Author Topic: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली  (Read 1118 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 785
~मनु ब्राजाकि~

ऐना हेरी कराउन थाले मान्छे
आफूसँगै डराउन थाले मान्छे

मसानमा बसे बरू ढुक्क होला
घरबाटै हराउन थाले मान्छे

हाँस्दाखेरि रगतमा भिज्नुभन्दा
आँसु मनपराउन थाले मान्छे

चराएन पशुले त पशुलाई
अब मान्छे चराउन थाले मान्छे

केही गर्न बाँकी कहाँ रहेको छ ?
यस्तो पनि गराउन थाले मान्छे !

(श्रोत:- अन्तर्जाल)

anand

  • Administrator
  • *******
  • Posts: 785
थाहा भयो छिमेकीको गुन कस्तो हुन्छ !
थाहा भयो चामलसँग घुन कस्तो हुन्छ !

आफ्नै मित्रसँग पनि लड्नुपरेको छ
थाहा भयो खा’को तिम्रो नुन कस्तो हुन्छ !

तिमीलाई जतिसुकै राम्री भने पनि
थाहा भयो द्वितीयाको जून कस्तो हुन्छ !

कानभरि, हातभरि, गलाभरि रै’छ
थाहा भयो बजारको सुन कस्तो हुन्छ !

मुटुबाट निस्किएर आँखाबाट झर्‍यो
थाहा भयो आँसु अनि खुन कस्तो हुन्छ !

राजा हिरो, नेता हिरो, जनता पनि हिरो
थाहा भयो ‘मनु’ हिरो कुन कस्तो हुन्छ !

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15541
मनमौजीको दुखान्त
माघ २७, २०७४  सुविद गुरागाई



काठमाडौँ — कस्तो हुनेछ तपाईंको मृत्यु ? केही सोच्नुभएको छ यस विषयमा ?’प्रश्न सुनेर उनले मेरो आँखामा गडेर हेरे । उमेर बढ्दै जाँदा कसै–कसैलाई आफ्नो मृत्युको पूर्वाभास हुन्छ । म जान्न चाहन्थेँ, उनका मनमा पनि त्यस्तो कुनै ठाँटो बसेको छ कि ?


