Nepali Community Forum

xNepali Forum => All New Posts Here (सबै नयाँ पोस्ट यहाँ) => Topic started by: tundikhel on October 06, 2016, 11:55:05 PM

Title: दशैं आयो .. happy dashain
Post by: tundikhel on October 06, 2016, 11:55:05 PM
सबैलाइ दशैंको शुभकामना छ है


https://www.youtube.com/watch?v=EZ0Zl8mYAbI

कसरी सुरू र व्यापक भयो दसैं?

पोष्टबहादुर बस्नेत काठमाडौं, असोज १९

महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेताम्मे भइसकेको हुन्छ। वर्षाले बनाएको हरियो लेउ पारिलो घामले सेकिएर पाप्रा बनेर उप्कन थाल्छ। र, त्यहाँ भेटिन्छ– माटोको मौलिक रङ र सुगन्ध।

शरद ऋतुमा नै पर्छ उल्लासमय दसैं चाड । जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजनले पुनर्मिलनका लागि दसैं कुर्छन्। काठमाडांैबाट घर फर्कन गाडीको टिकट पाउन मानिसको घुँइचो लाग्छ। गाउँमा रमिता हुन्छ, कमेरो माटोले घर पोतिन्छ, केटाकेटी हर्षित हुन्छन्। सरकारी र निजी कार्यालयमा समेत लामो विदा र एक महिनाको थप तलब दसैं खर्च पाइन्छ। मेरो काम कहिले हुन्छ भनी सेवाग्राहीले सोध्दा उत्तर आउँछ– दसैंपछि। खाने, पिउने र उत्सव मनाउने समय हो, दसैं। बाँकी सबै काम त्यसपछि।

उसो त, दसैंको समयलाई कुनै न कुनै किसिमले मान्ने चलन दक्षिण एसियाका अन्य स्थानमा पनि छ। नेपालमा भने दसैं विशेष महत्व र पर्खाइको चाड हो। कसरी यति व्यापक र उल्लासमय भयो नेपालमा दसैं? यसै हो भनी निष्कर्षमा पुग्न पर्याप्त तथ्य र प्रमाण भेटिंदैन। तर दसैंको उत्पत्ति र विस्तारबारे कथा र विवाद भने प्रशस्तै पाइन्छन्।

त्यसमध्ये एउटा कथाले दसैंलाई गोर्खा राज्य विस्तार प्रक्रियासँग जोडेको छ। विशेषतः देवी पुजा र शाह वंशीय राजाहरूले उक्त परम्परालाई दिएको महत्वका कारण केही मानवशास्त्रीले त्यस्तो कथामा जोड दिएका हुन्। त्यो कथाअनुसार राजा पृथ्वीनारायण शाहले सपनामा देवीको दर्शन पाएको दावी गरेपछि नेपाल एकीकरण प्रक्रिया सुरु भएको हो।

दिव्य उपदेशमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाह देवी दर्शनका लागि सल्यानकोट गए, तर त्यहाँको चलन अनुसार उनले मन्दिर भित्र प्रवेश गर्न पाएनन्। मूल ढोकामै बसेर उनले देवीको पूजाअर्चना गरे। त्यसको केही दिनपछि देवीले उनलाई सपनामा आएर दर्शन दिइन् र उनको दुवै हातमा खड्ग थमाइदिइन्। मन्दिरका मगर पूजारी र ज्योतिषले साँच्चै नै देवीले दर्शन दिएको पुष्टि गरेपछि पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरे।

मानवशास्त्री जोहना फाफ लेख्छिन्– राजा, रजौटा र ठालुले आफ्नो सांसारिक शासनसत्तालाई ईश्वरीय आशिर्वादसँग जोडेर कसरी वैधता दिने प्रयास गर्छन् भन्ने कुरा दिव्य उपदेशमा उल्लेखित उक्त घटनाले प्रष्ट पार्छ। उनका अनुसार देवी पूजा वा दसैंलाई राज्य विस्तारका क्रममा व्यापक बनाइयो। एकीकरणका क्रममा नयाँ स्थानमा देवी मन्दिर बनाउने, नयाँ ठालु वा शासकको नियुक्ति गर्ने र दसैंका समयमा राज्यको तर्फबाट ठालुहरू माझ गरिने अधिकार बाँडफाँडको निक्र्याैल जस्ता कुराले नेपाली राज्य एकीकरण प्रक्रियामा दसैंको केन्द्रीय भूमिका रहेको मानवशास्त्री फाफको दावी छ।

२०४६ सालको परिवर्तन पछिको खुला राजनीतिक परिवेशमा जनजाति आन्दोलनका तर्फबाट दसैं बहिष्कार गर्ने आह्वान भएपछि उनले दसैंबारे अनुसन्धान गरेकी थिइन्। उनले दसैंलाई विशुद्ध ‘हिन्दु’ चाड हो र त्यसलाई राज्यले जबरजस्ती अघि बढाएको तर्कलाई प्राथमिकता दिएकी छन्। शक्तिशालीले धर्मबाट राजनीतिक वैधता खोज्ने चलन संसारभरि नै छ र त्यो हिन्दुको मात्र कुरा होइन। उनको तर्क मान्ने हो भने तराईका हिन्दुले नै दसैंलाई किन त्यही रूपमा मनाउँदैनन् भन्ने प्रश्न उठ्छ।

जनजाति आन्दोलनका अगुवा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण मावुहाङ पूर्वी पहाडमा दसैं मान्ने परम्परालाई नेपाल एकीकरण र लिम्बूवानबीच भएको सन्धिसँग जोड्छन्।

उनका अनुसार नेपाल राज्य विस्तारका क्रममा विस १८३१ मा लिम्बूवान र गोर्खा राज्यबीच सम्झौता भयो। जसअन्तर्गत पूर्वका लिम्बूहरू ‘भयाद’ अर्थात् हिन्दु हुने र त्यसको बदलामा लिम्बूवानले नेपाली राज्यबाट ‘स्वायत्तता’ प्राप्त गर्ने भयो। ‘असली हिन्दुस्तान’ निर्माण गर्नु नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मुख्य लक्ष्य रहेको र आफ्नो ‘स्वायत्तता’ जोगाउनु पूर्वका लिम्बूहरूको प्राथमिकता भएको उनको धारणा छ।

