Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on October 12, 2011, 07:42:16 AM

Title: Ashesh Malla - अशेष मल्ल का कविता
Post by: tundikhel on October 12, 2011, 07:42:16 AM
मुक्तिको कल्पना
(नेपाल साप्ताहिक, अंक १३८)

चराका पखेटा काटिदिनुस
र, भन्नुस्
जा
उड् आकाशमा ।
र, भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग
बादल भएर
उड्न आकाशमा

चराका प्वाँखहरू उखेलिदिनुहोस्
र,
भन्नुस्
तेरो छातीमा
कहिल्यै
हिर्काउने छैन धनुका बाँडहरू
र,
कहिल्यै
सिकार गर्ने छैन
एकान्तमा
चराका पखेटा काटिदिनुस्
र,
कल्पना गर्नुस्
मुक्त आकाशमा
आकाशिँदै उडेका
स्वतन्त्र उडानहरू
चराका प्वाँखहरू उखेलिदिनुस्
र,
गर्नुस् कल्पना
मुक्तिको ।
Title: Re: Ashesh Malla - अशेष मल्ल का कविता
Post by: tundikhel on October 12, 2011, 07:42:32 AM
म, अक्षर र मेरो कविता
(मधुपर्क २०६५ माघ)

अक्षरहरूको युद्धमा
मैले शब्द बुन्न नसक्दा
कविता
अधुरो भएको छ
ठीक अहिलेको
भयग्रस्त वर्तमान जस्तो ।
चौबाटोमा उभिएको
अन्योल बटुवा
उभिएको उभियै छ
मेरो कविता जस्तो
न यता न उता
आफ्नै युद्धले थकित
मेरो सपना ।
क्रुद्ध अक्षरहरू
चिथोर्दै भन्दैछन्
कति पछार्छस् कागजका छातीमा मलाई ?
म अनुत्तरित कवि
भावनाका लहरबाहेक
के छ र मसँग
खेप्न सक्दिन
अक्षरहरूका विद्रोह
अब मेरो कविता
कहाँ गएर सकिन्छ
कविताको मृत्यु
के यसरी पनि हुन्छ
मलाई थाहा थिएन ।
बाध्य छु
अक्षरहरूसँग सम्झौता गर्न
असङ्ख्य गोमन पीडाले
आहत मनसँग
न शब्द छन्
न वाक्य
न धुन
न राग
न रङ
अमूर्त अमूर्त भावहरू
अक्षरकै सहाराले
बिउँझन्छन् सिर्जनामा
म कवि
व्यर्थैको अहंले मात्तिएको छु
नत्र
मेरा कविताहरू किन
बेवारिस
पछारिन्थे घुर्‍यानमा
यत्रतत्र ।
मलाई थाहा छ
अक्षरहरू ठोक्किएर
भत्किए पर्खालहरू

भित्रिए उज्यालाहरू
अँध्यारा अँध्यारा चोक, गल्लीहरूमा
के बादल फाटेका होइनन्
कविताका प्रहारले ?
निख्खुर काला बादल
पराजित भए कविताका बज्रहरूले
अहिले पछारिएर अर्धचेत
समयको झापड खेप्दै छ कविता
म थकित कवि
निरीह कलमलाई सोध्दैछु
तिमी थाक्यौ कि म ?
कि यो वर्तमान ?
निःशब्द
मौन
एउटा गर्त
म, कलम र अक्षरहरूमाझ
सायद
अन्योलग्रस्त वर्तमान
पर्खिरहेछ
एउटा अर्को कविता ।
Title: Re: Ashesh Malla - अशेष मल्ल का कविता
Post by: tundikhel on October 12, 2011, 07:42:51 AM
एउटा र्स्पर्श

एक दिन अचानक
शहरका चौबाटाहरुमा
हाम्रा मृत शरीरहरु
वेवारिस पल्टिएका हुनेछन्
र हामी हाम्रै लाश अघिल्तिर
उभिएका हुनेछौँ लाचार ।

एक दिन
आनक
हामीलाई बल्ल थाहा हुनेछ
हाम्रै शरीरबाट निस्केर हामी
हाम्रै लास अघिल्तिर उभिन पुग्नेछौँ
अनि
गीताका श्लोक
याद गर्ने कोसिस गर्नेछौँ
एक दिन अचानक
अनि पत्याउनेछौँ
आत्माका अमर अस्तित्वहरु
जब लास अघिल्तिर उभिएर
लाचार
र्स्पर्श गर्ने कोसिस गरिरहेका हुनेछौँ
आफ्नै लास
मानौँ
खोल फालेर हिँडेको
एउटा र्स्पर्श ।
एकदिन अचानक
न्रि्राबाट ब्यूँझदा
आफूसँगै नभएर
आफन्तहरुकै
लास
र लास वरिपरि
झिँगा स्वरुपमा
भन्किरहेका हुनेछौँ
सारा शहर ध्वस्त ध्वस्त
धुँवा/धुँवा चारैतिर
खण्डहर/खात/खात
लासहरु
अनि आकाशभरि मडारिएका हुनेछौँ हामी
बादलजस्तो
रूप रङ्ग र स्वरुपविहीन
एक दिन अचानक
सहरको धुलो/धुलो/र धुलो
उडिरहेका हुनेछन्
लम्पसार पर्नेछन् महलहरु
सडक सडक छोपिएर पछारिनेछन् गुम्बजहरु
अनि हामी हाम्रै लास भन्दा
अलि माथि भन्किरहेका हुनेछौँ
शून्यमा आफैँलाई खोजेर ।
Title: Re: Ashesh Malla - अशेष मल्ल का कविता
Post by: tundikhel on October 12, 2011, 07:43:09 AM
 फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ

मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो
निर्मम चट्टानसँगको साउती र सम्झौतामा
चुपचाप बग्दोछ यो मन
कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो
किन चोरेर लग्यौ एकाएक
मेरो मनको एक जोडी परेवा
पर्काइदेऊ
उडून् माथि कतै आकाशको गहिराइमा
चाहान्छन् यदि भने
आकाशदेखि पनि पर कतै अनन्तको आकाशमा
आज यो मनलाई लामो थकान मेट्न
कुनै चौतारीको ढुँगा चाहिएको छ
एक जोडी बर-पीपलको छाँया
र निर्मल, सुकिलो, चिसो बतास चाहिएको छ
कंकाल जस्तै यो मन
गहिराइ छामेर तल ओर्ले जस्तो
मध्यरात मन पनि मीठो निद्रा निदाउन नसकेर
छटपट-छटपट
यो मेरो मनको तलाउमा
एकाएक आज तरङ्ग उठिरहेछ
एक झरी निद्रा फर्काइदेऊ
एक जोडी परेवा फर्काइदेऊ मनको
किन चोर्‍यौ सुटुक्क यो मनको अज्ञात देशबाट
उड्न देऊ चुपचाप गहिराइमा
आकाशदेखि पर कतै अर्को आकाशमा ।