Recent Posts

Pages: 1 2 [3] 4 5 ... 10
25
Celebrity profile / Re: Poojana Pradhan - Nepali actress / model
« Last post by tundikhel on February 18, 2018, 12:27:22 AM »
budhi bhaye pani ...
26
miss pokhara is hot, she must be r e  a   l    l     y hot

who is the winner ?
27
Tiger be like my ex- Valentina ::) ;)

like - "Nah! ... not intersted!"
30
Fun Stuffs / Literature / Re: रमेश विकल (Ramesh Bikal) - 1928-2008
« Last post by tundikhel on February 17, 2018, 08:04:12 PM »
कथा - लाहुरी भैंसी


'लुखुर्‍या' घराँ त निकै रमझम देखिन्छ नि ? 'आँगनाँ' पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?'- उनी आफैं हडबडाए, मानौं त्यहाँ वरिपरि अर्को कुनै मानिस हर्दम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ । बोलिसकेपछि उनी आफैं झस्केर चारैतिर हेरे- नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन, केवल आफू ठिंगो । उनी आफैं लज्जित भए, अनि अलि खिस्सिएको स्वरमा तल्लो पाटो खन्न लागेको रामवीरे घर्तीलाई हकारे- 'रामे, ए रामे ! लुखुरेको आँगनाँ केको रुमलो हो हेर् हेर् ! एउटा कालो-कालो डिंगोजस्तो पनि देखिन्छ नि ?' 'हँ, बा ? होइन बा, अस्ति कता हुँदो तल लुखुरे भैंसी लिन जान्छु भन्थ्यो नि, ल्यायो पो कि त !'- रामवीरे बडबडाउँदै द्वारेबाका आँगनतिर उक्ल्यो, द्वारेबाका गोडामा पुर्पुरो टेकायो, अनि निधारमा हातको छहारी पारेर लुखुरेको आँगनतिर नियालेर हेर्‍यो, 'ए, हो त नि, ऊः क्या त त्यो भैंसी नै त हो, ल्याएछ ए बजियाले !'

'लुखे बजियाले भैंसी ल्याएछ ?'- द्वारेबाले घोर आश्चर्यको स्वरमा भने, मानौं लुखुरेले भैंसी ल्याएको कुरा उनी सपनामा पनि पत्याउन सक्दैनन् । साँच्चै नै उसले भैंसी ल्याएको हो भने योजतिको घोर आश्चर्य र घोर अपराध अरु केही हुन सक्दैन ! आफूले एउटा भन्याजस्तो लाहुरी जम्का गर्दागर्दै छेपारोको उखान भैरहेछ, लुखुरे नाथुले भैंसी ल्याउने ! यो कसरी हुन सक्छ ? उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पडझैं लाग्यो । उनले मनमा असजिलोपनको अनुभव गरे- भित्र अलि चस्केझैं, भित्र मुटुमा कसैले फोनबाजाको सियोले च्वास्स घोचिदिएझैं उनलाई लाग्यो ।

'कस्तो भैंसी ल्याएछ हँ, लुखे बजियाले ?' ... 'खोइ, बा, गोडा चारेक सयसम्मको हेरेर ल्याउनुपर्ला भन्थ्यो लुखे'- रामेले सपनामा डुबेझैं एक तमासको स्वरमा भन्यो । उसका आँखा एक टिठ लागेर लुखुरेको आँगनतिर हेरिरहेका थिए । सायद, ऊ पनि आफ्नो यस्तै भैंसी बाँधिएको, अनि रूपले भएको सपनामा चहार्न पुगेको थियो । द्वारेबाको मुटुमा ज्यादै उत्सुकताको काउकुतीले कुत्कुत्यायो ! कस्तो भैंसी ल्याएछ त ए, लुखे बजियाले ! उनका गोडा भयानक आकर्षण शक्तिले खिचेझैं लुखुरेको घरतिर जोडिए । 'हिँड्, हेरिहालौं । कस्तो भैंसी ल्याएछ त्यस बजियाले ।'

लुखुरेको आँगनमा मानिसहरू जम्मा भएका थिए । उसको चारवर्षे छोरो पोडे लाहुरी भैंसीका चारैतिर थपडी बजाउँदै घुम्दै थिए । बाबुले आकुरी भन्ज्याङमा भैंसी ल्याइपुर्‍याएदेखि नै उसको भैंमा खुट्टै थिएन । बाबु आँगनमा आइपुग्दानपुग्दै उसले बाबुले भैंसी ल्याएको कुरा आफ्ना सबै दौंतरीहरूलाई भनेर आफ्नो आँगनमा जम्मा पारिसकेको थियो । बाबुले आँगनमा पाइला राख्नासाथ ऊ खुसीको आवेगले उपि|mँदै गएर बाबुको दौराको फेर समातेर झुन्डिन पुगिसकेको थियो । 'बा, हाम्रो भैंसी त हो नि ।... भने त यति ढुंग्रोभरि दूध दिन्छ बाबै ।... अनि मोही पार्ने । अनि धेरै घ्यू सहराँ लगेर बेचेर हाम्लाई राम्मो दौरा किन्ने ! किन्ने हगि बा ? ... हगि भन्या...'