त्यसबाट लिम्बू बाहुल्य पूर्वीपहाडमा सुबांगी (स्थानीय मुखिया) प्रथा यथावत् रह्यो। जसअन्तर्गत सुबांगीले निश्चित सीमानासम्मको भुमि नियन्त्रण गरे। त्यसलाई किपट प्रथा पनि भनिन्छ। अर्कातर्फ राज्यसँगको सम्झौताअनुसार सुबांगीले दसैंमा पूजापाठ गर्ने, बली दिने र टीका लगाउने चलन सुरु गरे।

‘सुबांगी अधिनस्थ भूमिमा बस्ने सबै मानिस विजया दशमीको दिन कोसेली बोकेर सुबांगीको हातको टीका थाप्न जान्थे,’ प्राध्यापक माबुहाङ सम्झन्छन्, ‘मेरो बुबा सुबांगी हुनुहुन्थ्यो। मैले जान्दासम्म पनि त्यहाँ बस्ने क्षेत्री, बाहुनलगायत सबै मानिस मेरो बुबाको हातको टीका थाप्ने आउँथे।’

उनकाअनुसार दसैंमा टीका लगाउनुको अर्थ स्थानीय सत्तालाई सबैले स्वीकार गर्नु थियो र त्यस्तो व्यवस्थाले दसैं मान्ने परम्परालाई व्यापक बनायो। पञ्चायतकालमा भूमि सुधार कार्यक्रम लागु भएपछि सुबांगी प्रथा अन्त्य भएको र मानिसहरू सुबांगीको घरमा टीका थाप्न जाने चलन नरहेको माबुहाङ बताउँछन्।‘हिन्दु धार्मिक परम्परा मान्ने कुरा हाम्रो स्वायत्ततासँग विनिमय भएको थियो, तर राज्यले त्यसलाई उल्लंघन गर्यो’ उनको तर्क छ ‘स्वायत्तचाहिँ नहुने तर भयाद भएर हिन्दु परम्पराचाहिँ किन मान्ने भन्ने प्रश्न उठ्यो।’

पूर्वी पहाडका राई समुदायमा पनि दसैंमा गाउँका मुखियाले पूजापाठ गर्ने, मौलो हान्ने (बली दिने) र त्यसपछि गाउँका सबैले मुखियाको हातबाट टीका लगाउने चलन रहेको धेरैको भनाइ छ। बलि दिइसकेपछि रगतको पञ्जाले घरमा छाप लगाउने र त्यसलाई मुखियाले दसैं मानेको प्रमाणका रूपमा राज्यले लिने गरेको तर्क पनि छन्। तर उक्त कुरा स्थानीय परम्परा हो वा राज्यले त्यसलाई दसैं मानेको प्रमाणका रूपमा लिन्थ्यो भन्ने स्पष्ट छैन।

त्यस्तै केही लेखहरू अनुसार सुबांगीले आफ्नो सत्ता वैधानिकताका लागि राज्यबाट नगरा निशान (दमाहा र झण्डा) प्राप्त गर्ने र त्यसलाई नवमीमा विभिन्न स्थान परिक्रम गरी पुजा गरिने चलन थियो। तर पूर्वी पहाडमा त्यस्ता नगरा निशाना एकीकरण अघि सेन राज्यबाट पनि प्राप्त हुने गरेको र एकीकरणपश्चात् उक्त परम्पराले निरन्तरता मात्र पाएको तर्क पनि पेश हुने गरेको छ।

दसैं उत्सवमार्फत् नेपाली राज्य अनुक्रममा स्थानीय र मुखिया तथा मुखिया र राज्यबीचको सम्बन्धले वैधानिकता प्राप्त गर्ने केहीको तर्क छ। उक्त तर्क मान्ने हो भने नेपालमा राजनीतिक र समाजिक सम्बन्धको वैधानिकताका लागि दसैं महत्वपूर्ण माध्यम बनाइयो भन्न सकिन्छ। तर, त्यही कुरा तराईमा किन लागु भएन भन्ने प्रश्न उठ्छ।

उता मानवशास्त्री डा. सुरेश ढकाल भने दसैंलाई विशुद्ध हिन्दुभन्दा पनि मध्यपहाडमा ऋतु परिवर्तनमा मनाइने उत्सवका रूपमा बुझ्नु पर्ने बताउँछन्।

‘सबै हिन्दुले दसैंलाई विशेष पर्वका रूपमा मनाउँदैनन्। हिन्दु चाड भएको भए त पहाडमा भन्दा तराईमा दसैं झन् धुमधामसँग मानिन्थ्यो होला,’ डा. ढकाल भन्छन्, ‘दसैंको विरोध गर्न विभिन्न तर्क र कथा जोडिएको छ। दसैं भ्रमको पुञ्ज नै भएको छ।’

उनका अनुसार संसारभरि नै कृषिमूलक समाजमा मुख्य बाली भित्र्याएपछि मानिस कृतज्ञ भएर विशेष पर्वहरू मनाइन्छ र त्यसै सन्दर्भमा मध्यपहाडमा दसैं मनाउने चलन भएको हो। दसैंमा गरिने कृषि औजार वा जमरा पूजा भनेको भूमि पूजासँगै जोडिएको उनको भनाइ छ। उनकाअनुसार निश्चित उत्पादन प्रणालीमा निश्चित पर्वहरू हुन्छन् र सामाजिक व्यवस्थाअनुसार त्यस्ता पर्वलाई धर्मका रूपमा ‘कोडिफाई’ हुनु पनि आश्चर्य होइन।

‘यदि दसैं विशुद्ध हिन्दु चाड भएको भए पहाडी हिन्दु उच्च जातका मानिसले समेत दसैं किन एकै ढंगले मनाउँदैनन्?’ ढकाल प्रश्न गर्छन्। उनका अनुसार सुदुर पश्चिममा अहिलेको दसैंभन्दा पनि चैते दसैंलाई बढी महत्व दिइन्छ, र केही स्थानमा एकदिन र केहीमा पूर्णिमासम्म टीका लगाएर उत्सव मनाइन्छ।

ऋतु परिवर्तनको तर्क मान्दा उक्त पर्व किन बाली भित्र्याउने चटारो हुने समयमा नै मनाइन्छ भन्ने प्रश्नचाहिँ रहन्छ।

उसो त, गोर्खा राज्य विस्तारपछि जबरजस्ती रूपमा दसैं देशभरि फैलिएको तर्कसँग संस्कृतिविद् सत्यमोहन जोशी पनि सहमत छैनन्। ‘नेपालमा विभिन्न ढंगले दसैं मनाउने चलन छ। त्यसमा विभिन्न बदलावहरू आउँछन्’ जोशी तर्क गर्छन्, ‘काठमाडौंमा पनि दसैं नेपाल एकीकरणभन्दा अघिदेखि नै हर्षोल्लासले मानिन्थ्यो।’

