Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on February 03, 2018, 11:57:53 AM

Title: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on February 03, 2018, 11:57:53 AM
https://www.youtube.com/watch?v=36Cw0XStaI4

Senior litterateur Manu Brajaki passed away Friday morning at the age of 75. He was being treated for brain hemorrhage at the Patan Hospital, according to litterateur Sunil Puri.

He is survived by his spouse, one daughter and one son. “Timri Swasni ra Ma” and “Annapurnako Bhoj” are among famous collections of stories written by Bajaki, a well-known author in the Nepali literature.

He has written many newspaper articles on contemporary issues and was perfectly competent in gazal writing.

Published Date: Friday, February 2 , 2018



गजल : हाँस्न पनि पाइएन
 by - Manu Brajaki


रुन पनि पाइएन, हाँस्न पनि पाइएन।
रोई-रोई आँसुले मन धुन पनि पाइएन।

तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला,
फूलजस्तो आत्मीयता छुन पनि पाइएन।

कतैतिर नलागेर आफूभित्रै बसेपछि,
दोष पनि पाइएन, गुन पनि पाइएन।

खोलाजस्तो बग्छ आँखा, बगरमै बसेको छु,
बालुवा त बग्यो सबै सुन पनि पाइएन।

गीत लेखी पठाएछौ नफर्किने बाचा गरी,
एकान्तमा गाऊँ भने धुन पनि पाइएन।

भौँतारिँदै टाढाटाढा जतिसुकै पुगे पनि,
तर यहाँ ‘मनु’जस्तो हुन पनि पाइएन।

-सैँबु, भैँसेपाटी, ललितपुर
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on February 03, 2018, 11:59:34 AM
Renowned novelist Manu Brajaki has passed away.

The 75 year old ace writer breathed his last on Friday morning. Brajaki was undergoing treatment at the Patan Hospital after suffering from brain haemorrhage.

He is survived by his spouse and two children- a son and a daughter.

The late Manu Brajaki was known not only for his fictional works but also for his keen penmanship on contemporary issues.


(http://setopati.net/wp-content/uploads/2018/02/manu.jpg)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on February 03, 2018, 12:17:34 PM
ब्राजाकी : पत्रम्पुष्पम् जिन्दगी
माघ २०, २०७४देवेन्द्र भट्टराई
काठमाडौँ — उच्च शिक्षाका लागि काठमाडौं आएर कला विषय पढिरहेका बेला दुर्गा बरालले चेतमानलाई भेटेका रहेछन् । ‘काठमाडौंमा पनि अचानक भेट भयो । उनले भने– मैले त नाम चेन्ज गरेँ नि । म अब कुनै भण्डारी–सन्डारी होइन, मनु ब्राजाकी भएँ,’ उनले सुनाएका थिए ।


सानैदेखि बिद्रोही र बाहिरिया स्वभावका थिए–चेतमानसिंह भण्डारी । महोत्तरीको औरहीमा सम्पन्न परिवारमा जन्मिएका चेतमान सानैदेखि स्वभावले ‘ऐकान्तिक,’ एक्लो चिन्तन गर्ने अनौठो अभ्यासमा रमाउने गर्थे । सानैदेखिको विद्रोही र फरक स्वभाव लिएर उनी घर छाडेर बाहिर निस्किएका थिए । ११ वर्षको उमेरदेखि उनी फिरन्ता बनेका हुन् । नेपालका विभिन्न भाग हुँदै बनारस र पछि पोखरा पुगेर उनी अलिक समय अडिएका थिए ।
चेतमानका समवयी र समकक्षी हुन्—कलाकार दुर्गा बराल । २०१६ सालतिर पोखराको मल्टिपर्पस नेसनल हाईस्कुलमा कक्षा ८ मा भर्ना हुन आइपुगेका थिए चेतमान । विशेषत: चेत र दुर्गा दुवैजनामा सिर्जनशील स्वभाव भएकाले र दुवैमा कविता–कथा–चित्रका सिकारु अभ्यास गर्ने अभिरुचि भएकाले ती ‘अन्तरंग’ बनेका थिए ।
दुर्गा पानीरङमा चित्र बनाउँथे, यदाकदा कविता पनि लेख्थे । चेतमान भने कथा लेख्थे, चित्रमा पनि उत्तिकै रुचि राख्थे । एउटा प्रतियोगितामा दुर्गा चित्रमा प्रथम भए, मनु साहित्यमा । ‘नपुगिने बाटो नहिँडेकै राम्रो हुने रहेछ भनेर मैले चित्रकारिता छाडें, दुर्गाले साहित्य’, केही वर्षअघि आफ्नो स्कुले उमेर सम्झिरहेका थिए चेतमान । पोखराबाटै हुलाक–पत्रमा कथा, कविता लेखेर काठमाडौंका साहित्यिक पत्रिकामा छाप्न पठाइरहने स्वभाव उनमा थियो । त्यसबेला चेतमानको साहित्यिक नाम हेमन्त हरि, सगर नासरत्य आदि थियो । तर, मीठो भाषा र शैलीमा लेखन क्षमता राख्ने भएकाले उनका प्राय: रचना छापिएकै हुन्थे ।
मस्तिष्काघातको उपचार क्रममा शुक्रबार बिहान पाटन अस्पतालमा निधन भएपछि तिनै पुराना मित्र दुर्गा बराल पोखराबाट चेतमान उर्फ मनु ब्राजाकीलाई सम्झिरहेका थिए । ‘हामीले ८ कक्षादेखि एसएलसीसम्म सँगैपढ्यौं,’ दुर्गाले सुनाए, ‘तर चेतमान भने एसएलसी सेन्टअपमै थन्किएको थियो । यसको पनि अनौठो कहानी छ, जसलाई पोखरामा मेरा समकालीनहरूले अझै सम्झिरहेका छन् ।’ सेन्टअपमा नेपाली विषयका लागि १८ नम्बरको एउटा पेपर रहेछ, जहाँ धेरैवटा प्रश्नोत्तर थिए । एउटा भने सप्रसंग व्याख्या गर्नुपर्ने सन्दर्भ रहेछ, कवि लेखनाथको ‘पिंजडाको सुगा’ माथि । त्यही प्रश्न र सन्दर्भले चेतमानको नाम भिन्न अर्थमा फैलिएको रहेछ ।
‘परीक्षा दिन हामी बसिरहेका थियौं । चेतमानले त खुरुखुरु कपी थपेको थप्यै गरे । १८ पेज लेखिसकेपछि परीक्षाको समय सकिएर कापी बुझाएका थिए,’ दुर्गा सम्झन्छन्, ‘भरेभन्दा उनी त्यही नेपाली पेपरमा फेल भए ।’ पछि कुरा बुझ्दा, त्यही ‘पिंजडाको सुगा’ माथि मात्रै १८ पेज लामो व्याख्यान गरेर चेतमानले परीक्षाको ३ घण्टा बिताएका रहेछन् । त्यो घटनापछि पास–फेलको सूचीसँगै दुर्गा र चेतमान आआफ्नो बाटा लागे ।
धेरैपछि उच्च शिक्षाका लागि काठमाडौं आएर कला विषय पढिरहेका बेला दुर्गाले चेतमानलाई भेटेका रहेछन् । ‘काठमाडौंमा पनि अचानक भेट भयो । उनले भने– मैले त नाम चेन्ज गरेँ नि । म अब कुनै भण्डारी–सन्डारी होइन, मनु ब्राजाकी भएँ,’ खुसी स्वरमा उनले सुनाएका थिए ।
‘हत्तेरी के नाम हो यस्तो ?’, दुर्गाको जिज्ञासा थियो– ‘रसियन नामजस्तो छ नि ?’
‘होइन–होइन । त्यसै अल्छी लागेर बसिरहेको थिएँ, फ्याट्टै मनु ब्राजाकी भन्ने नाम मेरो मुखमा आयो । त्यही भएर यही नाम राखेँ,’ त्यसबेला नामको स्वन्वारान गर्ने मनुले भनेका थिए । त्यसपछि दुर्गा पनि चित्रकारिताको दुनियाँमा ‘वात्स्यायन’ भनेर चिनिँदै थिए, चेतमान पनि मनु ब्राजाकीका रूपमा ।
अर्को एउटा प्रसंगमा मनुलाई सोधेकोथिएँ– ‘के हो यो ब्राजाकीको अर्थ ?’
मनुको जवाफ थियो– ‘ब्राजाकीको अर्थ बुझ्नुभएन भने सम्झनुहोस् त्यो मै हुँ ।’
साहित्यकार ध्रुवचन्द्र गौतम आफ्ना समवयी ब्राजाकीलाई नेपाली कथा साहित्यमा निकै उच्च मूल्यांकन गरिनुपर्ने स्रष्टाका रूपमा लिन्छन् । तर, गौतमका मूल्यांकनमा कतिपय अर्थमा ब्राजाकी ‘इग्नोर्ड’(अन्डररेटेड) साधक हुन् । सामान्य विषय र पृष्ठभूमि समातेर पनि गम्भीर लेखनको स्वाद दिन सक्ने ब्राजाकीलाई ‘व्यंग्य, शिल्पगत सौन्दर्य र आञ्चलिकता’का आधारमा विशिष्ट स्रष्टाका रूपमा मूल्यांकन गर्नुपर्ने डा. गौतमको भनाइ छ । झन्डै डेढ दशकअघि पहिलोपटक मस्तिष्काघात भएपछि बाहिरी भेटघाट र साहित्यिक संगतमा कमै समय दिइरहेका ब्राजाकी पछिल्लो समय ‘मेरो चेतनाको जीवनयात्रा’ नाममा आत्मकथाको टिपोट उतारिरहेका थिए, तर यसको अन्तिम ड्राफ्ट बनिसकेको थिएन । ब्राजाकीका ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्रीस्वास्नी र म’, ‘पारदर्शी मान्छे’, ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रकाशित छन् । उनी साझा पुरस्कार, मैनाली कथा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पद्मश्री सम्मान आदिबाट पुरस्कृत छन् ।
ब्राजाकीलाई अमेरिकी कथाकार ओ हेनरीको कथा टुंग्याउने शैली खुबै मन पथ्र्यो । भारतीय कथाकार सहादत हसन मन्टोको वर्णन शैली र विभूतिभूषण बन्दोपाध्यायको लेखनशैली मन पथ्र्यो । ‘कथा लेखनमा कथा टिप्ने, बुन्ने र भन्ने मनुशैली आफैंमा अद्वितीय छ । साना विषयलाई पनि एकदमै महत्त्वपूर्ण ढंगले प्रस्तुत गर्ने उहाँको क्षमता धेरै कम नेपाली कथाकारमा होला,’ आख्यानकार नयनराज पाण्डे भन्छन्, ‘त्यो तहमा भाषालाई खेलाउने सामथ्र्य निकै थोरै नेपाली लेखकमा छ । होला, तर मैले भने अरूमा त्यस्तो सामथ्र्य भेटेको छैन ।’ कथाशिल्पमा परिवेश र चरित्रचित्रण एकदमै स्थापित गराउँदै लैजाने क्षमता भएका कथाकार ब्राजाकीको ‘अन्नपूर्णाको भोज’ एउटै कथामा स्थापित अन्नपूर्णा (पात्र) को उदाहरणलाई आफूले विशिष्ट रूपमा लिएको पाण्डेले बताए । त्यसरी ‘एउटा पात्र थाहा नभईकन स्थापित हुने कथाशिल्प’ आफैंमा विशेष रहेको उनको मूल्यांकन छ ।
आफूलाई गजल लेखनमा उत्प्रेरित गर्ने र मनमा लागेका कुरा सुझाउने अन्तरंग मित्रका रूपमा मनुले गजलकार ज्ञानुवाकर पौडेललाई लिएका थिए । पौडेलले भने आफूले मनुका गीत–गजल प्रकाशनमा मात्रै सघाउ पुर्‍याएको प्रतिक्रिया दिए । लेखनमा नवचेतनावादी धाराका प्रयोक्ता भनेर समीक्षकले टिप्पणी गर्ने कथाकार ब्राजाकी जीवन जिउने कुरामा भने अलिक ‘लापरबाह’ थिए । विशेषत: रक्सी र चुरोट पिउने मामलामा खुबै चिनिए मनु । ‘त्यो उनको लापरबाह जीवनशैलीका बारेमा मैले पनि भेटमा चासो राखेको थिएँ,’ डा.गौतम भन्छन्, ‘तर, कसैको जीवन जिउने काइदामा हस्तक्षेपकारी भएर बोल्न वा केही भन्न सक्ने स्थिति रहेन ।’ कुनै पनि सहर वा भीडभाडसँग आफ्नो खासै आत्मीयता र सान्निध्य नरहेको मनु बताइरहेका हुन्थे । हँसीमजाकको बोलीमा मनु भन्थे, ‘यहाँ काठमाडौंमै पनि गल्लीपिच्छे जाँड पसल छन् । कहिलेकाहीँ मलाई लाग्छ— यहाँका हरिया पर्दा पसल (भट्टी) का ठाउँमा पुस्तक पसल मात्रै भइदिएको भए म अर्कै मनु ब्राजाकी हुन्थेँ कि ?’
मनु पछिल्ला वर्षहरूमा संगत र सक्रियता आधारमै अलिक ‘आउटसाइडर’ बनेका देखिन्थे । आज लेखेर भोलि चर्चामा आउन चाहने र धेरैजसो फूलगुच्छासहितको समीक्षा अपेक्षा गरेर ‘केही पादटिप्पणी’ लेखाइमाग्न आउनेहरूप्रति मनु निकै विरक्तिएका थिए । ‘यहाँ आफ्नै जीवनकालभर लेखेर केही भएन, खोइ के भयो र ?’, उनका छेउमा पुग्ने पत्रकारसँग उनी भनिरहेका हुन्थे, ‘थोरबहुत नाम बन्यो, अरू त्यस्तै हो । कमाइको कुरा गर्नुहुन्छ भने ‘पत्रम्पुष्पम्’ मात्रै भयो । सिंगो जीवन पत्रम्पुष्पम्मा चलेको छ, यसैगरी बित्लाजस्तो छ ।’
प्रकाशित : माघ २०, २०७४ ०७:१०
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on February 04, 2018, 12:43:09 AM
एउटा यायावरको आत्मकथन- लेख्नका लागि रक्सी खाएँ, रक्सी खाएर लेखिनँ

