Author Topic: घाटमाण्डु - कुमार नगरकोटी  (Read 4906 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
घाटमाण्डु  - कुमार नगरकोटी, काठमाडौं

माघ २३, २०७२

आँखा उघ्रिँदा मैले आफूलाई पार्कको बेन्चमा फेला पारें । मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु:खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् ।

शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे । यस्तो खालको दैहिक यातना कहिल्यै महसुस गरेको थिइनँ । त्यो कष्टसाध्य पीडा ज्यादै मौलिक, अपरिचयी एवं अज्ञातजन्य थियो ।

म काठमो बेन्चमा उत्तानो परी ढलेको रहेछु ! या ढालिएको थिएँ ? मलाई कसले त्यसरी पार्कमा थपक्क छाडी गएको थियो ? कति समयदेखि म त्यो काठको बेन्चमा काठको मुढासमान– कसैको परित्यक्त सामानझैं – छाडिएको थिएँ ? मलाई कसरी, कहिले, किन, कुन गुप्त प्रयोजनका निम्ति कसैले त्यसरी मिल्काइदिएको थियो ? जसैजसै म सोच्न खोज्थें तसै तसै– अनायास, त्यसै त्यसै– गोब्रेकीराको कुटुकुटु यन्त्रयामय ध्वनि–घनत्व मगजमा सहसा बढ्दै जान्थ्यो ।

अपरिचित मानिसहरूद्वारा म घेरिएको थिएँ । ती परचक्रीहरूका कुटिल अनि प्रश्निल नजरका छायाहरूले मेरो उदाङ्गो अनुहारभरि गिद्धका चल्लाले झैं ठुँगिरहेका थिए । मेरो टाउकोनिर बडो सकसपूर्ण तरिकाले उभिएको एउटा मान्छे केही झुक्यो र मेरो दायाँ कानमा आफ्नो थुतुनो जात्दै फुसफुस गर्‍यो : आँखा खोल्नुभयो, हाम्रा लागि त्यै ठूलो कुरा भयो । नत्र त हामीलाई लाग्या थियो कुन चाहिँ पातकी दैत्यको लास यो बेन्चमा ढलिरा’छ ! लास ढलिरा’छ ! त्यो पनि कसको भन्दा कुनै पातकी दैत्यको !

उसको कुरा अत्यासलाग्दो थियो । बडो उदेकमय लगायत कौतुकक्षयी ! मैले मुख खोलें : म दैत्य होइन । म लाश होइन ।

– होइन होइन । उसले भन्यो– न तपाईं दैत्य हो न त लास हो । हामीलाई त्यस्तो लाग्या मात्र हो ।  मेरो अनुहारमा फ्यात्त झरेका दृष्टिहरूमा मप्रति बेहिसाब उत्सुकता थिए । जिज्ञासा थिए । ती काँतर आँखामा अन्त:शुल्कको स्टिकर अनाङ्कित मौन आतंक व्याप्त थियो । म केही चलमलाउन थालें । बिस्तारै ज्यादे कष्टपूर्वक उठें । अघिकै भलाद्मीले आफ्नो थुतुनो पुन: चलायो : यो पिउनुस् । ताजा महसुस गर्नुहुनेछ ।

निजको हातमा स्वर्ण कमण्डलु थियो । कमण्डलुमा विचित्र रङको झोल थियो । झोल सौर्य किरणको आघातमा चम्किरहेको थियो । त्यसलाई मैले एकै झमटमा घटघट पिएँ । स्वाद ज्यादै टर्रा र ज्यादै अपरिचित लाग्यो । अपरिचितले तेस्रोपटक थुतुनो चलायो : जडिबुटीमा फलफूलको रस र भष्म मिलाएर बनाएको पेय हो त्यो । तपाईंको तन र मनलाई यसले चङ्गा बनाउँछ ।

निजले भनेको कुरा ठीकै रहेछ । अघिसम्म पीडा, कष्ट र यातनाको कारखाना भएको मेरो आँखा आफ्नो आङमा लडिबडी खेल्न थालें । आफ्नो देह देखी म चकित परें । म सर्वाङ्ग नग्न थिएँ । हँसिया आकारको उक्त भीडबाट एउटी नारीले मतर्फ एक, दुई, तीन पाइला सारी । अग्लो काँटको स्थूल ज्याल स्निग्ध चेहरा । नाइटो नछोपिएको खुकुलो छिटको चोलो । लम्बेतान नीलो धोती भुँडीभन्दा मुनिको कटीमा एउटा गाँठोको भरमा अडेको । विभिन्न आकारका चाँदीका चेप्टा चेप्टा गहना कानमा, घाँटीमा र गोडामा । आँखा कति काला ! कति ठूला ! परेला बाङ्गिएका । मुखको रोगन त कालै हो तर कति चिल्लो ! जिप्सी–स्त्री ? जिप्सी–स्त्रीले मलाई आफ्नो हात समाउन दिँदै भनी : यसरी पनि कोही निदाउँदो हो !

मेरो पछिपछि आउनुस् । दुग्धकुण्डमा स्नान गर्नुस् । मलाई समाउन दिइएको हातलाई समातें । औंलाहरू ताछिएको सिसाकलमझैं सुलुत्त परेका उसैको पछि लागें । मलाई डोर्‍याउँदै उसले पार्कको कुनातिर लिएर गई । मलाई आफ्नो नाङ्गो शरीरदेखि प्रशस्त लाज लागिरहेको थियो । अन्योलग्रस्त त थिएँ नै, म संकोचग्रस्त पनि भएँ । जिप्सी–स्त्रीले भनेको सुनें : आफ्नो नग्नताबारे तपाईंले कुनै संकोच मान्नु पर्दैन । आफ्नै नाङ्गो शरीरप्रति केको सरम ! नग्नता शरीरमा हुँदैन । बरु त्यसलाई हेर्ने वाहियात आँखा र विचारमा हुन्छ । जिप्सी–वाणीले मन होलो भयो ।

ढुङ्गा ओछ्याइएको बाटो हुँदै ओरालो झरेपछि कुण्ड देखा पर्‍यो । श्वैत दुग्ध कुण्ड । कुण्डमा छिरें । छप्लाङ छुप्लुङ गर्दै कुनामा अवस्थित/व्यवस्थित स्वर्ण–धारामा गएँ जहाँबाट एक मुस्लो दूध एकनासले निर्झर निर्झर झरिरहेको थियो । दूध मनतातो नभई केही तनतातो थियो ।

धाराको मुन्तिर आँखा चिम्लीकन पलेंटी मारी बसें । तालुमा दुग्ध–धाराको काउकुतीमय थप्पड महसुस गरें । जिप्सी–स्त्रीका सिसाकलमी–औंलाहरू मेरो ढाडमा चलमलाउन/सलबलाउन थालेपछि म झस्किएँ ।

–किन झस्किएको ? उसले भनी । तपाईंलाई म धोइपखाली सफासुग्घर पार्दैछु । दुग्धकुण्डमा सफासुग्घर भएपछि तपाईंलाई कुनै पनि रोगव्याधिले हतपति छुन सक्दैन ।  दुग्धकुण्डमा मेरो सम्पूर्ण तन/मनका पयल पखालिए । तन/मनका कापकापमा जमेका मैलालाई जिप्सी–स्त्रीले धोइ–पखाली गरी मलाई स्निग्ध तुल्याइदिई । मैले आफूलाई बडो ताजा र निर्मल पाएँ । दयालु एवम् मायालु जिप्सी–स्त्रीसित सोधें :  तपाईंलाई मैले कसो गरी धन्यवाद दिनुपर्ने हो, मलाई थाहा छैन । कसरी आभार व्यक्त गरुँ, त्यो पनि थाहा छैन ।

–आभार व्यक्त गर्नु आवश्यक छैन । उनले भनी– आभार त दुष्टहरूले साभार गर्ने कपटी मेसो मात्र हो । उसको जवाफ सुनी म तृप्त भएँ । अनि आफ्नो अन्तरिम खुल्दुली व्यक्त गरें : मलाई यसरी ताजा बनाइदिनुभयो, सफासुग्घर पारिदिनुभयो । कृपा गरी मलाई यो पनि बताइदिनुस् कि तपाईं वास्तवमा को हुनुहुन्छ ? तपाईंको नाम के हो ? आफ्नो अर्ध भिजेको केशराशिलाई जुरोमा बाँधी जिप्सी–स्त्रीले भनी :  म मोदिआइन हुँ ।

– मोदिआइन ! अहा कस्तो सुन्दर नाम !!– भनें ।

– म विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासको पात्र हुँ– उसले भनी ।

– अच्छा ! त्यसो भए तपाईं उपन्यासको पात्र पो हुनुहुन्छ ? मोदिआइनले हो भनी । त्यसपछि मायालु पाराले, बडो स्नेहिल लवजमा उसले बताई : म मात्र किन र ? यहाँ हामी सब पात्रहरू हौं । तिमीलाई अघि कमण्डलुमा भष्म पेय पिलाउने मनुवा पण्डित बाकृष्ण शास्त्री हो– प्रेतकल्प उपन्यासको पात्र । लेखक नारायण ढकालले जन्माएको मानसपुत्र । बरू यो लोकमा हामीले तिमीलाई यसअघि कहिल्यै देखेका थिएनौं । तिमीचाहिँ को हौं ?