तर कम्तिमा पनि राज्यले दसैंलाई प्रोत्साहन र प्रवद्र्धन गरेको भने देखिन्छ। शैक्षिक तथा न्याय सेवाहरू १५ दिन र अन्य कर्मचारीले घटस्थापनाको १ दिनसहित द्वादशीसम्म ६ दिन सार्वजनिक विदा पाउँछन्। त्यसका साथै उनीहरूले एक महिनाको तलब बराबर बोनस पनि पाउँछन्। फूलपातीका दिन गोर्खा दरबारको दसैंघरबाट फूलपाती राजधानी ल्याएर बढाइँका साथ हनुमान ढोका भित्र्याइन्छ। दसैंघरको मूल चोक तलेजू भवानीलाई ५४ राँगा र त्यत्ति नै संख्यामा बोका बलि दिइन्छ।

त्यसबाट राज्य र दसैंबीचको सम्बन्ध प्रष्ट हुँदैन र?

‘राज्यले कुनै पर्वलाई प्रवद्र्धन गर्नु गलत र आश्चर्यको कुरा नै होइन। कुनै पर्व वा परम्परा प्रवद्र्धन गर्ने कुरा संसारभरि नै हुन्छ,’ डा. ढकाल तर्क गर्छन्, ‘अझ एउटा साझा चाड विकसित हुनु राम्रो कुरा हो। तर त्यसलाई जबर्जस्ती वा हिन्दुको पर्व भनेर प्रवर्द्धन गर्नुभएन।’
मध्यपहाडमा उल्लासपूर्ण ढंगले मनाइने दसैं २०४६ सालको खुला राजनीतिक परिवेशपछि भने विवादको चपेटामा पर्यो। दसैं विशुद्ध हिन्दु चाड र दुर्गा-महिसासुर कथालाई आर्य र जनजातिबीचको राजनीतिक र साँस्कृतिक द्वन्द्व तथा प्रभुत्वका रूपमा पनि व्याख्या भयो।
शाही मन्त्रीमण्डलका सदस्य र दसैं बहिष्कारका अभियन्ता गोरेबहादुर खपांगीले सन् २००२ मा राजाको हातबाट टीका ग्रहण गरेपछि दसैं बहिष्कार अभियानमा ठूलो प्रश्न चिन्ह लागेको थियो। जनजाति संस्थाहरूले दसैं मनाउनेलाई दण्डित तथा बहिष्कृत गर्ने अभियान चलाएका थिए। त्यसै समयको आसपास बहिष्कार गर्नेले पनि फेरि दसैं मान्न सुरु गरे। अहिले टीका लगाउँदै नलगाउनेले पनि टीका लगाउन सुरु गरेको देखिन्छ भने सेतो टीका लगाउनेले समेत रातो टीकामा फर्किएको देखिन्छ।

दसैं बहिष्कार अभियानको प्रभाव हराउनुको कारण लामो विदा र लामो समयदेखिको चलनले काम गरेको मानवशास्त्री डा. मुक्तसिंह लामा बताउँछन्।

‘अहिले स्वेच्छिक ढंगले दसैं मान्ने/नमान्ने वा आफ्नो ढंगले मान्न मानिस स्वतन्त्र छन्। त्यो स्वेच्छिक कुरा भयो,’ डा. लामा भन्छन्, ‘विदा, दसैं खर्च, भेटघाट जस्ता कुरा छन्। उक्त समयलाई विभिन्न र आ–आफ्नै तरिकाले मनाउने चलन पनि छ।’ उनका अनुसार बौद्ध धर्म गुरु पदमसम्भवको जन्म पनि विजया दशमी पर्ने हुनाले तामाङ समुदाय माझ दसैंको समयमा गुम्बा गएर ध्यान गर्ने चलन पनि सुरु भएको छ। उक्त चलनलाई पनि फरक ढंगले दसैं कै निरन्तरता रूपमा बुझ्न सकिन्छ।
दसैंलाई राज्यले पनि लामो समयदेखि प्रवद्र्धन गरेको तर्क सही देखिन्छ। तर, दसैंलाई विशुद्ध हिन्दु चाड र नेपाल एकीकरणको प्रक्रियामा यसलाई जबर्जस्त रूपमा लादिएको तर्क गर्नेले आँखा चिम्लिएको अर्को पक्ष नेपालका विभिन्न जाति/जनजातिबीचको सम्बन्ध र साँस्कृतिक घुलमिल हो। जस्तै, हलेसी, बराह क्षेत्र, पञ्चकन्या, बुढासुब्बा मन्दिरहरू साझा धार्मिक स्थलका रूपमा विकास भएका छन्। कुनै जनजाति समुदायमा दसैं मान्ने तरिका यति पृथक र स्थानीय छ कि त्यसलाई अत्यन्त लामो समयदेखिको सामाजिक अन्तरघुलनले मात्र सम्भव बनाउन सक्छ।

त्यस्तै, जनमानसमा बुझिने हिन्दु धर्ममा गाईको मासुमा बन्देज बाहेक निश्चित सिद्धान्त र अभ्यास निर्धारित छैनन्। पृथ्वीनारायण शाहको ‘असली हिन्दुस्तान’मा ‘हिन्दु’ भन्नाले कुनै निश्चित धार्मिक अभ्यासभन्दा पनि मुस्लिम र क्रिस्चियन धर्मबाट फरक र स्थानीय धार्मिक परम्परालाई बुझाएको देखिन्छ। त्यसले ‘हिन्दु धर्म’को दायरालाई फराकिलो पार्छ। अझ मानिसले दशैं मान्नुको कारण यसको धार्मिकभन्दा पनि आफन्तजनसँग समय बिताउने र खानपिन गर्ने जस्ता भौतिक कुरा जोडिनु हो। त्यस्तो परम्परालाई चटक्कै छोड्न गाह्रो हुन्छ।

इलाममा दसैंबारे अध्ययन गरेकी मानवशास्त्री सुसन ह्यान्गेनका अनुसार जनजाति अगुवाको आह्वानमा सशक्त ढंगले दसैं बहिष्कार गरेको त्यहाँको पुरै गाउँका मानिसले फेरि उल्लासमय ढंगले उक्त पर्व मान्न थाले। किन त्यस्तो भयो भन्ने उनको प्रश्नमा प्राध्यापक तथा जनजाति नेता डा. ओम गुरुङले उत्तर दिएका छन् – किनकि दसैं वर्ष दिनमा आउने गजबको समय हो, त्यतिबेला जताततै उल्लासपूर्ण वातावरण हुन्छ।

