Author Topic: Baburam Acharya (बाबुराम आचार्य)  (Read 6002 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Baburam Acharya (बाबुराम आचार्य)
« on: August 26, 2009, 11:40:23 PM »
बाबुराम आचार्य

बाबुराम आचार्य नेपालका इतिहासशिरोमणि हुन् । उनको जन्म काठमाडौँको ठूलो गौचर भन्ने ठाउँमा भएको थियो । मध्यमवर्गीय परिवारमा वि.सं. १९४४ फागुन २९ गते जन्मेका आचार्यका माताको नाम शिवकुमारी र पिताको नाम धर्मदत्त हो । प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरे । पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरे ।

उनी ३२ वर्षको उमेरदेखि इतिहासको अन्वेषण गर्ने कार्यतर्फ आकषिर्त भए र आफ्नो सम्पूर्ण जीवन यही कार्यमा खर्चे । त्यो बेला देशमा राणाशासन थियो । त्यसैले इतिहास विषयमा हात हाल्नु तत्कालीन अवस्थामा खतरा मोल्नु थियो । त्यस बेला देशको इतिहास लेख्न त के, थाहा पाएको विषयमा बोल्नसमेत नहुने जमाना थियो । त्यसो भए तापनि बाबुराम आचार्यले खतरा उठाए । सुब्बा वीरेन्द्रकेशरी अज्र्यालको उपदेशअनुसार छरिएर रहेका अभिलेख, शिलालेख, वंशावली, हस्तलिखित ग्रन्थ खोज्ने पढ्ने काम उनले सुरु गरे । लुकेर रहेको उनको इतिहास विषयको रुचि र प्रतिभालाई पण्डित भगवान्लाल इन्द्राजीको नेपालको इतिहास विषयक खोजकार्यले प्रेरणा मिल्यो ।

वि.सं. १९३७ मा काटियावाड भारतका पण्डित इन्द्राजीले नेपालका २३ वटा अभिलेख छपाई प्रकाशित गरेका थिए । बाबुरामको जन्मपूर्व नै उनको नेपाल आगमन भएको थियो । इतिहास लेख्ने शुभारम्भ त्यसैले गरायो । बाबुराम आचार्यलाई इतिहास विषयमा प्रवृत्त तुल्याई इतिहास शिरोमणि तुल्याउने काम पनि त्यही भ्रमणको प्रतिफल मान्न सकिन्छ । शिलालेख, अभिलेखजस्ता ऐतिहासिक सामग्रीको अध्ययन-मनन गर्नु आवश्यक छ भन्ने जानकारी त्यस भ्रमणले दियो । व्यापक जनसम्पर्क, मिलनसार प्रकृति, इतिहासप्रतिको उत्कृष्ट रुचिको कारण उनले धेरै कुरा जान्ने अवसर पाए । फलस्वरूप बाँचुन्जेल उनी एक किसिमले जीवित इतिहास बने भने मरेपछि अमर इतिहास । वि.सं. २००७ अघि उनको इतिहासप्रतिको प्रेम आत्मसन्तुष्टिकै लागि मात्र सीमित थियो भने त्यसपछि उनको कलमले अगाडि बढ्ने अवसर पायो । नेपाली भाषामा शिक्षा दिनुपर्छ भन्ने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको सङ्गतबाट जागिरे जीवनमा प्रवेश गरेका बाबुराम राजगुरु हेमराजका सहायकसमेत बनेका थिए । नेपालमा आधुनिक ढङ्गको अन्वेषण परम्परालाई भित्र्याउने विद्वत्शिरोमणि हेमराजको मातहतमा रहेको पाठशाला बन्दोबस्त अड्डाका हाकिम बाबुरामले संस्कृत विद्याको उन्नतिमा समेत मद्दत पुर्‍याए ।

बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए । उनको अध्ययन क्षेत्र केवल इतिहास विषयमा मात्र सीमित नभई मूर्ति, मुद्रा, नापतौल, जीवनी, धार्मिक स्थल परिचय, शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ । इतिहासको सम्बन्धमा उनी आधुनिक कालको इतिहास मात्र होइन लिच्छवि, मध्य, मल्ल तथा बाइसे-चौबीसे राज्यहरूका बारेमा पनि त्यत्तिकै ज्ञान राख्थे । कोही पनि उनीकहाँ पुग्दा निरुत्तरित हुनुपर्दैनथ्यो । जान्न चाहेको कुरा विनास्वार्थ, विनासङ्कोच सम्पूर्ण बताइदिन्थे । त्यति मात्र होइन, उनको सम्पर्क र सानिध्य पाएर कति व्यक्ति नेपालको इतिहासको खोज, अन्वेषणमा लागेको पाइन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नामकरण पनि उनले नै गरेका थिए । त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो ।

आफ्नो सम्पूर्ण जीवन इतिहासको अध्ययनमा नै खर्चिंदा वि.सं. १९९७ देखि आँखा धमिलिँदै गएर वि.सं. २००८ मा त पूरै बन्द भएका थिए । सोही वर्ष श्री ५ त्रिभुवनद्वारा इतिहासशिरोमणि उपाधिले सम्मानित बाबुराम वि.सं. २०२० मा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका मानार्थ आजीवन सदस्य बनेका थिए । उनका प्रकाशित कृतिहरूमा 'पुराना कवि र कविता' -२००३), 'तुलनात्मक सुन्दर काण्ड' -२००२), 'चीन र तिब्बतसँग नेपालको सम्बन्ध' -२०२३), 'नेपालको संक्षिप्त वृत्तान्त' -२००२), 'श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' -४ खण्डमा, २०३४), 'प्राचीन नेपालको इतिहास', 'नक्षत्र तारा निरूपण', 'बाबुराम आचार्यका कविता' र 'नेपालका सांस्कृतिक परम्परा' आदि मुख्य हुन् । अन्य फुटकर लेख पनि प्रशस्तै छन् ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]