Author Topic: स्वस्थानी, नारी र विरोधाभासहरु (Women in Swasthani)  (Read 13194 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
स्वस्थानी, नारी र विरोधाभासहरु

स्रोत: कान्तिपुर

-साधना प्रतीक्षा

हरेक वर्ष पुस शुक्लपूणिर्मा देखि माघ शुक्लपूणिर्मा सम्म हिन्दु नारीहरूले अत्यन्त श्रद्धासाथ श्री स्वस्थानीको व्रत गर्ने परम्पराअनुरूप यस वर्ष पनि व्रत गरिरहेका छन् । विगतका तुलनामा हाल व्रतालुको संख्या बढ्दो र व्रत गर्ने तरिका पनि औपचारिक बन्दै गएको देखिन्छ । शाली नदीमा स्नान गर्ने मात्र नभएर त्यहीँ बसेर महिनादिनभरि विधिपूर्वक व्रतको अनुष्ठान गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको छ । कति महान् छन्, हिन्दु नारीहरू ! पुस-माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा बसेर महिना दिन लामो व्रत गर्छन्, आफ्नो परिवारको मंगल कामना गर्दै । तर विडम्बना ! नारीरूले गर्ने नारीरूपी स्वस्थानी देवीको व्रतकथामा उल्लिखित व्रतविधि अनुसार व्रत पूरा गरेपछि प्रसाद झिक्ने प्रसंगमा एक सय आठ विविध प्रसाद सामग्रीमध्ये आठ-आठ छुट्याएर ‘…पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरो नभए मीत छोरालाई दिनु, मीत छोरो पनि नभए मेरो फलानो कामना सिद्ध होस् भनी गंगामा बगाउनु’ भनेर लेखिएको छ । कति ठूलो विभेद गरिएको छ यहाँ छोरीमाथि । त्यो प्रसाद पति नभए मीत छोराको सट्टा आफ्नै छोरीलाई दिनु भनिएको छैन ।


मीत छोरा नभए प्रसाद खोलामा फाल्ने तर आफ्नै कोखकी सन्तान छोरीलाई दिन नहुने । प्रश्न गर्न मन लाग्छ- कुन भगवान्को उर्दी हो यो ? जब कि भगवान् त सधैं नारी-पुरुष सँगसँगै देखिन्छन्— महादेवसँग पार्वती, विष्णुसँग लक्ष्मी, ब्रह्मासँग सरस्वती, राम-सीता, कृष्ण-राधा आदि । तर धार्मिक विधि बनाउनेहरूले किन यसरी विभेदको मसी पोखेर नारीप्रति अन्यायी नजिर लेखिदिए ? यस्ता थुप्रै प्रसंग छन्, हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र तर पनि प्रसंग अहिले माघ महात्म्यको मात्र हो ।स्वस्थानी कथाका मुख्य पात्रहरू महादेव, सतीदेवी -पार्वती), दक्ष प्रजापति, विष्णु, ब्रह्मा, जालन्धर, वृन्दा आदि दैवी तथा आशुरी पात्र र शिव भट्ट, शिव शर्मा, गोमा, नवराज आदि मानवीय पात्र । कथाअनुसार दक्ष प्रजापतिका सतीदेवीलगायत तेत्तीसकोटी कन्या भएकामा उनले सतीदेवीलाई छोरासरह सम्पत्तिको संरक्षणका लागि राखेका थिए । हिमालयले पनि छोरी पार्वतीलाई बिनाकुनै भेदभाव इच्छाएको व्यक्तिसँग विवाह गरिदिएका थिए । शिव भट्ट ब्राह्मणले गणेशको व्रत गरी सन्तानका रूपमा छोरी गोमालाई प्राप्त गर्दा अत्यन्त प्रसन्न भएका थिए, पुत्र प्राप्तिको हठ गरेका थिएनन् । तर त्यही कथाका विभिन्न प्रसंगमा नारीमाथि अन्याय गरिएको छ । वृन्दाको अस्तित्वमाथि विष्णुले खेलवाड गरेका छन्, सातवर्षे बालिका गोमालाई आदर्शको भारी बोकाएर सत्तरीवर्षे बूढोसँग बिहे गरिएको छ र गर्भवती बनाएर अलपत्र पारिएको छ । यसै प्रसंगमा स्त्रीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेश यसरी दिइएको छ— ‘आफ्नो पुरुषलाई रिस गरेर हेरे डेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे, पुरुषसँग मुखमुखै लागे लाटी हुन्छे, लुकाएर खाएमा कुकुर्नी हुन्छे, द्रोह गरेमा गोही हुन्छे’ । तर पत्नीमाथि अन्याय गर्ने पतिका लागि खै त कुनै पापका प्रावधानहरू ? पत्नीमाथि हात उठाउने पति डुँडो हुन्छ, जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा लाटो हुन्छ, पत्नीमाथि ज्यादती र शोषण गर्ने पति महापातकी हुन्छ आदिजस्ता प्रसंगहरू खै त ? वृन्दाको पतिव्रताको त्यत्रो बखान छ, उसको पतिलाई मार्नसमेत छल गरेरै भए पनि उसको पतिव्रता धर्म नष्ट गराउनुपर्‍यो तर पुरुषको पत्नी व्रतासम्बन्धी प्रसंग खै त ? निष्ठा र इमानदारी केवल नारीहरूमा खोजिएको छ, पुरुषमा छैन किन ? महादेव स्वामी पाउन पार्वतीले गरेको व्रत भनी आज पनि थुप्रै अविवाहित नारीहरू स्वस्थानीको व्रत बस्छन्, तीजको व्रत बस्छन्, असल पति प्राप्तिको कामना गर्दै, तर खै त पुरुषले असल पत्नी प्राप्तिका लागि गर्नुपर्ने कुनै व्रत ? आफ्नो पति र परिवारको मंगलका लागि नारीहरू व्रत बस्छन्, तर कुनै पुरुष पत्नीका लागि व्रत बसेको उदाहरण हाम्रो समाजमा छ ? किन बनाइएनन् यस्ता व्रतहरू, जो पुरुषले गरून्, त्यो पनि नारीहरूका लागि ? यस्ता असंख्य प्रश्नको समाधान खोज्नका लागि धर्मग्रन्थ रचनाको प्रारम्भसम्म पुग्नुपर्ने हुन्छ । ईश्वरीय विषयवस्तुलाई लिएर कथा साहित्य सिर्जना गर्ने पुरुषप्रधान समाजका पुरुष लेखकको पुरुष मानसिकताको उपज हुनाले नै धार्मिक कथाहरू यस्तो विभेदकारी रूपमा प्रस्तुत भएका हुन् । जगतगुरुका रूपमा पुजित र प्रतिष्ठित दण्डी स्वामी शङ्कराचार्यले ‘प्रश्नोत्तरी’ मा नारीलाई नरकको द्वार, मदिरा, पिशाच, बन्धन आदि भनेर घोर निन्दा गरेका छन् । यसैलाई पछ्याउँदै गोस्वामी तुलसीदासले ‘ढोल, गँवार, शूद्र, पशु, नारी ये सब ताडनके अधिकारी’ भनेका छन् । संस्कृत साहित्यमा ‘पिता रक्षति कौमार्य, भर्ता रक्षति यौवने । पुत्रश्च स्थविरे भावे न स्त्री स्वतन्त्र्यमहर्ति’ अर्थात् कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्वारा रक्षित हुनुपर्ने नारी कुनै पनि अवस्थामा स्वतन्त्र रहन योग्य छैन भनिएको छ ।

पाश्चात्य साहित्यमा पनि अरिस्टोटलले दुःखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा स्त्री र दास दुवै भद्र हुन सक्ने भए पनि स्त्रीलाई केही निम्नस्तरको प्राणी र दासलाई बिल्कुल निम्न दर्जाको जीव भन्दै सामाजिक प्रतिष्ठा र साहित्यिक मर्यादाक्रममा स्त्रीलाई पुरुषभन्दा तल र दासभन्दा केही माथि राखेका छन् । धार्मिक पुस्तकहरू पनि पुरुषहरूद्वारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्त्व दिनुभन्दा दबाउनेतिर नै बढी सचेतता देखिन्छ । किनभने नारीमाथि लगाइएका सामाजिक प्रतिबन्धहरूको वैधानिकता यस्तै पुस्तकहरूले पुष्टि गर्छन्, पापको त्रास देखाएर । तर वास्तविकता यो छ कि यहाँ अधिकांशलाई पाप र धर्मको अर्थबोध नै छैन । अठार पुराणका रचयिता व्यासले ती सम्पूर्ण पुराणको सार यसरी व्यक्त गरेका छन्— ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् परोपकार नै धर्म हो, अर्कालाई पीडा दिनु पाप हो । प्रसंग उही स्वस्थानीको, यसमा राम्रा तथा पे्ररणादायी पक्षहरू पनि छन् । एकपल्ट कक्षामा ‘पे्रमपिण्ड’ नाटक पढाउने क्रममा कृष्ण भगवान्को प्रसंग आउँदा एकजना छात्रले प्रश्न गरेका थिए, ‘पत्नीको मृत्युपश्चात् उनको शव बोकेर बहुलाहा भई सारा पृथ्वी भ्रमण गर्दै हिँडेका महादेवलाई छाडेर बहुपत्नी भएका विलासी कृष्णलाई पे्रमका देवता भन्न मिल्ला र ?’ यो प्रसंग प्रेरणादायी पनि छ । महादेवले पत्नीको लास बोकेर बहुलाहा भई हिँड्दा त्यो लास सडेर खसेकोसम्म पत्तो नपाएको र चेतना आएपछि उनकै पुनर्जन्म पार्वतीसँग विवाह गरेर हरेक कुरामा सहकार्य गरेको प्रसंगबाट उनको पत्नीप्रतिको प्रेम र समर्पण सजिलै बुझ्न सकिन्छ । खै त हिन्दु परम्पराका पुरुषहरूले यसबाट पे्ररणा ग्रहण गरी पत्नीप्रति समर्पित भएको ? यहाँ त पत्नीलाई दासीका रूपमा हेरिनुका साथै पत्नी मर्नासाथ अर्को बिहे गर्नाका लागि पतिले पत्नीको काजकिरियासमेत गर्न नपर्ने नियम बनाइएको छ ।

स्वस्थानी व्रतकथाको आलोच्य पक्ष के छ भने ठाउँ-ठाउँमा ईश्वरलाई असुन्दर रूपमा चित्रण गरिएको छ । वृन्दाको प्रसंगमा, जालन्धर आशुरी प्रवृत्ति हुनाले पार्वतीप्रति मोहित भएर कुदृष्टि राख्यो, तर विष्णु देवता भएर पनि किन वृन्दालाई छल गर्न गए ? जालन्धरलाई अन्य कुनै उपायद्वारा मारेको देखाउन पनि सकिन्थ्यो, किन विष्णुद्वारा निर्दोष वृन्दाको पतिव्रता हरण गरियो ? शिव भट्टको दानशीलताले इन्द्रासन डगमगाउँदा उनलाई अन्य उपायद्वारा नरोकेर उनकी छोरी निर्दोष बालिका गोमालाई महादेवद्वारा किन कठोर श्राप दिइयो ? र पछि स्वयं महादेवले वृद्ध शिव शर्मा बनेर सातवर्षे गोमालाई बलपूर्वक बिहे गरी किन अलपत्र पारियो ? यस्ता थुप्रै प्रसंगबाट झिकिएका केही उदाहरण मात्र हुन् यी । वास्तवमा ईश्वर त निरञ्जन, निराकार, अनि सर्वव्यापी छ । हामी अनेक रूपमा कल्पना गछौर्ं, पूजा गर्छौं । मान्छेका आआफ्नै आस्था-विश्वास र कल्पनामा निर्मित छ ईश्वरीय स्वरूप । यसैअनुसार कवि, लेखकहरूले धार्मिक काव्य-कथा लेख्छन् । तर यसरी लेख्ने क्रममा उनीहरूले ईश्वरलाई सुन्दर रूपमा मात्र चित्रण गर्नुपर्छ भन्ने सचेतता देखाउन भने सकेको देखिँदैन । वास्तवमा ईश्वरले अबोध बालकले जोगीलाई भिक्षा नदिँदैमा श्राप दिँदैनन्, ईश्वरले अर्काकी श्रीमतीमाथि कुदुष्टि राख्दैनन् र छल पनि गर्दैनन् । पूजा नगर्दैमा र व्रत नबस्दैमा पाप पनि लगाइदिँदैनन्, किनकि ईश्वर सदा कल्याणकारी हुन्छन् ।

२०६९ साल फागुन २ गते बुधवार।

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानीका शिवजी
- रामेश्वरी पन्त, काठमाडौ



स्वस्थानीका शिवजी
पुस २६, २०७१-नेपाली समाजमा शताब्दियौंदेखि अत्यधिक श्रद्धापूर्वक व्रत, पूजा र पाठ गर्दै आएको स्वस्थानी व्रतकथाको पुस्तक सर्वप्रथम कहिले र कसले लेख्यो भन्ने कुरा अहिलेसम्म पनि कसैले ठोकुवा गरेर भन्नसकेको पाइएको छैन । नेवारी भाषामा लेखिएको भनिएको स्वस्थानी कथा पक्कै पनि कुनै नेवारले नै लेखेको हुनुपर्छ । त्यसो हो भने नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको

कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न पनि सोचनीय देखिन्छ । जे होस्, नेवारले जे देख्यो, त्यही लेख्यो । तत्कालीन समयमा बाहुन समाजमा हिन्दु धर्म र परम्पराको नाममा महिलामाथि हुने ज्यादती, पतिव्रताका नाममा बाहुन महिलाले सहनुपरेका दुःख, बालविवाह, एकल महिलाले खेप्नुपरेका समस्या, धर्मको नाममा महिलालाई दिइने प्रताडनालाई स्वस्थानी कथासँग जोडिदिएको हुनसक्छ । जे होस्, यी प्रसंगलाई छोडेर स्वस्थानीकै ऐतिहासिक प्रसंगतिर

जानु सान्दर्भिक छ ।

आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि शिव यति धेरै शोकाकुल बन्छन् कि उनलेे सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँंड्दा सतीको देह सडेर अङ्ग-अङ्गहरू विभिन्न ठाउँमा झर्दै जान्छन् र ती ठाउँहरूमा शक्तिपीठहरूको उत्पत्ति हुँदै जान्छ । सतीको अङ्गबाट एकाउन्न शक्तिपीठहरूको उत्पत्ति हुने क्रममा हामीले पढ्दै आएको स्वस्थानी कथामा यस्तो लेखिएको छ, 'पहिले नेपालमा पुग्दा गुह्यपतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी....उत्पत्ति भए ।' यस बाहेक स्वस्थानीमा नेपाल

शब्दको उल्लेख पाइँदैन । बाँकी सबै पीठहरू भारतमा रहेको कुरा स्वस्थानी पढ्दा थाहा लाग्छ । तर के यो नै साँचो हो त ? सतीको पहिलो अङ्ग नेपालमा खसेपछि अरू सब भारतमा कसरी ? के नेपालका शक्तिपीठहरू अतिक्रमित भएकै हुन् त ?