दसैं व्यापक र लोकप्रिय हुनुको कारण यसको धार्मिक महत्वभन्दा पनि पारिवारिक र आफन्तजन भेला भएर मानिने उत्सवका रुपमा यसको विकास हुनु हो। पुस्तौंदेखि दसैं उत्सवका सम्झना र उत्साह आम मनोविज्ञानमा गहिरोसँग गाडिएका छन्। दसैं कथाको निर्माण, पुनर्निर्माण वा ऐतिहासिकताबारे विवाद भए पनि दसैं धर्मको साँघुरो घेराबाट बाहिर निस्किएको छ। त्यसैकारण पनि दसैं नेपालीहरूमाझ लोकप्रिय चाडका रूपमा रहिरहने देखिन्छ।

Title: Re: दशैं आयो .. happy dashain
Post by: tundikhel on October 06, 2016, 11:58:00 PM
१. माहोल
घरमा देवी जागेकी छन्
बजारमा उन्मत्त भैरव जागेका छन्
बिचमा ‘शुभ कामना’ को ओइरो छ
फेरि अर्को दशैँ आउँछ भन्थे, हो रैछ!
 
अब, लुगामा चिप्लला इज्जत, मासुमा गइ लड्ला कि?
ठेस लाग्ला दक्षिणामा, जुवामा गई बिकला कि?
छोराले लिन्छ कि हुर्मत, छोरीचै ले रुवाउने हो?
प्यारी चित्त दुखाउलि कि पाहुनाले सताउने हो?
 
तर, के लछार्छ बजार भाउले बजारै नगयो भने?
एउटा बोको नमार्दैमा जाओस इज्ज़त गयो भने!
घरमा जे छ पकाएर टन्न खाने रमाउने
 नभए उपवास बस्ने टन्न धर्म कमाउने।
 
२.  काटमार
वर्षभरिको झिकी झोक काटौ खसी बोका सब
काट्ने पर्ने त अरुनै थिए, यसमै चित्त बुझाऊँ अब।
 
३. मासु
अस्टमिमा  खसी काटियो, त्यसै दिन पकाईयो
साँझमा अरुके हुन्थ्यो त्यहि मासु तताइयो
नवमीको तिनै छाक मासु  तात्यो मासु पुनः पुनः
दशमीमा दसचोटि तात्दा, कुन मासु,  गोल हो कुन?
 
एकादशी ज्य्वाई र भान्जा, गनी गनी तताइयो
द्वादशिमा पनि आए, तातै  मासु खुवाइयो
त्रयो दशी, चतुर्दसि पुर्णिमा च: तथै वच
कयौं पटक तताएको मासुअ बाँकी यथावत
 
खुबै खाइयो, जेलोसिल र हाजमोला र इनो पनि
अझै छ मासु त्यो बाँकी खान आउनुहोस तपाई पनि !
 
४.  आशीर्वचन
कोपराको उन्नति हेर्नुस, पहिला चर्पी रुप लियो
त्यसपछि बनी  ट्वाइलेट घरभित्रै पनि गयो
धारासंग मिलि फेरी बाथरुमको पदवी लियो
पसेर सुत्ने कोठामा "एटैच बाथरुम" पनि भयो
 
सफाभो, बसाउने भो,  चम्कने टल्कने भयो
पूजाकोठा होस् कि नहोस, बाथरूम पक्कै हुने भयो
शृंगारका सबै साधन देख्ने सुँघ्ने उही भयो
उन्नातिहोस कोपरा को झैँ, आशीर्वचन यहि भयो


दशैँका चार टुक्रा

चट्याङ मास्टर
Title: Re: दशैं आयो .. happy dashain
Post by: tundikhel on October 12, 2016, 12:00:28 AM
लिंगे पिङ नियमावली, २०७३

बाह्रखरी  २०७३ असोज २२ शनिबार

अधिकारी रवीन्द्र
नेपाल लिंगे पिङ प्रवद्र्धन समितिको केन्द्रीय कार्यालयको मुख्य सूचना बोर्डमा प्रकाशित ।
मिति : २०७३ असोज १८
खेलकुद विकास ऐन, २०४८ को प्रस्तावनालाई टेकी सर्वसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि वान्छनीय भएकोले नेपाल लिंगे पिङ प्रवद्र्धन समितिले देहायका नियमहरू बनाएको छ । 
 
प्रस्तावना
लिंगे पिङ नेपालको कुना कन्दरादेखि सहर बजारसम्म विशेषतः चाडबाडको अवसरमा निकै नै लोकप्रिय खेल हो । यो खेलको वास्तविक उद्गम बिन्दु इतिहासको कुन कालखण्ड हो भनेर यकिनका साथ भन्न नसकिए पनि यो खेल परापूर्व कालदेखि चलिआएको हो भन्ने अनुमान पुराना कष्ठकला वा चित्रकलामा कुँदिएको पिङको कलाकृतिबाट जान्न सकिन्छ । 
यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदिको अवसर पारेर खेलिन्छ । तसर्थ यो खेल खेल्ने समयमा प्रायः हुलमुल बढी हुन्छ । जहाँ हुलमुल बढी हुन्छ, त्यहाँ ठेलमठेल र झेलमेल पनि बढी हुन्छ । लिंगे पिङ खेल्दा हुन सक्ने अन्याय, झेल तथा दुव्र्यवहारलाई मध्यनजर राखी यो नियमावलीले आजको दिनदेखि यो खेल खेल्दा पालना गर्नुपर्ने आधारभूत नियम विनियम तथा खेलको नियमविपरीत व्यवहार देखाएमा भोग्नुपर्ने दण्डसजायको बारेमा प्रष्ट दिशानिर्देश गरेको छ । अझ नजिकिँदै गरेको हिन्दू महान् चाड दसैं तथा तिहारमा जताततै पिङ खेलिने परम्परा रहेको हुँदा यस्ता थिचोमिचो र ज्यादति झन् यो सिजनमा बढी हुने गर्छ । साथै बढ्दै गएको बजारिकरणले खुला ठाउँ नहुँदा लिंगे पिङको अस्तित्व नै धरापमा परेको हुँदा यो खेलको गरिमालाई बचाउन र यसको ऐतिहासिक मूल्य मान्यतालाई सन्तान दरन्तानसम्म हस्तान्तरण गर्ने अभिप्रायले समेत प्रेरित भएर यो नियमावली सार्वजनिक भएको छ । पौराणिक मान्यताअनुसार पनि दसैंको अवधिभर कम्तिमा एक पटक भुइँ छोड्नैपर्ने भन्दै आएकोमा सबैले सुविस्ताका साथ नियममा रहेर त्यसो गरुन् र गराउन् भन्ने अपेक्षासमेत गरिएको व्यहोरा जानकारी गराइन्छ ।   
 