म को हुँ ? मलाई थाहा थिएन । सारा समस्याको जड यही थियो : म को हुँ ? मेरो नाम के थियो ? म केही सम्झन सकिरहेको थिइनँ । कुन भवितव्यको दोषपूर्ण नियतिले मलाई त्यहाँ पुर्‍याएको थियो, त्यसबारे म पूर्ण अनभिज्ञ थिएँ । केही ठम्याउन सकिरहेको थिइनँ । स्मृतिजन्य समग्र चुडान्तमय पूर्वसम्बन्ध र परिचय इत्यादिबाट म वस्तुत: आत्मच्युत भएको थिएँ ।

आफ्नो पूर्वस्मृतिबाट म सम्पूर्ण रुपले विच्छेद भइसकेको थिएँ । मोदिआइनसित मैले सोध्या थिएँ : ‘यो कस्तो ठाउँ हो ? यो कुन लोक हो ?’

–यो घाटमान्डु हो ।– उसले भनेकी थिई ।

– घाटमान्डु ?– प्रश्नवाचक चिन्ह बनी म ठिङ्ग उभिएको थिएँ ।

– हो, घाटमान्डु । यो पात्रहरू बसोबास गर्ने लोक हो । पात्रलोक भन्दा पनि हुन्छ । हामी सबै यहाँका बासिन्दाहरू कुनै न कुनै कथा, पेन्टिङ, उपन्यास, नाटकका पात्रहरू हौं । यो घाटमान्डु अनेकथरीका पात्रहरू बसीबियाँलो गर्ने पात्रलोक हो । तिमीचाहिँ कुन उपन्यासको पात्र हौ ? कुरा त्यस्तो पो रहेछ ? म पात्रहरूको अद्भुत संसारमा रहेछु । तर म कसरी त्यसरी पार्कको बेन्चमा उत्पत्ति भएँ ? यो गाँठी कुरा मेरो समझ र अन्त:प्राज्ञ बाहिरको थियो । वरपरको जगत् हेर्छु । त्यो कुनै तिलस्मी कथाको कुनै कल्पना–लोक अवश्य पनि थिएन ।

मोदिआइनको प्रश्निल जिज्ञासाले म झस्केको थिएँ । साँच्चि, म कुन उपन्यासको पात्र थिएँ ? या कथा, नाटक, पेन्टिङकै पो कुनै नाम नखुलेको चरित्र थिएँ ? मलाई कुन जीवित या दिवङ्गत लेखकले आफ्नो कृतिमा लेखेको थियो ? मेरो जानकारीबिना ? या म कुनै अप्रकाशित, परित्यक्त पाण्डुलिपिको फगत एक अज्ञात पात्र पो थिएँ कि ! आफ्नो अस्तित्वबारे अनेक शङ्का, उपशङ्का गर्दै, सोचमग्न हुँदै म पुन: पार्कको बेन्चमा एक्लै फर्कें । मोदिआइन उतै दुग्धकुण्डमा अलमलिई ।

कमण्डलु समातेको पण्डितले समूहलाई सम्बोधन गर्दै भन्यो :  अतिथि देउतासमान हुन्छ, अतिथि देवो भव: हो कि होइन ? तर मित्रजनहरू ! तपाईंहरूले देखि नै सक्नुभा’छ कि हाम्रा अतिथि नग्न हुनुहुन्छ । वस्त्रविहीन हुनुहुन्छ । तसर्थ हामीले आफ्नो कर्तव्यको पालना गर्नुपर्छ । हो कि होइन ? सबैले होमा हो मिलाए । आफ्नो कुरा जारी राख्दै पण्डितले भन्यो, ‘अतिथिको नग्नता अथवा लाज छोप्न हामी सबैले एकेकवटा वस्त्रदान गरौं । अतिथिसामु सबैले आ–आफ्नो परिचय दिँदै, लौ त मित्रहरू हो काम सम्पन्न गरौं ।’

त्यसलगत्तै निजले मतर्फ अघि बढ्दै भन्यो, ‘म पण्डित बालकृष्ण शास्त्री । अतिथिलाई म टोपी दान गर्छु ।’ यति भनेपछि आफ्नो टोउकोबाट टोपी झिकेर निजले मरो शिरमा लगाइदियो । त्यसपछि क्रमैसँग सबैले वस्त्रदान गर्न थाले । वस्त्रहरू देबलमा थुप्रिन थाले ।

एकजना भलाद्मीले बतायो :  म सुवेदार शिवजित राई – जयमाया आफूमात्र लिखापानी आइपुगी– कथाको पात्र । मेरो लेखक श्रद्धेय इन्द्रबहादुर राई । संयोगकै भने लेखक राई अनि पात्र पनि राई । इन्द्रबहादुर राई र शिवजित राई दाइभाइ । कि कसो हो ? लौत भने म हाम्रा अतिथिलाई आफ्नो किम्ती खालको स्यान्डो बनियान प्रदान गर्छु ।

एकएक गरी सबैले वस्त्रदान गर्न थाले । पात्र, कृति र दानहरूको सूची यसप्रकार छ : एउटा भलाद्मीले भन्यो, ‘म तपाईंलाई आफ्नो मोजासहितको एक जोर छालाको जुत्ता भेटी चढाउँछु । बाई द वे, मेरो नाम ए साँच्चि मेरो नामचाहिँ के हो र ?’ निजले आफ्नो नाम बिस्र्यो । पण्डित बालकृष्ण शास्त्रीले भन्यो : –ह्या रंगनाथ ! तिमी पनि अति गर्छौ यार ! सधैं नाम बिर्सिरहन्छौ । तिमी –घनचक्कर– उपन्यासको पात्र हौ ।

– अनि मरो लेखक चैं को नि ? – त्यो पनि बिस्र्यौ ? आफ्नै कुल देवताको नाम पनि बिस्र्यौ ?

– बिर्सें । माँ कसम बिर्सें ।

– तिम्रो कुलदेवताको नाम सञ्जीव उप्रेती हो क्या !

– ल ल ला ! ठीक छ ठीक छ । अब बिर्सन्नँ । तर अतिथिलाई मैले के गरी चढाउने भाकल पो गरेको हुँ रे ? रंगनाथको घनचक्करीय अन्दाज मलाई गजबको लाग्यो । कस्ता चाखलाग्दा पात्र रहेछन् ! यस्तैमा एकजना मानिस– जो अहिलेसम्म चुपचाप/गुपचुप थियो– आगे बढ्यो र मसित दह्रो हात मिलाउँदै भन्न थाल्यो, ‘हेलो अतिथि, गुड टु सी यु इन घाटमान्डु । म तपाईंलाई एउटा स्पेसल आइटम गिफ्ट गर्न चाहन्छु । आई एम मिस्टर सुगोवीर –शिरीषको फूल– को ट्राफिक नायक ।’

सुयोगवीरको कुरालाई बीचमा काट्दै पण्डित बालकृष्ण शास्त्रीले भन्यो, ‘ओई सुयोग भाइ, तिमीलाई नायक कसले भन्यो ? तिमीलाई नायकको कार्यकारी दर्जा कुनचाहिँ बज्रस्वाँठले दियो ? घाटमान्डुले दियो ? घाटमान्डुमा हामी सब समान छौं । हामी सब मात्र पात्र हौं । घाटमान्डुमा कोही पनि नायक/खलनायक या सहनायक हुँदैन । तिमीले यो कुरा मनन गर्नुपर्छ सुयोग भाइ ।’ आफूलाई त्यसरी मनन गर्न भनिएको कुरा सायद मिस्टर सुयोगवीरलाई मननयोग्य लागेन कि ! मन परेन कि ! मनासिब लागेन कि ! भन्यो :

–शास्त्री दाजु, सर्वप्रथम त मलाई सुयोग नभनी मिस्टर सुयोगवीर भनियोस् । दोस्रो कुरा, म तपैंहरूजस्तो लर्तरो खालको पात्र होइन । हेक्का राखियोस् । तेस्रो महत्त्वपूर्ण कुरा, म मदन प्राइजद्वारा सम्मानित उपन्यासको नायक हुँ । यस्तो सामान्य फ्याक्ट तपाईं सम्पूर्ण नासमझहरूले जरुर समझ गर्नुपर्ने कुरा हो । मदन प्राइज पाउने उपन्यासको पात्र केवल पात्र होइन, नायक हो । त्यसैले म नायक हुँ अर्थात् मिस्टर सुयोगवीर, द नायक ।

मिस्टर सुयोगवीर, द नायकको कुरा सुनी सुवेदार राईलाई खपी नसक्नु भएछ कि ! झोंक चलेछ कि ! मुख खोल्यो, ‘यसरी मदन पुरस्कारको फुर्ती नगर भाइ । पुरस्कार प्राप्त कृतिको पात्र हुँदैमा घाटमान्डुमा कोही नायक भइहाल्दैन । हामी सबै पात्र मात्र हौं । न बढी न घटी । नोबल प्राइज प्राप्त लेखक अर्नेस्ट होमिङवेको पुलित्जर प्राइज प्राप्त उपन्यास ‘द ओल्ड म्यान एन्ड द सी’ का पात्र सान्डियागो घाटमान्डुमै छन् । हेर त, सान्टियागो कति विनम्र र भद्र छन् । उनले समेत आफूलाई नायक भनेका छैनन् । तिमी जैरेचाहिँ जाबो मदन पुरस्कारको धक्कु लगाउँछौ । लाज, सरम छैन ? आफ्नो न सही, कमसेकम पुरस्कारको मानसम्मान, गरिमाको त ख्याल गर । अँत बरु भन, तिमीले अतिथिलाई कस्तो स्पेसल गिफ्ट दिन चाहेको जिकिर गर्दै थियो रे ?’