वैदिक वाङ्मयका ज्ञाता मदनमणि दीक्षितकै शब्दमा 'करिब १३०० वर्ष पुरानो स्कन्द पुराण लेखिएको ८०० वर्षपछि मात्र स्वस्थानी कथा लेखिएको देखिन्छ । ई.पू. ३०० (समुद्र गुप्तको समय) को इलाहाबादको स्तम्भमा 'नेपाल' भन्ने शब्द पहिलोपटक लेखिएको पाइएको छ । वैदिक र पौराणिक समयसम्म नेपाल र भारत एउटै सीमाभित्र पर्थे । लिखित इतिहासको कमीले गर्दा पनि स्वस्थानीमा उल्लेखित स्थानहरू नेपालमा पर्थे या भारतमा भन्नेमा कसैले ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । स्वस्थानीको आधार स्कन्द पुराण रहेको र सम्राट अकवरको पालादेखि स्कन्द पुराणमा नेपाल महात्म्य थपियो र स्वस्थानीका प्रसंग पनि यसैबाट लिइएको हो । पुराणहरू भारतमा लेखिए र यी पुराणहरू केही कालसम्म अंग्रेजको कब्जामा रहे । साम्राज्यवादीहरूले इतिहास बङयाउनकै लागि बौद्धिक सम्पत्तिमाथि कब्जा जमाउने हुँदा यही समयमा नेपालको धार्मिक इतिहासलाई पनि बङयाउँदै नेपालका शक्तिपीठहरू भारतमा रहेको भनिएको हुनसक्छ ।'

अर्का वैदिक ज्ञाता महेश्वर जुजु राजोपाध्यायसँगको भेट र उहाँले लेखेको स्वस्थानीको पुस्तकबाट प्राप्त जानकारीका आधारमा स्वस्थानी नेपालको मौलिक ऐतिहासिक धरोहर भएको पाइन्छ । जस अनुसार,

नेपालको टोखा चण्डीश्वरीमा दक्षयज्ञ कुण्ड, चण्डीश्वरी महाकाली र पशुमुण्ड दक्षको मूर्ति अझै पनि रहेको, सतीको पहिलो पीठ 'चरण शक्तिपीठ' देवीकुट थानकोटमा रहेको, यौनाङ्ग (गुह्य) पतन भएको गुह्येश्वरी, स्तनपतन भएको भक्तपुरको स्तन शक्तिपीठ जसलाई दुरुप्पःद्यः भनिन्छ, लगायत ४८ पीठहरू नेपालमै रहेको महेश्वर जुजुको भनाइ छ ।

थिमी कथाबाट लिइएको भनिएको गोमा, नवराज र चन्द्रावतीको कथालाई नेपालको वास्तविक इतिहास भएको र गोमाको माइती फर्पिङको ब्रह्मपुरमा रहेको, साँगा जरन्ताल वनेपाका शिव शर्मासँग गोमाको विवाह भएको, शिव शर्मा मरेको ठाउँ वनेपाको सुन्थानमा विचारी पाटीको अगाडि अझै पनि रहेको, गोमाले पुत्र पाएको ठाउँलाई गोमाडोल भन्ने गरिएको, चन्द्रावतीको माइती वनेपाको वुडोलमा रहेको र नवराज -न्वारनको नाम वन्हीराज) राजा भएपछि भक्तपुरको दत्तात्रयलाई राजधानी बनाएको कुरा उनले स्थापना गरेको तलेजु भक्तपुरको दत्तात्रयमा अझै छ र त्यसको पुजारी अझै पनि राजोपाध्याय बाहुन हुने गर्छन् । नवराज पनि राजोपाध्याय बाहुन रहेको कुरा त्यहाँ संकल्प गर्दा 'वन्हीराज कूल भट्टारक' भन्ने गरिएको बाट प्रमाणित हुन्छ भनेर महेश्वर भन्नुहुन्छ । त्यसैगरी कुष्ठरोग ग्रस्त चन्द्रावतीको उद्धार भएको ठाउँ शालीनदी पनि साँखुमा रहेको र त्यहीं आजपर्यन्त स्वस्थानी मेला लाग्ने गर्छ । यदि यी सब सत्य हुन् भने किन पुराण लेख्ने पण्डितहरूले स्वस्थानीलाई भारतीयकरण गरे ? कतै नेपाली भाषाको स्वस्थानीलाई बनारसका पण्डितहरूले लेखेका त होइनन् ?

स्वस्थानी कथामा शिवलाई एकातिर जोगीको रूपमा देखाइएको छ, त्यो पनि अत्यन्तै घिनलाग्दो जो भूतप्रेत पिशाच आदिले घेरिएर मशानमा बस्ने, खरानी घस्ने, बाघको छाला ओढ्ने, भाङधतुरो खाने, डमरु बजाउने, नाङ्गो, जता पायो उतै हिंँड्ने असभ्य र जंगली खालको संन्यासी । यतिसम्म नशेबाज र गैरजिम्मेवार रूपमा प्रस्तुत गरिएको छ कि छलपूर्वक भए पनि सतीदेवीसँग बिहे हुने भएपछि पनि समयमा दक्ष प्रजापतिको घरमा पुग्नुपर्ने महादेव बिहेको लगन गुज्रनै लाग्दासम्म भाङको नशामा लठठएर आफ्नै बिहेको दिन बिर्सेका छन् र ढिलोगरी दक्षको घर पुगेका छन् । फेरि सतीदेवीलाई दुलहीको रूपमा घरमा ल्याएपछि पनि उनी एउटा गैरजिम्मेवार पति बन्दै सतीदेवीलाई झुपडी देखाएर 'भित्र जा' भन्दै आफू तत्काल बाहिरै भाङ खाएर चार दिनसम्म बेहोश बनी लडेका छन् । भाङै नशामा आफ्नी पत्नी पार्वती रावणलाई दिएर पठाएका छन्, जालन्धर पत्नी वृन्दाको सतित्व नष्ट गर्न विष्णुलाई आदेश दिएका छन्, पाँच वषर्ीया अबोध बालिकालाई ढिलो भिक्षा दिएको निहुँमा भयानक श्राप दिएका छन् ।

अर्कोतिर शिवलाई भोगी अर्थात् सधैंजसो यौनकर्ममा लिप्त रहने पुरुषको रूपमा चित्रित गरिएको छ । पार्वतीसँग विवाह गरेपछि संसारै बिर्सिएर कैयौं दिनसम्म पार्वतीसँग यौनकर्ममा लिप्त रहेको र अति भएपछि देवताहरूले अग्निलाई पठाएर महादेव-पार्वतीको एकान्त यौनिक जीवन बिथोलेको, पार्वतीबाट मात्र सन्तुष्ट नभएर कहिले मृगरूप लिएर मृगिणीहरूसँग त कहिले हाँसको रूप लिएर हँसिनीहरूसँग रमाएको घटना कथामा प्रस्तुत गरिएको छ । त्यति मात्र नभएर महादेवलाई अर्काका स्त्रीहरू लिएर हिंँड्ने चरित्रहीनको आरोप पनि लगाइएको छ । सतीदेवीको मृत्युपछि मानसिक सन्तुलन गुमाएर नाङ्गै हिंँडेका शिवको लिङ्ग देखेर आफ्ना ऋषिपतिहरूबाट यौन अतृप्ति खेपिरहेका ऋषिपत्नीहरू शिवको पछि लागेर गएकोमा ऋषिहरूले शिवलाई दोषी देख्दै उनको लिङ्गपतन हुने श्राप दिन्छन् ।

के आज करोडौं हिन्दुहरूले अत्यन्त आस्थापूर्वक पुज्दै आएका देवाधिदेव महादेव साँच्ची नै यस्ता गैरजिम्मेवार र घृणित चरित्रका थिए त ? किन यसरी प्रस्तुत गरियो उनलाई ? हुनसक्छ, शिव अनार्य थिए र उनलाई आर्यहरूले मनपराउँदैनथे । स्वस्थानीको आधार स्कन्द पुराण भएकोले र पुराणहरू बाहुन पण्डित (आर्य) हरूले लेखेका हुनाले यसरी शिवलाई गलत किसिमले प्रस्तुत गरेका हुन सक्छन् ।

महेश्वर जुजु भन्नुहुन्छ, 'स्वस्थानी कथा नेपालको आदिकालीन इतिहास भएकोले यसको कुनै लिखित प्रमाण छैन, नत कुनै शिलालेख नै पाइन्छ । त्यसैले श्रुति परम्परामा विश्वास गर्नुपर्ने हुन्छ र यसैलाई स्रोत मान्नुपर्ने हुन्छ । पार्वतीसँग विवाह भएपछि महादेवले हिमालयसँग पार्वतीले आफूलाई पतिरूपमा प्राप्त गर्नका लागि कठिन तपस्या गरेको हुँदा उनको तपस्या र प्रेमको सम्मान गर्दै पार्वतीले तपस्या गरेको स्थानमा नै बस्ने इच्छा प्रकट गरे र शिव-पार्वती पाशुपत क्षेत्र देवपाटनमा बस्ती बसाएर बस्न थाले ।

महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरू सारै फोहोरी देखेर उनीहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । 'फोहोर तिमीहरूको जन्मजात गुण होइन, तिमीहरू पनि सफा बन्न सक्छौ' भन्दै उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातहरूका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न

सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । यसरी महादेव र पार्वतीले किरातहरूलाई सभ्य बन्न दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो ।'

यसरी एकातिर स्वस्थानीमा महादेवलाई असभ्य रूपमा प्रस्तुत गरेको पाइन्छ भने देवी पुराणअनुसार महादेवलाई सभ्य र ज्ञानीको रूपमा पाउन सकिन्छ । आखिर सही रूपमा महादेव (शिव) को थिए त ? भन्ने विषयमा थप अध्ययन जरुरी देखिन्छ ।

 


प्रकाशित: पुस २६, २०७१

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानी व्रत कथाको लेखेक बारे भ्रम र अन्योलता पण्डित ज्युहरु स्वयं

Sunday, 11 January 2015

http://laxmitamang.blogspot.com/2015/01/blog-post_11.html


कुरा बुझ्दा हाँस मात्र उठ्छ अनि नबुझ्दा रिस | त्यसैले रिस खा आफु बुद्धि खा अर्का भन्ने गर्छन हाम्रो गाउँ समाजमा |

 खोई के खोई के पण्डित ज्युहरु आफै भ्रमित र अनविज्ञ हुनु हुँदा रहेछन कसले लेखेका हुन् स्वस्थानी ब्रत कथा भनेर अनि मेडमले पनि नेवारले लेखेका हुन् भन्नु भएको रहेछन | हामीले बुझ्नु पर्छ नेवार भनेको समाज बनाएको मात्र १४ औ शताब्दीमा हो हिन्दुस्तानको ५ जना ब्राह्मणहरुको सहयोगमा राजा जयस्थिति मल्लले मनुस्मृति र नारायण स्मृति अनुसार जुन प्रष्ट छ "मानव न्याय शास्त्र" मा जुन नेपालको पहिले कानून हो | त्यस्तैले नेवार भनेको मोगोलियन तथा आर्यन मुलका मानिसहरुको मिश्रीत समुदाय हो जहाँ ब्राह्मण, क्षेत्री, तामाङ्ग/किरात, आदि जातिहरु छन् | जे होस् सुनिल श्रेष्ठ प्रष्ट हुनु हुन्छ स्वस्थानी ब्रत कथाको लेखकको बारेमा र उहाँले लेख्नु हुन्छ कमेन्टमा यस्तो,



"स्वस्थानीकथाको प्राचिन लेखक महर्षि वेदव्यास हुन् |

धार्मिक ग्रन्थ स्वस्थानीकथाको प्राचिन लेखक को हुन् भनेर हामीले पढ्ने पुस्तकमा लेखेको छैन तर त्यो ग्रन्थको लेखिएको नाम जसले संकलन गरेर प्रकाशित गरे उनीहरुको हो| तर स्वस्थानीकथाको केहि हरफहरुलाई ध्यान दिएर अध्यन गर्ने हो भन्ने सो पुस्तक कहाँबाट साभार भएको हो भन्ने चै सजिलै थाहा पाउछौ ,सोहि आधार स्वस्थानीको लेखक सजिलै पतालाग्छ | जसरी 'गीताको' मूलश्रोत 'महाभारत' हो |.

