Author Topic: First Love - कुमार नगरकोटी - ऋतुको चिया पसल  (Read 2395 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ७
(दोश्रो भाग)
विनिर्वाण: पात, आमा र गिद्ध
***

आमा

लोग्ने मानिसहरूको भीड देख्दा कहिलेकाहीं कहाली लाग्दो रहेछ । यद्यपि पुरुषहरूको ' नाउसियाटिक' भीडको म पनि एक सदस्य हुँ भनी दु:खका साथ स्विकार्नुपर्छ ।

छोरीको भ्रुण-हत्याका समाचारहरू सुनेर/पढेर मलाई 'नाइटमेर' हुनेगर्छ । पुरुष र स्त्रीको प्राकृतिक सन्तुलन तीव्ररूपले तहसनहस भइरहेको देख्दा स्वभावत: दु:खी हुन्छु । पुरुषै पुरुषको भीडले यो संसार भद्दा/कुरूप एवं अरोचक हुँदै जानेछ । स्त्रीबिनाको संसारमा मान्छेहरू कम जन्मने र बढी आत्महत्या गर्ने डरलाग्दो त्रासदीपूर्ण कोलाजको कल्पनाले म विगत केही कालदेखि आतंकित छु ।

एउटी ममतामयी आमाको प्रतिज्ञामा मेरा दिनहरू बितिरहेका थिए । एउटी आमा जसले छोरीको जन्म दिऊन् । कफी-गृहहरूमा म मेरा सर्जन मित्र, जो प्राइभेट प्रसूति-गृह चलाउँछन्,सित प्राय: यस विषयमा छलफल/चिन्ताको आदान-प्रदान गर्छु । सर्जन चिन्तित हुँदै भन्ने गर्छ :

सबैसित पुत्र मोह छ । र यो मोह ज्यादै त्रासदीपूर्ण छ ।

गत साँझ यिनै सर्जनले फोनमा भने : 'ओ लेखक ! तपाईं खुसी हुनुहोस् । तपाईंको आदिवासी प्रतिज्ञा समाप्त भयो । अहिले भर्खरै, मेरो प्रसूति-गृहमा एउटी स्त्रीले छोरी जन्माइन् । आमा र छोरी दुवै स्वस्थ छन् ।'

म गोदाममा थिएँ । गोदामझैं निस्पृह थिएँ । तर सर्जनको समाचारले मेरो आत्मा केही चलमलायो । नाइट-गाउनमै म गोदामबाट निस्किएँ । बजारमा फलफूल किनें । एउटा पुष्प-पसलबाट सुन्दर 'सुनाखरी-बुके' किनें अनि मनसुन-वर्षामा केही रुझ्दै/भिज्दै प्रसूति-गृहमा देखा परें ।

सर्जन मित्रले स्त्रीसित 'उहाँ लेखक' भनी मेरो परचीय गराए । स्त्रीको दिव्य मुहार ल्याम्प-पोस्ट झैं झलमल्ल बलेको थियो । उपहारहरू उसलाई दिँदा उसले 'धेरै-धेरै धन्यवाद' भनी । म कति खुसी भएको छु र मसित व्यक्त गर्नका निम्ति शब्दहरू बतासमा कपुर बिलाए झैं बिलाई गएभन्दा स्त्री मन्द/सौम्य मुस्कुराई । यसरी एउटा अपरिचतले उपहार ल्याइदिँदा तपाईंलाई अन्यथा त लागेको छैन भनी सोद्धा उसले भनी :

'यस विशाल धर्तीमा मेरा निम्ति कोही अपरिचत छैन ।'

गजबको जवाफले म चकित परें । भनें : 'तपाईं महान् हुनुहुन्छ । वास्तवमा आँटिली ! आजकल कोही छोरी जन्माउँदैनन् । जन्माउन चाहँदैनन् । तपाईंलाई मेरो हृदय-नमन् । तपाईं आज एउटी पूर्ण स्त्री बन्नुभएको छ । आमा बन्नुभएको छ । तपाईं धन्य हुनुहुन्छ किनभने तपाईंले एउटी 'छोरी' जन्माउनुभा'छ । '

-'ओ लेखक !' उसले भनी मुस्कुराउँदै : तपाईं गलत भन्दै हुनुहुन्छ । साँच्चि नै तपाईंका शब्दहरू बतासमा कपुर बिलाए झैं बिलाए क्यारे ! म आज आमा बनेकी होइन । वास्तवमा, म आज पूर्ण 'छोरी' बनेकी छु । मैले छोरीको कर्म पूरा गरेकी छु । किनभने आज मैले छोरी होइन/एउटी 'आमा'लाई जन्म दिएकी छु । एक सृष्टि ममार्फत आज यस धर्तीमा आएकी छ । म असलमा छोरी हुँ र मैले 'आमा' जन्माएकी छु ।'

