Recent Posts

Pages: [1] 2 3 ... 10
1
Natya Siromani Balkrishna Sama
 
Bal Krishna Samser janga bahadur Rana was born in 1902 as the second son to General Samer Shumshere Jung Bahadur Rana and Kirti Rajya Laxmi in Gyaneshwor, Kathmandu, Nepal. He was born in Rana family (equivalent to Royal family) of that time so he was able to pursue the best education available in the country.

He completed his high school from Bhanu School (Durbar High School) in Rani Pokhari and went to Tri Chandra college as a science student. Balkrishna Samser Janga bahadur Rana by birth had right to become military officer went to Dehradoon (India) training and became a Lieutenant Colonel. Then prime minister Chandra Shumshere did not find Sama's interest in writing positively. Sama was not happy about the Rana rules and the regime.

He got married to Mandakini in 1921.

Balkrishna was distracted by cruelty of his grandfather to the servants and worker. His father was engaged in luxurious all the time. Sama had struggled finding time for him in peace. He selected learning art and literature to spend his time far from those violence and inhuman behaviors. 

He started publishing his articles in good magazines like Sarada, Udhyog, Shahitya Shrot and others. He took out all the honorary names out of his long name and made it short as “Balkrihna Sama”.  He did not want to associated himself with Rana autocracy in Nepal.

The drama "Bhater" published in Pragati in 1953 represents his feelings and concerned on human rights and freedom.

Bal Krishna Sama is known “Natya Siromani”.  He was known to be "Shakespeare" of the era in Nepal. He was much more inspired by Shakespeare's works. His dramas such as "Prem Pinda", "Buhartan", "Tapobhumi", "Atyadhunikta", and "Bhater" present the social context of the Rana era.

"Mukunda Indira" and "Mutuko Byatha" show the emotional and romantic side of Sama's personality. Mukunda Indira is story of all Nepali people still in 21st century. "Amit Basana", "Boksi", "Talamathi", and "Andhabeg" are based on the human psychology. And his dramas on historical personalities are "Amar Singh", "Bhimsen Ko Antya", and "Bhakta Bhanubhakta". "Birami Ra Kuruwa" deals with philosophy while "Prahlad" and "Dhruba" are based on religious figures.

Sama's contribution to Nepali literature and drama is things to be proud of.

Sama wrote stories, poems, essays, compositions, and biographies. His contemporaries Laxmi Prasad Devkota and Lekhnath Poudyal were involved in writing poetry. "Aago Ra Paani" and "Chiso Chulho" are his popular epics, he wrote an essay on Nepalese art entitled "Nepal Lalit Kala" as well as a biography Hamra Rastriya Bhibhutiharu and an autobiography Mero Kabita Ko Aradhana, Part I and II. "Kaikai" is his most well-known short story collection which was published in 1938.

Sama had very important role in changing the name "Gorkha Bhasa Prakashini Samiti" to "Nepali Bhasa Prakashini Samiti". He felt "Gorkha" did not truly represent the people of Nepal. His wants all to become Nepali. He also became the chairman of the Samiti for several years and worked as a lecturer of Nepali language and literature in Tri Chandra College.

In 1955, he became director of Radio Nepal and chief editor of Gorkhapatra. In 1967, when the Royal Nepal Academy was established, he became a member and later on the vice chancellor of the academy.

Sama continued writing and published though his life several poems in magagines like Madhuparka, Ramjham and others. He had many unpublished works which he read out in literary programs. Among his unpublished dramas are "Gangalal", "Aja", "Milinad", "Prem", "Chinta", "Prandaan".

Sama was awarded with the Tribhuwan Puraskar from Nepal Rajakiya Pragya Prathistan in 1972. The same year he received the Bishesh Upadhi from Tribhuvan University and in 1978, the Prithvi Pragya Puraskar from Pragya Pratisthan.

He died in 1981. He physically left the world, but his works are still alive. His contribution to Nepali Sahitya(literature) is invincible.
2
contd ...

२.३ परिवेश
मुकुन्द इन्दिरा नाटक मूलतः काठमाण्डौ उपत्यकाको परिवेशमा लेखिएको नाटक हो । यसमा कलकत्ता र कलकत्ता जाँदा बाटामा पर्ने देउरालीको समेत स्थानाङ्कन गरिएको छ । यस नाटकको परिवेश चित्रणले देशभक्तिको भावना ओकलेको छ । मुकुन्दलाई फर्काउन कलकत्ता जाँदै गरेको भवदेवको मुखबाट देउराली पुगेपछि लेखकले आफ्ना असीम राष्ट्रवादी भावनाहरू प्रवाहित गरेका छन् । यस नाटकमा मध्यमवर्गीय नेवारी समाजको सामाजिकता वर्णित छ । धार्मिक, सामाजिक संस्कार (मन्दिरमा पूजा गर्न जाने, बत्ती कात्ने, रामायण बाच्ने आदि), बालविवाह आदि प्रथाहरूको यहाँ उल्लेख गरिएको छ । यसमा सामाजिक अन्धविश्वास, कुसंस्कार आदि समाजमा व्याप्त रहेको र मध्यमवर्गीय युवावर्ग समुचित निर्देशनको अभावमा दुव्र्यसन र कुलतमा फँसेको वृत्तान्त समेत छ । यस नाटकमा सुरुदेखि अन्त्यसम्म करिब छ महिनाको घटना वर्णन गरिएको छ र ऐतिहासिक साहित्यिक पत्रिका शारदाको र पाटनको ऐतिहासिक मन्दिर कृष्ण देवलको समेत उल्लेख छ । यस आधारमा नाटकको घटनासमय सात सालको क्रान्तिपूर्व प्रतीत हुन्छ । अतः यहाँ कथानक, चरित्र र उद्देश्यअनुकूल समुचित र जीवन्त परिवेश—योजना रहेको मान्न सकिन्छ ।

२.४ द्वन्द्व
नाटकलाई कौतुहलपूर्ण र जीवन्त तुल्याउन यस कृतिमा सशक्त ढंगले द्वन्द्वको आयोजना गरिएको छ । यसको मुख्य द्वन्द्व भनेको सांस्कृतिक द्वन्द्व हो, जसअनुसार नाटकको नायक पूर्वीय सभ्यता र हिन्दू संस्कृति प्रतिकूल र दुव्र्यसन, कुलत एवं पाश्चात्य सभ्यताको भौतिकवादी झिलिमिलीमा पूर्णतः मोहित भई लट्ठिएको देखिन्छ भने यसकी नायिका इन्दिरा पूर्वीय सभ्यता र हिन्दू संस्कृति अनुकूल छे । ऊ मन्दिर जाने, बत्ती कात्ने, रामायण बाच्ने, पतिव्रता धर्ममा अटल र दृढ रहने एवं मान्यजनमा समुचित आदर सत्कार गर्ने आदि धार्मिक र सामाजिक कार्यमा सरिक देखिन्छे । यस द्वन्द्वमा पूर्वीय संस्कृतिकी अनुयायी इन्दिराको विजय र पाश्चात्य संस्कृतिको पक्षधर मुकुन्दको पराजय भएको छ । यो द्वन्द्व नै यस नाटकको मुटु हो ।
यस नाटकमा मुकुन्दलाई फर्काउन कलकत्ता गएको भवदेव र मुकुन्दका बीचमा पनि नेपाल फर्कने वा नफर्कने सम्बन्धमा चर्को द्वन्द्व सिर्जना भएको छ । यस द्वन्द्वमा सर्त राखेपछि मात्र भवदेव मुकुन्दलाई नेपाल ल्याउन सफल हुन्छ । यी दुईवटा द्वन्द्वका अतिरिक्त यसमा अन्य सानातिना अन्तद्र्वन्द्वहरूको आयोजना पनि पाइन्छ ।

