Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on February 04, 2018, 06:19:32 AM

Title: कथा - अन्नापूर्णको भोज (मनु ब्राजाकी)
Post by: tundikhel on February 04, 2018, 06:19:32 AM
कथा : उदास र मलिन अनुहारकी युवती


एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन ।

एउटी रुपवती युवतीले रात्रिबसमा यात्रा गर्दा चनाखो हुनै प¥यो । दृष्टिको सजगताले अनुहारको मलिनतालाई पखाल्न सकेको छैन, उसको सामु एउटा रात्रिसेवा बस उभिएको छ, जसमा अन्य यात्रीहरु चढ्दै आआफ्नो सिट खोज्दैछन्, ऊ पनि बसमा उक्लिन्छे र ढोकैनेरको आफ्नो सिटमा एक छिन झ्यालतिर बस्छे र पुनः ओर्लिन्छे काँधमा झुन्ड्याएको एयरब्याग सिटमा नराखेर काँधमा बोकेको बोक्यै ओर्लिन्छे, उसले काँधमा झुन्ड्याएको एयरब्याग अलि गरुङ्गो पतित हुन्छ । किनभने एयरब्यागको फित्ता उसको मांसल काँधमा किंचित गाडिएको छ उसले आफ्नो एयरब्याग सिटमा सहयात्रीको जिम्मा नछोड्नुको अर्थ हो त्यसमा कि त आफ्नो मनपर्ने सारै मूल्यवान वस्तु छ, कि त ऊ यात्रामा कसैको पनि विश्वास गरिहाल्नु हुँदैन भन्ने विचारले पेरित छे । यो रामो कुरा पनि हो । ऊ बसबाट ओर्लिएर सजगताका साथ बस ओरिपरि चनाखो दृष्टिले हेर्न थाल्छे । सम्भवतः कोही आउँदै पो छ कि ? तर बस हिंडुन्जेलसम्म कोही पनि आउँदैन ।

ऊ आफ्नो अधबैंसे सहयात्रीतिर पुलुक्क हेरेर झ्यालतिरको आफ्नो सिटमा बस्छे अन्ततः साढे ६ बजे बस काठमाडौँ गोंगबु बसपार्कबाट हिँड्छे अधबैसे सहयात्रीले देख्छ– उदास र मलिन अनुहार भएकी रुपवती केटी उसको छेउमा बसेकी छे । गोरो र भरिलो जीउडालमा रातो पहिरन सुहाएको छ । गलामा सुनको लकेटयुक्त चेन, कानमा टप र दाहिने हातको औंलामा सुनकै औंठी छ । सिट तल लत्रिएको गोडामा रातो हाइहिल जुत्ता छ । यस प्रकार मध्यमवर्गीय पहिरन र शृंगारमा सज्जित भएर सहयात्रीतिर होइन, बसबाहिर हेरिरहेकी छे । अधबैँसे सहयात्रीलाई चाहिं सबै कुरा त्यस युवतीमा सुसज्जित भए पनि एउटा कुरा नमिले झैं लागिरहेछ । त्यो के भने उसले एयरब्यागलाई तल आफ्नो गोडानेर राख्नुसट्टा काखमा लिएकी छे । त्यस अधबैँसेले ठट्यौलो पारामा सोच्यो, आजकाल मनीब्यागको सट्टा एयरब्याग काँधमा झुन्ड्याउने र काखमा राख्ने फेसन आएछ क्यारे !

लामो यात्रा, सुन्दर युवतीको सान्निध्य, रातमा परिणत हुँदै गएको सन्ध्याले त्यस अधबैँसेलाई युवा र वाचाल बनायो । आफ्नो एयरब्यागलाई तलै राख्नुस् न, ठाउँ छ ‘केही जवाफ आएन । यसमा हीरा–मोती पक्कै पनि नहोला बरु तपाईलाई सारै मनपर्ने कुनै वस्तु होला, हगी ?’ केही जवाफ आएन । उदास युवती झ्यालबाहिर नै हेरिरहेकी थिई । उसले युवतीलाई आफूतिर आकर्षित गर्न उसको काखबाट एयरब्याग टिपेर तल खुट्टानेर राखिदियो । ब्याग किंचित गरुङ्गो नै रहेछ ‘ल, अब सजिलोसित बस्नुस् ।