शब्दहीन भएँ म । त्यस नवजात 'आमा'लाई उठाएर छातीमा टाँसें । निधार चुमें । मेरा आँखाबाट क्रमश: मनसुन वर्षा झररिहे । कम्पित ओठबाट मेरा आवाजहरू फुस्फुसाउँदै निस्के : 'तपाईंको चित्त महान् छ ।'

'ओ लेखक !' मुस्कुराउँदै उसले भनी : 'मेरो चित्त महान् होइन । वास्तवमा, मेरो चित्त चित्रात्मक छ ।'

प्रिय पाठक !

त्यो साँझ मेरो जिन्दगीकै एक सुन्दर चित्रात्मक साँझ थियो ।

क्रमश:
 गिद्ध

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ७
(तेश्रो भाग)
विनिर्वाण: पात, आमा र गिद्ध

***॑॑
गिद्ध

अनदि्रा रोग (इन्सोम्निया)का कारण केही समयदेखि मेरो-जीवन ज्यादै अवसादग्रस्त हुँदै गइरहेको थियो । होर्खे लुई बोर्गेसको कथाको पात्रझैं म क्रमश: मानसिक रूपमै ध्वस्त हुँदै थिएँ । म प्राय: तनावमा रहन्थें । अरूलाई सिध्याउनुभन्दा आफैंलाई सिध्याउनु प्रीतम कार्य हो भन्दै म यदाकदा डर लाग्दो योजनामा तल्लीन हुने गर्थें । यो महानगरको नवशैलीका विरोधाभाषहरू/अब्सर्डिटीहरू मेरा मानसिक यातनाका/त्रासदीका थप कच्चा सामग्री बन्न पुगे जसले तपाईंलाई वस्तुत: या त विक्षिप्त पार्छ या त ग्रेभ-यार्डमा आफ्नो सुकशल ठाउँ खोज्न बाध्य पार्छ ।

एक प्रकारले म एक रात्रिकालीन-जन्तु बनें । एक नकचर्नल-यायावर ! सहर र देश लगायत संसारै कायाकल्पित हुन लागेको 'नमुना-दृश्य'ले मेरो खण्डहर-दिमागमा एक अरोचक त्रासदी ल्याइदिएको थियो । पुरानो होन्डामा म रातभर सहरका अज्ञात सांस्कृतिक गल्ली/राजनीतिक मोड र दार्शनिक घुम्ती चाहर्थें ।

हिँडिरहेथें एक रात म भजन या गजलका टुक्राटाक्रीको जप गर्दै सोचिरहेथें : उफऽऽऽ काठमान्डूको आकाशबाटगिद्ध बिलाएझैं मानिसका हृदयाकाशबाट संवेदना, सहानुभूति, प्रेम, आस्था, श्रद्धाहरू बिलाइरहेका छन् ।

आफ्नै स्वतन्त्र धुनमा थिएँ । सिंहदरबार गेट छेवैको अँध्यारो कुनामा एउटा कालो थुप्रो भुइँमा चलमलाइरहेको देखें । नजिक गई हेरें । तपाईं त्यहाँ एउटा घाइतेगिद्धलाई छट्पटाइरहेको अवस्थामा देख्न सक्नुहुन्थ्यो ।

गदि्धका अंग घाउग्रस्त थिए । धेरै ठाउँमा चोट थिए । वास्तवमा त्यो दुर्लभ प्राणि क्षतविक्षत अवस्थामा थियो । पखेटा चल्मलाउनै नसक्ने गरी ध्वस्त भएको । कहाँबाट खसेछ योगिद्ध सिंहदरबारको गेटनिर ? पखेटा फडफडाउँदै उडिजाने असफल प्रयत्न देखेर ममागिद्धप्रति असीम करुण-भाव जागेर आउनु स्वाभाविक थियो । उसलाई बिस्तारै सुम्सुम्याएँ/चुमे । आफ्नो ठुँडले सिंहदरबारतिर इसारा गर्दैगिद्ध बोल्न थाल्यो :

'ओ लेखक ! तिमीलाई कहिल्यै थाहा भयो ? यो दरबारमा वास्तवमा पिचासहरू बसोबास गर्छन् । यो मात्रै होइन, संसारका प्राय: दरबारहरू नरपिचासका अड्डा हुन्...'

