Author Topic: चर्चित नेपाली यौनकथा  (Read 2006 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
चर्चित नेपाली यौनकथा
« on: November 02, 2016, 03:41:35 AM »
कसै संग छ भने यि कथाहरु शेयर गरौं है

चर्चित नेपाली यौनकथा (समीक्ष्य कथासङ्ग्रह)


यसमा निम्न लेखकका यौनप्रधान कथाहरू सङ्कलित छन् ।

- भवानी भिक्षु -- को कथा 'पाइप'
- विश्वेश्वर प्र. कोइराला - 'चन्द्रवदन'
- गोविन्दबहादुर 'गोठाले' -  'बिहे'
- तारिणी प्र. कोइराला - रातो स्वेटर
- विजय मल्ल -  'कालो चस्मा'
- दौलत विक्रम विष्ट - 'एक साँझ'
- तेजबहादुर प्रसाई -  'लभको धुनमा'
- पोषण पाण्डे
- कुमार नेपाल
- माधव भँडारी
- पुष्कर लोहनी
- विश्वभ्मर चञ्चल
- मनु ब्राजाकी

- यी कथाकारहरू यौनमा केन्द्रित भएर लेख्ने प्रख्यात कथाकारहरू हुन् र यिनको नाम नेपाली कथा संसारमा स्वर्णाक्षरमा अङ्कित भइसकेको छ ।

पुस्तक/कृति समीक्षा
डा. रामदयाल राकेश
मधुपर्क २०६९ जेठ

समीक्ष्य कथासङ्ग्रहमा तेह्र जना नेपाली कथाकारहरूको कथा सङ्कलित गरेर सम्पादक किरण रिमालले पाँच पोखरी बुक स्टोरबाट प्रकाशित गराएर प्रशंसनीय काम गर्नु भएको छ । यसअघि रत्न पुस्तक भण्डारले पनि 'प्रतिनिधि-यौन कथा' प्रकाशित गरिसकेको छ तर यहाँ मेरो उद्देश्य यी दुईटै कथासङ्ग्रहको तुलनात्मक मूल्याङ्कन गर्ने होइन । मेरो उद्देश्य चर्चित नेपाली यौन कथा भाग १ को समीक्षात्मक परिचय प्रस्तुत गर्नु हो ।

समीक्ष्य कथासङ्ग्रहमा भवानी भिक्षु, विश्वेश्वर प्र. कोइराला, गोविन्दबहादुर 'गोठाले', तारिणी प्र. कोइराला, विजय मल्ल, दौलत विक्रम विष्ट, तेजबहादुर प्रसाई, पोषण पाण्डे, कुमार नेपाल, माधव भँडारी, पुष्कर लोहनी, विश्वभ्मर चञ्चल र मनु ब्राजाकीका यौनप्रधान कथाहरू सङ्कलित छन् । यी स्वनामधन्य कथाकारहरूको कथा संसारमा यौनिक आकर्षण र पुट प्रशस्त पाइन्छ । यी कथाकारहरू यौनमा केन्द्रित भएर लेख्ने प्रख्यात कथाकारहरू हुन् र यिनको नाम नेपाली कथा संसारमा स्वर्णाक्षरमा अङ्कित भइसकेको छ ।

सर्वप्रथम सुप्रसिद्ध कथाकार भवानी भिक्षुद्वारा लिखित कथा 'पाइप' को बारेमा सङ्क्षिप्त टिप्पणी गर्नु यहाँ सान्दर्भिक होला । कथाकारको कथनबाट नै यस कथाको मुख्य कथ्य उद्घाटित भएको पाठकले पत्तो पाउँछन् जस्तो 'योनि-भोग मेरो लागि कुनै यान्त्रिक सञ्चालन मात्रै भएको छ ।' पृ ०८।