अधबैँसेले सहानुभूति देखायो। यस्तो बलात् सहानुभूतिले ऊ झस्किई । आशंका मिश्रित दृष्टिले कहिले अधबैँसेतिर र कहिले तल खुट्टानेर राखिएको ब्यागतिर हेर्न थाली । तर उसले ब्याग पुनः आफ्नो काखमा राखिन बरु असजिलो अनुभव गर्दै घरिघरि ब्याग र अधबैँसेतिर हेर्दै रही । सहयात्री अधबैँसे चाहिं आनन्दित भएर उसको चालामाला हेर्दै थियो । उसलाई थाहा छ, आजको रात यसै युवतीको संगतमा बित्नेछ अतः उसले परिचय गर्न अठोटले सोध्यो ‘कहाँसम्म जानु हुन्छ ?’ ‘विराटनगर’ मधुरो, अस्पष्ट र भयभित स्वरमा यस पटक जवाफ आयो ।

‘म पनि विराटनगर जाँदैछु । ‘विराटनगर कहाँ जानुहुन्छ ?’ केही जवाफ आएन अनि त त्यस अधबैँसे सहयात्रीले परिचय बढाउन असंख्य प्रश्नहरु ग¥यो । तर कुनै प्रश्नको पनि जवाफ आएन । बरु उसले कति बेला हो खुट्टानेरको एयरब्याग टिपेर आफ्नो काखमा राखिसकेकी रहिछे एकोहोरो प्रश्न गर्दागर्दा त्यो सहयात्री अधबैँसे सिटमा ढल्कियो । अन्तिम पटक सिटमा ढल्किएर उसले प्रश्न ग¥यो, ‘तपाईंको शुभनाम ?’ पुनः केही जवाफ आएन बरु मुग्लिङ आइपुग्यो । साढे दस बजेतिर मुग्लिङ बस पुगेपछि सबै यात्रीहरु खाना खान ओर्लिए । तरर ऊ आआफ्नो एयरब्याग काखमा राखेर सिटमा बसी राखी ।

सहयात्रीले उसलाई खान जाउँ भनेर कर गरेन । आफ्ना प्रश्नहरुको उत्तरहीनताले ऊ वितृष्ण भइसक्या थियो । मुग्लिङमा सिमसिम पानी पर्दैछ पहाडी क्षेत्रमा मनसुन सुरु भइसकेकाले काला काला बादलहरु मुग्लिङ वरपरका टाकुराहरु भन्दा तल तल ओर्लीसकेका छन् । तर तराई क्षेत्रमा अझै मनसुन ओर्लिसकेको छैन् । रातिको एघार बज्यो । मुग्लिङको झिलिमिलीमा बसहरुको ओहोरदोहोर चलिरहेछ । यो बस पनि विराटनगरतिर हानिन अधैर्यतापूर्वक कराउन थाल्यो । सबै यात्रीहरु बसमा बसे । कन्डक्टरले एउटा सिट खाली देखेर चिच्र्यायो–

‘गुरुजी, पखनुस ! एउटा पेसिन्जर आएन’ यसै बेला अधबैंसे सहयात्रीले देख्यो, उसको छेउको सिटमा आफ्नो काखमा एयरब्याग राखेकी युवती थिइन् । बरु सिट तल एयरब्याग भने थियो । एक छिनपछि कता कता रुझ्दै खलासी आइपुग्यो ‘भेटिएन गुरुजी, वरपर कुनै होटेलमा भेटिएन ‘पेसिन्जरको सामान यें छ जा खोज ‘कन्डक्टर करायो, ‘काँ खोज्नु हउ ?’

