Author Topic: Kri Film Review (Anmol KC, Aditi Budhathoki)  (Read 1385 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15796
Kri Film Review (Anmol KC, Aditi Budhathoki)
« on: February 11, 2018, 10:16:57 AM »
बदलाको बासी कथा
- गोकर्ण गौतम



यो समय नेपाली फिल्मवृत्तको केन्द्रमा छन्, अनमोल केसी । चकलेटी लुक्सका अनमोलको स्टारडमदेखि पारिश्रमिकसम्म अनेक चर्चा चल्छ । थोरै फिल्म खेल्छन्, सार्वजनिक जीवनबाट सकेसम्म टाढा हुन्छन्, झिनामसिना टिका–टिप्पणीमा अल्झदैनन्, नेपाली फिल्म भन्नासाथ नाक खुम्च्याउने सहरिया युवा पुस्तालाई हलसम्म ताने/तान्छन्, अनेक गुण छन्, अनमोलका । तर, अभिनेताको पहिलो सर्त स्तरीय फिल्ममा जीवन्त भूमिकामा देखा पर्नु हो । यही मामलामा चाहिँ उनी फिक्का लाग्छन् । निकै तामझाम र प्रतीक्षापछि प्रदर्शन भएको उनको पाँचौँ फिल्म कृले पनि यो अभाव पूरा गर्दैन । फरक यत्ति हो, यसअघि करिब ‘लभरब्याय’मा सीमित थिए, यस पटक एक्सन अवतार पनि देख्न पाइन्छ । अर्को बिडम्बना ! पटकथा र निर्देशकीय पाटो पनि अनमोलमै भर परेको भान हुन्छ, उनका अघिल्ला फिल्ममा झैँ । कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यसअघि उनले आभास बनाएका थिए । कृको प्राविधिक पक्षचाहिँ उम्दा छ ।
आफ्नी बाल्यकालकी प्रेमिका केशर (अदिती बुढाथोकी) लाई खोज्दै गाउँ छिरेको छ, लाहुरे अभय (अनमोल) । उनीहरूको सजिलै भेट हुन्छ । तर, केशरले चिन्दिनन् । जबकि, उनी अभयकै प्रतीक्षामा छिन् । अभयले पनि सुरुमै चिनाउन चाहँदैनन् । जब चिनाउन खोज्छन्, ढिला भइसकेको हुन्छ । त्यसैले मन खल्लो पार्दै अभय सहर फर्कन्छन् । केशर र अभयको मिलन होला ? कि उनीहरूको सम्बन्धमा कुनै बज्रपात आइलाग्छ ? यिनै सवालवरपर घुमेको छ फिल्म ।
बच्चैमा छुटेकी प्रेमिकासँग पुनर्मिलन गर्न हिरो गाउँ फर्कने तर गुन्डाहरूले तनाव सिर्जना गर्ने, उस्तै परे गुन्डाहरूले बलात्कार नै गर्ने कथामा दर्जनौँ फिल्म बनेका छन् । त्यस्ता फिल्ममा केटाकेटीले कुनै चिनो साटासाट गरेका हुन्छन्, पछि उनीहरूले एकअर्कालाई चिन्ने माध्यम पनि त्यही चिनो नै हुन्छ । कृको कहानी योभन्दा माथि उठ्न सकेको छैन । फिल्ममा त्यस्तो दृश्य देख्न मुस्किल छ, जसले चक्मा दिओस् वा बिलकुलै ताजापन महसुस गराओस् । कहिलेकाहीँ पुरानै कथा पनि नयाँ ‘ट्रिटमेन्ट’ को प्रयोगले स्वादिलो हुनसक्छ । तर, पटकथाकारद्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले त्यस्तो जादु पस्कन सकेका छैनन् । कथा–वाचनशैली पम्परागत ढर्राबाट ग्रसित छ । हिरो र भिलियनको लुक्स र आनीबानीचाहिँ आधुनिक लाग्छ, हाम्रो सन्दर्भमा । पहिलो दृश्यबाटै हिरोको प्रतिशोधको कथा हो भन्ने झल्कन्छ । लाग्छ, पटकथाकार र निर्देशकले ‘अनटोल्ड स्टोरी’ खोतल्ने जमर्को गरेनन्, सिर्फ पुरानै पुस्तकमा नयाँ र रंगीन गाता हाल्नमै रमाए । परिणाम हाम्रैसामु छ । 
कृका हरेक दृश्य सफा र उज्याला छन् । निर्माताद्वय सुवास गिरी र भुवन केसीले दिल खोलेर खर्च गरेका छन्, लोकेसन, सेट, कलाकारको ड्रेस, खिचाईलगायत अन्य प्राविधिक पक्षमा । तर, जसरी पैसा लगानी भयो, सोही अनुपातमा कन्टेन्ट र कथ्य संरचना मजबुत पार्ने कसरत देखिएन, फिल्मका कमान्डर अर्थात् निर्देशकबाट । अनमोलजस्ता सर्वाधिक रुचाइएका स्टार र यति विघ्न बजेटलाई अवसरमा बदलेर जुन तहको निर्देशकीय निखारता पस्कनुपर्ने हो, त्यसमा पौड्याल चुकेका छन् । यसमा शंकै छैन । मुख्य कलाकारको लुक्स परिवर्तन गर्नु मात्र निर्देशकको ‘ड्युटी’ होइन । दक्षिण भारतीय फिल्ममा झैँ मुस्तन्डे गुन्डाको झुन्डलाई हिरोले एक्कै प्रहारमा धूलो चटाउँछ । चार महिनापछि अस्पतालबाट निस्किएको पात्र भर्खरै सैलुनबाट निस्किएको झैँ चिरिच्याट्ट छ । चरित्र र सन्दर्भ जस्तो भए पनि हिरोलाई ‘हिरो’ जस्तै देखाउनुपर्ने मिति गुज्रिएको मनोविज्ञान हो, यो । गुन्डा निगम बाबा (अनुपविक्रम शाही) चाहिँ चार करोडको माल गायब भयो भनेर ताण्डव देखाएको देख्यै ।
फिल्ममा फाइटका दृश्य प्रशस्त छन् र तिनको कोरियोग्राफी आकर्षक छ । यो स्तरको एक्सन यसअघि सायदै कुनै स्वदेशी फिल्ममा देखिएको थियो । यसको जस चन्द्र पन्तलाई जान्छ । विभिन्न पात्रहरूले यातना दिने तरिका, गुन्डाका अनेक तह, प्रहरी–गुन्डा सम्बन्धको भित्री पाटो तारिफयोग्य नै छ । साउन्ड डिजाइनर उत्तम न्यौपाने प्रशंसाका हकदार हुन् । उनले दृश्यलाई अझ जीवन्त र प्रभावकारी बनाउने ध्वनि सिर्जेका छन् । पुरुषोत्तम प्रधानको खिचाई फिल्मको साख जोगाउने अर्को पक्ष हो । ‘यति यति पानी...’ गीत रमाइलो छ । ‘जानी नजानी...’ न श्रुतिमधुर छ, न यसको प्रयोग सान्दर्भिक नै छ ।
गठिलो ज्यान बनाउन अनमोलले साँच्चै मेहनत गरेका छन् । यो सराहनीय छ । रोमान्टिक र एक्सन दुवै भूमिकामा आकर्षक छन् । फाइट पनि झाराटराई शैलीको छैन । तर, त्यहीअनुरुप संवाद बोल्ने शैलीदेखि अनुहारको भावभंगिमासम्म जीवन्त र स्वभाविक छैन । उनले थोरै फिल्म खेल्नु फिल्म सकारात्मक हो । तर, ती फिल्म नै स्तरीय भएनन् भने करिअर धरमरमा पर्न सक्छ । त्यस्तै अशुभ संकेत देखा परेको त हैन ? त्यसैले अनमोल नेपाली फिल्मको ‘अनमोल’ बन्न अभिनय थप निखार्नै पर्छ । यही फिल्मबाट करिअर सुरु गरेकी अदितीको उपस्थिति प्रभावशाली छैन । हुलिया चरित्रअनुरुप भए पनि अनुपविक्रम शाहीको अभिनयले फिस्स बनाउँछ । कामेश्वर चौरासिया र सुदाम सिके सम्झनायोग्य छन् ।
डेढ वर्षदेखि अनमोललाई पर्दामा देख्न नपाएका ‘हार्डकोर फ्यान’का लागि हो, कृ । यस फिल्मले उनका फ्यानलाई निराश नपार्ला पनि तर फ्यानको दायरा फराकिलो बनाउन असाध्यै मुस्किल छ । अर्को दु:खको कुरा, कृले नेपाली फिल्मको कलात्मक श्रीवृद्धिमा योगदान पुर्‍याउँदैन । फिल्म हेर्ने/नहेर्ने आफ्नै मर्जी ।
रेटिङ : १.५/५