मैले प्रश्न सोध्नुको कारणथियो । त्यसअघि उनले मसँग भनेका थिए, ‘अहिले म शारीरिक रूपमा थलिएको छु । पहिलेजस्तो लेख्न सक्तिनँ । शारीरिक अवस्थाले गर्दा लेखन क्षेत्रबाट मैले सन्न्यास लिएजस्तै छ । एक प्रकारले म त मरिसक्या छु । साहित्यिक क्षेत्रका लागि म मृत भइसकेँ । यो जुन अहिले बाँच्या छु भन्ने हो, यो त एउटा व्यर्थको ढाडस मात्र हो । आफ्नो परिवारका लागि यो मान्छे हिँड्दै–डुल्दै छ भन्ने मात्र हो ।’
हामीले मनु ब्राजाकी नामले चिन्दै आएको शरीरलाई आर्यघाटमा खरानी बनाउनु एक वर्षअघि मेरा दुईवटा एकै खाले प्रश्नमा उनले भने—
‘मेरो सम्पूर्ण जीवन घटियास्तरको नाटकजस्तो भए पनि मेरो मृत्यु मनु ब्राजाकीले लेखेका कथाजस्तै यथार्थवादी भइदिओस् † र, कुनै प्रकारको पाखण्डपूर्ण धार्मिक कर्मकाण्ड नगरी चेतमान सिंहको लास डढाएर खरानी पारियोस् !’
यथार्थमा त्यस्तै भयो, जे उनले चाहेका थिए । सम्भवत: परिदृश्यमा उनका लागि अपेक्षित एकपछि अर्को घटना हुँदै गर्दा उनको
आत्माले सन्तोष मानेको होला । तर अहँ † हाम्रो चित्त बुझेको छैन । मन कुँडिएको छ ।
१९९९ साल साउन १९ गते सोमबार बिहान ६:०० बजे महोत्तरीको औरही, नैनीगौरी, सखुवनीमा जन्मिएका चेतमानसिंह भण्डारी २७ हजार पाँच सय ५८ दिन बाँचेर २०७४ साल माघ १९ गते शुक्रबार १०:३० बजेदेखि सधैँका लागि सम्झनामा सीमित भए । १९ गते आए, १९ गते गए । माघ १९ गते नेपालको राजनीतिक इतिहासमा ‘कु’ भएको दिन । त्यही ‘कुसाइत’ मा नियतिले खोसेर लग्यो एउटा प्रिय गजलगो । चोखो, इमानदार र स्थापित कथाकार ।
चेतमानसिंह, मनु ब्राजाकी, श्यामबाबु, सगर नासत्य जे भने पनि उनी आफ्नै दुनियाँमा रमाउने मस्तमौला थिए । सम्भवत: उनको यही मनमौजीपनले उनलाई असमय गुमाउनुपर्‍यो । सँगै हुँदा उनी भन्थे, ‘साँच्चै भन्दा जीवनप्रति जति मोह राखे पनि जीवनका लागि जीवन केही होइन । मृत्यु नै जीवनको नियति भएकाले मृत्युपश्चात् जीवन महत्त्वहीन हुन्छ । मान्छे हुन सकेँ, यही मेरो उपलब्धि हो ।’

