखाले देख्या होस् ?’

‘हो, आफ्नै आँखाले देख्या हो ।’

‘कस्ती छडुँल्नी रै’छ ! मलाई मात्र दिन्छे भनेको अरुलाई पनि दिँदिरै’छे. !’

त्यो दिन कोचले हामीलाई राम्रोसित फुटबल खेलाएन । केवल गोलपोस्टको छेउमा झोक्राएर बसिरह्यो नून खाएको कुखुराझैं । उसको ‘पोस्ट’मा गिद्धरामले गोल गरिदिएको थियो गत राति ।

अर्को बिहान होस्टलमा इन्चार्जले मसित भन्यो, ‘साँचो कुरा भन् कुमार । म तँलाई केही गर्दिनँ ।’ मैले साँचो कुरा गरें । सबै कुरा सुनिसकेपछि उसले मलाई ‘जा, त्यल्लाई बोलाएर आ’ भन्यो । मैले सिस्टरलाई बोलाएर आएँ । ऊ मेरो पछि–पछि आई । कोठामा छिर्नासाथ इन्चार्ज ठूलो भयंकर आवाजमा बठिनियासित गर्जियो, ‘तँलाई मेरो स्वाद चाख्न पुग्यो हैन अब ? हुँदाहुँदा गिद्धेसित पनि सुत्न थालिस् ।’

त्यसपछि, जे नहुनु थियो, भयो । गिद्धराम चौधरीको दुर्दशा सुरु भयो । उसलाई प्रचण्ड गर्मीमा दिनभर उभ्याइयो । उसको शरीरभरि नीलडाम हुने गरी छडी बर्साइयो । ऊ घोर अपमानित भयो । म मरेतुल्य भएँ । बीचरो गिद्धराम ! मेरो कारणले अँझै कति दु:ख पाउने हो ! धेरै रात उसको सातोपुत्लो उडेको कालो अनुहारले मलाई सपनामा डस्न आयो ।

मनमनै प्रण गरें : म आइन्दा गिद्धरामविरुद्ध चुक्ली लगाउँदिनँ ।

त्यो घटनापश्चात् गिद्धराम चौधरी स्कुलमा देखिएन । बठिनिया पनि कुन्नि कता गई ! दुवै देखा पर्न छाडे ।

क्यालेन्डरमा महिनाहरू बदलिए । मौसम बदलिए । ग्रीष्मका उजाड ग्रीष्मिल दिनहरू बदलिए । वृक्षका हाँगामा तुर्लुङ्ग झुन्डिएका तोपचराका गुँडहरू बदलिए । ती गुँडमा निदाउने चराका बचेराहरू बदलिए । घन्टी बजाउने वाचम्यान बदलियो । म स्वयं बदलिएँ ।

धेरै समयपछि एक साँझ म गिद्ध–कुटीमा देखा परें । त्यहाँ खैनीका डिब्बाहरू थिएनन् । खैनीको ‘सुगन्धित’ बास्ना थिएन । नरिवलको तेलको बास्ना थिएन । गिद्धराम थिएन । नयाँ बूढो वाचम्यान थियो । दैलेखतिरको । ऊसित मैले सोधें, ‘गिद्धराम काँ छ आजकल ?’

‘मर्यो,’ उसले झर्केर जवाफ दियो । म झसँग भएँ ।

***

मेरा प्रिय पाठकहरू कहिलकाहीं मसित सोध्ने गर्छन्, ‘हेलो फिक्सन डिजाइनर ! तपाईंका रचनाहरूमा अक्सर गिद्धहरू किन डुल्छन् ?’