स्वस्थानी कथाको हरेक अध्याय पछि हामीले उचारण गर्ने मन्त्र ""इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्मे कुमार अगस्य संबादे""लाइ ध्यानपुर्बक विश्लेषण गर्ने हो ""स्वस्थानीकथा"" ""स्कन्दपुराण""को 'केदारखण्ड' भन्ने उपशिर्षकबाट लिएको देखिन्छ | सनातन साहित्यको १८ पुराणहरु मध्य सबै भन्दा ठुलो पुराणको नाम हो "स्कन्दपुराण" जसमा ८१००० श्लोकहरु छन् ,जसलाई ७ खण्डमा बिभाजन गरिएको छ| ७ खण्ड मध्य पहिलो खण्डको नाम हो ""महेश्वर"" खण्ड ,सोहि ""महेश्वरखण्ड""को पहिलो उपखण्डको नाम हो "केदारखण्ड" नै ""स्वस्थानी कथा"" हो | स्कन्द भनेको भगवान कुमारको अर्को नाम पनि हो | १८ पुराणका लेखक महर्षि वेदव्यास हुन् | स्वस्थानी ब्रतकथाको प्राचिन लेखक पनि महर्षि वेदव्यास हुन्|"



रामेश्वरी पन्त ज्युको कान्तिपुर अनलाई जनवरी १०, २०१५ शिर्षक "स्वस्थानीका शिवजी" मा उल्लेख गर्नु भएको थियो:

"महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरू सारै फोहोरी देखेर उनीहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । 'फोहोर तिमीहरूको जन्मजात गुण होइन, तिमीहरू पनि सफा बन्न सक्छौ' भन्दै उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातहरूका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न

सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । यसरी महादेव र पार्वतीले किरातहरूलाई सभ्य बन्न दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो ।'"



मेडमले लेख्नु भएको यी हरफहरु पद्दा चाही मलाई हाँस उठ्यो किन कि महादेव स्वयं एक भोटे किरात हुन् भन्ने प्रमाण छ | तर यो चाही हिन्दुस्तानी पण्डितहरुले जुन मोङ्गोलियन मुलका भोट बर्मेली भाषीहरुलाई खिसी पुर्वक "किरात" भने जसको अर्थ हिन्दुस्तानबाट दक्षिण पूर्वी हिमालमा बस्ने जंगली सिंह प्रवृतिको मानिसहरु भन्ने हुँदा रहेछन उनीहरुलाई महादेवले नुहाउनु सिकाउनु भनेको चाही स्व-घोषित शुद्ध सफा स्वच्छ आफू जो एक लोटा पानीले स्नान गर्छन बाहिरी शरीर मात्र तर भित्र मन चाही फोहरी हुन्छ अनि भोटेहरु फोहोरी हुन्छ भन्न खोजेको बुझिन्छ |



मेरो यी माथिको प्रतिकृया फेसबुक स्टाटसमा पढे पछि तेन्जिंग लिम्बुलेख्नु हुन्छ,

हिन्दु बेद को मुख्य ज्ञान प्राचिन दक्षिण पुर्ब एसिया को स्थानीय बसी जसलाई बैदिक काल पछि किराँत भनेर चिनिने जाति को दर्शान लाई आर्य हरु ले आफ्नो स्वार्थ शिद्ध हुने संहिता को आवरण हालेर हिन्दु धर्म बनाएको हो l जुन तथ्य कुरा लाई आजसम्म को कुनै खोज कर्ता हरु ले उजागर गरेको छैनन l तथ्य लाई सहि खोज को विवरण ओझेल मा राखिएको प्रस्ट हुन्छ l जुन बेद पुराण र उपनिषद् र अन्य हिन्दु ग्रन्थ हरु मा लेखिएका धेरै तथ्य हरु बैदिक काल अघि देखि मानि आएका किराँत हरु को मुन्धुम र अन्य दर्शन ज्ञान हरुमा पाईन्छन l.

अर्को कुरा जहाँ बाट आर्य हरु आए त्यहाँ पुर्ब काल देखि आज सम्म को ईतिहास खोज्ने हो भने बैदिक काल देखि आज सम्म को ईतिहास लाई तुलना गरेर हेर्ने हो भने आर्या हरु आएको थात थलो मा हिन्दु दर्शन र आध्यात्मिक दर्शन र भौतिक आधारको कुनै अस्तित्व थिएन र छैन तेसैले पुष्टि गर्छ हिन्दु आर्य हरुले स्थानीय आध्यात्मिक दर्शन र भौतिक ज्ञान लाई आफ्नो ईच्छा पूर्ति हुने संहिता को आवरण राखेर आफ्नो बनाएका हुन् तेस्मा मुख्य आवरण मनुस्मृति हो भन्दा फरक नपर्ला l.





ज्वाजलाप्पा सकासिता ज्यु को प्रतिकृया यस्तो छ: 

हा हा हा हा, जति बुझ्न भ्याए, त्यति लेखे जस्तो लाग्यो । स्वस्थानीको कुरा र देविपुराणको कुरा कहाँ मेल खाएको छ, अत्तोपत्तो देखिन्न । यो लेख अपुरो अध्ययनको नतीजा हो, अध्ययन पुरा गर्न सामाग्री जुटाउने उद्देश्य लुकेको छ । स्वस्थानीमा नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न साँच्चै सोचनीय छ । नेवार समाजका स्यस्य: (श्रेष्ठ) हरुमा स्वस्थानी प्रचलित छ, यिनै श्रेष्ठहरु हिन्दुकरणमा चुर्लुम्म डुबेका समुह हुन र बर्मू च्य: बन्दै बाहुनबादको रक्षा गर्न मरिहत्ते गर्ने काममा पनि श्रेष्ठहरु नै अग्र पंक्तिमा छन । नेपालभाषा छोडेर आफ्ना सन्तानलाइ खसभाषा सिकाउनेहरु पनि श्रेष्ठ नै अग्रपंक्तिमा छन । यो सवै हेर्दा स्वस्थानी शायद नेवार समाजलाइ बाहुनबादको चंगुलमा लैजाने अस्त्र थियो कि जस्तो लागेको छ ।



निरोज गुरुङ ज्युको प्रतिकृया भने यस्तो थियो, 

लौन क्यारनी अब ! नगर र समाज बिकासका देउता दक्षप्रजापति हुन् (नामै हेर) जस्को शिर काटेर बाख्राको टाउको जोड्ने शिब जी जो स्वयम् समाजिक ब्यक्ति थिएन्न् लुगा नलगाउने असभ्य, खरानी धस्ने- भाङ धतुरो खाने, भुत-पिचाससँग बस्ने, साप-हड्डीको माला लगाउने, फोहोरी र लट्टा परेको कपाल भएको जोगीले कसैलाई नुहाउन, सफा हुन, झुपडी बनाउन, खेतीपाती गर्न कसरी सिकाए होलान् ! शिब शिब..हरि हरि !!



रामेश्वरी पन्त ज्युको पुरा लेख:



नेपाली समाजमा शताब्दियौंदेखि अत्यधिक श्रद्धापूर्वक व्रत, पूजा र पाठ गर्दै आएको स्वस्थानी व्रतकथाको पुस्तक सर्वप्रथम कहिले र कसले लेख्यो भन्ने कुरा अहिलेसम्म पनि कसैले ठोकुवा गरेर भन्नसकेको पाइएको छैन । नेवारी भाषामा लेखिएको भनिएको स्वस्थानी कथा पक्कै पनि कुनै नेवारले नै लेखेको हुनुपर्छ । त्यसो हो भने नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको

कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न पनि सोचनीय देखिन्छ । जे होस्, नेवारले जे देख्यो, त्यही लेख्यो । तत्कालीन समयमा बाहुन समाजमा हिन्दु धर्म र परम्पराको नाममा महिलामाथि हुने ज्यादती, पतिव्रताका नाममा बाहुन महिलाले सहनुपरेका दुःख, बालविवाह, एकल महिलाले खेप्नुपरेका समस्या, धर्मको नाममा महिलालाई दिइने प्रताडनालाई स्वस्थानी कथासँग जोडिदिएको हुनसक्छ । जे होस्, यी प्रसंगलाई छोडेर स्वस्थानीकै ऐतिहासिक प्रसंगतिर

जानु सान्दर्भिक छ ।

आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि शिव यति धेरै शोकाकुल बन्छन् कि उनलेे सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँंड्दा सतीको देह सडेर अङ्ग-अङ्गहरू विभिन्न ठाउँमा झर्दै जान्छन् र ती ठाउँहरूमा शक्तिपीठहरूको उत्पत्ति हुँदै जान्छ । सतीको अङ्गबाट एकाउन्न शक्तिपीठहरूको उत्पत्ति हुने क्रममा हामीले पढ्दै आएको स्वस्थानी कथामा यस्तो लेखिएको छ, 'पहिले नेपालमा पुग्दा गुह्यपतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी....उत्पत्ति भए ।' यस बाहेक स्वस्थानीमा नेपाल

शब्दको उल्लेख पाइँदैन । बाँकी सबै पीठहरू भारतमा रहेको कुरा स्वस्थानी पढ्दा थाहा लाग्छ । तर के यो नै साँचो हो त ? सतीको पहिलो अङ्ग नेपालमा खसेपछि अरू सब भारतमा कसरी ? के नेपालका शक्तिपीठहरू अतिक्रमित भएकै हुन् त ?

वैदिक वाङ्मयका ज्ञाता मदनमणि दीक्षितकै शब्दमा 'करिब १३०० वर्ष पुरानो स्कन्द पुराण लेखिएको ८०० वर्षपछि मात्र स्वस्थानी कथा लेखिएको देखिन्छ । ई.पू. ३०० (समुद्र गुप्तको समय) को इलाहाबादको स्तम्भमा 'नेपाल' भन्ने शब्द पहिलोपटक लेखिएको पाइएको छ । वैदिक र पौराणिक समयसम्म नेपाल र भारत एउटै सीमाभित्र पर्थे । लिखित इतिहासको कमीले गर्दा पनि स्वस्थानीमा उल्लेखित स्थानहरू नेपालमा पर्थे या भारतमा भन्नेमा कसैले ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । स्वस्थानीको आधार स्कन्द पुराण रहेको र सम्राट अकवरको पालादेखि स्कन्द पुराणमा नेपाल महात्म्य थपियो र स्वस्थानीका प्रसंग पनि यसैबाट लिइएको हो । पुराणहरू भारतमा लेखिए र यी पुराणहरू केही कालसम्म अंग्रेजको कब्जामा रहे । साम्राज्यवादीहरूले इतिहास बङयाउनकै लागि बौद्धिक सम्पत्तिमाथि कब्जा जमाउने हुँदा यही समयमा नेपालको धार्मिक इतिहासलाई पनि बङयाउँदै नेपालका शक्तिपीठहरू भारतमा रहेको भनिएको हुनसक्छ ।'

अर्का वैदिक ज्ञाता महेश्वर जुजु राजोपाध्यायसँगको भेट र उहाँले लेखेको स्वस्थानीको पुस्तकबाट प्राप्त जानकारीका आधारमा स्वस्थानी नेपालको मौलिक ऐतिहासिक धरोहर भएको पाइन्छ । जस अनुसार,

नेपालको टोखा चण्डीश्वरीमा दक्षयज्ञ कुण्ड, चण्डीश्वरी महाकाली र पशुमुण्ड दक्षको मूर्ति अझै पनि रहेको, सतीको पहिलो पीठ 'चरण शक्तिपीठ' देवीकुट थानकोटमा रहेको, यौनाङ्ग (गुह्य) पतन भएको गुह्येश्वरी, स्तनपतन भएको भक्तपुरको स्तन शक्तिपीठ जसलाई दुरुप्पःद्यः भनिन्छ, लगायत ४८ पीठहरू नेपालमै रहेको महेश्वर जुजुको भनाइ छ ।

थिमी कथाबाट लिइएको भनिएको गोमा, नवराज र चन्द्रावतीको कथालाई नेपालको वास्तविक इतिहास भएको र गोमाको माइती फर्पिङको ब्रह्मपुरमा रहेको, साँगा जरन्ताल वनेपाका शिव शर्मासँग गोमाको विवाह भएको, शिव शर्मा मरेको ठाउँ वनेपाको सुन्थानमा विचारी पाटीको अगाडि अझै पनि रहेको, गोमाले पुत्र पाएको ठाउँलाई गोमाडोल भन्ने गरिएको, चन्द्रावतीको माइती वनेपाको वुडोलमा रहेको र नवराज -न्वारनको नाम वन्हीराज) राजा भएपछि भक्तपुरको दत्तात्रयलाई राजधानी बनाएको कुरा उनले स्थापना गरेको तलेजु भक्तपुरको दत्तात्रयमा अझै छ र त्यसको पुजारी अझै पनि राजोपाध्याय बाहुन हुने गर्छन् । नवराज पनि राजोपाध्याय बाहुन रहेको कुरा त्यहाँ संकल्प गर्दा 'वन्हीराज कूल भट्टारक' भन्ने गरिएको बाट प्रमाणित हुन्छ भनेर महेश्वर भन्नुहुन्छ । त्यसैगरी कुष्ठरोग ग्रस्त चन्द्रावतीको उद्धार भएको ठाउँ शालीनदी पनि साँखुमा रहेको र त्यहीं आजपर्यन्त स्वस्थानी मेला लाग्ने गर्छ । यदि यी सब सत्य हुन् भने किन पुराण लेख्ने पण्डितहरूले स्वस्थानीलाई भारतीयकरण गरे ? कतै नेपाली भाषाको स्वस्थानीलाई बनारसका पण्डितहरूले लेखेका त होइनन् ?

स्वस्थानी कथामा शिवलाई एकातिर जोगीको रूपमा देखाइएको छ, त्यो पनि अत्यन्तै घिनलाग्दो जो भूतप्रेत पिशाच आदिले घेरिएर मशानमा बस्ने, खरानी घस्ने, बाघको छाला ओढ्ने, भाङधतुरो खाने, डमरु बजाउने, नाङ्गो, जता पायो उतै हिंँड्ने असभ्य र जंगली खालको संन्यासी । यतिसम्म नशेबाज र गैरजिम्मेवार रूपमा प्रस्तुत गरिएको छ कि छलपूर्वक भए पनि सतीदेवीसँग बिहे हुने भएपछि पनि समयमा दक्ष प्रजापतिको घरमा पुग्नुपर्ने महादेव बिहेको लगन गुज्रनै लाग्दासम्म भाङको नशामा लठठएर आफ्नै बिहेको दिन बिर्सेका छन् र ढिलोगरी दक्षको घर पुगेका छन् । फेरि सतीदेवीलाई दुलहीको रूपमा घरमा ल्याएपछि पनि उनी एउटा गैरजिम्मेवार पति बन्दै सतीदेवीलाई झुपडी देखाएर 'भित्र जा' भन्दै आफू तत्काल बाहिरै भाङ खाएर चार दिनसम्म बेहोश बनी लडेका छन् । भाङै नशामा आफ्नी पत्नी पार्वती रावणलाई दिएर पठाएका छन्, जालन्धर पत्नी वृन्दाको सतित्व नष्ट गर्न विष्णुलाई आदेश दिएका छन्, पाँच वषर्ीया अबोध बालिकालाई ढिलो भिक्षा दिएको निहुँमा भयानक श्राप दिएका छन् ।

अर्कोतिर शिवलाई भोगी अर्थात् सधैंजसो यौनकर्ममा लिप्त रहने पुरुषको रूपमा चित्रित गरिएको छ । पार्वतीसँग विवाह गरेपछि संसारै बिर्सिएर कैयौं दिनसम्म पार्वतीसँग यौनकर्ममा लिप्त रहेको र अति भएपछि देवताहरूले अग्निलाई पठाएर महादेव-पार्वतीको एकान्त यौनिक जीवन बिथोलेको, पार्वतीबाट मात्र सन्तुष्ट नभएर कहिले मृगरूप लिएर मृगिणीहरूसँग त कहिले हाँसको रूप लिएर हँसिनीहरूसँग रमाएको घटना कथामा प्रस्तुत गरिएको छ । त्यति मात्र नभएर महादेवलाई अर्काका स्त्रीहरू लिएर हिंँड्ने चरित्रहीनको आरोप पनि लगाइएको छ । सतीदेवीको मृत्युपछि मानसिक सन्तुलन गुमाएर नाङ्गै हिंँडेका शिवको लिङ्ग देखेर आफ्ना ऋषिपतिहरूबाट यौन अतृप्ति खेपिरहेका ऋषिपत्नीहरू शिवको पछि लागेर गएकोमा ऋषिहरूले शिवलाई दोषी देख्दै उनको लिङ्गपतन हुने श्राप दिन्छन् ।

