Author Topic: Manoj Gajurel - Different Faces  (Read 5378 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15545
Manoj Gajurel - Different Faces
« on: April 05, 2010, 10:47:11 AM »
मेरा अनेक अवतार
04/04/2010

पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, माधव नेपालआदिका हिट क्यारिकेचर गरेका मनोज गजुरेल भन्छन्- मैले स्यालुट र कालोझन्डा दुवै पाएको छु

अहिलेको मनोज गजुरेल धेरै घुम्ती र बाटा पार गर्दै यहाँसम्म आइपुगेको हो । गजुरेललाई झट्ट देख्दा र उसको कला हेर्दा उससँग कस्ता-कस्ता अनुभव छन् भन्ने मान्छेले सोचेका हुन्नन् । तर, मलाई भने पछि फर्केर हेर्दा कहिलेकाहीँ अचम्म लाग्छ, कहिले रमाइलो अनुभूति हुन्छ । सजिला-सजिला सिँढी उक्लेर म यो सफलताको बाटोमा आइपुगेको हैन । मैले जीवनमा अझ धेरै गर्नु छ, धेरै पर पुग्नु पनि छँदै छ । तैपनि, यहाँसम्म आइपुग्दा म हिँडेको गौँडा केही अप्ठयारा पनि छन् र केही रोचक पनि ।

कलाकार के हो ? हास्यव्यंग्य कस्तो विधा हो ? क्यारिकेचर कसरी गर्नुपर्छ ? यस्ता कुरा केही थाहा नहुँदै मैले क्यारिकेचर (नक्कल) गर्न थालिसकेको थिएँ । म १२/१३ वर्षको हुँदो हुँ, हामी तिनताका ताप्लेजुङबाट झापा झरिसकेका थियौँ । एक दिन हाम्रो घरमा कार्जे (पूजा) लगाइएको थियो । घरभरि पाहुना थिए । पूजा सकिएपछि बास बस्ने पाहुनाले हाम्रो घर भरिएको थियो । भित्र-बाहिर, कोठामा-चोटामा जताततै पाहुना मात्रै सुतेका थिए । म सुत्न पाएको थिइनँ । राति १२/१ बजिसकेको थियो क्यारे, मलाई मस्त सुतिरहेका मान्छेलाई तर्साएर ब्युँझाउन मन लाग्यो ।

manoj_--_--_--केही न केही उटुंगो गर्ने मेरो बानी परिसकेको थियो । म दैलामुनि पिँडालुको झाङभित्र लुकेर भ्यागुतो खाइरहेको सर्प कराएझैँ 'च्याउँ-च्याउँ' कराएँ । आधारातमा सर्प कराएको चर्को आवाज सुनेर घरभरिका मान्छे ब्युँझे । उनीहरू 'अब के गर्ने ?' भनेर सल्लाह गर्न थाले, म भने कराइनै रहेँ ।

पछि आमाले लामो र ठूलो लठ्ठी लिएर आउनुभयो र परबाटै डयाम्मै हिर्काउनुभयो । म सानो फुच्चे थिएँ, पाको मान्छेले सर्प मार्न हानेको लठ्ठीको प्रहार मेरो टाउकैमाथि पर्‍यो । अघिसम्म सर्प कराइरहेको म ह्वाँह्वाँ रुन थालेँ, मसँग भर्खरैसम्म तर्सिरहेका मान्छे म रोएको देखेर हाँस्न थाले । रोइरहेकै वेला केही मान्छेले मेरो प्रशंसा गरे- यो त कलाकारिता पो हो, यो केटाको नक्कल गर्ने कस्तो खुबी ! मेरो कलाकारिताको ब्रेक भन्नु नै त्यही घटना थियो । त्यसपछि नै मलाई यसरी हँसाउने काम कलाकारिता रहेछ भन्ने थाहा भयो ।

०००

सानैदेखि म बिरालो, कुकुर, बाख्रो, स्याल, कुखुरा र अरू चराका नक्कल गरिरहन्थेँ । मेरोे क्यारिकेचर सुनेर साथीहरू रमाउँथे । त्यसो गर्न पाउँदा मलाई पनि रमाइलो लाग्थ्यो । जनावर र चराका क्यारिकेचर गरेरै मैले आमालाई धेरैपटक झुक्याएको र दुःख दिएको छु । बुबा भने ०३० मा म जन्मेको सात महिनामै बित्नुभएको हो । तैपनि, परिवारको सबैभन्दा कान्छो छोरो भएकाले सबैले मलाई नै बढी माया गर्नुहुन्थ्यो । परिवारमा अरू सदस्यले जति दुःख पाए पनि कान्छोले त्यति दुःख पाएको हुन्न । कान्छो सन्तान हुनुको त्यही मजा, सुख र सुविधा मैले पनि पाएको छु ।

