Author Topic: Bhairav Aryal Literature  (Read 7563 times)

0 Members and 1 Guest are viewing this topic.

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Bhairav Aryal Literature
« on: August 22, 2016, 03:30:06 PM »
मपाईं
‘तँ’ को आदरार्थी 'तपाईं' भएजस्तै 'म' को आदरार्थी 'मपाईं' हुन्छ  । त्यसैले सभ्य भाषामा 'तँ' को ठाउँ तपाईंले ओगटेपछि 'म' को ठाउँ 'मपाईं' ले नलिनु किन ? 'म' लाई संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि 'म' को स्थान प्रथमै छ । त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि 'म' लाई राम्रो 'म' भनी मान गर्दै आएका छौं । जब सँगैको 'तँ' जाबोले पदोन्नति पाई 'तपाईं' भयो भने 'म' लाई पदोन्नति दिई 'मपाईं' नगराउनु पच्चीसै आना पक्षपात हो, 'म' प्रतिको अन्याय हो । यसकारण अरुले 'तपाईं' भने पनि नभने पनि हामीले आफूलाई 'मपाईं' भन्नै पर्छ, यो युगको माग हो; 'मपाईं' को मन्तव्य यस्तै छ ।


'मपाईं' शब्द सुन्दा नयाँजस्तो लाग्छ । तर यसको भाव भाषाभन्दा जेठो र इतिहासभन्दा बूढो छ । किनभने मुख चलाउनुभन्दा पहिले मान्छेले 'म' को माया गर्न जान्यो, अरुलाई केही मान्नुभन्दा पहिले आफैंलाई सम्पूर्ण ठान्न थाल्यो । फलत: शक्ति बढ्ता हुनेले आफूलाई लायक वा नायक भनाई आत्मआदर खोजे, मपाईं बने; बठ्याइँ बढ्ता हुनेले धर्मकर्ममा अक्कलझक्कल झिकी आफूलाई ईश्वरको नक्कल भनी 'म' को महत्ता दर्शाए, मपाईं बने ।

एक पटक ब्रह्मा र विष्णुमा तँ ठूलो कि म ठूले भन्नेबारे गम्कागम्की परेछ, फैसलाको लागि दुवै महादेवकहाँ पुगेछन् । देवमाथिका उपरदेव महादेव, उसै त तपाईंको धुरन्धर, झन् त्यो मौका पाएका । हत्त न पत्त आफ्नो 'ज्योतिर्लिङ्ग' तेर्स्याउँदै भनेछन्- "लौ, एक जना उँधो जाऊ, अर्को उँभो । जो यसको फेद वा टुप्पो पत्तो लगाउँछ, त्यही ठूलो ।" मारेन के? न्यायधीश मानिसकेपछि आज्ञा नमानून् कसरी? ब्रह्मा र विष्णु राणाकालीन लाठसाहेबका चाकरीवाल दौडेझैं स्याँस्याँ गर्दै लागे तल-माथि । तर दुवैले लक्ष भट्टाएनन् । कीर्ते साक्षी बकाएर भए पनि आफ्नो मपाईंत्व जोगाउने ब्रह्माको षडयन्त्र पनि असफल भयो । अनि लँगौटी बाँध्दै महादेवले छाँटे- "देख्यौ, को ठूलो रहेछ? मेरा अगाडि तिमीहरुको मपाईंत्व! दुवै उस्तै हौ, लौ जाओ!"

यसरी ब्रह्मा-विष्णुका पालादेखि चलेको मपाईंलाई कसरी नयाँ मान्नुहुन्छ ?

मपाईंत्व प्रदर्शित गर्ने यस्ता कथाहरु नौ मुरी पाइन्छन् । पुराण पढ्नोस्, पण्डित भेट्नोस् कि पादरी भेट्नोस् मपाईंकै गाथा सुनिन्छ । जो बूढो उही बाटो हगुवा भनेझैं जसजसलाई दुनियाँले महापुरुष मान्दै आयो, ती सबैले आफ्नो महापुरुषत्व मपाईंबाटै सुरु गरेका त होइनन् ? कुन्नि, मपाईंलाई त शङ्कै लाग्छ ।

अर्काको तपाईंत्व स्वीकार नगरेर 'म' कै महिमा मादल बजाउनु मपाईं बन्नु हो । सभ्यताको जतिजति विकास हुँदै आयो, उतिउति मपाईंत्व प्रवृत्ति पनि विष्णुमतीले मूला मौलाएझैं मौलाउँदै आएको छ । त्यसैले प्रत्येक व्यक्ति आफूलाई हात्ती सम्झन्छ, अरुलाई बोका । अब समाज हात्तीहात्तीको हो वा बोकैबोकाको हो कसले छुट्याइदिने ?

अर्को शब्दमा मपाईंत्व एक नशा हो, यसले लट्ठयाएपछि कक्टेल पार्टीका श्रीमानहरुले झैं सब मपाईंहरु एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन् । सम्झनुभएन ? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढयो, भीम र दुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो । यस्तै मपाईं मपाईंको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खड्गीज्यूकहाँको बनेल बन्यो ।

हिरण्यकशिपुदेखि हिटलरसम्म, अलेक्जेन्डरदेखि एडवर्डसम्म, बाबरदेखि बबरसम्म कसले आफूलाई मपाईं भनेन ? तर के गर्नु! सबै मपाईं ठोक्किए-बरालिने पोइको खाटमुनि गुन्डाका मुन्डा टाउका जुझेझैं । फलस्वरुप नौरङ्गी क्रान्ति भए, संघर्ष भए, युद्ध र महायुद्धहरु भए, आखिर बलियाहरुको मपाईं झन पाक्यो, चतुरहरुको मपाईं झन् चर्क्यो । दब्ने मपाईंको इतिहास माटोमा मिल्यो, जितुवा मपाईंको महिमा चितुवाझैं उफ्र्यो, त्यसैले रामायण लेखियो, रावणायण लेखिएन, 'चन्द्रमयूख' देखियो, 'देवमयूख' देखिएन ।

मपाईंको त यस्तै खस्रा कुरा गर्ने बानी छ । नास्तिक भनून् वा नाकठाडो भनून्, मपाईंलाई पनि आफ्नो महान् मपाईंत्वमा पूरा विश्वास छ । वास्तवमा मपाईं बन्नु आत्म-आदर खोज्ने मानवीय मनस्थितिको मोटो विशेषता हो । आफू जस्तै बामपुड्के भए पनि अरुलाई होच्याइदिन पाए हातले नछोईकन धर्को लामो पार्ने 'बीरबल मेथड अफ् डेभलपमेन्ट' सफल भइरहन्छ । त्यसैले होला खुश्चेभले मरिसकेको स्तालिनकको जरैसम्म जुँघा उखेलेर मपाईं बने । त्यसैले त जुनसुकै गल्लीमा भेटिने जोसुकै मान्छेसित सोध्नोस्- सब चोर, सब लोफर, सब आवारा, सब नामर्द, सद्दे भन्नु उही मात्र, जो तपाईंसँग हाँकिरहेको हुन्छ ।

प्रत्येक पसले भन्छ- म अरुजस्तो ठगाहा होइन, प्रत्येक कर्मचारी छाँट्छ- म अरुजस्तो कामचोर र घूसखोर होइन, प्रत्येक युवती नखरा पार्छे- म अरुजस्तो छँडुली होइन, प्रत्येक युवक धक्कु लगाउँछ- म अरुजस्तो नामर्द होइन, प्रत्येक कवि-कलाकार फुल्छ- म अरुजस्तो बकमफुसे होइन । प्रत्येक नेता गुड्डी हाँक्छ- म अरुजस्तो झ्यासझुस लिडर होइन । ओहो! जसका अगाडि उभिए पनि उही मपाईंजनित थुकका छिटा मुखमा पर्नुसिवाय केही छैन । हुँदाहुँदा गल्लीको लुते कुकुरले कुइँकुइँ गरेको सुन्दा पनि म अरुजस्तो भुस्याहा होइन भनी फुइँ छोडेको त होइन ? भन्ने शङ्का लाग्छ मपाईंलाई ।

