Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: anand on April 09, 2015, 03:28:08 AM

Title: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on April 09, 2015, 03:28:08 AM
गजलकार – प्रकट पंगेनी ‘शिव’

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुनसाबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसीजुन
गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on April 09, 2015, 03:29:21 AM
फेवा तालमा

उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख !
हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !!

त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द !
भेटे रिमाइ जाल भित्र माल साँझ पख !!

के हेरेथिन एकै नजर मन मा लाग्यो बाण !
भन्नु होला म त रिमाइ बेहाल साँझ पख !!

बान्कि उनको रुप उनको हिस्सी उनको देख्दा !
सत्य रिमाइ निको थेन चाल साँझ पख !!

हात माग्दा हात दियिन चुप्पा माग्दा चुप्पा !
कामाग्नी ले जल्यो रिमाइ ताल साँझ पख !!
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on April 09, 2015, 03:37:49 AM
जहाँ पुग्नुपर्थ्यो त्यहाँ पुगिएन - गीतकार एवं गजलकार प्रकट पंगेनी शिव

सबैले प्रकट पंगेनी शिव भनेर चिन्छन् उनलाई तर थोरैलाई थाहा होला, उनी शिवराज पंगेनी हुन् । देउराली उकाली कास्कीका शिवले २०३३ सालमा स्थानीय 'हिमदूत' पत्रिकामा विडम्बना नामको कथा छपाएर साहित्याकाशमा प्रवेश गरेका हुन् । यो मन कतै अल्झेको छ, जूनको चिठ्ठी जूनालाई, प्रणयवेदका ऋचाहरूजस्ता गीत र गजल सङ्ग्रहले आफ्नो छाप बनाएका उनका छवटा कृति प्रकाशोन्मुख छन् । करिब ४० वटा गीत रेकर्ड गराएका उनले नाटक निर्देशन र अभिनयसमेत गरेका छन् । राजधानी आगमन क्रममा उनै शिवसँग जम्काभेट भयो नयाँ सडकमा । प्रस्तुत छ, सोही क्रममा मधुपर्कका लागि जी पथिकले गरेको अन्तरङ्ग कुराकानी ।)

प्रकट पंगेनीलाई कसरी चिन्ने ?

यो एउटा छाप कसरी बन्यो भने कवितामा ग्रामीण परिवेश, गृहस्थीमा लेख्छु । 'गृहस्थी कवि' भनेर सुरू सरूभक्तले उपनाम दिनुभयो । दोस्रो पुस्तामा १४ लाइनका गीतबाट अर्को छाप पर्न गयो । गजलमा प्रणयपरक गजलले स्थापित बनायो ।

प्रणयपरकमा ढल्किनुको कारण ?

आँसु वेदनाका पनि लेखेको छु । संयोगान्तभन्दा वियोगान्तका दुईवटा गीतका पुस्तक नै छन् । मेरा फ्यानले काठमाडौँंको गुरुकुलमा 'प्रणयमा प्रकट दाइ' गरेपछि छाप बस्यो । मलाई पनि त्यस्तै मनपर्‍यो ।

प्रणयपरक गजलमा अश्लील वा हल्कापन हुन्छ भनिन्छ ?

यो आ-आफ्नो दृष्टिकोणको कुरा हो । गजल बुझ्नेले यसलाई बुझ्छ । अश्लीलताको आरोप पनि खेप्नुपर्यो । मेरा गजलमा संयोग होइन, स्पर्श छ । सौन्दर्यको वर्णन गर्दा अश्लील बन्न जान्छ भने यौन कुण्ठित दृष्टिकोण हो । आरोप लगाउनेमा डाहापन भेटेको छु ।

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?

जुन समयदेखि प्रेमको परिभाषा चल्दै आयो, त्यो फेरिएन । युवाले गर्ने प्रक्रिया भनियो तर प्रेम शाश्वत हो, हरेक कुनै उमेरमा पनि प्रेम हुनसक्छ भनेर कहिल्यै भनिएन । पत्नीलाई गरिने प्रेम प्रेमिकालाई गरिँदैन ।

मागी कि भागी विवाह ?

दुवै भन्नुपर्यो । भेटघाट बोलचाल भयो, त्यसपछि मागियो । उसबेला मोबाइलबाट डेटिङ जाने चलन थिएन । चिठी वा समाचार पठाएर समय र स्थान मिलाउनुपर्थो । उनी दमौली म पोखरा देउरालीमा ५० किलोमिटर दूरी थियो । अचेलजस्तो दिनहुँ भेट हुने त कल्पनासम्म थिएन ।

यौनलाई साहित्यसँग जोड्ने कि नजोड्ने ?

मान्छेले राजनीतिसँग साहित्यलाई जोडे जुन मलाई मन पर्दैन । झन्डा बोकेर धेरैले साहित्यलाई अनुकूल बनाए । यौन र साहित्य अभिन्न कुरा हुन् । यौन पनि जीवन हो । साहित्य पनि जीवन हो । त्यसैले यौनलाई साहित्यमा उतार्नुपर्छ । यौनविनाको साहित्य नूनविनाको तरकारीजस्तै हुन्छ।

आफ्नै सबल पक्ष भन्नुपर्दा ?

यो उमेरमा आएर प्रणयका गजल लेख्न सुहाएन भन्ने जमात पनि छ । तिमी गृहस्थीका गीत कविता लेख्ने मान्छेले किन प्रणयलाई अँगाल्यौँ भनेर पनि प्रश्न गरे । उचाइ आफैँं घटायौ भन्ने पनि नभएका होइनन् तर कुनै गल्ती गरँें भन्ने लागेको छैन । अरूले लेख्न नसकेकालाई लेखेँ, वाचन गरेँ ।

कमजोर पक्ष नि ?

जहाँ पुग्नुपर्ने थियो, त्यहाँ पुग्न सकिएन । साथीभाइले धेरै कमाएका छन् । सहरमा महल ठड्याएका छन् । आफूले एक टुक्रा जग्गा जोड्न सकेको होइन । पारिवारिक दुःख झेल्नु परिरहेको छ । नाम कमाएँ तर दाम कमाउन सकेको छैन । थोरै लेखनीले नाम दियो मलाई । यो मानेमा म भाग्यमानी लेखक । सद्भाव र सम्मानको कमी छैन ।

प्रसङ्ग मोडौं, मर्निङ वाक गर्नुहुन्छ कि योग ?