झापामै आठ कक्षा पढ्दाताका स्कुलको वाषिर्कोत्सव कार्यक्रममा मैले तीनवटा हास्यव्यंग्य प्रस्तुति दिएको थिएँ, पहिलो- त्यही सर्प कराएको आवाजको नक्कल, दोस्रो- कुसुमेरुमाल चलचित्रको 'तिमी नभए' गीतको प्यारोडी र तेस्रो- रेडियो नेपालको 'आज राष्ट्रिय पञ्चायतमा के भयो ?' कार्यक्रमको प्यारोडी ।

त्यतिखेर 'कुसुमेरुमाल' चलचित्रको गीत चर्चित थियो । गाउँ-सहरतिर बढ्दै गरेको रक्सी खाने चलन र जँडयाहालाई व्यंग्य गर्न मैले त्यही चलचित्रको 'तिमी नभए जिन्दगानी काँडासरी छ' गीतलाई प्यारोडी बनाएर सुनाएँ-

'रक्सी नभए जिन्दगानी मरेसरी छ

फेरि पनि रक्सी नभई हुँदै हुँदैन....'

manoj_--_-रेडियो नेपालमा दैनिक प्रसारण हुने 'आज राष्ट्रिय पञ्चायतमा के भयो ?' कार्यक्रममा राष्ट्रिय पञ्चायतको बैठकमा भएका गतिविधि प्रसारण गरिन्थ्यो । त्यो कार्यक्रमको प्यारोडी मैले यस्तो सुनाएको थिएँ- 'आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घर-जग्गाविहीन जनतालाई ऐलानी माटोबाट हटाई लाठी र मुंग्रीले ठटाइ उत्तरतिर खेदाउने प्रस्ताव पारित गरेको छ ।' यो प्यारोडी मैले कुनै राजनीतिक आस्था वा विचार आफैँ जानेर गरेको थिइनँ । मलाई राजनीति कसैले सिकाएको पनि थिएन । सायद त्यतिवेलाको माहोलले मलाई पञ्चायतलाई व्यंग्य गर्न सक्ने गरी राजनीतिक चेतना दिएको थियो ।

तिनै तीनवटा प्रस्तुतिले गर्दा म त्यो कार्यक्रममा प्रथम भएँ । साथीहरूले मलाई हौसला दिए, शिक्षकहरूले 'यो केटोमा कलाकार बन्ने सम्भावना छ,' भनेर उत्साह थपिदिनुभयो । मलाई पनि थप जोस-जाँगर थपिएको महसुस भयो । औपचारिक कार्यक्रममा मैले आफ्नो कला प्रस्तुत गरेको स्कुलको त्यही वाषिर्कोत्सव कार्यक्रममै हो । त्यसपछि त म झन् हौसिएँ । मलाई मेरो दाजु केशवराज गजुरेलले कला क्षेत्रमा लाग्न सानैदेखि प्रेरित गरिरहनुभयो र निरन्तर सघाउनु पनि भयो । उहाँ तत्कालीन नेकपा मालेनिकटको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँको राजनीतिक संलग्नताले मलाई पनि राजनीतिक चेतना सिकाएको हुनुपर्छ । तर, स्कुले विद्यार्थी छँदाखेरी मलाई देशको राजनीतिबारे खासै ज्ञान थिएन । बरु कलेज भर्ना भएपछि म पनि राजनीतिमा जोडिएँ ।

 ०००

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15545
Re: Manoj Gajurel - Different Faces
« Reply #1 on: April 05, 2010, 10:47:41 AM »
मेरो जीवनको एउटा रमाइलो पक्ष के छ भने मैले एसएलसी पास गरुन्जेल ११ वटा स्कुलमा पढ्नुपर्‍यो । एसएलसीसम्म जम्मा दस वर्ष हुन्छन् । तर, मैले दस वर्षमा ११ स्कुल बदलेको छु । ०४५ मा दाजुसँग काठमाडौं आएपछि पुतलीसडकको पद्मोदय स्कुलबाट एसएलसी दिएँ । त्यतिन्जेलसम्म ताप्लेजुङ, झापा, मोरङ र काठमाडौं गरी मैले फरक-फरक ११ वटा स्कुल फेरिसकेको थिएँ । कहीँ दुई, कहीँ पाँच र कहीँ तीन वर्ष पढेँ । त्यसले गर्दा पनि मेरा स्कुलका स्थायी साथी र स्थायी शिक्षक कोही भएनन् । धेरै ठाउँमा धेरैथरी साथीको संगतले गर्दा मैले फरक-फरकखालका अनुभव सँगालेको छु । तर, लामो समय संगत गर्ने र मिल्ने साथी बनाउने मौका मलाई जुरेन, थुप्रै साथी अहिले बिर्सिसकेँ ।