२.५ भाषाशैली
भाषा र शैलीका दृष्टिले प्रस्तुत मुकुन्द इन्दिरा नाटक परिष्कृत र उत्कृष्ट देखिन्छ । यसमा गद्य र पद्य मिश्रित भाषाका माध्यमले संवाद रचना भएको छ । अधिकांश संवाद पद्यात्मक नै छ । काव्यात्मक भाषामा विविधतायुक्त संवादद्वारा यसलाई आकर्षक तुल्याइएको छ । नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी, हिन्दी भाषाको संवाद पनि यस नाटकमा प्रयोग भएको छ । यसमा नेवारी मातृभाषा हुने पुनाचा पात्रले नेवारी लबजमा उच्चारण गरी नेपाली भाषाको प्रयोग गरेको देखाइएको छ । त्यस्तै यसमा तत्सम शब्दको बाहुल्य भएका लामालामा र बौद्धिकतापूर्ण संवादको संरचनासमेत भएको पाइन्छ, तर यसले नाटकलाई अझ आस्वाद्य तुल्याएको छ । प्रस्तुत नाटकमा भाषागत आलङ्कारिकताको चमत्कार यत्रतत्र पाइन्छ । प्रसङ्गानुकूल यसमा गीतको समेत प्रयोग गरिएको छ । मुख्यपात्रले स्तरीय नेपाली कथ्य अँगालेको पाइन्छ भने अन्य पात्रले बोल्ने भाषा विविधतायुक्त छ । मूल कथा वा उद्देश्य पूरा गर्न नाटकको मध्य भागमा अनेकौं टुक्रा र प्रसङ्गहरू जोडिएका छन् । यसमा राष्ट्रवादी स्वर ओजस्वी भाषाका माध्यमले अभिव्यक्त छ । समग्रमा यस नाटकमा संवाद, भाव र भाषाको सुन्दर संयोजन पाइन्छ ।

२.६ शीर्षक
यस नाटकमा मुकुन्द र इन्दिरा नामक दुईजना मुख्य पात्रको जीवनकथालाई कथानकका रूपमा प्रस्तुत गरिएको छ । सम्पूर्ण नाटक यिनै दुई पात्रको केन्द्रीयतामा रुमल्लिएको पाइन्छ भने यसको शीर्षक पनि यिनै दुई पात्रको नामबाट मुकुन्द इन्दिरा राखिएको छ । यो शीर्षक सामञ्जस्यमूलक छ । शीर्षकमा रहेको मुकुन्द शब्दले नाटकको प्रमुख पुरुषपात्र र नायकलाई एवं इन्दिरा शब्दले यसकी मुख्य स्त्रीपात्र एवं नायिकालाई समेटेको छ । यिनै दुई पात्रहरू यस नाटकका प्रमुख विषय पनि हुन् । यस शीर्षकले पुरुषवर्ग र नारीवर्गको छुट्टाछुट्टै प्रतिनिधित्व बोकेको छ । अतः मुकुन्द इन्दिरा शीर्षक सामञ्जस्यमूलक, उपयुक्त, सार्थक र औचित्यपूर्ण प्रमाणित हुन्छ ।

२.७ सारवस्तु
मुकुन्द इन्दिरा नाटकको मुख्य उद्देश्य नै देशभक्ति र पतिभक्तिको परिधिमा उच्च आदर्शको स्थापना गर्नु रहेको छ । यसमा लेखकीय मुखपात्रका रूपमा प्रस्तुत भवदेवका माध्यमबाट देशभक्तिसम्बन्धी बहुमूल्य उद्गारहरू प्रवाहित भएका छन् । देशभक्तिका प्रवक्ता पात्र भवदेवका अतिरिक्त रूपनारायण, इन्दिरा, मुकुन्द र अन्य गौण पात्रका मुखबाट पनि राष्ट्रवादी स्वर उरालिएका पाइन्छन् । यसको कथानकमा ठाउँठाउँमा गौतम बुद्ध, जनक, गोरखनाथ, सीता आदिको जन्मभूमि नेपालको सामाजिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक विशेषताहरूको महिमा बखानिएको पाइन्छ ।
यस नाटकको अर्को उद्देश्यमा पतिभक्ति आएको छ । हिन्दू संस्कृतिअनुरूप पतिव्रताधर्म र सच्चरित्रता आदर्श नारीका आभूषण हुन् भनी देखाउन यस नाटकमा इन्दिराका माध्यमबाट आदर्श नारीको चित्र उतारिएको छ । बालविवाहको मारमा पिल्सिएर पनि धैर्य र त्यागको आत्मविश्वासमा दृढ रही इन्दिरालाई अन्त्यमा विजयी देखाउनु आदर्श पतिभक्तिको बलियो नमूना हो । यहाँ हिन्दू धर्म र स्वदेशी संस्कृतिप्रतिको हार्दिक श्रद्धाभाव यत्रतत्र उद्घाटित भएको छ । आफ्नो परिवार, समाज र राष्ट्रलाई तुच्छ ठान्ने र रक्सी रण्डी र मोजमा डुबेर विदेशमा बरालिने एउटा शिक्षित युवकलाई सुधार्नु वा कर्तव्यबोध गराउनु यस नाटकको लक्ष्यप्राप्ति हो ।

३. उपसंहार
प्रस्तुत मुकुन्द इन्दिरा नाटकका मुख्य विशेषताहरूमा सामाजिक कथानक, मध्यमवर्गीय नेपाली जीवनजगत्को चित्रण, काठमाण्डौंदेखि कलकत्तासम्म फिंजाइएको परिवेश, मौलिक र प्रेमप्रधान कथानक, देशभक्ति र पतिभक्तिको समन्वयात्मक सन्देश, पद्यात्मक र गद्यात्मक संरचना, सुखान्त आदि पर्दछन् ।

४ सन्दर्भसामाग्रीको सूचि
उपाध्याय, केशव प्रसाद, (२०५२) समको दुःखान्त नाट्यचेतना, ललितपुर : साझा प्रकाशन ।
खनाल, प्रीति, (२०६१) अन्धवेग नाटकको कृतिपरक अध्ययन, (अप्रकाशित शोध पत्र), काठमाण्डौ : नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
थापा, अशोक, (२०६५) नाट्य समीक्षा र अन्य समालोचना, कीर्तिपुर : न्यू हिरा बुक्स ।

सम, बालकृष्ण, (२०४०) मुकुन्द इन्दिरा, ललितपुर : साझा प्रकाशन ।
3
contd ...

