Author Topic: कथा: तिम्री स्वास्नी र म (मनु ब्राजाकी)  (Read 1003 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
 "तिम्री स्वास्नी र म" साझा पुरस्कार प्राप्त  कथा संग्रह हो

‘तिम्री स्वास्नी र म’ कथा सोही कितावबाट साभार गरिएको हो




कथा: तिम्री स्वास्नी र म
(मनु ब्राजाकी)

छ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो।
त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुण्ड्याएर मत्थर गतिले हिँड्दै थिई। यो जूटको रङ्गीन झोला निकै गरूङ्गो प्रतीत हुन्थ्यो किनभने उसको शरीरको अधिकांश भाग त्यतैतिर ढल्किएको थियो।
युवती निकै आकर्षक थिई। निर्मला मबाट गएपछि म आजकाल यस्तै युवतीहरुतर्फ आकर्षित हुन थालेको छु। स्कूल–कलेजका चञ्चल किशोरीहरुभन्दा पच्चीस–छब्बीस वर्षीया यी विवाहित युवतीहरुमा भिन्नै किसिमको मनोहारी आकर्षण हुन्छ। पूर्णरुपेण फक्रेको क्यामेलिया अथवा थुँगु सयपत्रीको फूलजस्तै। मकरन्दपूर्ण उन्माद र पूर्णयौवनको गाम्भीर्यले सिंगारिएको।
अँ, युवती बिचरी बडो सङ्कटमा थिई। उसको अनुहार पसिनाका थोपाहरुले ढाकेको थियो, जसलाई पुछ्न ऊ ह्यान्डब्यागबाट रूमालसम्म झिक्न समर्थ थिइन। गर्मीको मौसम थियो। एकछिन ऊसँगसँगै हिँडेपछि मैले देखेँ अब पसिनाका थोपाहरु धारामा परिणत हुन थालेका छन्। उसको अनुहारको मेकअप पखालिन थालेको छ। मेकअप उत्ताउलो थिएन। गहुँगोरो अनुहारमा मेरो मनपर्ने हल्का गुलाफी रङ्गसित समन्वित ओठको किञ्चित् गाढा गुलाफी रङ्ग। आँखामा गाजल तर नजानिँदो। यस सौम्य र सुरूचिपूर्ण सिंगारले म झन् मुग्ध भएको थिएँ।
 
म एक्कासी दयार्द्र हुँदै ऊनेर पुगेँ र भनेँ,'कृपया, यो जूटको ठूलो झोला मलाई दिनुस्। म पनि त्यतै जाँदै छु।'
 
तिम्री स्वास्नीले पुलुक्क मतिर हेरी र आफ्नो असहाय अवस्था र भिजेको अनुहार सम्झेर एकछिन नियास्री भई। अनि आफ्नो श्वास–प्रश्वास नियन्त्रित गर्दै यति नै भनी—  'धन्यवाद!'
 र, उसैगरी झोलाको भारले ढल्केर हिँडिराखी। म पनि उसको आसमानी सारीको सर्‍याक्–सुरूक् सुन्दै पछि लागिराखेँ। एकछिनपछि फेरि मैले मन थाम्न सकिनँ।
'सुन्नसु् त, नराम्रो नमान्नुहोला। यस्तो अवस्थामा सहयोग गर्नु सबैको कर्तव्य हो, ल्याउनुस् झोला मलाई दिनुस्। म पनि त्यतै जाँदै छु।' भन्दै मैले उसको हातबाट जूटको ठूलो झोला बलजफ्ती आफ्नो हातमा लिएँ। उसले फेरि पुलुक्क मतिर हेरी र 'धन्यवाद' भनी।
उसको दृष्टिमा कृतज्ञताभावभन्दा कुतूहलभाव प्रस्टिएको थियो। तर मेरो सौम्य, गम्भीर र आत्मीय मुखमुद्रा देखेर आश्वस्त भई। अनि एकछिन अडिएर नाइलनको तारको झोला भुईमा राख्दै ह्यान्डब्यागबाट पहेँलो लेडिज रूमाल झिकेर अनुहारको पसिना मेकअप नलत्पतिनेगरी हल्का तवरले पुछ्न थाली। एक्कासि मेरो मुखमुद्रा बदलियो र उसको सुडौल देहयष्टिलाई लोलुप नजरले हेर्न थालेँ, जहाँ कामीको खलाँती झैँ चलेको श्वासप्रश्वासले उसका कलशद्वय उद्वेलित भइराखेका थिए।
'कस्तो घाम, उफ्!'
'अँ।' भन्दै मैले पनि मौसमअनुकूल जवाफ दिएँ।
झोला निकै गरुङ्गो रहेछ। मेरो पनि दाहिने हात तन्केर घुँडा छोला जस्तो गर्‍यो। लाग्यो, झोलामा अन्य चीजबीजहरुभन्दा आलुकै मात्रा बढी छ। स्वास्नीमान्छेहरु जे सस्तो छ र जे सहज प्राप्य छ त्यतैतिर झुम्मिन्छन्। खूबै मोलभाउ गर्छन्, महँगोमा पर्छन्– मीठोमीठो बोलीवचनले गर्दा। यत्रा यातायातका साधनहरु छन् तर वरिपरि नै आधार खोज्छन् सहजप्राप्यले गर्दा निर्मला पनि त यस्तै थिई।
'तपाईंले मलाई चिन्नुभो र?' भन्दै उसले मतिर नियालेर हेरी।
'चिनेर मात्र आफ्नो कर्तव्यपालन गरिन्छ र?' प्रतिप्रश्न मेरो थियो।
मेरो अनुहार फेरि सौम्य र भद्र भइसकेको थियो। प्रतिप्रश्नले गर्दा ऊ एकछिन चुप लागी र भनी, 'निकै सहृदयी हुनुहुँदो रै'छ, धन्यवाद!'
उसको शब्द चयनले गर्दा मलाई ऊ सुशिक्षित छे भन्ने लाग्यो।
'सहृदयता अर्जित गुण हुँदैन, स्वभाव हुन्छ।'
« Last Edit: February 04, 2018, 06:23:05 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
2