From Kantipur's 'Nepal'



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15796
Re: Kri Film Review (Anmol KC, Aditi Budhathoki)
« Reply #1 on: February 11, 2018, 10:17:33 AM »
फिल्म समीक्षा: अनमोलका फ्यानलाई रिझाउने ‘कृ’
शिव मुखिया
२०७४ माघ २६ गते १८


फिल्म- कृ

कास्ट- अनमोल केसी, अदीति बुढाथोकी, अनुपबिक्रम शाही

निर्देशक- सुरेन्द्र पौडेल

अन्ततः अनमोल केसीका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । आज (शुक्रबार)बाट देशभरको स्क्रिनमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ चढेको छ ।

केही समयअघि बहुप्रतिक्षित र विवादित हिन्दी फिल्म ‘पद्यावत’ प्रदर्शन हुँदा मल्टिप्लेक्सको फस्ट शो (बिहान ८, ९ बजे)मा दर्शक बाक्लो थिएन । जबकी अनमोलको फिल्ममा बिहानै दर्शकको ताँती लाग्यो । खासगरी किशोरपुस्ताका दर्शकले हल भरिभराउ देखिन्थ्यो ।

फिल्म ‘कृ’ सम्पूर्णरुपमा अनमोल केसीको फिल्म हो, जो यतिबेला नेपाली फिल्मका सबैभन्दा जल्दाबल्दा स्टार मानिन्छन् । उनले अहिलेसम्म चार वटा मात्रै फिल्म खेलेका छन्, ती कुनै पनि फिल्ममा असफलताको मुख हेर्नु परेको छैन । त्यसैले ‘कृ’ नेपाली फिल्मप्रति चासो राख्ने जोकसैका लागि प्रतिक्षित फिल्म बनेको थियो । यसको सफलता-असफलताले नेपाली फिल्मको आगामी दिशालाई प्रभाव पार्न सक्छ ।