दस, पन्ध, बीस, तीस अर्थात आधा घन्टा बित्यो । त्यो युवती आइन यात्रीहरु कराउन थाले । बस अन्ततः मुग्लिङ छोडेर नारायणघाटतिर हिँड्यो । अघि युवतीसँग बसेको अधबैँसे सहयात्रीले उसको उदास र सुन्दर अनुहार सम्झ्यो । पफ लगाएर निधारमा झारेको कपाल पनि सम्झ्यो अनि अझै सम्झ्यो, पक्कै भागेर माइती जान लागेकी चेली होली, यो एयरब्याग गहकिलै हुनुपर्छ उसले ब्याग आफ्नो कब्जामा लियो ‘हुँदैन, हुँदैन ए मिस्टर ! हामीले बुझाउनुपर्छ’ त्यो मैले चिनेको केटी हो । विराटनगरमा मेरै छिमेकी हो । म उसकै घरमा लगेर बुझाइदिन्छु ‘हुँदैन, हुँदैन’ भनेर कन्डक्टरले ब्याग ऊबाट लियो । नारायणघाट पुगुन्जेलसम्म कन्डक्टर र त्यस अधबैँसे यात्रीको वादविवाद चर्काचर्कीसम्म पुग्यो । उता मुग्लिङमा सिमसिम पानी परिरहेथ्यो (बुटवलतिरबाट मुग्लिङ आइपुगेको र अहिले काठमाडौँतिर हिँड्ने तरखर गरिरहेको बसको खलासी ढोकामा उभिएर गाउँदैथ्यो, ‘सिमसिमे पानीमा ज्यानले माया मार्छ कि जिन्दगानीमा’ रातो साडी चोलो लगाएकी, मलिन अनुहार भएकी, उदास सौन्दर्यले त्यस बसको खलासीलाई सोधी–

‘काठमाडौँका लागि सिट छ ?’ खलासीले ट्वाँ परेर नियालेर हे¥यो र मनमनै राल चुहाउँदै भन्यो , ‘छ, छ सिट छ । म मिलाउँछु, झ्यालनिरै’ खलासीले देखाएको सिटमा गएर ऊ बसी । बस काठमाडौँतिर हिँड्यो । यता नारायणघाटमा झलमल्ल तारा देखिएका छन् (एयरब्यागका लागि अधबैंसे र कन्डक्टरको झगडाले गर्दा बस नारायणघाटको पुलचोकमा अड्यो । संयोगवश गस्तीमा हिँडेका उपनिरीक्षक तीन जना प्रहरी साथ त्यहीं आइपुगे । कन्डक्टरले एयरब्याग पहरीको जिम्मा लगायो । निरीक्षणका लागि बसका यात्री सामु एयरब्याग खोलियो । त्यसबाट फलाटिनको बाक्लो लुगाले बेरिएको नवजात तर मृत शिशु निस्कियो । मृत शिशुको घाँटी निलो थियो । प्रहरीहरु बसमा चढे । अब प्रहरी उपनिरीक्षकको आदेशमा बस प्रहरी कार्यालयतिर जाँदैछ ।

उता मलेखुनेर बुटवलबाट काठमाडौँ जाने बस झमझम पानीमा भिज्दै कुदिरहेथ्यो । उदास र मलिन सौन्दर्य मनसुनको बादलझैं अँध्यारिएको थियो । झ्यालनेर बसेकी ऊ झ्यालमा थाप्लो टसाएर मन, प्राण, आत्मादेखि नै झमझम बर्सिरहेकी थिई । मलेखु भिजिरहेथ्यो, काठमाडौँ जाने बस भिजिरहेथ्यो, बाहिरको अन्धकार र भित्रको खडेरी भिजिरहेथ्यो । खोलानाला उर्लिरहेका थिए । ऊ भविष्यको बाढीमा बगिरहेकी थिई । साथको सहयात्री फ्ँवाफ्ँवा निदाइरहेको थियो । उसले यति सोच्न भ्याएकी थिई – फोहोरमैला फ्ँयाक्ने त्यत्रो ठूलो काठमाडौँ खाल्डोमा उसले आफ्नो एयरब्याग किन फ्याँक्न सकिन ? बरु आफूलाई भने फेरि त्यही काठमाडौँ खाल्टोमा फ्याँक्न भनेर लगिरहेकी थिई । सहयात्री पुरुष जीवनको होस् अथवा जगतको कार्यसमाप्तिपश्चात फ्वाँफवाँ निदाइरहेको थियो । ऊ भने कार्यसमाप्तिपश्चात् बिउँझिरहेकी थिई, रोइरहेकी थिई ।