अर्को कुरो के पनि प्रष्ट हुन्छ भने आफ्नै नजिकका नातेदारहरूबाट धेरै जसो केटीहरू सम्भोगमा संलग्न हुने मौका पाउँछन् र यसको मुख्य कारण पैसाको प्रलोभन हो तर यो प्रलोभनको रूप परिवर्तित हुन्छ फैसनमा । एउटा साडीको प्रलोभनमा यस कथामा वणिर्त युवतीको कौमार्य भङ्ग हुन्छ र पछि त उसको योनि नै पाइपमा परिणत हुन्छ जहाँ कथाकारको शब्दमा भन्दा 'साँच्चै भनूँ भने अहिले म एउटा 'पाइप' बन्न गएकी छु, जुन 'पाइप' मा मानिसको केवल कुत्सा प्रवाहित भई बगिरहेको छ ।' पृ. ०८ । यस कथाको शीर्षक पनि सुविचारित र सान्दर्भिक हुन गएको छ ।

विशेश्वरप्रसाद कोइरालाको 'चन्द्रवदन' शीर्षक कथामा अव्यक्त यौनको कथा अभिव्यक्त भएको पाइन्छ । चन्द्रवदनको मन र मनोविज्ञानको राम्रो वर्णन छ । पतिको वियोगमा सुरूमा पर पुरुषप्रति वितृष्णा तर अन्त्यमा उसप्रतिको आशक्ति एवम् अनुरागको अभिव्यक्ति पाइन्छ । लोग्ने मानिसप्रतिको उसको अभिव्यक्ति 'लोग्ने मानिसको जातै यस्तै हो' पृ. ०११। लाई थेगोको रूपमा लिइएको छ तर चन्द्रवदनको यौनविज्ञान र मनौवैज्ञानिक अभिज्ञानको राम्रो चित्रण भएको पाइन्छ ।

गोविन्दबहादुर मल्ल 'गोठाले'ले आफ्नो कथा 'बिहे' मा केन्द्रित यौन मनोग्रन्थी र गाँठोको लालित्यपूर्ण वर्णन गर्नु भएको छ । बिहेभन्दा पूर्वको कुमार एवम् कोमल यौन भावनाको राम्रो अभिव्यक्ति पाइन्छ । वीरे र जेठो खत्रीको अव्यक्त यौन भावना जुन भुण्टीप्रति छ त्यसको रमाइलो वर्णन गर्दा गर्दै वीरे र भुण्टीबीचको रसरागको रसिलो चित्र कोर्नमा सफल हुनुभएको छ र संयत ढङ्गबाट सम्भोगिक क्रियाकलापलाई उजागर गर्नु भएको छ ।

तारिणी प्र.कोइरालाको आफ्नो "रातो स्वेटर" कथामा विवाहित विष्णुप्रसादको अतृप्त यौन भावनाको खुलासा गर्नु भएको छ । उसकी एक तर्फी प्रेमिकाको रातो स्वेटरमा मख्ख विष्णुप्रसादको कुण्ठित यौनभावनाको रमाइलो वर्णन गरिएको छ । उनी चाँदप्रति कतिसम्म लहसिएको थियो भने आफ्नो लालसापूर्तिको लागि आफ्नो छोराको बिहे चाँदको मृत्युपछि उसकी छोरीसँग छिनोफानो गरेर आफ्नो त्यो अतृप्त कामवासनाको क्षतिपूर्ति गर्न पुगेको छ । यो एउटा बेजोड मनोवैज्ञानिक र यौनिक पृष्ठभूमिमा लखिएको उत्कृष्ट कथा हो र शीर्षक पनि सर्वथा उपयुक्त छ ।

