Author Topic: Ganesh man Singh (गणेशमान सिंह)  (Read 5070 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Ganesh man Singh (गणेशमान सिंह)
« on: August 26, 2009, 11:59:34 PM »
गणेशमान सिंह

गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो । उहाँ सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र हुनुहुन्थ्यो । गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उहाँलाई 'हीराकाजी' भन्ने गर्थ्यो । टोल, छिमेकी र दौंतरीहरूबीच उहाँ दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजीकै नामले परिचित हुनुहुन्थ्यो । आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन-पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो । सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म हुनुभयो । रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो । दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निस्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गर्नुभयो । राणाको दरबारअगाडि साइकल कुदाएका कारण सिंहले सजाय भोग्नुपर्‍यो । उहाँको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा त्याग गरी उहाँ कलकत्ता जानुभयो र सन् १९३९ मा प्रथम श्रेणीमा मेटि्रक (एस.एल्.सी.) पास गर्नुभयो । त्यसपछि कलकत्ताकै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आई.एस्सी.) को अध्ययन सु्रु गर्नुभएका सिंह राजनीतिमा प्रवेश गर्नुभयो । अध्ययनकै बेला भारतबाट नेपाल आएका बेला वि.सं. १९९७ सालमा नेपालको जेठो राजनीतिक दल राष्ट्रिय प्रजा परिषद्को सदस्यताबाट उहाँको नेपालमा राजनीतिक जीवनको सुरुवात भयो । तर प्रजा परिषद्को सदस्यता लिएको दुई हप्तापछि अर्थात् र वि.सं. १९९७ असारमा नै उहाँको मंललादेवीसँग विवाह भयो । यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गर्नुभएको थियो । तर उहाँको गिरफ्तारी विवाहपश्चात् वि.सं. १९९७ कात्तिक महिना (सन् १९४० अक्टोबर) मा भएको थियो । तत्कालीन राणा सरकारले सर्वश्वहरणसहित आजीवन कारावासको दण्ड दियो । उहाँसँगै जेल पर्नुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो । जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन । २००१ साल वैशाख (सन् १९४४) का एक रात भद्रगोल जेलको पर्खाल नाधेर उहाँ कैदमुक्त हुनुभयो । जेलबाट भागेपछि उहाँ कृष्णबहादुर प्रधानका नाममा राणाविरोधी अभियान चलाउँदै राणाशासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जीलिङ, सिक्किम, कालिङपोङ, कलकत्ता, बनारस र लाहौर पुग्नुभयो । यसक्रममा उहाँको कलकत्तामा विश्वेश्वरप्रसाद कोइरालासँग २००१ सालमा सम्पर्क भयो । विश्वेश्वरसँग मिलेर उहाँले २००३ साल माघ १२ गते (सन् १९४७ जनवरी २५ मा) नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभयो, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल (सन् १९५० अपि्रल) मा नेपाली कांग्रेस बन्यो । उहाँ नेपाली कांग्रेसको संस्थापक नेता बन्नुभयो । २००७ सालामा क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ पर्नुभयो । उहाँलाई शारीरिक यातना दिइयो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा हुनुभयो र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हाल्नुभयो । २००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री हुनुभएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्याग्नुभयो । २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरद्वारा पराजित हुनुभयो । उहाँले २०१४ सालको भद-अवज्ञा आन्दोलनलाई नेतृत्व दिनुभयो । २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँको सांसद् पदमा विजयी हुनुभयो । विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्नुभयो । २०१७ साल पुस १ गते (सन् १९६०) को दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष (२०२५ सालसम्म) सुन्दरीजल जेलमा थुनिनुभयो । जेलमुक्त भएपछि उहाँ निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा जानुभयो । मेलमिलापको नीति लिएर वी.पी. सँग २०३३ साल (सन् १९७६) मा स्वदेश फर्किनुभएका सिंहलाई हवाई अड्डामै गिरफ्तार गरियो । उहाँमाथि राजकाज मुद्दा चलाइयो र फाँसीको माग गरियो । २०३४ सालमा भारतको पटनामा भएको कांग्रेस सम्मेलनमा पार्टीको नेता निर्वाचित हुनुभयो । जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा वी.पी. कोइरालासँग मतभेद पनि भएको थियो । २०३९ साल (सन् १९८२) मा विश्वेश्वरको देहावसानपश्चात उहाँ नेपाली कांग्रेसको सर्वोच्चनेता हुनुभयो । २०४२ साल (सन् १९८५) मा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गर्नुभयो । त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो । २०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली कांग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गर्नुभयो । २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो । तर आन्दोलनको क्रममा उहाँलाई घरमै नजरबन्द गरियो । गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो । जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'फादर अफ डेमोक्रेसी'को रूपमा सम्मानित गरियो । जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा वीरेन्द्रबाट आग्रह हुँदा सिंहले अस्वीकार गर्नुभयो । २०४७ साल पुष ३ गते (सन् १९९० डिसेम्बर १८) मा उहाँले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेट्नुभयो । नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार-१९९० तथा मानवाधिकार पुरस्कार-१९९३ एवम् संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव उ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाट उहाँ सम्मानित हुनुभयो । २०४९ सालमा नेपाली कांग्रेसको झापा जिल्लाको कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालासँग उहाँको मतभेद हुन पुग्यो । २०५१ साल भदौमा उहाँले नेपाली कांग्रेस छाड्नुभयो । तर कांग्रेसले उहाँलाई कहिल्यै छाडेन । प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली कांग्रेसको पोखरा महासमितिको बैठकमा उहाँलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो । २०५३ साल वैशाखको नेपाली कांग्रेसको नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उहाँलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै र≈यो । २०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी मंगलादेवी सिंहको निधन भयो । उहाँको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो । सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गर्‍यो । श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो । स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रीता बैद्य हुनुहुन्छ । काठमाडौँ महानगरपालिकाका पूर्व नगरप्रमुख पी.एल. सिंह भने नेता सिंहका धर्मपुत्र हुनुहुन्छ । उहाँलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिनेछ ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]