'लौलौ, अब सहरमा जाँदा राम्रो दौरा किनिदिने'- लुखुरेका ओठमा अहिले मधुर हाँसो खेलिरहेको थियो । उसको मन आज प्रफुल्ल थियो । छोराको लिँडेढिपीले आज उसको मनमा कटुता पैदा गरेन, अनि वेदनाले उसको मुटु चिरेन, किनभने कटुता र आत्मप्रवञ्चमा पैदा गर्ने निराशा उसको खतम भैसकेको थियो । आज उसको आँगनमा लाहुरी भैंसी सारसौदै-बाँधिएको थियो । त्यो लाहुरी उसको सानु छोरोको धेरै कालदेखिको लिँडेढिपी र नमर्ने सपनालाई पूर्ति गर्न कल्पवृक्ष भएर उसको दैलोमा बाँधिएको थियो । उसले लाहुरीतिर अत्यन्त स्नेह र ममताको आँखाले हेर्‍यो । सन्ध्याको शतल हावाको स्पर्श उसलाई त्यति बेला भाग्यको मृदु हातले स्पर्शझैं लाग्यो, आमाको स्नेहको सुमसुम्याइझैं लाग्यो । ऊ विस्तारै लाहुरीतिर गयो- गजबको लाहुरी भैंसी ! बडो बारमाने बाटाजत्रो कल्चौंडो । झिंगा पनि चिप्लेलाजस्तो चिल्लो-कालो जीउ, छोटाछोटा, मोटामोटा सिङ- उसका अंगप्रत्यंग सबै रोमाञ्चित भएर आए । ऊ लाहुरीको जीउमा अति ममताले मुसार्न थाल्यो ।

लुखुरे मात्र होइन, आज उसकी स्वास्नी घैंटी पनि उमंगमा डुबेकी थिई । उसले आज अघिपछिको जस्तो झर्कोफर्को केही नगरी लोग्नेको प्रत्येक आज्ञा मानेकी थिई । अघिपछि लुखुरेले लोहोटामा पानी माग्दा दसथरी जवाफ दिने उसको आज बोल्नै नपरी पानी टक्र्याई । अनि, लोग्नेले अराउनै नपर्ने गरी पुरानो मकैको पीठाको खोले पकाएर लाहुरीलाई खान दिई । दुई डोका खाँदीखाँदी घाँसको भारी ल्याएर पिँडीमा थुपारेकी थिई- योचाहिँ भरेलाई भनेर । अनि, आज ऊ बडो उत्साहले भित्र र बाहिर फर्‍याक र फुरुक्क गरिरहेकी छ । लुखुरेले हेर्‍यो, ऊ मनमनै फुल्यो । यो सबै लाहुरीको प्रताप थियो । नत्र घैंटीको हँसिलो अनुहार हेर्न, उसको मीठो बोली सुन्न लुखुरेको आँखा चैबीसै घन्टा छटपटाउँथे, कान चौबीसै घन्टा तिर्खालु हुन्थे । एक वचनको दस वचन जवाफ दिने, राम्रो कुरालाई पनि नराम्रो र अपि्रय रूपमा लिने, कहाँको अघिपछिको घैंटी ! कलह र दुष्टताकी मूर्ति, अनि कहाँ हँसिलीखुसिली आजकी घैंटी- ममता र सेवाकी मूर्ति ! मुग्ध भएर स्वास्नीको फर्‍याकफुरुक हेरिरहेको लुखुरे अति प्रशन्न भएर हाँस्यो । अनि, चारैतिर हेर्‍यो- आज सम्पूर्ण प्रकृति नै हाँसेजस्तो उसलाई लाग्यो । पश्चिमपट्ट िडाँडामाथिसम्म फैलिएको सिन्दुरे लाली अनि घरको वरिपरि फैलिएको वन-जंगल, पाखा, पहरा अनि रुखपात सबैले आज उसको खुसीमा खुसी मिसाएर हाँसेझैं उसलाई लाग्यो । उसले अहिले साँच्चै पाँच-पाँच कोस बाटो हिँडेर आएको थकाइ सबै बिर्सियो । ऊ बीसवर्षे जोसमा आफ्नै हातले लाहुरीको चाकरी गर्न थाल्यो । आफ्नै हातले फेरि खोले तताएर खान दियो, जीउमा कटकटिएका सुकेका गोबरका पाप्रा आफ्नै हातले धोई-पखाली गर्‍यो । पाडालाई आफ्नै हातले तेल खान दियो । यो सबै सकेपछि ऊ मग्न भएर लाहुरीको जीउमा मुसार्न लाग्यो- त्यसैत्यसै, यसैको जीउमा टाँस्सिउँलाझैं, लीन हुँलाझैं !