–अन्डरवेयर । सुयोगवीरले निन्याउरो मुख लगाउँदै भन्यो ।

'अतिथिलाई अन्डरवेयर !' – सुवेदारले व्यंग्य गर्‍यो । गज्जबको गिफ्ट दिने मनसुवा पो रै’छ ! अन्डरवेयर सन्डरवेयर होइन अतिथिलाई तिमी आफ्नो गलबन्दी दान गर । हुन्छ कि हुन्न ? सुयोगवीरले हुन्छ भन्यो ।

त्यसपछि पात्रहरूद्वारा दान गरिएका वस्त्रहरूलाई मैले एक एक गरी आफ्नो आङमा घुसारें । कोटचाहिँ ज्यानमा ज्यान गए अटेन । जुजुमानलाई फर्काइदिएँ । दुखी भयो ।

यस्तैमा हामीमाझ दुईजना नवागन्तुक आइपुगे । एकार्कालाई अंगालो मारेका थिए । दुवैले एकैपटक आफ्नो मुख खोल्दै मसित भन्न थाले : – हाम्रो नाम धनबहादुर बस्नेत । – दुवैको नाम धनबहादुर बस्नेत ?

– पक्क परी सोधें ।

– हो ।– एउटाले भन्यो ।– मचाहिँ ‘बसाइँ’ उपन्यासको पात्र । – मचाहिँ ‘लङ्गडाको साथी’ उपन्यासको पात्र – अर्कोले भन्यो ।

– तपाईं चाहिँ को हो कुन्नि ? तपाईंको नाम के हो कुन्नि ? कुन उपन्यासको पात्र पर्नुभो कुन्नि ? कुन्नि ! कुन्नि !! कुन्नि !!! म को थिएँ ? मेरो नाम के थियो ? म कुन उपन्यासको पात्र थिएँ ? कुन्नि ! कुन्नि !! कुन्नि !!! 

.............. (contd..)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365


एक अपरान्ह मैले आफूलाई प्रहरी चौकीमा लिएर गएँ । टेबलभरि अङ्गुरै अङ्गुरका झुप्पाहरू असरल्ल फिजिएका थिए । इन्स्पेक्टर अङ्गुरमान सिंह –  ‘अलिखित’ को औपन्यासिक पात्रले अङ्गुर खाँदै मसित विनम्रतापूर्वक भन्यो :  भन्नुस् के सेवा गरुँ ? सेवक हाजिर छ ।

– म को हुँ ?– मैले लाचारीका साथ भनें । मेरो जाँच पडताल गर्नुपर्‍यो । मेरो अनुसन्धान गर्नुपर्‍यो । मेरो परिचयको खोजतलास गर्नुपर्‍यो ।

– चिन्ताको कुनै बात छैन, अङ्गुरमानले आश्वासन दियो । लौ, दुई गेडा अङ्गुर लिनुस् र परेसानीलाई चपाइलिनुस् । तपाईंको परिचय ढुँडने जिम्मा मेरै उपर छोड्नुस् । ध्रुवचन्द्र गौतमकी कसम ! तपाईंको परिचय म जरुर ढुँडनेछु ।

ध्रुवचन्द्र गौतम ? म रनभुल्लमा परें । प्रहरी निरीक्षकले समेत कसम खाने यिनी कुन देउता रै’छन् ? मेरो जिज्ञासामा अङ्गुरमानले भन्यो, ‘ध्रुवचन्द्र गौतम उर्फ माई बाप ! म उनैको मानसपुत्र हुँ जनाब । बात कुछ समझमे आयो ? अब तपाईं जाइलिनुस् । तपाईंको खोजीकार्य जारी हुनेछ ।’

‍‍..................

पल्पसाले भनेको कुरा मनमा खेलाउँदै सुनसान फुटपाथमा एक सुरले हिँडिरहेको थिएँ । पल्पसाले एक दिन भनेकी थिई, ‘उपन्यासमा मरेका या मारिएका मात्र नभई आत्महत्या गरेका पात्रहरू पनि घाटमान्डुमा ज्युँदा, जीवित हुन्छन् । मेरा मानसपिता नारायण वाग्लेले उपन्यासमा मलाई मारिदिएको कुरा पाठकको हकमा शतप्रतिशत साँचो हो । किताबको पाना नम्बर एक सय छयासीमा म मरिसकेकी छु । जस्तो कि सकमबरीको मृत्यु पेज नम्बर चौसठ्ठीमा भएको छ । सुम्निमा किताबको पाना नम्बर चौरानब्बेमा मरिसकेकी छे । तर पात्र केवल पात्र मात्र होइनन् । उनीहरू लेखकका शाश्वत कल्पना हुन् । कल्पना मर्दैनन् । कल्पनालाई लेखक स्वयम्ले पनि मार्न सक्दैन । लेखक अस्तित्वबाट भौतिक रुपले नष्ट होला तर हामी पात्रहरू अजर अमर छौं ।’

भुइँमा एउटा सियो भेटें । धागोसहित सेतो । टिपें । सडकछेउको बेन्चको बसें । आङबाट कमिज उतारें । सानुमान तुलाधरले दान गरेको सेतो कमिजको काखी उध्रेको थियो । सियोले सिउन थालें । सिउने काम सकिनै लाग्दा सडकमा मेरै सामुन्ने एउटा बग्गी टक्क अडिन आइपुग्यो । चारवटा हट्टाकट्टा अरबी घोडाले ताने बग्गीको चालक सिटमा प्रेमललवा सदाझैं राजकीय शान–ओ– अन्दाजमा बिराजमान थियो । अभिवादन गर्‍यो : गुड इभनिङ मिस्टर स्ट्रेन्जर ! ऊ मलाई प्राय: मिस्टर स्ट्रेन्जर भनी सम्बोधन गर्छ । प्रेमललवा उर्फ ‘उलार’ को पात्र । निकै असल मनुवा । बिचरो ! सकमबरीलाई एकोहोरो प्रेम गर्छ ।

सकमबरी अर्थात् ‘शिरीषको फूल’की सकमबरी । बग्गीमा चढ्छु र ऊसितै बस्छु । सकमबरीको यादमा उसले कैयौं रात अनिद्रामा बिताएको छ । सकमबरीप्रतिको उसको मौन अनुराग देखी मलाई ऊप्रति दया आउँछ । घाटमान्डुको दक्षिणी भेगमा अवस्थित पागल बस्तीमा उसले मार्यासित मोहनी–मन्त्र सिकेको पनि व्यर्थै भएको छ । मार्याको टुनामुनाले सकमबरीमा कुनै असर परेको छैन ।

प्रेमललवालाई मैले भनेको थिएँ, ‘सकमबरीसित तिम्रो गोत्र मिल्दैन । राशि, ग्रह, नक्षत्र केही मिल्दैन । ऊ कहाँ अस्तित्ववादी उपन्यासकी पात्र, अनि तिमीचाहिँ सामाजिक यथार्थवादी उपन्यासको पात्र ! तिमीहरूको प्रेम कसरी सम्भव छ प्रेमललवा ?’ प्रेमललवाले मसित दृढपूर्वक यस्तो भनेको थियो : प्रेमले अस्तित्ववाद र यथार्थवाद केही पनि भन्दैन मिस्टर स्ट्रेन्जर । प्रेम कुनै पनि वादभन्दा माथि हुन्छ ।

बग्गी एकनासले सडकमा गुड्दै थियो । उसले खल्तीबाट एउटा कागज निकाल्दै मलाई दियो र भन्यो, ‘एउटा चिठी लेख्या छु सकमबरीलाई । तिमीले उसलाई दिनुपर्‍यो । तिमीले पनि पढे हुन्छ ।’ चिठी समातें । खोलेर हेरें । लेखिएको थियो : प्रिय सकमबरी ! आई लभ यु ! तिम्रो प्रेमललवा ! चिठीमा जम्मा सात शब्द थिए । जाबो यत्ति कुरा त उसले सकमबरीलाई मुखैले पनि भने हुन्थ्यो नि ! उसलाई सो कुरा भने पनि । तर प्रेमललवाले भन्यो, ‘भनेको कुरा बतासमा बिलाइजान्छ । लेखेको कुरा मनमा गढेर बस्छ ।’

बग्गी स्ट्यान्डमा सकमबरी उभिएकी थिई । साँझको यो समय ऊ प्राय: प्रेमललवाको बग्गी चढी कहिले चर्च, कहिले गुम्बा जाने गर्थी । प्रेमललवाले बग्गी रोक्यो । सकमबरी नीलो पहिरनमा थिई । उसको एउटा हातमा चोयाको एउटा सानो डालो थियो जहाँ तपाईं शिरीषका नीलाम्मे फूलका स–साना चोक्टाहरू देख्न सक्नुहुन्थ्यो । सकमबरी बग्गीमा चढेपछि सुनसान सडकमा हामी घोडाका टापहरूले निकाल्ने ट्यापे–आवाज सुन्दै अघि बढ्यौं । हातमा भएको चिठी सकमबरीलाई दिनुपर्‍यो भनी सोचेको के मात्र थिएँ पछाडिबाट उसैले मलाई औंलाले कोट्याई । पछाडि फर्केर आँखैको भाकाले– किन कोट्याएकी– भनी सोधेपछि सकमबरीको फूलको डालोमा हात घुसाई र फूलहरूभित्रबाट एउटा छोडिएको कागजको पाना निकाली । अनि आँखैको भाकामा– यो कागज प्रेमललवालाई दिनू भन्ने संकेत गरी । कागजलाई हातमा लिएँ । प्रेमलाई कागज हस्ते गर्नुअघि त्यसलाई हेरें । कागजमा नीलो मसीले लेखिएका नीलाम्मे अक्षरका नीला दानाहरू यस्ता थिए : ।। प्रिय प्रेमललवा ! आई लभ यु । तिम्री सकमबरी ।।

---

पल्पसा क्याफेको कालो शून्यता कहालीलाग्दो थियो । कालो शून्यता किन भनिएको हो भने क्याफेभित्रका सबै ग्राहकहरू कालो पोसाकमा थिए । बार्दली, बुइँगल, बाल्कोनी सबै ठाउँ कालो पोसाक लगाएका मानिसहरूद्वारा ओगटिएका थिए । कालो भीडमा अपवादको रुपमा केवल एउटी मात्र बैजनी युवती थिई । अरूभन्दा बेग्लै, अलग । उसलाई अक्सर म क्याफेमा देख्ने गर्थें । एउटा बैजनी स्कार्फले सदा उसको कैलो टाउको छोपिएको हुन्थ्यो जो गलाको गाँठोमा दुई फुर्कासहित बाँधिएर तुर्लुङ्ग झुन्डिन्थ्यो । बैजनी युवती वास्तवमा को थिई ?