पोखराको बसाइमा मर्निङ वाक गर्छु । हावा पवित्र र शुद्ध छ । पाँच बजेअघि घरबाट निस्कन्छु । झन्डै एक घण्टा हिँड्छु । त्यसपछि विनासोचाइ घरमा खाली दिमाग बनाएर एकछिन बस्छु तर काठमाडौँ आएपछि त्यो काम हुँदैन । काठमाडौँ बसाइ बनाउने योजना केही सातामै पूरा गर्दैछु तर मर्निङ वाकको सट्टा योग गर्ने सम्भावना छ । भगवान्को कृपा आजसम्म कुनै रोग लागेको छैन ।

पूजापाठ नि ?

पूजापाठ गर्दिनँ । मन्दिर पनि जान्नँ । टाढैबाट नमस्ते गर्छु । भगवान् मसँगै हुनुहुन्छ र आशीर्वाद दिइरहनुभएको छ जस्तो लाग्छ । दुःख होस् वा सुख, भगवान् सम्झिरहन्छु । लाइन बस्दैमा मन्दिरमा पूजा गर्दैमा केही हुन्छ भन्ने लाग्दैन ।

शाकाहारी कि मांसाहारी ?

मांसाहारी । चुरोट र रक्सी पिउने गथ्र्ये । अहिले चुरोटमात्र पिउँछु । मासु चाहिन्छ भन्ने छैन तर छोडेको पनि होइन ।

चलचित्र हेर्नुहुन्न ?

हेर्छु तर हलमा कम जान्छु । घरमै टेलिभिजनबाट हेर्दा आनन्द लाग्छ । नाटक चलेको थाहा पाए थिएटर पुग्छु । चलचित्र, नाटक र टेलिसिरियलका कथाले त्यति प्रभाव पार्दैन तर हरेक पात्रको अभिनयले मलाई छुन्छ । पछिल्लो समयमा लुट हेरेँं । हिन्दीमा देशीब्वाइज ।

जीवन के रहेछ ?

जीवन वरदान हो । 'जिन्दगी यो उत्सब हो, वरदान ईश्वरको', हरिशरण लामिछानेको गीतलाई मैले पढाउने पोखराको स्कुलका भित्तामा लेखाएको छु । ठूलो प्राप्ति हो जीवन ठूलै चिठ्ठाजस्तो । कतिले खेर पनि फालेका छन् । जीवनको माया लाग्छ । कुनै गुनासो छैन मलाई जीवनसँग ।

जीवनसङ्गिनीसँग कत्तिको झगडा पर्छ ?

कहिलेकाँही ठाकठुक त परिहाल्छ नि । ३३ वर्ष भएछ बिहे भएको । पहिले पर्थ्यो तर १५ वर्षजति भएछ, त्यस्तो केही छैन । त्यो बेला पनि कमाउन नसकेको गुनासो हुन्थ्यो उनीबाट ।

रिसाए कसले फकाउँथ्यो ?

म आफैँ फकाउँछु । गल्ती महसुस हुन्छ र फकाउँछु । क्षणिक रिस छ मसँग, खासै लामो हुन्न । आवेशमा आएर रिसाउँछु तर महसुस गरिहाल्छु ।

सपना देख्नुहुन्छ ?

कहिले डरलाग्दो र अत्तालिएको देख्थेँ त कहिले खोला तरेको । अचेल त्यति देख्दिनँ । त्यसको प्रतिफल के हुन्छ पनि थाहा छैन । सपनामा त्यति विश्वास गर्दिनँ ।

जीवनको सपना ?

आफूलाई जहिले पनि जीवनलाई प्रिय बनाइराख्नुपर्छ, सरल बनाउँदै लैजानुपर्छ भन्ने लाग्थ्यो, लाग्छ तर महìवाकाङ्क्षा छैन । सरलता, नम्रता र शिष्टता नै मेरो परिचय हो, मलाई आमाले सिकाउनु भएका ।

लामो समय भयो साहित्य लेखेको, के रहेछ यसमा ?

पहिले रूचि थियो साहित्य । पछि नशा भनौं कि दैनिकी । आवश्यकता पनि बनेको छ । नलेखी बस्न सक्दिनँ । साहित्य अरूले जे परिभाषा दिए पनि म साथी भन्छु यसलाई । कविता, गीत, गजल, उपन्यास र कथा लेख्छु । यिनले मलाई जीवन दिएका छन् ।

साहित्यबाट अलग राखे के हुन्छ ?

एक्लो हुन्छु । अब त सक्दिनँ । २०३४ सालदेखि लेख्न थालेको थिएँ ३४ वर्ष पूरा भएछ । समकालीनले कलम थन्क्याइसकेँ तर पोखराका हामी सरूभक्त, तीर्थ श्रेष्ठ र म निरन्तर यसैमा छौं ।

पछिल्लो लेखन के चल्दैछ ?

सिम्रिकाको डायरी । यो उपन्यास हो । मैले पढाउने स्कुलको विषयमा आधारित छ । सिम्रिका पनि विद्यार्थी भएकाले पात्र बनाएँ । जहाँ म पाठ्यक्रमभन्दा फरक अर्थात् जीवनका पाठहरूलाई पढाउँछु । त्यसैले मूलपात्र पनि म आफैँ छु । त्यही उपन्यासमा ढाल्दैछु ।

तपाईंका पात्र फरक हुन्छन् किन होला ?

अन्ना पहिलो पात्र हो । उसले गीत गजल लेख्ने प्रेरणा दिइन् । उसकै नाममा गीत गजल समर्पण गरेको छु । अनुश्रेया पनि पात्र हो, उसलाई भेटेपछि कथा लेख्न थालेँ । सिम्रिका भेटेँं, विद्यार्थी हो डायरी लेख्दैछु । पछिल्लो पात्र हो, शैलीका । के पाउँछु उसबाट अनि कसरी अघि बढ्छु थाहा छैन ।

अन्त्यमा के लेखियोस् भन्ने लागेको छ नेपाली साहित्यमा ?

