Author Topic: सिक्किममा नेपाली साहित्यिक पत्रकारिताको विकास  (Read 5801 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
सिक्किममा नेपाली साहित्यिक पत्रकारिताको विकास
डा. पुष्प शर्मा

साहित्यिक अभिव्यक्तिको माध्यम भाषा हो भने त्यस अभिव्यक्तिलाई पाठकसम्म पु¥याउने एउटा प्रमुख माध्यम पत्रकारिता हो । आधुनिक विश्वसाहित्यको बहुमुखी विकासमा पत्रपत्रिकाको ठूलो भूमिका रहेको छ । पत्रकारिता एउटा त्यस्तो माध्यम हो जसबाट हामी भाष साहित्यका प्रथम प्रयास र लेखनीको उद्घाटन गर्न सक्षम बन्छौँ । आज कतिपय वरिष्ठ मानिएका साहित्यिक महारथीहरु सर्वप्रथम पत्रिकाबाटै साहित्यितर्फ उन्मुख भएर प्रसिद्धि र सम्मानका चुलीमा पुगेका छन् । उदीयमान लेखक,कवि तथा सिकारु कलमहरुलाई हौसला र प्रोत्साहन दिनमा पत्रकारिताको महŒवपूर्ण योगदान रहेको छ । भाषा, साहित्य, कला, संस्कृति आदिको सिर्जना, विकास, प्रचार र प्रसार गर्ने प्रमुख साधन पनि पत्रपत्रिकालाई मान्न सकिन्छ । प्रजातन्त्रमा पत्रकारितालाई चौथो अङ्ग भनिएजस्तै साहित्यको विकासका लागि पनि पत्रकारितालाई एउटा प्रमुख संवाहक मन्न सकिन्छ ।

विकासक्रमअनुसार मान्छेको जीवन परिवर्तनशील भएजस्तै भाषा–साहित्यको गतिविधिमा पनि परिवर्तन र विकास हुँदैछ । मान्छेको सोचाइको क्षमता, जीवनलाई सूक्ष्मातिसूक्ष्म केलाउने दृष्टि र अनुभवको व्यापकता पनि समयसँगसँगै परिवर्तनशील हुँदै, गहिरिँदै, विस्तृत हुँदै अघि बढ्छ । त्यसैले मानवजीवनको आन्तरिक र बाह्य स्वरुपको प्रतिबिम्बझैँ समाज र साहित्य पनि गतिशीलताको पछिपछि विकिसत हुँदै जान्छ । परिवर्तनका नयाँनयाँ स्वरुप चिनाउने एक मात्र सुगम माध्यम हुन् पत्रपत्रिका । समयको रफ्तार जति नै तीव्र र तेज किन नहोस्, समाचारपत्रदेखि लिएर साहित्यिक पत्रकारिताले अक्षरशः व्यापकता विश्वमा आफूलाई विस्तार गर्दछ ।

आजभन्दा तीस–चलीस वर्षअघिको नेपाली भाषा अनि साहित्यको अवस्था र वर्तमान साहित्यिक गतिविधिको अध्ययन गर्ने हो भने यी दुई कालमा समानुपातिक प्रवाह पाइँदैन, आजको स्थिति कता हो कता विकसित भन्न सकिन्छ । विकासलाई व्यापक प्रचारप्रसार गराउने माध्यम पत्रकारिता नै आजको दैनन्दिन सहज संवाहक हो । त्यसैद्वारा हामी इतिहासदेखि वर्तमानसम्मका यावत हालखबरसँग अवगत बन्न सक्छौँ । त्यसैले सामाजिक, ऐतिहासिक, राजनीतिक , अर्थनीतिक, व्यवहारिक, साहित्यिक आदि विविध पक्ष र मोर्चालाई जीवित राख्ने सर्वश्रेष्ठ माध्यम हो पत्रकारिता ।

