Author Topic: Yedunath Khana (यदुनाथ खनाल)  (Read 5219 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 470
  • Well... Every dog has his day
    • xnepali.com
Yedunath Khana (यदुनाथ खनाल)
« on: August 27, 2009, 12:01:43 AM »
यदुनाथ खनाल

वि. सं. १९७० साउन २८ गते तनहुँको मानुङमा नरनाथ र माता तारादेवी खनालका सुपुत्रका रुपमा जन्मेका सरदार प्रो. यदुनाथ खनाल नेपालको शिक्षा, कूटनीति, प्रशासन र साहित्य क्षेत्रका विशिष्ट व्यक्ति मानिनुहुन्छ । उहाँलाई नेपालको पुनर्जागरणकालमा परराष्ट्र मामिला, प्रशासन र शिक्षाक्षेत्रमा धरोहरकै रुपमा लिइन्छ । छ वर्षका खनालले घरमै अमरकोश, चण्डी पढ्नुभयो । ११ वर्षका खनाल हिंडेर काठमाडौं आउनुभयो । उहाँको अध्ययनमा दाजु हरि खनालको विशेष सहयोग थियो । उहाँ १९९२ सालको एसएलसी परीक्षामा बोर्डप्रथम हुनुहुन्थ्यो । बनारस विश्वविद्यालयबाट संस्कृतमा मध्यमा, कोलकाता विश्वविद्यालयबाट बीएस्सी र अङ्ग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण सरदार खनाल २००० सालदेखि २०१३ सालसम्म त्रि-चन्द्र कलेजमा प्राध्यापन सेवापछि २०१३ साल माघ १३ देखि स्व. टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको सचिवका रुपमा नियुक्त गर्नुभएको थियो । चिकित्सक बन्न चाहने खनाल विशेष कारणले गर्दा निजामति सेवामा पो लाग्नुभयो । गृह, परराष्ट्र, सूचना र यातायात मन्त्रालयको सचिव हुनुभयो । उहाँ प्रधानमन्त्रीको सचिवालयको प्रमुख निजी सचिव, पटकपटक राष्ट्रिय योजना आयोगका सदस्य तथा लोकसेवा आयोगका अध्यक्षसमेत हुनुभयो । उहाँले २०१७ देखि २०१९ सालसम्म परराष्ट्र सचिव, २०१९ देखि २०२४ सम्म भारतका लागि राजदूत, २०२४ देखि २०२७ सम्म पुनः परराष्ट्र सचिव, २०३० देखि २०३२ सम्म अमेरिकाका लागि राजदूत, २०३२ देखि २०३५ सम्म लोकसेवा आयोगको अध्यक्ष र २०३५ देखि २०३९ सम्म चीनका लागि राजदूतको हैसियतमा काम गर्नुभएको थियो । उहाँ २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा राष्ट्रसंघको महासभामा भाग लिन जानुभएको थियो भने २०४८ सालदेखि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र मामिलासम्बन्धी सल्लाहकारसमेत हुनुहुन्थ्यो। प्रजातन्त्र आगमनपछिका प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका परराष्ट्र मामिला सल्लाहकार रहेका खनालले त्यसपछि भने अवकाश जीवन बिताउँदै आउनुभयो । आधुनिक नेपालको परराष्ट्रनीतिको व्याख्या गर्ने महफ्वपूर्ण व्यक्तिका रूपमा परिचित खनाल चीन, भारत तथा संयुक्त राज्य अमेरिकाका लागि शाही नेपाली राजदूत पदमा रहनुभयो । अत्यन्त शालीन व्यक्तित्वका धनी प्रो. खनाल नेपाली, अङ्ग्रेजी र संस्कृतका विद्वान् मानिनुहुन्छ । खनालका 'समालोचनाको सिद्धान्त' (२००३), 'साहित्य चर्चा' (२०३२), 'सूक्ति सञ्चय' (संस्कृत पद्यकृति), 'रिफ्लेकसन अन नेपाल-इन्डिया रिलेसन्स', 'स्ट्रे थट्स', 'नेपाल ट्रान्जिसन फ्रम आइसोलेसनिजम', 'एसेज अफ नेपाल अफेयर्स', 'नेपाल आफ्टर डेमोक्रेटिक रेस्टोरेसन र नेपाल्स नन् आइसोलेसनिस्ट फरेन पोलिसी' आदि कृति प्रकाशित छन् । उहाँले