२ मुकुन्द इन्दिरा नाटक :
मुकुन्द इन्दिरा नाटक समको ध्रुव (१९८६) र प्रह्लाद (१९९४) पछिको तेस्रो संयोगान्त नाटक हो । यो वि. सं. १९९४ सालमा प्रकाशित भएको हो । मञ्चमा प्रदर्शन भई प्रसिद्धि कमाएको यस नाटकमा नेपाली सामाजिक मनोवैज्ञानिकताको सफल प्रयोग पाइन्छ । यो नाटक पाँच अङ्क र अठार दृश्यमा संरचित छ । पहिलो, दोस्रो र पाँचौं अङ्कमा तीनतीन दृश्य, तेस्रो अङ्कमा पाँच दृश्य र चौथो अङ्कमा चार दृश्य रहेको प्रस्तुत नाटक सुखान्त कथानकलाई समेटी उभिएको छ । नाटकीय रचना विधानका आधारमा यस नाटकको विश्लेषण यस प्रकार गरिन्छ :—

२.१ कथानक
पाटन सहरका मध्यमवर्गीय साहू रूपनारायण श्रेष्ठको एउटा मात्र छोरो मुकुन्द उच्च शिक्षा ग्रहण गर्न कलकत्ता गएको पृष्ठभूमिबाट यस नाटकको कथावस्तु सुरु भएको छ । कलकत्तामा मुकुन्द कुसङ्गत, कुलत र सहरिया रमझममा आकर्षित भई आफ्नो घर, आमाबाबु, पत्नी, राष्ट्र आदि सबै चिज उसले बिर्सेको छ । घर आउन आग्रह गरी बाबुले पत्र पठाउँदा ऊ त्यसको जवाफ फर्काउन समेत छोड्छ । छोराको यस्तो चालाढाला देखे रूपनारायण अति चिन्तित हुन्छन् । उनको यस्तो अवस्था र मुकुन्दकी पत्नी इन्दिराको विरही यौवन देख्न नसकी भवदेव मुकुन्दलाई लिन कलकत्ता जान्छन् । त्यहाँ गएर भवदेव मुकुन्दलाई फर्काउन निकै प्रयास गर्छन् र केही नलागेपछि इन्दिराको सतीत्व परीक्षण गर्ने प्रस्ताव राख्छन् । यस प्रस्तावलाई मुकुन्द मान्न तैयार हुन्छ र उसले इन्दिराको सतीत्व डगाएमा ऊ कलकत्ता फर्कन पाउने तथा नडगाएमा उसले नेपालमैं बस्नु पर्ने बाचा हुन्छ । बाचा स्वीकार गरी मुकुन्द नेपाल आउँछ र धारामा इन्दिरालाई भेटेर आँफू मुकुन्दको घनिष्ठ साथी हो भनेर आफ्नो परिचय दिन्छ । त्यसै बेला मुकुन्दका समाचारहरू बताउने भनेपछि उसलाई भोलिपल्ट बिहान बारीमा भेट्ने भनी इन्दिराले डाक्छे । छद्मवेषी मुकुन्दले इन्दिरालाई बारीमा भेटेर उसको प्रशंसा गर्दै मुकुन्दको दुश्चरित्रबारे चर्चा गर्छ । तर इन्दिरा ऊप्रति वास्ता गर्दिन । त्यसपछि अन्य प्रयासहरू गर्दै ऊ इन्दिरासमक्ष विवाहको प्रस्तावसमेत राख्नपुग्छ, तर यस्तो प्रस्ताव सुन्नासाथ इन्दिरा छद्मवेषी मुकुन्दलाई हप्काइदिन्छे । सबै प्रयास असफल भएपछि ऊ खुकुरी भिरेर राती इन्दिरा सुतेको कोठामा पुग्छ र नाङ्गो खुकुरी देखाएर तर्साउने प्रयास गर्छ । इन्दिरा उसलाई कोठाबाट निस्किन आदेश दिन्छे तर ऊ बाहिर नगई उसैलाई समाउन तम्सन्छ । इन्दिरा मौका पारी उसैले बोकेको खुकुरी चलाउन थाल्छे र उसको टाउको एवं हातमा चोटपटक लाग्छ अनि ऊ ढल्छ । त्यत्ति नै बेला भवदेव आएर त्यो ढल्ने व्यक्ति मुकुन्द नै हो भनेर चिनाउँछन् । त्यसपछि इन्दिरा पनि मूच्र्छा पर्छे । त्यसपछि मुकुन्दका बाबुआमा पनि त्यही कोठामा आइपुग्छन् । सामान्य उपचारपछि दुबै जना ब्युँझन्छन् र ती दुबैलाई कोठामैं छाडी सबै जना बाहिरिन्छन् । यसरी कथानकको अन्त्यमा मुकुन्द र इन्दिराको चीरकालपछि मिलन हुन्छ र उनीहरू अब एकअर्कासँग कहिल्यै नछुट्ने बाचा गरेपछि नाटकको अन्त्य हुन्छ ।

२.२ चरित्र र चरित्रचित्रण
मुकुन्द इन्दिरा धेरै जना पात्रहरू समावेश गरिएको नाटक हो । यस नाटकमा मुकुन्द, इन्दिरा, भवदेव, रूपनारायण, धनमती, बूढा, राजामती, विमान, पुनाचा, रमेशदास, युसुफ, अब्दुल, हुसेन, मिस्टर ज्याक्सन, मास्टर, अखतरी ज्यान आदि प्रशस्त पात्रहरू रहेका छन् । यसमा छात्रवर्ग, हात हेर्ने, नाऊ, रमेशदासको नेपाली नोकर, भरियाभरिनीहरू, ब्राह्मणहरू, डोलेहरू, कुल्लीहरू आदि अन्य सहायक पात्रहरू समेत रहेका देखिन्छन् । यी पात्रहरूमध्ये मुख्यमुख्य पात्रहरूको चरित्रचित्रण यस प्रकार छ —

२.२.१ मुकुन्द
मुकुन्द इन्दिरा नाटकको नायक र प्रमुख पुरुष पात्र मुकुन्द हो । ऊ यहाँ रूपनारायण श्रेष्ठ र धनमती देवीको एक्लो छोरो तथा इन्दिराको पतिका रूपमा प्रस्तुत भएको छ । उसको तेह्र वर्षकै उमेरमा इन्दिरासित विवाह भएको छ र त्यसपछि पढाइका क्रममा ऊ कलकत्ता गएको छ । उसले उच्च शिक्षा लिने क्रममा बी.ए. पास गरिसकेको छ । तर त्यहाँ ऊ रण्डी, रक्सी जस्ता कुलतमा फँसी पाश्चात्य सभ्यताको दुर्गुणमा बरालिएको छ । धर्मकर्म र सामाजिक संस्कारमा उसलाई विश्वास छैन । आफ्नो स्वभावजस्तै संसारका सबैलाई ठान्ने हुनाले नै ऊ आफ्नी पत्नी इन्दिराको सतीत्व परीक्षण गर्न तम्सन्छ । यसरी यस नाटकमा एउटा नकारात्मक पात्रका रूपमा मुकुन्दको चरित्राङ्कन भएको छ । त्यस्तै मुकुन्द मोजमज्जा र भोगविलासमा डुब्न चाहने भौतिकवादी चरित्रका रूपमा यस नाटकमा देखा परेको छ । ऊ दुव्र्यसन र कुमार्गमा लागी जीवन बिताउने इच्छा राख्दछ र आमाबाबुको हेरविचार, स्वास्नीप्रतिको चासो आदिबाट पन्सिई आफ्नो सामाजिक उत्तरदायित्वमा समेत ऊ ध्यान दिंदैन । इन्दिराको परीक्षा लिई आफू विजयी हुन्छु भन्ने विश्वास उसमा छ, त्यसैले यत्तिका दुर्गुणहरू हुँदाहुँदै पनि ऊ स्वाभिमानी भने छ । यसरी नाटकको सुरुमा नकारात्मक र दुष्ट चरित्र बोकेको मुकुन्द इन्दिराको सतीत्व डगाउन नसक्दा अन्त्यमा एक्कासी सुध्रिएको छ । सुरुमा इन्दिराप्रति विश्वास र वास्ता नगर्ने मुकुन्द अन्त्यमा ऊसँग नछुट्टिने बाचा गरी बसेको छ । यसरी यस नाटकमा ऊ गतिशील चरित्र बोकेको पात्र र मध्यमवर्गीय कुलतमा फँसी बिग्रिएका युवाहरूको प्रतिनिधि चरित्रको पात्रका रूपमा प्रस्तुत भएको छ ।