उसले हाँसेर मतिर हेरी र कुनै जवाफ दिइन। मैले उसलाई अघि लगाएँ र आफू उसलाई अन्यथा अनुभव हुन नदिई एक पाइलो पछि परेँ किनभने मलाई उसको टोल र घरबारे केही थाहा थिएन। एकछिनपछि फेरि उसलाई नारीसुलभ वाचालताले घच्घच्यायो र वार्तालाप, पहिलो पटक भेट हुँदा हुने वार्तालाप, मौसम, महँगी हुँदै राजनीतिसम्म पुग्यो। यद्यपि घरेलु नारीको लागि राजनीति उस्तो आकर्षक विषय होइन तापनि शिक्षित छु भन्ने देखाउन अपरिचित अथवा नवपरिचितसित चर्चा गरिन्छ नै। राजनीतिक चर्चामा नारीहरुको विशेष रूचि मूलभूत सैद्धान्तिक विचार–विमर्शमा भन्दा प्रशासनिक चलन–विचलनमा बढी हुन्छ। यहाँ पनि सोही भयो। यसै सन्दर्भमा अन्ततः तिम्री स्वास्नीले तिमी अफिसर भएको र तिम्रो प्रशासनिक भूमिकाबारे चर्चा गरी। मैले समर्थनमा मुन्टो हल्लाउँदै रहेँ किनभने नारीलाई स्नेह र समर्थन चाहिन्छ किनभने म स्वयं पनि अफिसर थिएँ र प्रशासनिक कटुमधुर अनुभव मलाई पनि छ। निक्कै ठूलो रकम कुम्ल्याएर त्यागपत्र दिएँ, अथवा दिनुपर्‍यो र अब ठेक्कापट्टा गर्दै छु।
'हेर्नुस् न, कस्तो ब्याडलक! ट्याक्सी नै पाइएन आज।'
गल्ली जस्तो सडकबाट निस्केर हामी फाँटमा आइपुग्यौँ। टाढा–टाढासम्म नवनिर्मित घरहरु छरिएका थिए। ऊ एउटा एकतले र सामान्य वास्तुविन्यासयुक्त घरसामु उभिई। घर अपूर्ण थियो। प्लास्टर गरेको थिएन, तर कम्पाउन्डवाल भन्ने थियो। ग्रिल–गेटको सट्टा तगारो थियो। उसले मतिर होइन तिम्रो घरतिर हेर्दै भनी,'यै हो हाम्रो घर।'
'लौ त, आफ्नो झोला लिनुस्।'
अब त म पनि असिन–पसिन भएर थाकेर चूर भइसक्या थिएँ। अतः झोला उसको हातमा दिएर मैले गोजीबाट रूमाल झिकेँ र पसिना पुछ्न थालेँ। झोला दिँदा फेरि उसका मांसल र कोमल औँलाहरुको स्पर्श पाएँ।
'धन्यवाद! धेरै–धेरै धन्यवाद! एहे तपाईं त ....'
'क्यै छैन, क्यै छैन। तपाईंको यति सेवा गर्न पाएर मैले आफूलाई सौभाग्यशाली ठानेको छु।'
'तपाईंको कुन टोल पर्‍यो?'
'त्यो त पछि परिसक्यो।'
'ए' उसो भए मेरै लागि तपाईंले यति कष्ट ...'
'भैगो केही कष्ट छैन। लौ त अब बिदा दिनोस्।'
अहिले भने उसको आँखामा कृतज्ञता र कताकता किञ्चित् अपनत्वको भाव देखा पर्‍यो। अक्मकाउँदै र यताउति हेर्दै मधुरो स्वरमा भनी, 'एकछिन पर्खिनुस्।'
'के यो झोला भित्रसम्म पुर्‍याइदिउँ कि?' भन्दै उसको हातबाट झोला लिएँ।
'अँ।' अन्यमनस्क भएर उसले भनी।
तगारो खोलेर हामी भित्र पस्दा मैले जुन कुरा देखेँ सो देखेर म विस्मयविमुग्ध भएँ। क्यामेलिया! मेरो प्यारो क्यामेलिया फुलेको रहेछ, पूर्ण यौवनसाथ। नौ महिनाको कठिन प्रयासपश्चात् फुल्ने फूल। एक्कासि रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता 'क्यामेलिया'को सम्झना आयो। दार्जीलिङको पर्वतीय बाला तनुकाको सन्दर्भसहित यस कवितामा बङ्गाली कविगुरूले भनेका पंक्तिहरु मगजमा सगबगाउन थाले।
तनुका बोलले, 'दामी दुर्लभ गाछ
ए देशेर माटिते अनेक यतने बाँचे।”
जिगेस करलेम, “नामट की?”
से बोलले, “क्यामेलिया।”
मलाई क्यामेलियातिर टक लगाएर हेरेको देखेर उसले हर्षित हुँदै भनी, 'कति राम्रो फूल छ हगि? ल्याउनुस् झोला दिनुस्।'
'अब म बिदा हौँ त?' झोला दिँदै मैले भनेँ।
'कहाँ हुन्थ्यो, एक कप चियासम्म खाएर जानुस् न। साह्रै थाक्नुभो।'
जम्मा चारवटा कोठाको एकतले घरमा उसले मलाई ड्रइङ रुममा बसालेर हस्याफस्याङ गर्दे आफू किचेनतिर लागी। बैठक सादा तर सुरूचिपूर्ण थियो। फ्रेन्च विन्डोमा ग्रिल र पर्दा दुवै थियो तर शिशा हालेको थिएन। निर्माणाधीन घरमा यस्तै हुन्छ। निकैबेरपछि ऊ आई— एउटा हातमा चियाको कप–प्लेट र अर्को हातमा अम्लेटको रिकापी लिएर।
'एकछिन कुर्नुपर्‍यो, हगि?'
'यत्रो कष्ट किन गर्नुभएको? अनि तपाईंलाई ख्वै त?'
“म आउँछु, तपाईं खाँदै गर्नुस्।”
अतिथिपरायणताको गृहिणीसुलभ उमङ्गले उल्लसित हुँदै ऊ फेरि किचेनतिर हानिई र आफूलाई पनि चिया ल्याई।
'यी यहाँ मेरो श्रीमान्!' उसले भित्तातिर औँल्याउँदै भनी।
मैले त्यतै हेरेँ। अफिसियल पार्टी खाँदाखाँदा डम्म परेको अनुहार, घोप्टे जुँघा, ढाकाको टोपी।
'बडो ह्यान्डसम हुनुहुँदो रहेछ!'
ऊ चोरआँखाले मतिर हेर्दै लजाई र गहुँगोरो अनुहार आरक्त भयो। एकछिन अझैको वार्तालापबाट थाहा पाएँ एउटी छोरी छे ६ वर्षकी, स्कूल जान्छे। एउटा श्रीमान् छन्, जो अफिस जान्छन् र साँझ झमक्क नपारी घर फर्किंदैनन्।
बिदा हुँदा शिष्ट ढङ्गले ठट्टा गरेँ— 'बाहिर क्यामेलिया फुलेको छ र भित्र तपाईं। अब बिदा दिनुस्।'
फेरि चोरआँखाले मतिर हेरेर हाँसी र भनी— 'नमस्ते! आउँदै गर्नुहोला है!'
यो नितान्त औपचारिक वाक्य थियो तर यसैलाई मैले सहारा दिनुपर्ने चोरऔँला ठानेर समाएँ।
अनि त तिम्रो स्वास्नीसँगको भेटघाट क्रममा यहाँ आवतजावत निर्वाध चल्यो।
भेटघाट कहिले बजारमा, कहिले घरमा गर्दै दुई महिना बित्यो। आत्मीयता पल्लवित भयो, पुष्पित भयो। अनि कहिलेदेखि हो कुन्नि 'तपाईं–तपाईं' को भनाभन 'तिमी–तिमी' मा परिणत भयो, दुवैलाई थाहा भएन। एकदिन अकस्मात् तिमी अफिसबाट छिट्टै घर आइपुग्यौ। हामी कुनै अश्लील अवस्थामा थिएनौँ किनभने बल्ल 'तिमी–तिमी'को स्तरसम्म आत्मीयता पुगेको थियो। मैले चियाको कप सेन्टर टेबुलमा राखेर उठ्दै तिमीलाई नमस्कार गरेँ।
एकछिन बादल लाग्यो। अनि लगत्तै झलमल्ल घाम भयो।
'यहाँ को हुनुहुन्छ?' पौरूषको एकाधिकारी सन्देहले जिज्ञासा गर्‍यो।
'मेरो मीतदाजु हुनुहुन्छ,' तिम्री स्वास्नीले एकक्षण पनि नबिराएर भनी।
'यत्रा दिनपछि जेठानसाहेबको सवारी भएछ। के गर्नुहुन्छ?'
'यसो सानोतिनो ठेक्कापट्टा गर्छु। आज बैनीसित पनि भेटौँ, हजुरको पनि दर्शन गरौँ भनेर आएको।'
'मसित क्यै काम थियो कि? लौ त आज यहीँ खाएर जाने अब।'
घाम अझै झलमलायमान भयो।
कति छिटो उसले ढाँटेर मलाई 'मीतदाजु' बनाई। यो स्वास्नीमान्छेको त्वरित छलबुद्धिको प्रमाण हो। उसले मलाई सहपाठी, छिमेकी, साथी पनि भन्न सक्थी तर भनिन। नारीको पुरूष–मनोविज्ञानको ज्ञान पुरूषको नारी–मनोविज्ञानको ज्ञानभन्दा श्रेष्ठतर हुन्छ— विशेषगरी व्यावहारिक सन्दर्भमा। आफ्नो स्नेहसूत्र कायम राख्न नारीले यस्तै सानासाना झुट बोलेर पुरूषको एकाधिकारी प्रवृत्ति र अहंलाई श्रद्धासुमन चढाइराख्छे। तर पुरूषको लिंडे बलले यसैलाई स्त्रीयाचरित्र भन्छ।
यसैगरी यदाकदा तिमीसित, प्रायःजसो तिम्री स्वास्नीसित भेटघाट गर्दै अझ छ महिना बित्यो। अनि कसरी ड्रइङ रुमको स्नेह र आत्मीयता बेड रुममा गएर टुङ्गियो, सो कुराको ज्ञान न ता मलाई नै भयो न ता तिम्री स्वास्नीलाई नै। नजीक र आफूभित्र घटित हुने घटनाको प्रभाव त थाहा हुन्छ तर समय–कालको ज्ञान हुँदैन। अनि त सातामा एक–दुईपटक कहिले तिम्री स्वास्नीको आग्रहले र कहिले मेरो आग्रहले आत्मीय बेडरुम कार्यक्रम चल्दै राख्यो। बाहिरको क्यामेलिया आठ महिनापश्चात् हाम्रो हृदयबाटिकामा पूर्णयौवनासाथ फुल्न थाल्यो। मबाट स्नेह र सन्तुष्टिको सहारा पाएर उसले अब तिम्रो अवगुणको पनि आलोचना गर्न थालिसकेकी थिई। तिम्रा गुणहरु गौण हुँदै गएका थिए। बेला–बेलामा मैले ल्याएको स्नेहोपहारले मेरो गुणगरिमा बढाएको थियो। तिमीलाई सन्देह नहोस् भनेर एकदिन मैले तिम्रो लागि पनि एउटा निकै दामी रोलेक्स घडी ल्याएको थिएँ।
'ज्वाइँसाहेब, यो हजुरको लागि ... मेरो एउटा साथी दिल्ली गएको थियो, उसैले ल्याएको।'