के आज करोडौं हिन्दुहरूले अत्यन्त आस्थापूर्वक पुज्दै आएका देवाधिदेव महादेव साँच्ची नै यस्ता गैरजिम्मेवार र घृणित चरित्रका थिए त ? किन यसरी प्रस्तुत गरियो उनलाई ? हुनसक्छ, शिव अनार्य थिए र उनलाई आर्यहरूले मनपराउँदैनथे । स्वस्थानीको आधार स्कन्द पुराण भएकोले र पुराणहरू बाहुन पण्डित (आर्य) हरूले लेखेका हुनाले यसरी शिवलाई गलत किसिमले प्रस्तुत गरेका हुन सक्छन् ।

महेश्वर जुजु भन्नुहुन्छ, 'स्वस्थानी कथा नेपालको आदिकालीन इतिहास भएकोले यसको कुनै लिखित प्रमाण छैन, नत कुनै शिलालेख नै पाइन्छ । त्यसैले श्रुति परम्परामा विश्वास गर्नुपर्ने हुन्छ र यसैलाई स्रोत मान्नुपर्ने हुन्छ । पार्वतीसँग विवाह भएपछि महादेवले हिमालयसँग पार्वतीले आफूलाई पतिरूपमा प्राप्त गर्नका लागि कठिन तपस्या गरेको हुँदा उनको तपस्या र प्रेमको सम्मान गर्दै पार्वतीले तपस्या गरेको स्थानमा नै बस्ने इच्छा प्रकट गरे र शिव-पार्वती पाशुपत क्षेत्र देवपाटनमा बस्ती बसाएर बस्न थाले ।

महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरू सारै फोहोरी देखेर उनीहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । 'फोहोर तिमीहरूको जन्मजात गुण होइन, तिमीहरू पनि सफा बन्न सक्छौ' भन्दै उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातहरूका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न

सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । यसरी महादेव र पार्वतीले किरातहरूलाई सभ्य बन्न दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो ।'

यसरी एकातिर स्वस्थानीमा महादेवलाई असभ्य रूपमा प्रस्तुत गरेको पाइन्छ भने देवी पुराणअनुसार महादेवलाई सभ्य र ज्ञानीको रूपमा पाउन सकिन्छ । आखिर सही रूपमा महादेव (शिव) को थिए त ? भन्ने विषयमा थप अध्ययन जरुरी देखिन्छ ।

स्रोत: कान्तिपुर अनलाई जनवरी १०, २०१५ शिर्षक "स्वस्थानीका शिवजी" http://www.ekantipur.com/np/2071/9/26/full-story/401798.html

sag

  • VIP
  • ******
  • Posts: 742
महिला र बालशोषणको फन्टुस् ग्रन्थ स्वस्थानी
 
-सावित्री गौतम

यतिखेर श्रीस्वस्थानी व्रतकथाको मौसम छ । पौष शुक्ल पूणिर्मादेखि हातखुट्टाका नङ काटी 'शुद्ध चित्त'ले हजारौं नेपाली महिला कठोर व्रत बसिरहेका छन् । हामीलाई आफूले पढ्ने सबैजसो धर्मग्रन्थका रचयिताको नाम थाहा छ, भगवत गीताका रचयिता श्रीकृष्ण र महाभारतका रचयिता वेदव्यास भनेजस्तै तर लेखकको नामथर नै थाहा नभई वर्षौंदेखि यति श्रद्धापूर्वक पढिने ग्रन्थ सायद स्वस्थानीमात्रै होला । प्रत्येक सहरका प्रत्येकजसो एफएम रेडियो स्टेसनले समेत आफ्ना नियमित कार्यक्रमको समय कटौती गरेर यो 'सिजन'मा स्वस्थानी व्रतकथा बजाउँछन् ।

कथामा बारबार 'हजार जिब्रो भएका शेषनागले पनि बयान गर्न नसक्ने' भनिएकी 'स्वस्थानी माता'को 'अभूतपूर्व' महिमा वर्णन गर्दै श्रीस्वस्थानी मातालाई एउटामात्रै पनि नराम्रो शब्द प्रयोग गरेमा उक्त व्यक्तिले घोर दुःख पाउने चेतावनी पनि उदाहरणसहित धेरैचोटी दिइएको छ । घर-घरमा स्वस्थानी महिमा गाइरहिएको यो बेला पत्रपत्रिका र सामाजिक सञ्जालमा भने स्वस्थानी माताले दिने 'घोर दुःख'को परवाह नगरी कथाको बयान हजारौं व्यक्तिले आ-आफ्नै तरिकाले गरिरहेका छन् । कथा अत्यन्तै असान्दर्भिक र वाहियात भन्ने टिप्पणीहरू वर्षैपिच्छे यो समयमा आइराख्छन् । कान्तिपुरमै केही अघि रामेश्वरी पन्तले सती प्रथासँंग यसको सम्बन्ध केलाएर लेखिसक्नुभएको छ । कसै-कसैले 'कुनै धर्मप्रति विशेष आसक्ति नभए पनि श्रीस्वस्थानी व्रतकथालाई गाली गरेर आफूलाई बढी 'मोडर्न' बन्ने शोख नभएको' भन्ने व्यंग्यात्मक टिप्पणी गर्दै त्यसको विरोध पनि गरेका छन् ।


केही अघि एकजना फेसबुक मित्रले हाम्रा धर्मशास्त्रहरूमा देखिएका अवैज्ञानिकताबारे लेखेका स्टाटसमा मैले स्वस्थानीलाई 'फन्टुस ग्रन्थ' भनेर 'कमेन्ट' गरेकी थिएँ । त्यसप्रति एकजना व्यक्तिले निकै क्रुद्ध भएर 'म्यासेज' गरे, 'तपाईंजस्ता 'गाई खाने विद्या' पढेका मान्छेले गर्दा नै हाम्रो धर्मसंस्कृति बिग्रेको हो, आफ्नो धर्मसंस्कृतिलाई गाली गरेर खुब ठूलो भएको ठान्नुहुन्छ' भन्दै । 'म्यासेज'को जवाफ दिएर निरर्थक बहसलाई लम्ब्याइराख्न जरुरी ठानिन मैले । अंग्रेजीलाई 'गाई खाने विद्या' भनिने हामीकहाँ अंग्रेजी साहित्यमै एमए गरेकी म स्वाभाविक रूपमै गाईखाने विद्या पढेकी भइहालेँ ।

स्वस्थानी व्रतकथा व्यक्तिगत रूपमा मलाई 'फन्टुस' लाग्नुको कारणमा मैले अंग्रेजी विषय पढ्नु कुनै कोणबाट पनि जिम्मेवार छैन । पूर्वीय धर्मसंस्कृतिका कैयौं सुन्दर पक्षहरूलाई म सम्मान गर्छु, पालना गर्छु र आफू पूर्वीय भएकोमा कुनै ग्लानि पनि छैन । कलेजमा विभिन्न लेखकका कृतिहरूलाई विभिन्न दृष्टिकोणबाट विवेचना गर्ने बानी परेकाले हो कि सानोमा श्रद्धापूर्वक पढ्दै आएको श्रीस्वस्थानी व्रतकथालाई मैले ठूली भएपछि नारीवादी र बाल अधिकारवादी दृष्टिले हेर्दा अत्यन्तै अमानवीय र क्रूर पाएँ । असहायका रक्षक भनिने भगवानहरूले नै आफ्ना पतिलाई अगाध माया गर्ने महिलाको बलात्कार गरेको, अबोध बालिकालाई असह्य यातना दिएको, अहंकारले चुर भएर आफ्नै नाबालक सन्तानको हत्यासम्म गरेको प्रसंग वर्षौंसम्म पढ्दा मेरो मनमा श्रीस्वस्थानी व्रतकथाप्रति आजको मितिमा एक प्रतिशत पनि श्रद्धा बाँकी छैन । 
श्री स्वस्थानी व्रतकथाकी एउटी पात्र सतीदेवी मेरो नजरमा कथाभरि सबैभन्दा धेरैचोटी अपमानित भएकी पात्र हुन् । पिता दक्षप्रजापतिले  आफ्ना ३३ कोटी छोरी ३३ कोटी देवतालाई बिहे गर्दिएर सबभन्दा जेठी सतीदेवीलाई चाहिँ आफ्नो सम्पत्तिको रेखदेख गर्ने भन्दै अविवाहित राख्छन्, जसले सतीदेवीको वयस्कताको अधिकारलाई सिधै नकारेको छ । उनलाई बिहे गर्ने मन पो थियो कि त्यस्ता सुन्दर देवतामध्ये कुनै एकसँग ? दक्षप्रजापतिले आफूलाई छोरी नदिएर महादेव आहत भएपछि उनका हितैषी विष्णुले आफ्नालागि भन्दै मागेर छलपूर्वक सतीदेवीको हात विवाह मण्डपमै महादेवको हातमा दिँदा उनी फेरि अपमानित हुन्छिन् ।

छलपूर्वक बिहे गरेर घर पुर्‍याएपछि सतीदेवीलाई त्यसै छाडेर महादेव भाङधतुरो खाएर ३ दिनसम्म बेहोश भएर सुत्छन् र उठेपछि 'सतीदेवीको चरित्र विचार गर्न' भन्दै 'लोग्नेलाई भोकै बाहिर राखेर आफू मीठो-मीठो खाने दुष्ट स्त्री' भन्दै अपमानित गर्छन् । कोसौं हिँडाएर ल्याएकी नौली बेहुलीलाई घरभित्र पनि नभित्र्याई तीन दिन लागूपदार्थ खाएर लड्ने महादेवको चरित्र खराब हो कि सुतेका पति उठ्ने पर्खाइमा तीन दिन भोकै, अनिँदै बस्ने सतीदेवीको ? अन्त्यमा आफ्नै पिताले महादेवको अपमान गरेको सहन नसकेको कारण सतीदेवीले प्राण त्याग गरेको वर्णन छ । अर्को जन्ममा पार्वती भएर जन्मेर 'महादेव पति पाउँ' भनेर वनमा कठोर तपस्या गरेकी उनलाई फेरि पनि 'चरित्र विचार गर्न' भन्दै विष्णुको रूप लिएर दर्शन दिएर परीक्षा लिन्छन् महादेवले ।
सबैभन्दा कम चर्चा हुने अर्की शोषित पात्र हुन्, दैत्यराज जालन्धरकी पत्नी वृन्दा । अखण्ड पतिव्रता वृन्दाको सतीत्वले जालन्धरलाई युद्धमा हराउन नसकेको भन्दै महादेवले विष्णुलाई वृन्दाको सतीत्व हरण गर्न पठाउँछन् । जालन्धरकै रूप धारण गरेका विष्णुले वृन्दासँग शारीरिक सम्पर्क गरेर 'जुठ्याए'पछि कायरतापूर्वक देवताहरूले युद्ध जित्छन् । बलात्कृत वृन्दाचाहिँ सतीत्व हरण भएर 'बिटुली' बन्छिन्, तर बलात्कारी विष्णु भने चोखै रहन्छन् । दुःखित, अपमानित वृन्दाले 'घाँस, ढुंगा, रुख आदि बन्नुपरोस्' भनेर विष्णुलाई श्राप दिन्छिन् । तर धूर्त देवताहरूले पवित्र तुलसी, पीपल, शालिग्राम आदिमा विष्णुको वास गराएर श्रापको कठोरतालाई कम गराउँछन् । विडम्बना, युद्ध जित्नलाई कसैको सुखी गृहस्थी उजाड्ने, एउटी निर्दोष महिलाको बलात्कारसम्म गर्न तयार हुने 'भगवान'को यो घृणित 'बहादुरी'को बयान गरिएको स्वस्थानीको व्रत महिलाले नै लिन्छन् ।

सबैभन्दा कारुणिक प्रसंग हो, गोमा ब्राह्मणीको । उनका पिता शिवभट्टको धर्मको प्रतापले इन्द्रको आसन डगमगाउँछ र आफ्नो सत्ता जोगाइराख्न, शिवभट्टलाई स्वर्गका राजा हुन नदिन इन्द्रले महादेव गुहार्छन् । उनलाई धर्मच्युत गराएर इन्द्रको आसन बचाउनका लागि ७ वर्षकी अबोध बालिका गोमामात्र घरमा भएको बेला भिक्षा माग्न गएर भिक्षा दिन ढिला गरेको बहानामा श्राप दिएर महादेवले एकातिर शिवभट्टलाई स्वर्गका राजा हुनबाट रोक्छन् भने अर्कोतिर ७० वर्षका वृद्ध शिवशर्मा र ७ वर्षकी बालिका गोमा बीचको अति अनमेल विवाह गराउँछन् । भिक्षा दिनलाई विलम्ब गरेकोमा अबोध गोमालाई निर्दयतापूर्ण श्राप दिने महादेव आफूले चाहिँं पार्वतीसँग 'एकान्त गरिरहेको' बेला भिक्षा माग्न आएर 'डिस्टर्व' गरेकोमा अग्निलाई आफ्नै वीर्य दिएर पठाएको सम्मको निर्लज्जताको प्रसंग पनि पाइन्छ, स्वस्थानीमा । अक्क न बक्क परेका अग्निले उक्त वीर्यलाई पहिला निल्छन्, पछि त्यसको ताप सहन नसकी नदी किनारमा ओकलेका र त्यसलाई आगो ठानेर तापेर गर्भवती भएका सप्तऋषिका निर्दोष पत्नीहरूले फेरि आफ्ना पतिहरूबाट श्राप पाएको प्रसंग पनि छ ।

अर्को एउटा प्रसंगमा पार्वतीले बुकुवा घसेर निस्केको मयलबाट बनाएको मानव आकृतिमा प्राण भरेर त्यसलाई आफ्नो पुत्रको रूपमा मानेर आफू नुहाउन जान्छिन् । 'कसैलाई पनि भित्र पस्न नदिनु' भनेर गएकी आफ्नी आमाले बनाएको नियमको आज्ञाकारी भएर पालन गरिरहेको उक्त बालक गणेशलाई बाहिरबाट आएका महादेवले चिन्दैनन् । एकछिन पत्नी पार्वतीलाई कुर्ने धैर्यसम्म नगरी महादेवजस्ता भगवानले आफ्नै नाबालक सन्तानको हत्यासम्मको जघन्य कुकर्म गर्छन् । पछि फेरि गणेशलाई ब्युँताउन अर्को निर्दोष जनावर हात्तीको हत्या गर्न लगाउँछन् । कथाभरि जताततै विना कसुर श्रापित हुनेमा महिला र बालबालिका मात्रै छन् । बिना कसुर नाबालकको हत्यासमेत भएको छ । अनेक जालझेल र अन्याय गर्ने, अबोध बालबालिका र निर्दोष महिलामाथि कुकृत्य गर्ने, हत्यासमेत गर्ने कथित देवताहरूको चाहिँ जयजयकार मात्रै पाइन्छ । उल्टै अन्यायमा परेकाहरूले नै 'कुनै पापको कारण यो दुःख भोग्नुपरेको र यसबाट पार लगाउने' भन्दै 'श्रीस्वस्थानी माता'को व्रत गरेको उदाहरण दिइएको छ, यत्रतत्र ।

