Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: testo on March 11, 2015, 09:34:00 AM

Title: Kalanidhi Dahal poems (कलानिधि दाहाल)
Post by: testo on March 11, 2015, 09:34:00 AM
कलानिधि दाहाल – मधुपर्क मधुजस्तै
(मधुपर्क माघ, २०६७)

तप्तपी मधुका थोपा तप्तपाएर तप्तप
मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप ।
बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ
सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।।
मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए
उफ्रिए कति उन्माद मादकै साथ भेटिए ।
सबै मौसममा उस्तै कुस्ती खेली निरन्तर
विजयश्री तिमी पैरी रहेका छौ सधैँभर ।।
ताते पल्टाउँछन् पाना थोते चश्मा लगाउँछन्
नव उन्मेशीका गाना तिमीमै गीत गाउँछन् ।
आत्मको धुक्धुकी तिम्रै पानामा भर्न धाउँछन्
चोखो जिन्दगीको रन्को तिमीमै छर्न पाउँछन् ।।
बाह्र वर्ष विते एकसाथका जोड साथमा
नछिप्पी तर उस्तै छौ तरुना गाथगाथमा ।
भेटिए कतिका डोव कोरिएर पनि गए
इतिहास यहाँ कैयौँ च्यातिएर धुजा भए ।।
आँधी आए यता कैयौँ नारा सडकमा वहे
बलका बाहुली उर्ले निरीह न्यायमा रहे ।
निरीह न्यायको बत्ती तूफानमा पनि बल्यौ
अन्तर्मर्म सजाएर धप्प ! धप्प !! बलीरहृयौ ।।
निरन्तर जमेका छौ सानले मान गाजले
चेतना ज्वारका कुञ्जी पवित्रस्वाभिमानले ।
न कतै हल्लियौ दुब्लो पातलो पातझैँ भई
न कतै फेरियौ रङ्ग छेपारे जातमा गई ।।
सय पाँच भयौ ठेली फूलका पत्रपत्रका
करोडौँ वासना सुँघ्छन् अनेकौँ पलभित्रका ।
यो गौरव सधै गाथा, माथाझैँ अग्लिई रहोस्
सुख्खा जर्जरमा नित्य हिउझैँ पग्लिइरहोस् ।।
तप्तपी मधुका थोपा तप्तपाएर तप्तप
नानीदेखि बूढा वानी सम्म होस् फैलने जप ।
समाधि मग्न साधुका आँखाझैँ टल्किई रहोस्
मधुपर्क मधुजस्तै पवित्र रसमै वहोस् ।।
Title: Re: Kalanidhi Dahal poems (कलानिधि दाहाल)
Post by: testo on March 11, 2015, 09:34:50 AM
नयाँ हर्ष खन्याउँछौं
(मधुपर्क बैशाख, २०६७)

कति वर्ष बिते यस्ता वर्षैवर्ष गनी गनी
उस्तै छन् दर्दका आँसु सहस्रौँ वर्षमा पनि ।
भोकोभोकै छ त्यो पेट आङ नाङ्गै छ यो पनि
कति वर्ष बिते खाली-पेट, आङ भरौँ भनी ।।

तर खै ? वर्षका फेरा नयाँ घेरा घुमीघुमी
ओर्लंदा पनि छन् उस्तै धराका दीनका जुनी ।
पैह्रो पहाडमा उस्तै तातो तराई हप्हप
जम्मै उपत्यका उस्तै आफैमा मात्र झप्झप ।।

नयाँ हृवैन पुरानैमा चोला मात्र अलिकति
फेर्हिए पनि पो तिम्रो हुन्थ्यो स्वागतको गति ।
हृयूँचुली पग्लिएजस्तै पग्लिए दिलका गति
तिम्रा स्वागतमा हुन्थे लाम लाग्ने कति कति ।।

काँटाजस्ता सधैँ नेता यता जन्मीरहे किन
तिम्रा स्वागतमा शब्द छानी लागूँ म खर्चन ?
धमिराले उठाएको रुखो माटो सरी दिल
सधैँ हुन्छ भने तिम्रो भिन्न हुन्छ र यो पल ??

गाउँमा रक्तका छर्रा चुहेका पाई छर्छर
आँसु तप्तपिने आङ उस्तै छन् घरका घर ।
सुत्केरो वेदनाभित्र चेली मर्छन् जताततै
भने स्वागतमा तिम्रो हुन्न लाभ कही कतै ।।

नयाँ वर्ष तिमी साँच्चै हर्ष छर्छौ भने यहाँ
खोँच, बेँसी हुँदै उक्ल पैह्रा पहाड छन् जहाँ
हरिया पिपिरा उम्र लहरा फैलिई झर
परिवर्तनका प्याला नेताका घरमा छर ।।