सन् १९४६–१९४७ सालको पूर्वाद्र्ध अर्थात् जुन बेलामा भारतवर्ष अङ्ग्रेजहरुको साम्राज्यवादी निरङ्कुश शासनभित्र बोल्नै नपाई गुम्सिरहेको थियो, त्यसबेला सिक्किममा पनि ठेकेदारी, जमिन्दारी प्रथाका दबाबपूर्ण चपेटामा सर्वसाधारण पिल्सिरहेक थिए ।वास्तवमा स्वस्थ्य समाजबिना साहित्यको अस्तित्व हुँदैन र जहाँसम्म स्वथ्य समाजको प्रश्न उठ्छ, सिक्किममा बहुजनको अस्तित्व थिएन । साहित्यको विकासका निम्ति सामाजिक वातावरण अनुकूल थिएन, त्यसकारण यहाँ साहित्यिक श्रीवृद्धिको कार्य सहज सम्भव हुन सकेन अथवा समयको मागअनुसार यहाँ प्रजातान्त्रिक वातावरणमा साहित्य, सङ्घ संस्थाको उदय हुन सकेन, तैपनि कतिपय उत्साही, प्रतिभाशाली युवाहरु सिक्किममा नेपाली भाषा र साहित्यको विकासतर्फ अघि बढिरहेका थिए । युवाहरुमा व्याप्त साहित्यिक जागरणको फलस्वरुप एक–दुई संस्थाको उदय भयो । साहित्यिक क्रियाकलाप सञ्चालन भएपछि विकासका अनेक खुड्किला टेक्दै–टेक्दै सिक्किमको साहित्यले वर्तमान रुप धारण गर्न सक्यो । यस सन्दर्भमा यहाँका पत्रपत्रिकाको भूमिका अत्याधिक महŒवपूण रहेको पाइन्छ । सिक्किमको नेपाली साहित्यिक पत्रकारिताको विकासपरम्परामा यसको ऐतिहासिक अन्वेषण गर्ने हो भने सन् १९४७ सालमा स्थापित अपतन साहित्य परिषद्द्वारा सन् १९४८–४९ सालतिर हस्तलिखित पत्रिकाका रुपमा प्रकाशित गरेको अमूल्य रत्न र फूलबारी (तुलसीबहादुर क्षेत्रीद्वारा सम्पादित) नै सिक्किमको पहिलो नेपाली साहित्यिक पत्रिकाका रुपमा देखिन्छन् । त्यसपछि करिब तीन सालपछि सन् १९५२ तिर गणेशमान राईको सम्पादनमा मानव निर्बोध प्रकाशित भएको थियो ।

सन् १९५७ सालको सेप्टेम्बर महिनादेखि गान्तोकबाट श्री काशीराज प्रधान सम्पादनमा नेपाली साहित्यिक तथा राजनीतिक समाचारप्रधान पत्रिकाको वास्तविक स्वरुपको प्रारम्भ हुन्छ । सर्वप्रथम कञ्चनजङ्घा नेपाली मासिक पत्रिकाका रुपमा त्यसपछि वर्ष ३, अङ्क १ देखि यता पाक्षिक पत्रिकाका रुपमा प्रकाशित हुन थाल्यो । भाषाको सेवाबाट प्रेरित भएर सर्वप्रथम समाचार पत्रिकाका रुपमा प्रकाशित भएको यो पत्रिका सन् १९५७ मा सुरू भएर बीचमा २ वर्षजति हराएर फेरि लेखक–कविको सहयोग पाएर सन् १९७० सम्म साहित्य क्षेत्रमा उत्रन सक्षम भयो । कञ्चनजङ्घा राजनीतिक पत्रिकाका रुपमा मात्र होइन, विशुद्ध साहित्यिक पत्रिकाका रुपमा पनि त्यत्ति नै महŒवपूर्ण देखिन्छ । विभिन्न स्थानका विभिन्न समाचार, घटना, शोकसमाचार, शुभसमाचारदेखि लिएर कथा, कविता, निबन्ध, संस्मरण, जीवनी इत्यादिसम्म लोकप्रियता पाउन सफल कञ्चनजङ्घाको अत्यधिक महŒव भएको पाइन्छ । यति मात्र होइन, यसका अरु पनि विशेषता छन्–

(क) सर्वप्रथम नेपाली मासिक पत्रिकाको रुपमा यसले एक वर्षको अवधिमा १५ सेप्टेम्बर सन् १९५७ देखि सन् १९५८ सम्म १२ ओटा अङ्क नियमित रुपमा प्रकशित ग¥यो ।
१५ सितम्बर सन् १९५८ देखि सन् १९५९ सम्म १० अङ्क प्रकाशित ग¥यो । बीचमा कुनै कारणवश २ वर्ष जति स्थगित भए तापनि जनताको इच्छा र भाषा–साहित्यको सेवा गर्ने निःश्वार्थ कामनाले ३१ अगस्त सन् १९६२ देखि सन् १९७० सम्म नेपाली पाक्षिक पत्रिकाका रुपमा प्रकाशित भयो । यसप्रकार कञ्चनजङ्घाले साहित्यिक विशेषतालाई हृदयङ्गम गरेर नियमिततालाई कायम राखेको थियो ।

(ख) कञ्चनजङ्घाले आफ्नो जीवनकालमा कतिपय विशेषाङ्कहरु पनि प्रकाशित ग¥यो ।
वर्ष ४ मा विजयाङ्क, वर्ष १० मा अङ्क ८÷९ मा सिक्किम अङ्क, वर्ष ५ अङ्क १५÷१६ मा सिक्किमका अन्तिम राजाको राज्याभिषेकको अवसरमा शुभ राज्याभिषेक अङ्क प्रस्तुत गरेर यसले आफ्नो महŒव बढाएको पाइन्छ ।