धर्मसंस्कृतिकै नाममा क्रूरता, अन्याय र परिवारसँग बसेर पढ्नै लाज लाग्ने निर्लज्जताका कैयौं प्रसंगहरूलाई श्रद्धापूर्वक महिनाभरि पढिने यो प्रचलनमाथि टिप्पणी गर्न कुनै 'घोर दुःख' दिने माताको या 'गाई खाने विद्या पढेर जान्ने भएको' भन्ने व्यक्तिहरूको डर कम्तीमा म चाहिँ मान्दिन । यस्ता अवैज्ञानिक र अन्यायपूर्ण कथावाचनको प्रचलनमाथि अब बहस र पुनर्विचार हुनुपर्ने बेला भइसकेको छ । -कान्त्तिपुर


सन २०१४

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानी, हिंसा र आजका महिला

Posted on June 11, 2013

(महालक्ष्मी सिलवाल)

पौष शुक्ल पुर्णिमा देखि हामी नेपालीहरुले घर–घरमा स्वस्थानीे भन्ने र सुन्ने गरेका छौ । हामी मध्ये कतिले व्रत बसेर सालीनदीमा नुहाएर यसको विधि पनि पुरा गरिरहेका छौ । हाम्रा हजुरबा, जिजुहजुर बाको पाला भन्दा धेरै अगाडी देखि सुन्दै आएको स्वस्थानीको कथा हामीले आजसम्म पनि सुनिरहेका छौ र पछाडी कहिलेसम्म यसले निरन्तरता पाउँछ थाहा छैन । स्वस्थानीका केही पात्र प्रति हामी हिजो पनि सहानुभुति व्यक्त गथौ । आज पनि र सायद भोली पनि गर्ने छौ । तर केही पात्र प्रति हिजो पनि हामी क्रोधित थियौ । आज पनि छौ र सायद: भोली पनि रहने छौ । स्वस्थानी सुने पछि केहीदिन सम्म त मरिमेटेर हामीले बिहानबेलुका पुज्ने गरेका आराध्य देव शिव र विष्णुप्रति घृणाले हेरेका पनि छौ होला । अझ कसैको मनमा त सतीदेवीलाई झुर्काएर महादेवको हातमा पार्ने । जालन्धरको रुप लिगेर विन्दाको अस्मिता लुट्ने विष्णु अहिले थिए भने महिला हिंसामा उजिरी दिने, मुद्या हाल्ने र जेलका चिसो सिडीसम्मको यात्रा गराउँथे भनेर भित्र–भित्रै भुटभुटीन्थ्यौ होला । त्यति मात्र होइन इन्द्रको कुरा सुनेर गोमालाई जालझेलको राजनिती गरेर सराप दिने पछि आफै वृद्ध बनेर विवाह गर्ने । अन्तिममा गोमालाई गर्भवती बनाएर भाग्ने र किराँती रुप धारणा गरेर बसेकी पार्वतीलाई देखे पछि आफु विवाहिता भनेर बिर्सने शिवलाई पनि भेटाए चरित्रहिन भनेर सजाय दिन अनेक कोषिश गथौ होला ।

स्वस्थानीमा यी दुई पात्रको चर्चिकलाले स्वस्थानी प्रति धेरै वितृष्णा जाग्ने गर्छ । यी दुई पात्रलाई वास्वतमा कतिले आजका उन्मक्त पुरुषत्वसँग तुलना पनि गरेका छौ होला । गंम्भीर भएर हेर्ने हो भने उनीहरुले पनि शक्तिको आडमा उदण्ड प्रविद्धी देखाएका छन् । स्वस्थानीमा विन्दा पूर्ण रुपमा निर्दोष छिन् । उनले कही कतै त्यस्तो अपराध गरेकी छैन । त्यति मात्र होइन । उनीमा नारी प्रति इष्र्याको भाव पनि छैन । उनले म भन्दा सुन्दरी त पार्वती छिन् भनेर नतमस्तक स्वीकार गरेकी छिन्  । गोमाले पनि बुबाआमाको आदेस पालना गरी आज्ञाकारी छोरी बनेकी थिइन् । तर दुवै पात्र प्रति सृष्टिका मै हुँ भन्नेहरुबाट जालझेल र झुटमुटको सहारामा हिंसा गरिएको छ । हिंसा गर्नुको पछाडी के कारण थियो भन्दा पनि महिला माथि नै किन हिंसा गरियो भन्ने प्रश्न महत्वपूर्ण छ । हो, जालन्धरले पार्वतीको परिक्षा लिन खोजेर अपराध गरेका हुन् । तर यसको सजाय विन्दालाई किन दिइयो ? गोमाले बाबुआमाले गरेको पूर्य कामको किन त्यत्रो सजाइ पाइन् ? एउटा अबोध बालिकलाई ७० वर्षको बृद्धले विहे नगरिदए मर्छु र सराप दिन्छु भन्न कसरी सक्छ ? यहाँ नारीलाई एउटा वस्तुको रुपमा प्रयोग गरिएको छ ।
स्वस्थानी सुनेर त हामी महिला हिस्सा प्रति क्रोधित हुन्छौ । तर वास्तव मै हिजोआज पिडित महिला माथि के हुन सकेको छ त ? आधा भन्दा बढी जनसंख्याको भाग ओगटेको महिलाहरु हिजोआज स्वस्थानीको भन्दा हजारौ गुणा पिडित छन् । खोइ त ∕ हामीले सजाय दिन सकेको । खोइत ∕ हाम्रो आक्रोष ? महिला हिस्साको विरुद्धमा काम गर्ने र मावनअधिकारमा अग्रसर हुनेहरुले खोइ  कहाँ देखाए आफ्नो भुमिका ? केही समय अगाडी भारतको दिल्लीमा भएको दामिनी काण्डले त्यहाँ माथिल्लो स्थर मै ठूलो हलचल मच्चायो । तर नेपालमा इलामको चियाबगानमा भएको त्यस्तै काण्ड खोइ कहाँ बिलायो । कसले बुझे उनको चित्कार र वेदना । माइती फर्के कि सीता राई माथि भएको बलात्कार र ठगीमा उनलाई एक लाख ५० हजार दिएर थमाउन खोजियो । के यतिमा बलात्कार गर्न पाइन्छ ? यसले त हुनेखानेका लागि बलात्कारको ढोका सधै खुला छ भनेर देखाउन खोजे जस्तो भएन ? गोमाले ७० वर्षको बुढासँग विहे होस् भनेर सराप पाउँदा वर्षै पिछे सुनेको स्वस्थानीको कथा सुन्दा आज पनि हाम्रो आखाँ भरिन्छ । त्यो कथा मात्र हो कि यर्थाथता हो हामीलाई थाहा छैन । तर हाम्रो सुन्ने र रुने क्रम जारी नै छ । आज पनि मनमनै रिसाउँछौ । धर्म गन्थमा पनि महिला पीडित र अपहेलित भनेर कुर्लिन्छौ । तर छ, सात वर्षका गोमा रुपी नानीहरु सधैजसो आफ्नै हजुरबा पर्ने, बाबु पर्ने र दाजु पर्नेले बलात्कार गर्दा खोइ त कहाँ गयो ? हाम्रो डाह र पीडा । कति झरे हाम्रो आशु ? हामी भगवानको पाला देखि नै महिला हिंसा भएका थिए र अहिले पनि छन् भनेर भाषण दिन सक्छौ । तर यसलाई दिर्घकालिन रुपमा कम गर्ने संसन्त्र तिर हामी किन मौन छौ । कथा सुनेर भावविभोर हुने हामी वास्तविक जीवनमा घटेका यस्ता मुटु चिर्ने घटनालाई किन अन्सुनि गछौ ? हामी महिला एक जुट हुन किन सक्दैनौ ? समाजमा हुने यस्ता जघन्य अपराध किन घट्नुको साटो बढ्दो छ ? यस्ता गहन विषयमा घोरिन कहाँ गए यो देशका अभियन्ता र नियम कानुनका प्रनेता ।

दैनिक जसो राजधानीका सडक, गल्ली र गगनचुम्मी भवन देखि गाउँका झुपडी, छहारी, पँधेरी र गोरेटासम्म च्यातिन्छ चोली र लुटिन्छ नारी अस्मिता । गुजिन्छ नारी चित्कार र बग्छ आशुको भेल । तर पनि अझै महिला हिंसाको दोषी महिला नै मान्ने परम्परा छँदै छ । बलात्कार शब्दसँग अपरिचीत बालिका बलात्कारको शिकार हुन्छिन् । जब बुझ्ने हुन्छिन् तब कस्तो मानसिक असर पर्छ । ती बालिकामा र उनले  कस्तो दृष्टिकोण राख्लिन् पुरुष र समाज प्रति कसैले त्यताँ ध्यान दिएको छ ? तर अहिलेसम्म यो देशमा नियम कानुन केबल किताबका पाना भर्न मात्र सिमित भएको देखिन्छ । ‘त रोए जस्तो गर म कुटे जस्तो गछुर्’ भन्ने प्रविद्धीमा बलात्कारी र अभियन्ताहरु रहेका देखिन्छन् । यी सबै कुराले त मानौ महिलाहरु खेलौना नै हुन जसरी, जहाँ र जुन ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भन्ने देखिएको छ ।

महिला हिस्सा विरुद्ध चालेको अकुपाइ बालुवाटारको कार्यक्रमले किन प्रभावकारी बन्न सकेन ।  जनसंख्याको यस्त्रो हिस्सा ओगटेको महिला माथि हुने अत्याचारको विरुद्धमा उठेका आवाज किन सुनिदैन । आफुलाई न्यायको मुर्ति सम्झिने र आफ्नी छोरीलाई केटाहरुले प्रेम प्रस्ताव गर्दा जेलमा पुयाउन सक्ने प्रधानमन्त्री बाबुराम भट्टराईले किन नेपाली चेलीको अस्मिता लुटिदा टुलुटुल हेर्छन् । जबसम्म महिला माथि हुने यस्ता हिंसाका विरुद्ध आजिवन जेल वा फाँसीको सजाय हुँदैन तबसम्म यो रोकिने छै्रन । यदि सरकारले त्यता नसोच्ने र महिलालाई मन्दिरमा सजायको मूर्तिको रुपमा कि त, देवी कि त दासीको रुपमा लिने मात्र हो भने एक दिन महिलाहरुले साँच्नी नवदुर्गा र महाकाली बनेर खुडा र खुकुरी भिरे भने के होला ?

जबसम्म समाजमा नारीलाई सम्मानको दृष्टिले हेरिन्न तबसम्म समाजले गति लिन सक्दैन । अहिलेको सरकार, न्यायका मूर्ति र मानवअधिकारका चर्को भाषण गर्नेले ठूला होटलमा गएर होइन । यर्थातताका धरालतमा ओर्लर आफ्नै सन्तानबाट यस्ता गल्ती भएपनि अपराधी हो भनेर जबसम्म मान्दैन । नातावाद र कृपावादको दयामा अपराधी खुलेयाम हिड्छ । तबसम्म यस्तो हिंसाले प्रसय पाइरहन्छ । जबसम्म महिलालाई फुल सम्झेर मारुरी र पुतली हँु भनेर खतिनेहरुलाई मुत्युदण्ड, फाँसी र आजीवन जेलको चिसो सेडीमा कोचिन्न । त्यति बेलासम्म जसले जति भाषण दिए पनि सबै एउटा मिथ्या भ्रम मात्र हुने छ । त्यसैले अहिलेको सरकारले आफुलाई वास्तमै आफुलाई न्यायको तराजु मान्ने हो भने कठोर बन्नै पर्छ र अपराधीलाई सजाय दिनै पर्छ । त्यस्तो सजाय कि फेरि अर्को कुनै व्यक्तिले त्यस्तो अपराध गर्ने सम्बन्धमा सपनासम्म पनि कल्पना गर्न नसकोस् । साथै अर्को तर्फ आजका महिलाहरुले आफुलाई क्रिम पाउडर र सुविधा मुखिमा हुनमा मात्र सिमित नराखेर आत्मानिर्भर र स्वाभिमानको जिन्दगी रोज्न आवश्यक छ । त्यसका लागि हर भागदौडको परिक्षा र कठिनाइ पार गर्दै आफुलाई शिक्षित र मजुबत बनाउन जरुरी छ । जसले गर्दा कुनै पनि परिस्थीतिमा कसैले पनि नारी अस्मिता र अस्तिव माथि गिद्धे आँखा लगाउने हिम्मत गर्न नसकोस् ।

२०१३

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानी माहात्म्य र महिला
यमुना अर्याल
 
गत सोमबारदेखी नेपाली हिन्दु धर्मावलम्बीहरूको घरघरमा श्री स्वस्थानी व्रतकथा सुरु भएको छ । पुस शुक्ल पूणिर्माका दिनदेखि सुरु भएको यो व्रत माघ शुक्ल पूणर्ँीमासम्म जारी रहन्छ । परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि श्री स्वस्थानीको व्रत वसेको थिइन भन्ने पौराणिक आख्यान छ । त्यसैको सम्झनामा हिन्दु नारीहरूले अहिले सम्म पनि एक महिनासम्म व्रत बस्ने गर्छन । यतिबेला खासगरी काठमाडौको शाँँखुस्थित शाली नदीमा एक महिनासम्म निकै चहलपहल हुनेगर्छ । विशेष गरी मनोकाङ्क्षा पुरा होस भन्ने हेतुले महिलाहरू एक महिने वर्त बस्ने गर्छन । स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन भने अविवाहिताहरूले योग्य बर पाऊँ भन्ने कामना गरेर व्रत बस्ने गरेको पाइन्छ ।