नयाँपन आए हुन्थ्यो तर यही र यस्तै भन्न सक्दिनँ ।



मधुपर्क जेठ, २०६९
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on April 09, 2015, 04:23:00 AM
‘पात्तिएको प्रकट’

काठमाडौं, असार १० – जीवनलाई उनी उत्सबको रुपमा लिन्छन् । सदैब सृजनशील भई रहन मन पराउने उनलाई ‘वासनाको बादशाह’ भनेर पनि धेरैले सम्बोधन गर्छन् । उनी हुन् गीतकार तथा गजलकार प्रकट पंगेनी ‘शिव’ । उमेरले ५५ लागे पनि उनी ‘मेरो वैंश त भर्खरै आउँदै छ’ भन्न पछि पर्दैनन् । उनी आफुलाई २५ बर्षे ठिटो नै ठान्छन् ।

उनको यही भाव भेट्न सकिन्छ उनका गजल शेरहरुमा ।

‘तप्प तप्प जलविन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल आहा ! नुहाएर के निस्कियौ
भाग्यमानी रैछ साबुन फिजैफिज भै बरालियो
जुन साबुनलाई अङ्गअङ्ग छुवाएर के निस्कियौ ।’

वियोग, विरह, आँसु, पीडा र दुःखका भावमा पनि उनले कलम चलाएका छन् तर पाठकले प्रणय, वासना र रोमान्स औधी रुचाए । केही वर्षअघि काठमाडौंको गुरुकुलमा ‘प्रणयमा प्रकटदाई’ कार्यक्रम गरेपछि उनको चर्चा झन् चुलियो ।

‘किन त प्रणय र वासनाका कुरा?’ प्रकट भन्छन्, ‘पाठकहरुले प्रणयपरक गजल निकै मन पराएका कारणले मेरो कलम त्यसतर्फ धेरै चलेको हो ।’ कतिपय कार्यक्रममा श्रोताले प्रकटलाई पात्तिएको बुढोपनि भनेका छन् रे । ‘कतिजनाले त मलाई कति पात्तिएको बुढो रहेछ पनि भन्नुभएको छ’, ठट्यौलो पारामा प्रकट भन्छन्, ‘तर पछि सुन्दै गएपछि उहाँहरुले राम्रो प्रतिक्रिया पनि दिनुभएको पनि छ ।’

हालसम्म उनले ५० वटा जति गीतगजल रेकर्ड गराइसकेका छन् । ‘किन राख्यौ चोखो मुटु तिखो चुलेसीमा’, ‘नराम्रो सपना देखेथे राती’, ‘उस्तै देख्छु आज पनि जस्तो देख्थे पहिले’, ‘त्यही ढुङ्गा बनि दिन्छ जस्लाई मैले छुन्छु’ उनका चर्चित गीत हुन् ।

पोखराका श्रष्टा प्रकट विगत पाँच बर्ष देखि काठमाडौंलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका छन् । दुई वटा गीति संग्रह र ‘प्रणयवेदका ऋचाहरु’ गजल संग्रह बजारमा ल्याइसकेका प्रकट एउटा कवितासंग्रह र उपन्यास बजारमा ल्याउने तरखरमा छन् ।

‘हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो,
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो’
वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो ।’

जब उनी भाका हाली हाली बाचन गर्छन गजलका यि सेरहरुलाई तालीको गडगडाहट अक्सर सुनिने गरिन्छ । उनी ‘प्रेम र वासना कस्को मनमा छैन होला र ? सबैको मनमा हुन्छ नि’, प्रकट भन्छन्, ‘हो, म त्यही भावहरुलाई आफ्ना गजलहरुमा प्रस्तुत गर्छु
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: sag on April 10, 2015, 11:52:53 AM
गजलकार – प्रकट पंगेनी ‘शिव’

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुनसाबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसीजुन
गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

sexy


attached is a ghazal by Lenin Banjade
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on October 14, 2016, 02:17:51 AM
काफिया के हो ?

गजलमा काफिया अत्यावश्यक र शक्तिशाली अस्त्र हो । गजलमा मतलामा प्रयोग गरिएको काफियाको प्रकारले बाँकी सेरमा प्रयुक्त हुने काफियाको निर्धारण गर्छ । गजलमा सेरहरुका पहिलो हरफले उत्सुकता जगाए जस्तै काफियाले पनि श्रोतामा उत्सुकता जगाउँछ । पाठक भन्दा पनि गजल सुन्न बसेका श्रोताले कुन काफिया प्रयोग गरेर सेरलाई कसरी पूर्णता दिन्छ भनेर श्रोतोको उत्सुकतालाई चरममा पुर्याउने गर्दछ र सेरमा काफियाको सुन्दर प्रयोगले त्यो उत्सुकताको चरमलाई समाधान गर्दै त्यही चरमको अवस्थामा नै भावको गहिराईको विस्फोट गराउँदछ ।

मतलामा दुईपटक र अन्य सेरमा एक पटक रदिफ अगाडी आउने तुकबन्दि मिलेको शब्दलाई काफिया भनिन्छ । गजलमा काफिया अर्थात् शब्दको तुकबन्दि सरल कार्य होइन । यसका पनि केही नियमहरू छन् । काफिया हुनको लागि तुकबन्दि र साम्यता दुवै हुनु जरुरी छ ।

स्वर साम्यता : शब्दमा समान स्वर साम्यता भएमा त्यो स्वर साम्य काफिया हुन्छ जस्तै धुजा, कुरा (उ आ स्वर समानता)
व्यञ्जन साम्यता : शब्दमा समान व्यञ्जन साम्यता भएमा त्यो व्यञ्जन साम्य काफिया हुन्छ । आधा बाधा (आ आ)
स्वर व्यञ्जन साम्यता : स्वर र व्यंजन दुवैको साम्यता भएको काफियाहरुमा खाना दाना पाना छाना माना आदि लिन सकिन्छ ।
वास्तवमा काफिया या तुकबन्दी स्वर र व्यञ्जनको आंशिक एकताले बन्दछ ।

गजलमा मतलामा प्रयुक्त काफियाले नै अन्य सेरहरुमा पनि काफिया निर्धारण गर्दछ । मतलामा पूर्ण काफिया र अन्य सेरमा आशिंक काफिया प्रयोग गर्न मिल्दैन ।

दुई शब्द तब मात्र हमकाफिया हुन्छ जब तिनमा साम्यता हुन्छ र यसै साम्यताको कारण ती काफिया बन्दछ । यस साम्यताको आधारमा काफिया दुई प्रकारको हुन्छ । स्वर साम्य काफिया र व्यञ्जन साम्य काफिया ।
स्वर साम्य काफिया : स्वरको साम्यता भएका काफिया उर्दुमा प्रचलित छ र अब नेपालीमा पनि यसको प्रचलन बढदो छ । जस्तै छाना, माना, दाना आदि ।