‘खै कुन्नि !’ पल्पसाले मलाई भनेकी थिई, ‘जो भए पनि अद्भुत छे, कसो ?’ बैजनी युवती सदाझैं बुइँगलको एउटा कुनामा सिङ्गो टेबल ओगटी बसेकी थिई । कफी पिउँदै । उसैको एक झलक पाउनको लागि मात्र भए पनि म प्राय: पल्पसा क्याफे गइरहन्थें । सधैं बस्ने टेबल नम्बर १३ मा ब्ल्याक कफी पिउँदै म उसलाई नियालिरहेको थिएँ । क्याफेको द्वारबाट काला पोसाकधारी (आ)गन्तुकहरू हातमा पुष्पहार बोकी भित्र आउँदै थिए र केही एक्कादुक्का (जा)गन्तुकहरू खाली हात बाहिर जाँदै थिए । पल्पसासित सोधें : पल्पसा, तिम्रो क्याफे आज किन यति शोकमग्न छ ? यी काला पोसाक लगाएका मनुष्यहरू को हुन् ?

पल्पसाले भनी, ‘गाब्रियल गार्सिया मार्खेज नामक लेखक भन्यो रे ! यी सब शोकमग्न मानिसहरू मार्खेजका पात्रहरू हुन् । आफ्नो लेखकको मृत्युमा सामूहिक शोक मनाउन यिनीहरू मेरो क्याफेमा भेला भएका हुन् । सेमिनार हलमा प्रार्थना सभाको कार्यक्रम पनि छ जहाँ यिनीहरू सबै मिली मार्खेजको आत्माको चिरशान्तिको कामना गर्नेछन् । अहिलेलाई भने यिनीहरू फ्लोरेन्टिनो अरिजालाई पर्खिरहेका छन् । ऊ आएपछि कार्यक्रम सुरु हुनेछ ।’

‘को हो फ्लोरेन्टिनो ?’ सोधें । ‘लभ इन द टाइम अफ कलेरा’ को पात्र हो । फ्लोरेन्टिनो नै आजको श्रद्धाञ्जलि कार्यक्रमको प्रमुख वक्ता हो । ‘बैजनी युवती पनि मार्खेजको पात्र हो कि !’ मेरो जिज्ञासा । ‘होइन होला !’ पल्पसाले भनी । मार्खेजको पात्र भए त बैजनी स्कार्फ किन लगाउँदी हो र ! कालै स्कार्फ लगाउँदी होली कि ! कि कसो ?

यस्तैमा बैजनी युवती उठी । बुइँगलबाट तल ओर्ली । सरासर द्वारबाट बेपत्ता भई । म पनि बाहिरिएँ । यताउति हेरें । ऊ केही पर महाकवि लक्ष्मीप्रसाद देवकोटाको दाडिमको रूखनिर पुगिसकेकी थिई । मैले आज उसलाई पिछा गर्ने अठोट गरें । दाडिमको रुखछेउ एउटा मन्द गतिको ट्राम आएर रोकियो । बैजनी युवती चढी ।

मचाहिँ केमा पो चढुँ ? आपत् आइलाग्नै लाग्या बखत एउटा आशाको पहेंलो स्कुटी देखा पर्‍यो । स्कुटीवालालाई मैले चिनिहालें । ऊ शिवनारायण थियो ‘एक चिहान’को पात्र लिफ्ट माग्ने हेतु उसलाई रोकें र भनें :

– शिवजी ! कतै नयाँ चिहान खन्न जान लाग्या त होइन नि ! ‘होइन होइन,’ उसले भन्यो, ‘यसो हावा खान निस्केको हुँ । तपाईंलाई कतै छोडिदिनुपर्ने हो कि !’ शिवनारायणलाई ट्राम पछ्याउन भनें । मन्द गतिको ट्रामलाई धीमा गतिको स्कुटीले पछ्याउन थाल्यो । दुवैको गति कस्तो उदेकपूर्ण एवं दिक्कलाग्दो किसिमले अगतिलो !

एउटा सुनसान ट्राम स्टेसनमा त्यो सर्पिलो बाहन रोकियो । बैजनी युवती ओर्ली । चकमन्न गल्लीमा सडक बत्तीको प्रकाशमा बैजनी छायालाई पछ्याउँदै गएँ । त्यो छाया एउटा बंगलाभित्र सुलुत्त छिर्‍यो । केही निमेषको अन्तरालमा म पनि लुसुक्क छिरें । कोठाको बैजनी प्रकाशले केही बेर आँखा तिरमिर गर्‍यो । पूरै घर सुनसान थियो ।

छालाको सोफामा बसें । कफी टेबलमा जल प्याला थियो । घटघट पिएँ । जल पिउँदै गर्दा मेरो नजर हठात् बैजनी वालपेपरयुक्त भित्तामा ठोक्कियो । भित्तामा एउटा पेन्टिङ झुन्डिएको थियो । उक्त तैल–चित्र एउटा पोर्टे्रट थियो । त्यो पोर्टे्रट बैजनी युवतीको थियो । पेन्टिङबाट ऊ मलाई साझै हेरिरहेकी थिई । म झसङ्ग भएँ । खङ्रङ्ग भएँ । भित्तातिर बढें । पेन्टिङकी युवती दुरुस्त थिई । उसको टाउकोलाई बैजनी स्कार्फले बाँधेको थियो । पेन्टिङको मुनि सुनौलो अक्षरमा लेखिएको थियो : म्याडम बोभारी । ‘तपाईंलाई स्वागत छ’, कुनै स्त्रैण आवाजले झस्कन्छु ।

पछाडि फर्कन्छु । मेरा सामु ठिङ्ग उभिएकी थिई एउटी मुडुलो टाउको भएकी युवती । उसले बैजनी रङको कुर्ता सल्वार लगाएकी थिई । उसको हातमा चाँदीको किस्ती थियो । किस्तीमा दुई मग कुन्नि के थियो ।  ‘आउनुस् कफी पिऔं,’ उसले भनी । सोफामा आमुन्नेसामुन्ने भईकन बसेपछि उसले मकन भनी :

– मलाई चिन्नुभएन जस्तो छ ! म ‘पल्लो घरको झ्याल’ उपन्यासकी मिसरी क्या त ! कफी चाखी हेर्नुस् त ! कस्तो लाग्छ ? मैले चिनीको सट्टा मिश्री मिसाएकी छु । म्याडम बोभारीलाई मिश्री राखेको कफी खुप मन पर्छ । वास्तवमा यो घर म्याडम बोभारीको हो । म यहाँको केयरटेकर हुँ । कफी पिएँ । मिसरीले बनाएको मिश्रीयुक्त कफी स्वादिलो लाग्यो । यस्तैमा मेरो नम्बर अनायास पुन: पेन्टिङमा गई अल्झियो ।

कस्तो आश्चर्य ? उक्त तैलचित्रको मुहारमा अघिको कुनै दिवङ्गत भाव थिएन । यस बेला म्याडम बोभारी हेर्न त मलाई नै हेरिरहेकी थिई तर हल्का फिस्स मुस्कुराउँदै । अधरबाट फिस्स चिप्लिएको अर्ध मुस्कानमा बैजनी छाया पोतिएको थियो ।  मिसरीले भनी, ‘म्याडम बोभारीको फेसियल एक्स्प्रेसन परिवर्तन भइरहन्छ । कहिले मुस्कुराउनुहुन्छ, कहिले छड्के हेर्नुहुन्छ । कहिले उदास/उजाड हुनुहुन्छ त कहिले आँसु चुहाउनुहुन्छ । कहिलेकाहीं भने मध्यरातमा बिनसित्ती जोडजोडले हाँस्नुहुन्छ । पेन्टिङको चित्रले यस्तो विचित्र क्रियाकलाप गर्ने कुरा तपाईंले यसअघि सायद सुन्नुभएको थिएन । हेर्नुभएको थिएन । यो घरमा तपाईंले अवश्य पनि केही काल बिताउनुहुने नै छ । सब कुरा थाहा पाइहाल्नुहुने नै छ । अनि अर्को कुरा, कहिलेकाहीं त म्याडम बोभारी पेन्टिङबाट गायब भइदिनुहुन्छ ।’

मिसरी यस्तै भन्दै थिई । मेरो मुटु भने जोडजोडले धड्किरहेको थियो । आठ तालु सुक्दै थियो । जे म सुन्दै र हेर्दै थिएँ ती लौकिक या अलौकिक थिए ? या परलौकिक थिए ? मेरा सम्पूर्ण इन्द्रिय, होस, बुद्धि, भाव, संवेदना, अनुभूति सबका सब (शवका शव ?) वस्तुत: आकारमा मनमस्तिष्कमा दिशाहीन फनफनी घुमिरहेका थिए ।

यति बेला पेन्टिङबाट म्याडम बोभारी मलाई कुटिल मुस्कानका साथ क्वारक्वार्ती हेरिरहेकी थिई । त्यो भुत्यौली वा किचकन्यौली दृष्टि मेरो आँखाको पुतली नष्ट गर्न आतुर एवं व्यग्र थियो । मिसरीचाहिँ एकनासले भन्दै थिई :

– म्याडम बोभारी कहिलेकाहीं पेन्टिङबाट ओर्लनुहुन्छ । ट्राम चढ्नुहुन्छ र पल्पसा क्याफेको बुइँगलमा बसी कफी पिउनुहुन्छ । तपाईं पन कफी पिउनुस् नत्र कफी मुर्झाइजान्छ !