घनेन्द्र ओझा  |  १ वर्ष अघि

असोज ७, २०७३ पूर्वी तराईको मध्यम परिवारमा जन्मेको एउटा बालक ६ वर्षको उमेरमा हजुरबुबासँगै वनारस पुग्छ। वनारसको वातावरणमा घुलमिल हुन केही समय लाग्छ। त्यहीँको विद्यालयमा भर्ना भएर पढ्न थाल्छ। हिन्दी, उर्दूभाषी साथीहरूसँगको सङ्गतले ५ कक्षामा पढ्दादेखि नै पुस्तकालय र वाचनालय जाने बानी पार्छ। यही बानीका कारण उसले किशोरावस्थामै हिन्दी, उर्दू र केही अन्य भाषाका साहित्य र दर्शनका पुस्तकहरू छिचोल्छ। बिस्तारै ऊ आफैँ साहित्यलेखनमा होमिन्छ, त्यहीँ हेलिन्छ र उत्रनै नसक्ने गरी डुब्छ- चुर्लुम्मै। राणाकालीन समयमै हजुरबुबाले आफ्नो व्यावहारिक जिम्मेवारी आफ्ना छोराहरूका काँधमा हालिदिएर जनकपुर बस्न थाल्छन्, नातिलाई सँगै लिएर। जनकपुरका त्यसबेलाका प्रख्यात विद्वान् कुलचन्द्र गौतमको सल्लाहमा हजुरबा धर्म कमाउन वनारस जान्छन्। आफूसँगै ल्याएको नातिलाई पनि सँगै वनारस लैजान्छन्। तीन कक्षासम्म जनकपुरमै पढेपछि बाँकी वनारसमा पढ्छन्। पछि नेपाली भाषाको अध्ययन गर्ने इच्छाले पोखराको मल्टी पर्पस नेशनल हाई स्कुलमा भर्ना हुन्छन्।


सुरुसुरुमा वनारसमै रहँदा हिन्दी, उर्दू साहित्यको अध्ययनको प्रभाव वा साथी सङ्गतको प्रभावका कारण हिन्दी भाषामा कविता, शायरी लेख्ने गरेका थिए उनले। पछि जानी नजानी गजल पनि लेख्न थाले। पान गोष्ठीहरूमा आफ्ना शायरी र गजल सुनाउन थाले। यो साहित्य लेखनको भोक झनझन बढ्दै गयो उनमा।

अचानक ११ वर्षको उमेरमा उनमा उटपट्याङ आयो- हजुरबुबाको खल्तीबाट भारु २० रुपियाँ निकालेर हिँडे। बिहारको पटना आए। त्यसपछि कता गए, केके गरे, त्यसको हिसाबकिताब निकै लामो हुन्छ। यहीँबाट उनको वास्तविक जीवनयात्रा सुरु हुन्छ- यायावर जीवन।

नेपाली साहित्यका विशेषगरी कथा र गजलका सशक्त र लोकप्रिय स्रष्टा मनु दाइ अर्थात् मनु ब्राजाकीको जीवन भोगाइ बडो विचित्रको छ। ११ वर्षको उमेरदेखि यायावर जीवन बाँचेका मनु उसबेलै भारतका प्रायः सबै क्षेत्रमा घुमे। कुनै निश्चित उद्देश्य नलिई विशुद्ध यायावरी शैलीमा हिँडेका उनको लेखनमा त्यही यायावरी जीवनका आरोह-अवरोह, त्यस जीवनमा उनले देखेको जीवन, भोगेका अनुभूति, परिवेश र पात्र पाइन्छ। वि. सं. २०६० सम्म नै उनको यस्तो यायावरी जीवन चलिरह्यो। २०६० मा 'ब्रेन स्ट्रोक' भएपछि उनको यायावरी जीवनमा केही कमी आयो भने पुनः दोस्रो पटकको स्ट्रोकपछि भने उनी हिँडडुल गर्न नसक्ने भए। यद्यपि, उनको लेखन भने निरन्तर छँदै छ।


होटलमा काम : सबैभन्दा छिटो र सजिलो

मनुले ११ वर्षकै उमेरमा हजुरबाको साथ छाडेर एक्लो घुमन्ते जीवन बिताउन थालेपछि उनका जीवनमा अनेक समस्या आए। एकातिर हजुरबाको खल्तीबाट निकालेको २० रुपियाँ भारु केही दिनमै सकियो, अर्कातर्फ भन्नेबित्तिकै काम पाइहाल्न पनि गाह्रो। अझ नयाँ ठाउँमा नचिनेका ठाउँमा कसले दया गर्छ ? यस्तो बेलामा उनले निर्णय गरे, जे काम पाइन्छ, त्यही गरिन्छ। हो, मनुले पनि भेटेजति काम गरे, काममा कुनै विभेद गरेनन् उनले। उनको अनुभवमा सबैभन्दा छिटो पाइने र सजिलो काम भनेको होटलमा भाँडा माझ्नु हो। 'होटलमा भाँडा माझ्न जहाँ पनि पाइने', आफ्नै विगतलाई व्यङ्ग्य गरेझैँ गरी मुस्कुराउँदै भने, 'पेटभरि खान र आनन्दले सुत्न पाइने।' उनले निकै समय यसरी होटलमा भाँडा माझेर बिताए।
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on February 04, 2018, 12:52:41 AM
जीवन गाउँमा छ

मनुले आफ्नो यायावरी जीवनमा देखेको सत्य हो- जीवन गाउँमा छ। उनले जे जति ठाउँमा घुमे, त्यहाँको जीवनलाई सूक्ष्म रूपले हेरे। जीवनको समग्र पक्षको सूक्ष्म अवलोकन गरे। निष्कर्षमा वास्तविक जीवन त गाउँमा मात्र भेटे। सहर उनका लागि ढोँगी, स्वार्थी र खोक्रो छ। गाउँको जीवनमा करुणा छ, हार्दिकता छ, दुख र सुखको अनुभूति छ, सद्भाव र आत्मीयता छ, यी यावत् कुरा सहरमा उनले कहिल्यै पाएनन्। यसर्थ उनले सहर भन्दा ग्रामीण दुःखका वस्तीमा घुम्ने र त्यहाँको जीवन अध्ययन गर्ने निर्णय गरे। त्यहीँबाट अनेक कथा र गजल जन्माए।


जीवनको समग्रताभित्र यौन

मनुले आफ्ना कथामा विशेष सूक्ष्म रूपले यौनलाई उद्‍घाटन गरेका हुन्छन्। तर गजलमा भने यौनलाई उति महत्त्व दिएका छैनन् । भन्छन्, 'कथामा जीवनलाई समग्रतामा समेट्नुपर्ने हुन्छ, र जीवनको समग्रतामा यौन अनिवार्य हुन्छ।' उनका विचारमा गजलमा चाहिँ जीवनको आंशिक पक्ष मात्र प्रस्तुत गरिन्छ। मनुले आफ्ना सिर्जनामा काल्पनिकता कमै मात्र प्रस्तुत गरेको दावी गर्छन्। जीवन कल्पनामा होइन, यथार्थमा भोगिने कुरा हो भन्ने उनको मत छ। यही मतको उद्‍घाटन आफ्ना सिर्जनामा गरेको उनको भनाइ छ। 'मेरा पात्र, परिवेश र घटना यथार्थ हुन्', मनु भन्छन्, 'यथार्थ घटना, परिवेश र पात्रलाई साहित्यिक रूप दिएको मात्र हुँ।'

उनले धार्मिक विषयमा भने सिर्जना गरेनन् रे! 'आफूलाई कहिल्यै भगवान् र देवीद्यौतामाथि विश्वास नै नलागेपछि धर्म (अहिले भनिँदै आएको) माथि विश्वास लागेन', मनु भन्छन्, 'धर्म भनेको मानवतासहित हुन्छ, मानवतारहित धर्म धर्म होइन।' यसर्थ उनले मानवका, मानवीय संवेदनाका, पीडा र दर्दका, असन्तुष्टि र अभावका कथा मात्र लेख्न चाहे। 'मलाई न स्वर्गमा विश्वास छ, न नर्क नै हुन्छ भन्ने लाग्छ', मनु भन्छन्, 'अनि के कल्पना गरौँ ? जे देखेँ, जे भोगेँ त्यही लेखेँ।' तर यसको अर्थ उनले धर्म वा धार्मिक आचरण नबुझेका भने होइनन्। वनारस, जहाँ धर्म कमाउन मानिसहरू पुग्ने गर्छन्, त्यहीँ हुर्किएका, पढेका मनुलाई धर्मको अभ्यन्तर थाहा छ। वास्तवमा धर्ममा बढेको वा धर्मका नाममा बढेको विकृति देखेपछि उनलाई धर्मप्रति नै वितृष्णा जागेको जस्तो लाग्दोरहेछ। 'ढुङ्गामा फूल चढाएर धर्म हुन्छ र ?', मनुको जिज्ञासा।