परिच्छेद–१ 
प्रारम्भिक
१) संक्षिप्त नाम र प्रारम्भः (१) यो नियमावलीको नाम ‘लिंगे पिङ नियमावली’ २०७३ रहेको छ । (२) यो नियमहरू तुरुन्त लागू हुनेछ ।
२) परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) ‘ऐन’ भन्नाले खेलकुद विकास ऐन, २०४८ सम्झनुपर्छ ।
(ख) ‘लिंगे पिङ’ भन्नाले घटीमा चार वटा बाँसका खाँबा चारतिर वर्गाकार वा आयताकार मोहडामा गाडेर त्यसको बीचमा झुन्डाइएको डोरीमा खेलिने खेल र ‘लिंगो’ मात्रै भन्नाले पिङ बनाउने अभिप्रायले काटिएको वा काट्न तय गरिएको बाँसको टुप्पोसहितको खाँबो भन्ने सम्झनुपर्छ ।
(ग) ‘लठारो’ भन्नाले पिङकै प्रयोजनको लागि बाबियो वा जुटबाट बनेको मोटो डोरी सम्झनुपर्छ ।
(घ) ‘गरालो’ भन्नाले लठारो बलियोसँग बाँधिएको त्यो काठ बुझ्नुपर्छ, जुन चार वटा लिंगोेहरूको टुप्पो जोडिएको ठाउँमा मिलाएर तेस्र्याइएको हुन्छ । 
(ङ) ‘खेलाडी’ भन्नाले लठारोमा चढेर कम्तिमा पाँच पटक अगाडि र पछाडि हुत्तिने व्यक्तिलाई सम्झनुपर्छ ।
(च) ‘काम्रो’ भन्नाले खेलाडीको खुट्टा वा पुठ्ठा राख्ने बलिया कम्तिमा दुई वटा साना लठ्ठीलाई डोरिले बुनेर तयार गरिएको चिज सम्झनुपर्छ । 
(छ) ‘भिजिलान्ते’ भन्नाले वास्तविक खेलमा रुची नभई खेल भाँड्न वा खेल्न भनी आएका व्यक्तिलाई र्याग गर्न बसेका जमातको सदस्य भन्ने सम्झनुपर्छ ।
(ज) ‘हल्लागिरी’ भन्नाले सानोतिनो किचलो सुरु हुनासाथ डाँडै थर्काउने गरी होहल्ला मच्चाउने व्यक्ति वा समूह सम्झनुपर्छ ।
(झ) ‘पिन्चे’ भन्नाले खेल्न नआउने तर खेल्छु भनेर हरबखत काम्रो वा लठारो समाउन आउने व्यक्तिलाई सम्झनुपर्छ ।
(य) ‘रुन्चे’ भन्नाले रोल क्रममा हुनेले एक पटक बल्ल खेल्न पाउँदा जुन व्यक्तिले रोईकराई कम्तीमा तीन पटकसम्म खेलिसकेको हुन्छ, त्यसलाई सम्झनुपर्छ । 
(ट) ‘ग्वाङ्ग्रो’ वा ‘ग्वाङग्री’ भन्नाले खेल्न आउने तर खेल्ने मौका कहिल्यै नपाउने र प्रायः अलि पर लिंगोमा हात राखेर ट्वाल्ल तमाशा हेर्नेलाई सम्झनुपर्छ ।
(ठ) ‘लठ्ठा’ भन्नाले दुई लठारोको समूह सम्झनुपर्छ ।
(ड) ‘लाठे’ भन्नाले घरमा काम लठाग्र छाडी बाबुआमा, स्वास्नी, छोराछोरीको आँखा छलेर दिउँसोको खाजासमेत खान घर नगई दिनहुँजसो पिङवरिपरि झुम्मिने, अधिकांश समय पिङ हल्लाउन बसेको मान्छेलाई सम्झनुपर्छ ।
(ढ) ‘पिलन्धरे’ भन्नाले खेल्न भनेर आएका खेलाडीको पछिपछि रुँदै कराउँदै आएका बालबच्चा सम्झनुपर्छ, जो अक्सर खेलाडी पिङमा चढ्नासाथ सातै जाने गरी डाँको छोडेर रुने गर्छन् ।   
(ण) ‘उठी’ भन्नाले काम्रोमा खुट्टा राखेर उठेर खेलिने खेल तथा ‘बसी’ भन्नाले काम्रोमा पुठ्ठा राखेर बसेर खेलिने खेल सम्झनुपर्छ ।
(त) ‘रमिते’ भन्नाले खेल्न आउँदा पनि नआउने अनि खेल्न इच्छा पनि नभएका कसैको साथी लागेर आएका १३ वर्षमाथिका मानिसहरूको जत्थालाई सम्झनुपर्छ ।   
 