कफी मुर्झाइजान्छ ? उफ ऽऽऽ त्यो कस्तो कफी थियो जो सकमबरीको नीलो फूलको चोक्टाझैं मुर्झाइजान्थ्यो ? यस्तैमा बैजनी बत्ती झ्याप्प निभ्छ र म ब्ल्याक–आउट हुन्छु ।

*** End

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
पाटनका चिया अड्डाहरू
कुमार नगरकोटी


चैत्र २८, २०७२- ४: ३० बज्यो
अब चियाका अड्डालगायत पाटनका गल्लीतर्फ पद–सर्फिङ उर्फ प्रभात विचरण गर्ने बेला भो । हात मुख धोइपखाली गरिसकें । खुक्स तथा लाइटरलाई पनि खल्तीमा कोचकाच गरिसकेँ । कालो न कालो तितो न तितो कफीले मुख कुल्ला गरिसकेँ, बीपीको ट्याबलेट एमलोड–१० सितै ।

तपाईं भने अझैसम्म ओछ्यानमै पो हुनुहुन्छ । के चाला हो यो ? निद्रामै मस्त हुनुहुन्छ । के पारा हो यो ? उठ्नु पर्दैन ? ‘सुबह हो चुकि है’, जाग्नु पर्दैन ? उमेरभरिको निद्रा एक रातमै भोगचलन गर्ने इरादा छ कि क्या हो ? उठ्नुस् जाग्नुस् र आउनुस् मसितै हिँड्नुस् ।

‘जागो माई फ्रेन्ड जागो । आपनी नींद से कभि तो जागो ।’
यस द्याट्स् इट, माई दोस्त । तपाईंलाई यति चाँडै उठाएँ । नरिसाउनुहोला । होइन होइन पर्दैन, आफ्नो लुगा लगाउनु पर्दैन । मेरै लगाउनुस् । तपाईंका लागि एक सेट पीत–वस्त्र मैले छुट्याइदिएको छु । त्यही पहेँलो ‘गुड मर्निङ पोसाक’ लगाउनुहोस् ।

गुड् । द्याट्स् लाइक अ गुड फ्रेन्ड । पहेंलो वस्त्र तपाईंलाई खुप सुहाएको छ । तपाईंलाई गतिलो लुगा दिन सकिनँ । पीर नमान्नुहोला । छालाको त्यो थोत्रो जुत्ता साँघुरो त भा’छैन नि १ गुड । कहिलेकाहीं अरूकै जुत्ता लगाई यात्रा गर्नु पनि बेसै हुन्छ । कि कसो ? म त चप्पलमै ठीक छु ।



अरे  ! तपाईं त ऐनामा आफ्नै थोपडा पो हेर्न थाल्नुभयो । ऐना नभई आफ्नो आत्मा हेर्नुपर्ने होइन र भन्या ?
ओके ? रेडी ? लेट्स गो ।

तपाईं त केवल एक रातको पाहुना आजै लामो यात्रामा गइहाल्नुहुन्छ हिजो राति त्यति बातचित हुन पाएन । यात्राबाट थाक्नु पनि त भएको थियो ∕ चाँडै सुतिहाल्नुभयो । अहिले अब बात मार्दै हिँडौं, है त ?
यो थुम्के डाँडा कस्तो लाग्यो ? हेर्नुस् त, यसलाई चारैतिरबाट वृक्षहरूले घेरेको छ । यी वृक्षमा पाटनभरिका कागहरू बस्छन् । अहिले सुतिरहेका छन् । एक्कै छिनपछि यिनीहरूले आवाजको सिम्फोनी क्रिएट गर्नेछन् । बीचको मैदानमा छुट्टीका दिन नानीबाबु र किशोरहरू खेलकुदमा रमाउँछन् । केहीबेरमा भद्र महिला र सज्जनहरूको भीड यहाँ देखिहाल्नुहुनेछ । ती सब स्याँस्याँ र फ्याँफ्याँ गर्दै हिँड्छन् । नानाभाँतीका उछलकुद गर्छन् ।

मर्निङवाकमा लमकलमक हिँड्ने पथिकहरूदेखि मलाई बडो हाँसो उठ्छ । बबुरो हिँडेको हो कि दौडेको ? चालै नपाइने । यस्तो चाल छलपूर्ण लाग्छ ।

तपाईंलाई यो डाँडाको घाँसे मैदानमा लिएर आउनुको पछाडि मेरो भित्री मनसाय यस्तो छ : केही वर्षअघि डाक्टरले बीपीको ट्याबलेट प्रेसक्राइब गर्दै– शीतयुक्त घाँसमा खाली खुट्टा डुल्ने, हिँड्ने गर्नुस्– भनेको थियो । त्यसपछि केही बिहान मैले पाटनमा घाँस खोजेँ जहाँ म गाई, घोडा, भेडाबाख्रासरि चर्न सकूँ शीत लाग्ने ठ्याक्कै भन्याजस्तो घाँस भेट्नै मुस्किल । अर्धाङ्गिनीले एक दिन मलाई यहाँ डोर्‍याउँदै ल्याइन् र हरिया घाँस देखाउँदै भनिन् :
प्रिय पतिदेव, अब घाँस चर्नुस् । हेल्दी हुनुस् ।
घाँस–चरन राम्रै भइरहेको थियो । तेस्रो चरण (दिन) को घाँस चरनमा समस्या भयो । म जहाँ चर्ने गर्थेँ त्यहाँ अर्कै भलाद्मी उहिल्यैदेखि चर्ने गर्दो रहेछ । घाँसका निर्मल शीतबिन्दुहरूलाई मैले पहिल्यै बिटुलिदिएकोमा ऊ आक्रोषित देखियो । बेलाबेला उसले मलाई आँखाले खाउँलाझैँ गरी, आँखैले भष्म गरिदिउँलाझैँ गरी हेर्न थाल्यो ।

मलाई निजप्रति दया जाग्यो यस्तो आक्रोशले त उसको अकल्याण हुने भो । बिचरो । यस्तो विकृत भावदशाले त उसको बीपी झन् जीपी पो हुने भयो । कसैको बीपीलाई व्यर्थमा किन जीपी बनाउनु ? गरी खाओस्, कल्याण होस् भनी त्यो घाँसे मैदान उसैलाई चर्नको निम्ति मैले छाडिदिएँ । सदासदाका लागि ।
लौ ! चियापसल आइपुग्यो । यो हाम्रो प्रथम चिया अड्डा हो । आच्या, के टोलाइरा ? हिँड्नुस् भित्र जाऔँ ।

खासमा यो चिया अड्डा मेरो पछिलो डिस्कभरी हो । याँ आउन थालेको यस्तै ३ चार महिना मात्र भयो । यसअघि प्रात: यात्राको मेरो पहिलो ह्याङ्आउट गुईटोलको चिया अड्डा हुने गथ्र्यो । बहत्तरको तोरीलाहुरे भुइँचालोले त्यसलाई नष्ट गरेपछि सुन्धाराको कापमा यसलाई फेला पारेको हुँ ।

ब्ल्याक टी, मिल्क टी र लेमन टी एकसाथ तन्मयका साथ बनाइरहेका साहुजीको नाम अकबर हो । अकबर, द ग्रेट होइनन् नि ! कम्युनिस्ट लिट्रेचरले मन पराउने आम आद्मी हुन् यिनी जो चियाचाहिँ ग्रेट बनाउँछन् । नामले गर्दा तपार्इँलाई यिनी मुसलमान बन्धु हुन् कि जस्तो लाग्न सक्छ । तर यिनी श्रेष्ठ हुन्– अकबर श्रेष्ठ । यस्तो रोचक नाम राख्ने ग्रान्ड डिजाइनरचाहिँ उनका पिताजी हुन् । वास्तवमा के भन्देखिन् नि ! पिताजीलाई उनको त्रिपुत्र हुने चरम विश्वास थियो । ज्येष्ठ पुत्रको नाम अमर राखे । यिनी माइला हुन् । यिनी अकबर श्रेष्ठ भए । कान्छा जसको नामकरण तिनले एन्थोनी जुराएचाहिँ– अफसोसका साथ भन्नुपर्छ– यो धर्तीमा जन्मिएनन् ।

एकजना नेवार पिताले त्रिपुत्रको नाम जुराएका थिए: अमर, अकबर र एन्थोनी । चाखलाग्दो छैन त १ एउटा पिताले धार्मिक सहिष्णुताको अवधारणा आफ्नो परिवारमा खोजे । बाई द वे अमिताभ बच्चन, विनोद खन्ना अनि ऋषि कपुर अभिनीत लेट् सेभेन्टिजको हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’ त तपाईंले जरुर हेर्नुभएकै होला ! कसो ?