(ग) कञ्चनजङ्घाबाट नवोदित उदयिमान साहित्यकारहरुले साहित्यिक प्रेरणा प्राप्त गरेका छन् औ यदि यिनीहरुको अथक प्रयासले सिक्किमको साहित्यिलाई सिङ्गो साहित्यको दाँजोमा पु¥याएर चरमोत्कर्षको रुप प्रदान गर्ने प्रयास गरेको छ भने त्यसको श्रेय कञ्चनजङ्घालाई दिनुपर्छ । यसप्रकार विविध विषयलाई प्रस्तुत गर्दै सबै किसिमक मानिसलाई साहित्यको परिभाषाको बोधगराउने काम यसले ग¥यो । सानु लामा, शान्ति क्षेत्री, गिर्मी शेर्पा, केदार गुरूङ, रामदत्तलाल ठाकुर, देवीप्रसाद कौशिक, शैलेश प्रधान, गङ्गा कप्तान, तुलसी कश्यप, सन्तोष बरदेवा प्रभृति प्रतिभाहरुलाई आजको साहित्यको स्थितिमा पु¥याउने र तिनीहरुको प्रतिभा प्रकाश पार्ने काममा कञ्चनजङ्घाको विशिष्ट हात छ । यसप्रकार नेपाली भाषा–साहित्यलाई स्तरीय रुप प्रदान गर्दै सन् १९७० देखि कचनजङ्घा पनि बन्द भयो । यसपछि सिक्किममा झन्डै एक सयभन्दा बढी सङ्ख्यामा पत्रपत्रिकाहरु प्रकाशित भएका छन् ।
सिक्किमेली नेपाली पत्रिकाले यता ४०÷५० वर्षको अवधिमा सङ्ख्यात्मक वृद्धि मात्र गरेन तर गुणात्मक वृद्धि पनि गरेको छ । यीमध्ये कुनै पत्रिकाहरु विविध आकार–प्रकारका प्रकाशित भए, कुनै नियमित रुपमा धेरे अङ्क निकाल्न सक्षम भए भने कुनैले अल्पायुमा नै पूर्णविराम लिन पुगेको पनि पाइन्छ । पाठक वा किनेर पढिदिने ग्राहकको टेवाको अभाव र पत्रिकाको साविक रोगका कारणले पनि कतिपय पत्रिकाहरु अल्पेका अल्पैभए । हामी यस्ता पत्रिकाहरुलाई तीन कोटिमा विभाजन गर्न सक्छौँ–

(क) विशुद्ध साहित्यिक पत्रपत्रिका
(ख) हास्यव्यङ्गप्रधान पत्रिका
(ग) विविध विषयक समसामयिक पत्रिका

विशुद्ध साहित्यिक पत्रपत्रिकाअन्तर्गत आउने पत्रिकाहरुमा हामी सुनाखरी (१९६७), नवज्योति (१९६६), अर्चना (१९७३), आकाशदीप (१९८२), स्रष्टा, निर्माण, सिद्धि (१९८९), चिन्तन आदिलाई लिन सक्तछौँ ।

सन् १९५८ तिर साइक्लोस्टाइल गरी सुनाखरीको प्रथम अङ्क रश्मिप्रसाद आले र साथीहरुले निकालेका थिए । सन् १९६४ मइमा १४९ औँ भानुजयन्ती समारोह समितिले सुनाखरीको द्वितीय अङ्क प्रस्तुत गरेको थियो । कम अङ्क मात्र निकाल्न सके तापनि सुनाखरीले नेपाली विशुद्ध साहित्यको विभिन्न विधाहरुको विकासमा जेजस्तो योगदान दिँदै रह्यो, त्यसैमा यसको सर्वोपरि महत्ता र साहित्यिक स्तरीयता देखा पर्छ । रश्मिप्रसाद आले र साथीहरु तथा लाल देउसा र साथीहरुको सम्पादनमा प्रकाशित भएको सुनाखरीसँगै यी सम्पादकवर्ग पनि वन्दनीय छन् ।
सन् १९६६ मा गान्तोक छात्र सङ्घद्वारा कर्ण बस्नेत र साथीहरुको संयुक्त सम्पादनमा युवा पुस्तकालयबाट नवज्योति त्रैमासिक साहित्यिक सङ्कलनको प्रथम अङ्क प्रकाशित भयो । यसको वर्ष ९ अङ्क १४ को सानुभाइ शर्माको सम्पादनमा प्रकाशित भयो । विभिन्न सम्पादकहरुको सम्पादनपछि फेरि यसले सन्तोष बरदेवा र गिर्मी शेर्पाको कुशल सम्पादनमा प्रकाशित हुने अवसर प्राप्त ग¥यो र अन्तर्राष्ट्रिय महिला वर्ष विशेषाङ्क प्रकाशित गरेर आफ्नो विशिष्टताको परिचय दियो ।