त्यसैबेला उसको आँगनमा द्वारेबाले पदार्पण गरे । उनको साथमा रामवीरे थियो, अनि घमाने र खलाल पनि थिए । द्वारेबाले आफ्ना चीलका जस्ता आँखा त्यो देख्दै रहरलाग्दो लाहुरीमा गाडे- चीलले सिनुमा गाडेझैं तीखा, घोच्ने आँखा । अनि, अरुले पनि विभिन्न भाव र सपना आँखामा भनेर त्यै लाहुरीमाथि मानसिक हमला गरे । 'कति हालिस्, ए लुखे ?' मग्न भएर लाहुरीलाई सुमसुम्याइरहेको लुखुरे द्वारेबाको गुलियो स्वरले झस्क्यो, 'हँ बा ?'' उसले हडबडाएर हेर्‍यो, द्वारेबा आँगनमा । ऊ हडबडाएर उठ्यो, हत्त र पत्त द्वारेबाको गोडामा ढोगिदियो, अनि लेग्रो तानेर भन्यो, 'अँ... काँ बा, पर्‍यो नाइँ गोडा सत्रेक बीस ! कि कसो बा ?'- उसले अलि जिज्ञासुक आँखाले द्वारेको मुखमा हेर्‍यो ।

लुखुरेको स्वरमा बजेको अपूर्व आत्मतृप्तिको संगीत र आँखामा छचल्कने सुनौलो सपना द्वारेबाको आँखामा त्यति मीठो लागेन । हृदयमा केले-केले चस्स घोचेझैं अनि जिभ्रामा अलि टर्रो, तीतो नमीठोपना रमाएझैं उनले अनुभव गरे । उनको अनुहार अलि नमज्जा लागेझैं एक पलको निम्ति खुम्चियो, आँखामा दावानलको फिलिंगोझैं कुन्नि के हो रोक्कियो, तर यी सबै विरोधाभाषलाई आफ्नो मीठो चिप्ल्याई भित्र छोप्न उनी तत्कालै सफल भए । 'खोइ बाबै, यसै भन्न त कहाँ सकिन्छ र, भैंसीको जात ।' यति भनेर उनी भैंसीको नजिकै गए । नजिकै गएर उनले भैंसीको सबै कुरा जाँचे-निहुरेर थुन र कल्चौंडो जाँचे, चारैतिर घुमेर जीउडाल, आँखा, सिङ सबै जाँचे- फराकिलो पुठ्ठा, बारमाने बाटाजत्रो कल्चौंडो, अनि मोटामोटा थुन, अनि चिल्लो कालो झिंगा पनि चिप्लेलाजस्तो आँङ, नीला निर्दोष आँखा छोटाछोटा, मोटामोटा सिङ-भैंसी साँच्चै गतिलो देखिन्थ्यो, रहरलाग्दो । द्वारेबाको मन धमिलिएर आयो- धुँवाले ध्वाँसिएर कपडा धमिलिएजस्तो ।