'भैगो राख्नुस्, जेठानसाहेब!'
'मसित छँदै छ नि।'
'मसित पनि त छ।'
हामी दुवै हाँस्न थालेका थियौँ। यसैबीच तिम्री स्वास्नीले प्याच्च भनी—
'तपाईं त साह्रै खर्चालु हुनुहुँदो रै'छ, दाइ!'
'बैनीलाईभन्दा ज्वाइँलाई खुसी पारे पो त बैनीले सुक्ख पाउली।'
'ठेक्काको पैसा के छ र?' भन्दै तिमी हाँस्यौ।
अनि हामी तीनैजना हाँसेका थियौँ।
तिम्रो हाँसोमा अफिसरीय खोक्रो अट्टहास थियो, मेरो हाँसोमा व्यापारिक कुटिलता थियो भने तिम्री स्वास्नीको हाँसोमा ईर्ष्यामिश्रित उपेक्षा थियो।
अनि भोलिपल्टै उसको ईर्ष्यामिश्रित हाँसोलाई साम्य पार्न मैले एउटा गहकिलै स्नेहोपहार लिएर दिउँसो एक बजेतिर उपस्थित भएको थिएँ। उसले मलाई ड्रइङरुममा नबसाएर सोझै बेडरुममा लगी। लगाएर देखाई। अनि लगत्तै हामी बेडरुम कार्यक्रममा व्यस्त भयौँ। त्यस दिन आनन्दातिरेकमा तिम्री स्वास्नीले भनेकी थिई, 'म त तिम्री हुनुपर्ने हगि?'
मैले निर्मलालाई छोडेदेखि कुनै आफ्नो मनले खाएकी नारीले मलाई यसो भनोस् भन्ने प्रतीक्षामा थिएँ। सहज भएर ड्रइङ रुममा आएपछि चियाको घुट्को निल्दै मैले भनेँ,'यसरी कति दिन चल्ला?'
'जति दिन चल्ला चल्ला,' सन्तुष्टिको निस्पि्कक्रीपनले ऊ हाँसी।
'के हामी सधैँभरिको लागि एकअर्काको हुन सक्तैनौँ? आऊ जाउँ छोडेर यो दुनियाँ र आफ्नो नयाँ दुनियाँ बसाउँ!'
'के रे?' तिम्री स्वास्नी झस्किई र घोरिन थाली।
'के रे से रे होइन अब म तिमीबिना एकक्षण पनि बाँच्न सक्तिनँ। के मेरो माया लाग्दैन र?'
'लाग्छ,' भनेर उसले मतिर चोरआँखाले हेरी र फेरि घोरिन थाली।
निकैबेरसम्म तिम्री स्वास्नी र मेरो गलबद्दी भयो। ऊ अन्कनाउँदै रही म फकाउँदै रहेँ। अन्ततः मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भनेँ, 'म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने?'
'कस्तो अबुझजस्तो कुरा गर्‍या …म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु? तिमी त उसै भेट भएका थियौ।'
'उसै!' म अक्मकिएँ।
'अँ, उसै त हो नि।' तिम्री स्वास्नी झर्केर शब्द–शब्द अँठ्याएर बोल्दै थिई।
एक्कासि म झल्याँस्स भएँ। यस आकस्मिक, अप्रत्यासित र अकल्पनीय जवाफले गर्दा म ऊतिर एकछिनसम्म घोरिएर हेरिराखेँ। हेरिमात्र राखेँ। तर मगजमा कुनै कुरा फुरेन। ऊ भने मतिर हेर्न नसकेर भित्तातिर हेर्दै थिई जहाँबाट तिम्रो फोटोले उसलाई हेर्दै थियो। क्षुब्ध मनस्थितिमा म त्यहाँबाट हिँड्न जुरूक्क उठेँ। उसले मेरो मनोभाव बुझेर सम्भ्रम चालले उठेर ढोकामा आई र आफ्नो सुडौल पाखुरा पखेटाझैँ फिंजाएर भनी, 'रिसाएको? लोग्नेमान्छेहरु कति छिटो रिसाउँछन्। अहिले नजाऊ न, म फेरि चिया ल्याउँछु है?'
'जान देऊ फेरि आउँला।'
'हेर, शरीर जसलाई सुम्पे पनि मन त तिमीलाई नै सुम्पेकी छु। तापनि तिमी रिसाएर जाँदै छौ पक्का आउँदैराख्ने हो भने मात्र म बाटो दिन्छु। आउँदैराख्छु भन न ल ....... ल ....... ल भन न।' उसको अनुहारमा आह्वान तीव्रतासाथ टल्किँदै थियो।
म सोच्दै थिएँ निर्मलाले पनि यसै भनेकी थिई, 'त्यो त उसै भेट भएकी' अनि तिम्री स्वास्नीले पनि यसै भनी, 'तिमी त उसै भेट भएको।'
तिम्री स्वास्नी र मेरी स्वास्नी दुवैले दिएको एउटै उत्तरले गर्दा म तुलनात्मक द्विविधामा परेँ। तिम्री स्वास्नीले शरीर तिमीलाई र मन मलाई सुम्पेको कुरा नितान्त तार्किक लाग्यो।
वर्षदिन पूर्व निर्मलाले 'उसै भेटेको' लाई शरीर सुम्पिन थाल्दा म टुप्लुक्क आइपुगेको थिएँ। 'उसै भेटेको' त उसै बेपत्ता भइहाल्यो फेला परी निर्मला। कुट्नसम्म कुटेँ, ओठ काटिएर रगत पनि बग्यो। ऊ हात जोरेर रूँदै माफी माग्दै रही। उसले प्रतिवाद गर्ने ठाउँ नै थिएन। भ्रमको धमिलो पर्दासम्म पनि भएको भए ऊ मसित उग्ररुपले बाझेर आफूलाई पतिब्रता सिद्ध गर्न खोज्ने थिई। तर प्रत्यक्षरुपमा समातिएपछि ऊ निरुत्तर भई। अझै कुट्ने थिएँ तर पल्लो कोठामा डेढ वर्षे छोरो गोपु बिउँझेर रून थालेको हुँदा कुटाई बन्द गर्नुपर्‍यो।
'को थियो त्यो?'
बोलिन।
'को हो भन्या?'
'मेरो कोही होइन त्यो, उसै भेटिएको थियो, विश्वास गर्नुस्। अब म हजुरको पाउ छोडेर कतै जान्नँ।'
'कोही होइन। उसै भेटेको रे! तैँले जानैपर्छ। उसै भेटिनेजति सबैलाई ल्याएर मेरो घर होटेल र रण्डीखाना बनाउने?' मैले जुठा प्लेट र चियाका खाली कपहरुतिर हेर्दै भनेँ।
'बरू मेरो हातखुट्टा भाँचिदिनुस् तर यो घरबाट ननिकाल्नुस्, मेरो हजुर! म मर्छु। विश्वास गर्नुस् त्यो मेरो ...'
'मलाई छैन विश्वास तँ रण्डीमाथि। जा निस्किहाल् ... अहिल्यै। नारायणघाट जाने बस भेट्टाउँछेस्। पैसा–सैसा केही बोकिस् भने काट्छु तँलाई। ड्राइभर–कन्डक्टर पनि भेटिएलान् उसै। तँमाथि दया गरेको यत्ति हो। निस्किहाल् भन्या... नत्र अहिले चुपी झिकेर छाला तार्छु तेरो।'
अनि ऊ गोपुलाई बोकेर घरबाट निस्किएकी थिई।
छ महिनासम्म प–पन्ध्र दिनमा निर्मलाका अनुनय–विनयपूर्ण चिठ्ठीहरु आउँदै राखे। अनि बन्द भयो।
अहिले तिम्री स्वास्नी आफ्ना सुडौल पाखुराका पखेटा फिँजाएर ढोकामा उभिएकी छ। तिमीलाई थाहा छैन, त्यसो हुनाले ऊ अझै मेरो बाटो छेक्न तत्पर छे। अब यी पाखुरा स्नेहको होइन स्वार्थको भरदिने पाखुरा भएका छन्। स्नेह र स्वार्थको दूरी धेरै त रहेनछ। एउटै दुष्टिकोणको पातलो पर्दाको वरिपरि दुवै बसेका रहेछन्। तिम्री स्वास्नी त तिम्री नै रहिछ, म त उसको रखौटा, नाठो, नटुवामात्र। अतः यी पाखुराहरुले अब मलाई बाँध्न सक्दैनन्। 'उसै भेटेको' यी दुई शब्द बीचमा बारम्बार कहिले तिम्रो अनुहार देखापर्थ्यो कहिले गोपुलाई बोकेकी निर्मला देखा पर्थी।
'आउँछु भन न ल ... ल!'
'ल,' मुक्त हुन मैले वितृष्णासाथ भने।
उसले मेरो गालामा म्वाइँ खाई र बाटो छोडिदिई। यो म्वाइँले मेरो गालामात्र होइन मनसमेत पोल्यो र सोचेँ, यो मेरो माया होइन। यो त 'उसै भेटेको' लालसामात्र हो। केही समयपछि बिर्सिहाल्ने छेस्। अनि फेरि उही दालभात रूच्न थाल्नेछ। बिर्सनसक्ने क्षमता पुरूषमा भन्दा नारीमा बढी हुन्छ। अनि पो त सामान्यतः आत्महत्या गर्नेहरुमा नारीको भन्दा पुरूषको संख्या बढी देखिन्छ।
बाहिर आएँ। क्यामेलियातिर हेरेँ। अब त्यहाँ फूल थिएनन् पातैपात मात्र। रवीन्द्रनाथलाई सम्झेँ गीतैगीत मात्र। त्यहाँबाट म सरासर बस स्ट्यान्डतिर लागेँ।
दुई तीस भएको रहेछ।
'सिट छ? नारायणघाट।'
'छ दाइ! कतिवटा?'
'यताबाट एउटा, उताबाट दुइटा,' अन्यमनस्क छु।
'उताबाट उतै किन्नुहोला, दाइ!'
'ए˜ ल? ठीक छ। कति बजे पुग्ला?'
'एघार बजे रातिसम्म पुगिहाल्छ नि!'
समय छ।
यसबीच रत्नपार्क, भोटाहिटी, असन, नयाँसडक कताकता डुलेँ, को–कोसँग भेटेँ, के–के कुरा गरेँ, कुन्नि? यो डुलाइभरि म निर्मलालाई भन्न उपयुक्त शब्द खोज्दै थिएँ। साढे छबजे बसमा चढ्दासम्म बल्ल–बल्ल दुईवटा वाक्य बनाएँ।
एघार बजे राति बूढी सासूले भन्दा निर्मलाले नै ढोका उघार्ली अनि भनौँला।
'निर्मला, म उसै आएँ। भित्र आउन दिन्छ्यौ?'
बस खोक्छ, खकार्छ, अनि चिच्याउँदै गुड्न थाल्छ।
म सिटमा ढल्किनासाथ नारायणघाट पुग्छु र निर्मलाको आँसु पुछ्दै गोपुलाई जिस्क्याउन थाल्छु।
(ब्राजाकीको कथा संग्रह 'तिम्री स्वास्नी र म'बाट।)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
कथा : भैगो दिनुपर्दैन

एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ?

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक। ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ। चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ।

बाहिर किन ? भित्र आउनुस्।

खरदारनी बजै (जो यो माघदेखि पच्चीस पुगेर छब्बीस लागी) भित्र पसी। बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन्)हिटरनेर बसेर आह्वान गर्दैछन्।

आउनुस्, बस्नुस्, सञ्चै छ ?

सञ्चै, नमस्कार !

नातिसामु बजै खुम्चेर सोफामा बस्छिन्। बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन्। रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ। उत्सुक र प्रसन्न नातिको अनुहार मुख हुन्छ।

अनि भन्नुस् ?

अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन। घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो। तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौ पटक पनि आउन सकेकी हो। वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु’ गन्न अहिले सकिराखेकी छैन। यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ। तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै पर्‍यो।

कति कामले आउनु भएको थियो ?

ए अँ, अलिकति घरायसी किनमेल थियो………यहाँसित …………..

फेरि बिझायो, सोफा होइन, संकोच। पाँच पटकमा पाँच वटा तगारा। सबै तगाराहरु एकैचोटी फड्किन कति गाहारो !

ए बुझेँ बुझेँ, कति चाहियो ?

अहिलेलाई गोडा पच्चिसेक भए……

ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ।

ल लिनुस्……….अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्‍ने भनेर। ग्यारेजमा काम छ।

हजुरलाई पछिको पनि हिसाप दिनु छ………….

भो-भो दिनुपर्दैन, काम चलाउनुस्। यो त मैले हिजो पप्लुमा जितेको।

ऊ दातातिर हेर्छे। दाता विधाता झैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन्। ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे। ‘दिनुपर्दैन’ ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ। के- के ? विवरण प्रष्ट छैन। अस्पष्टताले कुनै अन्यौलमा पार्दैन। बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्दछन्। आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला। यी दुवै कहिल्यै समानान्तर हुँदैनन्। एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान। अनि भेट हुने कुनामा पप्लु चल्छ। एउटा हार्छ, अर्को जित्छ।

ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन। स्वास्नीमान्छेले ‘सम्पति’ कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा। के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन्। यो सोचेर उसलाई झर्को लाग्छ। जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे। अब समापन भाषण पनि त हुनुपर्‍यो। ऊ भन्छे-

यस्तो संकटमा पनि हजुरले यति गुन……….

आ….केको गुन ? फेरि पनि सार्‍हो गार्‍हो परे आए हुन्छ नि !

हस् नमस्कार ! अनुहार झन् उज्यालो छ।

घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन्। लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ। लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी

दियो ?

दियो, पच्चीसवटा। यति नै माग्ने भनेको होइन ?

अँ, लौ काम चलिहाल्यो। आज त माछा पनि पर्ने भएको छ।

काँ ?

खोलामा हैन अफिसमा क्या। कस्ती लाटी रैछ। बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो।

अलि ठूलो माछा पारे पो। कैलेकाहीँ पार्नुहुन्छ। त्यै पनि बुदुना र भोटी।

असला पर्छ क्या असला। अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला।

असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला। मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला।

तेरो खर्दारको मात्रै मुख छ, हैन ? अफिसमा त अरु छँदै छैनन् ? जतो जाल त्यत्रै माछा।

छोराहरु माछाको प्रसङ्ग सुनेर पाठ बिर्सन्छन्।

सानो छोरो, कत्रा माछा ल्याउने बा ?

ठूलो छोरो, एफ आई एस एच फिस्, फिस् माने माछा।

चूप लाग, पढ्नु सढ्नु छैन। पढ् बसेर।

दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन्। अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन्।

त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो। ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे।

अनि सम्झिएरै फेरि भन्छे, उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन्।

आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, किन ?

कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन।

ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ। भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे। आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलार्न खोज्दा उसको सुद्धि हराएछ- यसोभन्दा कसो पर्ला भनेर। ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ। ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे।

हामी माग्ने त होइनौँ ?

घर व्यवहार भएको मान्छे माग्ने हुँदैन। अनि सापटी लिने चलन नौलो पनि होइन। सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन-गाउँघरदेखि अन्तर्राष्ट्रियसम्म। अन्तर्राष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस्। भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसूस गरिन्छ। बुद्धि बढेर आउँछ। बुद्धत्वले छुन-छुन आँट्छ। कन्तुरको इज्जत कन्तुरमै रहन्छ। माग्ने त भइँदैन ?

एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा-

हामी माग्ने त होइनौँ ?

स्वास्नी दलिनभित्ता हेर्दैछ। उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो। बहस गर्नु व्यर्थ छ। बरु झोला बोकाउनु बेस। अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णु झैँ ठिङ्ग उभिनेछ।

उनको भन्ने काम, भने। फर्काइदिउँला। ल, यो झोला लेऊ। यी रुपियाँ पनि। दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी आफूलाई चुरोट पनि ल्याउनू। कति ठूटो खाएको ? नखानू भन्छन्। टीबी हुन्छ रे।

झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो। तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु। उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो।

ए, अँ सिमन्टी खोजिदिनू भन्थे…..

मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न।

किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन !

बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो।

चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो।

एफ आई एस एच फिस्, फिस् माने माछा !

आमा ख्वै माछा ?

ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ। ब्लेड पनि किन्नुपर्ने। ऊ अझै रन्थनिएकै छ। तर सडकमा रन्थनिएर हिँड्नु भएन। किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला।

एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो।

भएन, हुँदै भएन। ठ्याम्मै हिसाब मिलेन। बरु पचास माग्नुपर्ने रहेछ। के थाहा यति सजिलै पाइएला भन्ने। नत्र…………कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?

थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने। अहिले त सूर्य बलिराखेको छ- झलमल्ल। प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन। त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ। देख्छ, बीस रुपैयाँ घरखर्च- जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा। माछा समात्न अफिस पनि त पुग्नुछ। यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ। यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला। अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो- गोजीमा पाँच रुपियाँ।

अनुहार छाम्छ, खस्रै छ। दिक्क लाग्छ। पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि छि यो त भएन।

अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ। उसको जालमा पर्दैपर्दिन। हरे राम ! गरिपलाई कतै सुख छैन। होस् खस्रै अनुहार।

बीस रुपैयाँको जे जित आउँछ, किन्यो।

अब गोजीमा पाँच रुपियाँ छ, यसको आफ्नो निजी सम्पति। यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नुछ।

पाँच रुपैयाँ छ। पुलकित छ।

ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न। साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुङ्गी त होइन तापनि भँगेरो फिस्टो त हो नै।

दशओटा गैँडा देऊ त साहुनी मैयाँ ! ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ।

साहुनी ‘मैयाँ’ शब्दले गर्दा झस्केर ऊतिर हेर्छे। ऊ पासो थापेर बसेको शिकारी झैँ चनाखो भएर साहुनितिर हेर्दैछ। साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे। ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन। साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन।

चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?

‘बाजे’ले उसलाई झस्काएर ‘नाति’ छेउ पुर्‍याउँछ। नाति झैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, भैगो, दिनुपर्दैन।

ऊ निधारमा गाँठो पारेर भन्छे, किन ?

किन ? ऊ अलमलिन्छ। ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, लेऊ।

ऊ परिस्थिति नबुझेर नाति झैँ कल्पनामा रङ्गमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरे झैँ भन्छ, भैगो भैगो पर्दैन।

किन पर्दैन बाज्या ? भनेर उसले चानचुन पैसा भूँइमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुण्ट्याइदिन्छ।

पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन्।

ऊ ‘नाति’ को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ।

के भो ? के भो ?

मुण्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन्।

मानिसहरु बटुलिन्छन्। मात्र तमासा हेर्ने।


(ब्राजाकीको कथा संग्रह 'तिम्री स्वास्नी र म'बाट।)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
कथा : भ्रष्ट भगवान

~मनु ब्राजाकी~Manu Brajaki


सामन्त शिरोमणि सिंहासनबाट गए ।
तर्साउनका लागि इतिहास भूत भयो ।
बल्ल अब सामन्ती प्रजातन्त्र आयो ।
गनवादी गनतन्त्र पनि आयो ।
विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो ।
जंगल सहरमा आयो, सहर जंगली भयो ।
राजनीतिले यसै जंगलमा मंगल सुरु गर्‍यो ।
नयाँ नेपालको जग हो कि चिहान खनिन थाल्यो ।
अर्थात्-
. उसलाई भनेको ईश्वरप्रसाद आचार्योपाध्यायलाई लाग्यो अब उसले नेता हुनुपर्छ । किनभने जे पढियो राजनीति पढियो । जे भइयो खुट्टा ढोगाउने भइयो ।
. उसको साथी भनेको बलबहादुर ‘निर्बल’ चाहिँ जनताका दुःखसुख लेखेर र भट्याएर उहिले नै कविजी माने साहित्यकार भइसक्या थियो ।
नयाँ नेपालमा यी दुई नेपाली र नेपालको कथा बल्ल अब सुरु भयो ।
यस इलाकामा एउटा बलशाली र उच्चतम पहुँच भएको नेता छ ।
यसै इलाकामा एउटा लोकप्रिय र नितान्त निर्बल साहित्यकार पनि छ ।
दुवै सहपाठी थिए ।

अतः त्यो शक्तिशाली नेता बेलाबखत आफ्नो सहपाठी साहित्यकारकहाँ पुग्थ्यो र सदैव एउटै प्रश्न गथ्र्यो ।
‘भन्, अब म को हुँ ? ’

साहित्यकार नेताको गर्वोक्तिमय प्रश्न सुन्थ्यो र सदैव त्यस प्रश्नको उत्तर दिन आलटाल गथ्र्यो । यताउतिका मीठामसिना कुरा गरेर नेतालाई फर्काइदिन्थ्यो ।

एक दिन त्यो उच्चतम् पहुँच भएको शक्तिशाली नेता साहित्यकारसित आफ्नो प्रश्नको जवाफ पाउन कम्मर कसेरै आयो । उसलाई लाग्यो, साहित्यकारले उसको प्रश्नको मर्म र महत्व बुझेन । अतः साहित्यकारकहाँ पुग्नासाथ उसले आफ्नो पुरानो प्रश्न अलि कड्केर सोध्यो ।
‘भन्, म को हुँ ? ’