सिक्किमेली नेपाली भाषा र साहित्यको विकास र प्रगतिका निम्ति नवज्योतिले विशुद्ध साहित्यिक रचना, अन्य, विविध विधामा गरेको उन्नति उल्लेखनीय मानिन्छ । पत्रपत्रिकाको मुख्य भूमिका साहित्यिक गतिविधि सृष्टि गर्नु हो भने यस प्रसङ्गमा नवज्योतिले साहित्यिक उत्कृष्टता र विशिष्टतालाई हृदयङ्गम गर्दै सिक्किमेली नेपाली साहित्यलाई उच्चतामा आरोहित गरेको थाहा लाग्छ । यसले यहाँको वर्तमान साहित्यको स्तर निर्माण गराउनमा पनि सफलता प्राप्त गरेको प्रतीत हुँदैछ ।

गुणात्मक दृष्टिले, शुद्ध साहित्यिक रचना प्रकशित गर्नुमा, पाठकहरुलाई रुचिलाई ध्यान दिँदै राम्रा–राम्रा सामग्री दिनुमा, नवज्योतिकै छत्रछायामा उदाएका कवि–लेखकलाई आधुनिक साहित्यकारको स्तरमा पु¥याउने श्रेय नवज्योतिलाई दिनुमा कहीँ शङ्का छैन । सिक्किमले नेपाली साहित्य क्षेत्रमा दार्जीलिङ,काठमाडौँ जस्ता अन्य नेपाली साहित्यिक गोष्ठीसमक्ष आफूलाई साक्षत्कार गराउन सक्षम भएको पनि नवज्योतिकै पालामा हो । त्यसैले गर्दा नवज्योतिलाई विशुद्ध साहित्यिक पनमा पहिलो स्थान दिइन्छ भने गुणत्मा दृष्टिले यसलाई विशेष महŒवपूर्ण मानिन्छ । साहित्यप्रेमी सन्तोष बरदेवा र कवि गिर्मी शेर्पाको सम्पादनमा यसले सबैभन्दा धेरै विकास गरेको र सिक्किमेली नेपाली साहित्यको अभिवृद्धिमा यथाशक्य साहित्यिक वातावरणको निर्माण गरेको कुरा उल्लेखनीय मानिन्छ । पछि जीवन थिङको संयोजकत्वमा नवज्योतिले झन् साहित्यिक स्तर उँचो पा¥यो ।

अखिल सिक्किम छात्र सङ्घको बुलेटिनका रुपमा सन् १९५६–५७ तिर महानन्द पौड्यालले दी पोल स्टार प्रकाशित गरे । दुई अङ्कसम्म प्रकाशित उक्त पत्रिकाको साहित्यिक महŒव रहेको पाइन्छ । १५ अगस्ट सन् १९८२ मा आकाशदीपको प्रथम शिखा प्रकाशित भयो । यसको द्वितीय शिखा १९८७ अगस्टमा र तृतीय शिखा जुलाइ, सन् १९८८ मा सामयिक साहित्यिक सङ्कलनका रुपमा श्री महानन्द पौड्यालको सम्पादनमा प्रकाशित भयो । प्रथम शिखामा आकाशदीपलाई एक डाइजेस्टको रुप दिइएको थियो, धेरै सफल पनि भएको थियो । यसले आफ्नो द्वितीय शिखामा रामकृष्ण शर्माको पुण्य स्मृतिमा रामकृष्ण स्मृति अङ्क र तृतीय शिखामा भानुजयन्ती अङ्कका रुपमा र रसिक स्मृति अङ्क गरी तीनवटा अङ्कलाई स्मृति अङ्कका रुपमा प्रकाशित ग¥यो । साहित्यको इतिहास, आलोचना, संस्मरण, कथा, कविता, चर्चित व्यक्ति, बालसाहित्य, अनूदित साहित्य आदि साहित्यिक रचनाहरु प्रस्तुत गर्नु यसको लक्ष्य थियो । आफ्नो भेषभूषा, संस्कृति, सभ्यता र रीतिथितिमाथि युवापिँढीको हृदयमा स्नेह श्रद्धाको भाव उत्पन्न होस् भन्नाखातिर आकाशदीप प्रकाशित भएको पाइन्छ । यसके झण्डै एक्काइस वर्षअघि सन् १९६१ मा पश्चिम सिक्किम गेजिङबाट यिनकै सम्पादनमा धु्रवताराले नेपाली साहित्यलाई धेरै रचनासामाग्री अर्पण गरेको पाइन्छ ।