'भैंसीलाई त अलि बढी नै हालिछस् । दूध कति देला ? कल्चौंडो मात्र भएर के गर्नु, मासु खान भएन मोटो छ भनेर !'- उनका आँखा र नाक अलि खुम्चिए । लुखुरेको सातो उडिगो । 'किन र बा ?' उसले सशंकित र भयभीत आँखाले द्वारेको आँखामा हेर्‍यो ! त्यहाँ उसले कुनै किसिमको विकार पहिल्याउन सकेन, किनभने द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुँगाभित्र लुकेको ओठमा फरफराइरहेको थियो । अब द्वारेबाले उसको शंकाले फुसि्रएका आँखामा गहिरोसँग हेरे, अनि एकपटक फेरि जाँच्नै कष्ट उठाए । उनले लाहुरीको चारैतिर घुमेर जाँचे, अनि अन्त्यमा बढो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा छरे, 'बाबै, भैंसी त धम्की छ, कसो ए रामे, हेर् त, कि मैले जानिनँ ?' रामवीरेले एकपटक द्वारेबाको आँखामा हेर्‍यो, अनि उनले जस्तै भैंसीको चारैतिर घुमेर जाँच्यो । अनि खुलाल, घमानेले पनि त्यही अभिनयलाई दोहोर्‍याए । अन्तमा रामवीरेले बडो लाचारीसाथ घोषणा गर्‍यो, 'द्वारेबाका आँखा किन झुक्किन्थे र ? यस्ता कत्ना-कत्ना भैंसी खेलाइसक्नुभा' पो त, कसो घमाने दाइ ? भैंसी धम्की नै होइन त ?'

'हँ'- घमाने र खुलाल एकै साथ घन्के । हुन त त्यो घन्काइमा रामवीरेको समर्थन अथवा विरोध के थियो कुन्नि, तर द्वारेबाले यसलाई आफ्नो समर्थनपट्ट िबंग्याइहाले । 'हाम्राँ आँखालाई भुल पार्न त बाबै... यै ज्यानले कत्ना-कत्ना भैंसी सुमरियो, आँखा गतिला नभैदिया भा' त ढुटीमाटी भैसक्ने थियो ।' लुखुरेले दिउँसै तारा देख्न थाल्यो । अन्ततः कालिमाको महाराहुले आफ्नो चिरकालदेखिको सपनाको जुनलाई सलक्क निलेझैं उसलाई लाग्यो, अनि आफूचाहिँ अनन्त अन्धकारको खाडलमा अमल अमल भास्सिएझैं- कुनै समाउने काँसको बुटोसम्मन् छैन । हे भगवान् ? 'होइन बा, ज्याम्दीका ढकाल त किरिया हाल्थे नि ? केही खोट रहेछ भने सित्तैं भो भन्थे नि त ?'... तैपनि उसले छाम्ने कोसिस गर्‍यो । द्वारेका आँखीभौं केही खुम्चिए, 'को, त्यै बाउँठे ढकाल ? त्यसका कुरा पत्याउन थाले त मान्छे खोलाँ' पर्छ । कतिलाई भड्खाराँ' जाक्यो, त्यस्तो बेइमानी पो त त्योेे ! कसो रामे ... कि मैले मिथ्या बोल्या' हुँ ?'

'कैले बा, यो भैंसी धम्की रहेनछ रे भने त हाम्रो मुखाँ' जाँड हालिदिनु ।' रामवीरे घर्तीेले बडो दृढ भएर भन्यो र आफ्नो बचनको तौल द्वारेबाका आँखामा खोज्यो । लुखुरे दुवै हातले पुर्पुरो समातेर आँगनमा बस्यो । केही क्षणअगाडिको उसको मानसिक सपनाको फूलबारीमा एक्कासि तुसारो वैरियो । अघिसम्म उमंगमा खिलखिलाइरहेको उसको चारैतिरको वातावरणमा अहिले अवसादको कालो बादल दौडियो । उसका आँखा तिरमिराउन थाले, आँखाअगाडिको हाँसिरहेको आकाश, गाइरहेका चराचुरुंगी, नाचिरहेका लहरा-पात सबै धमिला देखिन थाले । शरीरभर पसिना चिटचिटाएझैं उसलाई लाग्यो । के त उसले वर्षौंदेखि पालिराखेको सपनाको संसारमा भुइँचालो आयो ? के त उसले सुन ठानेर पानीसरि पैसा वैरिएको वस्तु पितलको टुक्रो ठहरियो ... के त उसलाई उसको भाग्यले यसै गरी ठग्यो ? हेर्दाहेर्दै घर, भैंसी, सानो पोडे सबैका अनुहार बादलभित्र पसेझैं उसलाई लाग्यो । 'हे ईश्वर !' ... उसको छातीबाट एउटा दर्दिलो सुस्केरा निस्केरा निस्केर वायुमण्डलमा रुमल्लियो ।