(स्रोत : कथाकार ब्राजाकीको  कथासंग्रह “अन्नापूर्णको भोज”बाट)

Title: Re: कथा - अन्नापूर्णको भोज (मनु ब्राजाकी)
Post by: tundikhel on February 04, 2018, 06:20:55 AM
12 Apr 2014 २९ चैत्र, २०७० मनु ब्राजाकी   


कथा : अन्नापूर्णको भोज

~मनु ब्राजाकी~Manu Brajaki

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो।

‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, के ल्याएँ आज।’

अन्नपूर्णा देखा परी।

भव्य भएको भग्नावशेषझैं देखा परी।

रूप थियो होला कहिले, अहिलेचाहिँ त्यसैको सम्झना छ। जे जति छ, यौवन पूर्णतः विगत नभइसकेकाले आकर्षक नै छ। खण्डहरको कुनै एउटा कोठामा बिजुली चम्केझैं ऊ लोग्नेको स्वागतार्थ मिलिक्क हाँसी। उसको डल्लो र पहेँलो अनुहार प्रदीप्त भयो। लोग्नेले देखेन।

उसले देखी— लोग्नेको दाहिने हातको पोलिथिन झोलामा चारवटा काला–काला माछा छन्। अर्को हातको झोलामा के छ कुन्नि!

‘किन ल्याउनुभा’को यत्तिका माछा?’ उसले आँखा चिमचिम पार्दै सोधी।

‘आज भोज गर्ने’ भन्दै उसले अन्नपूर्णाका हातमा माछाको झोला दियो। ‘आज दिपावली गर्ने’ भन्दै अर्को झोलाबाट मैनबत्तीका बन्डल झिकेर टेबुलमाथि राख्यो। अनि त्यही झोलाबाट दुई बोतल घरपालुवा रक्सी झिकेर दराजमा राख्दै ‘आज उत्सव मनाउने’ भन्यो। अनि लगत्तै पछि फर्किएर स्वास्नीका चिमचिम गर्दै गरेका आँखातिर लक्ष्य गर्दै भन्यो, ‘हैन, सुतेकी थिइस् कि क्या हो?’

‘केको सम्साँझै सुत्नु? तपाईंका सुरुवाल सिउँदै थिएँ।’

‘सुरुवाल?’ उसले एक्कासि हिजोको कुरा सम्भि्कयो।

हिजो बिहान ऊ तरकारी किन्न जाँदा आफ्नी स्वास्नीभन्दा आकर्षक साहुनी हाँसेकी थिई। ऊ झन् जोडतोडले हाँसेको थियो। साहुनीको हाँसोको गुलियो चाट्दै घर फर्किएर आइपुग्दा अन्नपूर्णा पनि हाँसेकी थिई। अकारण स्वास्नी हाँसेपछि ऊ झस्कियो।
‘के भो? किन हाँसेकी यस्तरी?’ उसले विस्मित हुँदै सोध्यो।

अन्नपूर्णा आँखा चिमचिम पार्दै झन् जोडतोडले हाँस्न थालेकी थिई, ‘के मान्छे तपार्इं त, लुगा लगाउँदा विचार त पुर्यारउनुपर्छ। एक त उल्टो सुरुवाल लगाउनुभा’छ, त्यसमाथि एउटा खुट्टामा घुुँडादेखि काछसम्म साँप्रा देखिने गरी उध्रेको छ।’

त्यस बेला उसलाई साहुनीको हाँसो चकलेट चपाएको जस्तो होइन खुर्सानी चपाएझैं भएको थियो। हुन पनि ऊ नयाँ संविधानको प्रतीक्षा गर्दागर्दा अनेकौं शंका उपशंकाको ऊहापोहमा परेर त्यस्तो हास्यास्पद स्थितिमा पुगेको थियो।
तर संविधान सकुशल आयो।