शङ्का मात्रै होइन, कुकुरको मपाईं झन मापाको हुन्छ । फोहोर खाने जात भएर के गर्नु, जुनसुकै देवीदेवताको स्थानतिर हेर्नोस्- वरिपरि झुम्मिइरहेका हुन्छन् उनै । मोटरमा गुड्नेदेखि रकेटमा उड्नेसम्म सौभाग्य पाएको कुकुर जस्तोसुकै लुते, लुखुरे, लिँडे, तिल्के, टाटे, रागेपाटे, झिल्के, झ्याउरे भए पनि आफूलाई बेलाइती नै सम्झन्छ । त्यसैले त मान्छे जहाँ पूजा गर्छन् कुकुर त्यहाँ जिभ्रो लतपताइदिन्छ, मान्छे जहाँ ढोग दिन्छन्, कुकुर त्यहाँ तुर्क्याइदिन्छ । कसले नदेखेको छ र ? एक चौटा मासुको निम्ति अथवा एउटी माली कुकुर्नीको निम्ति कुकुरहरुको मपाईं कसरी चर्किन्छ ? कसरी उनीहरु दाँत ङिच्च्याएर एकअर्कासित लुछाचुँडी गर्छन् र कति चाँडै मित्र शत्रु हुन्छन; अनि मपाईंको धुमर्के झन्डा पिँधतिर झुन्ड्याएर एकै दिन भए पनि, एकै छिन भए पनि, कुकुरतिहार मनाउँछन्, माला लगाउँछन् । जब मपाईंत्व चुर्लिंदा माछापुच्छ्रेको चुचुरोमा पुग्छ अनि कार्तिके डाँगाझैं उनीहरु जसको पाए पनि घोडा चढ्न खोज्छन्, जसलाई पाए पनि टोक्न थाल्छन् ।

अनि सबैतिरबाट घुस्सा खान्छन्, कुइँकुइँ गर्दै फेरि बिरालासित मित्रता बाँध्न थाल्छन् । त्यसैले त कहिलेकाहीँ राजनीतिमा कुकुर-बिरालाको पनि संयुक्त मोर्चा भएको देख्न पाइन्छ ।

मपाईं- न धार्मिक दृष्टिले पाप हो, न कानुनी दृष्टिले अपराध । मागेर खानेदेखि मात्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ । त्यसैले त अचेल जसले आङ्देखि टाङ्सम्म रङ्गीचङ्गी प्वाँख जडेर आफ्नो महत्ता दर्शाउन सक्छ त्यो महान् हुन्छ । कामले नसके कुराले, दिमागले नभ्याए सुराले, जसरी भए पनि आफ्नो महत्ता बढाउनुपर्छ, अनि स्वास्नीले नुन किन्न पठाउँदा "नुनभन्दा चुन सेतो रे'छ बूढी" भन्दै चुनको पोको गोजीमा हालेर आउने भलादमीले पनि चतुर चन्द्रको उपाधि पाउन सक्छ । युग मपाईंको हो । त्यसैले युगअनुसार आवाज हुनुपर्छ, आफ्नो सह्रनी आफैंले गर्नुपर्छ- अरु कसले गरिदिन्छ ?

हाम्रा साहित्यिकहरुले पनि यो कुरा छर्लङ्ग बुझेका छन् । त्यसैले कोही आफूलाई शेलीको सालो ठान्छन् त कोही मिल्टनको मामा । कुनै पनि सभासम्मेलन वा समारोहमा जानोस- कर्केछड्के हावभावका साथ मञ्चमा उभिनेचाहिँ कवि वा वक्ता सुनाइरहेको हुन्छ- मपाईं-महिमा । सुन्नेहरुचाहिँ खासखास खुसखुस गर्दै सुनाउनेलाई तीन कौडीमा पनि नगनी आफआफ्ना महत्त्वको महिमा गाइरहेका हुन्छन् । यसै क्रममा सम्मेलन सिद्धिन्छ । अरुले लेखेको पनि पढिदेऊँ, अरुले बोलेको पनि सुनिदिऊँ, अरु पनि तपाईं हुन् भन्ने प्रवृत्ति कसैमा छैन । किनभने यो 'नामकरण' को  बेला हो, कामकरणको होइन ।

मपाईं धेरै थरीका हुन्छन् । कसैलाई उपाधि-मपाईंले छोएको भोलिपल्टैदेखि उनीहरु शङ्का गर्न थाल्छन्- के दुनियाँमा मजत्तिको पढैया र बढैया अर्को कोही होला त ? कसैलाई पगरी-मपाईं लागेको हुन्छ, ओहदामा पुग्नेबित्तिकै उनीहरुका आँखाले सबैलाई हल्कारा देख्छ । त्यस्तै, कोही जहानियाँ-मपाईं हुन्छन् त कोही घरानियाँ-मपाईं । कसैलाई मोहनी-मपाईंले सताएको हुन्छ । बाटाघाटामा, अड्डाअदालतमा, कार्यालयमा वा विद्यालय, महाविद्यालयमा जति पनि युवती देखिन्छन् सबैका आँखा उनीहरु आफैंपट्टि फर्केको देख्छन् र साथीहरुसँग फुइँ छाड्छन्- मलाई देख्नासाथ सबै युवती मोहित हुन्छन् किन होला ? तर युवतीले उसको गालाको चाउरी हेरेका हुन् वा गलाको गाँड हेरेका हुन् उसलाई सुइँकै हुँदैन । यस्तै कोही चुइयाँ-मपाईं हुन्छन् जो पेट मार्नु नै आफ्नो पुरुषार्थ सम्झन्छन्, कोही फुइयाँ-मपाईं हुन्छन्, घर बन्दकी राखी पार्टी जमाउँछन् । यस्तै कोही हुन्छन टपर्टुइयाँ-मपाईं, उनीहरुलाई एकै थोकमा मात्रै मपाईंत्व प्रदर्शित गरेर हुँदैन । चढ्नेमा रिक्सादेखि रकेटसम्म, पढ्नेमा पिनासको कथादेखि प्याराडाइज लस्टसम्म, चिन्नेमा चोरदेखि चर्चिलसम्म, किन्नेमा रिबनदेखि रेडियोसम्म इत्यादि सबैतिर उत्तिकै महत्ता प्रदर्शन गर्नु टपर्टुइयाँ-मपाईंको मूलभूत विशेषता हो ।

मपाईं त छँदै छन्, अझ त्यस्ताको मपाईं रमाइलो हुन्छ, जसलाई कसैले झुक्किएर पनि तपाईं भनिदिँदैन । बिचराहरु आफ्नो महत्ता देखाउन टोपीको चुच्चोदेखि जुत्ताको टुप्पोसम्म झिलिक्क पार्दै दिनदिनभर मूल सडक चक्कर मार्छन् । सिउन लागेको सूचीकार देखे पनि, पिउन लागेको जँड्याहा देखे पनि 'हलो' भन्दै हात मिलाउँछन् । एक-दुईवटा फिल्मी गीत गुनगुनाएर उसको ध्यान तान्न खोज्छन् । जब कसैले पनि वास्ता गरिदिँदैन, घरमा गएर स्वास्नीलाई हकार्छन्- "बुझिस्, मलाई दुनियाँले कत्रो सन्मान गर्छ, तर तैं जैरी मात्र मेरो महत्ता बुझ्दिनस् बाबै!" यस्ता पुङ न पुच्छरका मपाईंहरु जत्ति धेरै भए मपाईंलाई चाहिँ उत्ति रमाइलो लाग्छ । किनभने भेट हुनासाथ "ओहो तपाईंजस्तो" भनिइपछि कमसेकम भोजन वा सिनेमाको निम्तो पाइहालिन्छ । कोही यस्ता अभागी पनि हुन्छन् ख्वाउँदा-प्याउँदा पनि प्रशंसा पाउँदैनन् । त्यस्ताको मपाईं यस्तरी बटारिन्छन्  कि अर्थ न बर्थ धोक्रो फुला नबवचएर तीन धोक्रो रिस मनमा कोची मनमनै आफ्नो प्रशंसा गर्न थाल्छन् ।

सबै तँजस्तै छुसी हुन् त!- भन्नुहोला तपाईंहरु, त अचेल तपाईं निम्ठो भए मपाईं झन् झुसी! नपत्याए तपाईं नै भन्नोस्, यो सिङ्गो लेख पनि एउटा मपाईंत्व-प्रदर्शन नै न हो ?

