old interview
निखिल उप्रेती भन्छन– म प्लेब्वाई होइन, दुबै श्रीमतीलाई मिलाएर राखेको छु, दुबैको बीचमा बाँच्न चाहन्छु
फिल्म लाइनमा लामो समय हराएर आउनुभयो कि, किन ?
– मैले सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेँ, यसकारण हराएँ भन्ने यदि तपाईंलाई लागेको छ भने त्यो गलत हो । अहिले आएर मैले सञ्चितासँग गरेको विवाहको बारेमा स्केप हुन खोज्ने कुरा गलत हुन्छ । हो, त्यतिबेलाका लागि सामाजिक रुपमा मैले त्यस्तो नगरेको भए हुन्थ्यो होला । तर, त्यत्तिकै लागि देश छोडेर गएको चाहिँ होइन । कारण के हो भने, सयवटा फिल्म खेलेपछि मैले रेस्ट खोजेँ । मलाई फिल्म खेल्नु, सुपरस्टार बन्नु र वाहवाही कमाउनुमात्र छैन । मलाई त मेरो लाइफ चाहिन्छ । अक्सर कलाकार अर्काको वाहवाहीमा बाँच्छन्, आफ्नो बिर्सिसकेका हुन्छन् । दिनभर उफ्रिएर सुपर स्टार बन्छन्, रातभरि ढाड दुखेर सुत्न सक्दैनन् । मैले सोचेँ, त्यो वाहवाहीले मेरो लाइफ बिग्रिरहेको थियो । मलाई ध्यान र योगा चाहिएको थियो । म किसानको छोरोलाई उड्ने चाहना थियो । त्यसैले मैले हवाई जहाज नै उडान त जानिनँ । तर, स्काई ड्राइभर भएर आएँ । प्याराग्लाइडिङको एक्रो कोर्स पनि गरेँ ।
सञ्चितासँगको विवाह गलत हो ?
– होइन । शुरुमा जतिबेला त्यस्तो निर्णय मैले लिँदै थिए, त्यतिबेलाका लागि त्यो निर्णय गलत हुनसक्थ्यो होला । तर, आज हामीसँग हामीमात्रै छैनौँ,दुई सन्तान पनि छन् । त्यसैले आज त्यो गलत र सही भन्ने दिन होइन । मैले कोपिला र सञ्चिताजस्तो जीवन साथी पाएर जुन सुखी जिन्दगी पाएको छु, दावा गर्छु अक्सर कुनै केटा मान्छेले त्यस्तो जिन्दगी विरलै पाउँछ ।
अरुलाई पनि यस्तै गर्न भन्नुहुन्छ ?
– यस्तो कसैले गर्नुहुँदैन, गलत हुन्छ । कानुनी रुपमा गलत हुन्छ, सामाजिक रुपमा गलत हुन्छ ।
तपाईंले चाहिँ किन गर्नुभयो त ?
– मेरो लाइफको फिलोसपीसँग त्यो कुराले सरोकार राख्छ । मलाई मान्छेले प्लेब्वाई पनि भनेँ । तर, आजसम्म म कहिले पनि यसलाई पट्याउँछु, त्यसलाई फकाउँछु भनेर हिँडिनँ । हो, कुनै बेला सज्जासँग मेरो चर्चा चल्यो । आज सज्जा आफ्नो परिवारसँग खुशी र सुखीसँग बसेकी छ । बीचमा श्वेता तिवारी आइन्, उनले मेरो लागि प्रेममा पागलपन देखाएर गइन् । मलाई उनीबाट बच्न निक्कै मुस्किल भयो । त्यसपछि सञ्चितासँग भेट भयो । म यसबाट भाग्न सकिनँ । प्रेम थियो । प्रेमले आखिरी मोड पाउनुपथ्र्यो पायो पनि ।
कोपिला र त्यतातिरका सन्तानका लागि त अन्याय भएन ?
– अन्यायमात्र हैन, अपराध पनि भयो । तर, मैले मेन्टेन गरेँ । आजको दिनमा मैले दुबैको माया पाएको छु, दुबैलाई माया दिएको छु ।
यस्तो चलनलाई के भन्नुहुन्छ ?
– हाम्रो सोसाइटी ब्याकडोरबाट चलेको हो । अगाडिबाट इमान्दारिता छ,पछाडि ९० प्रतिशत बेइमानको झुण्ड छ । डान्सबार जानुस्, तपाईंले बिहेबारी भएका मान्छेबाहेक कोही भेट्नुहुन्नँ । टिनएजर्सलाई तपाईं कहिले पनि त्यहाँ भेट्नुहुन्न । पुलिसले होटेल रेड गर्दा को समातिन्छन् ? अर्काको श्रीमान्सँगअर्काकी श्रीमती , यसलाई ब्याकडोर सोसाइटी भन्छन् । यहाँ त घरमा एउटी श्रीमती देखाएर बाहिर चारवटीसम्म पाल्ने मान्छे छन् । कम्तिमा मैले घोषितै रुपमा दुईवटी श्रीमतीलाई मिलाएर राखेको छु र कुनै तेस्रो महिलासँग मेरो त्यस्तो सम्बन्ध छैन । भन्नुस् कि, कोपिला मेरी श्रीमती हो भन्दै मैले बाहिर रिता, गीताहरुलाई राख्नु इमान्दार हुन्थ्यो ? कदापि हुँदैन ।
रेखा थापासँग इगो थियो । अहिले कस्तो छ ?
– जब म इण्डिया बसेर फर्किएँ, तब यहाँका पुराना इगोहरु सब बिर्सिएर काम गरुँ भन्ने लाग्यो । भैरव फिल्मका लागि एउटा आइटम गानाका लागि मैले रेखालाई अफर गरेँ । ‘हुन्छ’ भनिनँ । पछि उनले गरिनन् । अनि थाहा पाएँ, नगर्नकै लागि पहिला गर्छु भनेकी रहिछन् । ‘निखिल आयो, मलाई घरमै आएर फिल्मको अफर ग¥यो, मैले मानिनँ’ भनेर मिडियाबाजी गर्नका लागि उनले यस्तो हर्कत रचेकी रहिछन् । म झुक्ने कुरामा कहिल्यै पनि लाग्दिनँ । रेखासँग कुनै रिस,द्वेष छैन । मलाई देखाएर मिडियामा प्रपोगण्डाबाजी रच्ने काम भयो, त्यसको पनि जवाफ दिने कुनै दिन आउला ।
सांसद हरि दाइसँग कत्तिको भेट हुन्छ ?
– म प्रायः विहानको खाना दाइसँगै खान्छु ।
बस्नचाहिँ कोसँग बस्नुहुन्छ ?
– म दुबै श्रीमती बस्ने ठाउँको बीचमा बस्छु । ता कि, मैले दुबैलाई उत्तिकै माया दिन पाऊँ, दुबैबाट उत्तिकै माया पाऊँ ।