ऊ पनि अहिले वर्तमानमा आएर स्वास्नीलाई भन्छ, ‘छोड्, के आँखा दुखाइरहेकी! नयाँ सुरुवाल हालौंला।’ अनि उसको दृष्टि स्वास्नीका लुगाहरूतर्फ गयो। विगत रूपयौवनसम्पन्न स्वास्नी माकुराको जालैजालोले आवृत खण्डहरझैं अगाडि उभिएकी छे। भग्नावशेषको एउटै सग्लो कोठाजस्तो अनुहार पनि धुलाम्मे छ। कतै साजसज्जा छैन। रंगरोगन छैन। शृंगार–सजावट छैन। कहाँसम्म भने झिलिमिली बुट्टे पर्दा पनि छैन। गोर्खालीले वीरतापूर्वक विनाश गरेको तराईको जंगलझैं प्रकृतिवत् उजाड छ। यी कुरा सोचेर उसले केही भन्न आँटेको थियो, अन्नपूर्णाले उछिनी, ‘सुरुवाल उसै आउँछ कि क्या हो? अन्तरिम सरकारले सबैलाई सुरुवाल हाल्दिँदैन होला त! अनि यी यतिका चीजबीज कसरी ल्याउनुभो?’

‘हे—हे—हे, नरिसा। अलिकति उधारो अलिकति सापट गरेँ। नयाँ संविधान आएपछि भोज ख्वाउँछु भनेर साथीहरूलाई भनेको थिएँ। पुर्या उने तँ नै होस्। त्यसै हुनाले त म तँलाई अन्नपूर्णा भन्छु नि!’

साँच्ची नै उसको नाम अन्नपूर्णा होइन। राशिअनुसार उसको नाम डोलकुमारी हो। बोलाउने नाम डल्लो अनुहारले गर्दा डल्ली भइहाल्यो। घर चलाउने कुशलताले गर्दा लोग्नेका लागि ऊ अन्नपूर्णा भई। सरसापट, ऐँचोपैंचो र उधारोपुधारोको कूटनीति गर्न हिँड्दा कति कुदृष्टि र कुवचन भोग्नुपर्छ, कति अवाञ्छित सहानुभूति सहनुपर्छ भन्ने कुरा लोग्नेलाई के थाहा? जे होस्, आजको दिन उसले लोग्नेलाई कुँड्याउन चाहिन। अतः आँखा चिमचिम पारेर हाँस्दै भनी, ‘कतिजना आउने हुन्?’

‘एहे, तँ रिसाएकी छैनस्? आज खुसीको दिन हो नि! चारजना आउँछन्, मात्रै चारजना। एक किलो माछा तार्नू अनि एक किलो झोल पार्नू, भातसित खान ‘।’

‘अनि एक किलो?’

‘जम्मा दुई किलो नै त छ।’

‘किलोका किलो लगाएर बोलेकाले सोधेकी।’

‘आज भोज हो नि! सधैं के पाउका कुरा गर्नु त? अनि यो भोज तेरै हो, अन्नपूर्णाको भोज।’

डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णाले सोची— कस्तो अबोध लोग्ने हो यो? मासु होइन कि ल्याउनासाथ जस्ताको त्यस्तै ओइरियो। यो त माछा हो, बनाउँदाओर्दा दुई किलो घटेर डेढ किलोमात्र रहन्छ। तर लोग्नेको मन खिन्न पार्न उसले केही भनिन।
लोग्ने उल्लसित हुँदै भन्दैछ, ‘अनि हेर्, अन्नू, आज तेरो यो चासोचाहिँ भएन।’

उसले स्वास्नीको ठाउँठाउँमा च्यातिएको र टालेको साडी–चोलो देखेर ओरालो लागेको मनले अड्कीअड्की भन्यो, ‘तीजमा हालेको सारी–चोली झिक् न। जा, पहिले हातमुख धोईवरी लुगा फेरिहाल्। अहिले पाँच बज्यो, छ बजेसम्म साथीहरू आइपुग्छन्। इज्जत त जोगाउनैपर्यो।।’