गदि्धको अप्रत्यासित वाणिले ममा तत्काल प्रभाव पार्‍यो । राजा/महाराजाका वाहियात महावाणि सुनेर अपवित्र बनेका मेरा कानलाईगिद्ध-वाणिले केही शीतल राहत अवश्य दियो । त्यसपछि/गदि्धलाई कालो झोलामा राखी म आफ्नो गोदाम फर्कें ।

डिटोल-जलले उसका घाउहरू सफा गरें । ठाउँठाउँमा ह्यान्डिप्लास्टले टाँचा मारिएकोगिद्धको रूप एवं वर्ण पाठकलाई केही हास्यास्पद लागे पनि अशोभनीय पक्कै थिएन, सायद !गिद्धसितको मेरो सहचार्य/उठबस मेरा निम्ति आश्चर्य एवं खुल्दुलिले भरिएको एक 'प्याकेज-गिफ्ट' थियो । नजिकैको 'बुद्ध फ्रेस-मिट-हाउस'बाटगिद्धका निम्ति चिकन/वफ/मटन ल्याउने मेरो तत्कालीन शुभ-प्रभातीय कर्मकान्ड हुन पुग्यो । गोदामका भुइँभरि यत्रतत्र मासुका टुक्राहरू छरिदिन्थें रगिद्ध मस्तसित मांस-भक्षण गररिहँदा म कफी सुरुप-सुरुप गर्दै दैनिक खबर-कागजहरू पढ्थें । अखबारमा कुकुर हराउँथे, चक्काजाम या बन्द हडताल हुन्थे/सांसदहरू संसदमा एक अर्काविरुद्ध तामसिक गाली गर्थे ...

गदि्ध क्रमश: स्वस्थ हुँदै गयो । दाहिने-काँधमा त्यसलाई राखी म तपाईंको सहर परत्रिmमा गर्थें । स-साना नानीहरू मलाई देखी डराउँदै आफ्नी आमाको पछाडि लुक्थे । मलाई देखी तपाईंहरू तर्कनुहुन्थ्यो/

भन्नुहुन्थ्यो : 'योगिद्ध-मानवदेखि सावधान ! यो पापी हाम्रो सभ्यता/संस्कृतिका निम्ति अशुभ छ । हाम्रो नैतिक-जीवनमाथि षड्यन्त्र गर्न यसलेगिद्ध बोकी हिँडेको छ ।'

तपाईंका कुरा सुनेर म होइनगिद्ध बडो दु:खी हुन्थ्यो ।गिद्ध बोकी म कहाँ-कहाँ पुगिन  ? मन्त्रालय/वेश्यालय/अनि तथाकथित धर्मालयहरू ! म जहाँ-जहाँ गएँ । हामी बसोबास गर्ने मानववस्तीमागिद्धलाई पुर्‍याएँ । म उसलाई देखाउन चाहन्थें मानव अस्तित्वका विडम्बनापूर्ण कथा एवं गाथा कुनै अर्कै लोकको पर्यटकझैंगिद्धले ती सबलाई गम्भीरतापूर्वक हेर्‍यो ।

अब तगिद्ध पूर्ण स्वस्थ भइसकेको थियो । अब उसलाई आफ्नै उडान भर्नु थियो, खुला आकाशमा । उसको आकाश विस्ितर्ण/खुला थियो । मेरो धर्ती ! उफ् ऽऽ अँझै संकीर्ण/बन्द थियो ।

गोदामको युगौं पुरानो झ्याललाई मैले एक बिहान खोली दिएँ । पुराना ग्रन्थहरूमा उज्यालो छिर्यो ।गिद्धले भन्यो :

'ओ लेखक ! मेरो उपचार गर्‍यौ, मलाई आफ्नो मानव-वस्ती देखायौ । तिमीलाई धन्यवाद । मेरो प्रस्थान गर्ने समय भयो अब । वास्तवमा/मेरो कथा कुनै ईश्वरले श्राप दिएर धर्तीमा पठाएर मानिसको दु:ख/पीडा/ सफ  लता/आँसुको महत्त्व बुझ भनी पठाएझैं पो लाग्यो । जेहोस्, म अब आफ्नो उडान भर्छु । अलबिदा, ओ लेखक...'

अनायास म टोलाउन पुगें । मेरो भावुकता बोल्न थाल्यो : 'ओ प्रियगिद्ध  ! मलाई पनि लैजाऊ चेतनाको स्वतन्त्र उडानमा । यो प्राचीन गोदाममा आदिम-ग्रन्थझैं म कतिञ्जेल थन्किएर बसूँ ?'