जीवन नभोग्नेले जीवनका सिर्जना गर्दैन जीवन

नभोगी जीवनका सिर्जना गर्न नसकिने मनुको बुझाइ छ। जीवन बुझ्न हरेक ठाउँ, बस्ती र मानिससँग घुलमिल हुनुपर्ने र समाजका सबै प्रकारका पात्र, परिस्थिति र सुखदुःखको अवलोकन गर्नुपर्ने बताउँछन् मनु। 'जीवनका सिर्जना गर्न वास्तविक जीवन बाँचिरहेका मानिससम्म पुग्नुपर्छ, उनीहरूका दुःख, सुख, अभाव, हाँसो, खुसी, पीडा, असन्तुष्टि बुझ्नुपर्छ', मनुको भनाइ छ, 'अनि मात्र सिर्जनामा जीवन्तता आउँछ, साहित्यमा जीवन आउँछ।' यसैका लागि भौँतारिए मनु झन्डै ५ दशक, यायावर बनेर।

आफ्नो बाल्यकाल, किशोरकाल र युवाकाल लगभग सबै समय भारतमै बिताए मनुले। उनले नपुगेका भारतका स्थान कमै होलान्। र, भारतका मान्छेका अभाव र दुःखसँग उनी प्रत्यक्ष रूपमा जोडिए, अथवा भनौँ न उनीहरूसँगै खाए, बसे, काम गरे, दुखे, रमाए, रोए। नेपाल र भारतका अधिकांश परिवेश र दुःख उनले लगभग समान पाए। समान विचार, समान परिवेश, समान जीवन भोगाइलाई कथामा उने मनुले। त्यसो त नेपालका पनि अधिकांश भेगमा उनी घुमेका छन्। भन्छन्, 'वास्तविक नेपाल हेर्न ग्रामीण वस्तीमा जानुपर्छ।' ढोंगी सहरी सभ्यताप्रति उनलाई वितृष्णा छ। मान्छे जस्ताको भीड मात्र ठान्छन् सहरलाई। अथवा बुख्याँचा जस्तो, मुटु, मस्तिष्क, दया, माया, करुणा, विवेक नभएको। उनले सभ्यता, संस्कृति र आफ्नोपन गाउँमै मात्र रहेको बुझेका छन्। यसर्थ उनका सिर्जना पनि बढीजसो गाउँकेन्द्रित नै हुन खोज्छन्।

जीवन सङ्घर्ष मात्र हो


मनु जीवनलाई सङ्घर्ष, सङ्घर्ष र फेरि पनि सङ्घर्ष मात्र ठान्छन्। निरन्तरको सङ्घर्ष अथवा सङ्घर्षको निरन्तरता नै जीवन हो भन्ने लाग्छ उनलाई। 'यद्यपि, मान्छेको परिस्थितिअनुसार सङ्घर्षका रूप फरक हुन सक्छन्', मनु भन्छन्। उनका अनुसार जीवनलाई जिउँदो छ भनेर देखाउन वा बाँचेको छु भन्ने सावित गर्न पनि सङ्घर्ष अनिवार्य हुन्छ। यस्तो सङ्घर्ष व्यक्ति स्वयंप्रतिको, समाजप्रतिको र परिवेशप्रतिको हुने उनको बुझाइ छ। र, सङ्घर्षले नै मानिसलाई अघि बढ्न वा केही नयाँ गर्नका निम्ति ऊर्जा र गति दिने उनको धारणा छ।


लेख्नका निम्ति रक्सी खाएँ, रक्सी खाएर लेखिनँ

मनु ब्राजाकी भन्नेवित्तिकै उनलाई चिन्ने र उनका बारेमा सुन्नेहरूका मस्तिष्कमा एउटा चित्र नाचिहाल्छ, रक्सी खाएर खुट्टा ठेगानमा नटेकी हिँड्ने, केही रुपियाँ पैसा मागिहाल्ने स्रष्टाको। हो पनि उनले हिजोका दिनमा कति पिए, पिए रक्सी। भन्छन्, 'रक्सी त कति खाएँ, खाएँ तर मात्नका लागि होइन।' केका लागि त ? 'चिन्तनका लागि', मनु भन्छन्, 'लेख्नका निम्ति चिन्तन जरुरी छ, चिन्तनका लागि एकाग्रता आवश्यक हुन्छ।' यही एकाग्रताका लागि रक्सी पिएका हुन् रे उनले! रक्सी पिएपछि एक प्रकारको ऊर्जा उत्पन्न हुन्छ रे! र त्यो ऊर्जाका कारण उनी पटक पटक सडकमा राखिएका बिजुलीका पोल र जनावरसँग ठोक्किएका छन् रे! 'तर मान्छेसँग अनावश्यक झगडा रक्सी खाएर कहिल्यै गरिनँ', उनको भनाइ छ। त्यसो त उनले रक्सीलाई ऊर्जा र चिन्तनको स्रोतका रूपमा मात्र प्रयोग गरे रे!

भन्छन्, 'लेख्नका लागि रक्सी खाएँ तर रक्सी खाएर कहिल्यै लेखिनँ।' भर्खरै उनको एउटा चर्चित कथासङ्ग्रह, जुन साझा प्रकाशनबाट छापिएको थियो, प्रकाशनका लागि एउटा निजी प्रकाशन गृहले ५० हजार रुपियाँ लिएर आएपछि उनी तीनछक परे रे! 'मैले आजसम्म यति पैसा कुनै प्रकाशकले दिएको देखेको नै थिएन', मनु भन्छन्, 'सपना हो कि विपना भयो।' पछि साझासँगको सम्झौता तोडेर सो पुस्तक प्रकाशनाधिकार निजी प्रकाशनलाई दिएछन् ।

त्यसो त अहिले मनु हिजो भन्दा धेरै भिन्न छन्। रक्सी पिउन छाडेको धेरै भएको छ, हिँडडुल गर्न पनि सहारा चाहिने अवस्था छ। आज भेटिने मनुले केही रुपियाँ माग्दैनन्, बरु उनले केही नयाँ गजल लेखेका छन्, त्यसलाई छापिदिने प्रकाशक खोजेका छन्।भन्छन्, 'रक्सी छाडिहालेँ, बाहिर हिँड्न सक्दिनँ, पैसा केका लागि चाहियो र?'

आग्रह/गुनासा/महत्त्वाकांक्षा

मनुले झन्डै दुई दशकअघि लेखेका कथाहरूको सँगालो निकाल्ने विचार गरेर तात्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा लगेर पाण्डुलिपि बुझाए- आमालाई बेच्नुहुन्न लाटा। तर आजसम्म सो पुस्तक छापिएन मात्र होइन, प्रतिष्ठानका जिम्मेवार अधिकारीसँग बुझ्न जाँदा पाण्डुलिपि पनि फेला परेन। यसमा मनुलाई साह्रै चित्त दुखेको छ। प्रतिष्ठान जस्तो जिम्मेवार निकायले एउटा स्रष्टाको पाण्डुलिपि यसरी हराउनु (लुकाउनु ?) सही काम होइन। उनले धेरै पटक सो पाण्डुलिपि प्राप्तिका लागि अनुनय गरिसके, तर अत्तोपत्तो पाइएन। अब त उनलाई शंका लाग्न थालेको छ, कतै आफ्नो शेषपछि कसैले उसको नाममा प्रकाशन गर्न लुकाएको छैन? (यो आशंका निवारण गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो।)

जीवनलाई सङ्घर्ष मात्र ठान्ने मनु बाँच्न वा बाँचेको अनुभव गर्न पनि केही न केही गरिरहनुपर्ने धारणा राख्छन्। यही भएर आफ्नो शारीरिक अस्वस्थताका बाबजुद पनि उनी अहिले पनि कथा, गजल लेखिरहेका छन्। दुई दुई पटकको मस्तिष्काघातपछि शरीर र हात पनि राम्ररी चल्दैन, मस्तिष्कले पनि धेरै कुरा सम्झन र लामो समय सम्झिरहन सक्दैन, तथापि उनको सिर्जना गर्ने ऊर्जा भने मरेको छैन। उनको एउटा इच्छा अझै जीवित छ- आत्मकथा लेख्ने। उनका समकालीन जगदीश घिमिरेलगायतका साथीभाइले आत्मकथा लेख्न पहिल्यै सल्लाह दिएका पनि हुन्। तर उनले त्यसबारेमा त्यति ध्यान दिएनन्। जीवनको यो उत्तरवर्ती कालमा आएर उनी आफैँलाई लागेको छ, एउटा आत्मकथा किन नलेखूँ! आफ्ना यायावरी जीवनका अनुभव र भोगाइलाई दस्तावेजीकरण गर्नका लागि पनि उनी आत्मकथा लेख्ने तयारीमा छन्। तर उनको आत्मकथा अहिले बजारमा आएका भन्दा भिन्न हुनेछ। भन्छन्, 'अहिलेको हामीकहाँ लेखिँदै आएको र विश्व साहित्यमा लेखिँदै आएको भन्दा भिन्न शैली र ढाँचामा लेख्ने कोसिस गरेको छु।'

अन्त्यमा, मैले जीवनलाई बेस्मारी गाली गरिदिनुस् न भनेको थिएँ। मनुले प्रत्युत्तरमा भने, 'साँच्चै भन्दा जीवनप्रति जति मोह राखे पनि जीवनका लागि जीवन केही होइन। मृत्यु नै जीवनको नियति भएकाले मृत्युपश्चात जीवन महत्त्वहीन हुन्छ।' 


***
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:01:50 AM
~मनु ब्राजाकी~Manu Brajaki

आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ ।

आफूलाई बेच्न खोज्यौ भने बुझिराख
किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

मनमा पर्दा लगाएर बसेका छौं किन ?
नाङ्गोले त खोल्छ-खोल्छ पर्दाले झन् खोल्छ ।

रङ्गीन यो दुनियाँमा आँसुसित रगत
घोल्नेले त घोल्छ-घोल्छ भिज्नेले झन् घोल्छ ।

दुख्ख आए पनि दुख्ख, गए पनि दुख्ख
पीर बसे पनि पिर्छ गए झन् पिरोल्छ ।

एकान्त मन पराउने ‘मनु’ घुइँचोमा,
एक्लो हुँदा आफूलाई आफैंले छिचोल्छ ।

-औरही-२, महोत्तरी

(स्रोत : मधुपर्क २०६५ माघ)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:02:51 AM
~मनु ब्राजाकी~Manu Brajaki

पानी खाँदा सर्किएला होस गर
तीर्खा फेरि फर्किएला होस गर ।

बाँचेजस्तो मर्न कहाँ सजिलो छ,
काल पनि झर्किएला होस गर ।

हिमालको मुनि बस्दा ओत होला,
पहिरो पो घर्किएला होस गर ।

उकालोमा दुवै गोडा ठीक थिए,
ओह्रालोमा मर्किएला होस गर ।

ऐना हेर्दा सम्हालेर हेर्ने गर्नु,
आˆनै रूप चर्किएला होस गर ।

दुवै गाला अझै पनि सुख्खा नै छन्,
हृदयमै दर्किएला होस गर ।

ढुङ्गालाई धेरै माया नचढाऊ,
तिम्रो ‘मनु’ तर्किएला होस गर ।

-सैँबु, भैँसेपाटी, ललितपुर

(स्रोत : मधुपर्क २०६६ भदौ)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:04:02 AM
~मनु ब्राजाकि~

गएपछि आउँदैन कोही फर्केर
नजानु है कसैसित पनि झर्केर

घुइँचोमा एक्लै हुनुपर्छ कहिले त,
कहिले हिँड्नुपर्छ आफूदेखि तर्केर ।

आफूलाई मात्र हेर्न खोज्नेहरूको,
आफ्नै घरको ऐना पनि फुट्छ चर्केर ।

दिनभरि बटुलेको दुःख नै त हो,
त्यही पनि रातभरि बग्यो दर्केर ।

चोखा नै छन् ‘मनु’हरू दैवभन्दा त,
के हुन्छ र व्यर्थै सुन-पानी छर्केर ।

(श्रोत:- अन्तर्जाल)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:04:23 AM
~मनु ब्राजाकि~

जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले
त्यसैमाथि आफ्नो नाम लेखेँ मैले

जतातिर बल्यो आगो उतैतिर
प्रतीक्षामा आफ्नो हात सेकेँ मैले

चौबाटोमा उभिएर सोच्दै छु म
कुन बाटोमा खुट्टा आफ्ना टेकेँ मैले ?