यतिबेलै सातवर्षे छोरी र पाँचवर्षे छोरो आएर ‘बुबाले माछा ल्याउनुभो। बुबाले माछा ल्याउनुभो’ भन्दै झोलाबाट माछा झिक्न थाले।

लोग्नेको कुरा सुनेर अन्नपूर्णाले एकपटक पुलुक्क ऊतिर हेरी अनि छोराछोरीका हातबाट माछा खोसेर भान्सातिर लागी।

ऊ सुसेल्दै लुगा फेर्न थाल्यो।



छ बज्दा नबज्दै साथीहरू आइपुगे।

भित्र माछा तारेको गन्ध बाहिरसम्म आइरहेछ।

छोरी र छोराले मैनबत्ती बालेर झ्याल–झ्यालमा ठड्याइसके।

भविष्य यिनीहरूकै उज्ज्वल हुने त हो।

सन्तोष भट्टराईले हात मिलाउँदै भन्यो, ‘क्या हो मनुवा यो मुसुमुसे गन्ध?’

ज्ञानुवाकरले हात मिलायो, ‘यसको साथमा अर्को झोलिलो सुगन्ध पनि होला नि!’

विमल निभाले हात मिलायो, ‘म त माछाको झोलमात्र खाने।’

किशोर नेपालले हात मिलायो, ‘उसो भए जनआन्दोलनको चोक्टाजति मेरै भागमा परोस्।’

चारैजना उत्फुल्ल भएर हाँसे। उसले अलि व्यथित स्वरमा हाँसो नियन्त्रित गर्दै भन्यो, ‘आज कुमुद देवकोटा भइदिएको भए, कति रमाइलो हुने थियो। तर त्यो पनि मान्छे त मनमोजी हो, मन लाग्यो हिँडिदियो। हुन त आउँदा पनि कसैसित सोधेर आएको थिएन।’

सबै बैठक भनाउँदो बैठकमा बसे। अर्थात्, सुकुलमाथि दरी, दरीमाथि तन्ना र तन्नामाथि चकटीमा सबै बसे।

साथीहरू आइपुगेको थाहा पाएर अन्नपूर्णा पनि बैठकमा आई र आँखा चिमचिम पारेर हाँस्दै सबैलाई नमस्कार गरी। सबैले ‘अहो, भाउजू त मोटाउनुभएछ’ भने। उसले पनि डोलकुमारी नामक डल्लीलाई मोटाएको देख्यो। ‘राम्री’ भन्न नसकेर मोटाएको भन्ने मित्रहरूको आशयलाई हृदयंगम गरी उसले स्वास्नीलाई राम्री पनि देख्यो। हुन पनि स्वास्नीलाई मित्रहरूको दृष्टिबाट हेर्दा नै राम्री देखिन्छे। यसर्थ मित्रहरूको यो गुन प्रत्येक लोग्नेले मान्नुपर्छ।

थालभरि तारेको माछा आइपुग्यो। उसले दराजबाट बोतल र गिलास झिक्यो।

तारेको माछासित रक्सी चल्न थाल्यो। एकछिन यो कुरामा गलबदी भयो– जनआन्दोलनताक सहिदहरूले रगत बगाएर ल्याएको बहुदलीय व्यवस्था र संविधानलाई हामीले रक्सी बगाएर स्वागत गर्न हुन्छ कि हुँदैन? यस गलबदी अनन्तः नै दुईदुई पेग रित्तिइसक्या हुनाले यो समस्या नेपालीत्वपूर्ण ढंगले समाधान भयो।

अब राजनीति चल्न थाल्यो।

‘प्रजातन्त्र भनेको ‘।’

‘हैन, के अब हामी अझै पनि प्रजा नै छौं र? कि लोकतन्त्र भन, कि जनतन्त्र ‘।’

‘नयाँ जनवाद भनेको ‘।’

नयाँ जनवाद हैन क्या, नौलो जनवाद ‘।’

‘मार्क्सवाद मरिसक्यो ‘।’