मैले पद्मोदय स्कुल पढ्दाताका मेरो दाइ आरआर कलेजमा पढ्नुहुन्थ्यो । कलेजमा कार्यक्रम हुँदा दाइका साथीहरूले कला प्रस्तुत गर्न मलाई बोलाइरहनुहुन्थ्यो । त्यहाँ पनि मैले आफूभन्दा सिनियर विद्यार्थीबीचमा रहेर आफ्नो कला देखाउँथेँ । एसएलसी उत्तीर्ण भएपछि ०४८ मा म पनि त्यही कलेजमा भर्ना भएँ । त्यसपछि त म पनि राजनीतिमा सक्रिय हुन थालेँ । म त्यतिवेला तत्कालीन नेकपा (एकताकेन्द्र) को विद्यार्थी संगठनमा आबद्ध भएर काम गरेको थिएँ । हाम्रो संगठनको अध्यक्ष हितमान शाक्य र महासचिव देवेन्द्र पौडेल 'सुनील' हुनुहुन्थ्यो । म क्याम्पसको इकाइ अध्यक्ष थिएँ । त्यही समयमा मैले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापतिमा उम्मेदवारी पनि दिएको थिएँ ।

दुई/तीन वर्षसम्म मैले विद्यार्थी क्षेत्रमा सक्रिय राजनीति गरे । तिनताका मेरो परिवार र मेरा सबै आफन्त नेकपा (माले) को राजनीतिमा हुनुहुन्थ्यो । म एक्लै जनमोर्चा (एकताकेन्द्र) मा थिएँ । ०४८ तिरै म एकताकेन्द्रको केन्द्रीय सांस्कृतिक टोली 'सामना परिवार' को सदस्य रहेर पनि काम गरेँ । मणि थापाले मलाई त्यतिवेला गीत गाउन सिकाएका थिए । मणि थापासँगै म सामना परिवारको आयोजनामा गोरखपुर पुगेँ । सांस्कृतिक कार्यक्रममा विदेश यात्रामा गएको त्यही मेरो पहिलोपटक हो । राजनीतिको विद्यार्थी र सांस्कृतिक फाँटमा म सक्रिय युवा नै हो त्यतिखेरको । पछि यसो विचार गरेर आफैँलाई मूल्यांकन गर्दा सक्रिय राजनीति गर्न म असमर्थ छु जस्तो लाग्यो, अनि बिस्तारै छाड्दै गएँ । कला क्षेत्रबाटै मैले केही नयाँ गर्नुपर्छ र गर्न सक्छु भन्ने बोध भएपछि नै राजनीतिमा म निस्त्रिmय रहन थालेँ । कलाकारिता पनि एउटा राजनीति नै हो । राजनीति र कला दुई भिन्न स्वभावका भिन्न चीज हुन् । राजनीति दिमागबाट चल्छ, कला हृदयबाट फुर्छ । तर, राजनीतिमा पनि अनेक कला हुन्छन् र कलामा पनि

राजनीति हुन्छ ।

राजनीतिमा म ०४६/०४७ को आन्दोलन र तत्कालीन माहोलको उत्पादन हुँ । म राजनीतिक गुण नै भएको व्यक्ति त होइन, सम्पर्क र संगतले मात्रै त्यतापट्ट िलागेँ । सक्रिय राजनीतिमा नरहे पनि मलाई लाग्छ- प्रत्येक मान्छे प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिमा संलग्न हुन्छ । कला, साहित्य, संगीत, पेसा व्यवसाय जुन क्षेत्र पनि राजनीतिभन्दा भिन्न र अछुतो हुँदैन । मैले यो कुरा वामपन्थी राजनीतिको संगतबाट सिकेको हुँ । एउटा जोकरबाट मलाई हास्यकलाकार हुन प्रेरित गरेको पनि वामपन्थी राजनीतिले नै हो । वामपन्थी राजनीतिको निकटमा नपुगेको भए सायद 'खाएको थालमा थुक्नु हुँदैन,' 'गरिखाने वर्गलाई सम्मान गर्नुपर्छ,' 'श्रम नगरी खानुहुँदैन' भन्ने जस्ता कुरा मैले सिक्ने थिइनँ होला ।