सन् १९६३÷६४ मा नाम्चीतिरबाट श्री नरबहादुर भण्डारीको सम्पादनमा हाम्रो पुकार सामयिक साहित्यिक सङ्कलन प्रकाशित भयो । सन् १९७३ तिर यिनकै सम्पादनमा अर्चना प्रकाशित भएर वर्ष ९ अङ्क १३ सम्म प्रकाशित हुँदै सन् १९८१ देखि ओझेल भएको थियो तर फेरि यसका अरु केही अङ्कहरु प्रकाशित भई अङ्क १६ सम्म पुगेको पाइन्छ । हाल प्रकाशितमध्ये कथा अङ्क निक्कै गहकिलो उपलब्धि मान्नुपर्छ । सिद्धि, निर्माण तथ स्रष्टा आदि साहित्यिक पत्रिकाहरुको साहित्यिक विशुद्धता, गुणात्मक क्रियाकलाप पनि उल्लेखनीय छन् ।

हास्यव्यङ्ग्यप्रधान पत्रिकाहरु अन्तर्गत आतुरी (सन् १९८५), रौसे (सन् १९८२), झ्याल्टुङ (१९८६)। ससुराली (सन् १९७३), ढोलढ्याङ्ग्रो (सन् १९८५), सोल्टिनी, दिल्लगी (सन् १९८१), खेलाँची (सन् १९८०), चतुरे, प्रहास, नौगेडी, डडेलो आदि पत्रिकाहरुलाई लिन सकिन्छ तर यी पत्रिकाहरुमा साहित्यिक विशेषता र गुणात्मक उत्कृष्टता केही पाइँदैन । हास्यव्यङ्ग्यबाट कुनै प्रकारको हाँसो पनि उठ्दैन र व्यङ्ग्यबाट घत पनि लाग्दैन । हाँसो उठाउनका निमित्त शब्द र वाक्यको विकृति, छिचरा शब्दको प्रयोग, फेसनसम्बन्धी बद्ख्वाइँ गरेकाले पाठकहरुलाई त्यतिको असर पारेको देखिँदैन । हास्यरसको रचना बनाउन कुनै हाँसो उठाउने वस्तुको अवलम्बन गरेको मात्र हुँदैन, अनकूल घटनाहरुको सङ्कलन र अनुकूल विवरण हुनुपर्छ । यस सम्बन्धमा यी हास्यव्यङ्ग्यका पत्रपत्रिकाहरुबाट हाँसो उठ्नुको सट्टा सस्ता र निम्न दर्जाका शब्द प्रयोग र शारीरिक असङ्गति वर्णन गरेको देख्ता त असजिलो अनुभव हुन्छ । ससुरालीमा प्रकाशित चूडामणि कर्मीको लेखमा भने केही व्यङ्ग्य अनुभव गर्न सकिन्छ ।

विविध विषयका पत्रिकाअन्तर्गत आउन सक्ने पत्रिकाहरुमध्ये सामयिक साहित्यिक सङ्कलन क्षितिज, सयपत्री, लालुपाते (सन् १९८७), चेतना (सन् १९८०), तुफान, उत्सर्ग, गलबन्दी (सन् १९८२), सञ्जीवनी, वर्षा, गान्तोक, मुना, प्रतीक, कोसेली, गोरेटो, दुधेरी (सन् १९८०), कस्तुरी (सन् १९८८), स्थापना, प्रक्रिया, परिमल (सन् १९८५), गोठाला, हाम्रा नौमती (सन् १९८२), बिखमा, सम्मेलन पत्रिका (सन् १९८२), कानका, शिखर (सन् १९८५), संवद्र्धन (सन् १९८४), लहर (सन् (१९८४), गाउँले (सन् १९८५), दोभान (सन् १९७८), मुनाल (सन् १९६७), चाँप–गुराँस (सन् १९७३), प्रतिबिम्ब (सन् १९७७), सुधा (सन् १९८७), अभियान (सन् १९७९), चिन्तन, वियोगी आदिलाई लिन सकिन्छ । यीमध्ये कुनै विशुद्ध साहित्यिक पत्रिकाका रुपमा छन् भने कुनै पत्रिकाहरु विविध विषयका छन् । कुनै–कुनै पत्रिकाहरु विशुद्ध साहित्यिक पत्रिका होइनन् भनेर यिनीहरुको महŒव छैन भन्ने मेरो अभिप्राय होइन तर गेजिङ, चाम्ची, गान्तोक, मङ्गन तथा अन्य स्थानहरुबाट प्रकाशित भएका यी पत्रिकाहरुको योगदान उल्लेखनीय मानिन्छ । सिक्किमेली नेपाली भाषा–साहित्यको विकासमा यी पत्रपत्रिकाहरुको महŒवपूर्ण स्थान छ ।