‘दर्शन मर्दैन। मानव चिन्तनको शंृखला ‘।’

‘ए बाबा, मरेको हात्ती पनि सवा लाखको हुन्छ ‘।’

‘सामन्ती संस्कार बोकेका पनि प्रजातन्त्रवादी ‘।’

‘सामन्तीसमेत प्रजातन्त्रवादी ‘।’

‘माछा पाउँ्क भाउजू, साह्रै मीठो ‘।’

‘ग्रास्सीले भनेका थिए कि ‘।’

‘बर्नस्टिनले भनेका थिए ‘।’

‘ज्याँ फ्रास्वाँ रेवलको नो जिसस नो मार्क्स ‘।’

‘करपात्रीको रामराज्य र मार्क्सवादले ‘।’

‘युरो कम्युनिजम कता गयो ‘।’

‘पानइस्लामिक अर्गनाइजेसन ‘।’

‘आहा, माछा क्या मीठो! थपौं अरू भाउजू ‘।’

‘ल, सन्तोष भट्टराई अब भटभटाउन थाल्यो ‘।’

‘ज्ञानुवाकर त पूरै जनीवाकर देखिन ‘। ‘

‘आफू नि आफू ‘।’

‘लौ, विमल निभा त माछाको झोलमै निभ्न थाल्यो ‘।’

‘यो किशोर झुत्रे सम्पादक कसरी ‘।’

‘जा˜˜, छोडौं यो कुरा ‘।’

‘सहिदहरूको रगत ‘।’

‘रक्सी थप् न यार, छैन भने ‘।’

‘भाउजू, माछा ‘।’

छोरा र छोरी दुवै ढोकाका दुई छेउमा उभिएर भविष्यझैं बैठकभित्र हेर्दै छन्— हातमा लिएको माछा खान पनि बिर्सिएर। उसले यिनीहरूलाई टाउकोमात्र दिनू भनेको हुनाले उनीहरूका हातमा एक–एकवटा माछाको टाउको छ।
राजनीति अझै चल्दैछ। तेस्रो बोतल अन्नपूर्णाको सौजन्यबाट आइपुग्यो।

‘चुनाउ मिलेरै लड्नुपर्छ ‘।’

‘भोट माग्दा खुसुक्क आफूलाई मात्र ‘।’

‘तिमी कसलाई दिन्छौ?’ ज्ञानु।

‘तिमी कसलाई दिन्छौ?’ सन्तोष।

‘तिमी कसलाई दिन्छौ?’ विमल।

‘तिमी कसलाई दिन्छौ?’ किशोर।

‘तिमी कसलाई दिन्छौ?’ ऊ।

‘तपाईं कसलाई भोट दिनुहुन्छ भाउजू?’ उसलाई छोडेर मित्र समुच्चय ।

‘जता बाबुहरूले भन्नुहुन्छ।’

‘हाम्रै कुरा नमिलेर त भाउजूलाई सोधेको। अब यो संविधानले नारीलाई पूरापूर हक दिएको छ। प्रत्येक पार्टीले पाँच प्रतिशत महिला सदस्य राख्नैपर्छ।’

‘बाबुहरूलाई अब खाना ल्याउँ्क क्यारे।’

अन्नपूर्णा फरक्क फर्केर गई। अन्नपूर्णाले के भन्ली भन्ने उसको उत्सुकता सेलाएर गयो। घर धान्ने अन्नपूर्णाले बडो विचित्र प्रकारले यो समस्या समाधान गरी। सबै स्वास्नीहरू यस्तै हुन्छन् क्यारे—मतभेदमा आफ्नोे मन्तव्य दिन कुशलतापूर्वक तर्किने।
आफ्नोे कुनै चेतना, चिन्तन र मन्तव्य नहुनु त मनुष्य नहुनुसरह हो। के स्वास्नी हुनु अमानवीय हो?

तर स्वास्नीमान्छेहरूमा लोग्नेमान्छेझैं नै विधिवता हुन्छ। अनि किन स्वास्नीमान्छेलाई स्वास्नी बनाएर अमानवीय र निष्ठुरी बनाइँदैछ? सोध रामालाई!