तिनताकादेखि अहिलेसम्म मलाई निरन्तर सहयोग गर्नेमा धेरै वामपन्थी विचारका साथी र नेताहरू नै हुनुहुन्छ । मलाई हास्यव्यंग्य लेख लेख्न हरिगोविन्द लुइँटेल, राजेन्द्र महर्जनले निरन्तर प्रोत्साहित गरिरहनुभयो । पत्रिकाका पाठकमा व्यंग्य लेखक भएर म चिनिएको 'नवयुवा' मासिकको मेरो स्तम्भबाट नै हो । मेरा साराका सारा अप्ठयारो-सप्ठयारोमा निरन्तर साथ दिइरहने व्यक्ति त मेरै दाइ केशव गजुरेल हुनुहुन्छ । उहाँलाई म कहिल्यै बिर्सन सक्दिनँ । तुलसी गिरी भन्ने साथीले नीर शाहको 'गुडनाइट' भन्ने एफएमबाट पहिलोपटक मलाई बोल्ने मौका मिलाइदिएका थिए । त्यसपछि कुन्दन अर्यालले इन्सेकको कार्यक्रममा बोल्न प्रस्ताव गर्नुभयो । इन्सेकको 'कुरा गर्‍यो कुरैको दुःख' भन्ने त्यो कार्यक्रम रेडियो नेपालमा खुबै लोकपि्रय भयो । यसले मलाई श्रोतामाझ स्थापित गरायो । पछि बिस्तारै-बिस्तारै म व्यावसायिक हुँदै जान थालेँ ।

०००

०५५/०५६ देखि निरन्तर म रंगमञ्चमा छु । एफएम र टेलिभिजनमा पनि काम गरेँ । त्यसयता नै गाईजात्राका रंगमञ्चहरूमा पनि निरन्तर काम गरिरहको छु । अहिलेका चर्चित कलाकारसहितका गाईजात्रे कार्यक्रम मैले नै कोर्डिनेटरका रूपमा सञ्चालन गर्दै आएको छु । म व्यावसायिक हुन थालेको लगभग यही समयदेखि हो । तर, ०६२/०६३ को पछिल्लो जनआन्दोलन मेरो जीवनको पनि मोड हो । यो आन्दोलनपछि देशको राजनीतिमा मात्रै फेरबदल भएन, मनोज गजुरेल पनि पक्का व्यावसायिक भयो । त्यसअघिका मेरो प्रस्तुति मैले मिडियामा पुर्‍याउन नसकेको हो या मिडियाले मलाई स्थान नदिएको हो, कुन्नि ? व्यस्तताको हिसाबले त म आन्दोलनअघि पनि व्यस्त नै थिएँ । तर, प्रचार गरिदिने माध्यम पनि चाहिने रहेछ क्यारे ! आन्दोलनपछि मात्रै मैले आफ्ना प्रस्तुति पक्का व्यावसायिक बनेको अनुभूति गरेको छु । मिडियामा पनि मेरो पहुँच छ ।

10राजाको सक्रिय शासनका वेलामै मैले अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक तत्कालीन राजा ज्ञानेन्द्रको नक्कल गरेको थिएँ । आन्दोलनभरि र आन्दोलनपछि पनि मैले ज्ञानेन्द्रको राजसी ठाँटबाँट र हाउभाउको क्यारिकेचर गरिरहेँ । धेरै दर्शकले मेरो त्यो प्रस्तुति मन पराइदिनुभयो । त्यसयता देश-विदेशमा थुप्रैपटक मैले त्यसलाई दोहोर्‍याइसकेको छु । पोखरामा एकपटक प्रहरी झुक्किएर मलाई ज्ञानेन्द्रै ठानी स्याल्युट गरेका थिए । माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक भएपछि मैले गरेको उहाँको क्यारिकेचर पनि धेरै दर्शकले मन पराए । स्वयं प्रचण्डले पनि 'गजुरेलजीको व्यंग्यले मलाई आफ्ना कमीकमजोरी सच्याउन सघाएको छ,' भन्नुभयो । उहाँ पाचनशक्ति बलियो भएको नेता हुनुहुन्छ । व्यंग्य र आलोचना उहाँ पचाउन सक्नुहुन्छ ।