अन्त्यमागिद्ध उवाच :

'ओ लेखक ! अनावश्यक भावुक नबन । म तिमीलाई कसरी आफ्नो उडानमा लान सक्छु ! किनभने तिमी जकडिएका छौ आफ्नो अस्तित्वका जराहरूमा (तिमी मजस्तो 'चरा' बन्ने कहिले ?) । तिमी सम्बन्धित छौ राज्य/राष्ट्र, भूगोल, धर्म, परम्परा, संस्कृति, राजनीतिका तामसिक बन्धनहरूमा । चेतनाको स्वतन्त्र उडानमा तिमीलाई म कसरी लैजान सकुँला र ! जब कि : तिमीलाई तथाकथित पासपोर्ट चाहिन्छ/भिसा चाहिन्छ, राज्यको स्वीकृति या अनुमतिपत्र चाहिन्छ । ओ लेखक ! आकाशमा अवश्य पनि हामीगिद्धहरू उड्छौं । तर, तिम्रो धर्तीमा पनि त कहिलेकाहीं बुद्धहरू हिँड्ने गर्छन् । तिम्रो आतिथ्य सत्कार, यो गोदाम सायदै म बिर्सूंला  ! गएँ । अलबिदा ..'

प्रिय पाठक !

अब त गोदाममा म एक्लो छु । डार्बिन या कार्ल माक्र्स झैं बूढा भइसकेका ग्रन्थ/पान्डुलिपि झैं ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
कथा ८

शंकर सिम्फोनी

****

सुधारगृह शान्त छ।

मजस्तो मनमौजी (ड्रिमर-चेजर होइन नि !)का निम्ति घरपरिवार सुधारगृह नै त हो। फुच्चे गुरु रिम्पोचे जाडोबिदा मनाउन उसकी आमा सावित्री कार्कीसित रामेछाप गएको छ। आफ्नो मामाघर। मामाघरलाई ऊ आमाघर भन्छ। पापाघरमा चैं पापा एक्लो छ।

कोठाको वास्तुशास्त्र केही समययता देशको कन्फ्युज्ड राजनीतिझैं लथालिंग छ। ह्यांगरमा झुन्डिएका पोसाकहरूले झुन्डिएर आत्महत्या गरेका प्रियजनहरूको सुसाइडल विम्बानुभूति दिने गर्छन्।

कोठाको यो शाश्वत आर्य-मौनमा म अनुभूतिका ‘डेड-बडी’हरूसितै ध्यानस्त छु। पुस्तकहरू युद्धभूमिमा यत्रतत्र ढलेका लासझैं फिँजिएका छन्। चलाउँदिनँ। अहँ चलाउँदिनँ। सेलफोन पनि ‘क्लिन-डेड’ छ। जिन्दगीले मिस्ड-कल गर्दैन। मृत्युको एसएमएस-टेक्स्ट नआएको पनि धेरै भयो।

सावित्री कार्कीको ड्रेसिङ टेबल मौन छ। यताउति ढलेका लिपस्टिकहरू पनि त चलमलाउँदैनन्। विभिन्न पफ्र्युम-पटमा नारी-गन्ध छ। सुँघ्छु। सरकारी-गन्धभन्दा नारी-गन्ध नै पो उत्कृष्ट हुँदो रै’छ ! ड्रेसिङ टेबलको चतुर्भुज ऐनामा नजर पर्छ।

ऐनामा केही दृश्य देखा परे। केही दृश्य चलमलाउन थाले। चुपचाप हेर्छु।

ऐनाभित्र रिमझिम बरसात भइरहेछ। कस्तो मुसलधारे बरसात ! तपाईंलाई यो बरसातले अकिरा कुरुसावाको ‘रासोमन’ फिल्मको बरसातको झझल्को दिन सक्थ्यो। त्यो बरसातमा अघिदेखि एउटा गाडी जलमग्न सडकमा गुडिरहेथ्यो।

सडकछेवैमा अहिले गाडी टक्क रोकिएको छ। गाडिभित्रको मानिसमा मेरो आँखा पनि टक्क रोकिएको छ। ढोका खोली त्यसले सीधै मलाई सम्बोधन गर्छ :

- ‘हेलो मिस्टर नगरकोटी ! कस्तो मस्त बरसात हो यो? के म अहिले तिमिकाँ आउन सक्छु?’

चकित परेँ म। अन्योलमा सोध्छु :

- ‘मलाई बताऊ ! तिमी को हौ?’