सन् १९५८ मा श्री नयन छिरिङको सम्पादनमा तीनतारा छापियो । यसबाहेक सन् १९६९ स्टुडेन्ट एसोसिएसनका निम्ति छत्रबहादुर तामाङद्वारा सम्पादित त्रिवेणी, पाक्षिक प्रगति (सन् १९६९) भरत सरकार सूचना प्रचार तथा प्रसार विभाग गान्तोकबाट हिमालय सन्देश आदि पत्रिकाहरुमा सामाजिक, आर्थिक, साहित्यिक विषयका रचनाहरु प्रकाशित भए । सन् १९६७ तिर सार्वजनिक पुस्तकालयबाट उषा प्रकाशित भयो । यसको पनि साहित्यिक महŒव छ ।

हस्तलिखित पत्रिकाअन्तर्गत आउन सक्ने यी पत्रिकाहरुको गुणात्मक महŒव पाइन्छ । सुनाखरी, फूलबारी, मानव निर्बोध, नवपल्लव (बलबहादुर राईको सम्पादनमा नाम्चीबाट प्रकाशित पत्रिकाकाको प्रतियोगितामा द्वितीय स्थान प्राप्त), बीजन, नयाँ धरती (सन् १९७१) आदि हस्तलिखित पत्रिकाहरुको विशेष महŒव मान्नुपर्दछ । सन् १९७४ मा पश्चिम सिक्किम सोरेडबाट बेनसिंह राईको सम्पादनमा एउटा हस्तलिखित पत्रिका प्रकाशित भएको थाहा लाग्छ । सन् १९७५ देखि सन् १९७७ सम्मको आपतकालीन स्थितिको प्रभावमा प्रकाशन बन्द हुँदा शीतकालीन बिदाइमा तालिमरत शिक्षकहरुले केही हस्तलिखित पत्रिकाहरु निकालेका थिए ।

यसरी लगभग ४०÷५० वर्षको अवधिभित्र सिक्किमबाट पुग नपुग १०० भन्दा बढी नेपाली साहित्यिक पत्रपत्रिकाहरु प्रकाशित भइसकेका छन्– तीमध्ये नौगेडी, जदौ, पुष्पवृष्टि, शुभेच्छा, डढेली, मनोरञ्जन, खैलाबैला, गोठाला, कोसेली, प्रतीक, तुफान, हाम्रो नौमती, पुष्पाञ्जली, जस्केलो, आधार, सङ्घर्ष, चेतना, गलबन्दी, रौसे, कोपिला, चिन्तन, नकिमा, नयाँ दिशा, बालवाणाी, चोसे, चोबाटो, नयाँ धरती, बिस्फोटन, बुलेट, पोखरा, चिनापर्ची, दोभान, विनायो आदि पत्रपत्रिकाहरुले सिक्किमेली नेपाली साहित्यलाई उच्चता हासिल गराउन र साहित्यको विकास गराउन महŒवपूर्ण योगदान प्रदान गरेका छन् ।

यसबाहेक प्रतिबिम्ब (सन् १९७७), शिखर (सन् २०३४), सुधा (सन् १९७८), निर्माण (सन् १९७९), जनपक्ष, अर्चना, स्रष्टा (सन् १९७८), चिन्तन (सन् १९८५) आदिका विशेष साहित्यिक गुणपाइन्छ । प्रतिबिम्बले पाठकको रुचिअनुसार अन्तर्वार्ता, समाजशास्त्र, यौनविज्ञान, बालकथा, नाटक र एकाङ्की, हँस्यौली आदि छपाएर एकोहोरो साहित्यिक रचनाबाट मात्र सन्तुष्ट नहुने पाठकका भावनालाई बुझेर यस्ता नयाँनयाँ विषय प्रतिपादन गरेको पाइन्छ । त्यसैले यसको विशेष महŒव दृष्टिगोचर हुन्छ । शिखरको वर्ष २ अङ्क ३ ले स्व. जीवन थिङस्मृति अङ्क प्रस्तुत ग¥यो । घनश्याम नेपालको सम्पादनमा नेपाली साहित्यिक सामयिक पत्रिका शिखरले सिक्किमको नेपाली साहित्यलाई नबिर्सिने गुण लाएको छ । फेरि यसको वर्ष ३ अङ्क ५, सन् १९८० ले राधाकृष्ण शर्माको सम्पादनमा विशिष्ट रचनाहरु प्रकाशित गर्न सक्षम भएको पाइन्छ । रोचक नेपाली मासिक पत्रिका सुधा (सन् १९७८) को महŒव पनि बिर्सन सकिँदैन । विनोद अग्रवाल र जीवन थिङको सम्पादनमा उच्चस्तरीय कलाकारहरुसँग गरेको अन्तर्वार्ता, उनीहरुसँग सम्बन्धित रोचक घटनाहरु, खेलसम्बन्धी फूटबल विशेषाङ्क (वर्ष १, अङ्क ३–३८) आदि स्तम्भ प्रस्तुत गर्दै जनमनोरञ्जन प्रदान गरेको पाइन्छ । यसको अर्को विशेषता एक–दुई अङ्क छोडी नियमित रुपमा भूतनाथद्वारा लिखित सत्यकथा, जीवन थिङ विशेषाङ्क (वर्ष १, अङ्क ६ मा), डा. नरेन्द्र कोहलीको दीक्षा उपन्यास धाराबाहिक रुपमा प्रकाशित ग¥यो । मनबहादुर सुब्बाको कथा एउटा धमिलो खोलो किनारमा पुरस्कृत कथा हो । स्रष्टा नियमित रुपमा प्रकाशित पत्रिका हो । साहित्यिक गुण र विशिष्ट रचना प्रस्तुत गर्नुमा यसको महŒव अझ बढेको पाइन्छ ।