तर धुँवा, कुँवा, सँग जुवा खुवा आदि काफियालाई पनि पनि पूर्ण काफियाको रूपमा लिन भने सकिन्न किनभने यहाँ स्वर साम्यता भएता पनि व्यञ्जन साम्यता भने छैन । नेपाली भाषा कोमल उच्चारण गरिएता पनि हामी तिखो उच्चारण गर्दछौँ, तसर्थ कतिपय नासिक्य उच्चारण हुने शब्दहरूलाई काफियाका रूपमा प्रयोग गर्दा सतर्क हुनु आवश्यक छ ।

केही शब्दहरू उच्चारण गर्दा समानता भए पनि लेख्दा यसमा भेद देखिन्छ । जस्तो फूल र फुल दुवै उच्चारण गर्दा समान छन् तर लेख्दा फरक तरिकाले लेखिन्छ । तर केही शब्दहरू भने दीर्घ उच्चारण नगरेमा अर्थ खुल्दैन । जस्तो :
मेरो माया एकतिर भो
तिम्रो माया एक तीर भो
यहाँ तीर शब्दले बाण जनाउँछ ।

त्यस्तै : दया र नयाँ शब्दमा या को उच्चारण पश्चात् आ स्वर आउँछ तर नियालेर हेर्ने हो भने नयाँ लेख्दा या माथि चन्दबिन्दुको प्रयोग गरिन्छ र उक्त याँ उच्चारण नासिक्य हुन्छ । यस प्रकारको काफियालाई मलफुजि काफियाभनिन्छ र यस्ता काफिया प्रयोग गरिएका गजललाई इक्फा दोषयुक्त गजल भनिन्छ । नेपाली भाषा बोलिँदा कोमल उच्चारण गरिने भएकोले छन्द या बहरमा तिर र तीर जस्ता काफिया प्रयोग गर्दा भने समस्या आउँछ ।

तर हामी नेपाली भाषाका शब्दको उच्चारण गर्दा कोमल उच्चारण गर्ने भएकोले यसले काफिया सिर्जना गर्दा भने सजिलो पनि बनाएको छ । फूललाई हामी ह्रस्व उच्चारण गर्दछौँ त्यसैले फूल र फुल उच्चारण गर्दा विभेद देखिन्न । उर्दुमा गुलाब र शराब लाई काफियाका रूपमा बाँध्न सकिन्न तर नेपालीमा कोमल उच्चारण हुने भएकोले दुवैलाई काफियामा लिन सकिन्छ । आगन्तुक शब्दलाई काफियाका रूपमा प्रयोग गर्दा भने अलि होसियार हुनु पर्दछ । ख्वाहिसलाई खायस, दस्तखतलाई दस्खत, मुआफिकलाई माफिक, मुआफीलाई माफी गरेर शब्दहरूलाई उच्चारणकै हिसाबले प्रयोग गर्नु श्रेयस्कर हुनेछ ।

उर्दुको सहर र नेपाली सहरको अर्थ नै फरक छ । यस्ता शब्दहरूलाई मक्तुबी काफिया भनिन्छ तर नेपाली भाषामा फारसी, अरबी र अङ्ग्रेजी भाषबाट पनि निक्कै शब्दहरू आएका भएपनि तिनका उच्चारण र प्रयोग (ख्वाहिस = ख्वायस, दस्तखत = दस्खत, मुआफिक = माफिक, मुआफी = माफी) आफ्नै ढङ्गबाट गरिने हुँदा नेपाली भाषामा यो भेद देखिदैन ।

के खासमा यही त हो अनुहार हजुरको
मौसम सरि फेरिन्छ व्यवहार हजुरको

यो मैले नै अज्ञानतावस लेखेको एक अगजलको मतला हो र यसबारेमा ज्ञान दिनुहुने आदरणीय गुरुवर भक्ति प्रसाद पौड्याललाई नमन गर्दछु । यस मतलाको काफियामा इता दोष छ ।

शब्दलाई बिग्रह गर्दा मूल शब्दमा पनि समानता भए त्यसलाई काफियाको रूपमा लिन सकिन्छ । जस्तो : रसिलो र कसिलो । रसिलो र कसिलो शब्दका प्रत्यय हटाउँदा (रस + इलो = रसिलो, कस + इलो = कसिलो) रस र कस शब्दमा स्वर साम्यता र मूल शब्द भएकोले यो काफिया ठीक छ तर माथिको मतलामा भएको अनु + हार, व्यब + हार गलत हुन जान्छ । यस अर्थमा हेर्दा "हार हजुरको" रदिफ हुन आउँछ र "अनु र व्यब" काफियाका रूपमा स्थापित हुन्छन् । यसरी माथिको मतला मा काफिया दोष देखिन्छ ।

अर्को ध्यान दिनुपर्ने कुरा के भने नामी दामी सँग खामी या हामि काफिया राख्न भने मिल्दैन । नाम + ई = नामी, दाम + ई = दामी हुन्छ तर खामि या हामि शब्द खाम या हाम मूल शब्दमा ई प्रत्यय जोडिएर बनेको होइन, खामि र हामी मूल शब्द हो र यसको अर्थ अपुग र स्वीकार हो । 

शब्द बिग्रह गरेर प्रत्यय निकाल्दा समेत मूल शब्द हम काफियाको रूपमा आउँछ र प्रयोग गर्न मिल्छ भने यसलाई काफिया मान्न सकन्छि अन्यथा काफिया दोष हुन्छ ।

सौती काफिया : पश्चिमी भेगका केही गजल स्रष्टाहरुले कतिपय हिन्दि तथा उर्दु शब्दहरूलाई मनोमानी ढङ्गले काफियामा प्रयोग गरेको पाएको छु । उदाहरणको लागि जुन, धुन पश्चात् खुन । खुन अर्थात् रगत । खुन उच्चारण गर्दा जिब्रोले स्वरतन्त्रिलाई ढाकेर विशेष प्रकारले स्वरलाई भित्रै दवाएर उच्चारण गरिन्छ । तर जुन र धुन उच्चारण गर्दा तालव्य उच्चारण हुन्छ । लेख्दा उस्तै देखिए पनि उच्चारणका हिसाबले फरक हुने भएकोले यसलाई सौती काफिया भनिन्छ र गजल स्रष्टाले गजल कहदा यसलाई सौती काफियाको रूपमा प्रयोग गरेको भनेर भन्नु पर्दछ ।

अब लागौँ रदिफ तर्फ

रदिफ के हो ?