विजय मल्लको 'कालो चस्मा' शीर्षकमा एउटी विवाहित पत्नी परपुरुषसँग सुतेको कामुक दृश्यको भावुक चित्रण गर्नु भएको छ । नैतिकताको सम्पूर्ण आदर्शलाई तिलाञ्जलि दिँदै चुपचाप टुलुटुलुमा हेर्नुबाहेक अर्को केही प्रतिक्रिया नदिनु सामाजिक स्वीकृतिको पृष्ठपोषण गर्नु भएको छ । उहाँको शब्दमा "म आफ्नै विवाहित स्वास्नीलाई परपुरुषसँग अनैतिक रूपले सम्बन्ध जोडेर आफ्नै सामुन्ने त्यसरी निर्लज्जतापूर्वक सुतिरहेको हेर्दैछु ।' मैले यसलाई अनुचित सम्झनु पर्दछ । यस्तो निन्दनीय कार्यको लागि ममा रिस, राग, द्वेष र प्रतिशोधको तीब्र भावना जाग्नुपर्दछ ।' पृ ०४०।

दौलतविक्रम विष्टको कथा 'एक साँझ' मा कथानायक निरंजन स्वास्नी मानिसप्रतिको आकर्षणको अभिव्यक्ति अभिनन्दनीय मान्न सकिन्छ । पुरुषको मनोविज्ञानका वेत्ताका रूपमा उसको आन्तरिक अभिलाषा प्रकट भएको पाइन्छ ।

तेजबहादुर प्रसाईका धेरै यौनकथाहरू प्रकाशित नभए पनि उहाँको 'लभको धुनमा' एउटा उत्कृष्ट यौनकथामा गन्न सकिन्छ । एउटी शिक्षिका र शिष्यबीचको यौन समागमको राम्रो कथा हो जहाँ शिक्षिकाले पढाइको साथसाथै संभोगको तौर तरिका र आसन पनि सिकाउन पछि पर्दिन् । मंगला दिदी र मोहनबीचको यौनाकर्षण मात्र होइन यौनसमागमको रमाइलो वर्णन पाइन्छ । पोषण पाण्डे 'आफ्नो कथा हर्के तामाङको संस्मरण' शीर्षकमा चौतीस वर्षीया विधवा मैयाँ नानी र हर्के तामाङको यौन आकर्षणलाई संस्मरणको रूपमा उतार्न सफल हुनुभएको छ । एउटी अधवैंसी आइमाईको अतृप्त यौनेच्छालाई राम्ररी चित्रण गर्नु भएको छ । कुमार नेपालको 'शङ्खको एकोहोरो आवाज' मा यौनको गन्धको मादक वर्णन पाइन्छ । उहाँले विभिन्न आइमाईहरू जस्तो मेम, गुरुङसिनी, ज्यापुनी बाहुनी र अविवाहिता आइमाईको आकर्षक गन्ध र तरुणीहरूको गन्धको मानौ पारखी नै हुनुहुन्छ । न पत्याए हेर्नुस् 'उफ ! मेरो नाकमा यसरी गन्ध किन आइरहेको होला ।' पृ ०७१।

माधव भण्डारीको कथा 'सुनौला हाटको एक साँझ' एउटा स्तरीय कथा हुन् जसमा 'यौवनको उद्वेग नै सबभन्दा ठूलो परिचय हो । चुम्बकले फलाम देखेपछि चिनारी गरिरहनु पर्दैन पृ. ०७५।

दाजु बहिनीको साइनो जोडेर पनि यौन क्रिया सम्पन्न गर्ने व्यक्तिहरूप्रतिको व्यङ्ग्यात्मक सम्बन्धलाई उजागर गरिएको छ । दाजु र बहिनीको सम्बन्धलाई बदनाम गर्ने, जग हँसाई गर्ने कुरो मस्ती र रोमान्सको दुनियाँसँग जोडिएको र जुन समाज स्वीकृत हुन सक्दैन । दाजु र बहिनीको बनावटी सम्बन्ध स्थापित गरेर संभोग गर्ने कुराको प्रकटीकरण गरिएको छ ।