एकाथरी महिलाहरू स्वथानीको व्रत बसेपछि मनोकाङक्षा पूरा हुन्छ भन्ने मान्यतामा कठोर व्रतमा लिन हुने गर्दछन् भने अर्काथरी महिलाहरू जो आफुलाई शिक्षित र आधुनिक क्रान्तिकारी शैलीको भन्न रुचाउँछन उनीहरूको यसमा बेग्लै टिप्पणी छ । समयसापेक्ष स्वस्थानीको व्रतकथामा पनि परिवर्तन हुनुपर्छ, कतिपय अध्यायहरूमा महिलालाई होच्याउने खालमा शब्दाबलीहरू प्रयोग गरिएका छन, कतिपय सन्र्दभमा कल्पनासम्म गर्न नसकिने सन्र्दभलाई जोडेर नारी जातिको अपमान गर्न खेाजिएको आरोप उनीहरूको छ । धर्म र महिला एकआपसमा जोडिने शब्दावली जस्तै हुन् । हरेकजसो धार्मिक सवालमा महिलाको धेरथोर पक्ष जोडिएकै हुन्छ चाहे त्यो नकारात्मक पाटोबाट होस चाहे सकारात्म्ाक । आधुनिक महिलाहरूले भनेजस्तो पुरातनवादी संस्कारलाई नबुझेर हिन्दु महिलाहरू स्वस्थानीको व्रत बस्छन या स्वस्थानी व्रतकथामा उल्लेख भएअनुरूप मनोकाङ्क्षा पूरा हुने हेतुले व्रत बस्छन यो थप अनुसन्धान र खोजीको विषय बन्न सक्ला ।

पुस्तान्तरले पनि निकै प्रभाव पार्छ कतिपय सन्दर्भहरूमा । हजुरआमाको पुस्ताले व्रतकथामा उल्लेख भएको हरेक कुरा सत्य भन्छ । आमाको पुस्ताले हामीभन्दा पाको हजुरआमा हुनुहुन्छ उहाँले भनेपछि पक्कै हो भन्छ , छोरी बुहारीको पुस्ता यस्ता कुरामा को अल्भिmएर बस्छ भन्न समेत बेर लगाउँदैनन । चेतना र बुझाइले पनि फरक पार्छ धेरैहदसम्म । धर्म भन्ने संस्कार नभई अनुशासनमा बाँध्ने एउटा महत्त्वपूर्ण कसी पनि हो । नेपाललाई राजनीतिक दलहरूले धर्म निरपेक्षताको पगरी गुथाए, अझैँ माओवादीले त धर्मलाई अफिमको रूपमा चित्रित गर्‍यो । मान्छेको आस्था हो, माओवादीले धर्मलाई अफिम भन्दैमा , उसले धर्म नमान्दैमा धर्ममा कुनै कमी आएको छैन । अहिले पनि आराध्यदेव पशुपतिमा उस्तै भिडभाड हुन्छ । अन्य तिर्थस्थलमा पनि समय सन्र्दभ अनुसार उल्लेख्य भीड हुन्छ । चाडवाड नमान्ने हुङकार गरे पनि मानिआएका चाडबाड कुनै नेपालीले मान्न छोडेका
छैनन । आखिर सस्कार न हो समाजमा बसेपछि सस्कार नभन्दा प्रभाव अवश्य पर्छ । त्यसको यस्तै स्वस्थानी व्रतकथालाई पनि वाइहृयातको संज्ञा दिनेहरू धेरै छन । एकाद ठाउँमा साच्चिकै महिलाको बारेमा अलि बढी नै उल्लेख गरिएको रहेछ स्वस्थानी व्रतकथामामा । यसो भन्दैमा यो सस्कार नै गलत हो, मान्नै हुँदैन, महिलाहरूलाई अपमान गरिएको छ भन्नै सुहाउँदैन । बरु समयसापेक्ष परिमार्जन गर्न सकिएला तर पूरे हटाउन पक्कै सकिँदैन ।

यद्यपि स्वस्थानी व्रतकथामा हिमालय पुत्री पार्वतीको त्याग समेटिए पनि महिलालाई खासै महत्त्व र उचित स्थान दिइएको छैन । महिलालाई केवल पुरुषको भोगचलन गर्ने बस्तुको रूपमा बढी स्थान दिइएको छ । जस्तै, सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मितछोरा पनि नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाईदिनु भन्ने उल्लेख छ तर छोरीलाई दिनु भन्ने कहीँकतै उल्लेख गरिएकेा छैन । आखिर खोलाभन्दा पनि टाढाको रहेछ स्त्री अर्थात् छोरी भन्ने जात । कस्तो विडम्वना , महिलाले एक महिनासम्म कठोर व्रत बस्ने उनै महिलाले व्रतको प्रसादी महिलालाई दिन नहुने साच्चिकै अन्याय नै भएकेा होइन र ? व्रतकथाकेा एक ठाउँमा भनिएको छ , कुनै पनि स्त्रीले यदि आफ्नो पतिलाई रिस गर्छे भने ऊ डेरी हुन्छे । पतिको वचन मान्दिैन भने ऊ पापी हुन्छे । पतिको मुख लागि वा पतिलाई गाली गरी भने ऊ लाटी हुन्छे, पतिलाइर्् नदिई एक्लैले कुनै खानेकुरा लुकाएर खाएमा कुकुर्नी हुन्छे । यस्तै यस्तै उल्लेख गरिएको छ । त्यसैले यसतर्फ पनि ध्यान जानुपर्ने देखिन्छ । यसैले यस्तो प्रसङग भने निश्चय पनि राम्रो होइन । त्यसैले यसतर्फ भने अर्थात् यस्ता प्रसङगलाई समय अनुसार सुधार गर्नेतर्फ भने सबैको ध्यान जनै पर्छ ।

धार्मिक आस्था र मान्यता एकातिर होला । धर्म हो भन्दैमा अन्याय र अत्याचारलाई नै शिरोपण गर्नुपर्छ भन्ने पनि छैन । कथामा उल्लेख भए अनुसार दक्ष प्रजापतिकी पत्नी विरणीले तेत्तीस करोड छोरीहरू जन्माएको थिइन भनेको सुन्दा आङै सिरिङ हुन्छ । एकजना महिलाको प्रजनन क्षमता कति भन्नेमा पनि उक्त वाक्यले शंका थपिदिएको छ । त्यस्तै मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा पनि व्रतकथामा उल्लेख गरिएको छ । अग्नीले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरूको गर्भ रहेको भन्ने उल्लेख गरिएको छ । कति सत्य थिए कति थिएनन त्यो ऊ बेलाको कुरा हो तर आधुनिक स्वस्थानी व्रतकथा कस्तो बनाउने भन्नेमा आधुनिक महिलाको राय प्रष्ट भइसकेकेा छैन ।


2012

sag

  • VIP
  • ******
  • Posts: 742
स्वास्थानी व्रतकथा समयानुकूल परिमार्जन र पुनर्लेखन आवश्यक
शुक्रबार, पुस २५, २०७१


मायामितु न्यौपाने

हिन्दू धर्मावलम्बी महिलाहरूका लागि अहिले स्वस्थानी व्रतकथा शुरु भएको छ । तन्मयताका साथ महिलाले व्रत बसेका छन् । यस विषयमा प्रत्येक वर्ष स्वस्थानी व्रत शुरु हुँदा सञ्चार माध्यममा निकै चर्चा हुन्छ । व्रत बस्ने काम पुरुषभन्दा बढी महिलाले गर्दछन् । यसबाट के लाग्दछ भने कतै यो परम्परालाई महिलाले नै बढवा दिइरहेका त छैनन् ।

स्वस्थानी व्रतकथाप्रति प्रश्न उठाउँदै विभिन्न खाले टीका–टिप्पणी गर्नेहरूको ठूलो जमात छ । यस कथामा पुरुषलाई प्रधानता दिएको, महिलालाई तुच्छ ठानिएको भन्नेहरू धेरै छन् । मूलत: स्वस्थानी व्रत बस्न पुरुष विवश भएको पाइँदैन । आफै व्रत बस्ने आफैं कथा सुन्ने, अनि किन पुरुषलाई दोषी मान्ने ? आजको जागरुक समाजमा कुनै पनि पुरुषले महिलालाई ईश्वरको आराधना गर्न, व्रत बस्न, कथा सुन्न बाध्य पार्छन् जस्तो लाग्दैन बरु कतिपय अवस्थामा महिलाले नै पुरुषलाई धार्मिक कार्यमा सहभागी हुन बाध्य बनाउँछन् । महिलाहरूलाई पुरुषले त्यस्तो अनुष्ठान व्रत आदि गर्नबाट रोक्न पनि सक्दैनन् । कुनै पनि पुरुषले महिला स्वस्थानी व्रत बस्दा खानपानमा समस्या भयो भनेर गुनासो गरेको पाइँदैन । बरु यसरी व्रत गर्नुहुन्न, स्वास्थ्यमा समस्या हुन्छ भन्दा घरमा तनाव सिर्जना भएको घटना पाइन्छ । यसबाट महिला स्वयंले आफ्नो खुशी र आत्मसन्तुष्टिका लागि व्रत राखेको बुझिन्छ । यसबाट अरू कुरामा पुरुष अगाडि भए पनि धर्मकर्ममा महिला अघिअघि र पुरुष पछिपछि हुन्छन् । धर्म र महिला सँगसँगै जोडिएका हुन्छन् ।

यहाँ मैलो स्वस्थानीको कुरा गर्दैछु । स्वास्थानीमा पुस्तान्तरले धेरै असर पारेको छ । स्वस्थानीमा मात्र होइन, हरेक कुरामा पुस्तान्तरको महत्त्वपूर्ण भूमिका हुन्छ । चेतनाको विकाससँगै भएको परिवर्तनले यस्तो भएको हुनुपर्छ । हजुरआमाको पुस्ताले व्रतकथामा उल्लेख भएको हरेक कुरा सत्य भन्छ । आमाको पुस्ताले सानोतिने संशोधन गर्छ ।र छोरी–बुहारी पुस्ता यस्ता अन्यमनस्कतामा यस्तो काम गर्छ ।

कथामा जसरी पार्वतीले महादेव वर पाउन कठोर व्रत बसिन् र समापनपछिको प्रसाद ग्रहण विषय भने लि·भेदले आक्रान्त छ । पुरुषपात्रको विशद् व्याख्या गरेर नपाए खोलामा बगाइदिनू भनिन्छ । कस्तो विडम्बना, महिलाले एक महिनासम्म कठोर व्रत बस्ने उनै महिलाले प्रसाद महिलापात्रलाई दिन नहुने ? व्रतकथामा पतिको रिस गर्न नहुने, पतिको कुरा काट्न नहुने, मुख लाग्न नहुने, गाली गर्न नहुने आदि उल्लेख छ । यस्तै ७ वर्षीया बालिका गोमाको ७० वर्षे वृद्ध शिव शर्मासँग विवाह गराइएको छ । महिलाको क्षमता, बुद्धि र साहसभन्दा उनीहरूको सौन्दर्य वर्णन गरिएको छ । कहीं पनि महिलाको साहस बयान गरेको पाइँदैन बरु मध्याह्नकालको सूर्यको जस्तो तेज भएकी, पूर्ण चन्द्रजस्तो मुख, हात्तीका सुँडजस्ता हातपाउ, बाघको जस्तो कम्मर, सावित्रीका जस्ता पैताला भनेर रूपको वर्णन गरिएको छ । यस्तो शरीर नभएकी महिलाले पढे भने के होला ? के सोच्दा हुन् ? उनीहरूमा नराम्रो हुनुको हीनताबोध हुन्छ कि हुँदैन ? कथामा अघि मैले पुरुषले बाध्य पार्दैनन् भन्दाभन्दै पनि कतिपय अवस्थामा यस्ता कुराहरूले महिलामाथि हदैसम्म अन्याय भएको लाग्छ । कथामा पुरुष पनि राम्रो हुनुपर्छ भनेर कहीं कतै उल्लेख छैन तर महिला राम्री हुनुपर्छ भन्नेमा जोड दिइएको पाइन्छ । त्यस्तै स्वास्थानीकी प्रमुख पात्र पार्वती । उनले महादेव पाउन केसम्म गरिनन् ? तिनै पार्वतीप्रति महादेवको धारणाले महिलाको स्थान अनुमान गर्न सक्छौ । रावणले गरेको भक्तिबाट प्रसन्न महादेवले पावती नै लैजा भनेर दिनु के अहिलेको समयमा सान्दर्भिक छ ? यसबाट हामी अनुमान गरौ घरघरमा यति श्रद्धापूर्वक पढिने स्वस्थानी व्रतकथाकी नायिका पार्वतीको हैसियत कति रहेछ । तर पनि पार्वती बालुवाको शिवलि· बनाई महादेवको पूजा गरिरहन्छिन् । आखिर स्त्री मात्र होइन पुरुषले पनि त्यस्ता कार्य गर्नुहुन्न भनेर किन उल्लेख गर्न सकेन शास्त्रले । त्यसैले यस्ता प्रस·लाई समयानुसार सुधार गर्नेतर्फ ध्यान जानुपर्छ । तत्काल बहिष्कार गरौ भन्न नसकिएला तर परिमार्जन गर्न र पुनर्लेखन भने अति आवश्यक छ ।

नेपाललाई राजनीतिक दलहरूले धर्म निरेपक्ष घोषणा गरे । अझै माओवादीले धर्म मान्नुहुँदैन भन्यो । तर त्यही माओवादीका जिल्लामा राम्रै नाम चलेका नेता दम्पती लामो समयसम्म सन्तान नभएपछि लगातार तीन वर्षसम्म स्वास्थानी व्रत बसे । धर्म नमान्नेले किन सन्तान प्राप्तिको आशामा व्रत बस्नुपर्‍यो ? हाम्रो अवचेतनमा कहीं न कतै धर्मप्रति आस्था र विश्वास छ । त्यसैले ती नेताले बाहिर भाषणमा धर्म र कुसंस्कारमा अल्झनुहुन्न भने पनि आफू चाहिं व्रत बसे । धर्म मान्छेको आस्था हो, कसैले धर्म नमान्दैमा अथवा मान्दैनौ भन्दैमा यसमा कमी आउदैन । तर धार्मिक आस्था र मान्यता हो भनेर अन्याय र अत्याचार शिरोपर गर्नुपर्छ भन्ने छैन । कथामा उल्लेख भए अनुसार दक्ष प्रजापतिकी पत्नी विपणीले तेत्तीस करोड छोरीहरू जन्माएको सुन्दा आङ सिरिङ हुन्छ । एकजना महिलाको प्रजनन क्षमता कति भन्नेमा पनि उक्त वाक्यले शड्ढा थपिदिएको छ । त्यस्तै मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा व्रतकथामा उल्लेख छ । के गोबरबाट मान्छे जन्मन्छ त ? अग्निले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरूको गर्भ रहेको कुरा पनि उल्लेख छ । परम्परा, संंस्कार हटाउन मुश्किल छ । तर समयसापेक्ष परिमार्जन आवश्यक छ । आधुनिक स्वस्थानी व्रतकथा कस्तो बनाउने भन्नेमा यसप्रति आस्था हुने आधुनिक महिलाहरूले सोच्नुपर्ने बेला आएको छ ।