परिच्छेद–२
३) खेल खेल्ने वा खेल हेर्नेसम्बन्धी व्यवस्था
यस नियमावलीमा निम्न नियमहरूको व्यवस्था गरिएको छ
(३.१) खेलाडी संख्या र लिंगका सम्बन्धमा : यो खेल एक वा दुई जना अवस्थाअनुसार खेल्न सकिनेछ । जोडी खेल्दा १३ वर्ष उमेर नाघेका विपरित लिंगी छन् भने श्रीमान्–श्रीमती नै हुनुपर्नेछ । अन्यथा जोडी खेल्न पाइनेछैन । १३ वर्ष उमेर हद ननाघेकाका हकमा जो–जो खेले पनि पाइनेछ ।
(३.२) खेल एकैपटक सबैले खेल्न नमिल्ने भएकाले रोलक्रम अनुसार खेल्नुपर्छ, जसमा पहिला आउनेको रोलक्रम पहिलो र पछि आउनेको तदनुसार दोस्रो र तेस्रो हुँदै जानेछ । देहायका विशेष अवस्थाहरूबाहेक अन्य अवस्थामा कुनै पनि हालतमा रोलक्रमको नियम पलना गर्नु गराउनु पर्नेछ ।
 (३.३) अतिथि संस्कारसम्बन्धी : गाउँमा वा टोलमा कसैको घरमा आएको पाहुनाले खेल्न चाहेकोमा विद्यमान रोल क्रमको ख्यालै नगरी उसलाई पहिलोपटक खेल्ने मौका दिइनेछ । दोस्रो पटकदेखि भने उसलाई रोल क्रमअनुसार नै खेलाउनु पर्नेछ ।
(३.४) बच्चा सुरक्षासम्बन्धी : यो उपनियमले पाँच वर्षभन्दा कम उमेरका बच्चालाई खेलाउँदा सम्बन्धित बच्चाको अविभावक अनिवार्य रूपमा उसलाई काखमा राख्न तयार हुनुपर्छ, अन्यथा उसको रोलक्रम रद्द गरिनेछ ।
(३.५) लिंगे पिङ खेलका निषिद्द कार्यहरू :
(क) खेलाडी तथा दर्शक दिर्घाहरूबीच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ख) धारिलो वा पड्किने हतियार लिएर आउन निषेध ।
(ग) गाउँलेका बहिनी, दिदी, भान्जी, साली, भतिजी, बुहारी, सोल्टिनीप्रति गिद्धे नजर लाउन नपाइने । 
(घ) साना बच्चालाई अविभावकबेगर पिङमा चढ्न निषेध ।
(ङ) पीङमा मच्चिँदा ‘सररर’ र ‘चचहुइ’ बाहेक अरु (आपत्तिजनक र उछृंखल) भाषा र शब्दहरू प्रयोग गर्न निषिद्द ।
(च) खेलबीचमा लठारो झड्काल्न र बढी मच्चाउन र अरुलाई हौस्याउन नपाइने ।
(३.६) पिङबाट ओर्लन बाध्य नपारिने : साविक खेलको निर्धारित अवधि सकिँदा पनि खेलाडी वा खेलाडीहरूले खुबै जोशका साथ मच्चिई मच्चिई खेलिरहेको अवस्थामा पिङबाट ओर्लन बाध्य पारिनेछैन । खेलको समय निर्धारण भने खेल्न इच्छुक खेलाडीहरूको चापअनुसार उपलब्ध व्यक्तिहरूकै मिलेमतोमा गर्न सकिनेछ । घरपरिवारका मान्छे विभिन्न बहानामा खेलिरहेको खेलाडीलाई बोलाउन आएमा समेत खेलाडीले आफ्नो अवधिसम्म निष्फिक्री खेल्न पाउने अधिकार यस नियमले व्यवस्था गरेको छ ।
(३.७) आफ्नो पालो आउने बेलामा अन्त कतै भुलिने वा घर जाने र पछि आउनासाथ अघि नै पालो आउने बेलामा गएको भनेर रोलक्रम मिच्न पाइने छैन ।
(३.८) आफैं जिम्मेवार हुनुपर्ने
(क) खेल भैरहेको ठाउँमा लापरबाही गरी जाँदा मच्चिएको पिङले लागेमा घाइते स्वयंबाहेक अरु कुनै पक्ष जवाफदेही हुनेछैन ।
(ख) हुक्कु हुने गरी मादक पदार्थ सेवन गरी खेल स्थानमा खुट्टै टेक्न नसक्ने गरी आउने, गालीगलौज तथा अशिष्ट भाषा प्रयोग गर्ने, घुर्की लाउने, बहानाबाजी गर्ने, लछार्ने, पछार्ने, तँछाडमछाड वा मुक्कामुक्कीसमेत गर्ने, ठर्रा गनाउने मुख लिएर अर्काको  नजिकै गई ढ्याउ गर्नेजस्ता अक्षम्य भुलहरू गरेमा जोकोहीले वा समूहले मिलेर निज जँड्याहालाई कुटपिट गर्ने वा घिसारेर पिङ परिसरबाट बढीमा एक कोश परसम्म पुर्याउन सक्नेछन् र एक हप्तासम्म खेलबाट वञ्चित गर्न सक्नेछन् । निजको पुनरावेदन कहीँ लाग्ने छैन । 
(ग) पिङ खेल्दाखेल्दै घडी, सिक्री, रुमाल, पर्स, पैसा, औंठी तथा अन्य बहुमूल्य सामान खसेमा वा हराएमा आफैं जिम्मेवार हुनुपर्नेछ । 
(घ) आकस्मिक गरालो खसेर, लिंगो ढलेर, भूकम्प, चट्याङ, बाढीपहिरो आएर वा अन्य कारणवश पिङ खेल्दा दुर्घटना भएमा खेलाडी आफैं उत्तरदायी ठहरिनेछ ।
 