'असत्ती काठो ! भोलि नै लगेर त्यसको डिंगो त्यसैको दैलोमा मिल्काइदिन्छु'- लुखुरे दुःख र पीडाले बडबडायो । बाबुको एक्कासि बदलिएको भाव देखेर अघिसम्म संसारको बादशाहझैं खेलिरहेको सानु डराएको र शंकाएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो । अघिसम्म सम्पूर्ण अंग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रसन्नताको वरदान बर्साइरहेकी घैंटी पनि अहिले पानीमा परेको गुइँठा फुलेझैं फुलेको, ढोकाको एउटा फक्ल्याँटो समातेर उभिरहेकी थिई । लुखुरेले देख्यो- सबै अनुहार ओइलाएका थिए । द्वारेबा घोप्टे दिन बेलुकी भैंसीले दूध पनि थोरै दियो । वास्तवमा पाँच कोस बाटो हिँडाएर ल्याएको हुनाले यो स्वाभाविक पनि थियो, तर यो स्वाभाविक घटनाले पनि लुखुरेको मनमा शंकाको बीजलाई अंकुराउन मलजल गर्‍यो । साँच्चै दूध किन कम दियो ? भैंसी खोटो नभएको भए यस्तो किन भयो ... रातभर ऊ ओछ्यानमा छटपटाई मात्र रह्यो । उसको जीउको एक-एक अणुमा हजारौं अरिंगालले चिलेझैं चर्किरहेको थियो । एकातिर बालक छोराको रातदिनको सपना-जपनापछिको रटना चकनाचुर हुनु, अर्कोतिर त्यतिका रुपियाँ खोलो लाग्नु । त्यो पनि आफ्नो गोजीबाट झिक्न सक्ने भैदिया भए के थियो र, पैसा भन्या छोराको हातको मयल, आज यसले कमायो भोलि उसले उडायो, भोलि उसले कमायो पर्सि यसले उडायो, तर नेपाल बाहुनको रिन उसले कुन जुनीमा तिर्ने ?- लुखुरे यताबाट उता उताबाट यता छटपटिन थाल्यो । अँध्यारोमा उसको आँखाअगाडि त्यो दुई सय पचास रुपैयाँ नेपाल बाहुन भएर नाच्न थाल्यो । अनि, त्यो नेपाल बाहुनको मूर्ति फलामजस्तै कालो भयो । अनि त्यसका औंलामा लामालामा नंग्रा निस्के- लामा-लामा नंग्रा आफूतिर बढ्दै आएका ।

असह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केरा मिसिएको चित्कार त्यो अन्धकारमा रुमल्लियो । त्यो चित्कारले घैंटीको मनमा लोग्नेप्रति सहानुभूति जन्माउनुको साटो जुन उग्रक्रोधको राँको सल्काउन घ्यूको पो काम दियो । 'खाइस् अभागी ग्वाङ्ग्रा ! यसो आफूभन्दा जान्ने-सुन्ने दुई-चार जनालाई लगेर देखाउनुपर्छ, त्यत्रो पैसा लगेर भडखाराँ' वैरियो कि वैरिएनौ ! बुद्धिमा डढेलो सल्केको ।' अघि साँझसम्म महामायाजस्ती घैंटीले अहिले रणचण्डीको अवतार लिइसकेकी थिई । एक त भैंसी स्याहार्ने लोभले उसलै आफ्नो नाकमा पनि उतारेर दिएकी थिई, दोस्रो त्यसमाथि त्यतिको रिन, अनि उसको ब्रह्माण्डमा आगो सल्किनु कुनै अस्वाभाविक थिएन । 'एकातिर घरबाट साहुलाई सुम्प्यो, अर्कातिर अर्काको नाककान रित्यायो, त्यसमाथि माल ल्याएको पनि फुटेको आँखाले हेरेर । लगेर भोलि बिहानै जहाँबाट ल्याएको हो, त्यसको सिनो त्यसैको दैलोमा मिल्काएर आउनू, अन्धा !'

लुखुरेलाई अहिले अरू कुराभन्दा पनि स्वास्नीको वचनको धार असह्य हुन थाल्यो । ऊ रन्थनियो । 'हे ईश्वर ! त्यति राम्रो भैंसी खोटी नभैदिया' भए यो भुंग्रोमा किन पिल्सिनुपथ्र्यो ? ... खोटी भैंसी पुक्लुक्क ढलिदियो भने ? ...' लुखुरेको मुटु काम्यो । उसले अँगेनाको आगो फुकेर बत्ती झुल्क्यायो । न बाँध्या, बाँध्यै किलैमा पुक्लुक्क ढलेको पो छ कि ! ...