रदिफ गजलमा दोहरिने शब्द या शब्द लहर हो । शब्द लहर भन्नाले केही गजलहरुमा दुई, तीन, चार या सो भन्दा माथि सङख्याका शब्द सम्मको रदिफ प्रयोग गरिएको पाइएको छ ।

रदिफ मतलामा दुई पटक मिसराको अन्तमा र अन्य सेरहरुमा मिसराको अन्तमा एक पटक प्रयोगमा आउछ । मतला या सेरमा प्रयुक्त भए पनि रदिफको आचरण या स्थिति स्थिर हुन्छ र यसमा कुनै फेरबदल आउदैन् । गजलको नियमानुसार रदिफलाई फेरबदल गर्न वर्जित गरिएको छ । रदिफको रूपमा मतलामा प्रयुक्त रदिफ नै हरेक मिसरामा रूप नफेरिएर दोहरिने गर्दछ ।
रदिफको गौण शक्ति के हो भने यसले मिसरामा काफियासँग मिलेर सेरलाई पूर्णता दिन्छ र सेरका भावसँगै रदिफ पनि मिलेर अर्थ खुलाउछ ।

उदाहरणको लागि यहाँ रावतको एक गजल, रवि प्राञ्जल सरको एक गजल र बाबु त्रिपाठीको एक गजल लिएको छु ।

रावतको गजलको रदिफ हेरौं ।

दुइटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ ।

सधैँ चर्किनैँ खोज्ने, सधैँ फुट्नै खोज्ने
सिसा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
मदिरा र सरकार उस्तै उस्तै लाग्छ ।

यस गजलमा मिटर र लयलाई ध्यान नदिएर रदिफको प्रयोग मात्र होरौँ । रदिफको रूपमा तीन शब्द “उस्तै उस्तै लाग्छ’ प्रयोग गरिएको छ । ध्यान दिनुपर्ने कुरा के छ भने रदिफले अन्य मिसरामा पनि काफियासँग मिलेर दाँज्ने कार्यमा सहायता गरेको छ र अन्तमा सेरसँग मिलेर पूर्णता र अर्थ दुवै प्रदान गरेको छ । यस अर्थमा यस गजलमा गरिएको रदिफको प्रयोग ठीक र दुरुस्त छ ।

यस्तै गरेर रवि प्राञ्जल सरको यस गजलमा प्रयुक्त रदिफलाई हेरौं ।

हुने खाने त्यता तिर
हुँदा खाने यता तिर

उतैतिर चल्छ सुवास
चल्छ हावा जता तिर

पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर

ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य–कथा तिर

जता हेरुँ अँध्यारै छ
खोजूँ रवि कता तिर ?

यस गजलमा रदिफको रूपमा एक शब्द "तिर" लाई लिइएको छ । मतला देखि लिएर हरेक मिसरामा प्रयुक्त रदिफ सेरमै बिलय भएर अर्थदिने बनेको छन् । मक्ताको (तखल्लुस प्रयोग गरिएको अन्तिम सेरलाई मात्र मक्ता भनिन्छ अन्यथा अन्तिम सेर भनिन्छ) सुन्दरता के भने मक्तामा तखल्लुस व्दिअर्थि रूपमा प्रयोग गरिएको छ। तखल्लुस दुई प्रकारले प्रयोग गरिन्छ । व्दिअर्थि रूपमा प्रयोग गरेर तखल्लुसको भान नै नदिइ र आफैलाई सम्बोधन गरिदा । 

अब बाबु त्रिपाठीको गजल हेरौं ।

नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव

जति छन् प्यूँनेहरु ती सबसँग
मेरो चिनाजानी छ अरूलाई सुझाव

दिल टुटेर पिएको हुँदै होइन
भिन्दै कहानी छ अरूलाई सुझाव

प्यूँन सधैँ कहाँ रुपियाँ ले पुग्थ्यो र
पिलाउने दानी छ अरूलाई सुझाव

भट्टी छ मदिरा छ र त बाबु छ
यो जिन्दगानी छ अरूलाई सुझाव

माथिको गजलमा रदिफको रूपमा "अरूलाई सुझाव" लिइएको छ । अब यस गजलको मतला हेरौं ।

नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव

मतलामा प्रयुक्त रदिफले काफियासँग मिलेर पूर्णअर्थ प्रदान गरेको छ । रक्सीको बारेमा भनिएको छ, "नप्युँनु हानी छ अरूलाई सुझाव । मेरो त बानी छ तर बानी नभएका अरूलाई सुझाव ।"

अब बाँकी मिसराहरुमा जाऔं ।
सेरले खुलाएको अर्थ यस्तो छः "बाँकी जति प्युनेहरु छन् तीसँग मेरो चिना जानी छ, अरूलाई सुझाव ।" रदिफ बाहेकका मिसराले अरूलाई के सुझाव दिएको हो त्यो यस सेरमा खुल्न सकेको छैन । अर्थात् सेरको मुखय विषय एकातिर छ भने रदिफ अलग्ग बसेको छ । सेरको दोस्रो भाग अन्तिका (जर्ब) को रूपमा आएको रदिफलाई सेरमा मिसाएर हेर्दा पनि यो बिल्कुल अलग प्रतित भएको छ । बाँकी सेरहरमा पनि रदिफको अवस्था यस्तै छ ।

यसरी मिसरामा पूर्णत् अलगथलग र अर्थबिहिन अवस्थामा रदिफ बसेको छ या प्रयुक्त छ भने यो रदिफ दोष मात्र हैन, गजल नै भनिदैन । रदिफलाई यसरी मिसराबाट अलग थलग झुण्डाएर मात्र राख्न मिल्दैन । रदिफ मिसरामा मिसिएर अर्थ प्रदान गर्ने हुनैपर्छ । अन्यथा यसलाई गजल भन्न मिल्दैन ।

गजलका दुई धार प्रचलित छन् । अरबि धारका गजलमा रदिफको कम पैचलन हुन्छ भने फारसी धारका अधिकांश गजलहरुमा रदिफको प्रयोग हुन्छ । त्यसैले गजलमा रदिफ हुनै पर्दछ भन्ने कुनै कडा नियम छैन, बिना रदीफको गैर–मरद्दफ गजल पनि हुन्छ । तर रदिफको प्रयोग गर्दा भने यसको नियमलाई पालना गर्नै पर्दछ । गजल निश्चित् नियमबद्ध भएर नै लेखिन्छ ।