२०७४ साल मंसिर २३ गते शनिबार दिउँसो उनले अन्तिमपल्ट टन्न रक्सी खाए ।
त्यो दिन परिवारका सबै जना नातिनी आर्याको विवाहको तयारीसम्बन्धी छलफलमा सहभागी हुन पुल्चोक गएका थिए । छोरा अमितले सँगै जान आग्रह गर्दा उनले ‘मैले आज एक जना भाइलाई भेट्ने समय दिएको छु, तिमीहरू जाओ म घरमै बस्छु,’ भने ।
मनुले भनेपछि भन्यो–भन्यो । कर गरेर मन फर्किनेवाला थिएन । अपहत्ते हुनु रहेछ ।
नभन्दै त्यो मान्छे आयो । एक–दुई घण्टा बस्यो । के–के कुरा गर्‍यो गयो । त्यसपछि फ्री भए ब्राजाकी ।
परिवारका सदस्यहरू फर्केर आउँदा दृश्य बदलिसकेको थियो । दुनियाँलाई थाहा छ, मनुलाई लोकल रक्सी निकै प्यारो थियो । नुन–खोर्सानीबाहेक सितन नभए पनि हुने । घटनास्थलको प्रकृति हेर्दा थाहा हुन्थ्यो, आफूले ल्याएको एक बोतल रित्तिएर भाडामा बस्नेकहाँ काम गर्नेमार्फत मगाएको अर्को बोतल पनि आधा भइसकेको थियो ।
‘हाम्रो आँखा छलेर के अपहत्ते गरेको यो ?’ देख्नासाथ श्रीमती ज्ञानु जङ्गिइन्, ‘डाक्टरले नखानू भनेको मान्ने होइन । कति पीर पार्न सक्या †’
तर, जङ्गिएर के हुन्थ्यो † जे नहुनुपर्ने हो भइसक्या थियो ।
अर्थात् रक्सीका बारेमा उनी जहिले पनि ‘ओभर कन्फिडेन्ट’ रहे ।
मनुले रक्सी खान २०१७ सालमा सिकेका थिए । पोखरा सेती बगर किनारको झुप्रोमा बस्ने तान्त्रिक बाबाले भगवतीको ‘प्रसादी’ भन्दै चाख्न दिएका थिए रे सबभन्दा सुरुमा । त्यही सिलसिलाको चरम उत्कर्षमा अन्तिमपल्ट ‘प्रसादी’ खाएको राति उनी फेरि उठ्न नसक्ने गरी थलिए । यो तेस्रो पटकको स्ट्रोक (मस्तिष्क पक्षाघात) अनुभव थियो ।
आइतबार बिहान पाटन अस्पताल पुर्‍याउँदा उनी कोमामा पुगिसकेका थिए ।
सास छउन्जेल आस । अघिअघिको जस्तै यस पटक पनि स्ट्रोकलाई जित्छन् भन्ने थियो सबैलाई । जितिसकेका थिए पनि । भेट्न आउने शुभेच्छुकहरूसँग ह्विलचेयरमा बसेर फोटो खिच्ने भइसकेका थिए । कालो ऊनको टोपी लाएर ब्राजाकी मुसुक्क हाँसेको फोटो जीवन पानीले फेसबुकमा हाल्न भ्याइसकेका थिए । ब्राजाकी जीवित हुँदै उनको आत्मकथा ‘मनमौजी’ लेखेर समर्पण गर्ने एक प्रकाशकको योजनाबारे उनलाई राम्रोसँग थाहा थियो । उनी अस्पतालबाट घर फर्किन्छन् भन्ने लागेको थियो ।
तर, नियतिलाई यो सब मञ्जुर भएन । अस्पताल भर्ना भएको तेह्रौं दिन जीवन पानीले फेसबुकमा राखेको तस्बिर नै ब्राजाकीको जीवनकालको अन्तिम तस्बिर भइदियो । मन्थलीबाट उनका नाममा ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ आयो । उनले थाहा पाएनन् । माघको जाडो, अस्पतालका चिसा गाउन र निमोनियाका सामु झुके उनी । २० औँ दिन सिन्धुमा विन्दुसरह मिसिए केही नबोली ।
शीतल गिरीले भनेजस्तो कतिपय मानिस पिएको बेला सोच्दै नसोचेको कुरा गर्ने गर्छन् । तर मस्त पिएर आत्मीय मित्रसँग या बजारमा मनको मैलो पखाल्न भन्दै नजानिँदो आनन्दको नाममा ‘लुज टक’ गर्न कहिल्यै मन पराएनन् ब्राजाकीले । उनी भन्थे— तीन कुरा : जन्मन्छु, मर्छु र बिहे गर्छु भनेर आफूले सोचेको नहुँदो रहेछ ।