ऊ हुरहुराउँदै कटेरामा गयो । उसले बत्ती खोपामा राख्यो- भैंसी जस्ताको तस्तै किलामा बाँधिएको थियो- कालो, चिल्लो बारमाने बाटाजत्रो कल्चौंडो, झिंगा पनि चिप्लेलाजस्तो कालो आङ, छोटाछोटा, मोटामोटा पातला मुढे सिङ, नीलानीला निर्दोष आँखा ! कतै पनि कुनै हेरफेर छैन । उसको छातीबाट गहिरो सुस्केरा, सन्तोषको सुस्केरा निस्क्यो । तर, त्यो सुस्केरा चिसो थियो । साँच्चै यो भैंसी खोटी नभैदिया' भए ... झुक्यानमा पार्न त ... यस्ता कत्नाकत्ना भैंसी सुमरिसकियो ।' द्वारेबाको स्वर अझै उसको कानमा घन्किरहेको थियो । साँच्चै द्वारेबालाई झुक्यानमा पार्नु खेलाँची होइन । लुखुरेलाई सारै पीडा भयो ।

लुखुरे त्यताबाट फर्केर ओछ्यानमा पल्ट्यो, तर छटपटीबाहेक त्यो रात स्याइँस्याइँले उसलाई केही पनि दिन सकेन । त्यसमाथि स्वास्नीको घोचपेचले त उसको मुटु छियाछिया हुन खोज्दथ्यो । 'अभागी ग्वाङ्ग्रा, केही गरी पत्तै नपाई भैंसी पुक्लुक्क ढल्यो भने के गर्ने सुर छ ए ! त्यस्तो खोटी भैंसीमा धन ओइरिएर...। साँच्चै घरिघरि लुखुरेको मुटु आशंकाले काम्दथ्यो । साँच्चै कतै किलामा बाँध्याबाँध्यै भैंसी भुक्लुक्क ढल्यो भने धम्की भैंसी न हो ! अनि ऊ रन्कामा घरिघरि उठेर कटेरामा जान्यो, आँखाभरि भैंसीलाई हेथ्र्यो, अति मायाले उसको जीउ सबै मुसाथ्र्यो- चिल्लो कालो आँग, बारमाने बाटाजत्रो कल्चौंडो, छोटाछोटा पातलापातला सिङ अनि फराकिलो पुठ्ठा, निर्दोष नीलो आँखा । अनि, फेरि ओछ्यानमा आएर लड्थ्यो, तर घैंटीको मुटु छेड्ने बचनले सुइरोजस्तो भएर घोचिरहन्थ्यो । अनि त अँध्यारैमा आँखामा पछुतो र क्षमायाचना भनेर स्वास्नीतिर हेर्दथ्यो । वास्तवमा घैंटी पनि अब त अचाक्ली गर्न थालेकी थिई । बिचरा लोग्ने मात्रै के गरोस् ! उसले पनि खोलै लागोस् भनेर त पैसा ओइरिएको होइन ! यो त उनीहरूलाई भाग्यले ठगेको, बाउँठे ढकालको दया जागेको । यो कुरा त्यो स्वास्नी किन बुझि्दन ? 'हे ईश्वर ! बाउँठे काट्टेको भस्मखरानी भैजावस् !... गरिबलाई रुवाएर ... गरिबको धनले नपोली त कहाँ छोड्ला र !... परमेसोरी ।...'

'आफूलाई पोल्या' थाहा छैन, अर्कोलाई पोल्या सपना देख्ने ! त्यै सिनाको मासु बेचेर उडाउने सुर छ कि ग्वाङ्ग्रा ?' घैंटीको स्वर रोग र पीडाले कामिरहेको थियो । 'लुखुरे के गरोस् ! भैंसी नै फर्काएर लैजाउ“m त भने पनि एक त पाँच-पाँच कोस बाटो हिँडाएर लैजानु, दोस्रो लोप्पा ख्वाएर पठाइदिन्छ, के भनेर हात पर्‍या' थैली फिर्ता दिइरहन्थ्यो र त्यस्तो जमानदारी भए त गरिबलाई त्यस्तो झुक्यानमा पारेर सत्तेनाश नै गर्ने थिएन नि । लुखरे आफ्नो भित्रको वेदनालाई छातीभित्र दबाएर मुर्दा लडेझैं लडिरह्यो ।