यस्तो छ कथा

युवापुस्ताले साक्षत्कार गरिरहने प्रेमिल कथा हो, कृ । अनमोलको फ्यानका लागि यो कथा आफ्नै जीवन-भोगाइसँग मिलेमा ‘त्यो संयोग मात्र हुनेछ ।’ किनभने यसका ‘घटना तथा पात्रहरु काल्पनिक’ छन् ।

बि्रटिश गोर्खाबाट पहिलो छुट्टीमा आएका लाहुरे (अनमोल केसी) लाई बिहे गराइदिन चाहन्छिन्, हजुरआमा । त्यसका लागि उनले करिब आधा दर्जन षोडासीलाई घरमै निम्त्यएका छन् । त्यसमध्ये एक जनालाई लाहुरेले छान्नुपर्ने हुन्छ । तर, लाहुरेले ति सबैलाई ‘रिजेक्ट’ गरिदिन्छन् ।

किनभने, गाउँमा सँगै हुर्किएकी आफ्नी बालसखा केशर (अदिती) बुढाथोकीलाई ‘लाहुरेनी’ बनाउने उनको भित्री चाह हुन्छ । बाल्यकालको त्यही चाहले डोहोर्‍याउँदै लाहुरेलाई एउटा पहाडी बस्तीमा पुर्‍याउँछ । संयोगले त्यहाँ उनको भेट तिनै बलसखा केसरसँग हुन्छ ।



अर्को संयोग, उनी तिनै केसरका पिता, जो अवकासप्राप्त लाहुरे हुन्, उनैको सम्पर्कमा पुग्छन् । उनकै पाहुना बन्न पुग्छन् । अब केसर र लाहुरे एउटै छानोमुनी आइपुग्छन् ।

लाहुरे त्यहाँ रहँदासम्म केसरले चिन्दैनन् । प्रेम पनि गर्दिनन् । तर, लाहुरेको मनमा भने केसरप्रति प्रेम पलाइसकेको छ । उनी आफ्नो परिचय लुकाएरै केसरलाई वशमा पार्ने दाउपेचमा लाग्छन् । आखिरमा मौका आउँछ, केसरसामु आफ्नो प्रेम पोख्ने ।

एक गोधुली साँझ लाहुरेले जब केसरलाई आफ्नो प्रेम व्यक्त गर्छन् तब केशर भन्छे, ‘म अरु कसैसँग प्रेममा छु । तिमीले मबाट जे चाहेका छौ, त्यो पाउने छैनौं ।’ केसरलाई थाहा छैन, आफ्नै सामुन्ने उभिएका लाहुरे उनका बालसखा ‘काजी’ हुन् । किनभने लाहुरेले त्यहाँ रहँदासम्म आफ्नो परिचय लुकाएका हुन्छन् ।

अब लाहुरे आफ्नो घर लाग्छ । जसै ऊ घरतिर लाग्छ, यता केसरले थाहा पाउँछे आफुले पर्खिरहेको काजी तिनै ‘परदेशी लाहुरे’ हुन् ।

त्यसपछि केशरले लाहुरेलाई फर्काउँछे ? उनीहरुको भेट होला ? यस्तै जिज्ञासाले तान्दै फिल्म अघि बढ्छ ।

किन हेर्ने फिल्म ?

करिब दुई बर्षको अन्तरालपछि अनमोल थप माझिएर आएका छन् । शरीर बलिष्ठ देखिएको छ । खासगरी उनको आक्रमक शैली निकै दमदार लाग्छ । लभर ब्वाई भन्दा पनि ‘एक्सन ब्वाई’ को रुपमा अनमोल फिट छन् ।

फिल्मको अर्को आकर्षण अदिती बुढाथोकी हुन्, जसले ग्ल्यामर बजारमा निकै तहल्का पिटिसकेकी छिन् । अदितीले यहि फिल्मबाट डेब्यु गरेकी हुन् ।



किशोर पुस्ताका लागि अनमोल र अदीतिको अनस्क्रिन प्रेमकथा चाखलाग्दो हुनसक्छ । त्यसमाथि भ्यालेनटाइन डेको अवसर जो परेको छ । फिल्ममा मायाप्रेमका नोकझोंक मात्र छैन, धमाकेदार फाइट पनि छ । एक्सन फिल्म रुचाउनेहरुका लागि ‘कृ’ पोषिलो विकल्प हुनसक्छ । फिल्ममा देखाइएको लोकेसन एवं दृश्य लोभलाग्दो छ ।

अर्कोतिर फिल्ममा कामेश्वर चौरासिया, सरोज खनालले रमाइलो गराउँछन् । फिल्ममा भिलेन बनेका अनुप विक्रम शाहीको अभिनय तारिफयोग्य छ । छोटो भूमिका पाए पनि सुदम सिके खास्सा छन् ।

फिल्मको एउटा सरप्राइज गीत छ, ‘ओरालीमा अघि अघि ।’ फिल्म ‘सम्झना’मा बुवा भुवन केसी र तृप्ती नाडकर नाचेको गीतलाई अनमोलले अलिकति ग्ल्यामराइज्ड गरिदिएका छन् ।

फिल्मको अन्य पक्ष त्यस्तै छ, जो सामान्य नेपाली चलचित्रमा हुने गर्छ । यसमा ध्वनी, खिचाई, सम्बाद सबै समेटिन्छ ।