‘कौन कहता है मौत आई तो मर जाऊँगा ।
मै तो दरिया हूँ समन्दर मे उतर जाऊँगा ।’
अहमद नदीम कासमीका यी शब्दका प्रभाव खुबै परेको थियो उनमा । यसका केही शेर अनुवाद गरेर र केही आफ्नातर्फबाट थपेर गजल बनाएका थिए उनले । जसलाई शक्ति बल्लभले स्वर दिएका छन् ।
‘कसले भन्छ काल आए मरिदिउँला ?
खोला हुँ म समुद्रमा झरिदिउँला !’
नेपाली गजलको पुन: जागरणमा ज्ञानुवाकर जत्तिकै योगदान मिसिएका मनु फिल्मी गजलकार हुन सजिलो छ, गालिब हुन गाह्रो छ भन्थे । बेलाबेलामा मृत्यु संवाद पनि चलाउँथे । आफैँ प्रश्न गर्थे आफैँ हस्ताक्षर ।
‘मनुलाई सोध तिमी मलाई नै केही थाहा छैन,
कस्तो हुन्छ आफूलाई फूलैफूलले छेकेपछि ।’
बीचमा बाँच्नुको निरर्थकता लहरै व्यक्त गरे उनले—
‘अझै बाँच्न अब मलाई मन लाग्या छैन ।
रमाइलो आज रन–वन लाग्या छैन ।
मरेपछि पनि सधैँ बाँच्नुपर्छ भन्छन्,
यसो गरी बाँच्न मलाई झन् लाग्या छैन ।’
खासमा ‘बाँच्न मलाई झन् लाग्या छैन,’ जस्ता शब्दहरू उनले काफिया मिलाउन मात्रै लेखेका थिए कि अन्तर्य अर्कै थियो भन्न गाह्रो छ । किनभने ती शब्दहरू लेख्दै गर्दा उनी सिर्जना उल्लासका दिनमा थिए । कालान्तरमा अनपेक्षित भइदेला भन्ने के थाहा !
‘मरेपछि सधैँका लागि मर्न मन छ,’ भनेर लेखे पनि यथार्थमा मर्न सक्तैनन्, मनु ब्राजाकी । जसरी मृत्यु–शय्यामा देवकोटाले ‘मुनामदन’ बाहेक मेरा सबै रचनाहरू डढाइदिनू भनेका थिए । तर, कसैले डढाएनन् बरु झन् जतन गरेर राखे उनका एक–एक शब्द ।
देवकोटाका छोरा कुमुद मनुका दरपिया पार्टनर थिए ।
‘तिमी पनि प्रतीक्षा गर कुमुद, जहाँ छौ । म पनि प्रतीक्षा गर्दै छु, जहाँ छु,’ कुमुदको असामयिक मृत्युमा चित्त दुखाउँदै मनुले औरहीबाट लेखेका थिए, ‘उर्दू कविहरूमा कुमुदलाई गालिब मन पथ्र्यो । मलाई लाग्छ, अब म कहिल्यै फेरि काठमाडौं गएँ भने एक्कासि कतै भेट हुनेछ र कुनै गल्लीतिर तानेर मस्तमौला र उन्मुक्त हाँसो हाँस्दै उसले गालिबको यो कवितांश सुनाउने छ—
यारों की कदूरतें है अब तो हम से ।
जिस रोज कि हम जायेंगे इस आलम से ।
उस रोज खुलेगी साफ सब पर ये बात,
इस बज्म की रौनक थी हमारे दम से ।’
हेर्दाहेर्दै प्रतीक्षाको घडी समाप्त भयो ।
एक दिनअघि सम्पादक विमल भौकाजीले ‘शारदा’ को ४६औँ अङ्कमा मनु ब्राजाकीको गजल प्रकाशित भएको जानकारी फेसबुकमा सार्वजनिक गरे ।
‘जिन्दगीको हुन्छ दुइटा पानो ।
एउटा भुइँ अर्कोचाहिँ छानो ।
अचेलका ऊँट हात्तीभन्दा,
‘मनु’ सधैँ हुँदो रै’छ सानो ।’
विडम्बना जीवनकालमा प्रकाशित यो अन्तिम रचना छापिएको थाहै नपाई हिँडिदिए ब्राजाकी ।
‘थी खबर गर्म की गालिबके उडेङ्गें पुर्जे, देखने मैं भी गया पै तमासा न हुआ ।’
गालिबले भनेजस्तो मनुको जिन्दगीको अन्तिम ‘तमासा’ पनि राम्रै भयो । फेसबुकभरि हल्ला जताततै थियो । तर, आर्यघाटका ‘कोही’ थिएन ।