अकबर मलाई चियाभन्दा अघि ‘काठमान्डु पोस्ट’ दिन्छन् । अकबरका अनुसार मबाहेक अंग्रेजी अखबार पढ्ने तीन ग्राहक छन् । सबैभन्दा पहिले म जोक पढ्छु : ‘लाफ आउट लाउड’ । अनि ‘रिप्लेज विलिभ इट अर नट’  । कागतालीले शनिबार परेको छ भने आफूलाई दिलखुस राख्न गफाडीको कोलम ‘हेड्स एन्ड टेल्स’ जरुर पढ्छु । अनि छ नि १ यो जुन कालो कमिज लगाको केटो छ नि यसरी ओहोरोदोहोर गर्ने, उसको नाम पनि कुमार हो । पत्रिका पढिरहँदा अकबरले पटकपटक कुमार भनी यो कामदारलाई बोलाउँदा हरेकपटक म पुलुक्क हेर्ने गर्छु ।

आउनुस्, अब यो गल्लीतिर छिरौँ । यति चाँडै यिनीहरूचाहिँ ठिमी, भादगाउँतिरबाट आएका हुन् । यी खर्पन र साइकल जहाँ सागसब्जी राखिएका छन्, चाहिँ पाटनका चोक, डबली र बहालतिर छरिएर डिस्ट्रिब्युट हुन्छन् । यिनीहरू छेवैबाट गुज्रँदा गल्ली नै धनियाको मगमग बास्नामा चुर्लुम्म हुन्छ । गाँजर, मुला, काँक्रोका टोकरी लिई हिँड्ने मानिसहरू अब फलफूलहरूसितै चोकमा भेला भइहाल्छन् । मेरो दुर्भाग्यचाहिँ के भने नि, साग र फलफूल म कहिल्यै किन्दिनँ । हरियो–परियो मलाई यो जुनीमा कहिल्यै मन परेन ।

कहाँसम्म भने दारु महेफिल/जमघटमा सलाद छ भने त्यसलाई खाने मदिरा–मित्रहरूप्रति मेरो कहिल्यै पवित्र भाव आएन । सलादको कलात्मक सजावटचाहिँ सदा अपूर्व लाग्छ । तर खानु ? टोक्नु ?
त्यसरी काटेर, छिलेर, पखालेर बडो मेहनतका साथ विभिन्न कलात्मक सेप एन्ड साइजमा सजाइएको सलादलाई कुनै खुंकार दानवले झैँ अति निर्ममतापूर्वक पाशविक तवरले दाँत एवं दाह्राहरूले कुरुमकुरुम टोक्नु, चपाउनु भनेको त थर्ड डिग्री मर्डरभन्दा पनि घटिया काम भएन र १ उफ माई गड १ सेभ मी फ्रम दिज सलाद– इटर्स ।

लौ हामी त लगनखेलको बस अड्डा पो आइपुग्यौं ।

आउनुस् अब एक डोज पिसाब फेरौँ । मूत्रत्याग गरौँ । रु. ५/– मात्र लगानी गर्दा हुन्छ । पिसाबको पनि हिसाब गर्नुपर्ने १ गजब छ होइन त ? गजब छैन भने भन्नुस् ल १ यो त सस्तै मान्नुपर्छ । कसो देशका वाणिज्य तथा अर्थमन्त्रीहरू यस्ता सार्वजनिक मूत्रालयतिर आउँदैनन् । धन्य छ प्रभु १ नत्र यिनीहरूले पिसाबमा समेत भ्याट र कर लगाउन बेर लगाउँदैनन् ।

पिसाबमा भ्यालु एडेड ट्याक्स ∕ अन्त:शुल्क १ नहाँस्नुस् न भन्या १ कुरा सिरियस छ ।
नाउ, मिट मिस्टर ढकाल । पपुलरली नोन एज ढकाल बाजे । यो मेरो दोस्रो चिया अड्डा ।
—    सरलाई आज दुई पेग चाहिएलाजस्तो छ । पहेंलो रङको साथी पनि ल्याउनुभा रहेछ ।
—    हो हो दुई पेग दिनुस् । हार्ड एन्ड स्ट्रङ विदाउट वाटर ।
—    निट एन्ड क्लिन, सर १
— यस अफकोर्स ।
देखिहाल्नुभयो । सुनिहाल्नुभयो हाम्रो संवाद । यहाँ एक कप चिया भन्नु आपत्तिजनक हुन्छ । पेग नै भन्नुपर्छ ।

यिनी मान्छेचाहिँ रोचक एवम्, रसिक पाराका छन् । सडक किनारा नै यिनको राजकीय पसल हो । एउटा बेन्ची, पाँच छवटा मुढा, स्टोभ, दूधका भाँडाकुँडा, सिसाका गिलास, जुठो खकाल्ने बाटा इत्यादि यिनको पुँजी हो । यिनी गफास्टक हुन् । यिनको खोपडीमा संसारभरको सूचना छ । कार्ल माक्र्सको पुँजीदेखि भागवत गीताका श्लोक हुँदै बाराक ओबामाको पछिल्लो क्युबा भ्रमणबारे यिनी धाराप्रवाह प्रवचन दिन सक्छन् । तपाईंको अनुहार हेरेर नै यिनले तपाईंको पूर्वजन्मको सनसनीखेज खुलासा गरिदिन्छन् ।
एक दिन यिनले मलाई प्वाक्क भनिदिए :
—    पूर्वजन्ममा तपाईं अफ्रिकाको हिप्पोपटमसको अवतारमा हुनुहुन्थ्यो ।
हिप्पोपटमस ? त्यो पनि अफ्रिकन १ सो कल्ड नगरकोटी पूर्वजन्ममा हिप्पोपटमस पो थियो । कस्तो गजब कुरा १ चिया पारखीहरू गलल्ल हाँसे । मैले पनि आफ्नो हाँसो रोक्न सकिनँ । उसले त अझ हौँसिँदै यसो पो भन्यो :
—     तपाईं फिमेल हिप्पोपटमस हुनुहुन्थ्यो । अर्थात् लेडी हिप्पो ।
त्यो दिनभरि मलाई हाँसो उठ्यो । जबजब म उसको अनुहार सम्झन्थें म आफूलाई हो न हो फिमेल हिप्पोपटमस भएको ठान्थेँ र एक्लै मरीमरी हाँस्न थाल्थेँ । साँझपख खाना खाने बेला पनि अनायासै हाँसे । अर्धाङ्गिनीलाई मिस्टर ढकालको कुरा सुनाउँदा उनी आक्रोशित पो भइन् । भन्न थालिन् :
—    मेरो लोग्नेलाई हिप्पोपटमस भन्ने त्यो पाजीको यत्रो हिम्मत ?
त्यसपछि अर्धाङ्गिनीको आक्रोश देखी/सुनी हाँसें ।

ढकाल बाजे यस्तै रोचक छन् । चीजबीजका यिनका आफ्नै शब्दहरू छन् । जस्तो कि चुरोटलाई यिनी धुम्रकेतु भन्छन् । स्टोभलाई अग्निकुण्ड । जब यिनी एनजीओ क्लब भन्छन् तब हामीले एमाले पार्टी भनी बुझ्नुपर्छ । उनका अनुसार राप्रपाको फुलफर्म राष्ट्रिय प्रहसन पार्टी हो । माओवादी पार्टीलाई नवबुर्जुवा दल भन्छन् । त्यसको सर्ट फर्मचाहिँ ‘नबुद’ हो । एकताका मलाई यिनी कांग्रेसी पो रैछन् जस्तो लाग्यो । खसखस लागेर सोध्या थिएँ : ढकालजी कांग्रेसचै के हो नि ! नामै लिनुहुन्न ।

‘त्यो दलको नाम उच्चारण गर्‍यो भने बोल्नेको जिब्रो र सुन्नेको कान अपवित्र हुन्छ,’ उनले भने ।
यिनलाई हँसिमजाकमा कसले भेट्ने ?
जुठो गिलास खकाल्दा यिनी यस्तो खालको आफ्नै गीत गाउँछन् :
‘मिया खाए दारु, पिया खाए चाय
मिया और पियाका ईश्क हाय हाय’ 

लाग्छ आज यिनी गाउने मुडमा छैनन् । त्यसैले आउनुस् हिँडांै । बाटो लागौँ । हाम्रोसामु लमतन्न सुतेको बाटो मंगलबजार जान्छ । यो क्षेत्रको सबैभन्दा भीडभाड हुने ठाउँ यही हो । भीड कस्तो भने तपाईंबीचमा गई उभिइनु मात्र पर्छ, धकेलिइँदै धकेलिइँदै तपाईं बिनापरिश्रम अर्को किनारमा पुग्नुहुन्छ । बीचमा एक निद्रा सुते पनि हुन्छ । उ: त्यो बाटोको दायाँ भागको आइसक्रिम पसल छ नि– हो, त्यहाँ उहिल्यै उहिल्यै म प्राय: राति जाने गर्थें आइसक्रिम खान । अक्सर जाडो सिजनमा । दारु खाइसकेपछि मलाई यहीँको भ्यानिला आइसक्रिम खानुपर्ने । सुन्दर कविता, कथा लेख्ने साहित्यकार अविनाश श्रेष्ठसित यो पार्लरको रेफ्रिजेरेटरभित्र मैले केही यादका आइसक्युबहरू छाडेको छु । यहीँको आइसक्रिम खाँदै पाटनका गल्लीहरूमा पुराना गीतहरू गाउँदै हामी हिँड्ने गथ्र्यौँ । अँधेरी रातमा होनचा– ऐलाको रमरम मातमा । दिलको चिहानमा वर्षौंअघि गाडिएका स्मृतिहरूलाई उहाँ खोल्नुहुन्थ्यो । खोतल्नुहुन्थ्यो ।

वास्तवमा कविको हृदय यस्तो सुनसान चिहान हो जहाँ बतास पनि उदासउदास र हतासहतास चल्छ उच्छवासका साथ । सुकेका पातहरूमा प्रेमका आदिम रातहरू सर्‍याकसुरुक गर्छन् । शीतमा मनमीतको गितीप्रीत हुन्छ । मनसुनमा एकान्तको आत्मगलित भनसुन हुन्छ । हिउँको फुसफुस दाना वेदनाको गानामा चुर्लुम्म हुन्छ । त्यस्तो चिहानमा तपाईंले कुनै रात बिताउनु भा’ छ ?