विझाउने पक्ष

अनमोललाई विशेष क्याम्पमा राखेर सार्वजनिक गरिएको फिल्म ‘कृ’ निर्देशकीय कोणबाट भने सन्तोषजनक हुन सकेको छैन । सम्पादनबाट निर्देशनमा उक्लिएका सुरेन्द्र पौडेल धेरै ठाउँमा चिप्लिएका छन् । उनी फिल्मका निर्देशक मात्र नभएर कथाकार र सम्पादक पनि हुन् ।

फिल्ममा थुप्रै अपरिपक्व र अपत्यारिला दृश्य छन् । साउथ इन्डियन मार्काको ‘नाटकीय’ कथा र दृश्यले अनमोलको ब्रान्डलाई असर पार्ने भय छ ।

एकदमै आधारभूत कुरालाई समेत निर्देशकले बुझ पचाएको भान पर्छ । जस्तो कि, निर्देशकले अनमोललाई लाहुरे देखाउनका लागि लाहुरेकै गेटअपमा घर फर्केको देखाएको छ । लाहुरेहरु घर र्फकदा उनीहरु युनिर्फममै हुन्छन् र ?



लाहुरेको घर र शान-सौकत हेर्दा मनमा प्रश्न उठ्छ, यति खानदानी केटो किन राइफल बोक्न विदेशी भूमिमा भाँसिए ? लाहुरे आउनसाथ हजुरआमाले उनको घरमा एक से एक तरुनीको विस्कुन लगाइदिएको दृष्य अस्वभाविक छ ।

गाउँमा आफ्ना बालसखा प्रेमिका खोज्न हिँडेका लाहुर रोयल इन्फिल्ड (बुलेट)मा हुँइकिदै गाउँ जान्छन् । बाटोमा प्रहरीले लाहुरे जाने गाउँमै कुनै युवतीको ब्याग पुर्‍याइदिन भन्छन् । अपरिचित व्यक्तिलाई व्याग भिराउने कति विश्वासिलो प्रहरी ?

ब्यागको सन्दर्भ त्यसैको लागि जोडिएको हो, जसले केशर र लाहुरेलाई आमने-सामने ल्याउँछ । यति फितलो धरालतमा टेकेर प्रेमकथा बुनिएको छ कि, त्यो पत्यारिलो र स्वभाविक लाग्दैन ।

पटकथा लेखकले बर्तमान समाज, रहनसहन, बोलीचालीलाई नै टिप्न सकेका छैनन् । गाउँको होटलमा सुकिला युनिर्फममै अवकासप्राप्त लाहुरे मातेको दृश्यदेखि लाहुरेको विलक्षण ताकतसम्मलाई विश्वासिलो ढंगले पेश गर्न सकिएको छैन ।

फिल्मको मूल कथा ‘प्रेम’ हो । तर, प्रेमको कथा भन्दा द्वन्द्वका दृश्य बढी रोमाञ्चक छन् ।

अनमोल कति दमदार ?

यो फिल्मका लागि अनमोलले निकै ठूलो मिहनेत गरेको प्रष्ट झल्किन्छ । आफ्ना कट्टर फ्यानहरुलाई अनमोलले निराश बनाएका छैनन् ।

रोमान्टिकदेखि एक्सन अवतारसम्ममा उनी जमेका छन् । पहिले नाच्नै नजान्ने अनमोलले गजबको पार्टी डान्स प्रस्तुत गरेका छन् । आफ्नो तर्फबाट उनले कुनै कमजोरी छाडेका छैनन् । यदि यो फिल्मले व्यवसायीक सफलता हासिल गर्‍यो भने त्यसको एक्लो हकदार अनमोल नै हुनेछन् ।

फिल्ममा ‘लजिक’ खोज्नेहरु भन्दा पनि ‘म्याजिक’मा रमाउनेहरुले ‘कृ’ बाट मनोरञ्जन लिनेछन् ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15796
Re: Kri Film Review (Anmol KC, Aditi Budhathoki)
« Reply #2 on: February 13, 2018, 01:23:13 AM »
‘कृ’ को राम्रो र नराम्रो पक्ष के ?
मनिष अन्जान, काठमाण्डौ,

2018/02/12

युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ शुक्रवारबाट नेपाल अधिराज्यभरी कूल १ सय १५ पर्दामा रिलिज भएको थियो । शुक्रवार सुखद ओपनिङ गरेको फिल्मले शनिवार बम्पर कलेक्सन गर्‍यो । आइतवारबाट पनि सिंगल र मल्टिप्लेक्समा दर्शकको उपस्थिति सुखद छ ।
 
यसै साथ महाशिवरात्रीको सार्वजनिक विदा भएका कारण ‘कृ’ को कलेक्सन अझ बढने निर्माण यूनिटको आशा छ । अनमोलको क्रेजले फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुगेको छ । नव-नायिका अदिती बुढाथोकी, नायक अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।
 
रिलिजको ‘फर्स्ट डे’ देखि फिल्मले राम्रा र नराम्रा दुवै कमेन्ट पाइरहेको छ । कतिले फिल्मलाई ‘भयंकर’ राम्रो भनेका छन् भने कतिले ‘ अति झुर’ पनि भनेका छन् ।

हेरौं फिल्म ‘कृ’ को राम्रो र नराम्रो दुवै पक्ष:
 
राम्रो के ?
 