‘मनु † तिमी र मैले जिन्दगीका धेरै वर्षहरू साथसाथै बितायौँ तर यो अन्तिम समयमा साथ दिन सकिएन । तिम्रो यो महाप्रस्थानमा हार्दिक श्रद्धाञ्जली †’
शोक–पुस्तिकामा शैलेन्द्र साकारले लेखेपछि अरू हस्ताक्षरहरू मिसिँदै गए । ज्ञानुवाकर पौडेल, तुलसी दिवस, नयनराज पाण्डे, इस्माली, नारायण तिवारी, जीवेन्द्रदेव गिरी, मातृका पोखरेल, रवि प्राञ्जल, अभय श्रेष्ठ, मनोज न्यौपाने, रत्न कोजु, जीवन पानी, सुनील पुरी, बाबु त्रिपाठी, भेषराज घिमिरे, होम भट्टराई, क्षितिज समर्पण, महेश खड्का, लक्ष्मी श्रेष्ठ, जीतेन्द्र भण्डारी ।
जसले साहित्यका लागि आफ्नो घर भनेन, थर भनेन उसलाई सम्झेर आर्यघाट पुग्ने साहित्यिक नामहरू औँलामा गन्न सकिए ।
एक जना एफएम रिपोर्टर आर्यघाटमा अनुग्रहित थिए । एक–दुई जनाले फोनमै सोधेर काम चलाए । तर, मलामीका मोबाइलबाहेक कुनै डीएसएलआर क्यामेराका फ्ल्यास बलेनन्, मनु ब्राजाकीका शवतिर फर्किएर । भोलिपल्ट कुनै अखबारमा मनु ब्राजाकीको चिता जल्दै गरेको फोटो छापिएन । कुनै टेलिभिजनमा फुटेज अटाएन ।
‘यही दुुखान्त छ,’ गजलगो सुनील पुरी भन्छन्, ‘श्रद्धाञ्जलीका लागि प्रज्ञा–प्रतिष्ठानमा केहीबेर विश्राम गर्ने समय र ठाउँ पाइएला भन्ने थियो । तर, प्रतिष्ठानका पदाधिकारीहरू टक्टकिए ।’
‘जुन ठाउँमा लास राख्ने हो, त्यो ठाउँमा मर्मत हुँदै छ,’ भन्ने ओठे जवाफ फर्काएगङ्गाप्रसाद उप्रेतीले । नाच्न, भतेर खान जति पनि ठाउँ हुने प्रज्ञा–प्रतिष्ठानको चौरमा मनु ब्राजाकीका लागि ठाउँ नहुने ? यो मुलुकमा कुनै एउटा झन्डाको फेरो नसमात्ने लेखकको कुन हविगत हुन्छ देखाइदिए प्राज्ञहरूले ।
‘के गर्ने ? धेरै कवि–साहित्यकारले सनातनदेखि यस्तै नियति बेहोर्नुपरेको छ,’ ज्ञानुवाकर पौडेल चित्त बुझाउँछन्, ‘भूपी शेरचनका पालामा पाँच जना साहित्यकारहरू आर्यघाट आएका थिए । बालकृष्ण समका पालामा ११ जना । मधुपर्कका सम्पादक नारायणबहादुर सिंहका पालामा पनि सात–आठ जना मात्रै थिए । कम से कम मनु ब्राजाकीका पालामा डेढ दर्जन त कटे ।’
‘सबै बेफुर्सदी भएको नाटक गर्छन् । परेको बेलामा साथ दिँदैनन्,’ नारायण तिवारी भावुक हुँदै भन्छन्, ‘हेर्दै गर्नुहोला ब्राजाकीको कृतित्व र व्यक्तित्व लेख्नेहरू बग्रेल्ती भेटिनेछन् अब । धेरैलाई उनको नाम भजाउन, पारिश्रमिक थाप्न र घर खर्च चलाउन सजिलो हुनेछ ।’
तर आफूलाई लठुवा र दुनियाँलाई पाखण्डी उपनाम दिने मनुलाई जीवनभर कसैसँग स्थायी चित्त दुखाइ थिएन । मरेपछि त कुरै सकियो ।
‘आजसम्म जजसले मलाई मान–सम्मान दिए उहाँहरूलाई धन्यवाद †,’ यो देश, यो समाज, हामी साथीभाइ जसले श्यामबाबु वा चेतमान सिंहबाट मनु ब्राजाकी बनायो, त्यसप्रति मनमा कुनै सहानुभूति छैन ? भन्ने मेरो जिज्ञासामा उनले भनेका थिए, ‘त्यहाँभन्दा बढी म केही दिन सक्दिनँ । जे दिनु हो मैले आफ्नो लेखेर दिइसकेँ ।’