२.२.२ इन्दिरा
मुकुन्द इन्दिरा नाटककी प्रमुख स्त्रीपात्र एवं नायिकाका रूपमा इन्दिराको भूमिका देखापर्दछ । ऊ पाटनका साहू रूपनारायण श्रेष्ठ र धनमतीदेवीकी बुहारी एवं मुकुन्दकी पत्नी हो । ऊ कर्तव्यपरायणा, सुशील र सभ्य स्त्रीको भूमिका निर्वाह गर्दै एउटी आदर्श बुहारी र आदर्श पत्नीका रूपमा यहाँ प्रस्तुत भएकी छ । इन्दिरा पतिलाई परमेश्वर मान्दछे । ऊ मुकुन्दबाहेक अरुलाई पतिका रूपमा देख्न चाहन्न तथा नौ वर्षकै उमेरमा विवाह भएर तरुनी हुन्जेलसम्म लोग्नेबाट तिरस्कृत भएको अवस्थामा समेत लोग्नेको फिक्का तस्वीर हेरेर ऊ चित्त बुझाई बस्दछे । यस नाटकमा उसको सतीत्व डगाउन वेष बदलेर आएको मुकुन्दको आकर्षणमा इन्दिरा फँसेकी छैन र झ्यालबाट उसको कोठामा पसेको छद्मवेषी मुकुन्दको आततायी छविलाई उसले खुकुरी प्रहार गरी उसले घाइते तुल्याउँदै उसले आफ्नो सतीत्वको रक्षा गरेकी छे । त्यसैले इन्दिरा एउटी पतिव्रता आदर्श नारी चरित्र हो । उसमा धर्मकर्मप्रति असीम श्रद्धा, विश्वास र आस्था रहेको छ । ऊ मन्दिर जाने, पूजाआजा गर्ने, बत्ती कात्ने, रामायणका कथा बाच्ने आदि धार्मिक क्रियाकलापमा संलग्न हुन्छे । सासूससुराको उचित स्याहारसम्भार र रेखदेख गर्ने तथा समयोचित मानमनितो गरेर उसले गज्जबले रिझाएकी छे । उसले मध्यरात्री आफ्नो कोठामा परपुरुषको वेषमा आफ्नै पति आउँदा समेत उसलाई हप्काएर बाहिर जान निर्देश गर्दै आफ्नो साहसिकता, बहादुरी र आत्मबलको प्रदर्शन गरेकी छे । त्यसैले यस नाटकको सुरुदेखि अन्त्यसम्म चारित्रिक रूपमा परिवर्तित नभई यहाँ अटल र स्थिर मनोबल भएकी पात्रका रूपमा प्रस्तुत भएकी छ । उसले मध्यमवर्गीय नारीको प्रतिनिधित्व गर्दै यहाँ आफ्नो पतिव्रताधर्मयुक्त, धैर्य, धर्मपरायण, देशभक्तिपूर्ण र आदर्श चरित्रलाई उतार गरेकी छ ।

२.२.३ भवदेव
मुकुन्द इन्दिरा नाटकको सहायक पुरुष पात्रका रूपमा भवदेवको चरित्राङ्कन भएको छ । एउटा आदर्शवादी, विवेकी, परोपकारी, निस्वार्थ र बुद्धिमान् पात्रका रूपमा ऊ लेखकीय मुखपात्र भई यस नाटकमा देखा परेको छ । ऊ यस नाटकको सहयोगी र सत्पात्र हो । उसले रूपनारायणको बिदेसिएको र टाढिएको छोरो खोजेर ल्याइदिएको छ, पतिवियोगमा छटपटिएकी इन्दिरासित लोग्नेको मिलन गराइदिएको छ र त्यसरी नै सतीत्व परीक्षण गरी इन्दिराको चोखोपन जाँच्न खोज्ने मुकुन्दलाई वातावरण मिलाइदिएको छ । नाटकका सबै पात्रहरू भवदेवबाट उपकृत भएका छन् । ऊ यस नाटकमा देशभक्तिको प्रतीकको रूपमा समेत आएको छ । अत्यन्त माया र श्रद्धा प्रकट गर्दै उसले गरिमामय र गौरवशाली यस देशलाई गोरखनाथ, गौतम बुद्ध र राजा जनकको ज्ञानभूमि र विभिन्न जाति र वेषभूषाको सङ्गमस्थलका रूपमा स्वीकारेको छ । नाटकको सुरुदेखि अन्त्यसम्म सहयोगी र देशभक्त चरित्रका रूपमा अङ्कित भवदेव समग्रमा यस रचनामा रूपनारायणको हितैषी मित्र र मुकुन्दको उद्धारक भएर एउटा सत्पात्र, अनुकूल चरित्र र नाटककारको भाव तथा विचार पोख्ने पात्र हुन गई आधुनिकता विरोधी, सङ्कीर्ण र जातीय विभेद स्वीकार्ने कमजोरी हुँदा पनि आदर्श, विचारवान् र महत्त्वाकाङ्क्षायुक्त पात्रका रूपमा स्थापित छ ।
4
बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक
9/15/2014

कृष्णप्रसाद कोइराला
उपप्राध्यापक
पिण्डेश्वर विद्यापीठ


१. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम
नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् १९४४ देखि १९८५ सम्मको प्रथम चरणमा नेपाली समाज नाटक संस्कृतका केही अनूदित र रूपान्तरित स्वरूपमा देखा परेको नेपाली नाट्यविधा वि. सं. १९८६ देखि वि. सं २००७ सम्मको दोस्रो चरणमा सामाजिक, मौलिक, शिल्पगत नवीनता, संवादात्मक संक्षिप्तता, स्वच्छन्दता र पाश्चात्य नाटक सिद्धान्तद्वारा प्रभावित देखिन्छ र वि. सं. २००८ देखि हालसम्मको तेस्रो चरणमा  मनोविश्लेषणात्मक, व्यङ्ग्यात्मक, प्रतिकात्मक, भावात्मक, आञ्चलिक आदि विशेषताहरू दिँदै अघि बढेको पाइन्छ । नेपाली नाट्य साहित्यलाई आधुनिकताको पाइलामा पदार्पण गराउने श्रेय नाट्य सम्राट् बालकृष्ण समलाई जान्छ ।