जहाँ जता जजल्ले जे बोले पनि लगाम यो
यिनकै हातमा हुन्छ परिवर्तन प्यारको
प्याला पोख यिनै भित्र हटाऊ दिलका विष
अनि स्वागतमा लाम निस्कन्छन् भई छास्मिस ।।

त्यहाँ काङ्ग्रेस क्वै हुन्न माले एमाले क्वै पनि
माओवादी हुँदैहुन्न-डङ्का फुक्ने कुनै ध्वनि ।
तर हुन्छन्, त्यहाँ जम्मै एउटै स्वरका मनि
‘हामी मानवता मान्छे घुक्घुकी एउटै भनी ।।

तिमी सर्लक्क जम्मैमा छोई जसरी र्झदछौ
पाखापर्वतका फाँट समग्र विश्व भर्दछौं
यौटै प्रणयको प्याला पोखी जसरी झुम्दछौ
त्यस्तै बनाऊ यी नेता अनि स्वागत चुम्दछौ ।।

उजेलो कलिलो घाम-घाममा जब छाउँछौ
विभेद नगरी यौटै तब पो धप्धपाउँछौ ।
त्यही रूप तिमी देऊ-नेतामा धप्धपाउने
स्वार्थलिप्सा सबै छाडी -अखण्ड दीपझैँ हुने ।।

नबोली तिमी ओर्लन्छौ विना स्वागतद्वारमा
नभनी तिमी चम्कन्छौ गलाका दिव्यहारमा ।
नबोली तिमीलेजस्तै अर्कैमा भई अर्पित
हुने हर्ष यहाँ नेता नेतृमा हौ समर्पित ।।

अनि जम्मै नयाँवर्ष यौटै हर्ष मनाउँछौँ ।
बाह्रैमास यहाँ तिम्रा गीतमै गुन्गुनाउँछौं ।।
प्रीतप्याला सबै उस्तै द्वारमा निस्की आउँछौं ।
अङ्गालो एकमा जम्मै नयाँवर्ष मनाउँछौं ।।
नयाँ हर्ष खन्याउँछौं ।

-ओखलढुङ्गा, विगुटार
-हालः वत्तीसपुतली, रातोपुल


********

 प्रजातन्त्रको प्रमिथस हो ऊ

पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !
पश्चिम उड्ने प्वाँख सजाई
नाग्बेलीका घुम्तीहरूमा !
सजल सजेको मानवताको
बत्ती बलेको एक कलामा !
कल्पतरुझैँ कलरवधुनमा
कल्पनाका चञ्चु उघारी !
फैली शाखा शाश्वत युगका
भाका खोल्ने जलको झारी !
पोथ्रा सिञ्ची वागहरूमा
फक्री गुलाफी पत्र हजार !
प्रजातन्त्रको बत्ती बलेको
हेर्न उजेलो सब संसार
आर्तहरूका आँचल पक्री
मलम लगाई हिँड्न तयार
कलियुगको ऊ मानव बत्ती
नवभाकाको उच्च निधार
टललल टल्क्यो झलल झल्क्यो
उद्बोधनको विद्युत् तार
तरङ्गहरूमा तैरीतैरी
भवको खिच्दै भावुक सार
सललल सङ्लो दिलको खोली
तनको छोप्यो तातो धार
चेतनाताका ज्वार उफारी
सागर छल्क्यो छलछलछल्
बालु किनारा भित्र उमार्यो
अक्षरहरूका बिरुवा कोमल
बिरुवावयमा कतिकति फक्रे
रागसुवासी सुन्दर सार
यमुना किनारा टुकुटुकु दौड्यो
प्रणयलताका पक्री धार
शाहजाहँको सुन्दर खोपी
ज्वरशमनाको खोली द्वार
यसजगमा ऊ तप्क्यो तपतप
शीत सजाई, बाजु बजाई
गौरवगहमा लाई धाप
ताप बलेको अनलाग्निमा
हिमचुलीको ऊ एक धरोहर
तपतप पग्ली थपथप अग्ली
गगन छोई चुक्छ सरोहर
पग्ली पुग्दछ झोपडी चुम्न
फैली सवेरै झिल्का छर्न
प्रमिथसको ऊ दिव्य मुटु हो
एक्लै हिँड्दछ पीडा हर्न
अक्षर वनका कल्पतरुमा
मानवताका शाखालाई
दिव्य दयाका लहर लताका
धर्तीबाटै क्षितिज सजाई
किरणप्रभाका साथ ऊ ओर्ली
तिरमिर तारा फैलिरहेछ
फैलिफैली जनका मनमा
हिमचुलीजस्तै अग्लीरहेछ
अग्लीअग्ली भरना बन्दै
इन्द्रेनीमा पग्लीरहेछ
प्रजातन्त्रको प्रमिथस हो ऊ
अमरपताका फैलिरहेछ
भावहरूका दिलदिल भाका
सिमसिम झरीझैँ तैरिरहेछ

-ओखलढुङ्गा, बिगुटार