सन् १९७८ अक्टोबरमा लघु साहित्यको सामयिक सङ्कलन गोजिका इन्दिरा राईको सम्पादनमा विभिन्न साहित्यकारहरुका लघुकथा, व्यङ्ग्यलेख (गोजिका वर्ष २ पूर्णाङ्क २) मा पूर्ण राईका लघुकथाहरु, (वर्ष ३, अङ्क ५) मा सानु लामाका लघुकथाहरु, (वर्ष ३, अङ्क ४) दिलु मास्केका लघुकथाहरु, एकपछि अर्को गर्दै प्रकाशित भए । सन् १९६९ तिर गान्तोकबाट उदय सुब्बाको सम्पादनमा विनायो गोजिका प्रकाशित भयो । आहत (गोजिका) पनि यसैताक मगनबाट प्रकाशित भयो । गोजिकाबाट पनि यहाँको साहित्यको विकास भएको पाइन्छ ।
डाइजेस्टपरक साहित्यिक पत्रिकाहरुमा सम्बद्र्धनको स्थान शीर्षस्थ रहेको छ । यसले स्तरीय साहित्यिक रचनाहरुमात्र समावेश नगरेर विशिष्ट व्यक्तित्वका अन्तर्वार्ता, वैज्ञानिक जानकारी, खोजपरक भाषिक लेख, सौरजगत्बारे जानकारी, गायन वा वाद्यवादन वा शिक्षाप्रद सामग्री उपलब्ध गराउन पाठकलाई प्रशस्त रुचि, मनोरञ्जन वा प्रेरणा दिएको पाइन्छ ।
यसै सन्दर्भमा भन्नुपर्दा सिक्किमेली नेपाली पत्रकारिताको इतिहासमा एक दशकभन्दा अघिदेखि प्रकाशमा आइरहेको समाचारपत्र गान्तोकको आफ्नै विशिष्ट भूमिका छ । श्री शिव प्रधानद्वारा सम्पादित यस समाचारपत्रले समाचार भन्ने मात्रै काम गरेन तर यसले क्षेत्रीय राजनीतिक कतिपय सामाजिक समस्याहरुलाई खूबै तर्कपूर्ण गहन विश्लेषण ग¥यो । नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भूत गराउने अभियान र सङ्घर्षका तीतामीठा घटनाप्रधान कथाहरुलाई यसले आफ्ना विशेषाङ्कहरुद्वारा अनि तथ्यपूर्ण सम्पादकीयहरुद्वारा मर्मपूर्ण अभिव्यक्ति प्रदान ग¥यो । सम्पादकद्वारा लिखित पुस्तक आन्दोलनमा यी विषयहरुलाई राम्ररी समेटिएको छ । दार्जीलिङमा चलिरहेको जातीय चिनारीको आन्दोलनबारे पनि गान्तोकले समय–समयमा लगातार आफ्ना बौद्धिक प्रतिक्रिया व्यक्त गरेर आन्दोलनको मर्मलाई जनसमक्ष लगातार अहम भूमिका निर्वाह ग¥यो । समय–समयमा भाषा परिशिष्टाङ्क, अभिनन्दनग्रन्थ आदि दिनमा यसको विशेष महŒव छ । यस सन्दर्भमा गान्तोकले पारसमणि परिशिष्टाङ्क समेत प्रकाशित गरेर साहित्य र साहित्यकारको उचित श्रद्धा अर्पण गरेको छ । नयाँ प्रतिभाहरुका रचनाहरु छापेर साहित्यिक उद्यानलाई फाँटिलो र रमणीय बनाउन यसको थप विशेषता रहेको छ भने भाषिक शुद्धता यसको अर्को वैशिष्ट्य हो ।

