Nepali Community Forum
xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on October 03, 2011, 07:33:06 AM
-
Shabda Ko Kinarai Kinar
शब्दको किनारैकिनार
राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
-
Nichorera Sukayeko Akash
निचरेर सुकाएको आकाश
आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
-
Maya Ko Dhisko
मायाको ढिस्को
धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने
ढिस्को बनाएर जाँदो रहेछ ।
-
आजकल मलाई
लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अन्तर्तरङ्ग बुझ्न
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु
अरूका मनका भारीले थिचेर
आजकल मलाई मेरो अस्मिताभन्दा
अरू कसैको जीवन बाँचेजस्तो लाग्न थालेको छ
भन्छन्
धेरै जनाले तिमीमाथि आँखा लगाएका छन् भने
तिमी अपरिचित आँखाहरूका बाढीमा बगेका हुन्छौ
भन्छन्
सबैका मनहरू लिएर हिंड्छौ भने
तिमी समयका पुराना बस्ती खोजेर
तिनीहरूलाई बिसाउने ठाउँ हेरिरहेका हुन्छौं
इतिहास यसरी नै बनिएको हो भन्छन्
मनहरूका बाढीमा कसैलाई धकेलिदिएर
कसैले चम्किला आँखाले सीधा हेरेर
एउटा पीडा देखियो भने
कहीं केही बलियो रचना भत्किन्छ
कोही दुःखले मनभित्रको खण्डहर देखाएर उठ्यो भने
तिम्रो मनभरि नै भैंचालो जान्छ
लाग्छ त्यसैले
मान्छेको समय कुइरोजस्तै
सबैको मन छोएर उडेको हुन्छ
कहिलेकहीं लाग्छ
हिजोको जस्तो बिहानी
दर्जनौं कुखुराहरू बासे पनि खुल्दैन
लाग्छ हिजोको जस्तो साँझ
हजार चराहरूले झुम्मिएर सहगान गरे पनि
आकाशभरि आरेखित हुँदैन
त्यसैले हिजोआज
आफ्नै स(साना बिहानीहरू
अक्षरमा कोरेर
कागजको मैदानभरि छरिदिन्छु
साँझहरू समातेर
कविताका क्षितिजभरि टाँगिदिन्छु
जिन्दगी भनेको
पहाडमाथि चढिसकेर
कठै फेदीमा सम्झनाहरू छोडिए भन्ने
एउटा लामो सुस्केरा मात्र रहेछ !
शहरमा पसेको यति धेरै भयो
यहाँ अनेकौं समय
पुराना घर र गल्लीहरू
अनि देवालय र गुम्बाहरूका खण्डहरमा
लडेर घाइतेजस्तै छट्पटाएको देखेको छु
अनि
मन र चाहनाहरूका पनि
खण्डहर हुँदारहेछन्
जहाँ मान्छे
आफ्नै शहीद दिवस एकल गायन गरेर मनाउँदोरहेछ
एक्लै उद्घोषण गर्दोरहेछ
अनि हतियारहरूमा
त्यस कथालाई लुकाउँदो रहेछ
यहाँ हिजोआज
यात्राहरूका गन्तव्य छैनन्
कोही बिपनाको बाटो गरेर
घोर सपनाभित्र पस्छ
कोही काँधमा उज्यालो बोकेर
अँध्यारो खोज्दै हिंड्छ
सपनाहरू भत्किन्छन्
बिपनाहरू क्षतविक्षत हुन्छन्
छेवैबाट उडेका गोलीको आवाजमा
एउटा किशोर आफूले घरमा छोडेको सङ्गीत सुन्छ
झुट खेल्नेहरूका अभिनय
साँचो खेल भएका छन्
तिनलाई हेरेर
म आफैं भीड किनारामा
मन नपराए पनि
बा ! बा ! गर्दै ताली बजाएर उभिएको हुन्छु
समयको कानमा
मेरी ताली सुनिंदैन
मेरो समर्थन र विरोधले
कुनै पनि खेलको हारजीत हुँदैन
आफ्ना सबै कथा कोरेर
एउटा रङ्गमञ्चमा उभ्याउँछु
कथा खोजेर आउनेलाई पर्खेर
कपडामा तन्त्र आलिङ्गनमा बाँधिएका
आकाश भैरवका नाच फैलाएर कसैलाई पर्खिएर बस्छु
संस्कृति भनेको
कहिले लाग्छ
मेरै सपनाको खेती हो कि
आफूले देखेको समयमा
केही बनाउने चाहनाले
आफैंले टाँगेको सानो आकाश हो कि (
संस्कृति
म हिजोआज
अघि नै छोडेका कुनाकानी
अहिले हिंडेका यी गोरेटाहरू
सबैलाई एउटै कुनै आकार दिन खोजिरहेको हुन्छु
मलाई आजकल
अरूको मनका खण्डहरबाट
केही रचना उठाउने चाहनाले पिरोल्छ
हिजोआज म
आफ्नो आकाश अरूलाई दिएर
कहीं केही बनियोस् भन्ने चाहनाले पिरोलिएको छु
तर लाग्छ
दौडभित्र कहीं चौतारी छन्
कहीं आफ्नै यात्रामा
अरूका आँखाहरूसँगै कुद्छन्
मलाई आजकल
कहीं चढ्दा
उचाइले पिरोल्दैन
झर्दा फेदीको चिन्ताले छुँदैन
आजकल मलाई
थकित आकाशले स्पर्श गर्दा
कहीं जानै पर्ने चिन्ताको उज्यालोले पनि लखेट्दैन
आजकल मलाई !
– जाभा कफी हाउस, ठमेल
888888888888
निचोरेर सुकाएको आकास
आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
*****
शब्दको किनारै किनार
राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
*****
मायाको ढिस्को
धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने
ढिस्को बनाएर जाँदो रहेछ ।