नेपालीमा एक्लो बृहस्पति झूटा भन्ने उखान छ ।
तर, परम्पराभन्दा विपरीत थिए मनु । भन्थे, ‘म एक्लो वृहस्पति होइन, एक्लो एकलव्य हुँ । बृहस्पतिको बेग्लै गुट थियो । मेरो कुनै गुट छैन । जगदीश मेरो प्रिय मित्र हो । तर बेलामा उसको पनि झोला बोक्न सकिएन ।’
सम्भवत: झोला नबोकेकै कारण एउटा ‘बेस्ट–सेलर’ लेखकको महाप्रस्थानका समय आफन्तसहित सय जना साक्षी पुर्‍याउन गाह्रो भयो ।
२०४६ मा पहिलो संस्करण छापिएको मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथासंग्रह २०७२ सालमा छैटौँ संस्करण बजारमा आयो । यो भनेको साझा प्रकाशनको इतिहासमा उल्लेख्य बिक्री हो । साङ्ग्रिला बुक्सले छापेको ‘अन्नपूर्णाको भोज’ पनि निकै बिकेको किताब हो ।
तर किताब जति बिके पनि, नाम जति चले पनि के गर्नु † हाजिर गर्ने बेलामा मलामी गयल भएपछि । बचेखुचेका आठ–दस जनाले आर्यघाटका इँटा पखाले, सकियो ।
तर यसरी गुमनाम बिदाइ हुनुअघि आत्मकथा लेख्न चाहन्थे ब्राजाकी ।
‘अहिले नेपाली साहित्य लेखनको बजारमा आत्मकथा ‘बेचिने माल’ भएको छ । त्यही ठानेर मैले आत्मकथा लेख्न थालेको होइन । यसभन्दा पूर्व नै जगदीश घिमिरेलगायत धेरै शुभचिन्तकहरूले मेरो अध्ययन र भ्रमणको विस्तृति थाहा पाएर आग्रह गरेका थिए । के लेखौँ ? भनेर चिन्तन/मनन गर्दागर्दै दुई दशक बितेर गए । लेखौँ कि नलेखौँले पनि पिरोल्यो,’ उनले भनेका थिए, ‘विश्व–साहित्यका आत्मकथाहरू र हाल नेपाली साहित्यअन्तर्गत लेखिरहिएका जस्ता आत्मकथा लेख्ने शैली र प्रकार आफूलाई प्रेरक नभएकाले ‘बिटेन ट्रयाक’ भन्दा फरक, पृष्ठपोषणभन्दा पृथक् शैली र संरचनाको अन्वेषण गर्दै लेखिरहेको छु— मेरो चेतनाको जीवनयात्रा † चिन्तनको गतिकी र भोगाइको वैयक्तिकताको निजत्वमा विश्वस्त हुने/नहुने पाठकको अधिकार क्षेत्रको कुरा हो । यसमा मेरो कुनै दाबी छैन ।’
तर नेपाल समाचारपत्रमा छापिएको धाराबाहिक ‘कान्छी बेगम’ उपन्यासजस्तै जीवनकालमा आत्मकथा लेख्ने मनुको अन्तिम रहर पनि अधुरै रहयो ।
मध्यकालीन सामन्ती संस्कार र आधुनिकताले ल्याएका समस्त दुर्गुणहरू छेलोखेलो भएको समाजमा मनु आफ्नो जीवन जिउने शैली ‘एब्नर्मल’ (असामान्य) मान्थे । जिउने शैली मात्र होइन उनको विचार पनि उस्तै छक्कलाग्दो हुन्थ्यो ।
‘जीवनमा साहित्यकार बनेर ठूलो पछुतो लागेको छ,’ उनी भन्थे, ‘तर साहित्यकार नबनेको भए अझै ठूलो पछुतो लाग्ने थियो ।’