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Re: Bhairav Aryal Literature
« Reply #1 on: August 22, 2016, 03:31:00 PM »
koi Sanga Maha Purush ko sangat cha bhane post garau na

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Re: Bhairav Aryal Literature
« Reply #2 on: August 22, 2016, 03:33:34 PM »
जय भुँडी

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।


परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हु्न् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरु भुँडीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन् हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन्; सबै नेताहरुको उद्गमस्थल भुँडी हो। त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधि्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणीमात्रको प्रमुख कर्तव्य हो।

भुँडीको पूजाविधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरुचाहिं विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा। जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यस कारण, यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धति पढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्र्याइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साख्खै आमा पर्ने महामाता भुँडी रिसाउँदा त के होला के नहोला, आफैं कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौं नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीले मच्चाएका घम्साघम्सी र ध्वांसाध्वांसी कसलाई थाहा छैन र! यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च। आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो नि। नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङगा भुँडी र बूढीको भुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साँढे सातभन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडीपूजा कतिपल्ट गर्ने? त्यसैले कोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थें। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ- यी केवल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सुत्थ्यो- कुम्भकर्ण सुतेझैं। अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो।

सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो। ऊसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ। नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यत: सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधाझैं लादिन परोस् वा गाईझैं दुहिन परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो- ‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’ सबैले थाहा पाएकै छन्- यही भुडीपूजाको लागि हाम्रा कैयन पुर्खाले परचक्रीको दैलो कुरे। हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौं बुढिया र दुलही नानीहरु भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरुको प्रतीक्षामा आँखा तान्दै छन्।

त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।

यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।

तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी। सकेसम्म अरु साराको बाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तै मुख बाइरहेको हुन्छ। कर्म न कुकर्म, सर्म न बेसर्म, धर्म न अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरु हाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्।दोस्रो छ- घ्याम्पे भुँडी। जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ। तेस्रो हो- टाकनटुकन भुँडी। जसलाई नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ। हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरु यहाँमात्र हैइन, पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेका छन्। कति वानरको फौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं हाउडे भुँडीमा पस्नुपरेथ्यो। यी कथाहरु सम्झेर सम्झिनसक्ना छन्। एसिया, अफ्रिकाका कैयौं टाकनटुकन भुँडीहरुले अझै पश्चिम फर्केर ‘भवतिभवति गहुँ मे देहि’ भनी प्रार्थना गर्न छुटेको छैन।

सबलाई थाहा छ- बीसौं शताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।

भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन, बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए। आखिर अरबौं ठन्डाराम भुँडीहरुले रुन्चे स्वरमा चिच्च्याउनुपर्यो। भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरुप मार्क्सले भुँडीपूजाको समान पद्धति सोचे, भुँडीवालहरुले उनलाई उडाए, तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरुको ध्यान त्यता नगई छोडेन।यसैयसै गरी करोडौं ठन्डाराम हाँडीहरुले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठन्डाराम हाँडिहरुको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडीघोप्टे र घ्याम्पे हाँडीहरु ङ्यारङ्यार्-ङरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझैं नाक बजाउँदै छन्। तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरुको माझमा निहुँ खोज्न लागे भने उनीहरुको जुगानुजगदेखि टन्किएको भुँडीले मादल र दमाहाझैं बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ। कुराको जरो यही हो।

मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Re: Bhairav Aryal Literature
« Reply #3 on: August 22, 2016, 03:41:19 PM »
नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।


म थिएँ त्यस बेला बेनामी अड्डाको बहीदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन । बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहीदारको सट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।

मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा ‘टर’ नझुन्डिएको जागिर के खानु ? किनभने जमानै ‘टर’ को छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर, इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा ‘टर’ त झुन्ड्याउनै पर्छ बा ! यो जाबो बहीदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तै मकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरुपी छुचुन्द्रोमा गणपति लम्केझैँ ढल्किँदैढल्किँदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओर्ह्लंदै नमस्कारपूर्वक मैले सोधेँ- “नेताजी कता ?”

“एउटा पार्टी छोडिहालियो । अर्को पार्टी खोलिसकिएको छैन । त्यसैले हालसाललाई नेताजी न यता न उता !” नेताजीले नाक मुसार्दै भने । अनि खल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्झाए- “तपाईंजस्ता नौजवानले पनि बहीदारमा भुन्डिने हो ? आउनुहोस् मेरो पार्टीमा काम गर्न । सेक्रेटरी गराइदिन्छु । अहिलेलाई चिया-चुरोट चलाइदिउँला, चन्दा धेरै उठेपछि चप-चुस्कीको चमेना पनि गर्नुहोला ।” सेक्रेटरी, हँ ! ‘टर’ भन्दा पनि ठूलो टरी !!! उनको कुरा सुन्नेबित्तिकै के खोज्छन् काना ? आँखो भनेझैँ मलाई लाग्यो र झोला र झन्डा काँधमा हालेर हिँडे त्यहीँदेखि चन्दा उठाउने धन्दामा । जोजो जेजे चाहन्छन् त्यहीत्यही मिलाइदिन आशा देखाएपछि चन्दा झर्न कति बेर ! हाम्रो घोषणापत्रमै लेखेको थियो-

“व्यापारीलाई दर, सुकुमवासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झन्डा, पन्डालाई भेटी, गुन्डालाई केटी, इत्यादि ।”

तर के गर्नु- नेता थिए नम्बर वन, जति चन्दा उठाए पनि आफैँ च्वाम् । आखिरमा गएर मलाई जङ्बहादुरको पालाको एउटा जडाउरी कोटमा टारिदिए । चौटा खान गएको सम्धि झोलमा डुबेर मर्‍यो भनेझैँ म हिस्स बूढी हरिया दाँत भएँ । तर उद्दोग गर्दै रहेपछि एकातिर नभए अर्कोतिर गल्फ भन्ने सम्झेर तुरुन्तै ज्वाइन गरेँ अर्को पार्टी ।

पार्टीको नाम त के हो कुन्नि, अङ्ग्रेजीमा थियो, तर नेताको नाम भने रेशमवीर पाँडे हो ! नेतालाई भेटेकै दिन श्रीमती नेतीले मसित सुटुक्क भनिन्- “तपाईं पहाडको मान्छे, एक टिन शुद्ध घिउ ल्याइदिनुहोस् न, म उहाँ हजुरलाई भनेर अफिससेक्रेटरी गराइदिउँला ।” के गरुँ-

“नेतानां नेतीनां चवै वचनं नैव लंघयेत्,
संसदीये प्रजातन्त्रे पार्टीनेतैव ईश्वर: ।”

यही ठानी गएँ उही दिन काम्लोकुम्लो बोकेर देउपुरतिर । तै, घिउ बोकेर आउँदै थिएँ, भाग्यमानीको भूतै कमारा भनेझैँ अर्को नेताले समाएर भने- “त्यो ठगसित किन लाग्छौ, बरु एक टिन घिउको अडर मै दिउँला तिमीलाई, मेरो पार्टीको सङ्गठन गर ।” कुरा मलाई ठीकै लाग्यो र थालेँ उनैको पार्टीको लागि मान्छे फकाउन । माम पाएपछि काम गर्न को गाह्रो मान्छ ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले झुलाएर, कसैलाई झन्डाले लोभ्याएर, कसैलाई डन्डाले सोझ्याएर, कसैलाई खेती जोरिदिउँला भनेर, कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नुन पाउला भनेर, कसैलाई सुन लाउला भनेर इत्यादि गर्ने कृत्य गरी मेरा मनोमान खुसी राजीसाथ पार्टीको सदस्यबुकमा सही गराएँ । यसको फलस्वरुप कैयौँ पटक जुलुस, भाषण, हडताल, पिकेटिङ गरियो । “जहाँसम्म हाम्रो अखिल नेपाल दु:खमोचन पार्टीको सरकार हुँदैन, त्यहाँसम्म सङ्घर्ष जारी नै रहन्छ” भन्दै सभापति श्री बिकनबिलास बनियाँले नेपालचौरमा कुर्ले । शहीदको शपथ खाँदै उनले यो पनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दु:खजति कालमोचनमा लगी म बगाइदिन्छु ।

नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्, मैलेसम्म एक तुर्का चिया पाएको थिएँ, मैले बनाएका सदस्यले एक कुड्का ल्वाङ पनि पाएनन् वा अरु जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको, कतै सालाको पनि सालाको मुड्का पाउन थाले । यो देखी मलाई साह्रै जङ चल्यो र म पुगेँ अर्कै पार्टीमा ।

तर त्यो रहेछ गजब पार्टी । जानासाथ मेरो इन्टरभ्यु पो लिन थाल्यो ! प्रश्नोत्तर यिनै थिए-

“हूलदङ्गामा तँ कति पटक पक्रिएको छस् ?”
“छैन ।”
“हतियार चलाउन केके जान्दछस् ?”
“जान्दिनँ ।”
“चोरी, रहजनी इत्यादिमा बात लागेको छ कि छैन ?”
“छैन ।”
“परेको बेलामा चर्पीको प्वालबाट भाग्न सक्छस् कि सक्तैनस् ?”
“सक्तिनँ ” इत्यादि । अनि नेताले एउटा ठेलो पल्टाएर भन्यो-
“चोरिचकारि नगरी चतुर्‍याइँ हुन्न
दङ्गाफसाद नगरे इजतै रहन्न ।
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औ बलैमा ।”

यो सुनेर म अक्क न बक्क परी फर्के वरैतिर । तर पार्टीको नशा अफिमको भन्दा पनि कडा हुने रहेछ । बाबुआमा गाली गर्थे- पार्टीमा कुद्नुभन्दा पाटीमा एउटा नाङ्ले पसल थाप्नु नि बाबू ? तर के भन्या यस्तो ? नेता हुने मान्छेले नाङलाँ तिलौरी बेचेर बस्नु ? तिलौरिको सट्टा बरु स्वास्नीको तिलरी बेचुँला नि भनेजस्तो लाग्यो । अनि मैले धमाधम एकपछि अर्को, अर्कोपछि अर्को गर्दै भएजति पार्टी चहारेँ । दुई-चार वटाको नाम पनि सुनिहाल्नोस्-
     १)   राष्ट्रिय छलछाम परिषद् ।
     २)  अराष्ट्रिय पेडाजुल्फी दल ।
     ३)  अन्तर्राष्ट्रिय खुर्पा पार्टी ।
     ४)  अराष्ट्रिय जम्बुक दल ।
     ५)  सुराष्ट्रिय कन्याखोज मण्डल ।
     ६)  कुराष्ट्रिय कुकर्म काउन्सिल इत्यादि ।

श्राद्ध गर्दा बिकारलाई घोप्ट्याएको दुनो पनि पछि गएर पुरेतले सोभ्याउन लाउँछन्, तर मेरो घोप्टिएको दुनो कतै पनि सोझिएन । एक सुयवटा नेताको सङ्गत गरेँ, जुत्ता बोकेँ, आखिरमा आएर न यता न उता । तयसैले झोकै शान्ति मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो- ‘अखिल नेपाल भस्याङभुसुङ दल’ । जसले जे भने पनि आखिर म पनि एउटा नेता भैहालेँ । अन्त्यमा, मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भने बङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनुहोला अथवा जग खन्ने मुसा, घुरी खोस्रने बिरालाको कानमा झुन्डयाइदिए पनि हामीकहाँ आइपुग्छ । सो पनि नसके एउटा लाटोकोसेराको कानमा सुटुक्क भनी पठाए पनि हुन्छ । नोट गरी राख्नोस्- नेता नम्बर - एक  सय एक ।

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Re: Bhairav Aryal Literature
« Reply #4 on: August 22, 2016, 03:42:08 PM »
जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ ।

मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्दैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटा ईश्वर हो, जसलाई मान्छे पछयाउँदै जान्छ, ऊचाहिँ परपर तर्कंदै जान्छ तर ऊ जतिसुकै पन्छिए पनि मानिस भोलिको भक्त छ । उसको मुखमा ‘राम राम’ झैँ सधैँ झुन्डिरहेको हुन्छ- भोलि । त्यसैले आजको काम भोलिलाई थाती राख्नु हाम्रो संस्कृति हो । आफ्नो संस्कृतिलाई उल्लङ्घन गर्न कसले सक्छ ?

साँच्ची भनूँ भने पूर्वीय दर्शनको सबभन्दा ठूलो विशेषता हो- भोलिवाद । हाम्रो दर्शन आज (बाचुन्जेल) दु:ख गर, भोलि ‍(मरेपछि) मुक्ति पादँछौ भन्छ । तर दर्शनको भनाइ र मानिसको गराइमा कहाँनेर फरक पर्छ भने दर्शन भोलिका निम्ति आज गर भन्छ, मानिस डेढ अक्कल लगाइदिन्छ- भोलिको निम्ति गर्ने भएपछि आज किन गरिरहनु। भोलि नै गरे भैहाल्छ नि । अनि निस्कन्छ- आधुनिक भोलिवाद, जसका अनुयायी तपाईं-हामी सबै छौँ ।

भोलिवादको श्रीगणेश कुन बेला, कसको पालादेखि कसले सुरु गर्‍यो, त्यो किट्न सकिन्न, तर हेरिल्याउँदा नेपाली समाजमा भानुभक्तभन्दा अघिदेखि नै यसले खुट्टो घुमाएको बुझिन्छ । उनले एकपटक साह्रै दिक्दारिएर भनेका थिए- “भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।” कसो हामी भाग्यमानी रहेछौँ र हाम्रा आदिकविलाई झोली बोकेर वनतिर पस्नु परेनछ । उनको यो घुर्कीबाट हामी बुझ्न सक्छौँ- भोलिवाद सिद्धान्तका प्रणेता कुनै महार्षि या आचार्य थिएनन् । यो त निसापको ठूलो घरमा बसेर बेहिसाप गर्न खोज्ने उहिलेका जरसाहेब, काजीसाहेब, हजुरियासाहेब यस्तै कुनै फर्सीटाउकेसाहेब-साहेबनीहरु हुँदाहुन्; हुन सक्छ, सरस्वतीको तानाबाना बोकेर दक्षिणा फर्काउँदै दुनियाँ छकाउने गुरुजी, पण्डितजी, वैध्यजी इत्यादि ‘जी’ हरुमध्ये कुनै थिए कि ?

हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे । लाग्नासाथ घरभेटीले थरीलाई पुकारेछ । थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछन्- “भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला ।” भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचैकीमा पुगेछन् । तर चैकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन् । घरतिर सिपाहीले सोही बेहोरा बताई भोलि आउने आज्ञा दियो । भोलिपल्ट चैकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो । ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो कि फलाना ठाउँमा आगो लाग्यो । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूले “लौ भोलि सम्झाउनू” भन्ने हुकुम दिए । भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो- “सरकार फलाना ठाउँमा आगोले सिद्धयाएछ ।” काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- “लौ भोलि नै निभाउन लगाइदिनू ।”

हिजोआजजस्तो टेलिफोनको व्यवस्था त्यतिखेर पनि भएको भए त्यस्तो हुँदैनथ्यो कि भन्नुहोला, तर मानिसलाई भोलिवादले छोएपछि टेलिफोनका बाबुको पनि केही लाग्दो रहेनछ । अस्ति मात्रको एउटा कुरा सुन्नोस्, मेरी एउटी नातेदार महिलाज्यूलाई प्रजा बढाउने व्याथाले अँठयाएछ । तपाईंलाई थाहा होला नि, अघिअघिका जस्ता हिँड्दाहिँड्दै ब्याउने दह्रा आइमाई कहाँ छन् र अचेल ! पाउने दुई महिनाअघिदेखि भुँडी छाम्दै डाँको छोड्दै कन्न थाल्छन् ! त्यसमाथि पनि यनि त थिइन् पहिला बेते । त्यसैले, अस्पताल नपुर्‍याई त कुरै थिएन । हत्त न पत्त छिमेकीको टेलिफोनमा गएर हलो हलो गरेको त कोहीबाट रिसिभरको तार मात्र तन्द्रङतुन्द्रुङ हल्लियो, कतैबाट कोही बोलेन ! फोनधनीले भने- “लाइन बिग्रेको तीन दिन भयो, भोलि भन्दाभन्दै बनिसकेको छैन, कृपया भोलि एक पटक पाल्नुहोस् न ।” लौ लौ भन्दै कुदेँ अस्पतालतिर ।