मैनबत्तीहरू निभिसकेछन्। बिजुलीको झालर झुन्ड्याएको भए पो बलिराख्थ्यो। सके घिउको दियो रातभरि बाल्न सके पनि हुन्थ्यो। सके।

खाना आयो। अन्नपूर्णाले अतिथिपरायणताको गृहिणीसुलभ उमंगसाथ थपीथपी सबैलाई माछा–भात खुवाई।

खाँदाखाँदै एक्कासि सन्तोष चिच्यायो, ‘गुराँस! गुराँस! गुराँस!’

‘के भो? के भो?’

‘ए, माछाको काँडा गलामा अड्कियो? गुराँस भनेर जाँदैन। छोड् यो रुढिवादी तरिका, निस्तो भातको डल्लो निल्।’

भोजनोपरान्त देश र समाजको उज्ज्वल र सुखद भविष्यको कामना गर्दै सबै बिदा हुन थाले।

सन्तोष भट्टराईले काँडा निलेको खुसीमा हात मिलायो। ज्ञानुवाकर पौडेलले अन्नपूर्णातिर हेर्दै ‘खण्डहर नयाँ–नयाँ’ गुनगुनाउँदै हात मिलायो। विमल निभाले निभ्दै–बल्दै हात मिलायो। किशोर नेपाल उर्फ झुत्रेले टाईको नट कस्दै हात मिलायो। अन्ततः सबैले अन्नपूर्णा भाउजूलाई आफ्नोे मत आफूसँगै सुरक्षित राख्ने सल्लाह दिए। ऊ फिस्स हाँसी।

सबै गएपछि उसले बाँकी रहेको रक्सी आफ्नोे गिलासमा हाल्यो।

‘अझै खाने?’

‘अलिकति। केटाकेटीहरू सुते?’

‘सुते।’

‘अब तँ खा।’

जुठा भाँडा बटुलेर अन्नपूर्णा भान्सातिर हिँडी। ऊ रक्सी खान थाल्यो। खाँदै सोच्न थाल्यो— घरेलु बजेट सन्तुलन कसरी मिलाउने? गुजमुजिएको गोली–धागोझैं यता तान्यो, उता अल्भि्कने, उता तान्यो यता अल्भि्कने। मातमा उसको सोचाइ लरखराउँदै छ। जता जान्छ उतै अल्भि्कन्छ। झर्र्केर उसले सोच्न बन्द गर्यो । अन्नपूर्णा घरमा छँदाछँदै किन मगज दुखाउनु, यै आत्म–आश्वासनका साथ ऊ पिसाब फेर्न उठ्यो।

सुत्ने कोठानेर पुग्दा देख्यो— छोराछोरी सुतिसकेका रहेछन्। तर भान्सानेर पुग्दा उसले अन्नपूर्णालाई देखेर पिसाब फेर्न बिर्सियो।

डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णा जुठा भाँडाहरूमध्ये पिर्कामा बसेर अघिल्तिरको रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसित बुक्याउँदै रहिछे। फुको चिउरा र अमिलो अचारले कुँडिएका दाँत पखाल्न रिकापीछेउ एक अम्खोरा पानी छ। परेला ढल्काएर चिउरा चपाइराखेकी हुनाले अन्नपूर्णाले उसलाई देखिन। उसले भान्साभित्रको यो दृश्य हेर्न नसकेर बाहिरतिर हेर्न थाल्यो। सम्पूर्ण सहर–बजार नयाँ संविधान आएको उत्सवमा झिलिमिली थियो। उसले मन थाम्न नसकेर फेरि भित्र हेर्योर। टोलाएर हेर्र्दै रह्यो।

अन्नपूर्णाले मुखको स्वाद फेर्न जसै माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाटी, उसको मगजमा काँडाझैं एउटा प्रश्न आएर रोपियो— के स्वास्नीहरूको मत सुरक्षित छ?

(कथाकार ब्राजाकीको   कथासंग्रह अन्नापूर्णको भोजबाट) ।