तर, अब त त्यो समय नै कहाँ रह्यो र १ आइसक्रिम पग्लिएसरी यादहरू पनि पग्लिए । तर पनि भन्न मन लाग्छ याद त्यस्तो भ्यानिला हिम–क्रिम हो जो पग्लिए पनि त्यसले छाडेका धर्साहरू, डोबहरू, दागहरू, मनमा गढेर बस्छन् । कसो ? हो कि होइन १ होइन भने होइन भन्नुस् न, किन यति चुप ?

कमन लेट्स ह्याभ सम् मालपुवाज एन्ड ग्वालमरिज । दिनको सुरुआत मालपुवा र ग्वालमरीबाट र अन्त्य चटामरी, बारा, हाकु छोयलाको साथमा टिपिकल नेवारी ऐलासित गर्नु भनेको पाटनको सम्मान गर्नु हो । पाटनलाई प्रेम गर्नु हो । वन्ट सम मोर ? ये दिल मागे मोर ? दुई गेडा ग्वालमरी थप्ने पो हो कि १ होइन होइन यहाँको चिया नखाऔं । मिठो छैन । थर्मसको चिया पनि के चिया ?
बरु आउनुस् लामाको चिया अड्डामा छिरौँ । कुनाको कुर्सीमा तसरिफ राखौँ ।

यो पाटनको पुरानो व्यवस्थित बजार हो । तरकारी बजार पनि भनिइने यो ठाउँ सस्तो बजारको नाउँले पाटनका रैथानेहरूबीच लोकप्रिय छ । तर कुनै समय गुल्जार यो बजारले अहिले आफ्नो बैंस गुमाइसकेको छ । हामी अहिले लामाको चियापसलमा छौँ । कस्तो लामा भनेर चाहिँ नसोध्नुस् । किनकि नाम त मलाई पनि थाहा छैन । म प्राय: बस्ने भनेको यही कुनामा हो । मेरो पद–विहारको तेस्रो चिया अड्डा ।

हामीसामु देखा परेका चियाबाजहरू यो पसलका नियमित ग्राहक हुन् । चनासितै उसिनेको अण्डा खाइरहेको मान्छे– लामाका अनुसार –गुप्तचर विभागको कर्मचारी हो । हेर्दै जानुस्, निज अण्डा मानवले यसपछि फिक्का चिया खानेछ । नुन हालेको । नमक टी ।

बेलनाले भकाभक रोटी पेलिरहेकी आइमाई लामाकी जहान हो । ढाका टोपी र ज्वारीकोट लगाएका दुई बुढा एकआपसका घनिष्ट दौंतरी हुन् । यिनीहरू सदा साथमा हुन्छन् । दुवै पाखुराभरि ड्रागन–ट्याटु रोपेको युवा फेसबुक एडिक्ट हो । यसलाई तपाईं यदाकदा गाँजाको पेपर रोल गरिरहेको अवस्थामा पनि देख्न सक्नु हुनेछ । तर गाँजाभन्दा ठूलो नशा त उसलाई हेर्दा फेसबुक नै देखिन्छ । लाग्छ, फेसबुकको गजेडी नशाबाट निजलाई फेसबुकका देवदूत मार्क जुकरबर्गले समेत कल्याण गर्न सक्ने छैनन् ।

निजसामु दुवै हातले च्याप्प गिलास समाती सुरुप सुरुप आवाज निकाल्दै चिया खाँदै गरेको मनुवाचाहिँ अभिनेत्री रेखा थापाको अभूतपूर्व फ्यान हो । यस्तो खालको क्रेजी फ्यान तपार्इं देशमा विरलै भेट्न सक्नुहुन्छ । उ लवस्तरो तथा हाउडे किसिमको मनुवा हो । हाउडे शब्दले मलाई अकसर विश्वविख्यात जादूगर हाउडिनीको स्मरण गराइदिन्छ । कहिलेकाही शब्दको सम्बन्धबारे सोच्दा म हैरान हुन्छु । जस्तो कि जापानी किमिनो । हिन्दी कमिनासित म्याच गर्ने । त्यसमा नेपाली किमा थप्नुस् । किमिनो, कमिना र किमा । त्यसपछि एउटा गज्जवको वाक्य गठन गर्नुस् –किमिनो लगाएको कमिनाले किमा खायो ।

खैर, म हाउडेको कुरा गर्दै थिएँ यी चियाबाजहरू प्राय: हाउडेको मजाक गर्छन् । खिल्ली उडाउँछन् । तर उ ङिच्च ङिच्च हाँस्दै सम्पूर्ण मजाकलाई टोलरेट गर्छ । टोलरेट शब्द टोइलेटजस्तो सुनिएन ? अँ त हाउडेको एउटा रुचि बडो जबर्जस्त छ । ऊ राशिफल हेर्ने मान्छे हो । पत्रिकामा उ सदा कन्या राशि हेर्छ ।

कन्या उसको राशि भने होइन नि १ उसका अनुसार रेखा थापाको हो । आफ्नै राशिको चाँहि उसलाई बालै भएन । रेखा थापाको राशिमा ‘उत्साह बढ्ने’ लेखिएको छ भने ऊ त्यसैत्यसै उत्साहित हुन्छ । ‘अस्वस्थता’ लेखिएको छ भने खिन्न हुन्छ । ‘पराक्रम बढ्ने’ लेखिएको खण्डमा ऊ लामासित दुइटा अण्डा माग गर्छ ।

हाम्रो छेवैमा बसी स्टिलको ठूलो गिलासमा एक्स्ट्रा चिया जो खाइरहेको छ, त्योचाँहि स्वर्णमन्दिरको उत्तरी द्वारमा बस्ने मगन्ते हो । गिलास उनको आफ्नै हो । उनी आफैँ ल्याउँछन् । मझैं मौनप्राय: रहन्छन् । उनको खल्तीमा तपाईंले हात हाल्नुभयो भने प्रशस्त सिक्काहरू फेला पार्न सक्नुहुन्छ । लामालाई उनले चिया खाएबापत बुझाउने भनेको तिनै सिक्काहरू हुन् । मैले उनको हातमा कागजको रुपैयाँ कहिल्यै देखिनँ । वाई द वे रुपिँया र उपिँया उस्तैउस्तै हुन् । कहिल्यै एक ठाउँमा नबस्ने ।
अनि लामा नि १

अब सुन्नुस् लामाको कथा :
यो टहरोमा यतिका ग्राहकहरू माझ म ठ्याक्कै कहिलेदेखि देखिइन थालेँ त्यसको मलाई हेक्का छैन । कहिलेदेखि यहाँ आउन थालेँ ठीक यकिनसाथ भन्न सक्दिनँ ।
म आउँथेँ । यो कुनामा बस्थेँ । चिया पिउथेँ । जान्थेँ ।

तपाईंलाई अचम्म लाग्ला । भर्खरै उल्लेख गरेका यी मानिसहरूसित मैले आजसम्म दोहोरो कुरा गरेको छैन । यिनीहरूको निम्ति मेरो हैसियत केवल परचक्रीजस्तो मात्र थियो । एउटा अज्ञात स्ट्रेन्जर जो उनीहरूलाई सुन्छ, उनीहरूको क्रियाकलाप हेर्छ र प्रतिक्रियामा मौनस्त रहन्छ । साहुजीलाई सबैले लामा भनेको सुनेर मैले पनि लामा भनेको हुँ । घर दोलखा । उमेर यस्तै ५५ हो कि । नहुन पनि सक्छ । उनलाई म यदाकदा बाटोघाटोमा देख्थेँ । काँधमा दुधको क्रेट बोकी हिँडेको । औँलाबीच अकसर चुरोट सल्किरहेको हुन्थ्यो । त्यो चुरोट ओठमा बिरलै बस्थ्यो । कहिले कता कहिले कता सल्किरहेको हुन्थ्यो । गल्लीतिर मलाई भेट्दा–वर्दा हाँसेको जस्तो गर्थे । आफ्नो पसलको चिया गाहकी ठानी मलाई उनी भाउ दिन्थे । बदलामा म पनि फिस्स गर्थेँ । हाम्रो सम्बन्ध त्यति मात्र थियो । जम्मा त्यति नै ।

तर एक दिन त्यो सम्बन्धले आफ्नो आयतन फैलायो, यसरी :
त्यो बिहान पनि चिया पिउँदै थिएँ चुपचाप । चुरोटको धुँवा उडाउँदै त्यो परको मत्स्यपसलको आँगनमा चाङ लगाइएका माछाहरू हेर्दै थिएँ जो चिप्लँदै भुइँमा झरिरहेका थिए । यस्तैमा लामा मेरो अघिल्तिर उभिन आइपुगे । उनको दुवै हात फैलिएको थियो । फैलिएको हातमा ‘कान्तिपुर’ थियो । पत्रिकामा मेरो याँमानको तस्बिर थियो । लामाले तस्बिरतिर इसारा गर्दै भने– यो मान्छे तपाईं हो ?