अस्पतालमा एउटी युवती नर्सले सबै बोलीबिस्तार सुनिन् र मधुर मुस्कानसाथ भनिन्- “आज सिट पनि खाली छैन, सुपरिटेन्डेन्टसाहेब साहेब बाहिर जानुभा’ छ, कृपया भोलि पाल्नुहोस् न, अम्बुलेन्स कारको ब्रेक पनि भोलि बनिसक्छ ।” हुन्न भनेर पो के गर्नु र ? भला भोलिको तारिख दिए पनि छिमेकीको टेलिफोन मात्रै बनेको भए पनि ‘हलो हलो’ भनेर कनिरहेकी महिलाज्यूलाई कृपया भोलिसम्म पर्खनोस् है भन्दो हुँ तर त्यो पनि थिएन ! लुत्रे कान लगाएर दुई-तीन घण्टापछि उनकहाँ पुगेँ, तै बिचारीले अटोमेटिक मेथडबाटै काम सिद्धयाइछन् र मात्र, नत्र... ।

अब तपाईं नै भन्नोस्, भोलिवाद हटाउन टेलिफोनका बाबुको तागत चल्दो रहेछ त ! काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरु बढ्दै छन् । न्युयोर्कमा बोलेको कुरा न्युरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौँमा टेलिप्रिन्ट हुने भयो, तर भोलिवादमा कुनै प्रवाभ परेको देखिदैँन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई ‘भोलिदरबार’ भन्ने नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक-एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाईं छाड्नुहुन्न । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबार होस् कि स्यालदरबार होस् भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।

सरकारी क्षेत्रको मात्रै हो र, असरकारी क्षेत्रको पनि गति उहि हो । भोलि दिउँला भनी पैँचो लगेको पैसाले ५०० भोलि बिताइदिन्छ । पसलेहरु ‘आज नगद भोलि उधारो’ भनिरहून्, उधारो नदिई उनीहरुले सुखै पाउँदैनन् । ग्राहकलाई उधारो तिर्नेचाहिँ भोलि आउँदैआउँदैन । कुनै मालिकले नोकरलाई ५०।– रुपियाँ तलबका निम्ति ५० भोलि कुदाउँछन् । कुनै हितैषीले तीन मिनेटको कुरालाई तीन बर्षसम्म भोलिभोलि भनी गन्हाउने चोक कुराउँछन् । ऋण लिन जाँदा साहू भन्छ- भोलि, लेख लिन जादाँ लेखक भन्छ- भोलि, तारिख लिन जादाँ बाहिदार भन्छ- भोलि, तलब लिन जादाँ तहबिलदार भन्छ- भोलि। लुगा सिइसकियो ? भन्दा सूचीकार भन्छ- भोलि, चोक बढारिदे भन्दा कूचीकार भन्छ- भोलि । हुँदाहुँदा लोग्नेस्वास्नीमा पनि भोलिवादी भएकाले एकअर्कालाई पर्खाउने बानी बसिसकेको छ अचेल । लोग्नेले टोपी धोइदेऊ न भन्यो भने स्वास्नी भोलि धोइदिउँला भन्दाभन्दै सात दिन बिताइदिन्छे । स्वास्नीले नुन खाँचै छ भनी भने भोलि ल्याइदिउँला भन्दाभन्दै लोग्नेले पर्खाइदिन्छ छ-सात दिन ।

वातावरणै सबै भोलिवादी भएपछि मान्छेको मनोवृत्ति ससाना कुरामा पनि भोलिवाद नभई छाड्दो रहेनछ । इमानजमान नछाडीकन भनिदिऊँ भने भोलिभोलि भनेर मानिसले अरुलाई मात्र होइन, आफूलाई पनि झुलाइरहेको हुन्छ । अर्को शब्दमा भोलिको घोचो लिएर मान्छेले समाजलाई मात्र होइन, आफूलाई समेत निष्क्रियतातिर घचेटिरहेको हुन्छ । पढ्नु थियो- भोलि पढुँला, जानु थियो- भोलि जाउँला, गर्नु थियो- भोलि गरुँला – भन्दाभन्दै कहिलेकाहीँ राति दिसा लाग्यो भने पनि निस्कनाको गाह्राले भोलि गरौँला भनी सुतिदिन्छन् कैयौँ ठिटाठिटीहरू । भोलिवादको अपवाद के छ भने खानलाई चाहिँ मान्छे सकेसम्म भोलिको भाका राख्तैन । भोलि दु:ख परे ‘रात रहे अग्राख पलाउँछ’ भन्दै भएभरको आजै बुत्याउन परे पनि ऊ तम्सन्छ । उदाहरणको निम्ति एउटा छोटो कुरा सुनाइहालूँ ।

एक पटक काठमाडौँको ठूलो होटेलमा बफे डिनर थियो । त्यहाँ कहिल्यै कतै नहिड्ने एक जना जरसाहेब पनि आएका रहेछन् । उनले खाएपिएको देख्ता म छक्कै परेँ, झन्डै आधा दर्जन पाहुनालाई पुग्ने भाग उनी एकै जनाले बुत्याइदिए । आखिरी पटक खसखस थाम्न नसकेर मैले सोधेँ- “होइन, जरसाहेबलाई आराम नहोला नि ।” उनले सजिलैसित भने- “आराम नभए भोलि औषधि खाउँला ।” उनको यस भनाइबाट यही निष्कर्ष निस्कन्छ- मान्छे सबै कुरामा भोलिवादको अनुसरण गरे पनि खान भने भोलिलाई पर्खंदैन, यो उसको ठूलो गुन हो ।

यसबाहेक अरु सबै क्रियाकलापहरु हाम्रा भोलिवादी छन् । भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो । तैपनि मेरो थोत्रो मगज यही शङ्कामा सधैँ जेलिइरहन्छ । हरेक कामकुरोमा भोलि भन्दाभन्दै भानुभक्तले भनेझैँ पर्सि हामी सबैले झोली बोकेर ‘बम् भोलानाथकी जय’ भन्दै डाँडैडाँडा कुद्न त परोइन ? के बेर ! आज गरे हुने कामलाई भोलि पर्खेपछि त्यही हिसाबले यसपालिका सारा काम आघौँलाई पन्छन के बेर ? यस दशकका काम अर्को दशकलाई थन्कन के बेर ? अनी बीसौँ शताब्दीका सम्पूर्ण जिम्मेदारी र कर्तव्यहरु एकाइसौँ शताब्दीका लागि डिपोजिट रहन के बेर ? यसो हुँदाहुँदै कता पृथ्वी भोलि घुमौँला भनेर आराम नगरिदेओस्, हावा भोलि डुलौँला भनेर विश्राम नगरिदेओस्, जय भोलि !

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Re: Bhairav Aryal Literature
« Reply #5 on: August 22, 2016, 03:59:22 PM »
नाम फर्ने धुनमा

...धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरि ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्‍विपुछ्रे हुनुपरेको छ । अझ कोही नाममा भए-नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।

कोही राख्ने नाउँलाई फार्ने गराउँछन्, कोही फार्नेलाई राख्ने । विष्णुका सहस्र नामजस्तै एउटै मान्छेका सत्रोटा नाम पनि सुन्नुपरेको छ । ००७ सालको राजनीतिक क्रान्तिसँगसँगै जोरिइर आएको यो नाम क्रान्तिले मलाई पनि नउराली छाडेन । म कति दिन ‘कालू’ को ‘कालू’ रहेन ? राख्ने नामलाई नै फार्ने गराऊँ न त भने झन् नमिल्दो छ ‘खडेश्वर’ । ठूलाबडाको सामु दुई मिनेट खडा हुनुपर्दा कामज्वरो चढेझैँ लगलग पाँसुला काम्ने मेरो नाम ‘खडेश्वर’ । पहिलो कुरा त के छ भने बाबुदेखि लिएर साहूसम्म सबैको जिभ्रामा झुन्डिएको छ- कालू । प्रख्यात भैसकेको नाम छाडेर मलाई कल्ले खडेश्वर भन्ने ? भनिहाले पनि नाम बिगारुकलामा सुप्रसिद्ध हाम्रा साथीभाइले खडेश्वरलाई छोट्टयाएर फकाउनुपरे ‘खडु’, होइन भने ‘खडे’ भनिदिन्छन् ।