साहित्यकारलाई चुप लागेको देखेर नेतालाई लाग्यो यसले प्रश्न राम्ररी बुझेन । त्यसो हुनाले उसले आफ्नै प्रश्नको व्याख्या गर्न थाल्यो ।
‘हेर, म यहाँको राजनीतिक नेता हुँ, बुझ्यौ ? ’

साहित्यकारले नेतातिर हेर्‍यो र मनमनै बुझ्यो, ‘समाजमा भाँजो हाल्ने र झझगडा मच्चाएर भोट र नोट बटुल्ने यै मनुवा हो !’
‘हेर, म यहाँको धार्मिक नेता हुँ, बुझ्यौ ? ’

साहित्यकारले ऊतिर नहेरी मनमनै बुझ्यो, ‘समाजमा विभिन्न धर्मका कर्मकाण्डीय विभेदलाई चर्काएर घुणा र शत्रुभाव उत्पन्न गर्ने मनुवा हो !’
‘हेर, म आधा आकाश ढाक्ने नारीहरूको मुक्तिसंघर्षको संरक्षक हुँ, बुझ्यौ ? ’

साहित्यकारले अझै पनि जवाफ नदिई मनमनै बुझ्यो, ‘चेलीबेटी बेचबिखनको उच्चस्तरीय संरक्षक यै मनुवा हो ।’
‘हेर, म यहाँको आर्थिक क्षेत्रको पनि नेता हुँ, बुझ्यौ ? ’

साहित्यकारले नेतातिर नहेरी मुन्टो निहुर्‍याएर मनोयोगपूर्वक बुझ्यो, ‘महँगी, घूसखोरी र कमिसनतन्त्रजस्ता आर्थिक भ्रष्टाचारलाई संस्थागत गराउने यै मनुवा हो !’
(साहित्यकारझैं मनमनै यस्तै खालका कुरा बुझ्न अचेलका केही नेता पनि साहित्यकार भएका छन् । हे दुई नाउ ! कृपया पारि पुर्‍याऊ !)

आफ्नो प्रश्नको जवाफ पाउन अधीर नेतालाई लाग्यो अब यसले मेरो प्रश्नको मर्म र महत्व बुझ्यो होला । अतः आफ्नो पूर्वप्रश्नलाई व्यंग्यपूर्वक कड्केर सोध्यो, ‘मुन्टो निहुर्‍याएर किन चुप भई बसेको ? लु अब भन, म को हुँ ? ’

उसका प्रश्नले आजित भएको साहित्यकारले मुन्टो ठड्याएर भन्यो, ‘तिमी मान्छे होइनौ !’

राता आँखा लगाएर नेता अझै कड्कियो चर्को स्वरमा, ‘केरे ? फेरि भन् त ।’

साहित्यकारले विनम्रतापूर्वक भन्यो, ‘मैले ठीक भनेको हुँ । तिमी मान्छे होइनौ, तिमी त भगवान् हौ, भगवान् !’

उच्चतम् पहुँच भएको शक्तिशाली नेता, ईश्वरप्रसाद आचार्योपाध्याय, साहित्यकार बलबहादुर ‘निर्बल’को जवाफ सुनेर फुरुंग पर्दै दंगदास भएर गयो । किनभने उसलाई एउटा वर्गविशेषको वर्णविशेषले आफ्नो सामन्ती स्वार्थपूर्तिका लागि कुटिल कल्पानद्वारा जन्माएको भ्रष्ट भगवान्को लौकिक कर्मकाण्डीय तुच्छताका विषयमा केही थाहा थिएन ।

अध्ययनशील साहित्यकार नेता मित्रको अज्ञानले अझै ‘निर्बल’ भयो । सार्वभौम अज्ञानले भगवान् र भगवान् नेता भयो

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

“तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !”

“यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई समथरमा बसेर कुटोकोदालो गर्दै सनातनको बिडो थामेका।”

“तर तपाईँ पनि आजभोलि म जस्तै आधुनिक हुनुभएको छ। आधुनिकता मैले ल्याइनँ, त्यस्तै तपाईँले पनि ल्याउनु भएन। यो त रेल मोटर चढेर टुप्लुक्क आइपुग्यो। आजसम्म पनि हवाइजहाज चढेर आउँदैछ। तपाईँजस्तै म पनि सनातनको भूमिमा सनातन नै रोप्दै थिएँ। एक्कासी ऐँजेरु पलायो।”

“जब आधुनिकता आयो, मैले पनि तपाईँ जस्तै धेरै कुराहरु सोचेको थिएँ। मजस्तै तपाईँ पनि यसलाई ‘चिन्तना’ भन्नुहुन्थ्यो। चिन्तन गर्दा बुद्धि फुर्दा आदर्श देखापर्छ। मलाई जस्तै तपाईँलाई पनि आदर्शवादी, सिद्धान्तवादी, विचारवादी कुन्नि के के वादी प्रतिवादी बन्ने सनक चढेको थियो। अलिकदिन सन्किएपछि बुद्धि ठेगानमा आयो। पुर्‍याइएको ठेगानामा बुद्धि पुग्नु पनि चानचुन कुरा होइन। अँ, ठेगाना भने गलत र सही दुवै हुन्छन् रे! ”

“आदर्शवादी हुनुभन्दा आदर्श पाल्नु धेरै वेस सम्झी एउटा उच्चादर्श पालियो सिक्रीमा कुकुर अथवा पिँजडामा सुगा पाले झैँ। ‘सीता-राम सीता-राम कहो’ भन्नासाथ पाहुनाहरुको अगाडि धर्मात्मा भइने र भुक् भन्नासाथ भुकेर सबैका सामु प्रतिष्ठित भइने काम भयो। आदर्श पालेपछि यो दुनियाँमा मुण्टो पनि ठड्याउन सकिने, टोपी पनि ढल्काउन पाइने र जुँघा पनि बटार्न भ्याइने। यहाँभन्दा बढी बिचरा आदर्शले गर्नै के सकोस् र ? ”

“आदर्शवादी हुनासाथ व्यवहारवादी पनि लगत्तै हुनुपरिहाल्छ अन्यथा बेवकूफ भइने डर हुन्छ। हुनत यै डरले गर्दा नै हामी सगरमाथा बहादुर नेपालीले व्यावहारिक हुनुपरेको होइन, समस्याहरु अरु पनि छन्। यथा, बिहे गरेको हुनाले घर पनि छ, घरैघरको समाज पनि छ, समाजै समाजको देश पनि छ; स्वास्नी भित्र्याएको घर हुनाले आडैमा वेश्यालय पनि छ, नियमै नियमको समाज हुनाले बेनियममा चल्ने असामाजिक तत्त्वहरु पनि छन्, नेतैनेताले नेतृत्व गरिएको देश हुनाले देशद्रोहीहरु पनि छन्, भोटेताल्चै ताल्चा मारेको सम्पति हुनाले तस्करहरु पनि छन्, यस्तै इत्यादि इत्यादिले गर्दा व्यावहारिकवादी बन्नुपरेको हो।”

“अनि व्यवहारवादी भएपछि कुनाकाप्चा, खासखुस, छलकपट, धरपकड, चुक्लीचाकडी, हास्य रोदन सबै सँगे हुने नै भए। एSS, तपाईँ रिसाएको जस्तो देखिनुहुन्छ नि, किन ? तपाईँको र मेरो एउटै नाम त हो नि।”

“म सगरमाथा बहादुर होइन, सगरमाथा प्रसाद हुँ।”

“तर सगरमाथा त हामी दुवै हौँ। थर नेपाली पनि एउटै हो। वतन पनि एउटै हो, तन भने बेग्लाबेग्लै छ। यस्तो चलन हामीसित असंख्य छ। तथ्याङ्क विभागलाई सोध्नुस् न ! ”

“तथ्याङ्क विभागलाई के सोध्नु ? त्यहाँ छैन यो तथ्याङ्क………होइन ल, म अन्नपूर्ण बहादुर नेपाली हुँ ! ”

“ए SS ! ”

“ल्होत्सेबहादर हुँ”

“अहो ! ”

“धवलागिरी प्रसाद हुँ ! ”

“अच्छा ! ”

“माछापुच्छ्रे बहादुर हुँ ! ”

“एउटै कुरा हो ! ”

“मकालु प्रसाद हुँ ! ”

“ठ्याम्मै फरक परेन । हामी एउटै शृङ्खलाका हौँ।”

“जसरी म उही बहादुर हुँ त्यसैगरी तपाईँ पनि उही प्रसाद हुनुहुन्छ- उही, जसकी श्रीमति छिमेकमा गएर फर्केपछि मलाई पनि त्यस्तै घर चाहियो भनेर कुर्लिँदा व्यवहारवादी बन्न पुगेको।”

“त्यस दिनपछि श्रीमति कोपभवनमा पुगिन् र मजस्तै तपाईँ पनि बरण्डामा बसेर छिमेककी आईए फेल केटीलाई बीए पास गराउन फ्रि टिउसन पढाउन थाल्नुभयो। आदर्श यसरी नै कायम गरियो अर्थात् सीता राम कहो भनेर उच्चस्वरमा कराइयो। ”

“मलाई जस्तै तपाईँलाई पनि फसाद पर्‍यो, कोपभवनको फसाद।”

“तपाईँकी श्रीमति पनि मेरै श्रीमति……….माफ गर्नुहोला, जस्तै……………. ”

“खबरदार ! मेरी श्रीमति तपाईँकी कसरी हुनसक्छे ? ”