मध्याह्नमा हिँड्दा लाग्न थालेको छ
आफ्नो छाया आफूले नै छेकेँ मैले

‘मनु’लाई भेटेपछि गन्न थालेँ
गुमाएछु जिन्दगीमा के-के मैले ?

(श्रोत:- अन्तर्जाल)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:04:38 AM
~मनु ब्राजाकि~

माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ
एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ

जता गए पनि यहाँ बाटो कुर्नुपरेकै छ
दिक्क मानी चौतारीमै आफ्नो फोटो टाँसिदिएँ

रनवन रमाएर हिँड्नुपर्ने यस्तो बेला
एकल्काँटे आफूलाई एकान्तमै फाँसी दिएँ

यति धेरै आफन्त र आफ्नाहरू भए यहाँ
बरू एउटै शत्रुसित माया मैले गाँसिदिएँ

मिर्मिरे यो बिहानीमा पनि मैले मनको दियो
साँझ पर्यो भन्ने ठानी सलेदो उकासिदिएँ

‘मनु’ हाँसिरहेको छ दु:ख मेरो देखीदेखी
हिजो गाली गरे पनि आजचाहिँ स्याबासी दिएँ

(श्रोत:- अन्तर्जाल)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:04:59 AM
~मनु ब्राजाकि~

ऐना हेरी कराउन थाले मान्छे
आफूसँगै डराउन थाले मान्छे

मसानमा बसे बरू ढुक्क होला
घरबाटै हराउन थाले मान्छे

हाँस्दाखेरि रगतमा भिज्नुभन्दा
आँसु मनपराउन थाले मान्छे

चराएन पशुले त पशुलाई
अब मान्छे चराउन थाले मान्छे

केही गर्न बाँकी कहाँ रहेको छ ?
यस्तो पनि गराउन थाले मान्छे !

(श्रोत:- अन्तर्जाल)
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: anand on February 04, 2018, 01:40:35 AM
थाहा भयो छिमेकीको गुन कस्तो हुन्छ !
थाहा भयो चामलसँग घुन कस्तो हुन्छ !

आफ्नै मित्रसँग पनि लड्नुपरेको छ
थाहा भयो खा’को तिम्रो नुन कस्तो हुन्छ !

तिमीलाई जतिसुकै राम्री भने पनि
थाहा भयो द्वितीयाको जून कस्तो हुन्छ !

कानभरि, हातभरि, गलाभरि रै’छ
थाहा भयो बजारको सुन कस्तो हुन्छ !

मुटुबाट निस्किएर आँखाबाट झर्‍यो
थाहा भयो आँसु अनि खुन कस्तो हुन्छ !

राजा हिरो, नेता हिरो, जनता पनि हिरो
थाहा भयो ‘मनु’ हिरो कुन कस्तो हुन्छ !
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on February 12, 2018, 11:18:46 PM
मनमौजीको दुखान्त
माघ २७, २०७४  सुविद गुरागाई



काठमाडौँ — कस्तो हुनेछ तपाईंको मृत्यु ? केही सोच्नुभएको छ यस विषयमा ?’प्रश्न सुनेर उनले मेरो आँखामा गडेर हेरे । उमेर बढ्दै जाँदा कसै–कसैलाई आफ्नो मृत्युको पूर्वाभास हुन्छ । म जान्न चाहन्थेँ, उनका मनमा पनि त्यस्तो कुनै ठाँटो बसेको छ कि ?


मैले प्रश्न सोध्नुको कारणथियो । त्यसअघि उनले मसँग भनेका थिए, ‘अहिले म शारीरिक रूपमा थलिएको छु । पहिलेजस्तो लेख्न सक्तिनँ । शारीरिक अवस्थाले गर्दा लेखन क्षेत्रबाट मैले सन्न्यास लिएजस्तै छ । एक प्रकारले म त मरिसक्या छु । साहित्यिक क्षेत्रका लागि म मृत भइसकेँ । यो जुन अहिले बाँच्या छु भन्ने हो, यो त एउटा व्यर्थको ढाडस मात्र हो । आफ्नो परिवारका लागि यो मान्छे हिँड्दै–डुल्दै छ भन्ने मात्र हो ।’
हामीले मनु ब्राजाकी नामले चिन्दै आएको शरीरलाई आर्यघाटमा खरानी बनाउनु एक वर्षअघि मेरा दुईवटा एकै खाले प्रश्नमा उनले भने—
‘मेरो सम्पूर्ण जीवन घटियास्तरको नाटकजस्तो भए पनि मेरो मृत्यु मनु ब्राजाकीले लेखेका कथाजस्तै यथार्थवादी भइदिओस् † र, कुनै प्रकारको पाखण्डपूर्ण धार्मिक कर्मकाण्ड नगरी चेतमान सिंहको लास डढाएर खरानी पारियोस् !’
यथार्थमा त्यस्तै भयो, जे उनले चाहेका थिए । सम्भवत: परिदृश्यमा उनका लागि अपेक्षित एकपछि अर्को घटना हुँदै गर्दा उनको
आत्माले सन्तोष मानेको होला । तर अहँ † हाम्रो चित्त बुझेको छैन । मन कुँडिएको छ ।
१९९९ साल साउन १९ गते सोमबार बिहान ६:०० बजे महोत्तरीको औरही, नैनीगौरी, सखुवनीमा जन्मिएका चेतमानसिंह भण्डारी २७ हजार पाँच सय ५८ दिन बाँचेर २०७४ साल माघ १९ गते शुक्रबार १०:३० बजेदेखि सधैँका लागि सम्झनामा सीमित भए । १९ गते आए, १९ गते गए । माघ १९ गते नेपालको राजनीतिक इतिहासमा ‘कु’ भएको दिन । त्यही ‘कुसाइत’ मा नियतिले खोसेर लग्यो एउटा प्रिय गजलगो । चोखो, इमानदार र स्थापित कथाकार ।
चेतमानसिंह, मनु ब्राजाकी, श्यामबाबु, सगर नासत्य जे भने पनि उनी आफ्नै दुनियाँमा रमाउने मस्तमौला थिए । सम्भवत: उनको यही मनमौजीपनले उनलाई असमय गुमाउनुपर्‍यो । सँगै हुँदा उनी भन्थे, ‘साँच्चै भन्दा जीवनप्रति जति मोह राखे पनि जीवनका लागि जीवन केही होइन । मृत्यु नै जीवनको नियति भएकाले मृत्युपश्चात् जीवन महत्त्वहीन हुन्छ । मान्छे हुन सकेँ, यही मेरो उपलब्धि हो ।’

२०७४ साल मंसिर २३ गते शनिबार दिउँसो उनले अन्तिमपल्ट टन्न रक्सी खाए ।
त्यो दिन परिवारका सबै जना नातिनी आर्याको विवाहको तयारीसम्बन्धी छलफलमा सहभागी हुन पुल्चोक गएका थिए । छोरा अमितले सँगै जान आग्रह गर्दा उनले ‘मैले आज एक जना भाइलाई भेट्ने समय दिएको छु, तिमीहरू जाओ म घरमै बस्छु,’ भने ।
मनुले भनेपछि भन्यो–भन्यो । कर गरेर मन फर्किनेवाला थिएन । अपहत्ते हुनु रहेछ ।
नभन्दै त्यो मान्छे आयो । एक–दुई घण्टा बस्यो । के–के कुरा गर्‍यो गयो । त्यसपछि फ्री भए ब्राजाकी ।
परिवारका सदस्यहरू फर्केर आउँदा दृश्य बदलिसकेको थियो । दुनियाँलाई थाहा छ, मनुलाई लोकल रक्सी निकै प्यारो थियो । नुन–खोर्सानीबाहेक सितन नभए पनि हुने । घटनास्थलको प्रकृति हेर्दा थाहा हुन्थ्यो, आफूले ल्याएको एक बोतल रित्तिएर भाडामा बस्नेकहाँ काम गर्नेमार्फत मगाएको अर्को बोतल पनि आधा भइसकेको थियो ।
‘हाम्रो आँखा छलेर के अपहत्ते गरेको यो ?’ देख्नासाथ श्रीमती ज्ञानु जङ्गिइन्, ‘डाक्टरले नखानू भनेको मान्ने होइन । कति पीर पार्न सक्या †’
तर, जङ्गिएर के हुन्थ्यो † जे नहुनुपर्ने हो भइसक्या थियो ।
अर्थात् रक्सीका बारेमा उनी जहिले पनि ‘ओभर कन्फिडेन्ट’ रहे ।
मनुले रक्सी खान २०१७ सालमा सिकेका थिए । पोखरा सेती बगर किनारको झुप्रोमा बस्ने तान्त्रिक बाबाले भगवतीको ‘प्रसादी’ भन्दै चाख्न दिएका थिए रे सबभन्दा सुरुमा । त्यही सिलसिलाको चरम उत्कर्षमा अन्तिमपल्ट ‘प्रसादी’ खाएको राति उनी फेरि उठ्न नसक्ने गरी थलिए । यो तेस्रो पटकको स्ट्रोक (मस्तिष्क पक्षाघात) अनुभव थियो ।
आइतबार बिहान पाटन अस्पताल पुर्‍याउँदा उनी कोमामा पुगिसकेका थिए ।
सास छउन्जेल आस । अघिअघिको जस्तै यस पटक पनि स्ट्रोकलाई जित्छन् भन्ने थियो सबैलाई । जितिसकेका थिए पनि । भेट्न आउने शुभेच्छुकहरूसँग ह्विलचेयरमा बसेर फोटो खिच्ने भइसकेका थिए । कालो ऊनको टोपी लाएर ब्राजाकी मुसुक्क हाँसेको फोटो जीवन पानीले फेसबुकमा हाल्न भ्याइसकेका थिए । ब्राजाकी जीवित हुँदै उनको आत्मकथा ‘मनमौजी’ लेखेर समर्पण गर्ने एक प्रकाशकको योजनाबारे उनलाई राम्रोसँग थाहा थियो । उनी अस्पतालबाट घर फर्किन्छन् भन्ने लागेको थियो ।
तर, नियतिलाई यो सब मञ्जुर भएन । अस्पताल भर्ना भएको तेह्रौं दिन जीवन पानीले फेसबुकमा राखेको तस्बिर नै ब्राजाकीको जीवनकालको अन्तिम तस्बिर भइदियो । मन्थलीबाट उनका नाममा ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ आयो । उनले थाहा पाएनन् । माघको जाडो, अस्पतालका चिसा गाउन र निमोनियाका सामु झुके उनी । २० औँ दिन सिन्धुमा विन्दुसरह मिसिए केही नबोली ।
शीतल गिरीले भनेजस्तो कतिपय मानिस पिएको बेला सोच्दै नसोचेको कुरा गर्ने गर्छन् । तर मस्त पिएर आत्मीय मित्रसँग या बजारमा मनको मैलो पखाल्न भन्दै नजानिँदो आनन्दको नाममा ‘लुज टक’ गर्न कहिल्यै मन पराएनन् ब्राजाकीले । उनी भन्थे— तीन कुरा : जन्मन्छु, मर्छु र बिहे गर्छु भनेर आफूले सोचेको नहुँदो रहेछ ।

