Author Topic: Guru Prasad Mainali (गुरुप्रसाद मैनाली)  (Read 5867 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 470
  • Well... Every dog has his day
    • xnepali.com
गुरुप्रसाद मैनाली

सबैले मन पराउने र बुझ्ने खालका कथा थोरै लेखे पनि प्रसिद्ध हुन सकिन्छ । कथाकार गुरुप्रसाद मैनालीबाट यही शिक्षा पाउन सकिन्छ । उनको पुख्र्यौली घर काभ्रेपलान्चोक जिल्लाको कानपुर हो । उनका बाबु जागिरे थिए । जागिरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए । त्यही बेलामा धनकुटामा नै गुरुप्रसाद मैनालीको जन्म भएको हो । उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो । उनका बाबुको नाउँ काशीनाथ र आमाको नाउँ काशीरूपादेवी हो । गुरुप्रसादले धेरै पढ्न सकेनन् । बाबुको जागिर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन । त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे । अनि स्रेस्ता पाठशालामा पढे । त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन् । मैनालीले श्रेस्ता पाठशालाको पढाइ सकेपछि जागिर खाए । न्यायसेवामा उनको जागिर थियो । नौसिन्दा पदबाट मासिक रु. ११।- तलब पाउने गरी उनले जागिर खान थालेका थिए । पछि उनी विचारी, डिठ्ठा र तहबिलदार भए । त्यसपछि फेरि बढुवा भएर उनी न्यायाधीशसमेत भए । सामान्य घरको र थोरै मात्र पढेको व्यक्तिले न्यायाधीश हुनु भनेको चानचुने कुरा थिएन । राणाहरूको शासन भएको बेलामा न्यायाधीश भएकाले राणाहरूका भित्री कुरा पनि उनले थाहा पाए । न्यायाधीश भएका बेलामा गुरुप्रसाद मैनालीले धेरैवटा घरायसी मुद्दा हेर्नुपर्‍यो । त्यस्ता मुद्दाहरू हेर्दा-हेर्दा उनले नेपालका गाउँघरमा के-कस्तो स्थिति रहेछ भनेर थाहा पाए । उनी गाउँगाउँमा डुलेका पनि थिए । उनले गाउँघरमा गरिबहरू देखे, मान्छेहरू किन गरिब भएका रहेछन् भनेर थाहा पाए । लोग्नेस्वास्नीको सम्बन्ध, छिमेकी-छिमेकीको सम्बन्ध आदि धेरै कुरा उनले देखे । कैयौँ घटना त अत्यन्त मार्मिक थिए । त्यस्ता मार्मिक घटना थाहा पाएकाले तिनै घटनाहरूबाट उनलाई कथा लेख्ने प्रेरणा मिल्यो । गुरुप्रसाद मैनालीलाई त्यस्ता घटनाका विषयमा कथा लेख्न पाए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्न थाल्यो । त्यसपछि धेरै सोचविचार गरेर उनी कथा लेख्न थाले । उनले गाउँघरमा हुने शब्द र गाउँघरमा घट्ने घटनाहरू राखेर कथाहरू लेखे । उनले नेपाल र भारतका थुप्रै ठाउँ घुमेका थिए । त्यसैले गाउँघरमा भएका सानातिना घटना पनि उनले थाहा पाएका थिए । सानातिना घटनाले पनि उनको मनमा चस्स बिझाउँथ्यो । त्यसैले उनले ती घटनालाई कथामा उतारे । भारतमा गएर काम गर्ने नेपालीहरूको दुःख-दर्दका घटनाका विषयमा पनि उनले कथा लेखे । गुरुप्रसाद मैनालीले पहिलो पटक लेखेको कथा 'नासो' हो । त्यो कथा सर्वप्रथम १९९२ सालमा 'शारदा' भन्ने साहित्यिक प्रत्रिकामा छापियो । त्यो कथा अत्यन्त प्रसिद्ध भयो । सबैतिरबाट उनलाई 'फेरि यस्तै कथा लेख्नुपर्छ' भन्न थालियो । त्यसभन्दा पहिले सामान्य घरपरिवारका सामान्य घटनालाई कथा बनाएर लेख्ने चलन नै थिएन । 'नासो' कथा छापिएपछि नयाँ चलन चल्यो र त्यो नयाँ चलन चलाउने व्यक्ति कथाकार गुरुप्रसाद मैनाली भए । त्यसपछि अरूले लेखेका सामान्य घटनाका कथाहरू उनकै सिको गरेर लेखिएका हुन् । 'नासो' कथालाई सबैले अत्यन्त राम्रो मानेपछि गुरुप्रसाद मैनालीले अरू कथाहरू पनि लेखे । 'परालको आगो', 'बिदा', 'सहिद' आदि शीर्षकका उनका कथाहरू पनि धेरै चर्चित भए । ती कथाहरू योभन्दा ऊ राम्रो र ऊभन्दा त्यो राम्रो भन्ने खालका भए, अथवा सम्पूर्ण कथाहरू एकदमै राम्रा ठहरिए । गुरुप्रसाद मैनालीले कथा लेखेर पत्रिकामा त छपाए, तर उनको पुस्तक भने छापिएको थिएन । पछि वि.सं. २०२० सालमा प्रसिद्ध समालोचक डा. तारानाथ शर्माले मैनालीका ११ वटा फुटकर कथा जम्मा पारे, अनि आफू सम्पादक बनेर 'नासो' नामको कथासङ्ग्रह निकालिदिए । गुरुप्रसाद मैनालीका छरिएका कथा एउटै पुस्तकमा पाएपछि नेपाली साहित्यका पाठकहरू पनि अत्यन्त खुसी भए । जागिर छोडेपछि मैनाली काठमाडौँमा बसोबास गर्न थाले । उनी काठमाडौँमा नै भएको समयमा वि.सं. २०२८ साल जेठ २५ गते उनको निधन भयो । उनको निधन भएपछि उनीजस्ता नेपालका ठूला कथाकारलाई नेपालले सदाका लागि गुमाउनुपर्‍यो । गुरुप्रसाद मैनालीले कथाबाहेक हास्यव्यङ्ग्यविधामा केही लेख तथा फुटकर निबन्ध पनि प्रकाशित गराएका थिए । तर ती लेख-निबन्ध पुस्तकका रूपमा निस्किएका छैनन् । गुरुप्रसाद मैनालीले बाँचुन्जेल कुनै पुरस्कार, सम्मान र पदकहरू पाएनन् । उनको मृत्यु भएको धेरै वर्षपछि उनको नाउँबाट 'साहित्यिक पत्रकार सङ्घ' नामक साहित्यिक संस्थाले 'मैनाली कथा पुरस्कार' को स्थापना गरेको छ । गुरुप्रसाद मैनाली नेपाली साहित्यका लोकपि्रय कथाकार हुन् ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]