- ‘वाफ्रे!’ चिनेनौ? म शंकर...’

- ‘को शंकर? भोलेबाबा शंकर भनेको हो?’ अझै सोध्छु, ‘महादेव/शिवजी भनेको हो? त्यसो हो भने भगवान्, ईश्वरलाई त मेरो कोठामा इजाजत छैन।’

- ‘धत्तेरिका ! टु हेल विथ भगवान्। म शंकर क्या ! शंकर लामिछाने। कस्तो नचिनेको? आऊँ तिम्रो कोठामा?’

अनुमति दिएको छैन। तर, ऊ त ऐनाबाट फुत्त हामफालेर कोठामा प्रवेश गर्छ। आफ्नो ओभरकोट टकटक्याउँछ। त्यसलाई ह्यांगरमा झुन्ड्याइदिन्छ। ओभरकोटबिनाको शंकर त सलाईको काँटीझैं देखिन्छ। दुब्लो/पातलो। जस्ट् लाइक अ म्याचस्टिक ! लाइक अ सिग्रेट-स्टिक !

- ‘के गरिराथ्यौ?’ सोध्छ।

- ‘तिम्रै गौंथलीको गुँड पढिरा’थेँ। कफी पिउँछौ?’

- ‘अफ्कोर्स यस !’

किचेनमा गई कफी बनाउँछु। उसलाई एक मग टक्र्याउँछु। शंकर ओछ्यान अनि भुइँमा ढलेका किताबहरूलाई उठाउँछ। हेर्छ गौंथलीको गुँडलाई नयाँ संस्करणमा, नयाँ गेटअपमा। मुस्कुराउँछ। प्रकाश सायमीद्वारा सम्पादित शंकर स्मृति किताबलाई सुमसुम्याउँछ।

- ‘यो प्रकाश सायमी को रहेछन्?’ अलमल्िएर सोध्छ।

- ‘तिम्रो कस्मिक-फ्यान हुन्। हेर शंकर, कस्मेटिक जमानामा कस्मिक फ्यान पाउनु दुर्लभ चीज हो।’

अरू थप्छु, ‘तिमीलाई पुन: जन्माउनमा यी कस्मिक फ्यानले अथक प्रयास गरेका हुन्। तिम्रा जम्मै कृति अब नयाँ संस्करणमा जन्मिएका छन्। कमल दीक्षितको भनाइमा तिमी ‘रि-क्रिस्चनाइज्ड्’ भएका छौ।’

- ‘कमल बाबु अझै छन् !’

- ‘हो त ! मदन पुरस्कार गजबले बाँडिरा’छन्।’

- ‘इन्ट्रेस्टिङ!’

ऊ खुसी भयो। खुकुरीको बट्टाबाट एउटा ‘खुक्स’ चुरोट निकाली सल्काउँदै भन्यो :

- ‘तिम्रो पाटनमा मैले आफ्नो जीवनको अन्तिम कालखण्ड बिताएको थिएँ। थाहा छ?’

- ‘अफकोर्स थाहा छ। त्यसैले त म पाटनमा छु। यहाँका टोल, गल्ली, दारुमहल, भुस्याहा कुकुर, पाटीपौवा, ढुंगेधारा सबसित मेरो आत्मीयता गाँसिएको छ किनभने कुनै दिन यी सब चीजसित तिम्रो पनि त आत्मीयता गाँसिएको थियो। पाटनको मौसम, रंग, गन्धसित तिम्रो र मेरो आत्मा गाँसिएको छ।’

- ‘अनि ताहाचल नि !’

- ‘ताहाचल त अहिले अलि कस्मेटिक भएको छ। त्यहाँ आजकल मेरो आत्मा रमाउन छाड्यो। कृष्णचन्द्रसिंह प्रधान पनि रहेनन्।’

- ‘कस्तो दु:खद कुरा, हगि कुमार ! खैर, भैगो, छाडौं यी कुरा तिमीसित जोन एलोन छैन?’

- ‘जोन एलोन? यु मिन बिटल्सको जोन लेनन?’

- ‘ऊ एलोन हो। एक्लो हो, तिमी र मझैं। ड्रिमरहरू एक्लो, एलोन हुन्छन्, कुमार। इम्याजिन, देअर इज, नो हेल, नो रिलिबन, नो हेभेन। जस्ट इम्याजिन, कुमार।’

शंकर आध्यात्मिक मुडमा देखा प:यो। मैले सीडी प्लेयरमा ‘इम्याजिन’ को चक्का घुसाएँ। ‘आई एम अ ड्रिमर’ भन्दै जोन ‘एलोन’ कोठाभरि अझै भनूँ नगरकोटीको स्वर्ग, नर्कमा गुञ्जिन थाल्यो। सोधेँ :

- ‘शंकर ! आज तिम्रो बर्थ-डे ! चियर्स नगर्ने?’