पुनश्चः म रावतजी र बाबु त्रिपाठीजीसँग उहाँको यस गजललाई उदाहरणको रूपमा पेस गर्नु परेको अवस्थाका लागि क्षमा चाहन्छु ।
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: r1p2b6 on October 15, 2016, 12:23:24 PM
Nice Post
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: evilkrugknot on October 17, 2016, 08:27:21 AM
Nice one. Keep it up.
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on February 17, 2017, 09:51:01 PM
https://www.youtube.com/watch?v=gfZ9PZtLkSc
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on February 17, 2017, 09:52:24 PM
https://www.youtube.com/watch?v=PzH_ZEvWooI
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on February 17, 2017, 09:52:38 PM
https://www.youtube.com/watch?v=Dj5KXFajgQ0
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on February 17, 2017, 09:52:49 PM
https://www.youtube.com/watch?v=g0nFf6sNZkA
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: anand on March 14, 2017, 10:27:25 AM
पंगेनिको सबै भन्दा चर्चित गजल
https://www.youtube.com/watch?v=-7ntvPD9uOs


***

तप्पतप्प जलविन्दु चुहाएर के निस्कियौ
स्निग्ध, कोमल, कञ्चन आहा नुहाएर के निस्कियौ

भाग्यमानी रै'छ साबुन फिँजैफिँज भई बरालियो
जुन साबुनलाई अंगअंग छुवाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष् पाए जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौं भो, टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई तिम्ले भर्खर सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार 'प्रकट'लाई ओ रुपसी,
जुन गाँठोमा कोमल अंग लुकाएर के निस्कियौ !
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: tundikhel on January 14, 2018, 02:28:56 AM
https://www.youtube.com/watch?v=WUw0LqNK61A
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: tundikhel on January 17, 2018, 10:27:37 AM
~प्रकट पगेनी ‘शिव’~Prakat Pageni Shiva

तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मज्जा
कोखाइ-कोखाइ भन्दै सितन खिलाएको छुट्टै मज्जा

को हुन्छन् र ओठ टोक्दै गिलास भर्दै दिने मान्छे
त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मज्जा

मध्यरात छ हामी दुई छौं चकमन्न अँध्यारो छ
छामछाम-छुमछुम गर्दै ओछ्यान मिलाएको छुट्टै मज्जा

यता मैले तान्दा उता तिम्ले तान्दा फाट्यो च्यादर
अँध्यारोमै त्यस्तो च्यादर सिलाएको छुट्टै मज्जा
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: tundikhel on January 17, 2018, 10:28:31 AM
21 October 2012
अन्ना, अनुश्रेया र प्रकट
'जाडो महिना आउँदै छ रे भन्ने सुनेकी छु
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु'

काठमाडौंमा जाडोले बिस्तारै पखेटा खोल्दै छ । बिहान-साँझ सिरेटोले जिस्क्याउन थालेको छ ।
साँझ पर्दै गरेको समय । गजलकार प्रकट पगेनी 'शिव' आफ्नो गजलमा घुसेर स्वीटर बुन्नPrakat-Pageni तम्सिने गुनिला नारीहरूलाई निकै सम्झिरहेछन् । बुनिएका स्वीटर खोइ कुन कुनामा छाडेर आएका छन् । उमेरमा ५५ काटेको ज्यानले साँझको सिर्सिरे बतासलाई नवयुवक झैं चुनौती दिएका छन् ।
 हामी बागमती किनारको चौरमा छौं ।
बागमती, जसले सभ्य दाबी गर्ने काठमाडौंलाई छिटा पार्दै चिरेको छ । कुराकानी गर्नुअघि बागमतीको कसम खाएका छैनन् प्रकटले, कसम खान लायक पवित्रता वागमतीसँग छैन पनि । यसैले कसम नखानुपर्ने वागमतीछेउ श्रीमतीलाई बिर्सिएर दूरका प्यारीहरूलाई सम्झिँदै छन् । उनी बैंसले कुतकुतिएका गजल लेख्छन् । प्रेमको प्राप्ति र वियोगका गीत पनि लेख्दै आएका छन् । जीवनयात्रामा छुट्टिनुपरेका पात्रलाई प्रस्तुत गर्ने क्रममा उनको सिर्जनामा श्रीमती इन्दु ओझेल परेकी छन् । 'अलग्गै रहने प्रेमिका र जीवन नै बिताउनुपर्ने श्रीमतीबीच नितान्त फरक हुन्छ', आत्मीयताको क्यालकुलेटरबाट यसरी हिसाब निकाल्छन् प्रकट ।
***
प्रकटले साहित्यिक वृत्तमा केही धारिला आरोप खेप्दै आएका छन् । औधी रसिक, शृंगारिकताको नाममा अश्लील गजलका सर्जक आदि । उदाहरणमा आरोपकर्ताहरूले उनले लेखेका रतिरागयुक्त गजल अघि सार्ने गरेका छन् । प्रकटका गजलका सेरहरू पनि छन् उस्तै काउकुती लगाउने । २०६४ सालमा एकल गजल वाचनका लागि पोखराबाट काठमाडौं भित्रँदा उनले आरोहण-गुरुकुलको हलमा खचाखच स्रोता पाए । 'प्रणयमा प्रकट दाइ' नाम दिइएको कार्यक्रममा युवायुवतीको झुन्डबीचमा ताली खाँदै उनले जोसिँदै एकपछि अर्को रापिला गजल सुनाएका थिए -

तिम्रो हातले भरि गिलास पिलाएको छुट्टै मज्जा
कोखाइ-कोखाइ भन्दै सितन खिलाएको छुट्टै मज्जा

को हुन्छन् र ओठ टोक्दै गिलास भर्दै दिने मान्छे
त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मज्जा

मध्यरात छ हामी दुई छौं चकमन्न अँध्यारो छ
छामछाम-छुमछुम गर्दै ओछ्यान मिलाएको छुट्टै मज्जा

यता मैले तान्दा उता तिम्ले तान्दा फाट्यो च्यादर
अँध्यारोमै त्यस्तो च्यादर सिलाएको छुट्टै मज्जा

कार्यक्रमको भोलिपल्ट अखबारहरूमा पलेंटी कसेको उनको फोटोका साथमा प्रणयको गजलमा सहर उर्लिएको खबर थियो भने एकथरी साहित्यिकहरूबाट प्रकटका गजल अश्लील भयो भन्ने टिप्पणी आइरहेको थियो । तर उनको शृंगारिक रसको मसी अझै उस्तै छ । प्रकट लेखिरहेछन् -