१.१ समको जीवनीसार
प्रथम आधुनिक मौलिक नाटककार बालकृष्ण सम बहुमुखी प्रतिभाका व्यक्तित्व हुन् । डमर शमशेरका नाति तथा शमरशमशेर अनि माता कीर्ति राज्य लक्ष्मी देवीका माहिला सुपुत्रका रूपमा समको जन्म वि.सं. १९५९ साल माघ २४ गते शुक्रवार दिन काठमाडौँको ज्ञानेश्वरमा भएको हो । बालककाल देखि नै साहित्य सिर्जनामा लगेका समले आइ. एस्सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्, यद्यपि उनले स्वअध्ययनबाट ज्ञान, विज्ञान, संस्कृति, कला जस्ता क्षेत्रबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाएका छन् र उनी राणा परिवारका शमशेर भए पनि २००७ सालपछि जनतालाई दुःख दिने राणाहरूले लेख्ने शमशेरबाट शेर हटाएर सम थर राखेका हुनाले उनलाई सोही नामबाटै बढी चिनिन्छ । उनले चित्रकला, निर्देशन, अभिनय, कविता, निबन्ध तथा जीवनी लेखन जस्ता क्षेत्रमा कलम चलाए पनि उनको सफलताको क्षेत्र भनेको नाट्यक्षेत्र नै हो। पूर्णाङ्की तथा एकाङ्की दुवै क्षेत्रमा उत्तिकै कुशलताका साथ कलम चलाउने समले ऐतिहासिक, पौराणिक, सामाजिक तीनै विषयवस्तुका नाटकहरू लेखेका छन् । उनको एकाङ्की लेखन पनि दुःखान्त, सुखान्त, ऐतिहासिक र प्रयोगशील प्रवृत्तिमा विन्यस्त छन् । समले मुटुको व्यथा (१९८६), अन्धवेग (१९९६), प्रेमपिण्ड (२००९), अमरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२) जस्ता दुःखान्त नाटकहरू लेखेका छन् भने ध्रुव (१९८६), प्रह्लाद (१९९४), मुकुन्द इन्दिरा (१९९४), म (२००२), ऊ मरेकी छैन (२०३५) जस्ता सुखान्त नाटकहरू पनि लेखेका छन् । उनको स्वास्नी मान्छे (२०३३) जस्तो प्रयोगशील नाटक पनि प्रकाशित छ । उनको आगो र पानी खण्डकाव्य तथा चीसो चुल्हो महाकाव्य पनि प्रकाशित छ । उनको बालकृष्ण समका प्रतिनिधि कविता नामक कवितासङ्ग्र्रह पनि प्रकाशित देखिन्छ । हाम्रा राष्ट्रिय विभूतिहरू (२०२४) नामक जीवनी सङ्ग्रह पनि उनले प्रकाशित गराएका छन् । दुई दर्जन भन्दा बढी एकाङ्की सिर्जना गर्ने सम एकाङ्कीका तहमा पनि तीनै खालका (सामाजिक, पौराणिक, ऐतिहासिक) विषयवस्तुहरू अवलम्बन गर्छन् । बौद्धिक तथा शास्त्रीय पारामा नाटक तथा एकाङ्की सिर्जना गर्ने सम रेडियो नेपालका डाइरेक्टर (निर्देशक), पृथ्वी प्रज्ञा पुरस्कारका विजेता तथा एक सफल लेखक तथा स्रष्टा हुन् । नाट्यसम्राट् समले त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधिको सम्मान पाउनुका साथै लामो समयसम्म साहित्य सेवा गर्दागर्दै वि. सं. २०३८ साल श्रावण ६ गते यस संसारबाट विदा हुन पुग्छन् ।

१.२ समको नाट्यप्रवृत्ति
नेपाली साहित्यमा मौलिक र सामाजिक नाटक लेखी आधुनिक प्रवृत्ति भित्र्याउने नाट्यसम्राट् बालकृष्ण सम (१९५९—२०३८) नेपालका पहिला आधुनिक नाटककार हुन् । अङ्ग्रेजी नाटकका शेक्सपियरको नाट्यरचना—शैलीबाट अत्यधिक प्रभावित रहेका समले ह्यानरिक इब्सन र जर्ज बर्नाड शबाट प्रेरित भएर पनि नाट्यरचना गरेका छन् । अङ्क र दृश्यको समुचित विभाजन गरी अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दोबद्ध पद्यात्मक नाटक रच्ने प्रेरणा समले शेक्सपियरबाट ग्रहण गरेका हुन् । यिनी गद्य र पद्य दुबै ढाँचाका भाषाका प्रयोग गरी नाटकको रचना गर्दछन् । त्यस्तै यिनले सुखान्त र दुःखान्त दुबै खाले कथानकलाई नाटकमा प्रस्तुत गरेका छन् । उनका नाटकहरू ऐतिहासिक, पौराणिक र सामाजिक गरी तीनै खाले विषयवस्तुमा आधारित छन् । उनले खासगरी शेक्सपियरको शैलीका स्वच्छन्दतावादी भावधारालाई अपनाएको देखिन्छ । तथापि यिनका नाटकमा ईब्सन र शका जस्ता समस्यामूलक यथार्थवादको प्रयोग पाइन्छ । उनी नाट्यकलाको पूर्वीय साहित्य शास्त्रीय चिन्तनलाई पनि आफ््ना नाट्यरचनामा स्थान दिन्छन् । त्यस्तै उनले नाटकमा गीतको प्रयोग गर्ने परिपाटीलाई स्थान दिएर नेपाली लोकनाट्यकलाको पनि उपयोग गरेको पाइन्छ । उनले प्रायः घटनाप्रधान नाटकहरू सर्जिएका भए तापनि उनका नाटकमा पात्रहरूको चरित्रचित्रण अति प्रभावकारी ढंगमा भएको पाइन्छ । उनका नाटकहरूले समाजसुधारको उच्च आकाङ्क्षालाई प्रकट गरेका हुन्छन् । नेपाली समाजमा रहेका अन्धविश्वास, बालविवाह, अनमेल विवाह, बहुविवाह जस्ता कुप्रथा र वेश्यावृत्ति, जुवा, मदिरापान जस्ता दुराचरण आदिका दुष्परिणाम दर्साएर उनले समाजलाई सुधारको मार्गमा चल्न प्रेरित गरेका छन् । उनले आफ्ना नाट्यरचनाका माध्यमबाट राष्ट्रप्रेम, जातीप्रेम, मित्रप्रेम, पितृभक्ति, पतिभक्ति, संस्कृतिको रक्षा, मानवतावाद, भाइचारा आदि उच्च आदर्शवादी चिन्तन र विचारहरू प्रकट गरेका छन् । उनका नाटकहरू बौद्धिकताले भरिपूर्ण हुन्छन् । यिनको भाषाप्रयोगमा तत्समता, शब्दाडम्बर, अनेकार्थकता र घुमाउरोपना पाइन्छन् । उनको नाटकमा लामालामा संवाद र उच्च बौद्धिक दार्शनिक आग्रह पोखिएका हुन्छन् । उनले प्रशस्त नाटक लेखी नेपाली नाट्यसाहित्यको श्रीबृद्धि गरेको हुँदा यिनलाई नाट्यसम्राट् भन्नु उचित देखिन्छ ।

१.२.१ नाट्यप्रवृत्तिका वैशिष्ट्यहरू
 -       नेपाली नाटकलाई आधुनिकतामा पुर्याउने आधुनिक नाटककार,
 -       गद्य तथा पद्य दुवै शैलीमा नाटक लेख्ने नाटककार,
 -       सुखान्त दुःखान्त दुवैखालका नाटक लेख्ने नाटककार,
 -      ऐतिहासिक पौराणिक तथा सामाजिक तीनै प्रकारका नाटक लेख्ने नाटककार,
 -       परिष्कारवादी शैली शिल्पको नाटक लेख्ने नाटककार,
 -       दार्शनिक बौद्धिक नाटककार,
 -       पूर्वीय पाश्चात्य दुवै ढाँचामा नाटक लेख्ने नाटककार आदि
5
Celebrity profile / Re: Laxmi Prasad Devkota (voice and poems)
« Last post by tundikhel on Today at 12:22:43 AM »
मुनामदन खण्डकाव्य
9/15/2014