“हो-हो, श्रीमति तपाईँकी नै हो। हेर्नुस् त, श्रीमतिहरुले कसरी फाटो पार्छन्। यहाँनेर हामी अलि बेग्लाबेग्लै छौँ। प्रेमिकाहरुमा यो समस्या छैन। एउटी प्रेमिकाका असंख्य प्रेमीहरु हुनसक्छन्। तर एउटी श्रीमतिको भने एउटै श्रीमान् हुनुपर्ने आदर्शको सुगा त हामीले अझै पनि पालिराखेका छौँ। अनि उता श्रीमानहरुले पनि श्रीमतिहरुमा फाटो हाल्छन् र श्रीमति बिचरीहरु बेग्लाबेग्लै हुन पुगेका छन्। जमानामा यस्तै छ, दुवै पक्षबाट सोच्नुपर्ने। अब यता, प्रेमिकाहरुलाई कोपभवन चाहिँदैन। एउटीले कोप्न थाली भने अर्की छँदैछ नि।”

“हेर्नुस् न, कोपभवन उहिलेका ठूलावडा अर्थात् राणाज्यु, काजीसाहेक, बाबुसाहेब र गुरुज्युहरुले बनाउँथे होलान्। आजभोलि त मैले जस्तै तपाईँले पनि कोपभवन त परै जाओस् कोपकक्ष पनि बनाउन सकेका छैनौँ। एउटै कक्षमा परिवार पाल्नुपर्ने भएपछि हातलाग्यो जम्माजम्मी चारवटा कुना। एउटा कुना किचेन, अर्को कुना स्टोर, अर्को कुना बेड, अर्को कुना ड्राइङ, अर्को कुना‌……………….ज्या बिर्सेछु, झम्मा चार कुना। अब कोप कुना कताबाट ल्याउने ? ”

“यस्तो भयावह अवस्थामा मेरी सगरमाथा बहादुर्नीले जस्तै तपाईँकी सगरमाथा प्रसादनीले पनि जम्माजम्मी एउटा कोठाको घरलाई कोप भवन बनाएपछि कि त छिमेककी कुनै युवतीलाई बरण्डामा बसेर बीए पास गराउने काममा लाग्नुपर्‍यो कि त कुनै प्रेमिकासित टाइमिङ मिलार पार्कको बेञ्चपछाडि, फूलैफूलको झ्याङ्पछाडि खण्डकाव्य लेख्‍न थाल्नुपर्‍यो। दुवै आदर्श कार्य हुन् र अस्थायी साधन।”

“यसबाहेक परित्राणको अन्य कुनै स्थायी साधन छैन ? ”

“छ, किन छैन ! यस संसारमा के छैन ? ”

“हेर्नुस्, समस्या नामले नै उत्पन्न गर्छ, कामले गर्दैन। कुनै सन्यासीले बिहे गर्‍यो भने तपाईँ त्यसलाई सराप्न थाल्नुहुनेछ। सन्यासीको सट्टा त्यसको नाम प्यासी सम्झिदिए हुँदैन र ? कामले समस्या उत्पन्न गर्‍यो त ? कामअनुसार उसको परिचय साक्षात् प्रकट भइहाल्यो नि। हामी सगरमाथाहरुको यही त लठेब्रो चाल छ, जसको नाम आकर्षक र अर्थपूर्ण देख्यो, हत्त न पत्त आफ्नो सम्पूर्ण हकअधिकारदेखि कुर्तासलवारसम्म सबै सुम्पिदिन्छौँ। अनि पछुतो मान्छौँ, यो हरामको नाम त कति राम्रो थियो- प्रगतिनाथ ‘उन्नति’ !”

“तसर्थ, छोडौँ यो नाम-साम। आफ्नो नाम पनि मेटाइहाल्नुस् र स्वास्नीको पनि। यही नै मुक्तिमार्ग हो। स्वास्नी पनि मुक्त, तपाईँ पनि मुक्त। न लोग्नेलाई शोकभवन चाहियो न स्वास्नीलाई कोपभवन। कुकुरका के रौँ के के ? सबै एकछत्तै । वेदान्तमा यसै भनिएको छ-

‘आफ्नो स्वलाई एकछत्त पार्नु अनि ब्रह्ममा बिलाउने छौ !”

“धर्मराजले एकताका गाएका थिए-’नाम नभए म्याद छँदै दावी गर हजुर ! अब हामी कर्मराजले गाउनु परेको छ-

‘नाम भए म्याद छँदैछ दावी छोड हजुर ! ”

“नाम छोड्नु नै परित्राण हो त ? ”

“अनि के त ? तिमी हामी जस्ता कुकुरले जति अँठ्याए पनि नाम अँठिदैन। नलीहाड फ्याँकेर बोलाउनेले काले भनोस्, खैरो भन्नुस्, भोटे भनोस्, ताजी भनोस् जेसुकै भनोस् नामको खजाना उसैसित छ। तिमीले के अझै पनि महाभारतका गुफाहरुमा ऋषिमुनिहरु जिउँदैछन् भन्ने ठानेका छौ ? ”

“उदाहरणस्वरुप ऊ ल हेर- अमेरिकाको दायाँपट्टी, रुसको बायाँपट्टी, चीनभन्दा अलि तल, भारतभन्दा अलि माथि, नेप्टे साहुको पसलअगाडि उभिएकी युवती देख्यौ ? चिन्छौ त्यसलाई ? के नाम हो ? उसको नामै छैन। जाउँ हिँड। ”

“म त जान्नँ, बा ! ”

“नडराऊ। मान्छे, मानिहाल्छे। आजसम्म मानेकी नै छे। आमा हो नि। सर्वस्व लुटाइदिन्छे। सट्टामा चाहन्छे एकमुठी भात। छ ? ”

“गुप्तरोग लाग्छ।”

“क्या लम्फू रहेछ, गुप्तरोग नै त लाग्छ। एड्स पनि लाग्न सक्छ। यी त स्वास्नीबाट पनि लाग्न सक्छन्। नाम त लाग्दैन। अनि कसको हिम्मत तिम्रो नाम सोध्ने ? स्वास्नीले पनि कोपभवन माग्ने छैन। आईए फेल केटीलाई बीए पास गराउन फ्री टिउसन पनि पढाउनु पर्दैन।”

“उसोभए लौ जाऊ त।”

“उसै जाऊँ! बिनामाध्यम, बिनादलालकै ? ”

“दलाल पनि चाहिन्छ र ? ”

“चाहिँदैन त ? मेरो नाम थाहा छ ? ”

“अहँ।”

“मै हुँ यो नाम नभएकीको नाम नभएको दलाल। जा, सर्वस्व लुटाइदिन्छे मेरी आमाले। फर्केपछि सर्वस्वको आधा मेरो कमिसन हो नि, नबिर्सनू”

ऊ जान्छ।

म पनि जान्छु र बागमतीको बगरमा पुगेर एउटा बालुवाको ढिस्कोमाथि बस्छु। अनि घ्वाँ-घ्वाँ रुन थाल्छु।

(रचनाकाल- ११ साउन २०४३ साल)

(स्रोत : साझा पुरस्कार प्राप्त  कथा संग्रह ‘तिम्री स्वास्नी र म’बाट साभार गरिएको )

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
कथा : वेश्याको सपना र सुँगुरहरु




मध्यान्ह छ ।

सुँगुरहरु भुइँ खन्दै छन् ।

दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको थोत्रो गलैंचाझैँ कताकतै सुकेका दुबोका टाटाहरु छन् । दुईवटा सम्पूर्ण पात झरेका रुखहरु पनि जिङ्ग्रिङ्ग गरेर एकातिर ठडिएका छन् ।

एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको । उसले यी सबै कुरा हेरिसकेपछि सुँगुरलाई हेर्न थाली । यी सुँगुरहरु पनि त्यो नालामा बस्न मन पराउँछन् । एक दिन एउटा पाठो पसेको थियो, फेरि निस्किएन । ऊ नेर आउने दुईखुट्टे सुँगुरहरु पनि हिजोआज उसलाई यही नाला जस्तै सम्झिएर तर्किन्छन् । ज्यादै भोकाएका र मातेका सुँगुरहरु भने आइपुग्छन् । बेसुरमा भुइँ खन्छन् । कन्दमूल केही पाउँदैनन् र त होला भोलिदेखि सुँगुर देखा पर्दैनन् । ती भोलि फेरि अर्कै थरीका सुँगुर देखा पर्छन् । सायद कुनै बारीमा पसेर सखरखण्ड र मूला उखेल्न नपाएर ।

झ्यालसम्म आएको घाम जुनेली जस्तो छ । तीन बज्यो । माघ ५ गते । संवत् २०४० साल । उसले चुरोट सल्काई र अर्को झ्यालतिर फुकी ।

केटाकेटीहरु अझैं फोहरमैलाको डङ्गुरमा केके खोज्दैछन् । आडैमा ठूलाबडाहरुको ठूलो टोल छ । त्यसो हुनाले केही प्राप्तिको आशा छ । यी पनि सुँगुरका पाठाहरु हुन् । कुन सुँगुर ? थाहा छैन । होला कतै आफ्नै खोरमा बसेको । यहाँ त जति पनि सुँगुरहरु आउँछन् । नामै नभएका अथवा घर, अफिस र पुरेतकहाँ छाडेर आएका ।

उसले एउटा कागजको टुक्रा धुजामुजा पारी र टुक्राहरुमध्ये अलिकति टिपेर जोर मिलाउँदै भुइँमा राख्न थाली । सबै जोर भएभने ग्राहक आउँदैन, बिजोर भयो भने आउँछ । अन्तमा उसको हातमा एउटा टुक्रा रहन्छ । आज ग्राहक आउँछ ।

संवत २०३० साल भाद्र २० गते । ऊ यहाँ आएकी थिई, स्वास्नी बनेर रत्न बहादुरकी । छिट्टै रत्न हरायो । बहादुर मात्र बाँकी रह्यो । अनि ऊ आफु जो फूलमाया थिई, बाट पनि छिट्टै झरेर माया बाँकी रह्यो । बहादुरले शीघ्र परिवर्तन ल्याएको हुँदा उसको मात्र जातिवाचक नाम रह्यो अर्थात् फूल रहेन नीलडाम रह्यो ।