हाम्रा गाउँका मामा आफ्नो नाम बताउँदा चतुर्भुजप्रसाद उपाध्याय भनी बडो गर्व गरेर भन्छन्, तर उनलाई गाउँघरेहरुले ‘चतुरे बाहुन’ भनेको पत्तै छैन । हाम्रा ठूल्दाइ मेरो नाउँ त ‘काजी गजाधरबहादुर उप्रेती क्षेत्री’ भनेर गजक्क पर्छन् । बाहिर सुन्ने हो भने उनलाई ‘गजेखत्री’ सिवाय केही भन्दैनन् । सायद पैसा कमाउन या मान पाउन सकेको भए मेरो नाममा अलि सुधार गरिदिन्थे होलान् कि ? त्यसो भए पनि हद्द भन्लान्- खडुबाबू वा अझ छोटकरीमा- खडुकाजी । हुँदाहुँदा मेरो असली नाम ‘खड्काजी’ हुन बेर छैन । अब भन्नुहोस्, म झर्रो उप्रेती क्षेत्रीलाई खड्काजी भनिदिए भने नाम त फरक पर्‍यो पर्‍यो, थर, गोत्र पनि बदलिने भयो । अर्को कुरा मेरो राख्ने नाम पेटफार्‍यो ‘ष’ बाट उठेको हो कि मोटो ‘ख’ बाट उठेको हो त्यसमा पनि पुरेतबाजेको र हाम्रा बाजेको मतभेदै छ । त्यसैले राख्ने नाम चल्तीमा ल्याउने त मेरो कुरै छैन ।

अब म आफ्नो नाम के राखूँ ? विष्णुसहस्रनाम, गणेशसहस्रनाम, सूर्यका बाह्र नाम इत्यादि शास्त्रीय नामदेखि लिएर आफूले आजसम्म हेरेका फिल्म, उपन्यास र नाटकका पात्रहरुका सारा नाम म छान्न थालेँ । इष्टमित्र, साथीभाइ, ठूलाबडा सबैको नाम पनि सम्झन थालेँ । यतिसम्म कि जरसाहेब, करसाहेब, मैयाँसाहेब, बिबीसाहेब इत्यादि ठूलठूला साहेबसाहेबनीका काखमा पालिने कुकुर, बिरालो, खरायो आदिको नामसमेत मैले आफ्नो सूचीपत्रमा सम्झेसम्म टिपेँ । साँच्ची भनूँ भने तिनताक मेरो मगजमा नामछनोट समितिको एउटा धूमधामको अफिसै खुल्यो ।

म आफ्नो नाम राख्न चाहन्थेँ आधुनिक भावपूर्ण र आफूसुहाउँदो । शास्त्रीय नामदेखि पनि मलाई झोक उठिसकेको थियो । पल्ला गाउँको ठूले- जो हप्तामा तीन पटक भेडो काटेर बेच्थ्यो- उसको नाम बुद्धरत्न रे ! यसलाई अहिंसावादी बुद्धको बेइज्जती नभने के भन्ने ? पिँडालुटारका सुब्बा भनेपछि गरिबगुरुवा थर्कमान हुन्थे । दुई मुठा प्याज बेचेको पैसाले दुई हजारसम्म ब्याज लगाउन सक्ने सुब्बाको दयामायाबारे के बयान गर्नु ! तर उनैको नाम थियो दयाराम । छुच्चोमा खोज्न गए तीन सहर नेपाल वर्णाएका हाम्रा जरसाहेबको नाम दानवीर ! हाम्रा बाजेको पालामा जिल्लामा हाकिम भएर घूस खाँदाखाँदा कोक्रामा कुरमुर्‍याएर ल्याइएका तल्ला गाउँका बूढाको नाम धर्मजङ्‍ग । टाढा किन जानु ! दिनको तीन फेर पेग र पुलाउबेगर नहुने हाम्रै छिमेकीको नाम शिवभक्त ।

यसैले यस्ता स्वभाव नमिल्ने नाम राख्नुभन्दा बेनामी नै बसूँजस्तो मलाई लाग्यो । मेरी श्रीमतीलाई पनि आफ्ना पतिदेवलाई अरुले 'कालु' भनेकोमा खेद लागिरहेकै थियो । त्यसैले उनी पनि मेरो नाउँ-फेर आन्दोलनमा ज्यूज्यानले सहयोग दिइरहिथिन् । एक दिन बेलुका सूचीपत्र पल्टाउँदै भनिन्- "उसो भए हजुरको नाम सुन्दर राख्ने ।" प्रस्ताव मलाई पनि रमाइलै लाग्यो । तर झलक्क सम्झेँ- आफ्नो नाम त सुन्दर राखुँला तर सुन्दरकी पत्नीलाई कसैले 'सुन्दर पत्नी' या 'सुन्दरी' भनिदिएको खण्डमा के अलि बिझओन  ? तैपनि सुन्दर नाम सुन्दरै हो । आफ्नो अनुहार पनि त्यति असुन्दर कहाँ छ र ! जेसुकै होस्, यही राख्नुपर्‍यो भनेर सम्झँदै थिएँ, हाम्रा नेत्रबहादुर काका टुप्लुक्क आइपुगे । दिइटै आखाँ चिम्सा भएका हाम्रा काकालाई अक्षर हेर्नुपर्‍यो भने चस्माभन्दा माथि पनि हातले ओझेल पारेर हेर्नुपर्थ्यो । 'जुन गोरुको सिङ छैन उसको नाम तीखे' भन्ने न्यायअनुसार उनको नाम नेत्रबहादुर रे भन्ने सुन्नासाथ हाम्री दुलही खिल्ल हाँसिन्।

काका पन्छिएपछि जोईपोइ बसेर फेरि नाम खोज्न थाल्यौँ । ठूलाघरे बहिराको नाम कर्णबहादुर । दुइटै हात झरेर देउपाटनको सडकमा पैसा माग्नेको नाम हस्तबहादुर । जन्मैदेखि डेढी मेरी जेठानदिदीको नाम सुलोचना । बिफरले छयाकैछयाका भएकी बिचारी सालीको नाम रुपवती । फू: गर्दा थानकोट काट्ला जस्तो मेरो भाइको नाम वीरबहादुर । देख्दै यमराजको दूत होला जस्तो दाह्रे जिम्दारबाजेको नाम कामदेव रे ! भएन के ! अनि मलाई रुप बुझाउने नाम पनि मन परेन । अरू सबै थोक सुन्दर भएर के गर्नु ? कोदालीपाते तजस्ता आफ्ना दाँतले पोल खुस्काइहाल्छन् भने म कसरी 'सुन्दर' नाम राखूँ ?

मेरी दुलही हरेराम पार्टीकी भूतपूर्व सदस्यी भएकीले हो कि किन हो, फेरि अर्को नाम झिकिन्- "मथुराकुमार राखे कसो होला ?" हुन त हो, ठाउँबाट पनि नाम राख्नु राम्रो हो । मैले आफ्नो अड्डाका हाकिम अयोध्यामान, टाइपिस्ट जमुना आदिको नाम सम्झेँ । तर यसबाट झन् हाँसो उठ्यो । ठाउँबाटै नाउँ राख्ने हो भने नेपालीहरु आफ्नै स्वदेशी नाम किन राख्दैनन् ? चिनियाँमानको सट्टा चिसापानीमान किन नराख्ने ? यस्तै जमुनादेवी, गङ्‍गाकुमारी, डिल्लीरमण आदिको सटो जाजरकोटदेवी, गण्डकीकुमारी र दिङ्लारमण राखे के पर्ला ? यस्तो सङ्कुचित विचार नलिऊँ भने हुन्छ, ल, कसैको काहिरामान, कसैको पेकिङराज, कसैको लन्डनकान्त, कसैको पेरिसकुमार, कसैको न्युयोर्कप्रसाद राखौँ । के भन्नु ? देउतैको नाम लिऊँ भने पनि नेपालमा 'पशुपतिनाथ' भन्दा 'विश्वनाथ' भन्ने नाउँको चल्ती भएको सम्झँदा मैले आफूहरुको नक्कली संस्कारलाई पाचँपल्ट स्याबासी दिएँ ।