उपप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर क्याम्पस, धरान

विषयप्रवेश र कथानक
प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, दिदी, साथीहरु, गुन्डा, लावा, फुचो र वैद्य आदि पात्रहरु रहेको यस खण्डकाव्यको प्रारम्भ धन कमाउन ल्हासा जान लागेको मदन र उसकी  बैंसालु पत्नी मुनाका बीचमा भएको संवादबाट र प्रशस्त धन कमाएर भोटबाट फर्किएको मदनले मुना र आमाको मृत्यु सहन नसकी आफु पनि मरेको दृश्यका माध्यमबाट यसको कारुणिक अन्त्य भएको छ । खण्डकाव्यको कथानकअनुसार व्यापार गरी पैसा कमाउने उद्देश्य लिई घरमा तरुनी स्वास्नी र बुढी आमालाई छाडेर मदन ल्हासा जान्छ । उसको धनार्जन गर्ने उद्देश्य बुढी भएकी आमाले बुढेसकालमा सुख प्राप्त गरुन्, मिठोमसिनो जुटोस्, इच्छाएका धार्मिक र सामाजिक/सांस्कृतिक कृत्य पूरा गर्न पाऊन्, ऋणमुक्त भइयोस् अनि सुखसम्मृद्धिपूर्वक जीवनयापन होस् भन्ने देखिन्छ । भीरपाखा र अनेक विकटतायुक्त हिमाली र उच्च पैठारी बाटो पार गरी मदन घरबाट हिंडेको एक महिनापछि ल्हासा पुग्छ । तोकिएको समयभित्र मदन घर फर्कन सक्दैन । मुना चिन्ता गर्छे । बैंसले धपक्क बलेकी एक्ली मुनाको रुपरङ्गमा लठ्ठिएका गुन्डाहरु उसको घरवरिपरि धाउन थाल्छन् । नैनी उसलाई पोइल जाने परामर्श दिन्छे । तर ऊ आफ्नो सतीत्वमा अडिग हुन्छे । उता ल्हासा गएको मदनले त्यहाँ चिताएभन्दा बढी नै धन कमाउँछ । ऊ घर फर्कन्छ तर बाटामा उसलाई हैजा लाग्छ । साथीहरुले विकट र घनघोर जंगलमा उसलाई त्यत्तिकै छाडेर जान्छन् । ऊ मरणासन्न अवस्थामा पुग्छ । मृतप्रायः मदनलाई एउटा भोटेले भेट्छ । उसले घरमा लगी औषधोपचार र सेवासुश्रुषा गरी मदनको व्यथा निको पार्छ । मदन तंग्रिएपछि भोटेसँग घर जाने उद्देश्यले विदा माग्छ । त्यस क्रममा उसले आँफूसित भएको   दुई पोका सुनमध्ये एक पोका सुन भोटेलाई दिन खोज्छ, तर भोटे उपकारको सट्टामा केही पनि लिन मान्दैन । यता घरमा बसेकी मुनालाई गुन्डाहरुले मदन मरेको खबर लेखेर किर्ते चिठी पठाउँछन् । त्यसपछि शोकाकुल हुन पुगेकी मुनाको मृत्यु हुन्छ । घर आइपुग्दा मदनले मुना मरिसकेकी र आमा मृत्युशैयामा ढलेको थाहा पाउँछ । आमासमेत मरेपछि ऊ पनि मानसिक रोगले मर्दछ र कथा टुङ्गिन्छ ।
पात्रविन्यास
मुनामदन खण्डकाव्यमा मुख्यपात्र तीनजना छन् – मदन, मुना र भोटे । ती पात्रहरुको चारित्रिक वैशिष्ट्यलाई यसरी केलाउन सकिन्छ :–
मदन :– यस खण्डकाव्यमा उपस्थित पात्रहरुमध्ये मदन प्रमुख पुरुष पात्र हो । ऊ यस खण्डकाव्यको नायक पनि हो । उमेरका दृष्टिले युवा र जातका दृष्टिले क्षेत्री पात्र हो, मदन । ऊ काठमाडौँ शहरको निम्नवर्गीय व्यापारी वर्गको प्रतिनिधि पात्र पनि हो । मदन धनलाई महत्व दिने, धनबाट सुख खोज्ने भौतिकवादी युवा चरित्रको प्रतिनिधि हो । ऊ सत्पात्र हो । उसका चरित्रमा केही स्थिर र केही मात्रामा गतिशीलता पाइन्छ । सुरु र मध्यमा जुन धनप्रतिको दृष्टिकोण छ, त्यो अन्त्यमा पुग्दा मात्र परिवर्तन भएको छ । यो खण्डकाव्यको बद्ध पात्र पनि हो । उसको अनुपस्थितिमा काव्यको कथानक गतिशील हुन सक्दैन र खण्डकाव्य अधुरो हुन्छ । मदनका चरित्रमा प्रायजसो बहिर्मुखीपन छ । खण्डकाव्यको अन्त्यमा धनवादी जीवनदृष्टि भएका पात्रको दुखद अन्त्य भएको छ । तसर्थ यस खण्डकाव्यको सिङ्गो प्रभाव नै मार्मिक बन्न पुगेको छ ।
मुना :– खण्डकाव्यकी प्रमुख नायिक वा नारी पात्र मुना हो । ऊ उमेरका हिसावले युवती, जातका दृष्टिले क्षेत्री र बाबुआमा नभएकी टुहुरी पात्रका रुपमा काव्यमा देखा परेकी छ । मुना धनलाई महत्वहीन र तुच्छ ठान्छे । जीवनको सङ्लो यथार्थलाई स्वीकार्ने, सादा जीवन बाँच्न चाहने, उच्च विचार राख्ने, सरल र स्वच्छ हृदय भएकी प्रतिनिधि नारी पात्रका रुपमा मुना यस काव्यमा उपस्थित भएकी छे । धनको जटिलताले उसलाई घेर्न सकेको छैन । युगको जटिलतालाई उसले राम्ररी बुझेकीले मनुष्यलाई पासोमा पार्ने धनवादी दृष्टिकोणको विपक्षमा छे । आध्यात्मिक र आत्मिक आनन्दलाई सर्वोपरी मान्ने आदर्श गृहिणी, असल बुहारी, आत्मिक प्रेमलाई उच्च मूल्य र महत्व प्रदान गर्ने सती सावित्रीको प्रतिरुप हो – मुना । विचारमा एकरुपता भएकी स्थिर पात्र हो ऊ । नैतिक चरित्रका दृष्टिले सत्पात्र हो भने कार्यका आधारमा बद्ध पात्र हो ।
भोटे :– भोटे यस खण्डकाव्यको सहायक पुरुष पात्र हो । यो मानवतावादी पात्र कविको मुख मात्र बनेर आएको छ । जङ्गलमा अलपत्र परेको मदनलाई स्वस्थ बनाउने आदर्शवादी, उदार र मानवतावादी जीवनदर्शन भएको यो पात्र वर्गगत नभई व्यक्तिगत पात्र हो । भौतिकवादी जटिलताले बेरिएको स्थिर सत्पात्र हो भोटे । पारिवारिक वियोग रुपी छोराछोरीका साथ बस्दा पीडा र वेदनाका उच्छवास उसका जीवनमा देखिए पनि धन–सम्पत्तिको लोभ–लालच नराखी माया, स्नेह बाँड्ने परोपकारी अन्तर्मुखी चेप्टो पात्र पनि हो ।
परिवेशचित्रण
          यस खण्डकाव्यको विषयवस्तुको स्थलगत परिवेश कान्तिपुर शहर, भोटको यात्रामा पाइने हिमाली भेगहरु, ल्हासा शहर, जङ्गलको भोटे बस्ती, हिमाली भेटहरु, ल्हासाबाट फर्कदाखेरि बाटामा पर्ने कुती प्रदेश आदि छन् । यिनै ठाउँका समाजको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक र प्राकृतिक झल्को यस खण्डकाव्यले दिएको छ । विशेष गरेर काव्यकारले कान्तिपुर र ल्हासा शहरको प्राकृतिक सौँन्दर्यको चित्रणमा कलात्मकता प्रदान गरेका छन् । एकातर्फ जाल, झेल, छल, कपट, लोभ र लालचले र भौतकवादी दृष्टिकोणले आक्रान्त पारेको शहरी समाजलाई चरित्रहीन र मानवमूल्यको वास्ता नगर्ने गुन्डा, नैनी, धोकेबाज साथीहरु मार्फत प्रस्तुत गरिएको छ भने अर्कोतर्फ धनको लोभ नगर्ने, भौतिकवादी सभ्यताबाट टाढा रहेको स्वच्छ, स्वस्थ, मानवतावादी विचारको बाहुल्य भएको भोटेको समाजलाई प्रस्तुत गरिएको छ । जीवनलाई सम्पन्न बनाउने वातावरण एकातर्फ छ भने अर्कोतर्फ साग र सिस्नु खाएर शान्तिमय जीवन विताउने उच्च महिमायुक्त विचार पनि यहीँ छ । समग्रतामा यस काव्यमा नेपालको परम्परित सामन्ती युगको वातावरणको चित्रण छ । व्यापार–व्यवसाय गरेर आफ्नो आर्थिक अवस्था सुधार्ने निम्न–मध्यवर्गीय सामाजिक आर्थिक परिवेशको चित्रण पनि यहाँ छ । आत्मीयता, मानवमूल्य, आदर्शवादी भावना भएको पुरानो समाज र भौतिकवादी सभ्यताको नयाँ समाजबीचको सङ्क्रमणकालीन परिवेश पनि यहाँ देखिन्छ । त्यस्तै सामाजिक , आर्थिक, शैक्षिक, साँस्कृतिक परिवेश पनि त्यत्तिकै सशक्त रुपमा यसमा प्रस्तुत गरिएको छ । राष्ट्रियता, देशभक्ति, धर्म, सँस्कृति, घोडेजात्रा, हिन्दुहरुको धार्मिक, साँस्कृतिक पक्षहरुको उल्लेखले यसको साँस्कृतिक परिवेश पनि सशक्त बन्न गएको देखिन्छ ।
कथनपद्धति र लयविधान
          मुनामदन खण्डकाव्यको आख्यानको कथन पद्धतिमा विहङ्गावलोकन (चित्रण–वर्णन) तथा सूक्ष्मावलोकन (नाटकीकरण) का दुवै कथन पद्धतिको प्रयोग भएको छ । मुनामदनलगायत यहाँका अन्य पात्रलेप्रयोग गरेका सम्बन्धित आाख्यानलाई कवितात्मक किसिमबाट प्रयोग गरिएको छ। यी पात्रहरुका विभिन्न सम्वादन यस काव्यमा रहेको पाइन्छ । प्रत्यक्ष कथनबाट बोल्ने नाटकीय संवादका ढाँचाको प्रयोग, मनमा खेलाइएको मनोवादात्मक अभिव्यक्तिको प्रयोग आदि पनि यहाँ देखिन्छ ।
          मुनामदन खण्डकाव्यको स्वच्छन्दतावादी लयढाँचामा रहेको छ । भाव पूरा नहुँदै विश्राम नलिने जुन पङ्क्तिप्रवाह हो त्यो नेपाली झ्याउरे लयमा प्रयोग भएको छ । सोह्र उच्चार्य अक्षरको नेपाली झ्याउरे लोकलयको प्रयोग भए पनि लेख्य रुप भने स्तरीय नेपाली भाषाका शब्द भाखा हालेर पढ्दा लय मिलाउनु पर्ने देखिन्छ । उनको त्यस्ता शब्दको प्रयोग कतै लेख्य र उच्चार्य एउटै र कतै फरक भएको पाइन्छ । उच्चार्य र लेख्यमा पनि लिखित शब्द केही लैख्य अनुरुप र केही उच्चार्य अनुरुपका देखिन्छन् । जस्तो– ‘मनको वनमा ननिभ्ने गरी’ यहाँ ‘मनको वन’ मा तीन पूर्ण अक्षरको लेख्य रुपमा प्रयोग भएको र उच्चार्यमा दुईवटा रहेको छन् । देवकोटाले लेख्य ‘बन’ नगराई उच्चार्य ‘वन’ गराईदिए । उच्चार्यमा १६ र गन्ती गर्दा १६ भन्दा बढी पुग्ने झ्याउरे लोकलयलाई यस खण्डकाव्यले ओढेको पाइन्छ ।
यस खण्डकाव्यमा स्थूल रुपमा (५+५+६) अक्षरमा लयगत विश्राम लिइन्छ ।
जस्तै : ‘हातका मैला सुनका थैला, के गर्नु धनले
          साग र सिस्नु खाएको बेस आनन्दी मनले’
यसभित्र पनि स–साना लयगत विश्राम लिइन्छ । यसमा (सूक्ष्म–रुपमा र यथार्थमा) (३+२, ३+२, ३+३=१६) अक्षरको मूलतः तीन विश्राम र स–साना उपविश्रामभित्र अन्तर अनुप्रास/अन्त्यनुप्रासले काव्यमा सङ्गीत थपेको छ ।
          छन्दविधानका दृष्टिले देवकोटालाई हेर्ने हो भने उनमा विविधता पाइन्छ । मुनामदन खण्डकाव्य मूलतः झ्याउरे लोकछन्द र भोटेसेलोमै केन्द्रित  छ ।