परिच्छेद–३
४) यस खेलमा निम्नबमोजिमका दण्ड तथा सजाय व्यवस्था गरिएको छ ।
(४.१) खेलाडीहरूबीच हात हालाहाल भएर अंगभंग भएमा (जस्तै नाक कुच्चिएमा, बंगारा झरेमा) पिडकले पीडितलाई सम्पूर्ण उपचार गर्नुपर्ने व्यवस्था यसै नियमले गरेको छ । साथै आपसी सहमतिमा खेल स्थानमै उपलब्ध प्रत्यक्षदर्शी यथासम्भव ज्येष्ठ नागरिकको रोहबरमा आर्थिक हिसाब मिलान गरी उपचार खर्च पीडित पक्ष स्वयंले समेतले पनि गर्न सक्नेछ । खेलको हकमा इच्छा भए पीडितलाई एक पटक पिङ खेलाएर एम्बुलेन्समा पठाउन सकिनेछ भने पिडकलाई तत्काल खेल सिमाबाट कठालो समाएर बाहिर निकाल्ने अधिकार खेल वरिपरिका पालो कुरेर बसेका खेलाडीहरूलाई हुनेछ । विपक्षीको शरीरबाट रगत नै बग्ने गरी मुक्का हान्ने त्यस्ता व्यक्ति सम्बन्धित लिंगे पिङबाट त्यस सिजनको लागि खेल्न स्वतः अयोग्य घोषित हुनेछन् ।
(४.२) सामाजिक शिष्टाचारविरुद्धको क्रियाकलापसम्बन्धीः
गाउँका नव जवान किशोरी, गाउँलेका भान्जी/भातिजी, साली÷सोल्टिनी, भदै, सानी आमा, ठूलीआमा वा मामाका छोरीहरू, नवविवाहित बधु आदिलाई देखेर दुव्र्यवहार गर्ने, आँखा सन्काउने, सुसेल्ने, सिठी बजाउने, जिब्रो पड्काउने, घाँस वा कागजको रकेट बनाई उनीहरूको टाउको वा जिउमा पर्ने गरी उडाउने, सुनिने स्वरमा दोहोरो अर्थ लाग्ने भाषाहरू प्रयोग गर्ने तथा यहाँ उल्लेख गर्न नमिल्ने कुराहरू गर्ने हर्कत गरेमा लाठेको संयोजकत्वमा पहिलो पटक चेतावनी र दोहोरिएमा खेल परिसरबाट निष्कासित गर्न सकिनेछ । 
(४.३) खेलाडी, रुन्चे, पिन्चे वा रमिते कुनै समूहले नियोजित रूपमा खेलको दौरानमा काम्रो झिक्ने, खोस्ने, थुत्ने वा लुकाउने गरेमा दोषी ठहरिएको व्यक्तिलाई वान्छनिय ठहरेमा अक्षरशः नेपाली रुपैयाँ एक सय पचाससम्मको नगद जरिवाना तिराउन सक्ने छ । उक्त शुल्कबाट लाठेको अगुवाइमा ल्गिंे पिङ वरिपरि भएका व्यक्तिहरूले चना चटेपटे, पानीपुरी, पिप्लामेठ, चुइङ्गम, चाउचाउ खान सक्नेछन् । सामूहिक सर्जमिनपश्चात काम्रो फिर्ता ल्याइसकेपछि काम्रो मामिलामा मुछिएको निज व्यक्तिको गनेर पाँच पटकसम्म पालो ढुस्सिने व्यवस्था गरिएको छ ।
(४.४) लिंगे पिङ खेल्ने भूभाग २० मिटर वरिपरि लंगुरबुर्जा, पोट, गुच्चा, तासजस्ता अन्य खेलको खाल राखी हल्ला गर्ने अनि खेलाडी र रमितेलाई भाँड्नेजस्ता जघन्य अपराधमा सामेल हुने व्यक्तिलाई एक सय बीस पटक उठबस गराई डाँडा कटाउँदा कसैले केही बोल्न पाउने छैन ।     
 
परिच्छेद–४
५. अन्य नियम, विनियममा असर नपर्ने :
यस नियमावलीमा उल्लेख भएको नियमहरूले क्षेत्रगत रूपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनै पनि प्रकारले असर गर्ने गराउने छैन ।
६. संयोग हुने :
यो नियमावलीमा व्यवस्था भएका कुराहरू  वा बँुदाहरू अन्य नियम, विनियमसँग मेल खान आएमा केवल संयोगमात्र हुनेछ ।
७. अमान्य हुने :
यस नियमावलीमा बाझिएका कुनै पनि कुराहरू बाझिएको हदसम्म अमान्य हुनेछन् ।
८ . बाधा अड्काउ फुकाउने :
यस नियमावलीमा व्यवस्था भएका कुराहरू बाहेक अन्य परिस्थिति सिर्जना भई खेलमा अवरोध आएमा खेलाडीहरूको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
९. अर्थ र संशोधन : यस नियमावलीमा रहेका शब्द र नियमहरूको अर्थ व्याख्या अझ जान्न चाहने र संशोधन एवं सुझाव दिन चाहनेले नेपाल लिंगे पिङ प्रवद्र्धन समितिको प्रधान कार्यालय, बनेपा, रेशम मार्गमा (वा ईमेल (चबखष्लझक२ष्यm।भमग।लउ)मा लिखित जिज्ञासा राख्न वा राय सुझाव दिन सक्ने छन् । सम्बन्धित जिज्ञासालाई सम्बोधन र प्राप्त सुझावलाई प्रथम संशोधनमा पक्कै पनि समेट्न खोजिनेछ ।
यो दसैंमा दुर्गा माताले सबैको कल्याण गरुन् । १८ आश्विन २०७३, रोज शुभम् ।
 
...........
का.मु. अध्यक्ष
नेपाल लिंगे पिङ प्रवद्र्धन समिति, रेशम मार्ग, बनेपा (काभ्रे) 
फोन : अन्ठानब्बे एकचालीस दुई छ चार छैन फोन छ तार छैन
बोधार्थ : खेलाडी, रमिते, हल्लागिरि, रुन्चे, पिन्चे, भिजिलान्ते, लाठे र खेलसँग सम्बन्ध राख्ने सबै ।
Title: Re: दशैं आयो .. happy dashain
Post by: tundikhel on October 12, 2016, 12:02:07 AM
दसैँमा गर्न नहुने १० काम
बाह्रखरी
 बाह्रखरी  २०७३ असोज २२