- ‘जरुर जरुर, क्यों नही दोस्त !’

भ्याट सिक्स्टी नाइन खाने कि ! ब्ल्याक लेबल ! कि नेवा: ऐला ! सिग्नेचर कि भोड्का ! के खाने, शंकरलाई सोध्छु।

- ‘तिमीलाई के मन पर्छ?’ ऊ मलाई सोध्छ। म भन्छु :

- ‘मलाई त ‘ह्विस्परिङ सोल’ मन पर्छ।’

- ‘ह्विस्परिङ सोल? नयाँ माल हो?’ शंकर सोध्छ।

- ‘हो, यो माल कमालको छ।’

दुई काँचको गिलासमा ह्विस्परिङ सोल खन्याउँछु। गिलास ठोक्काउँदै ‘चियर्स’ चिच्याउँछौं। म गुनगुनाउँछु :

ऽऽऽ ये ग्लुमी शाम

थिरकते हातमे लिए दो जाम

लामिछाने और नगरकोटीके नाम ऽऽऽ

शंकर ‘क्या बात/क्या बात’ भन्दै मस्तसित हाँस्छ। लाफिङ बुद्धझैं...

शंकर बुक-सेल्फमा घोरिएको छ। :याकबाट जम्मै पुस्तक निकाल्दै भुइँमा राख्छ। ओह्रान पामुकको अदर कलर्स, लोसाको स्टोरी टेलर, मुराकामीको नर्वेजियन वुड्सलाई छुट्याउँछ। सम्भवत: ती पुस्तकलाई उसले आफूसित लैजाने भयो।

मदन पुरस्कार-सेक्सनबाट उसले दमिनी भीर, सेतो धरती अनि पल्पसा क्याफे निकाल्यो। एक घुट घुटुक्क पारेपछि पल्पसा क्याफेको कभर आवरण देखाउँदै यसो भन्यो :

- ‘कस्तो सुन्दर नाम ! पल्पसा...’

तर त्यस्तो सुन्दर नामको छेवै प्रिन्टेड ‘मदन पुरस्कार विजेता’ भन्ने भद्दा लोगोले ऊ विकर्षित भयो। नाक खुम्च्यायो। लोगोलाई पुछेझैं गर्‍यो। जसरी तपाईं आफ्नी प्रेयसीको आँसु पुछ्नुहुन्छ। दमिनी भीर र सेतो धरतीको लोगोलाई पनि उसले त्यसैगरी पुछिदियो। उसले भन्यो :

- ‘किताबमा यस्तो दाग मलाई मन पर्दैन। कतिपय सुन्दर किताबहरूलाई यसैगरी दाग लगाइन्छ। कहिले मदन पुरस्कारले दाग लगाउँछ। कहिले नोबल प्राइजले। कहिले पुलित्जरले। म्यान बुकर प्राइजले पनि किताबमा दाग लगाइदिन्छ। यो दागलाई निरमा सर्फले धोए पनि जाँदैन। मलाई त असलमा बेदाग किताब पढ्न मन पर्छ।’

- ‘शंकर...’ म भन्छु, ‘असलमा यो असल कुरा पो ग:यौ त ! अर्को पेग थपूँ?’

- ‘जरुर जरुर ! खैर, मलाई पुराना दिनहरूको याद आयो। मैले भूमिका लेखेको शिरीषको फूलले पनि मदन पुरस्कार पाएको थियो। गज्जब छ यार कुमार ! मेरो भूमिकाबिना नै ‘पल्पसा क्याफे, सेतो धरती, दमिनी भीर’हरूले मदन पुरस्कार पाएछन् !’

- ‘शंकर ! तिम्रो भूमिका वास्वतमा सुन्दर अतीत भइसकेको छ। खै, त्यो गिलास यता बढाऊ। अलिकति ह्विस्परिङ सोल थपूँ है त !’

- ‘जरुर जरुर, क्यों नहीँ दोस्त। मै आगामी अतीत हुँ। मेरी जिन्दगी आगामी अतीत है। मेरी भूमिकाएँ-सब आगामी अतीत है। चियर्स अगेन।’

आगामी अतीत ! बडो सुन्दर लाग्यो। शंकर त्यसपछि केही बेर मौन रहन्छ। म सोध्छु, ‘शंकर तिमी गाडीमा कता जाँदै थियौ?’