भाषाशैली, बिम्ब/प्रतीक र अलङ्कार विधान
          भाषाको सरलता, शैलीको संरसता, भावको छताछुल्लता नै यस खण्डकाव्यको मुख्य विशेषता बन्न पुगेका छन् । यसमा शब्दलङ्कारको प्रयोग विभिन्न स्वर, व्यञ्जन वर्णहरुको आनुक्रमिक वितरणबाट प्राप्त हुने अनुप्रासयुक्त भाषिक सौँन्दर्यले भाषाशैली सुसज्जित देखिन्छ । अन्त्यानुप्रास, वृत्यानुप्रास, श्रुत्यानुप्रास आदिले यसलाई आकर्षक तुल्याएको छ । नेपाली जनजीवनमा घोलिएको छोटा सरल असमस्त शब्दहरुको प्रयोगले मानवहृदयमा साहित्यिक रस सर्सराउँछ । भाषाशैलीमा प्रयोग गरिएको प्रसाद एवम् माधुर्य गुण–वैधवी एवम् पाञ्चाली रीतिले भाषाशैली महिमोज्वल, चित्ताकर्षक, मनोरम र प्रभावकारी बन्न पुगेको छ ।
          मुनामदन खण्डकाव्यमा प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, पौराणिक आदि क्षेत्रबाट विभिन्न किसिमका लघुबिम्बहरुको भावसँगै सहज रुपमा प्रयोग भएको छ । यो प्रयोग कृत्रिम नभई सहज छ । यस खण्डकाव्यका केही महत्वपूर्ण बिम्बहरु निम्न अनुसार छन् :–
(१) फूल : प्रकृतिका क्षेत्रबाट टिपिएका फूल बिम्बको प्रयोग नायिकाको शारीरिक सौँन्दर्य, सुकोमलता व्यक्त गर्न प्रयोग गरिएको देखिन्छ । त्यस्तै काँडैकाँडाको बीच फूल भेटिए जस्तै जीवन पनि विभिन्न काँडाबीच देखापर्छ । यस भावलाई अभिव्यक्ति दिन फूल बिम्बको प्रयोग गरेका छन् ।
(२) मावल : कविले अर्को एक ठाउँमा ‘मावल’ बिम्बको प्रयोग गरेका छन् । यसको अर्थ आमाको माइतीघर भए पनि यहाँ स्वर्ग, परलोक वा मृत्युपछि पुग्ने ठाउँलाई व्यक्त्याइएको छ ।
(३) डाँडाकी जून : कविले बूढी आमाका निम्ति ‘डाँडाकी जून’ भन्ने शब्दको प्रयोग गरेका छन् । त्यस्तै कविले नायिकाकालाई संकेत गर्न कोइली, जून, बत्ती, गुलाफ, चन्द्रमा, कमलजस्ता महत्वपूर्ण बिम्बहरुको प्रयोग गरेका छन् । तन्द्रा, सपना, अपशकुन, अन्धविश्वास आदि कविले बिम्बविधानलाई प्रकृतिसँग एकाकार गरी मानव र प्रकृतिबीच तादात्मकता, मानवको प्रकृतिकरण, प्रकृतिको मानवीकरण गरेर सौँन्दर्यको पूर्णतम अभिव्यक्ति गरेका छन् । देवकोटाले यस खण्डकाव्यमा शब्दालङ्कार र अर्थालङ्कार दुवैको प्रयोग गरेका छन् । उनले उपमा र उत्प्रेक्षा, रुपक, अतिशयोक्ति, अर्थान्तरन्यास, व्यतिरेक, दृष्टान्त, शङ्कर, समासोक्ति, संसृष्टि जस्ता अलङ्कारको प्रयोग गरेका छन् । जस्तै :
उपमा                   : अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
                     बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी ।
व्यतिरेक               : सौँन्दर्य राम्रो जूनको जस्तो किरण पवित्र,
                    जूनमा हुन्छ कलङ्क हुन्न सतीको मनभित्र ।
उत्प्रेक्षा               : आगोको ज्वाला काताको होला ? डढेलो उठ्यो कि,
                    मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ।
रुपक           : हातका मैला सुनका थैला के गर्नु धनले
                    साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
अर्थान्तरन्यास      : क्षेत्रीको छोरो यो पाउ हुन्छ घिनले छुँदैन,
                    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
अतिशयोक्ति         : सिर्जनभित्र रचना राम्रा नजरका जुहार,
                    ईश्वरको हाँसो पाएका फूल छोएर नमार ।
संसृष्टि                   : शहरभित्र केको हो यस्तो वियोग विलाप ?
                    पिल्पिले बत्ती, भिजेको आँखा अलाप–विलाप ।
सङ्कर                : पुषकी फूल झैँ सुकेर गइन् आँशु नै बर्सन्थ्यो,
                    लाम्चिला आँखा पुछेर गर्थिन सासूको सुसार ।