हरेक वर्ष दसैं आउँछ र नेपालीले यस पर्वलाई निकै हर्षोल्लासका साथ मनाउँछन् । दसैंलाई ठूलो चाड मान्ने कसैलाई पनि दसैं कहिलेदेखि मनाउँदै छु भन्ने थाहा हुँदैन । किनभने, उसले थाहा पाउनु अघिदेखि नै दसैं मनाउँदै आएको हुन्छ । तर, यति धेरै दसैँ मनाइसक्दा पनि हामीमध्ये कतिपय व्यक्तिलाई दसैंमा गर्नै नहुने यी दस कुराका बारेमा जानकारी नहुन सक्छ ।
दसैंमा धेरै रक्सी खानु हुन्न, जुवातास खेल्नुहुन्न वा धेरै मासु र चिल्लो खानुहुन्न भनेर त सर्वसाधारण जो सुकैले पनि भन्छन् तर तल दिइएका दस कुरा भने धेरैले पनि भन्दैनन् र वास्ता गरिएन भने कस्तो मान्छे रहेछ भनेर कुरा चाहिँ काट्छन् ।
१. पहिले पहिले दसैंमा टीका लगाउन खबर नगरी त्यसै जाने गरिन्थ्यो र सोही प्रथालाई ठीक मानिन्थ्यो । पहिले फोन हुन्नथ्यो र जाने मान्छे धेरै टाढा पनि जाँदैन थिए । तर, सहरमा र मोटर चल्ने ठाउँमा मानिस ससुराली र आफूभन्दा मान्यजनसँग टीका लगाउन जाने हुनाले खबर नगरी जानु ठीक मानिदैन । सातआठ दशक कटेका वरिष्ठ व्यक्तिसँग टीका लगाउन चाहिँ नसोधीकन गए पनि हुन्छ तर अरूकोमा जाँदा फोन गरेर जानु ठीक हुन्छ । त्यसै जाँदा कहिलेकाहीँ घरमा कोही नहुने वा कहिले घरमूलीलाई टीका टाँसेर भाग्नै हतार हुन्छ । यस्तो बेला टीका लगाउन जानेलाई नै नमीठो लाग्ने अवस्था हुन्छ ।
२. धेरै घरमा टीका थाप्ने व्यक्ति पूर्व फर्केर र टीका लगाइदिने व्यक्ति पश्चिम फर्केर आशीष र अक्षता लेनदेन हुन्छ । कहिले काहीँ कसैको घरमा स्थानाभावका कारण वा थाहा नभएर दिशा ठ्याक्कै मिलाएर टीका लगाउँदैनन् । यस्तो अवस्थामा सकभर जे जस्तो हुन्छ त्यसैमा चित्त बुझाउनु राम्रो हुन्छ । बाठो पल्टेर पूर्व र पश्चिम भन्नेलाई कसै कसैले नराम्रो मान्न सक्छन् ।
३. साधारणतया दसैँमा सबैजना नयाँ लुगा लगाएर हिँड्छन् । तर कहिलकाहीं पुरानै मोजा लगाएर टीका थाप्न जाने पनि हुन्छन् । पुरानो लगाउनु खराब हैन तर मोजामा प्वाल भएको वा गन्हाउने मोजा लगाउनु हुन्न । मोजा सफा हुनै पर्छ नत्र टीका लगाउन जम्मा भएका सबै जनाले गह्नाउने मोजा लगाउने व्यक्तिलाई नराम्रो दृष्टिले हेर्छन् ।
४. कतिपय केटाकेटीले आफूले पाएको दक्षिणा धेरै भयो वा थोरै भयो भनेर प्वाक्क भनिदिन्छन् । कुन घरमा कसले दक्षिणा कति दियो भनेर सबैको अगाडि तुलना गर्नु हुन्न । साना बच्चा हुने व्यक्तिले यस विषयमा बच्चालाई सिकाउनै पर्छ । नत्र, सबैको निधारमात्र टीकाले रातो हुने हैन मुख समेत लाजले रातो हुने अवस्था बन्छ ।
५. केटाकेटी र ठूला मान्छेले समेत अरूको घरमा खसी काटेको कि नकाटेको भनेर सोध्ने चलन छ । यो अत्यन्त नराम्रो चलन हो । दसैंमा खसी काट्नै पर्छ भन्ने सोचको अन्त्य नगरुन्जेल दसैं पैसा नहुनेका लागि सधैं दसा नै हुने गर्छ ।
६. कसैको घरमा टीका लगाउन गएको बेला रक्सी पनि दिइन्छ भने सकभर त्यसलाई नम्रतापूर्वक अस्वीकार गर्ने, नभए पनि अत्यन्त कम पिउने गरौँ । हरेक घरमा अलिअलि खाँदै मातेर टीका लगाउन पुग्नु अत्यन्तै अशोभनीय कार्य हो । कुनै एक ठाउँमा मात्र बसेर टीका लगाउने र पिउने हो भने सोखअनुसार पिउँदा फरक नपर्ला तर गह्नाउने मुख लिएर घरघर डुल्नु शोभनीय हुँदैन ।
७. घरमा टीका लगाउन आएका पाहुनालाई दसैंको समय हो भनेर रक्सी र मासु खान अत्यन्तै कर गरिन्छ, जुन गलत हो । दुई तीन ठाउँमा खाँदै आएको मान्छेलाई धेरै कर गरेर खुवाउँदा निल्नु र ओकल्नुको अवस्था हुन्छ । एक पटकसम्म खान अनुरोध गर्नुलाई स्वाभाविक मानिन्छ तर नखाई जानै पाइँंदैन भनेर कर गर्नु अशोभनीय हुन्छ ।
८. दसैंमा अर्काको घरमा लैजाँदा कतिपय केटाकेटी बेतोड दौडने, ढोका ढ्यांग ढुंग आवाज आउनेगरी बन्द गर्ने, फुल टिप्ने, सजाएको सामान चलाउने, जे जे मन लाग्यो त्यो खानेकुरामा हातै हालेर झिक्ने पनि गर्छन् । यस्तो हुँदा टीका लगाइदिने घरमूली र अन्य पाहुना सबैलाई झर्को लाग्ने हुन्छ । साना छोराछोरी लिएर हिँड्नेले यस्ता कुरामा ध्यान दिनु राम्रो हुन्छ ।
९. दक्षिणा दिने घरमा सकभर धेरैजना पुग्ने र दक्षिणा नपाउने घरमा भने घरको एकजना पनि नपुग्ने पनि हुन्छ । मान्यजन र बूढापाका भएको घरमा नजाने तर ठूला पदमा पुगेका र धनी घरमा लाइन लागेर टीका थाप्नेको पनि ठूलै संख्या छ । यस्तो चलनको अन्त्य हुनुपर्छ ।
१०. रक्सी, मासु खाने र तास खेल्ने काम प्रायः घरका पुरुषले मात्र गर्ने र महिलालाई काममा बढी नै व्यस्त बनाउने चलन धेरै घरमा हुन्छ । सबै मिलेर पकाउने र मिलेर मनोरञ्जन गर्ने गरेमा घरमा शान्ति पनि हुन्छ र कसैलाई बढी बोझ पनि पर्दैन ।
Title: Re: दशैं आयो .. happy dashain
Post by: r1p2b6 on October 15, 2016, 03:53:54 PM
Nice Comedy bro
Title: Re: दशैं आयो .. happy dashain
Post by: tundikhel on September 29, 2018, 11:45:57 PM
https://www.youtube.com/watch?v=Bc0_aktOlXs
Title: Re: दशैं आयो .. happy dashain
Post by: anand on September 30, 2018, 12:43:49 PM
https://www.youtube.com/watch?v=Bc0_aktOlXs

Thanks
Title: Re: दशैं आयो .. happy dashain
Post by: tundikhel on October 03, 2018, 10:52:49 PM
;)
https://xnepali.net/dashain-message-of-ashika-tamang-tearful-for-animals-and-their-families/

https://www.youtube.com/watch?v=03JgS_9-7i0
Title: Re: दशैं आयो .. happy dashain
Post by: Nirose on October 04, 2018, 03:28:45 PM
Happy Dashain to you too. :)