१. फिल्मको सबैभन्दा बलियो पक्ष भनेको छायांकन हो । छायाँकार पुरुषोत्तम प्रधानको काम सबैभन्दा उत्कृष्ट छ । उनले क्यामेरा खेलाउन काहीँ कतै चुकेका छन् । छायांकनका कारण पनि फिल्मले धेरै हदसम्म राम्रो रेस्पोन्स पाएको छ ।
 
२. द्वन्द्व निर्देशक चन्द्र पन्तको काम तारिफयोग्य छ । 'लभरब्वाई' को भूमिकामा खुब रुचाइएका अनमोललाई उनले एंग्री अवतारमा गज्जबले प्रस्तुत गर्न सफल भएका छन् । उनको द्वन्द्व निर्देशन हलिउड स्तरको लाग्छ ।
 
३. साउन्ड डिजाइनर उत्तम न्यौपानेको काम प्रशंसनिय छ । प्रत्येक दृश्यलाई झन दमदार बनाउन उनले गज्जबको ध्वनि सिर्जेका छन् ।
 
४. नायक अनमोल केसीले आफूलाई मिहिनेत गर्न सक्ने कलाकारको रुपमा उभ्याएका छन् । कसिलो शरीर बनाउन उनले सक्दो मिहिनेत गरेका छन् । उनको रोमान्टिक र एक्सन दुवै भूमिका हेरुहेरु लाग्छ ।
 
५. निर्माता द्वय सुवास गिरी र भुवन केसीले कुनै पनि दृश्यमा पैसा खन्याउन हिचकिचाएका छैनन् । लोकेशन, सेट, कलाकारको ड्रेसलगायतमा निर्माताले मनग्य पैसा खर्च गरेका छन् ।
 

नराम्रो के ?
 
१. फिल्मको सबैभन्दा कमजोर पक्ष भनेको कथा र निर्देशन हो । निर्माताले पैसा खन्याए झैँ निर्देशकले त्यसमा मिहिनेत गर्न सकेका छैनन् । निर्देशक सुरेन्द्र पौडेलले अनमोलको लुक्स परिवर्तन गर्न मात्र बढी समय खर्चेको देखिन्छ । यस्तै, पटकथाकार द्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले पनि आफ्नो काम देखाउन चुकेका छन् । 
 
२. ‘कृ’ को अर्थ बदला (रिभेन्ज) हुन्छ । फिल्मले बदलाको कथा त बोल्छ तर त्यसमा नयाँ शैली प्रयोग गरिएको छैन । फिल्मको कथा पुरानै ढर्राबाट ग्रसित छ ।
 
३. अनमोलले ज्यान बनाउन जति मिहिनेत गरेका छन् सोही अनुसार उनले अभिनयमा दुःख नगरेको देखिन्छ । विराज भट्टले बोल्ने जस्ता केही वजनदार डाइलगहरुमा अनमोल ‘म तिमीलाई माया गर्छु’ भन्ने शैलीमा प्रस्तुत भएका छन् ।
 
४. ‘यति यति पानी’ बोलको गीत रमाइलो छ । तर, ‘मैले जानी नजानी’ गीतको टाइमिङ गलत छ । अदितीको यादमा अनमोल तड्पिएका छन् तर गीत रोमान्टिक छ । दर्शक कन्फ्यूज हुन्छन् । यो गीतमा स्कटल्याण्डका दृश्यभन्दा काभ्रेको तोरी बारी राम्रो हुन सक्थ्यो ।
 
५. स्टाइलिस भिलेन निगम बाबा (अनुपविक्रम शाही) बारम्बार चार करोडको माल गायब भयो भन्दै रिसाइरहेका छन् । तर, अन्तिमसम्म पनि त्यो माल कसले पचायो काहीँ कतै देखाइएको छैन ।
 
६. अनमोल क्लबबाट फर्किएपछि हजुरआमा लक्ष्मी गिरीले घरमा केटीहरुको लाइन लगाइदिएकी छिन् । यो दृश्य निकै हास्यास्पद छ ।
 
७. अनमोलको अगाडि अदिती बुढाथोकीको लुक्स आकर्षक देखिन्न । अदितीको मेकअपमा कमजोरी देखिन्छ । कतिपय दृश्यमा उनको गाला खुम्चिएको छ । कतै अनमोलमाथी हावी हुने डरले अदितीलाई यस्तो देखाइएको त होइन ?
 
८. ‘मैले जानी नजानी’ गीतमा प्रो-स्टाइलको विज्ञापन र अनमोलसँग फोनमा कुरा गर्दैगर्दा निगम बाबाको ड्राइभरको अगाडि टाटा कम्पनीको ट्यागोर गाडीको होडिङ बोर्ड टाँसिएको छ । यो जर्बजस्ती राखिए झैँ लाग्छ ।


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15796
Re: Kri Film Review (Anmol KC, Aditi Budhathoki)
« Reply #3 on: February 13, 2018, 01:28:21 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15796
Re: Kri Film Review (Anmol KC, Aditi Budhathoki)
« Reply #4 on: February 17, 2018, 11:57:40 AM »
‘कृ’ : पुरानै रक्सी नयाँ बोतल
 रामजी ज्ञवाली -