अलि छोटो लगाइस्स्यो चोली मै'सापले
चोलीबाटै चलाइस्स्यो गोली मै'सापले...
Prakat-Pageni-2'अश्लीलता भन्ने कुरा केहीमा हुँदैन' उनी आफ्नो सिर्जनाको बचाउ गर्छन्- 'दृष्टिकोणमा भर पर्छ, कसरी हेर्ने ।' सडकमा युवतीहरूले मिनीस्कर्ट लगाएर हिंडिरहँदा बटुवाले आँखा छोपेर हिंड्न नमिल्ने उनको तर्क छ । ५५ नाघिसकेको उमेरमा पनि प्रेमका कुरा गर्ने, रोमान्टिक गजल लेख्ने भनेर धेरैले उनलाई प्रश्न गरेका छन् । तिनीहरूमध्ये कति त उनीभन्दा साना उमेरका पनि छन् । 'मेरो उमेरको चरण पार नगरी त्यस्तो टिप्पणी गर्नेहरुलाई भोलि मेरै उमेरमा आएर प्रकट दाइले ठीकै गरेको रहेछ प्रेम र यौनका कुरा गरेर भन्ने लाग्नेछ,' यो उनको भविष्यवाणी । किनभने यो उमेरमा पनि उनलाई यौनले कुतकुत्याइरहेछ । उनी रोमान्टिक सिर्जनाका लागि छेक्ने कुरा र नलेख्नुपर्ने कारण केही देख्दैनन् ।
 
बुढ्यौली आउँदैमा रोमान्टिक सोच बन्द गर्नुपर्ने नियम उनको मनले रिडिङ गर्न सकेको छैन । 'मेरो परिभाषामा त अझै पनि म जवान नै छु, ५५ वर्ष नाघ्दा पनि यौन भन्ने कुरा जाँदो रहेनछ', प्रकटले यो कुरा भन्नुभन्दा पनि जीवनमै अनुभूति गरिरहेका छन् । यसैले उनी प्रेम गरिरहेछन्, लेखिरहेछन् ।

बाटामा अल्पवस्त्रमा ठमठम हिंडिरहेका नारी-शरीर देख्दा सालिक बनेर टोलाउँछन् । यो उमेरमा पनि यौन क्षमता भरपूर हुनुमा आफ्नो सकारात्मक सोचलाई कारण मान्छन् उनी । लाखौं स्पर्मको युद्ध जितेर चिट्ठा परेको जीवन प्यारो लाग्छ प्रकटलाई । यसैले जिन्दगीलाई चाटिचुटी पारेर स्वाद लिइरहेछन्, बाँचिरहेछन् । उनको बुझाइमा प्रेम र यौन फरक कुरा भए पनि प्रेममा यौन पनि थपिए सुनमा सुगन्ध हुन्छ । नभए पनि फरक पर्दैन रे ।
***
स्पर्शरहित प्रेमको पक्षमा उभिँदै आएका छन् प्रकट । 'प्रेम शाश्वत कुरा हो । आदर्श प्रेम सम्भव छ,' पण्डित जस्तै दोहोर्‍याइरहन्छन् । सृष्टिको केन्द्रमा यौन रहे पनि प्रेमिकालाई स्पर्श नै गर्नुपर्छ भन्ने उनलाई लाग्दैन । कास्कीको लुम्ले कृषि केन्द्रमा १० वर्षसम्म काम गरे उनले । त्यस क्रममा बस्दा भेटिएकी अन्ना होस् या आफूभन्दा निकै कम उमेरकी अनुश्रेया, सबैलाई आदर्श प्रेम गरे उनले । पछि अन्ना एकाएक बेपत्ता भई र निकै अन्तरालमा देखा परी, सिन्दूर भरिएको सिउँदोसहित । आज प्रकट अन्नालाई गुमाउनुपरेकोमा चुकचुकाउँछन् । अन्नासहितका केही घनिष्ट युवतीको उनले प्रेमपूर्वक नाम राखेका छन् । समाजका सामु तिनको नाम लिँदा पनि आवरणको काम गर्ने !

आफूभन्दा निकै कम उमेरकी अनुश्रेयासँग उनको घनिष्टता भयो । तर सधैं खटपट भइरहने । तैपनि पहिलो प्रेमसहित तीनैवटा प्रेमको किस्सालाई सँगाल्दै आफैंलाई प्रताडित बनाएर हिंडिरहेका छन् उनी । 'मान्छेहरू मलाई फलाना/फलानीले बिर्स्यो भनेर गुनासो गर्छन्, अब सम्बन्ध सकियो, मलाई बिर्सिदिनू भनेर चेतावनी दिन्छन्,' उनी सम्बन्धको लेखाजोखा गर्छन्, 'सम्झना आइहाल्छ, सम्झना छउन्जेल सम्बन्ध कुनै न कुनै रूपमा कायमै हुन्छ ।' प्रेममा जोडी साथसाथै रहनु-नरहनुले त्यति अर्थ नराख्ने पनि यी प्रेमशास्त्रीको परिभाषामा देखियो ।

२०३२ सालको कुरा । एसएलएसी दिनेबित्तिकै उनको एउटी केटीसँग चिनजान भयो । केटी पोखराकी, उनी आफू कास्कीको देउराली-उकाली गाउँका । सञ्चारको सुविधा अहिले जसरी सहज भइनसकेको जमानामा एक वर्षसम्म पत्राचार चल्यो । पत्रबाटै भेट्ने ठाउँ टुंगो लगाएर उनी गाउँबाट पोखरा झर्थे, प्रेमिकासँग भेट्न । केटीको घरमा अर्कै केटासँग बिहेको कुरो चल्यो । अन्तरजातीय बिहेको चलन अहिले जस्तो आइसकेको थिएन त्यो बेला । प्रेमिका थिई नेवार परिवारकी । उनले आँट गर्न सकेनन् । फेरि एसएलसी दिएर बसेको ठिटोसँग न त टेक्ने जमिन थियो, न त समाउने हाँगो नै !