- ‘म फ्रान्ज काफ्कालाई भेट्न गइरहेको थिएँ।’

- ‘फ्रान्ज काफ्का?’

- ‘हो ! फ्रान्ज काफ्का। भर्खरै उसले एउटा कथा लेखिसिध्याएको रै’छ। असलमा, ऊ त्यही कथा मलाई सुनाउन चाहन्थ्यो। अघि ऐनामा तिमीले जुन सहरको सुनसान गल्ली देख्यौ, त्यो प्राग् सहर हो।’

- ‘काफ्काको स्वास्थ्य कस्तो छ आजकल?’

- ‘त्यो ठिस त्यस्तै हो, जहिले पनि।’

त्यसपछि शंकरले सिग्रेट सल्कायो। अब त साँझ पर्दैछ। बाहिर हेर्‍यो अँध्यारो, अँध्यारो अनि केवल अँध्यारो छ। भित्र उज्यालो छ। भुइँमा ह्विस्परिङ सोलको प्याला छन्। शंकर त्यसपछि ‘नन स्टप’ बोल्न थाल्छ : ‘सबै अविस्मरणीय हुँदा रहेछन्। यस जगत्मा बिर्सनलायकका, विस्मरणीय घटनाहरूकेही छैनन्। आफ्नो साहित्यिक युगको सम्झना हुन्छ। कुमार, वो भी क्या जमाना था ! हम भी कभि कवि थेँ। तिमीले मेरो ‘नजन्मेको छोरालाई’ भन्ने कविता पढेका छौ? संसार सुन्दर बन्छ सुन्दर रचनाहरूबाट। लैनसिंह, अम्बर, भूपि, पारिजात, भाइ पिटरहरूलाई सम्झन्छु। मान्छे अहंकार लिएर बाँच्छ र अस्तित्वको सैन्दर्यबाट वञ्चित हुन्छ। हेर न कुमार, म यहाँ तिम्रो कोठामा पिइरहेछु। आज आकाशमा जून छैन तर हृदयमा भने नोस्टाल्जिक मनसुन छ। आज मेरो बर्थ डे ! माघ १० गते। के बार हो रे आज ! बाँच्नु जीवनको रोमाञ्चक अनुभूति हो। मलाई थाहा थियो, मेरो मृत्युपछि शंकर लामिछाने ज्यादै एक्लो हुनेछ। एक्लो को छैन? आई एम अ ड्रिमर लाइक यु। लाइक जोन एलोन। जन्म जीवनको सुरुआत होइन र मृत्यु जीवनको अन्त्य पनि होइन। तिम्रो कथित मृत्युपछि पनि सूर्यास्त हुन्छ। सूर्योदय हुन्छ। बरसात त्यसैगरी रिमझिम, सिमसिम गरिरहन्छ। फूल फुली नै रहन्छन्। झुसिलकीरा क्रमश: पुतली बनी नै रहन्छन्।’

इत्यादि।

शंकर अनायास किन यसरी पराया कोठामा भावुक बनिरहेछ? उसको भावुकता मेरो पनि भावुकता हो। सायद मौन रहन्छु। आज यस्तै भइदियो। दुइटा सिग्रेट सल्काउँछु। एउटा उसलाई दिन्छु। कोठाभरि धूवाँका पत्रहरू एकापसमा जोल्ठिएर बस्छन्। ती धूवाँ वाफ भई अनि त्यसपछि शीतका थोपा बनी हाम्रा मदिरा प्यालामा कहिले झर्लान्?

हामी थुप्रैपटक चियर्स चिच्याउँछौं। शंकर भन्छ : मोजार्ट छैन? कितारो छैन? अम्बर छैन? विथोवन छैन? सीडी प्लेयरमा सिम्फोनी बजाउँछु। विथोवनको सिम्फोनी नं. ३, ५, ७।

झ्यालमुनिको सडकबाट भर्खरै एक हूल मलामी हिँड्यो। बाटोभरि धान र सिक्का छर्दै। शंकर र म झ्यालैमा अडेस लागेर शवयात्रा हेर्छौं। घाट छेउछाउ बसोबास छ मेरो। दिनहुँ घाटतिर गएको हुन्छु। ज्यूँदै। सावित्री कार्की भन्छे : डेरा सरौं।