काठमाडौं, २९ माघ । बलिउड किङ शाहरूख खानलाई मिडीयाकर्मीले सोधे, ‘तपाईंलाई कहिलेकाहीँ आफ्नो स्टारडम गुम्छ भन्ने डर लाग्छ कि लाग्दैन ?’ उनले निकै घमण्डका साथ भनेका थिए, ‘मलाई मेरो स्टारडममा पूर्ण विश्वास छ । मलाई थाहा छ म झूटो दुनियाँमा छु । तर म विश्वास गर्छु कि कसैले मेरो स्टारडम खोस्न सक्दैन ।’ शाहरूखले मिडियामा जसरी खुलेर यस्तो घमण्ड देखाए, त्यसको केही दिनमा अर्थात नोभेम्वर २५ मा बहुप्रतिक्षीत चलचित्र ‘डियर जिन्दगी’ रिलिज हुँदैथियो । र त्यो चलचित्र तोकिएकै समयमा रिलिज पनि भयो तर दर्शक सोचेअनुरूप हलमा ओइरिएनन् । शाहरूख त्यसपछि केही समय चुप बसे । घमण्डले मान्छेलाई के र कस्तो बनाउछ भन्नेकुरा शाहरूख खानको त्यो इन्टरभ्यु र चलचित्रले पनि प्रष्ट बनाइदियो । लगत्तै अर्को चलचित्र रिलिज भयो ‘जब ह्यारी मेट सेजल’ । तर यो चलचित्रले पनि कुनै कमाल गर्न सकेन ।

बेला बेलामा आफ्नो स्टारडमको निकै घमण्ड गर्ने शाहरूखलाई आजभोलि लाग्दै होला कि आमिर खानले त ठीकै भनेको रहेछ यार । आमिरले के भनेका थिए त ? शाहरूखको यही भनाइलाई जोडेर एउटा अन्तर्वार्तामा पत्रकारले पश्न गरेका थिए र आमिरले भनेका थिए, ‘मलाई स्टारडम गुमाउनुको डर छैन । म स्पष्ट छु कि यो सबै एकदिन म गुमाउँदै छु । यसलाई लिएर मेरो दिमागमा कुनै डर र चिन्ता छैन किनकी एकदिन यो पनि हुनेछ, जब यो मेरो साथमा स्टारडम हुने छैन । अनि डर केको लागि ?’ उनले त्यतिबेला अझै थपे, ‘एकदिन हामी सबैको मृत्यु पनि हुन्छ । सृजनशीलता पनि एक समयसम्म मात्र रहन्छ र अन्त्यमा यो पनि सकिन्छ ।’ आमिरले अगाडि भने, ‘मलाई यो सोचेर निन्द्रा लाग्दैन कि म फिल्म बनाउने जटिल कामलाई सही ढंगबाट पूरा गर्दैछु वा छैन । हामी जे हासिल गर्न चाहिरहेका छौं, के त्यो सफल भयो ? मेरो सबैभन्दा ठूलो डर यही हो । हामीले यहाँ केही गलत गर्नु हुँदैन । के म आफ्नो रचनात्मकता गुमाउँदै छु ? अवश्य पनि यस्तो हुनेछ । के म आफ्नो सम्पत्ति गुमाउँदै छु ? सय प्रतिशत यस्तो हुनेछ । यसलाई लिएर कुनै प्रश्न उठ्दैन । यो समयले तय गर्छ ।’

अब नेपाली चलचित्र क्षेत्रका युवापुस्ताका वादशाह मानिएका अनमोल केसीले पनि यो कुराको महसुस गर्नुपर्छ कि सधैं सोचेजस्तो हुँदैन र स्टारडम सधंै आफ्नो गोजीमा रहन्न । किनकी अनमोलले पहिलोपटक नेपाली चलचित्र क्षेत्रबाट नमिठो हार खाएका छन् । ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ ले अनमोलको उचाइ निकै माथि पुगेकोे थियो कि उनका अगाडि अरू कुनै अभिनेता आकाशमा उडेका हवाइजहाजबाट देखिने तल जमिनका साना घरजस्तै थिए । तर उनको पाचौं चलचित्र ‘कृ’ लगभग अरू चलचित्रको तुलनामा असफल भएको छ ।

निकै चर्चा गरिएको चलचित्र ‘कृ’ हेर्ने दर्शक बिस्तारै पातलिएका छन् । हल खाली हुन थालेका छन् । आखिर कारण के हो त ? यो उनको गल्ती हैन, उनको भाग्यमा विगतमा जस्तो कथावस्तु परेनन् । अनमोलले शतप्रतिशत दमदार अभिनय गरेका छन्, तर कमजोर कथावस्तुमा अनमोलको त्यो अभिनय फिक्का छ । उनले मिहेनत गरेअनुसार कथावस्तु शक्तिशाली नहुनु दुर्भाग्यपूर्ण कुरा हो ।

यसअघि लभरब्वायको रूपमा देखिएका अनमोलका फ्यानहरूले यो चलचित्रमा फरक देख्ने भनेको एक्सन अवतार मात्रै हो । तर चलचित्रको पटकथा र निर्देशकीय पाटो यति झुर छ कि सायद, कृ यस्तो होला भनेर कमैले अनुमान गरेका थिए होलान् । सम्पादनमा निकै चर्चामा रहेका सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा उनले कुनै कमाल देखाउन सकेनन् । ‘कृ’ पछि यति चाहिँ भन्न सकिन्छ कि उनले नेपाली चलचित्र निर्देशन नगरेकै राम्रो ! यो कारणले कि अनमोलजस्तो स्टारडम भएका नायकलाई फितलो भूमिकामा देखाउनु र त्यत्रो खर्च गरेर पनि राम्रा चलचित्र खेजिरहेका दर्शकको प्यास नमेटाउनु हो । भुवन केसी र सुवास गिरीको करोडौं रकमलाई निर्देशक पौडेलले सही तरिकाले सदुपयोग गर्न नसक्नुले अनमोलको स्टारडम मात्रै खतरामा परेको छैन समग्र टिमकै अगाडि प्रश्न चिह्न खडा भएको छ –के राम्रा नेपाली चलचित्र भनेको यस्तै हो त ?
 