केही उपाय नदेखेपछि उनले 'ल न त बिहे गर' भनेर बिदाइ गरे । जब केटीको बिहे भयो, त्यो प्रेम कति महत्वको रै'छ आफ्नो लागि भन्ने उनले बल्ल बुझे । निकै तड्पिए । आकुल-व्याकुल मनले भेट्न खोज्दा केटीले अब नभेटौं भनेर पन्छाइरहिन् । बिहेपछि जम्मा एक पटक भेटेको त्यो पहिलो प्रेमिकाको माया अझै उनको मनबाट मेटिएको छैन । यादले उनी काँक्रा झैं चिरिन्छन् र त्यसमा नुन थपिइरहन्छ ।

'धेरैजसोलाई अहिले प्रेम भन्नेबित्तिकै आई लभ यू भनिहाल्नुपर्ने, एकान्तमा घुम्न गइहाल्नुपर्ने, अँगालोमा बेरिहाल्नुपर्ने, चुम्बन गरिहाल्नुपर्ने, र्स्पर्श कतिखेर गरुँ भनेर मौका छोप्ने हतारोले छोप्छ,' उनले आधुनिक प्रेम विज्ञान पढेका छन् । यस्तोमा उनको स्पर्शरहित प्रेमको परिभाषा उहिलेको कुरा खुइले लाग्न सक्छ । उनी भने त्यही खुइलिएको पानामा पुराना प्रेमिकाको चित्र ठम्याएर बिनास्पर्श सुमसुम्याइरहन्छन् ।

पोखरा बसाइमा विषयरहित विषयका शिक्षक बनेर पढाए उनले । कहिले विPrakat-Pageni-3द्यार्थीलाई पोखरा चिनाउँथे, कहिले भने अभिनय, उद्घोषण र शिष्टता, नम्रताको कुरा सिकाउँथे । शिक्षित परिवारमा जन्मिएका प्रकट आफूलाई भने भाग्मानी मान्छन् । त्यो समयमा आमा आठ कक्षा पास थिइन् । वरिपरि लाहुरेहरूको घरमा आउने चिठीपत्र पढेर सुनाइदिने आमा नै थिइन् । 'लाहुरबाट काँचो धागो बेरिएको चिठी आउँदा रुवाबासीको साक्षी हुनुपर्दा मन निकै पिरोलिन्थ्यो,' उनी सम्झिन्छन् । तिनै लाहुरेनीहरुको आँसुको ढिका जोखेको उनको मन सधैं कमलो भइरह्‌यो । जोसँग पनि खुलिदिन्छन् । पोखरामा सरुभक्त, उषा शेरचन, विजय वजिमय लगायतका दौंतरीसँग सरसंगत गर्दा उनी लोकलय हुँदै गद्य कविता र गीत-गजल कोर्ने भएका थिए । नत्र उनी नाट्यकर्मका मान्छे । २०३९ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नाटक महोत्सवमा 'गोलार्द्धको कालो आकाश' मार्फत सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पनि जितेका थिए ।

काठमाडौंमा संघर्ष गर्ने गरी उनले पाँच वर्षअघि पोखरा र त्यहाँका समकालीनहरूको घुलमिल छाडे । उनकै भनाइमा साहित्यिक राजधानी पोखरा छाडेर मोफसल काठमाडौं आए । ३० वर्षसम्म बसेको ठाउँमा फेरि फर्किने सम्भावना सुरक्षित राख्दै उनी अर्को सम्भावना खोज्दै काठमाडौं पसेका थिए । साहित्यिक कर्म अघि बढाउँदै जीविका चलाउने सोचले काठमाडौं आए पनि उनले अवस्था अनुकूल देखेनन् । 'काठमाडौं हामी जस्तो भावनात्मक मान्छेका लागि होइन रहेछ,' यही सोचले उनी विरक्तिएर केही समयमै पोखरा फर्किए । सिर्जना गर्नका लागि पनि उनलाई काठमाडौं उपयुक्त ठाउँ लागेन । पोखरामा हित्तचित्त मिल्छ उनको । अहिले फेरि बैशाखदेखि काठमाडौंमै छन् । पाठशाला नेपाल स्कुलका साथै दुई ठाउँमा पढाउने काम पाएका छन् । तर उनमा भने आफूले पहिले काम गर्दै आएको जनचेतनाको क्षेत्रमा काम गर्ने इच्छा छ । दुई छोराछोरीले काठमाडौंमै बसेर लेखपढ गर्नु भने पनि मन बाँधिन सकेको छैन उनको ।

उमेरको उकालो सिंढीमा रहर जति छन्, योजनाका चाङ पनि त्यति नै बाक्लो छ । मृत्यु सत्य हो भनेर जान्दाजान्दै र शरीरमा अहिलेसम्म जटिल समस्या केही नदेखिए पनि उनी बेलाबेला डराउँछन्, 'फ्याट्ट केही भइहाल्यो भने त धेरै कुरा अपूरो रहनेछ ।' जीवनयात्रामा घुलमिल हुन आउने जति पात्र भेटे, सबैलाई सिर्जनाकर्मका लागि प्रेरणा बनाएका छन् उनले । पोखरामै पढाउने क्रममा भेटिएकी एउटी छात्राको सन्दर्भमा उनले लेख्न सुरु गरेका थिए 'सिम्रिकाको डायरी' उपन्यास । यसैगरी, खटपट परिरहने पूर्वप्रेमिकाको विषयमा लेखिएको अर्को उपन्यास 'मैले विवाह गरें नि प्रकट दाइ' को पनि अन्तिम तयारीमा जुटेका छन् उनी । दोस्रो उपन्यासमा आफैंलाई खलपात्रको रूपमा प्रस्तुत गरेको उनले सुनाए । आजसम्म जसले आफ्नो हातमा कलम पाए, उसले आफ्नै प्रशस्तिगान लेखेका छन् । उनले भने आफ्नै हुलिया उतारिदिएका छन् ।

आफ्नो उपन्यासमा आफैंलाई खलपात्र बनाएर प्रकटले पूर्वप्रेमिकाहरूप्रति देखाएको आदर्श प्रेमको सिग्नल उनीहरूसम्म प्रसार होला ?
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: tundikhel on February 04, 2018, 12:58:19 AM
https://www.youtube.com/watch?v=Tjof0BrUYqY
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: tundikhel on August 06, 2018, 10:14:45 PM
https://www.youtube.com/watch?v=bhNRVce0kFc
Title: Re: Prakat Pangeni (प्रकट पंगेनी ‘शिव’) ghazals
Post by: tundikhel on August 06, 2018, 10:15:15 PM
https://www.youtube.com/watch?v=YPPEFRFAoh0