ऊ त्यसताका सस्तै खालको भएपनि अनेकौं थरीका सुगन्ध बोकेर हिड्थी । उसका ग्राहकहरु उसलाई सुगन्धित वायुका झोकाहरुले चिन्ने गर्थे । ह्विस्कीमा बुड्थी, कारमा गुड्थी, होटलमा अनेकन परिकार खान्थी ।

परिचयको संसार विशाल थियो । झूटै भए पनि । ‘तिम्रो नाम के हो ?’ थाहा छ यहाँ कसैको नाम हुँदैन भनेर ।
‘माला ।’ फूलमायाभन्दा यै नाम आकर्षक छ ।
‘कति मीठो नाउँ । घर कहाँ हो ?’ ग्राहक भावुक होइन ।
‘पोखरा । जानु भा छ ?’ कहिलेको उत्तरमा विराटनगर आउँछ, कहिले पाल्पा ।
‘गएको छैन ।’ तर ऊ पोखराको रैथाने हो ।
‘तपाईको घर नि ?’ मतलब छैन तापनी ।
‘नेपालगञ्ज ।’ जहाँ उ कहिल्यै पुगेको छैन ।
‘के गर्नु हुन्छ ?’ ग्राहकको मोटाइको अन्दाज ।
‘बिजनेस ।’ जुन उसका बाउ पुर्खा कसैले गरेनन् ।
‘घरमा स्वास्नी पनि होली ?’ सबैभन्दा वाहियात प्रश्न ।
‘तिमी जस्ती छैन ।’ सबभन्दा झुटो उत्तर ।

सबैभन्दा शाश्वत र सत्य रुपियाँ हो र त्यो ग्राहकको पर्समा छ । जसलाई निकाल्नु उसको अधिकार र कर्तव्य दुबै हो ।
ग्राहकले झोलुवा मगाउँदा उसले सेकुवा र भुटुवाको अडर गर्थी । ग्राहकले नेपाली चुरोट खाँदा ऊ बेलायती मगाउथी । ग्राहकले सयकडाको कुरा गर्दा ऊ हजारको अत्तो थाप्थी । ग्राहक उसको दृष्टिमा नितान्त भेडा थिए जसलाई मुड्नु उसको कर्तव्य थियो । अन्यथा रत्नहीन बहादुरले उसको फूलहीन नामलाई नीलडाममा परिणत गर्न बेर लाउँदैनथ्यो ।

पोहोर साल ऊ म¥यो अथवा मारियो । तिनीहरुबाटै जसलाई उसले लिएर आउने गरेको थियो ।

‘हिड यार, आज रत्नेलाई समातौँ ।’ मातेको छ ।
‘सारै बार्गेनिङ गर्छ, अन्तै जाऊँ ।’ अलिकति दुनियादारी अझैं बाँकी छ ।
‘साला ब्रोकरले बार्गेनिङ तेरो बाउले गर्छ ।’ थ्रिलायन्समा ठर्रा पनि थप भएको छ ।
‘सबैका बाउ ब्रोकर हुन्छन् यदि तेरी बहिनी जस्ती राम्री छोरी घरमा भए भने ।’ यहाँ भने ठर्रामा थ्रिलायन्स थप भएको छ ।
‘साला दार्शनिक नबन् ।’
‘आज पर्स खाली छ यार ।’
‘छ न त मसित पनि छैन । तर, साला रत्नेले धेरै ठगेको छ, हिँड ।’
संवत २०३९ साल । पुस ७ गते । समय २४ बजे । दुवै रत्नेको ढोकामा उभिन पुगेका थिए । परम्पराअनुसार रत्नेले चिन्ने उत्सुकता देखाएन । परिचयमा बार्गेनिङ धेरै हुन सक्दैन ।
‘माला ख्वै ।’
‘आज छैन हजुर । साहबसित बाहिर गएकी छे ।’
‘कुन साला साहब ? तैँले हामीलाई चिनिनस् ? ’
रत्नेले नचिनेको भाव देखायो ।
‘म हुँ ड्यानियल फ्यान्टम अनि यो हो जेम्स बन्ड ।’
तैपनि रत्ने चटपटाएन । अनि त दुबैले औँठी लगाएको मुड्कीले रक्सी खाँदाखाँदा निर्बल भएको बहादुरलाई गोद्न थाले । जेम्स बन्डले ‘अब भैगो’ भन्दाभन्दै फ्यान्टमले गर्दनमा कराँते चाप हानिहाल्यो । बिचरा रत्नबहादुर । त्यसदिन ऊ रोएकी थिई । साँच्चै रोएकी थिई ।

त्यस दिनपछि ऊ एक्ली भई, फूलपात सबैझरेर जिङ्ग्रिङ्ग ठडिएको बोटझैं । जसमा चराचुरुङ्गी, भमरा पुतली केही बस्तैन । यो समाजमा अत्यन्त दुःख दिने पापी पुरुष पनि फोहर पुछेको काठ जस्तै काम लाग्ने हुँदो रहेछ । त्यो रत्ने, जोसँग बसेर उसले भविष्यको रङ्गीन सपना देखेकी थिई, त्यो रत्ने, जोसँग प्रतिदिन चितामा डढेर बिपना भोगेकी थिई, आज नहुँदा पेट पाल्न गाह्रो भैराखेको छ ।

आज धेरै दिनपछि उसले आफ्नो भाईलाई सम्झी । बाह्र–तेह्र वर्षको अवोध भाइ सौतिनी आमाको निरन्तर झम्टाबाट जोगिन मधेस झरेको बेपत्ता भयो । त्यसको केही वर्षपछि ऊ पनि रत्नबहादुरसँग यहाँ आएकी थिई, सुखी भविष्यको सपना बोकेर । पापी रत्ने पनि आफ्नो सम्पूर्ण बहादुरी देखाएर यो संसारदेखि बिदा भयो ।

असङ्ख्य पटक आफ्ना सपना भङ्ग भए पनि उसले सपना देख्न छोड्न सकिन । कल्पना र सपना मानिसका यिनै दुईवटा अमूल्य रत्न हुन्, जसमा कुनै बहादुरी छैन, कुनै यथार्थ छैन । कसैले खोस्न सक्दैन, जति खर्च गरेपनि रित्तिदैन । आत्मा जस्तै आजभोलि कल्पना र सपना पनि उपेक्षित र हास्यास्पद ठहरिएका छन् ।

सूर्य डाँडाको थाप्लोमाथि ओर्लिन थाले पनि घाम अझैं उसैसँग झ्यालमा बसेको छ । थैलीबाट एउटा क्याप्सुल रेस्टेक्लिन झिकेर खाई । इन्जेक्सन दिन आज कम्पाउन्डर आउँछ कि आउँदैन ? बिजोर भएको थियो, ग्राहक पनि आउनुपर्ने ।

झण्डै एउटा पाठो नालामा नझरेको ।
केही महिनाअगाडि भाइटीकाको दिन ऊ भावुक भएकी थिई ।
उसको भावुक हुने दिन नै यही हो । अरु दिन उसले भावुक हुने फुर्सद पाउँदिन । भावुक हुँदा कल्पना गर्न र सपना देख्न फुर्सद चाहिन्छ । अन्यथा अगाडि जे आईपर्छ त्यसैलाई भोग्दै जानुनै जीवन भएको छ ।

प्रतिवर्षझैं गत भाइटीकाको दिन पनि ऊ झ्यालमा बसेर सपना देख्तै थिई । अनि प्रतिवर्षझैँ टपरीमा फूलमाला, टीका र सेलरोटी सजाएर बसेकी थिई । मानिसहरु तल बाटोमा रङबिरङका टीका निधारमा टाँसेर, गलामा दूबो र फूलका माला झुण्डाएर ओहोरदोहोर गर्दै थिए । जताततै जुवाको खाल जमेका थिए ।

सूर्य अस्ताउना साथ उसको घर अगाडिको पहेँलो बिजुली उदायो ।
लरखराउँदै र धरमराउँदै युवक माथी उक्लियो । उसका छायाँ पनि ऊसँगै लरखराउँदै थियो । उसलाई देखेर फूलमाया एक्कासि झस्किई । दुरुस्तै आफ्नो भाइ जस्तो लाग्यो उसलाई । उस्तै छलछन्दविहीन अनुहार, उस्तै झ्याम्म परेका आँखीभौँ र उस्तै हँसिलो अनुहार ।

आज उसको नौनीको डल्लो जस्तो हृदय पग्लेर उसको सम्पूर्ण चेतनालाई स्नेहले ढाक्न थाल्यो । त्यस स्निग्धतामा उसको व्यापारिक विवेक चिप्लिएर आत्मियताको खाडलमा लड्यो । अनि आद्र र स्नेहपूर्ण दृष्टि लिएर उठी र त्यही युवकको दुवै हात समातेर आफ्नो खाटमा बसाली ।

‘साला हारियो निक्कै…माला । हारे पनि…..’
ऊ चुप लाग्यो । फूलमायालाई आश्चर्य लाग्यो, उसले नाम पनि जानेको रहेछ । ऊ कहिल्यै यहाँ आएको जस्तो त लाग्दैन । भलाद्मी, भ्रष्टचारीझैं उसको पनि नाम चलेकै रहेछ ।
‘बाबू, म तिमीलाई टीका लगाईदिउँ है ? आज भाइटीका हो ।’ ऊ अत्यन्त भावुक भएर ऊतिर हेर्दैछे । ऊ भने आफ्नो मातले चिम्रिएका आँखा खोल्न प्रयत्न गर्दैछ ।
उसले टपरी अगाडि राखेर सबै विधि पु¥याउन्जेल त्यो युवक ऊतिर वाल्ल परेर हेरिराख्यो । माला लगाइदिएर जसै उसले स्नेहपूर्वक युवकको गालामा म्वाइँ खाई त्यो बुरुक्क उफ्रियो र उसका सबै लुगा कुखुराले भुत्ल्याएझैँ भुत्ल्याएर फ्याँक्तै बरबराउँदै भन्न थाल्यो, ‘तेरो रेट बीस ह्वैन ?…रेट ।’