फेरि सूचीपत्र पल्ट्यो । 'परदेशी', 'पहाडी', 'विकल', 'विद्रोह', 'विप्लव', 'चेतन', 'अज्ञात', 'कञ्चन', 'रोचक', 'रुचिकर', 'अशान्त', 'त्यागी', 'वियोगी', 'विरही', 'कुसुम' इत्यादि आधुनिक पुछ्रे नामहरु आए । आफूलाई पहिलो एउटा सिङ्गै नाम चाहिने, त्यसपछि पो चङ्गाको पुच्छरझैँ यस्तायस्ता उपनाम झुन्डयाउन सजिलो हुन्थ्यो त ! सबे केलाएर हेर्दा सिङ्गै हुन पुग्ने कुनै नाम देखिएन । स्वदेशमै बसेर 'परदेशी' कसरी भनिने ? टेरिलिन सुट लगाएर नयाँसडक घुमिरहनुपर्ने । आफूलाई 'पहाडी' भन्ने स्वाङ देखाउन पनि मन लागेन । नेपाल पहाडी प्रदेश भन्ने कसलाई थाहा छैन र म पहाडी हुँ भन्ने विज्ञापन गरिरहनु ? त्यस्तै ठूलाबडाले उखु चुसेझैँ चुसिरहँदा चुँक्क बोल्न नसक्नेले विद्रोही, विप्लवी इत्यादि पुच्छर के झुन्डयाऊँ ? अरुले भने भनोस् नभने नभनोस् आफूले आफैँलाई रोचक, त्यागी, कञ्चन, कुसुम इत्यादि नाम दिन पनि मपाईंको प्रदर्शन गर्नु हो जस्तो लाग्यो । विकल, विरही, वियोगी, अशान्त इत्यादि जे भने पनि अलि रुन्चे भाव देखाउनु छ भने म आफ्नो पुछ्रे नाम पिन्चे, पिलन्धरे यस्तै कुनै प्रस्ट नेपालीमा राखिदिन्थेँ ।

जे होस्, धेरैजसो हिन्दुस्तानीहरुबाट नक्कल गरिएका र हिन्दी-संस्कृतबाटै कोसेलीझैँ लिइएका यस्ता पुछ्रे नामले मलाई निकै दिन अलमल्याए तापनि यिनैबाट आफ्नो नामकरण गर्न भने अलि चित्त बुझेन । मैले यस्ता नाम राख्नेहरूको खिसी गरेको त नसम्झनुहोला नि ! आफ्नो प्रधान नाम नभएकोले पुछ्रे नाम मात्रै राख्दा 'दौरा न सौराको गोजी' होला भन्ने गन्थन मात्रै गरेको ।

श्रीमतीले अर्को प्रस्ताव राखिन्-

नाम जस्तोसुकै भए पनि इङ्ग्लिस-कट गरिदिए त भलादमीको ठाउँमा भलादमी, आधुनिकको ठाउँमा आधुनिक, कसो ? उपाय सजिलै हो । 'के. एस्. काजी' भनिदियो कालूसिंह लाजी पनि खडेश्वर काजी पनि दुवैतिर मिल्छ । राख्ने न फार्नेको इङ्ग्लिस-कट ठ्याक्कै ! अब भने समस्या समाधान भयो भनी फुर्कँदै थिएँ, दिल्ली रोडका बाबूसाहेबलाई झल्याँस्स सम्झियो । उनको नाम थियो टी. बी. सिंह । नाम सुन्दा कतिले उनलाई टी. बी. भएको हो कि भन्ने शङ्का पनि गर्थे । ताराबहादुरलाई इङ्ग्लिस-कट गराउँदा त्यो आपत् पर्‍यो । त्यसले उनका दाजु टीकाचन्द्रचाहिँ आफ्नो नाम कसैले इङ्ग्लिस-कट पारेर मारिदेला भनी सधैँ थर्कमान रहन्थे । जे होस्, मलाई यस्तो आपत्ति त केही थिएन, 'के. एस्. काजी' नाम जमेकै हो । तर के गर्नु र, नेपाले खस्रो जिभ्राले बेलायती उच्चारण गर्नुपर्दा के. एस्. काजीलाई बिगारेर केशकाजी, क्यासकाजी, क्याँसकाजी गर्दागर्दै आफू मरेपछि छोरानातिले 'ग्याँसकाजीस्तृप्यन्ताम्' गरिदिन के बेर ? फेरि कुल्लीसिंह र खन्ती साहूको इङ्ग्लिस-कट पनि त के. एस्. नै हुन्छ नि ! त्यसैले इङ्ग्लिस-कट नाम झन् खतरनाक लाग्यो ।

एक महिनाको परिश्रममा मैले कुनै पनि नाम मन नपराएपछि मेरी श्रीमती पनि खूबै झोक्किन् र भनिन्- "अब तपाईंलाई सुहाउने नाम त एउटै बाँकी छ ‘लिँडो’ ।" हुन पनि जस्तो नाम ल्याए पनि मन नपर्ने मलाई मेरी दुलहीले के नाम राखिदिऊन् त ! मैले उनलाई स्याबासीको धाप दिदैँ भनेँ- "बल्ल ल्यायौ आफूसुहाउने नाम ।" त्यहाँदेखि मेरो नाम रह्यो- ‘लिँडे कालू’ ।

dashing_thunder

  • 50x
  • ****
  • Posts: 171
Re: Bhairav Aryal Literature
« Reply #6 on: August 22, 2016, 04:05:36 PM »
चरिचुच्चे ‘च’

हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं हामीजस्ता फुच्चालाई घुच्चा ख्वाउन तम्सिरहेका हुन्छन् । हुदाँहुदाँ छुच्याइँ र लुच्याइँ नजान्नेहरुले अब बालुवाको लुच्चाइँ पकाएर खाए मात्रै हो, नत्र निर्वाह गर्न मुस्किलै छ ।
       
छुच्चा र लुच्चाको आबादी किन बढ्यो त? सवाल सजिलो छैन । कोही लख काट्छन्- आणविक उन्नतिले दानविक प्रवृत्‍ति बढयो । कोही भन्छन्- आचार नभएकोले अनाचार बढयो । तर सोध्ने कसलाई? जो जान्दछन् उनै लुच्चा छन् । आजको ज्ञन नै लुच्चो छ, विज्ञन नै छुच्चो छ ।

त्यसैले मानिसका शिक्षादीक्षा, राजकाज, घरकाज, किनमेल, हेलमेल, काम-कीर्ति, माया-पिर्ती सारामा छुच्याइँ र लुच्याइँले रजाइँ जमाएको छ । सबैतिर साँठगाँठ मिलाउँदामिलाउँदै अचेल मानिस जति पढ्ढै र बढ्ढै जान्छ, उति छुच्चो र लुच्चो हुदैँ गएको देखिन्छ । बरु सच्चा कुरा निस्कन्छन् आफूजस्तै फुच्चाबाट । त्यसैले म भन्दै छु, छुच्चा र लुच्चाको सङ्ख्या बढ्नु चुच्चाको प्रभाव हो ।

हो, आज चुच्चाको युग हो । पहिलेपहिले सुगा, मैना र कोइलीजस्ता चराका चुच्चालाई मात्र चुच्चा भनिन्थ्यो र तिनैको महत्त्व थियो । तर अचेल प्रत्येक मानिस चुच्चाप्रिय छन् र उनीहरुको सभ्यता चुच्चादारी छ । युवकहरु टाईको टुप्पो चुच्चाएर लतार्छन् भने युवतीहरु केशको जुरोदेखि लिएर जुत्ताको एडीसम्म पनि चुच्च्याएर युवकहरुको चित्त ठुङ्न खोज्छन् । यो चुच्चादारी सभ्यतामा छोराले बाबुसित पनि छुच्याइँ गर्नुपर्छ, स्वास्नीले लोग्नेसित पनि लुच्याइँ गर्नुपर्छ । नत्र साथी-सँगातीका अगाडि उनीहरुको फेसन बुच्चो हुन्छ, रहनसहन किच्चो हुन्छ र चुच्चाचुच्चीको जमघटमा आफू खिच्चाझैँ अपहेलित हुनुपर्छ ।