‘कौन कहता है मौत आई तो मर जाऊँगा ।
मै तो दरिया हूँ समन्दर मे उतर जाऊँगा ।’
अहमद नदीम कासमीका यी शब्दका प्रभाव खुबै परेको थियो उनमा । यसका केही शेर अनुवाद गरेर र केही आफ्नातर्फबाट थपेर गजल बनाएका थिए उनले । जसलाई शक्ति बल्लभले स्वर दिएका छन् ।
‘कसले भन्छ काल आए मरिदिउँला ?
खोला हुँ म समुद्रमा झरिदिउँला !’
नेपाली गजलको पुन: जागरणमा ज्ञानुवाकर जत्तिकै योगदान मिसिएका मनु फिल्मी गजलकार हुन सजिलो छ, गालिब हुन गाह्रो छ भन्थे । बेलाबेलामा मृत्यु संवाद पनि चलाउँथे । आफैँ प्रश्न गर्थे आफैँ हस्ताक्षर ।
‘मनुलाई सोध तिमी मलाई नै केही थाहा छैन,
कस्तो हुन्छ आफूलाई फूलैफूलले छेकेपछि ।’
बीचमा बाँच्नुको निरर्थकता लहरै व्यक्त गरे उनले—
‘अझै बाँच्न अब मलाई मन लाग्या छैन ।
रमाइलो आज रन–वन लाग्या छैन ।
मरेपछि पनि सधैँ बाँच्नुपर्छ भन्छन्,
यसो गरी बाँच्न मलाई झन् लाग्या छैन ।’
खासमा ‘बाँच्न मलाई झन् लाग्या छैन,’ जस्ता शब्दहरू उनले काफिया मिलाउन मात्रै लेखेका थिए कि अन्तर्य अर्कै थियो भन्न गाह्रो छ । किनभने ती शब्दहरू लेख्दै गर्दा उनी सिर्जना उल्लासका दिनमा थिए । कालान्तरमा अनपेक्षित भइदेला भन्ने के थाहा !
‘मरेपछि सधैँका लागि मर्न मन छ,’ भनेर लेखे पनि यथार्थमा मर्न सक्तैनन्, मनु ब्राजाकी । जसरी मृत्यु–शय्यामा देवकोटाले ‘मुनामदन’ बाहेक मेरा सबै रचनाहरू डढाइदिनू भनेका थिए । तर, कसैले डढाएनन् बरु झन् जतन गरेर राखे उनका एक–एक शब्द ।
देवकोटाका छोरा कुमुद मनुका दरपिया पार्टनर थिए ।
‘तिमी पनि प्रतीक्षा गर कुमुद, जहाँ छौ । म पनि प्रतीक्षा गर्दै छु, जहाँ छु,’ कुमुदको असामयिक मृत्युमा चित्त दुखाउँदै मनुले औरहीबाट लेखेका थिए, ‘उर्दू कविहरूमा कुमुदलाई गालिब मन पथ्र्यो । मलाई लाग्छ, अब म कहिल्यै फेरि काठमाडौं गएँ भने एक्कासि कतै भेट हुनेछ र कुनै गल्लीतिर तानेर मस्तमौला र उन्मुक्त हाँसो हाँस्दै उसले गालिबको यो कवितांश सुनाउने छ—
यारों की कदूरतें है अब तो हम से ।
जिस रोज कि हम जायेंगे इस आलम से ।
उस रोज खुलेगी साफ सब पर ये बात,
इस बज्म की रौनक थी हमारे दम से ।’
हेर्दाहेर्दै प्रतीक्षाको घडी समाप्त भयो ।
एक दिनअघि सम्पादक विमल भौकाजीले ‘शारदा’ को ४६औँ अङ्कमा मनु ब्राजाकीको गजल प्रकाशित भएको जानकारी फेसबुकमा सार्वजनिक गरे ।
‘जिन्दगीको हुन्छ दुइटा पानो ।
एउटा भुइँ अर्कोचाहिँ छानो ।
अचेलका ऊँट हात्तीभन्दा,
‘मनु’ सधैँ हुँदो रै’छ सानो ।’
विडम्बना जीवनकालमा प्रकाशित यो अन्तिम रचना छापिएको थाहै नपाई हिँडिदिए ब्राजाकी ।
‘थी खबर गर्म की गालिबके उडेङ्गें पुर्जे, देखने मैं भी गया पै तमासा न हुआ ।’
गालिबले भनेजस्तो मनुको जिन्दगीको अन्तिम ‘तमासा’ पनि राम्रै भयो । फेसबुकभरि हल्ला जताततै थियो । तर, आर्यघाटका ‘कोही’ थिएन ।

‘मनु † तिमी र मैले जिन्दगीका धेरै वर्षहरू साथसाथै बितायौँ तर यो अन्तिम समयमा साथ दिन सकिएन । तिम्रो यो महाप्रस्थानमा हार्दिक श्रद्धाञ्जली †’
शोक–पुस्तिकामा शैलेन्द्र साकारले लेखेपछि अरू हस्ताक्षरहरू मिसिँदै गए । ज्ञानुवाकर पौडेल, तुलसी दिवस, नयनराज पाण्डे, इस्माली, नारायण तिवारी, जीवेन्द्रदेव गिरी, मातृका पोखरेल, रवि प्राञ्जल, अभय श्रेष्ठ, मनोज न्यौपाने, रत्न कोजु, जीवन पानी, सुनील पुरी, बाबु त्रिपाठी, भेषराज घिमिरे, होम भट्टराई, क्षितिज समर्पण, महेश खड्का, लक्ष्मी श्रेष्ठ, जीतेन्द्र भण्डारी ।
जसले साहित्यका लागि आफ्नो घर भनेन, थर भनेन उसलाई सम्झेर आर्यघाट पुग्ने साहित्यिक नामहरू औँलामा गन्न सकिए ।
एक जना एफएम रिपोर्टर आर्यघाटमा अनुग्रहित थिए । एक–दुई जनाले फोनमै सोधेर काम चलाए । तर, मलामीका मोबाइलबाहेक कुनै डीएसएलआर क्यामेराका फ्ल्यास बलेनन्, मनु ब्राजाकीका शवतिर फर्किएर । भोलिपल्ट कुनै अखबारमा मनु ब्राजाकीको चिता जल्दै गरेको फोटो छापिएन । कुनै टेलिभिजनमा फुटेज अटाएन ।
‘यही दुुखान्त छ,’ गजलगो सुनील पुरी भन्छन्, ‘श्रद्धाञ्जलीका लागि प्रज्ञा–प्रतिष्ठानमा केहीबेर विश्राम गर्ने समय र ठाउँ पाइएला भन्ने थियो । तर, प्रतिष्ठानका पदाधिकारीहरू टक्टकिए ।’
‘जुन ठाउँमा लास राख्ने हो, त्यो ठाउँमा मर्मत हुँदै छ,’ भन्ने ओठे जवाफ फर्काएगङ्गाप्रसाद उप्रेतीले । नाच्न, भतेर खान जति पनि ठाउँ हुने प्रज्ञा–प्रतिष्ठानको चौरमा मनु ब्राजाकीका लागि ठाउँ नहुने ? यो मुलुकमा कुनै एउटा झन्डाको फेरो नसमात्ने लेखकको कुन हविगत हुन्छ देखाइदिए प्राज्ञहरूले ।
‘के गर्ने ? धेरै कवि–साहित्यकारले सनातनदेखि यस्तै नियति बेहोर्नुपरेको छ,’ ज्ञानुवाकर पौडेल चित्त बुझाउँछन्, ‘भूपी शेरचनका पालामा पाँच जना साहित्यकारहरू आर्यघाट आएका थिए । बालकृष्ण समका पालामा ११ जना । मधुपर्कका सम्पादक नारायणबहादुर सिंहका पालामा पनि सात–आठ जना मात्रै थिए । कम से कम मनु ब्राजाकीका पालामा डेढ दर्जन त कटे ।’
‘सबै बेफुर्सदी भएको नाटक गर्छन् । परेको बेलामा साथ दिँदैनन्,’ नारायण तिवारी भावुक हुँदै भन्छन्, ‘हेर्दै गर्नुहोला ब्राजाकीको कृतित्व र व्यक्तित्व लेख्नेहरू बग्रेल्ती भेटिनेछन् अब । धेरैलाई उनको नाम भजाउन, पारिश्रमिक थाप्न र घर खर्च चलाउन सजिलो हुनेछ ।’
तर आफूलाई लठुवा र दुनियाँलाई पाखण्डी उपनाम दिने मनुलाई जीवनभर कसैसँग स्थायी चित्त दुखाइ थिएन । मरेपछि त कुरै सकियो ।
‘आजसम्म जजसले मलाई मान–सम्मान दिए उहाँहरूलाई धन्यवाद †,’ यो देश, यो समाज, हामी साथीभाइ जसले श्यामबाबु वा चेतमान सिंहबाट मनु ब्राजाकी बनायो, त्यसप्रति मनमा कुनै सहानुभूति छैन ? भन्ने मेरो जिज्ञासामा उनले भनेका थिए, ‘त्यहाँभन्दा बढी म केही दिन सक्दिनँ । जे दिनु हो मैले आफ्नो लेखेर दिइसकेँ ।’