आमा शान्तिदेवी सिंह (९६) अझै हिँड्दै–डुल्दै छिन् ।
मनुलाई भने ७५ वर्ष कटाउन सकस भयो । यायावर कोठामा धेरै वर्ष खुम्चिए ।
‘कतिपय बेलामा ग्लानिजस्तो हुन्छ कि केही गर्न नसकेर बसीबसी भात मात्रै खाइरहेको छु भनेजस्तो,’ कुरैकुरामा एक दिन उनले मसँग भने, ‘हुन त पहिले पनि आफ्नो परिवारका लागि मैले केही पनि गर्न सक्या होइन । र, परिवारले भोग्नुपर्ने दु:ख–पीडा उनीहरूले चुपचाप भोगेका छन्, त्यही नै मेरा लागि ठूलो श्रद्धाञ्जली भा’को छ ।’
तुलसीहरि कोइरालाका अनुसार मनु ब्राजाकी मस्तराम स्रष्टा थिए एकलकाँटे स्वभावका, जिज्ञासु र तर्कशील व्यक्ति । बिर्सिनेका सम्झनाहरूमा बाँचिरहने ।
तर बुज्रुकहरूले उनको सम्मान गर्न जानेनन् । हुँदाहुँदा प्राज्ञहरूकै थलोबाट उनको २१ वटा कथाहरूको सञ्चयन ‘आमालाई बेच्नु हुँदैन लाटा †’ को पाण्डुलिपि बेपत्ता भयो । २०५४ फागुन ३ गते ३६ नम्बरमा दर्ता गरेको पाण्डुलिपि कहाँ छ ? प्राज्ञ साथी भाउपन्थीले पनि कुनै सूचना दिन सकेनन् ।
मनुको कथाकारिताबारे थेसिस लेख्ने क्रममा विमल अधिकारी पाण्डुलिपिसम्बन्धी जिज्ञासा बोकेर धेरैपल्ट प्रतिष्ठान धाए । तर, ढाकको तीन पात भयो । ‘२०६० सालसम्म थियो रे... खोजिरहेका छौँ,’ २०७० मा सदस्य–सचिव बनेका सनत रेग्मीले विमललाई यस्तै जवाफ दिए, ‘हराएको रहेछ भने क्षमा माग्नुबाहेक अन्य विकल्प छैन ।’
पछिल्लो समय यसबारे कसैले सोध्यो कि जवाफ दिन झर्को मान्थे ब्राजाकी ।
‘होइन, यसरी एउटा कथासङ्ग्रहको पाण्डुलिपि बेपत्ता पार्दा पनि तपाईं चुपचाप हुनुहुन्छ, यसबारे कतै उजुरबाजुर नलाग्ने नै हो त ? पाण्डुलिपि बुझाएको प्रमाण पनि त होला नि ?’ नारायण तिवारीले सोधे ।
‘के गरूँ ? गाऊँ ? गाउन आउँदैन । नाचूँ ? आँगन टेढो छ,’ च्याँट्ठिँदै ब्राजाकीले प्रतिप्रश्न गरे ‘बलात्कारपछि सप्रमाण बलात्कारी भेटिए पनि के हुन्छ ?’
फेसबुकको चल्ती नहुँदाका दिनमा अहिलेका धेरै लेखक, कवि, साहित्यकार, पत्रकारका प्रिय पत्रमित्र थिए मनु । धर्के पानामा पूरा डिको नतानेका चिटिक्कका अक्षर उनको पहिचान थियो । उनको एउटा बानी के थियो भने उनी अन्तर्वार्ता लिन इच्छुक जिज्ञासुलाई प्रश्न पठाउन भन्थे र यत्नपूर्वक उत्तर लेखेर पठाउँथे ।
‘अरू सबै बेस छ । पोहोर अनावृष्टि थियो, यसपालि अनावृष्टि छ । जे छ, छँदै छ ।’
प्राय: पत्रको अन्तमा उनी यस्तै लेख्थे । र, संस्कृतको एउटा संयुक्त शब्द लेख्न बिर्सिंदैनथे । किमधिकम् । अर्थात् सबै कुरा तपाईंलाई थाहा छँदैछ, धेरै के भन्नु !
सारमा, मन ब्राजाकीका अन्तिम दिनमा पनि मनु दाइले भनेजस्तै भयो— किमधिकम् !


प्रकाशित : माघ २७, २०७४ ११:५८