डेरा सर्न मनले मान्दैन।

विथोवनको फिप्थ सिम्फोनी गुन्जिरहेछ। सेल्फोन चिच्याउँछ। उठाउँछु। आमाघरबाट गुरु रिम्पोचेले हेलो पापा भन्दैछ। हाइहेलो भन्छु। पापा, मलाई ममीले कथा सुनाउनुहुन्न भन्ने गुनासो गर्छ। यसो सोची ल्याउँछु : यो समय गुरु रिम्पोचेको ‘बेड-स्टोरी-टाइम’ पो हो। हरेक दिन सुत्नुअघि उसलाई कथा सुनाउनुपर्छ। फोनमै कथा सुनाउनुस् पो भन्छ। म भन्छु :

- ‘मलाई डिस्टर्व नगर। तिमी आमाघरबाट आएपछि कथा सुनाउँछु। अहिले म शंकर अंकलसित छु।’

- ‘को शंकर? पापाको साथी हो?’ सोध्छ।

- ‘हो पापाको पुरानो साथी हो। आज उहाँको बर्थ डे हो।’

- ‘बर्थ-डे अंकलसित म पनि कुरा गर्छु।’ पो भन्छ त !

शंकरलाई फोन दिन्छु। उसले इसाराले ‘को हो’ भनी सोध्छ। म भन्छु : तिम्रो नजन्मेको छोरा हो।

गुरु रिम्पोचे र शंकरको वार्ता सुनी बस्छु :

गुरु रिम्पोचे : अंकल ! तपाईं मेरो तक्लु पापाको साथी हो?

शंकर : हो, हो । म तिम्रो पापाको साथी हो।

गुरु रिम्पोचे : आज तपाईंको बर्थ डे हो?

शंकर : हो नि त !

गुरु रिम्पोचे : ह्याप्पी बर्थ डे अंकल। तपाईं पापासित बसी रक्सी खाइरा’ हो?

शंकर : हो नि त !

गुरु रिम्पोचे : बर्थ डेमा त केके पो खानुपर्छ। रक्सी खानु हुन्न।

शंकर : अच्छा ! तिमीलाई कसले भन्यो यस्तो कुरा?

गुरु रिम्पोचे : मम्मीले भनेको, रक्सी खाएपछि मान्छे मोर्छ रे ! अंकल तपैं केक खानुस् न !

पापाले तपाईंलाई केक किनिदिनुहुन्छ। केके कस्तो मीठो हुन्छ। केकसित बरु कोक खानुस्। रक्सी खाएपछि मान्छे मोर्छ।

...त्यसपछि शंकर उठ्यो। उसले छुट्याइराखेका किताबहरू एउटा झोलामा राख्यो। ओभरकोट लगायो होइन कि ओभरकोटभित्र छिर्‍यो। कुमार जान्छु अब त, भन्यो। ‘फ्रान्ज काफ्काकहाँ अहिलेसम्म त निर्मल वर्मा, अल्वेयर कामुहरू पनि आइसके होलान्। काफ्काले हामीलाई डिनरका निम्ति बोलाएको छ। म तिमीकाँ यसरी अल्झिएँ। आज फ्रान्ज काफ्काको नयाँ कथा सुन्नु छ। जान्छु ! तिम्रो खुकस एउटा दिन्छौ कि !’

शंकरलाई एउटा सिग्रेट दिन्छु।

धूवाँ उडाउँदै शंकर ड्रेसिङ टेबलको ऐनाभित्र छि:यो। एक झोला किताब बोकी। त्यहाँ, मुसलधारे बरसात अझै जारी थियो।

म चुपचाप हेर्दैछु :

गाडी विस्तारै अगाडि बढ्छ। ड्राइभिङ सिटमा स्टेरिङ समाइरहेको शंकर मलाई हात हल्लाउँछ। ऐनाअघि उभिई म पनि हात हल्लाउँदै शंकरलाई बिदाइ गरिरहेछु।

कस्तो अद्भुत झरी आकाशबाट यसरी झरी !

ऐनामा म प्राग सहरको सुनसान झरीग्रस्त गल्ली देखिरहेको छु। शंकर फ्रान्ज काफ्काको नयाँ कथा सुन्न गइदिएको छ मेरो आर्य-मौन कोठालाई लथालिंग पार्दै।

गाडी क्रमश: अघि बढ्छ र एउटा गल्लीबाट बिलाउँछ।

ऐनामा रिमझिम बरसात भइरहेकै छ।

म ह्विस्परिङ सोलको बिर्को बन्द गर्दै छु। शंकर सिम्फोनी सुन्दै छु। अलिकति पिउँदै छु। अलिकति जिउँदै छु।