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानी ब्रत कथा आस्था र निन्दा


केशब काफ्ले
संसारभरिका हिन्दु धर्मावलम्वीहरुका लागि धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको माघ महिनाको अन्त्य हुनासाथै स्वस्थानी ब्रतकथाको पनि समापन हु“दैछ । स्वस्थानी ब्रतको आरम्भ भएपछि ब्रतकथाको उद्देश्य प्रति देशका छापा सञ्चार माध्यममा बुद्धिजिवी महिला वर्गहरुले निकै टिकाटिप्णी तथा विचारहरु प्रवाहित गरिरहेका छन् । उनीहरुद्वारा यस ब्रतकथाप्रति र यसको वाचन श्रवणप्रति बारम्बार प्रश्न उठाइएको छ । यस ब्रतकथाप्रति विरोधी भावनाले मुखर हुने लेखकहरुमा महिला वर्गको वर्चश्व देखिन्छ । तर यहा“निर के कुरा प्रष्ट पार्न जरुरी छ भने स्वस्थानी ब्रतकथाप्रति महिलाजगत जति आस्तिक छ त्यति आस्तिक पुरुष हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि हु“दैन । यसबारे यस पंक्तिकारले चुनौती दिन चाहन्छ । यो स्वस्थानी ब्रतकथाको आयु महिलाहरुकै आस्थाका कारणले गर्दा लम्बिदै गइरहेको छ भन्नेबारे पनि कसैको दुईराय हु“दैन ।

यसको परम्परालाई महिलाहरुले नै अघि तान्दैछन् । यहा“सम्म कि पुरुष वर्गमा खासगरी सहरिया पुरुषहरुलाई त स्वस्थानी कथा कहिलेदेखि आरम्भ हुने र कहिले समापन हुने भन्नेबारे पनि खासै चासो रहंदैन । पुरुषहरु आफ्नै काममा व्यस्त रहेका हुन्छन् । जबकी महिला वर्गमा यसबारे पूर्ण उत्सुकताका साथ सम्पूर्ण लेखाजोखा तयार रहन्छ । अझै आश्चर्यको कुरा त के छ भने पूर्ण रुपमा शिक्षित मानिएका तथा आधुनिक युगका अगुवा ठानिएका महिलाहरु पनि स्वस्थानीको वर्तकथा श्रवण गर्नमा व्रत राख्नमा लालायित रहेको पाइन्छ । स्वस्थानी व्रतकथाको दौरान घरघरमा कथा वाचन र कथा श्रवण गर्नेहरुमा महिलाहरुकै अधिकता पाइन्छ । कहिं कहिं त कथा वाचक र श्रोता पूर्ण रुपमा महिलाहरु नै पाइन्छ । यस ब्रतकथाप्रति प्रश्न उठाउ“दै विभिन्न खाले टिका टिप्णी गर्ने लेखक लेखिकाहरुको विषेश त लेखिकाहरुको तर्क छ कि गुनासो छ कि यस कथामा पुरुषलाई प्रधानता दिइएको छ । स्वस्थानी व्रतकथा पुरुष प्रधान छ, यद्यपि गुनासा अरु पनि छन् । तर मुखर विरोध पूरुष प्रधानतालाई नै गरेको पाइन्छ । ध्यान दिनुस्, यो ब्रत गर्ने कथा सुन्ने सुनाउने एउटी अर्कि महिलालाई यो ब्रत राख्न कथा सुन्न प्रेरित गर्ने सबै महिला नै हुन् ।

अब मेरो प्रश्न छ महिला लेखिका ज्युहरुसं“ग कि यस पुरुष प्रधान परम्परालाई महिलाहरुले किन बोकेर हिंडेका छन् त ? के पुरुषहरुले यो ब्रत राख्न महिलाहरुलाई बाध्य गरेका छन् ? कथाप्रति निकै आस्तिक पनि महिला ब्रत राख्ने पनि महिला, ब्रतको अनुसरण गर्ने पनि महिला, आफुले ब्रत राख्ने, कथा सुन्ने तर छिमेकी अर्कि महिलाले ब्रत राखिन कथा सुनिन कथा सुन्न आईन भनेर निन्दा गर्ने पनि महिला । पुरुषहरुलाई समेत ब्रत राख्न प्रेरित गर्ने कथा वाचन गर्न पुरुषलाई बाध्य पार्ने पनि महिला तर विरोधको निसानामा पुरुष र पुरुषप्रधानता कथा यस्तो किन ? के पुरुष समाजले महिलाहरुलाई यो ब्रत गर्न या कथा सुन्न बाध्य पारेको छ र ? महिलाले ब्रत राख्दा पुरुषको नियमित खानपानमा व्यवधान पर्न गएर ब्रत नगर भनेर भन्दा घरमा तनाव सृजना भएका घटनाहरु बरु सुन्न पाइन्छ । तर कुनै पुरुषले ब्रत नराखेको निहुमा महिलासं“ग झगडा गरेको पाईदैन । फेरि पुरुष प्रधान भनेर स्वस्थानी कथाको निन्दा वा विरोध गर्नुको के अर्थ हो त ? तीजमा ब्रत राखेर शिव लिंगमा जलार्पण गर्न दिनभरी लाम बस्न पुरुषले बाध्य पारेको भनेर सुन्न पाईदैन ।

स्वस्थानी व्रत गर्न पुरुषले विवस गरेको पनि पाईदैन । आफै ब्रत राख्ने आफै कथा सुन्ने, फेरि पुरुषलाई किन दोषि मानिदै छ त ? आजको जागरुक समाजमा कुनै पनि पुरुषले महिलाहरुलाई कुनै ईश्वर देवता आदिको आराधना गर्न, ब्रत बस्न, कथा सून्न बाध्य गर्न सक्दैन र उनीहरु महिलाले चाहेका खण्डमा महिलाहरुलाई पुरुषले त्यस्ता अनुष्ठान ब्रत आदि गर्नबाट रोक्नपनि सक्दैन । यस विषयमा पुरुष विचरा आफै विवस हुन्छ । महिलाहरुकै खुशिका लागि मात्रै मन्दिर जाने, महिलाहरुकै खुशीका लागि ब्रत राख्ने, महिलाहरुकै खुशीका लागि कथा वाचन गर्ने, महिलाहरुकै लागि कथा श्रवण गर्ने, पुरुषहरु सयमा ९० जना पर्दछन् यस समाजमा । आमाले भनेको मानेर आमाको मन राख्नहोस् वा श्रीमतीको मान गर्नुहोस् । आफ्नो ईच्छा होस् या नहोस्, तर महिलाहरुको खुशीका लागि पुरुषहरु धार्मिक कार्यमा अग्रसर हुनुपर्दछ । धर्मिक विषयमा सधै महिला अघि अघि र पुरुष पछि पछि हुने गर्दछन् । फेरि शास्त्रको के दोष छ ? पुस्तकको के दोष छ ? के आजका महिलाहरुले शास्त्रको अनुसरण गरेका छन् र ? या गर्न बाध्य गरिएको छ र ? या फेरि त्यस्तो गर्न सम्भव हुन्छ र ? कथा हो कथा । इतिहास हो । इतिहास पढ्दैमा सुन्दैमा कुनै अपराध हुन्छ र ? प्रश्न छ विरोधीहरुस“ंग । स्वस्थानीको कथा जसले जतिपटक बाचन गरे पनि जति पटक श्रवण गरेपनि त्यस अनुरुप आचरण हुनै सक्दैन आजको युगमा । एक प्रतिशत पनि भएको छैन । हुनपरेको पनि छैन । काल्पनिक उपन्यास पढ्न हुने काल्पनिक धाराबाहिक हेर्न हुने पाठ्य पुस्तकहरुमा समेत इतिहास पढ्नै पर्ने बाध्यता हुने तर स्वस्थानी ब्रत कथालाई पढ्दा पुरुष प्रधानतालाई प्रश्रय दिइएको आरोप लागिरहनु कतिको उचित छ त ? लेखक लेखिका महोदय ज्युहरु ? गीताको आचरण कस्ले गरेको छ र आज ? रामायणको अनुसरण कसले गरेको छ र आज ? पतीलाई परमेश्वर मानेको छ र आज ? कसले पो पत्नी वियोगमा पागलपन देखाउ“छ र आज ? फेरि एकसय प्रश्नको एउटै उत्तर यो हो कि यस स्वस्थानी ब्रत कथा को परम्परालाई यस पुरुष प्रधान इतिहासलाई महिलाहरुले नै निरन्तरता दिएका छन् । यस्तो किन ? महिलाहरुले यस परम्परालाई निरन्तरता दिईरहुन् भन्ने चाहना पुरुषमा छैन त्यसकारण पुस्तकको कथालाई आधार बनाएर पुरुष वर्गलाई लक्षित गरेर गाली गरिरहनुको कुनै अर्थ देखिदैन ।
पुराणको कथा बाचन र श्रवण गर्दैमा पुरुष प्रधानता हुने कुरै ह“ुदैन र कथामा लेखे जस्तै आचरण गर्न पर्छ भन्ने पनि छैन । त्यस्तो आचरण गरिसाध्य पनि छैन । ईच्छा नारी जगतको हो यस विषयमा कुनै करकाप त छैन नि ? तर्क गर्ने धेरै ठाउ“ छन् । कथा कि पात्र जालन्धर पत्नी व्रिन्दालाई पीडित र बलात्कृत दर्साएर विरोध गर्नुभन्दा उसलाई महान त्यागी बलीदानी दर्शाउन पनि मिल्छ । जसको त्याग र बलिदानले अन्य हजारौं नारी बलात्कृत हुनबाट जोगिन्छन् । यद्यपि समय अनुसार हाम्रँ धार्मिक अनुष्ठानहरुमा परिवर्तन हुन आवश्यक छ । कतिपय बुद्धिजिवीहरुले समाजका धर्मभिरुहरुलाई बेवकुफ बनाएर आफुले धन कमाउने माध्यम पनि बनाएका छन् । जे होस् कथालाई नै रहन दिए उत्तम हुनेछ । इतिहास पनि कथा जस्तै हो । स्वस्थानीलाई पनि इतिहास पढेझंै पढ्नुस् र त्यही ठाउ“मा छोडिदिनुस् । इतिहासको पनि हामीले पालना गर्दैनौ स्वस्थानीको पालना गर्नुपर्छ भन्ने पनि केही छैन, ईच्छा आफ्नो आफ्नो यसमा पुरुषको कुनै दबाब छैन । पुरुषको विरोधको पनि कुनै अर्थ छैन ।

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानी कथा विभेदको सुरुवाती कथा

by Narayani Devkota
 August 5, 2013

(यो लेख लेख्न निकै पहिल देखी खोजेको, बल्ल बल्ल माघ महिनमा लेख्न सके । जुन कान्तिपुरमा छपियको थियो ।)

काठमाण्डौमा महिला हिँसाको विरोधमा युवाहरुको अकुपाई बालुवाटार जारी छ । यति नै बेला हिन्दुहरुको  एकमहिना लामो स्वस्थानी वर्तकथा माघ १३ गतेबाट टोलटोलमा वाचन सुरु भएको छ । एउटै समाजमा महिला हिंसाका घटना दिन दिनै  संचार माध्यममा आएका छन्  । अनि घरघरमा देवीको पुजा गरिँदै छ । स्वस्थानीको वर्त र त्यस वर्तमा पढिने कथा झट्ट सुन्दा देवीको कथा र वर्त हो ।

तर, त्यहाँ न कतै स्वस्थानीको कथा छ, न स्वस्थानीको पुजा नै गरिन्छ । त्यहाँ कथा पनि महादेवको छ र पुजा पनि महादेवको नै हुन्छ । समाज विज्ञान भन्छ, जब संसारमा महिला घर भित्र र पुरुष घरबाहिर काम गर्ने परिपाटीको सुरुवात भयो । तब महिलालाई देवीको रुपमा पुजा गर्न थालियो ।

 विस्तारै पुरुषहरुले महिलालाई वाहिरका कामबाट अलग्याउँदै गए । बाहिरका कामबाट पुरुषले अलग्याउँदै र महिला आफै अलग्गीँदै साधन स्रोतको पहुँचबाट पनि महिला टाढा हुन थाले । यसरी समाजका हरेक कुराबाट टाढा हुँदै गएका महिलाले धर्मको रित त पुराए । धर्मको काम त गरे तर धर्मले के भन्छ भन्ने चासो राखेनन् । जसको कारण एकातिर महिलालाई देवी बनाएर अनेक वर्त र कथाको रचना भयो । अर्को तर्फ धर्मशास्त्रका कितावहरु महिलाले पढ्न नहुने नियम बनाई यो ।

पतन भयो वित्यसपछि लेखिएको कथा हो यो । जसमा महिलाको वर्तको आवरणमा पुरुषको शक्तिको गुनगान लेखिएको छ । जुन लिङ्ग पुजाको असर आज पनि हाम्रो समाजमा जताततै देख्न बाध्य छौँ । हरेक धर्म र समाजमा महिलाको स्थीति कमजोर होला । त्यो अर्को पक्षको कुरा हो, यहाँ हामी महिला नै कसरी लिङ्गको पुजामा लिप्त छौँ भनेर मात्र लेख्न खोजेकी हुँ ।  अहिलेका नेपाली महिलालाई धर्म गर्न र वर्त बस्नै पर्छ भनेर कसैले दवाव दिँदैनन् । यस कारण पनि महिलाहरु आफ्नो रहरले वर्त बसेका हुन् । यसरी रहरले वर्त बस्नेहरुले कतै आफुँलाई कमजोर त बनाईरहेका छैनन् ?