नेपालीमा एक्लो बृहस्पति झूटा भन्ने उखान छ ।
तर, परम्पराभन्दा विपरीत थिए मनु । भन्थे, ‘म एक्लो वृहस्पति होइन, एक्लो एकलव्य हुँ । बृहस्पतिको बेग्लै गुट थियो । मेरो कुनै गुट छैन । जगदीश मेरो प्रिय मित्र हो । तर बेलामा उसको पनि झोला बोक्न सकिएन ।’
सम्भवत: झोला नबोकेकै कारण एउटा ‘बेस्ट–सेलर’ लेखकको महाप्रस्थानका समय आफन्तसहित सय जना साक्षी पुर्‍याउन गाह्रो भयो ।
२०४६ मा पहिलो संस्करण छापिएको मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथासंग्रह २०७२ सालमा छैटौँ संस्करण बजारमा आयो । यो भनेको साझा प्रकाशनको इतिहासमा उल्लेख्य बिक्री हो । साङ्ग्रिला बुक्सले छापेको ‘अन्नपूर्णाको भोज’ पनि निकै बिकेको किताब हो ।
तर किताब जति बिके पनि, नाम जति चले पनि के गर्नु † हाजिर गर्ने बेलामा मलामी गयल भएपछि । बचेखुचेका आठ–दस जनाले आर्यघाटका इँटा पखाले, सकियो ।
तर यसरी गुमनाम बिदाइ हुनुअघि आत्मकथा लेख्न चाहन्थे ब्राजाकी ।
‘अहिले नेपाली साहित्य लेखनको बजारमा आत्मकथा ‘बेचिने माल’ भएको छ । त्यही ठानेर मैले आत्मकथा लेख्न थालेको होइन । यसभन्दा पूर्व नै जगदीश घिमिरेलगायत धेरै शुभचिन्तकहरूले मेरो अध्ययन र भ्रमणको विस्तृति थाहा पाएर आग्रह गरेका थिए । के लेखौँ ? भनेर चिन्तन/मनन गर्दागर्दै दुई दशक बितेर गए । लेखौँ कि नलेखौँले पनि पिरोल्यो,’ उनले भनेका थिए, ‘विश्व–साहित्यका आत्मकथाहरू र हाल नेपाली साहित्यअन्तर्गत लेखिरहिएका जस्ता आत्मकथा लेख्ने शैली र प्रकार आफूलाई प्रेरक नभएकाले ‘बिटेन ट्रयाक’ भन्दा फरक, पृष्ठपोषणभन्दा पृथक् शैली र संरचनाको अन्वेषण गर्दै लेखिरहेको छु— मेरो चेतनाको जीवनयात्रा † चिन्तनको गतिकी र भोगाइको वैयक्तिकताको निजत्वमा विश्वस्त हुने/नहुने पाठकको अधिकार क्षेत्रको कुरा हो । यसमा मेरो कुनै दाबी छैन ।’
तर नेपाल समाचारपत्रमा छापिएको धाराबाहिक ‘कान्छी बेगम’ उपन्यासजस्तै जीवनकालमा आत्मकथा लेख्ने मनुको अन्तिम रहर पनि अधुरै रहयो ।
मध्यकालीन सामन्ती संस्कार र आधुनिकताले ल्याएका समस्त दुर्गुणहरू छेलोखेलो भएको समाजमा मनु आफ्नो जीवन जिउने शैली ‘एब्नर्मल’ (असामान्य) मान्थे । जिउने शैली मात्र होइन उनको विचार पनि उस्तै छक्कलाग्दो हुन्थ्यो ।
‘जीवनमा साहित्यकार बनेर ठूलो पछुतो लागेको छ,’ उनी भन्थे, ‘तर साहित्यकार नबनेको भए अझै ठूलो पछुतो लाग्ने थियो ।’

आमा शान्तिदेवी सिंह (९६) अझै हिँड्दै–डुल्दै छिन् ।
मनुलाई भने ७५ वर्ष कटाउन सकस भयो । यायावर कोठामा धेरै वर्ष खुम्चिए ।
‘कतिपय बेलामा ग्लानिजस्तो हुन्छ कि केही गर्न नसकेर बसीबसी भात मात्रै खाइरहेको छु भनेजस्तो,’ कुरैकुरामा एक दिन उनले मसँग भने, ‘हुन त पहिले पनि आफ्नो परिवारका लागि मैले केही पनि गर्न सक्या होइन । र, परिवारले भोग्नुपर्ने दु:ख–पीडा उनीहरूले चुपचाप भोगेका छन्, त्यही नै मेरा लागि ठूलो श्रद्धाञ्जली भा’को छ ।’
तुलसीहरि कोइरालाका अनुसार मनु ब्राजाकी मस्तराम स्रष्टा थिए एकलकाँटे स्वभावका, जिज्ञासु र तर्कशील व्यक्ति । बिर्सिनेका सम्झनाहरूमा बाँचिरहने ।
तर बुज्रुकहरूले उनको सम्मान गर्न जानेनन् । हुँदाहुँदा प्राज्ञहरूकै थलोबाट उनको २१ वटा कथाहरूको सञ्चयन ‘आमालाई बेच्नु हुँदैन लाटा †’ को पाण्डुलिपि बेपत्ता भयो । २०५४ फागुन ३ गते ३६ नम्बरमा दर्ता गरेको पाण्डुलिपि कहाँ छ ? प्राज्ञ साथी भाउपन्थीले पनि कुनै सूचना दिन सकेनन् ।
मनुको कथाकारिताबारे थेसिस लेख्ने क्रममा विमल अधिकारी पाण्डुलिपिसम्बन्धी जिज्ञासा बोकेर धेरैपल्ट प्रतिष्ठान धाए । तर, ढाकको तीन पात भयो । ‘२०६० सालसम्म थियो रे... खोजिरहेका छौँ,’ २०७० मा सदस्य–सचिव बनेका सनत रेग्मीले विमललाई यस्तै जवाफ दिए, ‘हराएको रहेछ भने क्षमा माग्नुबाहेक अन्य विकल्प छैन ।’
पछिल्लो समय यसबारे कसैले सोध्यो कि जवाफ दिन झर्को मान्थे ब्राजाकी ।
‘होइन, यसरी एउटा कथासङ्ग्रहको पाण्डुलिपि बेपत्ता पार्दा पनि तपाईं चुपचाप हुनुहुन्छ, यसबारे कतै उजुरबाजुर नलाग्ने नै हो त ? पाण्डुलिपि बुझाएको प्रमाण पनि त होला नि ?’ नारायण तिवारीले सोधे ।
‘के गरूँ ? गाऊँ ? गाउन आउँदैन । नाचूँ ? आँगन टेढो छ,’ च्याँट्ठिँदै ब्राजाकीले प्रतिप्रश्न गरे ‘बलात्कारपछि सप्रमाण बलात्कारी भेटिए पनि के हुन्छ ?’
फेसबुकको चल्ती नहुँदाका दिनमा अहिलेका धेरै लेखक, कवि, साहित्यकार, पत्रकारका प्रिय पत्रमित्र थिए मनु । धर्के पानामा पूरा डिको नतानेका चिटिक्कका अक्षर उनको पहिचान थियो । उनको एउटा बानी के थियो भने उनी अन्तर्वार्ता लिन इच्छुक जिज्ञासुलाई प्रश्न पठाउन भन्थे र यत्नपूर्वक उत्तर लेखेर पठाउँथे ।
‘अरू सबै बेस छ । पोहोर अनावृष्टि थियो, यसपालि अनावृष्टि छ । जे छ, छँदै छ ।’
प्राय: पत्रको अन्तमा उनी यस्तै लेख्थे । र, संस्कृतको एउटा संयुक्त शब्द लेख्न बिर्सिंदैनथे । किमधिकम् । अर्थात् सबै कुरा तपाईंलाई थाहा छँदैछ, धेरै के भन्नु !
सारमा, मन ब्राजाकीका अन्तिम दिनमा पनि मनु दाइले भनेजस्तै भयो— किमधिकम् !


प्रकाशित : माघ २७, २०७४ ११:५८
Title: Re: RIP Manu Brajaki - मनु ब्राजाकीलाई श्रद्धान्जली
Post by: tundikhel on April 01, 2018, 03:46:39 AM
अलबिदा क्रान्तिकारी मनमौजी मनु

पदम गौतम

चैत १७, २०७४

गत फेब्रुअरीको पहिलो साता नेपाली साहित्यका महान कथाकार मनु ब्राजाकीको निधन भयो । निकै व्यस्त भए पनि उनका विषयमा केही गतिलो सामग्री प्रकाशित हुन्छ कि भन्दै अनलाइनहरू चहारेँ । तर, कतै खास केही फेला पार्न सकिनँ । उनका दर्जनौं जिग्रीहरू मौनधारणमै व्यस्त भए । सोचेँ, अलिअलि सरसङ्गत गरेको र पढेको आधारमा मैले पनि उनीबारे केही लेख्नुपर्छ ।

पहिलो पटक मनु ब्राजाकी भन्ने नाम सुनेर उनको फिदा बन्दा म किशोर थिएँ । उनको हस्ताक्षरसहितको पत्र पाउँदा चाहिँ २० वर्ष टेकेको थिएँ । उनको पत्र मात्रले पनि जिन्दगीमा के गर्यो गर्यो खै ? औपचारिक पढाइभन्दा उनको जस्तै मनमौजी काम गर्न प्रेरित गर्यो अनि आफ्नो मनमा लागेका काम मात्रै गरिरहने बाटो फराकिलो बनायो ।

पहिलो पल्ट यी स्रष्टाको अनौठो नाम सुन्दा मलाई लाग्थ्यो– पक्कै पनि यिनको सिङ या जुरो पलाएको हुनुपर्छ । उनले आफैं चेतमानसिंह भण्डारीबाट नाम बदलेर मनु ब्राजाकी (त्यागी मान्छे) बनाएका थिए । अलिकपछि, स्नातक तह पढ्दा चाहिँ उनीबारे अझ धेरै जानियो । उनका विषयमा केही हल्ला र केही अर्धसत्य कुरा हामीमाझ निकै चर्चा हुन्थे । एक दिन एउटा साथीले भन्यो– यिनी रक्सी नखाई लेख्नै सक्दैनन् । अर्कोले थप्यो– पहिला एक्लै ‘जनयुद्ध’ गर्न हतियार उठाएका क्रान्तिकारी मान्छे हुन् अरे । अर्कोले भन्यो– उर्दूमा सही गर्छन्, उर्दू राम्रो लेख्छन् यिनी । हामीमध्ये मसहित केहीलाई त उनका धेरै गजलका लाइन लाइन कण्ठ थिए ।

यस्ता अनेक कुरा सुनेपछि कुतूहल बढेर म थामिनसक्नु भएँ । अब मैले यिनलाई पनि चिठ्ठी लेख्ने योजना बनाएँ । त्यसबेला केही समकालीन र केही अग्रज मेरा साहित्यिक पत्रमित्र थिए । गोपी सापकोटा, प्रकट पङ्गेनी ‘शिव’, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, विवश पोखरेल, राजेश्वर रेग्मी आदिको सूचीमा अब यी सिङ्–जुरो पलाएका कथाकार÷ गजलगोलाई पनि थप्ने सोच बनाएँ । तर यिनलाई चिठ्ठी लेख्न चाहिँ अरूलाई जस्तो सामान्य पत्र लेखेर पठाउन सकिनँ, सोच्दै, लेख्दै फेरि सार्दै गरेँ । करिब एक साता केर्दै, मेट्दै गरेर बल्ल पत्र तयार गरेँ ।

०४६ को मधुपर्कको एउटा अङ्कमा यिनको कथाको पुछारमा ठेगाना थियो, त्यही सारेँ र लैनचौर हुलाकबाट चिठ्ठी खसाएँ, औरही, महोत्तरीको ठेगानामा । त्यसबेला सेलिब्रिटीसँग सम्पर्क राख्न अहिले फेसबुक र ट्विटरमा फलो वा एड गरेजस्तो सजिलो उपाय थिएन । हामी काठमाडौंमा रहने घरविहीनहरू ठेगानाविहीन पनि थियौं । हुलाक ठेगाना अहिलेजस्तै गोलमाल थियो । अर्को उपाय काठमाडौंमा पत्राचारका लागि पोस्ट बक्स नम्बर पाउन गाह्रो थियो । मैले चाहिँ एउटा ठूलो निजी कम्पनीमा काम गर्ने साथी रेशम श्रेष्ठको पोस्ट बक्स प्रयोग गर्ने गरेको थिएँ । एक महिनाको ब्यग्र प्रतीक्षापछि मनु ब्राजाकीको पत्र मेरो हात पर्यो । केही जिज्ञासाका जवाफ, केही शुभकामनाका शब्द र केही सान्त्वनासहित । अब म त्यो चिठ्ठी बोकेरै हिँड्न थालेँ । मनुको सन्दर्भ अउने बित्तिकै मैले त्यही चिठ्ठी देखाइदिन थालेँ । अहिले सम्झँदा मेरो मनोविज्ञानमा म आफूलाई मनुबारे आधिकारिक व्यक्ति ठान्दोरहेछु भन्ने लाग्छ । उनको एउटा कथा मार्यो च्याङवा मार्यो.....  स्नातक तहको ऐच्छिक नेपालीको कोर्समा थियो । यसले गर्दा पनि उनलाई नचिन्ने साथीभाइ थिएनन् । तिनका माझ म उनलाई चिन्ने हुनु गौरवको विषय हुन्थ्यो । अहिले यी सबै सन्दर्भ सम्झँदा आफैसँग लाज लागेर आउँछ ।