केन्द्रीय कथ्य, भाव र विचार
‘हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले’
यो पङ्क्ति नै मुनामदन खण्डकाव्यको मुख्य वा केन्द्रीय कथन हो । धन भनेको तुच्छ वस्तु हो । परिश्रमबाट जे–जस्तो चिज प्राप्त हुन्छ, त्यसैबाट आनन्दपूर्वक जीवन बिताउनु सर्वोत्तम हो । जसरी धनको पछि लाग्दा मदनको जीवन उजाड वञ्जरभूमि भयो, सिङ्गो जीवन कारुणिक भयो, आफ्नी आमा, प्राणप्यारी मुना, स्वयम् आफूले पनि अत्यत्न्त मर्माहत, आकूल, व्याकुल हुनुपर्यो । यो सम्पूर्ण कुराको कारकतत्व भनेको मदनभित्र समुत्पन्न धनको एषणा नै हो । त्यसैले धनको पछि लाग्दा दुःखद परिणाम भोग्नुपर्ने हुन्छ र सुन्दर जीवन दुःखमय हुन्छ भन्ने केन्द्रीय कथ्य यस काव्यले प्रस्तुत गरेको छ । प्रेम–मिलन, प्रेम–विरह, उत्साह–भयानक, करुण–हास्य, वीभत्स–अद्भुत, रौद्र–वात्सल्य, षडयन्त्र आदि जस्ता अनेक भाव यसमा आएका छन् । यसका मुख्य भावहरु चाहिँ प्रेम, विरह र करुण भाव नै हुन् । यिनैको प्रभावकारी अभिव्यक्तिका लागि अरु भावहरु आएका छन् । भावुक कवि देवकोटाले भावको बृहद् उच्छलन गरी मुनामदन खण्डकाव्यमा आफ्नो अन्तरहृदय छताछुल्ल पारेर पोखेका छन् ।
          यस काव्यमा भावको विविधता हुँदाहुँदै पनि करुण भावलाई देवकोटाले परिपक्व अवस्थासम्म पुर्याएका छन् ।
दैवले हान्यो शिरमा मेरो निष्ठुरी घनले,
के गरी सहुँ ? के गरी रहुँ ? जिउँदो मनले ।
मुनामदन खण्डकाव्यमा सामाजिक, आत्मिक संचेतनाको हरियाली पाइन्छ । त्यस्तै यहाँ वैचारिक परिपक्वताभन्दा सौन्दर्य चेतनाको भावात्मक सात्विकता, सिर्जनात्मक कलाकारिता र आत्मिक प्रेमको पराकाष्ठा पाइन्छ । भावात्मक, रुपात्मक र आत्मिक सौँन्दर्यका उपासक प्रकृतिवादी कवि देवकोटा यस काव्यमा विचारको रुपमा विभिन्न खालका विचारहरुको अभिव्यक्ति गर्दछन् ।
एकातिर प्रकृतिमा ईश्वर छ र आत्मिक कुरा रहस्यमय हुन्छ भन्ने विचारको अभिव्यक्ति गर्दै त्यस रहस्यमयताको स्वच्छन्द व्याख्यान यस काव्यमा व्यक्त भएको छ भने त्यसबाहेक यस काव्यमा विशेष गरी मानवतावादमा स्वतन्त्रता, समानता र भातृत्वको भावनाको उद्बोधन भएको छ । यस खण्डकाव्यमा स्वच्छन्दतावादी प्रणय चेतना उज्वल भएर देखा परेको छ । यहाँ शारीरिक प्रेम तुच्छ हो भने आत्मिक प्रेम उच्चहो भन्ने दृष्टिकोण पाइन्छ । देहको नश्वरता र आत्माको अमरता वा आत्मीयतासम्बन्धी वेदान्ती विचार पनि यहाँ व्यक्त भएको छ । नेपाली समाजको संक्रमणकालीन जीवनपद्धतिलाई यसले जीवन्त प्रतिबिम्बन गरेको छ ।
नेपाली खण्डकाव्यको परम्परामा सङ्ख्यात्मक र गुणात्मक आधिक्य र सौँन्दर्यको विराटप्रवाहका आधारमा देवकोटाको स्थान सर्वोकृष्ट छ । झिना मसिना कमीकमजोरी भए पनि उनको मुनामदन नेपाली खण्डकाव्यपरम्परामै कण–कणको सुन्दरताका दृष्टिले उत्कृष्ट बनेको छ ।

सन्दर्भग्रन्थसूची
१) उपाध्याय, केशवप्रसाद, ‘साहित्य प्रकाश’ पाँचौ सं., काठमाडौँ, साझा प्रकाशन, २०४९ ।
२) जोशी, कुमारबहादुर, ‘देवकोटाका प्रमुख कविता कृतिहरुको कालक्रमिक विवेचना, काठमाडौँ, सिद्धार्थ वनस्थली प्राज्ञिक परिषद्, २०४८ ।
३) जोशी, रत्नध्वज, ‘मुनामदनर देवकोटा, बिहान, १:२ (२०२० साउन–असोज) ।
४) देवकोटा, लक्ष्मीप्रसाद, ‘मुनामदन’ चौँथो स. काठमाडौँ, साझा प्रकाशन २०५४ ।
५) बराल, ईश्वर (सम्पा) ‘सयपत्री’ ते.सं., काठमाडौँ, साझा प्रकाशन २०३० ।

६) त्रिपाठी, वासुदेव, ‘सिंहावलोकन’, काठमाडौँ, साझा प्रकाशन, २०२७ ।
Pages: [1] 2 3 ... 10