उसले चोलो खोल्ने कष्ट पनि गरेन, सबै टाँकहरु छिनालेर उदाङ्गो पा¥यो । अनि कुखुराले झैँ एकछिन भ्याटभ्याट गरेर सफाइसाथ बेग्लियो ।

बाहिर सुँगुर र भित्र युवक दुवै धरती खन्दै थिए ।
विस्तारो उसको चेतना सपनाको सिँढीबाट ओर्लिदै थियो ।
ऊ सर्वाङ्ग नाङ्गी थिई तर युवकले फ्याँकेका दस दसका दुइवटा नोटले उसको इज्जत ढाकेको थियो । अब त्यहाँ युवक थिएन, थियो ढोका, जो ऊतिर वाल्ल परेर मुख बाएर हेर्दै थिए ।
सूर्य डाँडाँपछाडि झरिसकेछ ।

ऊ सपनाबाट बिउँझेर वर्तमानमा आईपुग्छे । कम्पाउन्डर इन्जेक्सन दिन किन आएन अहिलेसम्म ? आउला । तीन पटक गोनोरियाग्रस्त भइसकेकी थिई भने त्यस दिन टिकोटालो गरेको भाइले दिएको सिफलिस अझै ऊसँग छ । नौलो स्नेहोपहार ।
बिजोर भएको थियो, ग्राहक आउला ।

(कथाकार ब्राजाकीको कथासंग्रह ‘तिम्री स्वास्नी र म’ बाट) ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
कथा : भैगो दिनुपर्दैन

एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ?

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक। ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ। चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ।

बाहिर किन ? भित्र आउनुस्।

खरदारनी बजै (जो यो माघदेखि पच्चीस पुगेर छब्बीस लागी) भित्र पसी। बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन्)हिटरनेर बसेर आह्वान गर्दैछन्।

आउनुस्, बस्नुस्, सञ्चै छ ?

सञ्चै, नमस्कार !

नातिसामु बजै खुम्चेर सोफामा बस्छिन्। बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन्। रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ। उत्सुक र प्रसन्न नातिको अनुहार मुख हुन्छ।

अनि भन्नुस् ?

अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन। घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो। तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौ पटक पनि आउन सकेकी हो। वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु’ गन्न अहिले सकिराखेकी छैन। यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ। तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै पर्‍यो।

कति कामले आउनु भएको थियो ?

ए अँ, अलिकति घरायसी किनमेल थियो………यहाँसित …………..

फेरि बिझायो, सोफा होइन, संकोच। पाँच पटकमा पाँच वटा तगारा। सबै तगाराहरु एकैचोटी फड्किन कति गाहारो !

ए बुझेँ बुझेँ, कति चाहियो ?

अहिलेलाई गोडा पच्चिसेक भए……

ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ।

ल लिनुस्……….अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्‍ने भनेर। ग्यारेजमा काम छ।

हजुरलाई पछिको पनि हिसाप दिनु छ………….

भो-भो दिनुपर्दैन, काम चलाउनुस्। यो त मैले हिजो पप्लुमा जितेको।

ऊ दातातिर हेर्छे। दाता विधाता झैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन्। ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे। ‘दिनुपर्दैन’ ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ। के- के ? विवरण प्रष्ट छैन। अस्पष्टताले कुनै अन्यौलमा पार्दैन। बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्दछन्। आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला। यी दुवै कहिल्यै समानान्तर हुँदैनन्। एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान। अनि भेट हुने कुनामा पप्लु चल्छ। एउटा हार्छ, अर्को जित्छ।

ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन। स्वास्नीमान्छेले ‘सम्पति’ कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा। के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन्। यो सोचेर उसलाई झर्को लाग्छ। जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे। अब समापन भाषण पनि त हुनुपर्‍यो। ऊ भन्छे-

यस्तो संकटमा पनि हजुरले यति गुन……….

आ….केको गुन ? फेरि पनि सार्‍हो गार्‍हो परे आए हुन्छ नि !

हस् नमस्कार ! अनुहार झन् उज्यालो छ।

घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन्। लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ। लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी

दियो ?

दियो, पच्चीसवटा। यति नै माग्ने भनेको होइन ?

अँ, लौ काम चलिहाल्यो। आज त माछा पनि पर्ने भएको छ।

काँ ?

खोलामा हैन अफिसमा क्या। कस्ती लाटी रैछ। बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो।

अलि ठूलो माछा पारे पो। कैलेकाहीँ पार्नुहुन्छ। त्यै पनि बुदुना र भोटी।

असला पर्छ क्या असला। अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला।

असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला। मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला।

तेरो खर्दारको मात्रै मुख छ, हैन ? अफिसमा त अरु छँदै छैनन् ? जतो जाल त्यत्रै माछा।

छोराहरु माछाको प्रसङ्ग सुनेर पाठ बिर्सन्छन्।

सानो छोरो, कत्रा माछा ल्याउने बा ?

ठूलो छोरो, एफ आई एस एच फिस्, फिस् माने माछा।

चूप लाग, पढ्नु सढ्नु छैन। पढ् बसेर।

दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन्। अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन्।

त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो। ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे।

अनि सम्झिएरै फेरि भन्छे, उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन्।

आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, किन ?

कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन।

ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ। भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे। आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलार्न खोज्दा उसको सुद्धि हराएछ- यसोभन्दा कसो पर्ला भनेर। ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ। ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे।

हामी माग्ने त होइनौँ ?

घर व्यवहार भएको मान्छे माग्ने हुँदैन। अनि सापटी लिने चलन नौलो पनि होइन। सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन-गाउँघरदेखि अन्तर्राष्ट्रियसम्म। अन्तर्राष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस्। भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसूस गरिन्छ। बुद्धि बढेर आउँछ। बुद्धत्वले छुन-छुन आँट्छ। कन्तुरको इज्जत कन्तुरमै रहन्छ। माग्ने त भइँदैन ?

एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा-

हामी माग्ने त होइनौँ ?

स्वास्नी दलिनभित्ता हेर्दैछ। उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो। बहस गर्नु व्यर्थ छ। बरु झोला बोकाउनु बेस। अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णु झैँ ठिङ्ग उभिनेछ।

उनको भन्ने काम, भने। फर्काइदिउँला। ल, यो झोला लेऊ। यी रुपियाँ पनि। दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी आफूलाई चुरोट पनि ल्याउनू। कति ठूटो खाएको ? नखानू भन्छन्। टीबी हुन्छ रे।

झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो। तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु। उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो।

ए, अँ सिमन्टी खोजिदिनू भन्थे…..

मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न।

किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन !

बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो।

चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो।

एफ आई एस एच फिस्, फिस् माने माछा !

आमा ख्वै माछा ?

ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ। ब्लेड पनि किन्नुपर्ने। ऊ अझै रन्थनिएकै छ। तर सडकमा रन्थनिएर हिँड्नु भएन। किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला।

एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो।

भएन, हुँदै भएन। ठ्याम्मै हिसाब मिलेन। बरु पचास माग्नुपर्ने रहेछ। के थाहा यति सजिलै पाइएला भन्ने। नत्र…………कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?

थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने। अहिले त सूर्य बलिराखेको छ- झलमल्ल। प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन। त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ। देख्छ, बीस रुपैयाँ घरखर्च- जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा। माछा समात्न अफिस पनि त पुग्नुछ। यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ। यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला। अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो- गोजीमा पाँच रुपियाँ।

अनुहार छाम्छ, खस्रै छ। दिक्क लाग्छ। पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि छि यो त भएन।

अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ। उसको जालमा पर्दैपर्दिन। हरे राम ! गरिपलाई कतै सुख छैन। होस् खस्रै अनुहार।

बीस रुपैयाँको जे जित आउँछ, किन्यो।

अब गोजीमा पाँच रुपियाँ छ, यसको आफ्नो निजी सम्पति। यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नुछ।

पाँच रुपैयाँ छ। पुलकित छ।

ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न। साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुङ्गी त होइन तापनि भँगेरो फिस्टो त हो नै।

दशओटा गैँडा देऊ त साहुनी मैयाँ ! ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ।

साहुनी ‘मैयाँ’ शब्दले गर्दा झस्केर ऊतिर हेर्छे। ऊ पासो थापेर बसेको शिकारी झैँ चनाखो भएर साहुनितिर हेर्दैछ। साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे। ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन। साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन।

चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?

‘बाजे’ले उसलाई झस्काएर ‘नाति’ छेउ पुर्‍याउँछ। नाति झैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, भैगो, दिनुपर्दैन।

ऊ निधारमा गाँठो पारेर भन्छे, किन ?

किन ? ऊ अलमलिन्छ। ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, लेऊ।

ऊ परिस्थिति नबुझेर नाति झैँ कल्पनामा रङ्गमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरे झैँ भन्छ, भैगो भैगो पर्दैन।

किन पर्दैन बाज्या ? भनेर उसले चानचुन पैसा भूँइमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुण्ट्याइदिन्छ।

पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन्।

ऊ ‘नाति’ को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ।

के भो ? के भो ?

मुण्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन्।

मानिसहरु बटुलिन्छन्। मात्र तमासा हेर्ने।

(‘तिम्री स्वास्नी र म’ कथा संग्रहबाट)