पुष्कर लोहनीको 'नाङ्गो अस्तित्व' शीर्षक कथा पनि यौनकथाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ । पुष्कर लोहनी यौनवादी कथाकारमा आफ्नो पुस्तामा परिगणनीय नाम हो, होटलमा हुने यौनाचार र डलरको आकर्षण तथा एचआईभी एड्सको परवाह पनि गरिँदैन । रक्सी रण्डीको नाता नङ र मासु जस्तोको हुन्छ । यौन छताछुल्लमा भएर छचल्किएको छ । 'त्यतिको रक्सी खुवाएर मलाई नङ्ग्याउन खोजेको तिमीले ? फेर्ने लुगा छैन । पेटीकोट सब भिजिसकेको छ ।' पृ ०८९।

विश्वम्भर चञ्चलको 'लिङ्ग' शीर्षक कथा लामो छ । उहाँकी नायिकाको निष्कर्ष छ भने लिङ्गबाट गर्दा नै धुजा धुजा पारिसके मेरो यौनिलाई लोग्ने मान्छेले स्वास्नेमान्छेलाई अपराध गर्ने, बरबाद गर्ने कारण नै त्यई भाँडो हो । त्यई भाँडो मात्तिएर नै लोग्ने मान्छेहरूबाट यी सबै अपराधहरू हुन्छन् ।' पृ १०५।

मनु ब्राजाकी आफ्नो कथा 'करुणामय' शीर्षकमा बूढी आमा र ग्राहकको यौन उन्मादपूर्ण संवादद्वारा आफ्नो कथामा सरसर्ती थप्नु भएको छ । प्रहरी नै ग्राहक भएर रण्डी कोठामा चुरोट र रक्सीको भरमा नारी देहको मौज मज्जा गरेर कोठाको कति हो सोध्दा भन्छिन्, 'तपाईंलाई कोठाको पैसा लाग्दैन । आजको रात यो कोठा र म तपाईंकी हुँ । पृ. ११२।

निष्कर्षरूपमा के भन्न सकिन्छ भने यसमा सबै सङ्कलित कथाहरू यौन प्रधान हुन तर केही कथाहरूमा यौन उछृङ्खलताको खुलमखुला वर्णन गर्दा श्लीलताको सीमा नाघ्न पुगेको छ । यौन जीवनको लागि आवश्यक हो । स्वस्थ यौन सभ्यताको प्रतीक हो । यो संयमित यौन सुन्दर भन्न सकिन्छ तर कुनै कुनै कथामा यौन अश्लील पनि हुन गएको छ । भाषाशैली पनि राम्रो हो तर अहिलेको भाषा वैज्ञानिकहरूका लागि एउटा चुनौती पनि हो । अहिले यौनकथाको 'मार्केट'छ । यसको बजारीकरण र व्यवसायीकरण पनि हुँदैछ । पाठकहरूलाई पनि मनोरञ्जन सस्तो मनोरञ्जन गर्नका लागि केही कथाहरू भरपूर्ण सामग्री पेस गर्छन् । समग्रमा भन्दा समीक्षा कथासङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ ।

मधुपर्क जेठ, २०६९

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: चर्चित नेपाली यौनकथा
« Reply #1 on: November 02, 2016, 03:43:49 AM »
बाल-यौनमनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास

रोहित खतिवडा

तारिणीप्रसाद कोइरालाको नाम रेडियो नेपालमा बोल्ने पहिलो व्यक्तिको रुपमा चर्चित छ। नेपाली साहित्यमा पनि उनको राम्रो स्थान छ। उनैले लेखेको उपन्यास सर्पदंश बालयौनमनोविश्लेषणमा आधारित पहिलो नेपाली उपन्यास हो तर अहिलेसम्म यहि उपन्यासन नै अन्तिम पनि छ। बालसाहित्य लेखन र प्रशिक्षणमा लामो समय बिताएका बालसाहित्यकार विनय कसजूले सेतोपाटीसँग भने,'बालयौनमनोविश्लेषणलाई नै आधार बनाएर लेखिएको अर्को उपन्यास मैले देखेको छैन। मेरो सिमितता पनि हुनसक्छ तर मेरो अहिलेसम्मको अध्ययनअनुसार सर्पदंश एउटा मात्रै बालयौनमनोविष्लेषणमा आधारित उपन्यास हो।'
कोइरालाको जीवनकालमा छापिएको उपन्यास पनि यहि एउटा मात्रै हो।२०२६ सालमा यो उपन्यास प्रकाशित भयो। २०३१ वैशाखमा ५२ वर्षको उमेरमा उनको निधन भयो। उनले लेखेका केही उपन्यास यसपछि छापिए। रातो स्वेटर २०३८ र फालिएको सामान २०४२ सालमा प्रकाशित भए। उनले रचेको नैनी महाकाव्य २०५६ सालमा र अर्को उपन्यास अग्निबाटिका २०३८ सालमा प्रकाशित भए।
नेपाली साहित्यमा यौनमनोविश्लेषण भित्र्याएको जस विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल 'गोठाले' र विजय मल्ललाई जान्छ।  कोइरालाले कथाका रुपमा यौनमनोविश्लेषणको लेखन सुरु गरेका थिए। यसैताका गोठालेले 'पल्लो घरको झ्याल' उपन्यास लेखे। वि.सं. २०१८ सालमा प्रकाशित यो उपन्यासले नेपाली उपन्यासलाई एउटा नयाँ बाटो दियो। यसपछि यौनमनोविश्लेषणमा नै आधारित विजय मल्लको 'अनुराधा' प्रकाशित भयो। पछि बिपीका 'सुम्निमा','तीनघुम्ती' जस्ता उपन्यास पनि प्रकाशित भए। तर यी सबै उपन्यासको क्षेत्र वयस्क मानिसका यौन मनोविज्ञान हो। बालबालिकाको यौन मनोविज्ञानमा कलम चलाउने तारिणी नै पहिलो लेखक हुन्। 'सर्पदंश' यहि समयमा लेखिएको उपन्यास हो। उनले वयस्कहरूको यौन मनोविज्ञानलाई छोडेर बाल यौन मनोविज्ञानजस्तोजटिल विषय समाते।
यो समय विश्वभरी नै विभिन्न वादहरूको प्रभाव रहेको समय हो। नेपाली साहित्यमा पनि विभिन्न दार्शनिक चिन्तनको प्रभाव थियो। 'उहाँमा फ्रायडको ठूलो प्रभाव देखिन्छ,'कसजूले भने,'यो उपन्यासमा खासगरेरकम्मु इडिपस कम्लेक्सको अवस्थामा देखिन्छ।' फ्रायडियन सिद्धान्तअनुसार इडिपस कम्पलेक्समा छोराले आमासँग नजिकिन चाहन्छ तर बाबुलाई मन पराउँदैन। मनोविज्ञानको फ्रायडियन सिद्धान्तको राम्रो प्रयोग यो उपन्यासमा भएको कसजूले पाएका छन्।
उपन्यासको मुख्य पात्र हो कम्मु। निम्मी उसकी बहिनी हो। कम्मुको व्यवहार अलि फरक जस्तो देखिन्छ। तर यो उमेरका बालबालिकामा केहि फरक व्यवहार देखिने कसजू बताउँछन्। उपन्यासको अधिकांश कथावस्तु कम्मुको दृष्टिकोणबाट व्याख्या गरिएको छ। उसको अवचेतन मष्तिस्कमा रहेको यौन चाहना नै यो उपन्यासको केन्द्र हो। विभिन्न सांकेतिक घटनामार्फत उसको यौनचाहनालाई लेखकले पस्किएका छन्।