माघ १३ गतेबाट धेरै महिलाहरु एक महिना लामो स्वस्थानी वर्त बसेका छन् । जसमा पढेलेखेका महिलाको संख्या पनि प्रसस्त छ ।  हिन्दु समाजमा जन्मेका महिलालाई थाहा नभएको र कसैले भनेको  नयाँ वर्त र पुजा होईन स्वस्थानीको । वर्त नबसेका घरहरुमा पनि स्वस्थानीको कथा बाचन गर्ने चलनले धेरैलाई यो कथा थाहा भएको हुन्छ । यो वर्तको नाम त स्वस्थानी परमेश्रीको वर्त जुन नारी जातीको वर्तको नामले भनिन्छ, तर त्यसमा पुजा र वर्त महादेव(शिव)को हुने गर्छ । यो वर्ष पनि साली नदीमा स्वस्थानीको वर्त बस्ने महिलाले स्वस्थानी नाम गरेकी कुनै देवीको फोटो वा मुर्तिको स्थापना गरेका छैनन् । त्यहाँ नदिको वालुवको शिवलिङ्ग बनाई पुजा थालिएको छ । यो अचम्म लाग्दो कुरा छ, वर्त कस्को भन्दा देवीको । पुजा गरिने मुर्ति र कथा कस्को भन्दा महादेवको । ३१ अध्यायको कथामा स्वस्थानी भनेकी कस्ती देवीहुन भन्ने विषयमा खासै केही लेखिएको छैन । तर महादेवको शक्तिको कथा बढो रोचक ढङ्गबाट लेखिएको छ । यो वर्तकथा लगभग महादेवको वर्त र कथा हो  । भन्दा कुनै फरक पर्दैन ।

देवीको वर्त भनिए पनि त्यस पुजाको प्रसाद महिलालाई दिइँदैन । बरु खोलामा बगाईन्छ । कथामा भनिएको छ, वर्त बस्नेको पति छन् भने, पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई र मित छोरा पनि नभए खोलामा  बगाई दिनु । कस्सो खोलामा पनि पुरुष माछाले मात्रै खानु भनिएको छैन । वर्त बस्ने वा कथासुन्ने नारीहरुले पंढीतलाई प्रशाद छोरा नभए छोरीलाई दिँदा के हुन्छ ? वा किन नदिने भनेर प्रश्न गर्न अब ढिलो भईसकेको छ ।

देवीको भनेर गरिएको पुजामा किन पुरुष लिङ्गको पुजा हुन्छ भनेर हामीले हाम्रा धर्मशास्त्रका मानिसलाई अव पनि नसोधे कहिले सोध्ने ?  स्वस्थानीको कथा भनेर  महादेवको शक्तिको कथा बताई रहँदा र त्यस्ता किताब छापिईरहँदा के हामी भित्र प्रश्न उठ्दैनन् ? केही केही विद्धानहरुले शिवलिङ्गको पुजालाई प्रकृतिको निरन्तरताको पुजा भन्ने जवाफ दिन्छन् । के महिलाको योनीले प्रकृतिको निरन्तरतालाई साथ दिँदैन र ? लिङ्गको पुजा नै गर्नै पर्ने भए स्वस्थानीको पुजामा उनको योनीको पुजा गर्दा हुँदैन ? किन महादेवकै लिङ्गको पुजा गर्ने ? हाम्रो समाजमा अब यस्ता विषयमा कुरा गर्न जरुरी छैन र ? यस्ता प्रश्न उठाउन जरुरी छैन ?

खासमा हामी नेपाली महिला हरेक विषयमा छलफल गर्न चाहँदैनाँै  । बोल्नै पनि चाहँदैनौँ । बरु चुपचाप सहन चाहन्छौँ । आफ्ना कुरो आफैँले विर्सन चाहन्छाँै । किनकि हामी अबोला हौँ । हामी जतिनै आधुनिक भए पनि हाम्रो मानसिकता अबोला नै छ । हजुरआमाहरुको जस्तो । स्वस्थानीको कथा विभेदकारी छ, भन्ने लगभग स्वस्थानी कथा सुन्ने सबैलाई थाहा छ । तर हामी बोल्न चाहन्नौ । जब हामी हरेक विभेदको विषयमा बोल्दैनाँै । तब आफु विभेद परे पनि बोल्न सक्दैनाँै । किनकि हाम्रो बोल्ने बानी नै छैन । हो, यहिबाट हुन्छ हामीमाथी हिँसाको सुरुवात । हरेक घरमा वैवाहिक सम्बन्ध गासिए पछि पुरुष श्रेष्ठ हुन्छ । महिलाका परिवारले उसको खुट्टाको पानी खान्छन्, उसलाई ढोक्छन् र विष्णुको रुप भएको हुँनाले भगवान सम्झेर पुजा गर्छन् । भन्न त महिलालाई पनि पुरुषको घरमा लक्ष्मीका नाम दिईन्छ । तर त्यहाँ उसलाई लक्ष्मीको ब्यवहार गरिँदैन । बरु महिलाले पुरुषका घरका सबैलाई पुजा गर्नु पर्छ । मानौकी पुरुष र उसको परिवार देवताको परिवार हो । अनि महिला र उसको परिवार मानिसको परिवार हो । यस्ता विषयमा पनि हामी बोल्दैनौँ । यो त्यहि लिङ्गको पुजाको एक निरन्तरता हो । लिङ्गको पुजा अर्थात शक्तिको पुजा । मानौँ महिलाको त कुनै शक्ति नै हुँदैन । विवाहमा भन्ने गरिन्छ पाले पुन्य मारे पाप । के महिला अरुले पालीदिनु पर्ने वा अरुले पाल्नुपर्ने असक्त जाति हो ? यो विषयमा हामीले किन बहस गर्दैनौ ? अकुपाई वालुवाटार आन्दोलनमा सहभागी युवाहरु हाम्रो समाजमा रहेको धर्मको यो विभेदको विषयमा पनि कुरा गर्ने कि ?  शालीनदीको किनारमा स्वस्थानी मेला हेर्न जाने युवाहरुले यो त देवीको वर्त हैन र ? किन शिवलिङ्गको पुजा गर्नुभएको भनेर वर्तालुलाई एक प्रश्न पनि सोध्नेकी ? कथा बाचन गरिरहेका ब्रामणलाई तपाईले त महादेवको कथा पो भन्नुभयो स्वस्थानी देवीकै कथा भन्नोस्न  भनेर आग्रह पनि गर्ने कि ?

sag

  • VIP
  • ******
  • Posts: 742
स्वस्थानी ब्रतको बारेमा

 

स्वस्थानी परमेश्वरीको ब्रत बसेको खण्डमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यसै जनविश्वास अनुसार पौष शुल्क पूर्णिमादेखि माघ शुल्क पूर्णिमासम्मको एक महिने अवधिमा स्वस्थानी ब्रत बस्ने गरिन्छ । यतिबेला श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको ब्रत बसी पूजा आराधाना गरी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी दुई शब्द ‘स्व’ र ‘स्थान’ मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको शब्द हो । यसको अर्थ स्वस्थानमा रहने वा आफ्नै स्थानमा रहने देवी भगवती भन्ने हो । स्वस्थानी परमेश्वरीलाई चामुण्डा, महाकाली, वैष्णवी, ब्राहृमी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी जस्ता अष्टदलका वरिपरि रहने हातहरुमा त्रिशूल, तरवार, कमल र चक्र बेक्ने देवीका स्वरूप बुझिन्छ ।


स्वस्थानीको पौराणिक कथा अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग स्थापना गरी निराहार तपस्यामा बसेकी थिइन् । तपस्याका प्रभावले भगवान बिष्णु उत्पन्न भई पार्वतीको मनोकाङ्क्षा पूरा भएको भन्ने यस ब्रतको सवैभन्दा महत्वपूर्ण र विश्वासिलो पक्ष रहेको छ । सतीदेवीले आफ्ना पिता दक्षप्रजापतिले महादेवप्रति गरेको अनादर अपमान सहन गर्न नसकी पिता दक्षकै यज्ञमा हामफालेर प्राण त्याग गरेकी थिइन । तिनै सतीदेवी पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीका रुपमा जन्म भई पुन: महादेव पति पाउँ भनि बिष्णु भगवानको तपस्या बसेको प्रसंगा स्वस्थानी ब्रत कथामा पढ्न पाइन्छ । पार्वतीको सानै उमेरदेखि महादेवलाई पति पाउने मनोकांक्षा थियो । आफ्ना पिता हिमालय पर्वतले आफुलाई भगवान् विष्णुसंग कन्यादान गरिदिने थाहा पाएपछि पार्वतीले पनि अनकण्टार स्थलमा गई महादेव पति पाउँ भनि ध्यान तपस्या गरेकी थिइन् । तपस्यापछि प्रकट भएका भगवान् विष्णुले महादेव पति पाउन श्री स्वस्थानी परमेश्वरीको विधिपुर्वक ब्रत बस्न बरदान दिए । पार्वतीले सोहि अनुसार पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वस्थानीको ब्रत सम्पन्न गरिन् । त्यसै ब्रतको फलले गर्दा महादेव पति पाई शिव पार्वती आनन्दले बसेको कथा सुन्न पाइन्छ । यसै कथा अनुसार तयार भएको स्वस्थानी ब्रत प्रचलित भई परम्पराका रुपमा स्वस्थानी ब्रतका रुपमा स्थापित भएको हो । यसका अलवा स्वस्थानी परमेश्वरीको ब्रतको प्रभावले सुख सन्तोष, उन्नति अमन चयन प्राप्त हुने विश्वास रहेको छ ।


स्वस्थानीको ब्रत बस्नु पुर्व हातगोडाका नङ काटी शरीर शुद्ध गरी देवदेवादी सङ्कल्प पुरा गर्नु पर्दछ । यसरी ब्रत शुरु गरेपछि एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा-आराधना गर्नु पर्दछ । ब्रत अवधिभरि चोखोनितो भई मध्याहृनमा एक पटकमात्रै भोजन गर्नु पर्दछ । ब्रतालुहरूले पूजा आराधनापछि स्वस्थानीको कथा वाचन र श्रवण गर्दछन् । यस अवधिमा स्वस्थानी ब्रत नबस्नेहरूका घरका सदस्यहरु ब्रत बसेका छिमेककहाँ गई कथा श्रवण गर्दछन् । किताव घरमा हुने तर ब्रत नबस्नेहरुले पनि बिहान बेलुका श्रद्धा भक्तिपूर्वक स्वस्थानी ब्रतको किताव पढ्ने र सुनाउने गर्दछन् । स्वस्थानी ब्रत कथा माघ शुक्ल पूर्णिमामा समापन हुन्छ । समापनका अवसरमा पूजा सामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाइने १०८ सामाग्रीहरु तयार गरिन्छ र जुन मनोकामनाले ब्रत बसेको हो त्यो पुरा होस् भनि स्वस्थानीलाई अर्घ दिई ब्रत समापन गरिन्छ ।


स्वस्थानी व्रतकथामा सुन्न पाइने सवैजसो महत्वपूर्ण तीर्थस्थलहरू नेपालमा रहेकाछन् । विशेषगरी गुहृयेश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बाग्मती नदी, शाली नदीजस्ता पवित्रस्थलहरु नेपालमै रहेकाछन् । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको लावण्य देश अर्थात् साँखु शाली नदीमा ब्रत अवधिभर मेला लाग्ने गर्दछ । साथै मुलुकका प्रमुख शक्ति पिठहरुमा पनि भक्तजनको भीड लाग्ने गर्दछ ।
स्वस्थानी ब्रत कथा जम्मा ३१ अध्यायमा विभक्त छ । जसमा अध्याय १ र २ मा श्रृष्टि कर्मको चर्चा गरिएको छ भने ३ देखि ११ सम्म महादेव सतिदेवीको प्रसंग उल्लेख गरिएको छ । त्यसैगरी अध्याय १२ देखि १८ सम्म शिव पार्वतिको लिला व्याख्या गरिएको छ र १९ देखि ३१ सम्म गोमा नवराजको समग्र प्रसंग उल्लेख गरिएको छ । स्वस्थानी ब्रत कथाको शुरुवातमा "यम्ब्रम्हा बरुडेन्द्र रुद्रमरुतस्तुति दिव्यैस्तवै" श्लोक भनिन्छ भने अध्यायको समाप्तिमा "इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां" भन्ने श्लोक बाचन गरिन्छ । यसको मतलव स्वस्थानी ब्रतकथाको आधारग्रन्थ स्कन्दपुराण भएको मानिन्छ । त्यस बाहेक श्रीमद्भागवत, विष्णु बराहलगायतका पुराणलाई पनि स्वस्थानी ब्रतकथाको आधार मानिन्छ ।जनश्रुति अनुसार पहिले पहिले स्वस्थानीको ब्रत नेवार समुदायका महिलाहरुले मात्रै लिने गर्दथे । उनीहरु व्यापारको शिलसिलामा देशभर फैलिएपछि यो ब्रतको महत्व र प्रभाव पनि फैलिएको मानिन्छ । स्वस्थानीको ब्रत विधि शिवराज आचार्य कौण्डिन्न्यायनले लेख्नुभएको शोधकर्ताहरुका शोधपत्रहरुमा उल्लेख छ । यस कथामा प्रत्येक अध्यायमा ऋषिमुनी अगस्त्यले सोधेका प्रश्नहरुमा कुमारजीका उत्तरहरुलाई कथाकार प्रस्तुत गरिएको छ । अगस्तमुनीले तपस्या गरिरहेका बेला मयुर बाहानधारी कुमारको दर्शन प्राप्त गर्नुभयो । त्‍यहि अवसरमा अगस्तीमुनीले कुमारजीलाई सिलशिलेवर रुपमा प्रश्नहरु गरी स्वस्थानी परमेश्वरीको ब्रतकथाको प्रारुप तयार भएको देखिन्छ । कथाभरी कुमारजी जवाफ र अगस्तिमुनीका प्रश्न भेटिन्छ । स्वस्थानी ब्रत विशेषगरी महिलाहरूले मात्रै लिदै आएकोमा पछिल्ला दिनमा पूरुषहरुले पनि यो ब्रतमा सहभागी हुन थालेकाछन् । यस बर्ष स्वस्थानीको ब्रत माघ ९ गते तदनुसार जनवरी २३ तारिख २०१६ बाट शुरु हुँदैछ । आजकल स्वस्थानी ब्रत बस्नेहका लागि कथाको श्रव्यदृष्य सामाग्रीहरु नै तयार पारिएको भेटिन्छ र त्यसैलाई श्रवण गर्ने चलनपनि बढेको छ । स्वस्थानीको ब्रत अवधिभर सदाचार रहि मांसाहार त्याग गरिन्छ । स्वस्थानी ब्रतको अन्तिम दिन सांगे गरी नरनाता छरछिमेक भेला भई प्रसाद ग्रहण गरिन्छ । स्वस्थानीको ब्रतफल अनुसार यसले पुरुष प्रधान समाजको प्रतिनिधित्व गरेको महसुस भएपनि समग्रमा यसको कथासारबाट घर परिवारलाई सफल बनाउन महिला र पुरुष दुवैको भूमिका बराबर रहेको सत्यलाई सहजै स्विकार गरेको छ ।