मैले हो ‘भनेँ’ । खासमा त्यो ‘कोसेली’ थियो जहाँ मेरो अन्तरर्वाता छापिएको थियो– ‘सामाजिक यथार्थवादले ध्वस्त पार्‍यो’ शीर्षकमा । छेवैमा मेरो किङसाइज्ड फोटो थियो । फोटोग्राफर किरण पाण्डेले खिचिक्क खिचेको फोटोमा म फिस्स गरि रेलिङमा अडेसिएको थिएँ ।

आफ्नो गुपचुपे जोगी ग्राहकलाई पत्रिकामा देखेर लामा चकित र ट्वाँ परेका रहेछन् । गाहकी त ठूलै मान्छे रैछ भन्ने उनलाई भ्रम परेछ । भने पनि :
‘तपार्इं त ठूलो लेखक हुनुहुँदो रैछ ।’
‘ठूलो होइन,’ मलाई संकोच लाग्यो ।
‘पत्रिकामा यत्रो ठूलो फोटो छ । तपाईं ठूलै लेखक हुनुपर्छ । नत्र किन छाप्थ्यो ?’
सबै ग्राहकहरू मतर्फ हेर्न थाले । ‘कोसेली’ हातहातबाट सर्दैसर्दै सबैकहाँ पुग्यो । सबैले फोटोसित मलाई दाँजेर हेर्न थाले, पुलुकपुलुक । आफ्नो गुप्त परिचय यसरी कत्लेआम भएकोले बढो असहज महसुस गरेँ । यता लामाको प्रश्न जारी थियो  :
‘के लेख्नुहुन्छ ?’
‘कथा । वास्तवमा कथाकर्मी हुँ,’ भनेँ ।
‘कथाकर्मी ? सिकर्मी, डकर्मी जस्तै कथाकर्मी ?’ उनको जिज्ञासा ।
‘हो हो, त्यस्तै,’ भनेँ ।
‘हामीजस्तो सामान्य मानिसको कथा पनि लेख्नुहुन्छ ?’
‘लेख्छु नि ।’
पत्रिका साहुनीको हातमा पुग्यो । रोटी बेल्न/पेल्न छाडी मलाई हेरी । अनि आफ्नै पारामा यसो भनी–
‘पत्रकारले भिखारी, कुकुर बिरालोको फोटो खिच्छ र पत्रिकामा छाप्छ । अस्ति हाम्रै पसलको छेउमा एउटा माग्नेको फोटो खिच्दै थियो ।’

समय आफ्नै अगतिलो गतिमा हिँड्दै गयो । लामो समय चियापसलमा गईनँ । मलाई कताकता लाग्यो लामाको चिया अड्डामा मैले एउटा सामान्य गाहकीको आफ्नो स्वआर्जित हैसियत गुमाएँ । आइन्दादेखि न उनले मलाई विशेष खालको दृष्टिले हेर्नेछन्, मानमनितो पनि गर्नेछन् भन्ने कल्पनानै मेरो लागि कहालीलाग्दो थियो । आफ्नो अज्ञात परिचय– एक स्ट्रेन्जर– को भूमिका नै मेरो परिचय थियो । उनको निम्ति म कुनै अपरिचित गाहकी भएकै गलितो हुने थियो । म कसरी ‘ठूलो’ हुन सक्थेँ र १ कथित ठूलो भएपछि ठालु पनि हुनुपर्ने हुँदो हो ? यो दु:खदायीपूर्ण थियो ।

तर असोजको एक बिहान–तीन महिनापश्चात मलाई त्यो चिरपरिचित चियाको पुरानो गन्ध र स्वादको याद आयो । त्यो चिया जसलाई लामाबाहेक अरू कसले पो बनाउन सक्थ्यो र १ टहरामुनि लुसुक्क छिरेँ ।
यही ठाउँमा बसेँ ।
साहुनीले चिया ल्याइदिई । लामालाई देखिनँ । टेबलमै बाँकी रहेका जुठा गिलास लैजादैँ गरेकी साहुनीलाई सोधेँ :
‘लामाजी खोई ? देख्दिनँ त ?’
‘लामा त मर्‍यो,’ उसले भनी ।

त्यो ज्यादै अप्रत्यासित अनि अकल्पनीय जवाफ थियो । म अक्क न बक्क परेँ । उसैले भनी– ‘झट्ट बिरामी भयो । हस्पताल लगेको भोलिपल्ट मर्‍यो । निमोनिया भन्थ्यो डक्टर ।’

चिया बेस्वादको खल्लो लाग्यो । चियाको गन्ध र स्वादमा लामाको जादू, आत्मीयता पनि कहाँ थियो र १
लामा कति जतनका साथ चिया बनाउँथे भने म उनले चिया पकाएको हेरिबस्थेँ । आफ्ना सम्पूर्ण ग्राहकको स्वादमाथि उनको पूर्ण नियन्त्रण थियो । स्वादको उनी खुप हेक्का राख्थे । कुन गाहकीलाई कस्तो स्वाद चाहिन्छ, को चिनीबिना खान्छ, कसलाई चिनी बढी चाहिन्छ, को कडा रङको खान रुचाउँछ, कसलाई मरिचको धुलो मन पर्छ र कसलाई सुकुमेलको त्यसै अनुरूपको अनुपात मिलाउँदै अड्कली अड्कली, भाँडाको सतहबाट पोखिन खोज्ने फिँजलाई फू फू फू फू गर्दै लामा चिया बनाउँथे । चिया पकाउँथे ।

पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन् ।
लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे ।
त्यो दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परेँ । यस्तो त कहिल्यै हुँदैन थियो । पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली :
‘मर्नुअघि लामाले भन्यो ‘त्यो लेखकलाई मेरो तर्फबाट एक कप मिठो चिया खुवाउनु, फ्रिमा । पैसा नलिनु ।’ त्यसैले आज चियाको पैसा तपाईंले दिनु पर्दैन ।’
जिन्दगी, अस्तित्व कति बिडम्बनापूर्ण छ । लामाको कथा यस्तै थियो । लामा अब त यो पसलमा कहिल्यै नआउने गरी गइसकेका छन् । तमाम गाहकीलाई अनाथ छाडी ।
हिँड्नुस् ।
अब हामी पनि जाऔँ ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
कुमार नगरकोटीको कविता: औंलाहरु


कहिलेकाहीँ म ती औंलाहरुबारे सोचिबस्छु,
जो जीवनको तीर्थयात्रामा कतै छुटिरहे
ती कोमल मुलायम औंलाहरु
ती न्याना प्रेमिल औंलाहरु
ती चिसा फ्रोजन औंलाहरु ।

कुनै अद्‍भूत किताबको पानाहरु पल्टाइरहेका औंलाहरु
सङ्गीतको स्वप्निल सरगममा नृत्यमग्न औंलाहरु
एक लाछी ऊनको घर बनाउन कुरुशमा चल्मलाउने औंलाहरु
चित्रकारिता गर्ने क्यान्भास सामु रङ्गीन बुरुशमा तत्पतिएका औंलाहरु
धूलो जमेको ऐनामा आफ्नो नाम लेखिरहेका औंलाहरु ।

बयरको झाडीमा अल्झिएका औंलाहरु ।

प्रियसीका अधरमा बल्झिएका औंलाहरु ।

केही औंला त यस्ता हुन्छन्
जो कविता लेख्दालेख्दै काव्य-सङ्ग्रहको पाण्डुलिपिभित्र कतै छुट्छन्
जसरी केही औंला प्रेमपत्र लेख्दालेख्दै
कलमहरुमा छुट्छन् ।

केही औंला बाँसुरीका प्वालहरुमा छुट्छन्
र केही औंला वीणाका तारहरुमा
मानौं ती हिउँदका बर्फिला औंलाहरु हुन्
जो ज्याकेटका गोजीहरुमा छुट्छन् ।

केही औंला मन्दिरका सस्याना घण्टीहरुमा छुटे
टिङ-टिङ-टिङ-टिङ-टुङ
केही कलशमा
जसरी पुतली समाउन उडेका औंलाहरु बतासमा छुटे ।

जीवन-मझदारको डुङ्गामा
केही औंला
बहानामा
छुट्छन्
केही औंला धर्मग्रन्थका पानाहरुमा
जसरी ध्यानमुद्रा औंलाहरु
जप-मालाका दिव्य
दानाहरुमा
छुट्छन्

कामना तथा प्रार्थनामा उठ्ने औंलाहरु कता छुटिगए भने
म कहिलेकाहीँ सोचिबस्ने गर्छु
व्यथित हुने गर्छु
माता, पिता तथा गुरुका चरण स्पर्श गर्ने
पवित्र औंलाहरु कहाँ कता छुटे
जीवनको नवजात निर्मल मुहारलाई
आस्थाले सुम्सुम्याउने ती निर्दोष औंलाहरु कहाँ/कता छुटे ?
र,
कता छुटिगए
मृत्युको बुढ्यौली कायालाई
मायाले सुम्सुम्याउने श्रद्धालु औंलाहरु ?

अनेकले मेरा अनेक औंला लिई गए
अब त मसित कुनै गुप्त गुनासो पनि रहेन ती अनेकप्रति
जसले मेरा एक-एक औंला कैले सापटीमा / कैले उधारोमा / कैले मुफ्तमा लिई गए

ताते-ताते गरी हिँड्नुपर्‍यो भनी
बच्चाहरुले कान्छी औंला लिइगए
वेडिङ-रिङ लगाउनुपर्‍यो भनी
प्रेमिकाहरुले अनामिका औंला लिई गए
दुश्मनलाई देखाउन भनी
मित्रहरुले माझी औंला लिइगए
पथिकहरुलाई घाट र घरतिरको
पथ प्रदर्शन गर्न
वैरीहरुले चोरऔंला लिई गए
जसरी
नागरिकता, तमसुक, मृत्युपत्रमा
ल्याप्चे लगाउन भनी शुभचिन्तकहरुले बुढी औंला लिई गए

कहिलेकाहीँ म सोच्नेगर्छु
तपाईंलाई पनि त यदाकदा ती औंलाहरुको असीम याद आउँदो हो
जो सेतो खरीसितै कालोपाटीमा छुटिगए
जो डाँठसितै फूलका थुङ्गाहरुमा छुटिगए
जो धागोसितै सियोका टुप्पामा छुटिगए ।

जो तासका पत्तीहरुमा छुटे ।
जो सिग्रेटका फिल्टरहरुमा छुटे ।
जो मदिराका प्यालाहरुमा छुटे ।

जो रिभोल्भरका
ट्रिगरहरुमा
छुटे ।

२०७३ माघ २२