अब नेपाली चलचित्र क्षेत्रका युवापुस्ताका वादशाह मानिएका अनमोल केसीले पनि यो कुराको महसुस गर्नुपर्छ कि सधैं सोचेजस्तो हुँदैन र स्टारडम सधंै आफ्नो गोजीमा रहन्न । किनकी अनमोलले पहिलोपटक नेपाली चलचित्र क्षेत्रबाट नमिठो हार खाएका छन् ।
 

कथावस्तु : उही पुरानै स्वादको जेरीजस्तो
बहुप्रतिक्षित चलचित्र ‘कृ’ गत शुक्रबारबाट देशभर रिलिज भयो । ‘कृ’ कै कारणले ‘कान्छी’ चलचित्रले आफ्नो डेट पनि सा¥यो । र  सोलो रिलिजको अवसर पनि पायो । मिडियालाई नै आधार बनाएर भन्ने हो भने पहिलो दिन एक करोड र दोस्रो दिन २ करोडको व्यापार ग¥यो । यति सानो बजार भएको नेपाली चलचित्र उद्योगमा यति राम्रो व्यापार गर्नु पक्कै पनि नेपाली चलचित्रको लागि शुभ समाचार हो ।  र अस्ति शनिबार गोपीकृष्ण हलमा ‘कृ’ का नायक अनमोल केसीलाई दर्शकहरूले जुन किसिमको व्यावहार गरे, साँच्चै त्यो नेपाली चलचित्रको लागि अचम्म लाग्दो थियो । तर, चलचित्र केही हदसम्म सफल हुँदाहुँदै पनि एउटा चेतना भएका दर्शकले चलचित्रमा केही पनि भेटेनन्, यो दुःखलाग्दो कुरा हो । कथा भन्ने तरिका उही पसलको उही पुरानो स्वादको जेरी खाएजस्तो ।   

आफ्नी बाल्यकालकी प्रेमिका केशर (अदिती बुढाथोकी) ले भने अनुरूप लाउरे भएपछि अनमोल केसी (लाउरे) उनलाई भेट्न नेपाल आउँछन् । काठमाडौंमा ल्याण्ड भएको केहीदिनमा उनी अदितीलाई भेट्न गाउँ पस्छन् । उनीहरूको सजिलै भेट हुन्छ । तर, केशरले चिन्दिनन् । अनमोल गाउँ घुम्दै जाँदा उनकै घरमा बास बस्न पुग्छन् । केशरलाई आफू लाउरे भएर आएको चिनाउन खोज्छन् तर अदितीले चिन्दिनन् । जब उनले चिन्छिन्, अनमोल मन निराश बनाउँदै काठमाडौं फर्किसकेका हुन्छन् । अदिती अनमोल खोज्दै काठमाडौं आउँछिन् र गुण्डाको घेरामा पर्छिन् ।

यहाँ समस्या के छ भने नि ! क्यामेरामा पनि कुनै आर्ट देखिँदैन । काम चलाउनकै लागि मात्र र भिडियो खिच्नकै लागिमात्र चलाएजस्तो छ । क्यामेराको पनि कहाँबाट कसरी चलाउने भन्ने आफ्नै नियमहरू हुन्छन् । तर ठूलो बजेटको नेपाली चलचित्रमा पनि यति केयरलेस तरिकाले क्यामेरा चलाइएको छ कि सेन्सलेस तरिकाले खिचिएको छ हर दृश्यहरू । यत्रो ठूलो लगानी गरेर पनि राम्रोसँग क्यामेरा नचलाउनु दुर्भाग्यको कुरा हो ।

हिरोइन किड्न्याप भएको दृश्य छ । जहाँ यति झुर तरिकाले सिनहरू लिइएको छ कि अप्ठ्यारो लाग्छ चलचित्र राम्रो छ भन्नको लागि पनि । जहाँ पहिले हिरो र हिरोइन रोडमा भेटिन लाग्दा बस आउँछ र हिरोइन गायब हुन्छ । पछि मेन भिलेनले कथा भन्न लाग्दा पहिले नै हिरोइनको अगाडि पहिले नै बस बसेको देखाउँछ । योभन्दा झुर र केयरलेसनेस सायदै भेरिएला अन्य राम्रा भनिएका नेपाली चलचित्रमा पनि । यिनै सवाल वरपर घुमेको चलचित्र ‘कृ’ लाई दमदार बनाउन खोजिएको छ तर कथावस्तु न यता न उता बनाइएको छ ।