पछिल्लोपटक मैले माधव नेपालको क्यारिकेचर गर्ने गरेको छु । उहाँको क्यारिकेचर पनि धेरैले मन पराएका छन् । उहाँको क्यारिकेचर गर्दा मैले एक ठाउँमा प्रहरीबाट स्यालुट र एक ठाउँमा कालोझन्डा खाएको छु । तर, माधव नेपाल मेरो व्यंग्यबाट बेखुसी भएजस्तो लाग्छ, सायद उहाँको अन्तर्मुखी स्वभाव भएर पो हो कि ? उहाँ व्यंग्य सजिलै पचाउन सक्ने नेता हैन । जनआन्दोलनपछिको एउटा सभामा मैले एमालेलाई 'यता जाउ कि उता जाउ' स्वभावको भनेर प्यारोडी गीतमा व्यंग्य गरेको थिएँ । त्यही व्यंग्यको विषयमा उहाँले आफ्नो भाषणमा पाँच मिनेटसम्म 'एमाले त्यस्तो पार्टी हैन' भन्ने स्पष्टीकरणसहित मलाई कन्भिन्स गराउन खोज्नुभएको थियो ।

०००

नेपाली टेलिभिजन, रेडियो र छापा माध्यममा अहिले पनि हास्यव्यंग्यका विभिन्न प्रस्तुति आइरहन्छन् । हास्यकलाकार पनि ठूलो संख्यामा क्रियाशील छन् । तर, अधिकांश प्रस्तुतिले दर्शक, श्रोता र पाठकको चेतनालाई विकृत पारिरहेका छन् । आफ्नो समाज र दर्शक-श्रोताको आवश्यकताप्रति उनीहरू अलिकति पनि ध्यान दिँदैनन् ।

त्यही धारलाई मूलधार भन्ने चलन छ । तर, म त्यो मूलधारको हास्यव्यंग्य कलाकार हैन । उनीहरू कतिपयले आफ्नो चाहनाअनुसारका प्रस्तुति दिन्छन्, कतिपयले दर्शकको चाहना भनेर कार्यक्रम तयार पार्छन् । हामी कलाकार आफ्नो समाजका अग्रणी र एकप्रकारका डाक्टर, वैद्य हौँ । हामीले दर्शकले के मागेका छन् भनेर दिने पनि हैन, उनीहरूलाई के खाँचो छ र के दिँदा ठीक हुन्छ भनेर आफ्ना प्रस्तुति दिनुपर्छ । व्यंग्यकलाले एकप्रकारले औषधिको काम गर्ने भएकाले हामी कलाकारले समाजको रोग पत्ता लगाएर त्यसको उपचार हुने गरी औषधि दिन सक्नुपर्छ ।

हास्यव्यंग्य मनोरञ्जन र सन्देश दुवै बोक्ने विधा हो । हँसाउनका लागि कसैको खिल्ली उडाइरहनु पर्दैन र कसैलाई ठाडो गाली गरिरहनु

पनि पर्दैन । यसको प्रमाण मेरो 'फोटोकपी' भन्ने हास्यव्यंग्य भिसिडी पनि हो । तर, अहिलेका मूलधारका भनिने कलाकारले हास्यव्यंग्य कला चटके र जोकरको उटपटयाङ होइन, एउटा गम्भीर कला हो भन्ने बुझेका छैनन् । सरकारी र गैरसरकारी सबै प्रमुख मिडियामा पनि त्यस्तै रोग छ । विचार र कला बोकेका कलाकारले मात्रै हास्य मनोविज्ञान निर्माण गर्न सक्छन् । तर, नेपाल टेलिभिजनलगायतका सरकारी मिडियामा त्यस्ता कलाकारलाई छिर्नै नदिने पद्धति छ ।

म हिजोआज पनि हास्यव्यंग्य विधाकै विभिन्न कार्यक्रम र संघ-संस्थामा व्यस्त हुन्छु । आफ्नो क्षेत्रमा मैले देखेको सपना हो- 'स्कुल अफ हयुमर सेन्स' खोल्ने । त्यसका लागि हामी केही साथीले सिस्नुपानी नेपालका तर्फबाट योजना र खाका पनि तयार पारेका छौँ । पाँच वर्ष बितिसक्यो, हामीले हाम्रो योजना र खाकालाई धेरैतिर पुर्‍याइसक्यौँ । सरकारी निकायमा पनि कुरो पुगिसकेको छ । सरकारी तहबाटै केही सहयोग भइदिए हुन्थ्यो भनेर हामीले प्रयत्न पनि गरिरहेका छौँ । तर, यो सरकारै अरूको प्रयत्नबाट चलेको छ, हाम्रा कामका लागि यसले के प्रयत्न पो गर्ला र खै ?

प्रस्तुतिः संगीतश्रोता

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15545
Re: Manoj Gajurel - Different Faces
« Reply #2 on: April 05, 2010, 10:50:03 AM »
Ramdev


Gyanendra


Prachanda


Madhav K. Nepal


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15545