जवाफमा म केवल दीर्घ निश्वास छाड्छु । म स्वीकार्छु: मेरा क्याजुअल लेखहरूमा, लिट्रेरी कथाहरूमा गिद्धहरू भेटिन्छन् । मभित्र किन यति सारो गिद्ध–मोह ! आफैंसित कहिलेकाहीं प्रश्न गर्छु । मेरो कथासंग्रह ‘फोसिल’भित्र पनि गिद्धका कथाहरू छन् । एउटा कथाको त शीर्षकै छ– गिद्धहरूको नाच । डान्स अफ भल्चर्स । त्यहाँ भल्चरहरू आकाश–गंगाबाट ओर्लन्छन् काठमान्डुका भल्चरल–गल्लीहरूमा । यो गिद्ध–अब्सेसन आफूभित्र मात्र सीमित भइदिए त कुरा ठीकै हुन्थ्यो । तर, केही दिनअघि भैरहवाका एकजना पाठकले फोनमा भने, ‘म एउटा सिँढी पसल खोल्दै छु । पसलको नाम भल्चर डिभीडी–सप राख्दैछु ।’

मेरो गिद्ध–कनेक्सन यस्तै अजीवोगरिब छ । मलाई लाग्ने गर्छ मेरो गिद्ध–मोह कता–कता, अवचेतनभित्र गिद्धराम चौधरीसित जोडिएको छ । मभित्र सायद एउटापश्चात्ताप छ जसलाई म आरोपित गर्छु आफ्ना भल्चरल–टेक्स्टहरूमा, कथाहरूमा गिद्धमार्फत् । साइकलजीमा यसलाई कन्डिसन–रिफ्लेक्स भनिन्छ ।

त्यो रातको रहस्यमय घटना पनि अब त सुदूर अतीतको ‘दस्तावेज’ भइसक्यो । करिब ३० वर्ष । मलाई कहिलेकाहीं लाग्छ, उसको मृत्युको कारण मै हुँ । आँशिक नै सही । यसो सोची बस्छु : रातको त्यो घटनालाई मैले कसैलाई नभनेको भए के हुन्थ्यो ? चुक्ली नलगाएको भए के हुन्थ्यो ! म त्यस्तो चुक्लीबाज नभएको भए के हुन्थ्यो ? यो कन्फेसनल–संस्मरण पढ्दो हो त गिद्धरामले के सोच्थ्यो ?

खैर ! गिद्धराम चौधरी स्वर्गमा होला आफ्नो भूत–देवतासित । त्यो वाचम्यानले माथिबाट मलाई गिद्धेदृष्टिले हेर्दो हो ! मलाई ‘वाच’ गर्दो हो ! म पनि त यदाकदा रातको मध्यप्रहरमा चर्म–घर्षणको मायावी अभ्यास गर्छु । गिद्धराम चौधरी भूत–देवतासित गुनासो गर्दो हो :

‘हेर् देउता ! त्यो ‘ढिकीच्याउँ ढिकीच्याउँ’ गर्ने मान्छे चुक्लीबाज हो । त्यसले चुक्ली नलगाइदिएको भए म आज याँ हुने थिइनँ । रूपैडिहामा हुन्थें । म त्यो बठिनियासित माँ कसम सादी गर्थें । एक दर्जन छौंडाछौंडीको सुड्डो बन्थें । बठिनियासितै बसी मैटनी सोको पिक्चर हेर्थें । मैथुन चक्करवर्तीको प्यार झुक्ता नहीं…

माँ कसम ! बहोत मज्जा आउँथ्यो ।

समाप्त

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ७

विनिर्वाण: पात, आमा र गिद्ध

***
पात

वास्तवमा गोदाम प्रेतघर झैं प्राचीन एवं प्रागऐतिहासिक लाग्थ्यो । डार्बिन या कार्ल माक्र्सझैं बूढा भइसकेका ग्रन्थ/पाण्डुलिपिहरू तपाईं त्यहाँ देख्न सक्नुहुन्थ्यो । यता माकुरा त्यता माउसुली र उता छेपाराहरू छ् यापछ् याप्ति थिए । ग्रन्थहरूमाथि नगन्हाउने धूलोका पत्रपत्र 'फ्रिज' थिए ।

एउटा कुनामा, एउटा कितबामा मेरो मङगोल दृश्य पर्‍यो । बेवारिस । उठाएँ त्यसलाई । आवरणचित्रलाई धूलोले ढाकेको । पुछदिएँ जसरी तपाईं प्रेयसीका आँसु पुछदिनुहुन्छ । पृष्ठहरू फरर्र-फरर्र । बीचबाट एउटा पुरानो पात भुइँमा झरी पो गयो । उठाएँ र स्मृतिपरस्त भएँ...