भिोलिपल्ट द्वारेबाका पिँढीमा गाउँका बुजु्रुक जम्मा भएका थिए । यो गाउँको चलन- बिहानबेलुकी तमाखु खान, गफसफ गर्न, दुःखदर्द पोख्न ठूला-ठालुकै घरमा जम्मा हुन्छन् । गाउँभरिको टीका-टिप्पणी हुन्छ र भैरहेको पनि थियो । त्यसै बेला अँध्यारो मुख लाएको लुखुरे आयो, द्वारेबाका गोडामा शिर टेकायो र एकाछेउमा सारै डराएझैं बस्यो । 'क्या हो, के भन्न आइस् लुखे ?'- द्वारेले आफ्नै कटु स्वरमा भने, 'भैंसीले हिजो साबुत दूध दियो ?' 'दिएन बा, दिएन,... के दिन्थ्यो !' लुखुरेले डुबेको स्वरले भन्यो । साँच्चै ऊ निराशाको अतल गहिराइमा डुबेको थियो । 'हामीले भनेको त ...' द्वारेबाले अरुसित हेर भने, 'यो लुखेर बजिया सोझो, मधेस मारेर आएको बाउँठे के मान्दथ्यो र, भसक्कै ठगिदिएछ । यो जैरे पनि उस्तै, सुझ न बुझसँग त्यतिका पैसा वैरिन हुन्थ्यो क त ! हामी पनि त थियौं नि ।'- यति भनेर द्वारेबा भर्खरै कान्छी घर्तिनीले टक्र्याएको तमाखुबाट खरानी उडाएर तान्न थाले ।

'तब त भन्या । बिग्रने बोलमा आउँदैन मति भनेको त्यै हो । अब खोटी भैंसीमा थैली खन्याएर अब अरु कसले लाला त ?'- बुढाथोकीले लुखुरेको सुकेको अनुहारमा हेरेर भन्यो । 'कुनचाहिँ यहीजस्तो आँखा फुटेको होला त, खोटी भैंसीमा थैली खन्याउने ? ... त नै भन् न !' द्वारेले भने र उपेक्षाले मुन्टो बटारे । 'रिन गर्‍या' त होलास् नि !' घमानेले भन्यो । 'यसको भैंसी खोटी रहेनछ रे भने त हाम्रो मुखाँ अभच्छे हालिदिनू'- द्वारेका पुरेत सीताराम पण्डितले हत्केलाले नाक मास्तिर फर्काउँदै लामो लेग्रो तानेर घोषणा गरे । अनि द्वारेबाको मुखतिर हेरे । वास्तवमा उनले लुखुरेको भैंसीको अनुहारमा पनि देखेर होइनन्, तर कदाचित् द्वारेबालाई खुसी पार्न सकिन्छ भने गाउँको भैंसीको त के कुरा बम्बईको तिलकराम मारवाडीले किनेको रोल्स रायस मोटरमा पनि खोट निकाल्न उनी पछि हट्तैनथे । यी सबै किसिमका साँचाझुटाको संयुक्त हमलाले लुखुरेको मनको कुनै पनि कुनामा कुनै किसिमको आशाको झिल्कोसम्म पनि रहन दिएन । उनको आत्मा विकल भएर विलाप्न थाल्यो । 'द्वारेबा, म त खोलामा परेँ । असत्ती बाउँठेले मेरो त सर्वस्व गर्‍यो । ... म त जोगी बनेर हिँडे पनि भयो, द्वारेबा !'

'क्यार्छस् त बाबै, तेरा बुद्धिले त हो, हामीले गरेर हाम्रा सल्लाहलेक होइन । हामीलाई के भन्छस् !' द्वारेबूढा ज्याद्यै कठोर देखिन्थे । लुखरेको मन भरिएर आयो । 'बा, मैले आफ्नै बुद्धिले आफ्नै घेडामा बन्चरो हानेँ ! अब के गरौं बा ? ... स्वास्नीको नाक, कानको त भला केही थिएन, भर्सेलो परोस् भनौं, नेपाल बाहुनको दुई सय पचास रिन कहाँबाट तिरौं ? हे ईश्वर ! अब म के गरौं !'- लुखुरेको स्वर साँच्चै वेदनाको भारले धरमराएझैं कामिरहेको थियो । 'हे ईश्वर, म के गरौं !' 'अब अरु त जुक्ति नै छैन बाबै'- रामवीर कएक कुनाबाट बोल्यो । 'अब त्यै सिनु लगेर फिर्ता दिए मात्र हो ।'

'के कर्कलाको पातको पानीजस्तो कुरा गर्दो हो यो रामे छुसी'- द्वारेबाले रामवीरेको कुरालाई हावामा उठाइदिए ।

'त्यो मुलुकमारा बाउँठे, त्यसलाई तिमीहरूले चिनेकै छैनौं । के भनेर दिइरहन्थ्यो हात पर्‍यो पैसा, ख्वाइदिन्छ लोप्पा ।' 'बा, म त बितेँ । अब के गरौं बा ? म त खौलाँ परेँ ।'- लुखुरे बगरको माछाजस्तै छट्पटायो ।