बच्चैमा छुटेकी प्रेमिकासँग पुनर्मिलन गर्न हिरो गाउँ फर्कनु, गुण्डाहरूले बाटो छेक्नु । ती प्रेमिका बलात्कारमा पर्नु । प्रेमीलाई आक्रमण गर्नु लगायतका विषयमा दर्जनौं फिल्म बनिसकेका छन् । सानोमा केटाकेटीबीच चिनो आदानप्रदान गरिएका विषयमा पनि टन्नै फिल्म बनेका छन् । ‘कृ’ को कहानी यो भन्दा माथि उठ्न सकेको छैन । बरु अनमोललाई ‘कृ’ले उनले विगतमा कमाएको स्टारडम बढाउने भन्दा पनि घटाउने सहजै अनुमान लगाउन सकिन्छ । फिल्ममा एक्सनबाहेक प्रेमकथा छ तर केही इमोसनल बनाउन सक्दैन फिल्म हेर्ने दर्शकहरूलाई । प्रेमीहरूलाई । प्रेम कथा त हो यो चलचित्र तर दर्शकको आँखाबाट आँसुहरू खस्न मान्दैनन् । समस्या यहाँनेर हो । फिल्म हेरिरहँदा वाह भनेर दर्शकले आँसु झार्ने कुनै दृश्य देखाउन सकेका छैनन् निर्देशक पौडेलले । फिल्मको होहल्ला साह्रै गरिए पनि साँच्चिकै भन्दा पुरानै शैलीमा चलचित्र निर्माण भएको छ । पटकथाकारद्वय प्रदीप भारद्वाज र आशिष रेग्मीले कुनै चक्मा दिने खाले जादु पस्कन सकेका छैनन् । अनमोलको अभिनय दमदार छ । चलचित्रमा देखाइएका दृश्य गज्जबका छन् । निर्माताद्वय सुवास गिरी र भुवन केसीले मन खोलेर लगानी गरेका छन् । तर त्यो लगानीलाई सोही अनुपातमा फिल्मका कमान्डर सुरेन्द्र पौडेलले कमाल देखाउन सकेका छैनन् । अनमोल जस्ता सर्वाधिक रुचाइएका स्टारलाई सही र राम्रो कथावस्तुमा प्रयोग गर्न नसकेर पौड्याल चुकेका छन् । हिरोको लुक्स चेन्ज गरी सफा र ताजा दृश्यमा फिल्म खिच्नु मात्र निर्देशकीय ड्युटी पक्कै हैन । गतिलो विषयवस्तु टिपेर त्यसलाई सुन्दर र सबैको मन मुटुमा छुनेगरी पात्रहरू मार्फत चलचित्रको सिनहरूमा देखाउनु पनि हो ।
 
फिल्ममा फाइटका दृश्य प्रशस्त छन् । कोरियोग्राफी आकर्षक छ । एक्सन राम्रै प्रस्तुत भएको छ । चन्द्र पन्तले आफ्नो ठाउँबाट राम्रै गरेका छन् । फिल्ममा एउटा विषयवस्तु गुन्डा र प्रहरीबीचको सम्बन्धलाई राम्रैसँग देखाइएको छ । साउन्ड डिजाइनर उत्तम न्यौपानेले राम्रै कमाल गरेका छन् । पुरुषोत्तम प्रधानको खिचाइ औसत छ । तर फिल्मका गीत दर्शकको मनमा बस्ने खालका छैनन् । गठिलो ज्यानका अनमोलले साँच्चै मिहेनत गरेका छन् । अभिनयमा कुनै कन्जुस्याइँ गरेका छैनन्, अभिनय कथावस्तु अनुसार राम्रै छ । अनमोलले थोरै फिल्म तर तारिफयोग्य काम गर्ने भन्दै आएका छन् । तर लामो समयमा खुबै मिहेनत गरेर काम गरिएका फिल्म नै राम्रो भएन भने करिअर धर्मराउन सक्नेमा कुनै शंका छैन । ‘कृ’ ले त्यस्तै कुनै अशुभ संकेत देखाएको त हैन ? त्यो भविष्यमा थाहा होला तर अब अनमोलले फेरि एकपटक सोच्नैपर्छ र अभिनय तथा लुक्समा केही नयाँ देखाउनैपर्छ ।

फिल्मको प्रोमो गजबको बनेको थियो । त्यसो त प्रोमोको ‘मेरा दुश्मनहरूले सोचेका होलान, म कहिल्यै फर्केर आउने छैन’ डायलग बलिउड कै ‘डन २’ मा शाहरूख खानको डायलगसित मिलेको भन्दै सोसल मिडियामा आलोचना भएकै थियो । तर त्यो डायलग फिल्मभित्र कहीँकतै देखिँदैन । यहाँ आँखै अगाडि चोरेर पनि चोर होइन भन्दै तर्किन खोजिएको छ ।

समग्रमा अनमोलको अभिनय राम्रै भए पनि यो चलचित्रले न त नेपाली चलचित्रलाई माथि उठाउन सक्छ न त ‘कृ’ को नाम लिएर ‘नेपाली चलचित्र यस्तो हुन्छ’ भनेर गर्व गर्न नै सकिन्छ । बस, सुवास गिरी र भुवन केसी लगानी हावामा उडाउन बाहेक अरू गतिलो योगदान केही छैन । र यसको सम्पूर्ण दोष निर्देशकले लिनुपर्छ । किनकी यत्रो लगानी गरेर पनि यस्तो झुर चलचित्र बन्नु भनेको  दुर्भाग्यको कुरा हो ।

from janataPost