'उपन्यासमा धेरै ठूला घटना छैनन्,' कसजूले भने,'यहाँका घटनाहरू भनेकै कम्मुले बहिनीले पिसाब फेर्दाको आवाज वा आकारबाट आनन्द लिनु, न्याउरी मुसाको प्वालमा हात हाल्नु हो। यी घटना दोहोरिइरहन्छन्।'झट्ट सुन्दा अस्वभाविक लागे पनि यो उमेरका बालबालिकामा सुसुप्त अवस्थामा यौन चाहना हुने र त्यसलाई उनीहरूले फरक रुपमा अभिव्यक्त गरिरहने उनी बताउँछन्।
उपन्यासलाई प्रभावित पार्ने महत्वपूर्ण घटना कम्मुलाई सर्पले डस्नु हो। उपन्यासको सुरु-सुरुमैकम्मुले न्याउरी मुसाको प्वालमा हात छिराएको घटना छ। 'उपन्यासको नामका कारणले पनि उसलाई सर्पले डस्छ भन्नेयतिबेलै थाहा हुन्छतर कतिबेला कसरी डस्छ भन्ने उत्सुकता भने भइरहन्छ,' उनले भने,'यहि उत्सुकताले पाठकलाई उपन्यासमा अल्झाइरहन्छ।'
उपन्यासमा कम्मु आफ्ना अभिभावकसँग गुनासो मात्रै गरिरहन्छ। ठूला मान्छेले आफ्नो कुनै पनि कुरा सुन्न र बुझ्न नचाहेको अनुभूति उसलाई भइरहन्छ। एउटा चरणमा बालबालिकामा यस्तो अनुभूति हुने कसजू बताउँछन्। उनीहरू अलि एकान्त खोज्ने र साथीहरूसँग पनि घुलिमिल हुन नरूचाउने हुन्छन्।'त्यसैले पाँच छ अथवा सात वर्षसम्मका बालबालिकाको हेरचाह गर्दा यी कुरामा ध्यान पुर्याउनु पर्छ। उसले गुनासो गर्छ वा एकान्तमा बस्न खोज्छ भने अभिभावकसँग उसको असन्तुष्टी छ भन्ने बुझ्नुपर्ने हुन्छ,' उनले भने।
बाल यौन मनोविश्लेषण केही जटिल दार्शनिक विधा हो। तर अभिभावकले आफ्ना सन्तानको हेरचाहमा उनीहरूको मनोविज्ञानमा ध्यान दिनै पर्ने हुँदा बुझ्न महत्वपूर्ण पनि भएको कसजूको भनाइ छ। 'यो उपन्यास अलि जटिल जस्तो लाग्छ,' उनले भने,'तर हामी आमाबाबु र सबै स-साना बालबालिकाका अभिभावकले पढ्नु आवश्यक छ। यसले उनीहरू यो उमेरमा कसरी सोच्छन् भन्ने देखाउँछ। उनीहरू हामीबाट के कुरा अपेक्षा गर्छन् भन्ने पनि देखाउँछ।'
२०२६ सालमा यो उपन्यास प्रकाशित भएपछि यो विधामा अरु उपन्यास नछापिनु दुखद भएको उनको टिप्पणी छ। उनले भने,'यो विधामा हामीले अझ धेरै काम गर्दै जानुपर्ने थियो। सैद्धान्तिक रुपमा र अभिभावकलाई सहयोग गर्ने अरू किसिमका पुस्तक त तयार भएका छन्। तर साहित्यमा भने यस्तो पुस्तक अहिलेसम्म अर्को छापिएको छैन।'
यो उपन्यासको भाषा केही बोझिल झैं लाग्छ कसजूलाई। तर पनि विषयवस्तुको गम्भिरता र महत्वले बाँधेर राख्छ। उनले भने, 'योअरू जस्तो मनोरन्जन दिने उपन्यास नभइकन अभिभावकले बच्चाको मनोवैज्ञानिक विकासको बारेमा थाहा पाउनु पर्ने विषयको उपन्यास हो। यसको विषय छनौट र कथावस्तु फरक छ। त्यसैले यो एउटा पठनीय उपन्यास हो।'
प्रकाशित मिति: शनिबार, साउन १, २०७३

सेतो पाटी

nikmeale12

  • 50x
  • ****
  • Posts: 142
Re: चर्चित नेपाली यौनकथा
« Reply #2 on: May 13, 2017, 01:56:59 AM »
great