शिशुपालवधको ११ औं सर्गको अनुवादसमेत गर्नुभएको छ । स्वर्गीय खनाल नेपाली, संस्कृत र अंग्रेजी तीनै भाषाको अध्येता हुनुका साथै उहाँले पूर्वी र पश्चिमी साहित्यको विशेष अध्ययनसमेत गर्नुभएको थियो। उहाँ चिन्तनशील तथा समन्वयवादी लेखक, कूटनीतिक क्षेत्रका ज्ञाता, सैद्धान्तिक समालोचनाका प्रथम कृतिकार, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, भूपी शेरचनलगायतका बारेमा विश्लेषणात्मक परिचय अंग्रेजी भाषामा गराई अन्तर्राष्ट्रियजगतमा चिनाउने व्यक्तिका रुपमा समेत चिनिनुहुन्छ । उहाँको कदरस्वरुप स्व. श्री ५ वीरेन्द्रबाट रेखाचित्रसमेत निर्माण भएको थियो । खनाललाई त्रिभुवन विश्वविद्यालयले २०५४ साल मंसिर ८ मा सम्मानार्थ स्नातकोत्तर महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो भने उहाँले गोरखा दक्षिण वाहु प्रथम (२०१९), त्रिशक्तिपट्ट (२०२१), नेपाल श्रीपद द्वितीय (२०२७), अमेरिकाबाट अनरेरी डाक्टर अफ ल (सन् १९७४), २०३३ सालमा सरदार उपाधि, आदिकवि भानुभक्त पुरस्कार (२०५४ साल) र नेपाली शिक्षा परिषद्बाट एक लाख एक रुपैयाँ राशि (२०५५), वेदनिधि पुरस्कार (२०४४) पनि प्राप्त गर्नुभएको थियो । पूर्वीय र पश्चिमी साहित्यको विशेष अध्ययन गरेका खनालले स्व. श्री ५ महेन्द्रसँग वाङ्डुङमा सम्पन्न पहिलो ऐतिहासिक अफ्रो-एसियाली सम्मेलनमा पनि भाग लिनुभएको थियो । उक्त सम्मेलनमा युवराजका हैसियतले स्वर्गीय श्री ५ वीरेन्द्रले भाग लिइबक्सेको थियो भने मुख्य सचिवका रुपमा शोभागजंग थापा र परराष्ट्र सचिवका रुपमा खनालले भाग लिनुभएको थियो। सन् २००५ मा उक्त सम्मेलनको ५० औं वर्षगाँठ पुग्ने हुँदा त्यति बेला सम्मान गर्ने कार्यक्रम कतिपयले तय गरिसकेको भए पनि सहभागी तीन जनामध्ये खनालको समेत निधन भयो । थापाको भने २०६० माघ १८ मा नै निधन भएको थियो । उहाँ हार्वर्ड विश्वविद्यालयमा २०२७ सालमा एक वर्ष फेलो पनि हुनुभएको थियो । उहाँका बारेमा डा. जयराज आचार्य 'यदुनाथ खनाल - जीवनी र विचार' शीर्षक कृति केही वर्षअघि साझाबाट प्रकाशित भइसकेको छ । सन् १९२६ मा १३ वर्षे यदुनाथको कमलासँग विवाह भयो । श्रीमती कमलाको २०४७ साल माघ १२ गते निधन भयो । यदुनाथ केही दिनअघिसम्म पनि साहित्यिक लेखनमा सक्रिय हुनुहुन्थ्यो । खनालको २०६१ असोज १६ गते बिहान ३.३४ बजे आफ्नै निवासस्थान पुरानो बानेश्वरमा निधन भयो । बिहान तीन बजे उठेर नित्यकर्म सकी पुनः सुत्न लागेका खनालको छातीमा अचानक सामान्य पीडा उत्पन्न भएपछि छोराबुहारीले सोधपुछ गर्दागर्दै उहाँको तत्काल निधन भएको थियो । उहाँले असोज १५ मा मात्रै छातीसम्बन्धी समस्याका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । स्वर्गीय खनाल ९२ वर्षका हुनुहुन्थ्यो । उहाँको असोज १६ मै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न भयो । छोरा प्रा. उदयराज खनालले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो । उहाँले आफ्नो अन्त्येष्टि धेरै सजधज र हल्लीखल्ली गरेर नगर्नू भन्नुभएकाले त्यसैअनुरुप अन्त्येष्टि गरिएको थियो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]