समाचार प्रस्तुतिको आफ्नै पद्धति हुन्छ । यसतर्फ यतातिरका धेरै समाचारपत्रले आँखा चिम्लिएको बुझिन्छ । विचारले यो पद्धतिलाई नलत्याई अघि बढेको छ । नयाँ प्रतिभा, विशेष गरी विद्यार्थी समुदायलाई साहित्यतर्फ आकर्षित गराउने ध्येय राख्ने विचारको एउटा स्मरणीय प्रयास गरेको छ । विशेषाङ्कहरुका हकमा विचारले त्यति बढी केही प्रकाशित नगरे तापनि समय–समयमा सरकारका क्रियाकलाप तथा उपलब्धिहरु र स्थानीय विशिष्ट व्यक्तिहरुका अन्तर्वार्ताहरु, विशेषाङ्कका रुपमा प्रकाशित गरेको पाइन्छ । साक्षात्कार यस्ता अन्तर्वार्ताहरुको एउटा विशिष्ट सामग्री हो । तीबाहेक अन्य पत्रिकहरुको योगदानलाई पनि नकार्न सकिन्न ।

यहाँ पत्रपत्रिकाको तथा सम्पादकका नाम थुपार्दै गुण मात्र गाउन खोजिएको होइन तर अवश्य यति भन्न खोजिएको हो– सिक्किमेली नेपाली साहित्यले सङ्ख्यात्मक र गुणात्मक वृद्धि पनि ग¥यो । अन्य स्थानका साहित्यिक पत्रपत्रिकाहरुको प्रवाहसित आफूलाई पनि साक्षात्कार गर्ने प्रचेष्टा ग¥यो । यसरी साहित्यिक पत्रिकाले भाषाको स्तर र साहित्यको विकासमा तीव्रता ल्याउँछ, समाजले भाषाका साथै साहित्यिक विधाका विविध पक्षको अध्ययन गरेर चेतना एवम् जागृति र अस्तित्वको बोध गर्ने मौका पाउँछन् । नवोदित लेखक र उदीयमान साहित्यकारहरुले आफ्नो कलाको परिचय दिएर अघि बढ्ने प्रेरणा पाउँछन् । पत्रिका त्यसैले नवचेतनाको द्योतक हो, सिर्जनाको माध्यम हो र भावी सन्तानको (समाजको) प्रतीक हो । किनभने यसका माध्यमबाट समाजका विभिन्न प्रकारका मानिसका समस्या समाधान गर्न सकिन्छ ।

सिक्किममा नेपाली साहित्यको विकासमा पत्रपत्रिकाहरुले दिएको योगदान र पत्रपत्रिकाको विकास अवश्य केही हदसम्म आफ्नो साहित्यिक उत्कृष्टता र विशिष्टता राख्न सफल देखिन्छ । यस प्रकारको लगनशीलता र उत्साहले चरमोत्कर्ष राख्न सफल भए यसको समुचित विकास अझ बढेर जाने आशा राख्न सकिन्छ । कैयन् पत्रिका जन्मँदै, बिलाउँदै गए तापनि विभिन्न आकारप्रकारका अथवा सानाठूला जेजस्ता भए पनि यिनीहरुको साहित्यिक महŒवको कदर गरिन्छ । सिक्किमको नेपाली पत्रकारिताको सर्वाधिक सशक्त धारा विशुद्ध साहित्यिक पत्रकारिता मात्र नभएर दैनिक समाचारप्रधान खबरकागज पनि हो । विशुद्ध साहित्यिक पत्रिकाको खेमाभित्र पर्ने पत्रिकाहरुमध्ये नवज्योति, प्रतिबिम्ब, सुधा, स्रष्टा, निर्माण, प्रक्रिया, अर्चना उल्लेखनीय एवम् प्रमुख रहेका छन् । समय, दैनिक, हाम्रो प्रजाशक्ति, समाचारप्रधान साहित्यिक खबरकाजगअन्तर्गत पर्ने प्रमुख पत्रिका हुन् ।

राजतन्त्रमा जन्मिएको कञ्चनजङ्घाले विस्तार गरेको पत्रकारिताको फाँट प्रजातन्त्रसम्म आइपुग्दा प्रशस्त साहित्यिक पत्रकारिताले जन्म लिएर समृद्ध, स्वस्थ, सबल तथा समुच्च रुप धारण गरे तापनि कतिलाई अनियमितताको सावित रोगले नसमाती छाडेन । निर्माणले आफूलाई यस रोगबाट आजसम्म मुक्त राखेको छ । सन्तान भर्खरै जन्मेको सशक्त साहित्यिक पत्रिका हो । यसले आफूलाई नियमितता दिन सके बुद्धिजीवी पाठकले प्रशस्त बौद्धिक खुराक प्राप्त गर्न सक्ने थिए भन्न सकिन्छ ।