मनु ब्राजाकी २०५० तिर काठमाडौं सरेर केही अखबारमा नियमित लेख्न थालें, दारुपानीको खर्चका लागि । जीवनको पछिल्लो समयमा जस्तै समकालीन साथीहरूबाट उनी उपेक्षित थिए । उनको सिर्जनाका अघि टिक्न नसक्नेहरू उनलाई जँड्याहा भन्थे र मनुलाई केवल जाँडको पर्याय ठान्थे । तर काठमाडौं आउनेबित्तिकै हामी युवा कवि, लेखकका लागि चाहिँ उनी प्यारा र सरल मनु दाइ भइसकेका थिए । हामी उनको कुरा सुन्न र उनको सङ्गत पाउन स–साना अफ्ठ्याराको वास्ता नगरी पछि लागिरहन्थ्यौं । त्यस समयसम्म हाम्रो पुस्ताले रक्सी खान थालेकै थिएन । तर म मनु दाइको सङ्गत गर्न भट्टीमा बसिदिन्थेँ अनि उनको सङ्गतका लागि पकेट खर्च घटाएर तानतुन पार्थें ।

०५१ सालको हिउँदमा उनीप्रतिको क्रेज बुझेर हामीले एउटा वनभोज आयोजना गर्यौं । उनलाई फकाएर बोलाउने अनि नजिक बन्ने लालसा हामी सबैको मनभित्र थियो । त्यस बेला प्रोल्लास सिन्धुलीय जनकपुरबाट काठमाडौं आएर मेरा साथी भइसकेका थिए । उनीसहित वनभोज आयोजना गर्न प्रमोद स्नेही, इन्द्रकुमार श्रेष्ठ ‘सरित’ र म सक्रिय भयौं । वनभोज कार्यक्रममा सहभागी हुनका लागि मनु दाइको सर्त रह्यो– मलाई पिउने कुरा पनि चाहिन्छ है । हामीले पिलाउने सोच बनायौं र उनका लागि थोरै व्यवस्था गर्यौं ।

त्यस कार्यक्रममा म र प्रोल्लासका लागि एउटा सानो तर अनौठो घटना भयो । उनी र म जोडिएको एउटा समूहले एउटा हवाइ पत्रिका निकाल्थ्यो । त्यहाँ मैले अत्यन्तै सानो सामग्री चाहिएको खाली ठाउँमा सात हरफजतिको आफ्नै लघुकथा छापेको थिएँ । आफ्नै पत्रिकामा आफ्नै रचना के छाप्नु भनेर एक मुस्लिम महिला हसिना खातुनको नाममा त्यो रचना छापिएको थियो । वनभोज कार्यक्रममा हवाइ पत्रिका हात परेपछि मनु दाइले भने, ‘म यो महिलालाई चिन्छु, यिनी क्रान्तिकारी महिला लेखक हुन् ।’

बूढाको कुरा सुनेर हामी छक्क पर्यौं । अहिले सम्झँदा लाग्छ, मनु दाइले नशाको सुरमा अरूसँग अलिअलि मिल्ने नाम यकिन नगरी यसो भनेका थिए होलान् । मुस्लिम समाजमा चल्तीको उपनाम भएका कारणले कुनै वास्तविक महिला लेखकसँग त्यो नाम जुधेको पनि हुनसक्छ भन्ने पनि लाग्छ । मैले त्यसपछि पनि केही वर्ष त्यो नामबाट केही रचना छापिरहेँ । तर, सम्पर्कले भ्याएसम्म भारतीय साहित्य पढ्दा अहिलेसम्म त्यो नामको महिला लेखक फेला परेको छैन ।

अँ त, उपत्यका छिरेपछि मनु दाइ कहिले भतिजा सरतसिंह भण्डारीका घरमा त कहिले नख्खु छेउछाउ गरी ललितपुरका गाउँतिर बस्न थाले । म यदाकदा दिनभरका लागि समय मिलाएर उनका कुरा सुन्न त्यता जान्थेँ । बूढाका कुरा सुनेर आनन्द आउने र जीवनको बाटो बनाउन पनि मद्दत मिल्ने भएका कारण सकेसम्म उनलाई पछ्याइन्थ्यो । यसै क्रममा मनु दाइ र अर्का बरिष्ठ गजलकार घनश्याम न्यौपाने ‘परिश्रमी’ बीच मैले औपचारिक चिनजान गराएको थिएँ । २०५३ सालको कुनै हिउँदको महिनामा मैले काम गर्ने गरेको परिस्थिति साप्ताहिकको बागबजारस्थित कार्यालयमा उनीहरूबीच पहिलो भेट भएको थियो ।
त्यही साँझ हामी मनु दाइको भैंसेपाटीस्थित घर गएर रातभरी खानपिन गरेर बसेका थियौं । मैले यो समयमा अलिअलि पिउन थालिसकेको थिएँ, दुई साहित्यिक अभिभावक भेटेर त्यस रात निर्धक्क पिइयो । यसलगत्तै बागबजारमा एक दिन दिउँसैदेखि मनु दाइको असली फ्यान बनेर उनलाई साथ दिइयो । उनले ३० को दशकदेखि नै काठमाडौं आउँदा जाँदा बागबजारको जीवन र त्यहाँको समाज नियाल्ने गरेका रहेछन् । यस्तो अध्ययनका लागि उनी आफ्नो आदत बनेको रक्सी पिउने गर्थे भट्टीमा पसेर ।

भट्टीमै उनी जीवन र जगतसँग जोडिएको विषय बुझ्थे, सोधखोज गर्थे, दार्शनिक पाराले हेर्थे र कथा बुन्थे । अनुसन्धाताका हिसाबले गरेभन्दा फरक थियो मनु दाइले गरेको अध्ययन । तर, त्यसमा अनुसन्धान वा कथित रिसर्चभन्दा गहिरो मानवीय संवेदना गाँसिएको थियो । बागबजारका भट्टीसँग गाँसिएको त्यहाँका सयौं मान्छेका जीवन, उनीहरूको मूल्य, मान्यता र बाध्यता उनका अनेकौं कथामा आञ्चलिकताको सुगन्धसहित आएका छन् । उनका हरेक जसो गजलमा भट्टी घुमीफिरी आएकै छन् । यी सन्दर्भ उनी यदाकदा सुनाउने पनि गर्थे । त्यस साँझ उनीसँग मैले यस्तै विषयमा धेरै चासो राखिरहेँ, राति १२ बजेसम्म बूढा खुलिरहे ।

भट्टीवालीले मध्य राततिर यतै सुत्ने कि जाने भनेपछि हामी उठेर हिँड्नुपर्ने भयो । म बागबजारमै रहने साथी थानेश्वर सापकोटाको कोठा गएर सुतेँ । मनु दाइ पाटनतिर दिदीको घर जान्छु भन्दै छुट्टिए । उनलाई दिदीको घरमा पनि भिनाजुका कारण बेलाबेला अफ्ठ्यारो पथ्र्यो । त्यस्तो समयमा चाहिँ हाम्रा साथी सुनिल पुरी थिए, परेमा मनुको नाममा जे पनि सहयोग गर्ने । अर्को भेटमा त्यो रात बढी मातेर उनले पाएको हण्डर पनि सुनियो, दाइकै मुखबाट ।

कुनै जमानामा हजुरबाको खल्तीको पैसा चोरेर भारतका धेरै सहर भ्रमण गर्ने मनु लेखनको चार दशकदेखि नेपाली साहित्यका महान् कथाकार र गजलकार थिए । सम्पन्न किसान परिवारमा हुर्किएका उनी आफ्ना बाबु र बाजेले धार्मिक किताब पढ्ने गरेकै कारण अध्ययन र साहित्यमा हामफाल्न सजिलो भएको पृष्ठभूमि सम्झिने गर्थे । उनी भन्थे, ‘म सामन्ति किसानको नालायक छोरो हुँ ।’

उनले लामो समयसम्म आफ्नो पुख्र्यौली घर महोत्तरीको औरही बसेरै काठमाडौंलाई लेखनमा चुनौती दिए । त्यति बेला लाग्ने मोफसलवाद र काठमाडौंवादको विषय उनका बारे उठेन । राजधानी पस्नुअघि लेखन र व्यवहारकै कारण काठमाडौंका नयाँ लेखकमाझ उनी मिथकजस्ता थिए ।  ५० को दशकमा राजधानीवासी भएपछि उनीबारे धेरैका भ्रम हटे । बरु, केही कुरामा उनी अनौठा नै रहेछन् भन्ने स्थापित भयो ।
सयौं कथा र गजलका सर्जक ब्राजाकीको तिम्री स्वास्नी र म बहुचर्चित् कथासङ्ग्रह हो । यस पङ्क्तिकारका एक जना अनुयायी लेखक भाइसाथी अनिल थापा अहिले पनि यो कथा कण्ठस्थ सुनाउँछन्, सन्दर्भ निस्कँदा । यसबाट पनि उनले पछिल्लो पुस्तामा कति प्रभाव छाडेका रहेछन् भन्ने प्रष्ट हुन्छ ।

जीवनको अन्तिमतिर उनी केही वर्ष मुलुकबाहिर अमेरिकाको कोलोराडो बसे, सन्तानका साथ । करिब डेढ दशकअघि नेपालमा एकपल्ट र फेरि अमेरिकामा अर्कोपल्ट स्ट्रोक भएपछि बिर्सने समस्याले सताइएका थिए उनी । तैपनि जीवनको अन्तिम किताब भन्दै संस्मरण लेखिरहेको बताएका थिए, २०७० सालको मध्यतिर । पत्रकार नरेश ज्ञवाली र यो पङ्क्तिकारसँग उनले त्यस दिन किताबको नाम सुनाएका थिए– बिर्सनेका सम्झनाहरू । पछि न त यो किताबको नाम फेरिएको कतै सुनिएन, न त किताब नै निस्कियो ।