त्यसकारण अचेल केटाकेटी बाह्रखरी पढ्ढा सबैभन्दा पहिले चिन्दछन्- चरिचुच्चे ‘च’ । उसको त्यति राम्रो चुच्चो देख्तादेख्तै गुरुचाहिँ मुखबुच्चे ‘म’ लाई ‘राम्रो म’ भनी सिकाउन खोज्छन् अनि गुरु-चेलाको मत मिल्दैन । वास्तवमा भनूँ भने वेदको ॐ  जस्तै सम्मान्य अक्षर अचेलको चरिचुच्चे ‘च’ हो । किनभने रातदिन नखाई नहुने चिया, चुरोट, चुस्कीजस्ता अमृतमय अम्मलहरु चरिचुच्चे ‘च’ बाटै उठेका छन् । जब यिनको तलतलले मान्छे तुलबुलाउँछ, अनि ऊ बाबुको बगलीदखि लिएर स्वास्नीको थैलीसम्म छाम्न पुग्छ, यसबाट सफल हुन नसकेमा उसले अनेकौँ चाखलाग्दा जुक्तिबुद्धिको साधनामा लाग्नुपर्छ ।

एक पटक, हाम्रा साथीसाथीमा यही खलबल चलेको थियो- चिया, चप, चुस्की र चलचित्रको गर्जो टार्ने कसरी? नेपालका युवकहरुको आर्थिक स्थिति यही हो । इलम उद्योगको सोच छैन, भोज खानै पर्ने, पोज राख्नै पर्ने । खेती गरुँ कोदालीको बोझ, व्यापार गरुँ किनबेचको झोँज, बरु खोज गरेर भए पनि जागिरै खान पाए न हो अलिकति मोज हुने । त्यसमा पनि स्याहास्रेस्ताको बोज र दिनहुँ हाजिर नभई नहुने झोँज आइपर्छ, अब के गर्ने? त्यसै दिन एउटाले कुरा उठायो- बरु एउटा पार्टी खोलूँ, चन्दा उठाउन थालूँ । अर्को साथीले भनूँ, चन्दा उठाउन थालूँ । अर्को साथीले भन्यो- त्यसो किन नि? एउटा पत्रिका चलाउने भनौँ, वार्षिक ग्राहक बनाउँदै जाऊँ, वर्षदिनभित्रमा एउटा निकालिदिउँला अरु त च्वाम्म भइहाल्छ । नभए स्कूल खोल्ने या अस्पताल बनाउने बिङ्गा लगाएर चन्दा उठाए पनि भयो । त्यसै माग्न जाऊँ भने सुटेडबुटेड लबिदरेको इन्सल्ट भइहाल्छ । चन्दा भनेपछि त न माग्नेले लजाउनुपर्छ, न दाताले रिसाउनु हुन्छ । चन्दा- या बीसौँ शताब्दीका चतुरहरुले आविष्कार गरेको प्रजातान्त्रिक ठगपद्धति, जो चरिचुच्चे ‘च’ बाटै उठेको हो!

त्यस दिनदेखि कोही ठगीकन जेल जान नपर्ने यस्तै प्रजातान्त्रिक उपाय अपनाउन लागे । कोही, यसका कुरा उता, उसका कुरा यता गर्दै चुक्लीको पुरुषार्थ गर्न लागे । कोही ठूलाबडाको पुच्छर समाती तरकारीको झोलादेखि लिएर सरकारी ब्यागसम्म बोकी चाकरी गर्न लागे । कोही चिप्लेकीराजस्ता नरम भएर चिल्लो घसी चापलुसी गर्ना थाले । म थिएँ तीन न तेह्रको तिलकने, चप्पलको चपेटाले चाउरिएको कुनै प्रमीझैँ चौबाटोमा लर्खराएको लर्खरायै भएँ । चाकरी, चुक्ली र चापलुसीको पुरुषार्थ गर्ने साथीहरुको नाक चुच्चिँदाचुच्चिँदा माछापुच्छ्रे हिमालको चुचुरोजस्तो भइसक्यो तर आफूलाई चार पैसाको चटामरी र चारवटा गेडा चना कसैले पत्याउने होइन । अब तपाईं नै भन्नोस्, चरिचुच्चे ‘च’ को महत्त्व कत्रो रहेछ? छकाउने र फकाउने, झुलाउने र फुलाउने, लखेट्ने र झपेट्ने, घचेट्ने र सँगेट्ने यी सबै यसै चुच्चाका देन न हुन्!

हुन त मान्छेको मुख पनि एउटा चुच्चै हो  । भन्न मात्रै हामी त्यसलाई चुच्चो नभनेर ‘चोसो’ भन्छौँ  । चार-पाँच महिनाको बालकई काखमा लिएर आमाचाहिँ ‘बड कतै’ भनी हप्काइदिन्छे, अनि बालक चोसो पसारेर रोइदिन्छ  । उसको चोसो देखेर सबै मुग्ध हुन्छन् र चोसो हेर्नैका लागि बालकलाई जिस्क्याइरहन्छन् । यसबाट मानिस कति चुच्च्याइँप्रिय हुँदो रहेछ भन्ने थाह हुन्छ । हुँदाहुँदै आखिर त्यही चोसोले पिर्छ । बालक दूध चोरेर खान्छ, पिटैँ भने चोसो पसारिदिन्छ, अनि माफ दिन करै लाग्यो । उसको खेलौना वा उसका घरको केही चीज कसैले उठायो भने “हेर बाबु ! तिम्रो लग्यो” भनी बालकलाई जगाइन्छ र ऊ चोसो पसारेर आफ्नो माल कसैलाई लान दिँदैन । यसरी बालकदेखि नै लुच्च्याइँ र चुच्च्याइँको तालिम मान्छेले आफ्नो चोसोको माध्यमबाट पाउँदै आएको हुन्छ । त्यसैले अचेल कसैलाई फुर्क्याउनुपर्‍यो भने अलिकति गुलियो चटाएर चोसो मुसारिदियो, कसैलाई घुर्क्याउनु छ भने गह्नाउने मुख लाएर चोसो पसारिदियो, सिद्धिहाल्छ ।

मैले भनिहालेँ नि, मानिसको चुच्चै मुख हो । त्यसैले अचेल कोही मुजुरको झैँ चुच्चा सिँगारेर ‘राम्रा’ भनिन खोज्छन्, अनि सिनेमाका राम्राराम्रीले झैँ मानिसलाई बुच्च्याइदिन्छन् । कोहीचाहिँ सुगाको झैँ चुच्चो चलाएर ‘विद्वान्’ भनिन खोज्छन्, अनि अचेलका नेता-नेतीले झैँ भाषणले फकाएर मान्छे छकाइदिन्छन् । कोही चमेराझैँ चुच्चो मिलाएर ‘प्यारा’ बन्न खोज्छन्, अनि ब्वाँसाले झैँ मानिसलाई फुलाएर सुल्याइदिन्छन्, अझ कोही बाजका झैँ चुच्चा तिखारेर बलिया बन्न खोज्छन्, अनि ठूलाठूला राष्ट्रका झैँ परस्पर चुच्चा जुधाएर लुरेलाम्रे देशहरुलाई चपाइदिन्छन् ।

त्यसकारण, सुखपूर्वक बाँच्न चाहने हो भने अब सबैले चकार-माहत्म्य पढेर चुच्चाको महत्त्व बुझ्नुपर्छ, छुच्चा हुनुपर्छ, लुच्चो हुनुपर्छ । नत्र हामीजस्ता लुर्कुच्चा फुच्चाले खिच्चाको बच्चाझैँ छुच्चा र लुच्चाका बुर्कुच्चाको घुच्चा खादैँ ङिच्च परी टुकुचाको उच्चा पर्खालबाट हामफालेर यमलोकतिर सुइँकुच्चा ठोके हुन्छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Bhairav Aryal Literature
« Reply #7 on: August 27, 2016, 03:35:13 PM »
here you go.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Bhairav Aryal Literature
« Reply #8 on: August 27, 2016, 03:38:00 PM »
more pages

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Bhairav Aryal Literature
« Reply #9 on: August 27, 2016, 03:39:17 PM »
5 and 6 pages