'तँलाई त अख्खडै पर्‍यो । अब के गर्छन् ?' रामवीरेले सबभन्दा हितुझैं बोलीमा सहानुभूति घोलेर भन्यो, 'आ, द्वारेबा, अब त्यसो होइन, लुखे बौरा गाउँको गरिब हो, च्यापोमा परिगो, अब तपाईंले विचार नगरे कसले गर्छ यसको विचार ?' 'के कुरा गर्छस् ए रामे, तँ ? यसलाई उकास्न आफू खोलामा परौं ?'- स्वरमा उपेक्षा थियो द्वारेबा । 'होइन बा, सौ पचास भन्या, तपाईंको निम्ति पासङबराबर छ, तर गरिबका त घरबास उठ्छन् । तपाईंले नगरे कसले गर्छ ।'- रामेले सिफारिस गर्‍यो । 'हो बा, बिचरालाई तपाईंले नै गरिदिनुपर्छ । गरिब अनाथ हो, जुत्ताभर चाकरी गर्छ'- बुढाथोकीले पनि रामवीरेको कुरालाई टेवा दियो । द्वारेबाले निकैबेर गम खाए । आखिरमा बडो गम्भीर स्वरमा, मानौं लुखुरेमाथि जन्मजन्मान्तर बिसाउन नसकिने उपकारको बोझ लाद्न लागेकोझैं घोषणा गरे । 'के तिमीहरू सबै त्यसै भन्छौं त ? त्यसै हो भने म के भनौं । एउटा गरिबको उपकारकै सही, तर ... भैगो त लुखुरे पनि सय-पचासको मुख नहेरोस् । कि त सौ-पचास खर्चेर भैंसी तयार गराइछाडेँ, कि खोलामा जाक्किएँ । ... एउटा गरिबको उपकारै हुन्छ भने ... लौ के भन्छस्- लुखुरे ?'

' द्वारेबाका कुरा मनासिब हुन् । यस्ता भैंसीमा पैसा हाल्नु सिमानामा पैसा हाल्नुजस्तै हो । त्यति माया मार्दामा लुखेलाई मर्का छैन ।' यो लेग्रो सीताराम पण्डितले झिकेका थिए । उनी धर्मका सारथी भएकाले उनले भनेको कुरा शास्त्रको वचन हो । मानौं, उनी यस सभाका निर्विरोध सभापति हुन् र उनको निर्णय अन्तिम निर्णय हो । 'लौ पण्डितबाजेको समेत यही राय छ । तँ के भन्छस् ?'- रामेले लुखुरेको मुख हेर्‍यो । 'तँ के भन्छस् त लुखे ?' - द्वारेबाका आँखा निकै घोच्ने काँटका थिए । लुखुरे के भनोस् बौरा ! उसले सबैका मुखमा हेर्‍यो । द्वारे, बुढाथोक, रामे र पण्डितबाहेक सबै मौन थिए, उनीहरूका आँखामा विवशता थियो । उनीहरू लुखुरेको आँखा हेर्न नसकेर निहुरे ।

त्यस दिन बेलुकीपख द्वारेबाको आँगनमा निकै रमझम देखियो । आँगनमा लाहुरी भैंसी बाँधिएको- चिल्लो, कालो, बारमाने बाटाजत्रो कल्चौंडो गरेको भैंसीका वरिपरि द्वारेका आधा दर्जन केटाकेटी झ्याम्मिएका थिए । द्वारेबुढा बीसवर्षे जोसमा सुसार गर्न लागेका । द्वारेले भुस्सा दिँदादिँदै एकपटक टाउको उठाएर हेरे- लुखुरेको आँगनमा आज रमझम थिएन । लुखुरेका बाबुछोरा आँगनको डिलमा उभिएका थिए । त्यसै बेला रामवीरे द्वारेका आँगनमा उक्लेर उनलाई ढोग दियो ।
'कसो रामे, भैंसी, हीरा छैन त ?'
'किन हुन्नथ्यो बा, लाखमा एक छ ।'
एकपटक फेरि द्वारेले र रामेले एकै पटक आँखा उठाएर लुखुरेको घरतिर हेरे । डाँडाबाट ओर्लेको साँझको मट्याइलो छायाले क्रमशः मट्याइलो पार्दै लगेका लुखुरेका बाबुछोराको आकृति एकपटक लाहुरीतिर हेरिरहेका थिए ।
Pages: 1 2 [3] 4 5 ... 10