आफ्नो युवाकालका दिनहरूमा म झोलाभरि पुस्तक बोकी जंगल-भ्रमण गर्थें । विश्वविद्यालयका यान्त्रिक कक्षाहरूमा नभई मैले जंगलका छेउछाउ बग्ने नदीनाला वरपर विश्वको इतिहास/सभ्यतासित संक्षिप्त परचिय/ज्ञान प्राप्त गरेँ ।

वृक्षमुनिको ओछ्यानमा आरामसित विश्व साहित्यका मोड/गल्ली अनि भन्ज्याङहरू चाहर्थें । ती अध्ययनहरूले क्रमश: मभित्रबाट एउटा लेखकलाई जन्माइदिए । अब त यो लेखक अवकाशप्राप्त 'एस्ट्रोनट' झैं वृद्ध भइसकेको छ । बूढाहरूको अब साहित्यमा कुनै काम छैन भन्ने युवा-हल्लाले कहिलेकाहीं पीडा दिँदोरै'छ !

जेहोस् एक दिन वृक्षबाट एउटा स्केलेटल पात मेरो छातीमा झरेको थियो र त्यसलाई 'पेज-मार्किङ'का निम्ति भनी कुनै ग्रन्थमा बन्द गरिदिएको थिएँ । हिजो गोदाममा भेटिएको पात त्यही थियो । मेरो कल्पनाविपरित त्यो सुख्खा पात बोल्न थाल्यो : "ओ लेखक ! यतिका उमेर मैले तिम्रो गन्थभित्र एउटा बन्दी-जीवन बिताएँ । मेरो अहंकारको, घमन्डको सजाय हुनुपर्छ सायद यो कारावास । कुनै समय म जीवनको जादुले सम्मोहनग्रस्त थिएँ र आफूलाई समग्र अस्तित्वकै केन्द्र ठान्ने गर्थें । संसारकै 'महत्त्वपूर्ण-म' ठान्ने गर्थें आफूलाई । म छु त्यसैले यो संसार छ जस्तो लाग्थ्यो । तर एकदिन, म वृक्षबाट झरें बतासको केवल एक थप्पडमा । अनि मात्र मलाई बोध भयो कि म कस्तो महाभ्रममा थिएँ । मैले वृक्षमा देखें आफूजस्तै लाखौं पातहरूलाई । एउटा वृक्षको म नाथे पात मात्रै त रहेछु ! विशाल अस्तित्वको एउटा अंश, अणु मात्रै रै'छु ! म त केवल कुनै अज्ञात जंगलको कुनै अज्ञात वृक्षको कुनै अज्ञात पात मात्रै रहेछु । आफ्नो 'पात्रता' प्रति म यति घमन्डी थिएँ । उफ  ऽऽऽ अस्तित्वभरि हामी सबै स्वयंलाई केन्द्रमा राखी अज्ञानवश बाँच्दा रहेछौं । मर्दा रहेछौं । ओ लेखक ! मलाई अब मुक्त गरदिेऊ ।" इत्यादि ।

घाटमा छु अहिले । भर्खरै, त्यो पातलाई बागमतीमा बगाएर यता मलामीहरूभन्दा पनि अँझ यता विवर्ण छु । पातले आफ्नो मुक्ति सायद आफै खोज्दै महासागर पुग्ला/नपुग्ला सोचमग्न छु । म पनि सायद अस्तित्वरूपी वृक्षको एक अज्ञात पात हुँ जो कुनै दिन झर्नेछ अनि कुनै नयाँ/अज्ञात पाठकले मलाई आफ्नो पुस्तकभित्र बन्दी बनाउनेछ ।

हेर्छु उता : एउटा लास जलिरहेछ । जन्म/मृत्युका संस्कारहरू सम्झन्छु । मनुष्यको यात्रा देह-संस्कारबाट सुरु भई दाह-संस्कारमा गई टुंगिँदो रहेछ ।

क्रमस : -- आमा