लामो कुरा लेख्न समस्या हुने भएकाले पछिल्लो समयमा चाहिँ उनी गजल लेखेरै आफ्नो उफान पोखिरहेका थिए । त्यस बेला चाहिँ उनले भनेर अरूलाई लेख्न लगाउने रहेछन् । भन्थे, ‘अहिले सम्झन समस्या छ र लामो कुरा लेख्न पनि गाह्रो हुन्छ । यो समयमा मैले २, ४ वटा मात्रै कथा लेख्न सकेँ । अहिले लेख्न मन लाग्छ तर शब्द नै सम्झन गाह्रो हुन्छ । मनमा आएका कुरा छोटोमा लेख्न पाइने हुनाले यो अवधिमा पनि गजल चाहिँ धेरै लेखेको छु ।’
जीवनमा कहिल्यै नोकरी नखाएका र कामको दुःख नगरेका मनु रक्सी र अमेरिका बसाइबारे भन्थे, ‘मैले लेख्ने र लेख्नुपूर्व चिन्तन गर्नका लागि रक्सी खाने गरेको धेरै समय भएको थियो । परिवारले यस विषयमा चिन्ता गर्ने क्रममा अमेरिका बस्ने मेरी छोरी र यहाँ बस्ने उसकी आमाले स्काइपमा कुरा गर्दागर्दा मलाई उतै बस्न मन्जुर गराए ।’

विदेश बस्नेबित्तिकै राष्ट्रबिरोधी हुने नयाँ सामाजिक सञ्जालको आरोप, बहसमा आउने अनेकौं खालका राष्ट्रवादका परिभाषा र विवादसँगै मनुजस्तो महान कथाकारलाई लगातार अमेरिका बस्नु सामाजिक हिसाबले पनि गाह्रो थियो । अर्को कोणबाट हेर्दा विकसित मुलुकमा दिउँसो आफ्नो घर र छरछिमेकमा मात्र नभएर निकै टाढाटाढासम्म पनि घरमा केही हुँदैन । उनले यस विषयमा भनेका थिए, ‘यहाँजस्तो गफ गरेर समय विताउने अवस्था हुँदैन । समाचारबाहेक टिभी हेर्न मन नलाग्ने भएकाले लाइब्रेरी गएर समय बिताउथेँ ।’ त्यस समयको उनको अनुभूति थियो, ‘भविष्यमा गर्ने केही नरहेपछि अतीतले हामीलाई बाँच्ने ऊर्जा दिँदोरहेछ ।’

पञ्चायतको चरम उत्कर्षको समयमा कथा र गजलको ‘डन’ बन्नुका अनेकौं अर्थ थिए । बाल्यकालदेखि नै विद्रोही स्वभाव, अत्यन्त उन्नत चेतना अनि समाजको चेतनास्तर चाहिँ अत्यन्तै तल । अनि यही समयमा बाहुनक्षत्री परिवारको पहिलो पुस्ताका जँड्याहा भएर परिवारको नजरमा बेरोजगार हुनु कम्ती अफ्ठ्यारो विषय थिएन । यो अवस्थाले उनलाई अझ बढी सिर्जनशील र अराजक बन्ने प्रेरणा दियो । चेतना र विद्रोहको सङ्गम मनुले २०५२ सालमा माओवादी नामको समूहले सुरु गरेको ‘जनयुद्ध’ जस्तै विद्रोह जगदिश घिमिरेसँग मिलेर दुई दशकअघि नै परिकल्पना गरेका थिए ।
घिमिरेले यो सन्दर्भ उनको चर्चित किताब अन्तर्मनको यात्रामा पनि उल्ल्ख गरेका छन् । मनुले सुनाएथे, ‘सनकमा हामी युद्ध गर्न बन्दुक उठाउने भन्दै जनकपुरबाट सिन्धुली पुग्यौं । चन्द्रमान लामा र हामी दुई गरेर समूहमा तीन जना थियौं । उनीहरू माक्र्सवाद अध्ययन गरेर आफूभित्रको अराजकता साम्य पार्न हिँडेका थिए । हाम्रो कम्युनिस्ट समाज पनि खुलेको थियो । जगदिश भिमानबाटै बिरामी भएर फर्कियो, चन्द्रमान र म चाहिँ सिन्धुलीगढीसम्म पुग्दा जनयुद्ध सेलायो ।’

लेखकले मौलिकता विकास गर्नका लागि उसमा जीवन र जगतलाई हेर्ने दृष्टिकोण पहिल्यै हुनुपर्छ भन्ने चेतना उनले हाम्रो पुस्तालाई सिकाए । यसको परिणाम मेरो पुस्ताका मनुका फ्यानमध्ये राजनीतिक चेतनालाई नै घृणा गर्ने कवि, लेखकहरू राजनीति बुझ्ने प्रयासमा लागे । अहिले तिनै भन्छन्, ‘हरेक कविले राजनीति बुझ्नु अनिवार्य छ, गर्नु, नगर्नु आफ्नो कुरा ।’ अहिलेको पुस्ताले सुरुमै सिकेका कतिपय लेखनसँग सम्बन्धित विषय मनुले कतै नबोली लेखेरै स्थापित गराएथे ।



अहिले हरेकजसो लेखकले बुझेको ‘मौलिकता भन्नु नै शब्दलाई आफ्नो ढङ्गले प्रयोग गर्नु हो र शैली नौलो नभई पाठकलाई आकर्षित गर्न सकिँदैन’ भन्ने विषयका उनी प्रष्ट देखिने उदाहरण थिए । साहित्यसँग जोडिएका र जेलिएका कुरालाई सुगठित ढङ्गले लेखनमा राखेर निजत्व बनाउने काममा उनी यस्तरी लागे कि तराईको पीडा र आञ्चलिकतालाई शैलीको मौलिकतासहित त्यहाँको समाज साहित्यमा स्थापित गराए । उनको कथामा बाध्यताको यौन, अभाव, शोषण र पाखण्डको पटाक्षेपको मिश्रण पाइन्छन् । तैपनि उनी नेपाली साहित्यको समग्र स्तरसँग सन्तुष्ट थिएनन् । नयाँ पुस्ताका लेखकसँग माफी माग्दै उनी भन्थे, ‘अहिलेको साहित्य लेखन गम्भीरताभन्दा बढी प्रचारात्मक छ । व्यावसायिकता बढेको कुरा एक हिसाबले राम्रो भए पनि यसले हलुका वस्तुलाई धेरै ल्याउँछ । गम्भीर लेखनमा लागेका मान्छेलाई यसले फरक नपरे पनि पाठकलाई चाहिँ कुन असल साहित्य र कुन कमसल भन्ने भ्रम पर्छ ।’

मनु जति यौन नेपाली साहित्यमा कसले लेख्यो होला र ? तर, उनको यौन प्रचारको र बजारी यौन थिएन । यौन र नारीलाई हाम्रो समाजले हेर्ने विषयका विडम्बना र पीडा छन् उनका कथामा । उनी व्यावसायिकताका लागि तिलस्मी, यौन र जासुसी विषय धेरै लेखिने बताउँदै यस्ता सामग्रीले आलोचनात्मक चेत भुत्ते बनाउने र केवल पढुन्जेल मनोरञ्जन मात्र दिने विषयमा सबैभन्दा सचेत थिए । वास्तवमा मनुले भनेजस्तै त्यसरी हेर्दा अहिलेका चर्चाका आएका धेरै सामग्री साहित्य नै हो कि हैन भन्ने प्रश्नचिह्न लगाउनु पर्छ । अझ पछिल्लो समयमा अखबारको प्रभाव र सङ्ख्या बढेसँगै समाजमा सामाजिक सञ्जालले पनि सञ्चारमाध्यमकै हाराहारीको हस्तक्षेपकारी भूमिका निर्वाह गर्न थालेका छन् ।

वनारस लाइब्रेरीका स्टाफले शरदचन्द्र चट्टोपाध्यायको चरित्रहीन भन्ने ठूलो किताब दिँदा उनी त्यसबेला, ‘हाम्रो नेपालीमा यस्ता किताब किन नभएका होलान्’ भन्ने सोच्थे । त्यसै बेलादेखि लेख्ने प्रयास गर्न थालेका मनु ८ कक्षा पढ्दा एकपल्ट मुम्बई पुगेछन् । त्यसबेला अर्काकै भनाइमा आधारित लेख लेखेर टाइम्स् अफ इन्डियाको कार्यालयमा लगेर दिएपछि उनका रचना छापिन थाले । जीवनमै छापिएको त्यो पहिलो रचना उनले धेरै दिनसम्म दिनमा ६, ७ पटक पढ्ने गरेको सुनाउँथे ।

हरेक साहित्यप्रेमी र साहित्यका विषयमा लेख्ने व्यक्तिले गफ दिने एउटा विषय हो– नेपाली साहित्यको स्तरबारे आँकलन । धेरै ठाउँ र दशकौंदेखि भनिने गरेको छ, नेपाली साहित्य अनुवाद मात्र हुने हो भने विश्व साहित्यको स्तरमा छ । यो कसले नाप्ने र त्यसका आधार के छन् भन्ने चाहिँ कसैले अहिलेसम्म भनेका छैनन् । यस विषयमा ब्राजाकीले मसँग भनेका थिए, ‘आधुनिक अङ्ग्रेजी साहित्य धेरै फरक छ । मलाई कथाबारे केही थाहा भएको आधारमा भन्दा उनीहरूको लेखन धेरै परिपक्व छ । तर त्यहाँ अहिले लेखिन थालेका धेरै कुरा हामीले पनि पहिल्यै प्रयोग गरिसकेका हुने रहेछौं । मैले धेरै अघि अन्नपूर्णाको भोज भन्ने कथा मेरा साथीहरू किशोर नेपाल र सन्तोष भट्टराईलाई पात्र बनाएर लेखेको थिएँ । पश्चिममा सन् २०१२ मा मात्र अर्नेस्ट हेमिङ्वेलाई पात्र बनाएर लेखिएको नयाँ शैलीको कथा भन्दै छापिएको थियो । विदेशी भाषामा हाम्रा कृति अनुवाद भएको भए हामी पनि धेरै कुरामा अगाडि हुनेरहेछौं नि । तर त्यो अनुवादमा सरकार र मन्त्रीको सिफारिस चाहिँ हुनुहुँदैन ।’



जीवनभर नास्तिक रहेका मनु अलिक निष्क्रिय र रक्सीविहीन भएको समयमा चाहिँ कति नास्तिक बने त ? पङ्क्तिकारलाई निकै जिज्ञासाको विषय थियो यो । २०७० को त्यस झरिलो साँझमा उनले आफू जति उमेर बढ्यो, त्यति नै धेरै नास्तिक बनेको बताए । भने, ‘रक्सी खान छाडेपछि नास्तिकता अझ बढेको छ ममा । ईश्वर भनेको वकबास हो जस्तो लाग्छ अहिले पनि ।’
उनको यो भनाइले करिब दुई दशकअघि एक रात मनुले मसँग गाएको पुरानो हिन्दी गीतको स्मरण गरायो । नशा लाग्दै गएपछि उनले त्यस रात यस्तो गीत गाएका थिए

भगवान दो घडी जरा इन्सान बन के देख
धर्ती में चार दिन कभी मेहमान बन के देख ।

माफी चाहन्छु मनु दाइ, म मिडियामा काम गर्ने लेखक भएर पनि तत्कालीन रोयल नेपाल एकेडमीका मान्छेले पचाइदिएको तिम्रो कथा सङ्ग्रह आमालाई बेच्नु हुँदैन लाटा का विषयमा खोज्न सकिनँ । अलबिदा र क्रान्तिकारी सलाम मनु दाइ, तिम्रै बाटोको नक्कल गर्दै म पनि यतिसम्म कोर्न सक्ने भएँ ।

-तस्बिर– नरेश ज्ञवाली

(http://ratopati.prixa.net/media/albums/Padam_Gautam_manu_4_O4mcRJ7xpL.JPG)

(http://ratopati.prixa.net/media/albums/Padam_Gautam_manu1_uRfmeYirrX.JPG)