कविशिरोमणि दरबारिया थिएनन्
20/12/2011 17:53:00 प्रस्तुति: दीपक सापकोटा
कविशिरोमणिको उपाधि...
००८ साल असार २९ । राजा त्रिभुवनबाट कवि लेखनाथ पौड्यालले मासिक दुई सय भत्तासहित 'कविशिरोमणि'को उपाधि पाए । यो उपाधिबाट लेखनाथको परिवार निकै हषिर्त थियो । साथमा मेरा पिता पनि हषिर्त थिए । त्यसै दिन लेखनाथ श्री ३ भीमशमशेरकी पत्नी सीता महारानीकहाँ दाम राख्न आउने भन्ने खबर मैले सुनेँ । सीता महारानीले त्यस अवसरमा उपस्थित हुन समुद्रकुमारी राणा -भीमशमशेरकी बुहारी अर्थात् जर्नेल रामशमशेरकी पत्नी) लाई पनि डाकिछिन् । समुद्रकुमारीको दरबारबाट उनका परिवारसहित मेरो पिता पनि सीताभवन जाने सुइँको पाएँ मैले । मैले पनि दरबारमा दाम राखेको हेर्न जाने ढिपी कसेँ । पिताजी नआउँदै समुद्रकुमारीको मोटरमा घुसेर सिटमा बसेको थिएँ । सबैजना सीताभवन पुगेर बैठकमा पस्यौँ । समुद्रकुमारी, सीता महारानी र उनका नातेदारले भरिएको थियो बैठकस्थल । केही मान्छे भुइँको गलैैँचामा पनि बसेका थिए । यत्तिकैमा लेखनाथ पण्डित आएको खबर आठपहरियाले ल्यायो । सीता महारानीले भित्र बोलाउन आदेश दिइन् । कालो शेरवानी कोट, सेतो सुरुवाल, मक्खीबुट्टे टोपी लगाएका, निधारमा श्रीखण्ड चन्दनको त्रिपुण्ड घसेका, लठ्ठी टेकेका पण्डित लेखनाथ सेता लामो दाह्री हल्लाउँदै बैठकभित्र पसे । यही हुलियामा भव्य व्यक्तित्व भएका कवि लेखनाथ पौड्याललाई मैले जीवनमा पहिलोपटक देखेको थिएँ । र, पहिलो नजरमै म उनीबाट निकै प्रभावित भएको थिएँ, उनको नाम पहिल्यै सुनेको थिएँ र उनको खास परिचय कविताबाट पाइसकेको थिएँ ।
अँ ! त्यही बैठककोठामै फर्कौंं । लेखनाथ आफूले टकटक टेकेर आएको टल्किएको लौरो ढोकाको कुनातिर ठड्याएर सीता महारानीको अगाडि उभिए । शेरवानीको तल्लो जेबमा हात घुसारी चाँदीका तीन-चारवटा डबल झिकेर भुइँमा फाली अञ्जुली बनाएका लेखनाथले भनेको अहिले पनि सम्झन्छु, 'श्री ५ को सरकारबाट मलाई कवि शिरोमणिको मान र भत्तासमेत बक्सियो । त्यही खुसियालीमा दाम राख्दै भिक्षुक स्वस्ति गर्छ ।'
त्यसवेला सीता महारानीले मेरा पिता सोमनाथ घिमिरे व्यासलाई सोधेकी थिइन्, 'यो कवि शिरोमणि भनेको कस्तो दर्जा हो ? कस्तो जागिर हो पण्डितजी ?' पिताजीले भन्नुभएको थियो, 'सिलोक-कविता लेख्नेहरूमा सबभन्दा गतिलो लेख्ने कवि लेखनाथ बाजे हो भनेर कदर गरेर दिइएको दर्जा हो, जागिर होइन ।' अनि सीता महारानीले भनेकी थिइन्, 'ए बुझेँ-बुझेँ, खुसी लाग्यो ।' अनि उनले भुइँमा खसालेको डबल लेखनाथलाई टिप्न भनिन् । लेखनाथले ती डबल टिपेर खल्तीमा हाले । यत्तिकैमा सीता महारानले सुसारेलाई इसारा गरिन् । चाँदीको छाप्री, किस्ती बोकेकी सुसारे अघि सरेपछि सीता महारानीले लेखनाथलाई टीका र माला लगाइदिएर थैलीमा केही दक्षिणा पनि दिइन् । लेखनाथ बाजेको त्यस्तो दर्जा, मान बढेकामा त्यहाँ उपस्थित सबै खुसी भएका थिए ।
मलाई अहिलेसम्म पनि एउटा कुरा आश्चर्य लाग्छ । भर्खरै प्रजातन्त्र आएर निरंकुश राणाशासन सकिएको वेला श्री ५ त्रिभुवनले कविशिरोमणिको मान दिएका थिए तर, लेखनाथ दाम राखेर दर्शन गर्न पुगे श्री ३ भीमशमशेरकी पत्नी सीता महारानीकहाँ । आजको सार्वभौम पुस्ताका दृष्टिमा लेखनाथको यस्तो व्यवहार सारै अमिल्दो र अनौठो लाग्न सक्छ । तर, त्यसवेलाको समाज र लेखनाथका दृष्टिमा यसलाई सामान्य रूपमा लिनु राम्रो होला । यसको पछाडि ठूलो घटना छ । जुन दुःखी परिवेशबाट अघि बढेर कास्कीको अर्चलेबाट राजधानी आएर पहिले कमान्डर इन चिफ, पछि प्रधानमन्त्रीसमेत भएका भीमशमशेरलाई रिझाउने मौका लेखनाथले पाए अनि जसरी टंगाल दरबारकै भरथेगबाट उनको प्रगतिको ढोका खुल्यो । त्यसै कारण हो, आफ्ना उन्नतिका कारकहरूसामु यस्तो विनम्रता र आस्था प्रदर्शन गर्नु । लेखनाथलाई सबैले दरबारिया र राणानजिकका कविका रूपमा बुझेका छन्, त्यसो त महाकवि देवकोटाले नौवटा भाषामा श्री ३ पद्मशमशेरको स्तुतिगान गाएका छन् । उनलाई चाहिँ दरबारिया र राणानजिकका कवि नभन्ने ? यसरी बुझ्नुपर्छ त्यसवेलाको जुन लहर थियो उनीहरू त्यसैमा बगेका थिए । सत्ता र राज्यका नजिक हुनुका केही कारण हुन्छन् र बाध्यता पनि । अरूले भनेजस्तै उनी दरबारिया थिएनन् ।
पुराणवाचक लेखनाथ...
लेखनाथ पौड्याल आफ्नो जमानाका नामुद पुराणवाचक थिए । उनैका कारण मेरा पिता एउटा साधारण मानिसबाट चर्चित र विशिष्ट बन्नुभएको थियो । यो कुरा सीमित मान्छेलाई मात्र थाहा छ, थाहा पाउनेहरू कति त बितिसके । लेखनाथ र मेरा पिता सोमनाथ घिमिरे व्यासको सानो भेटले हाम्रो परिवारले रामेछापको एउटा दुर्गम गाउँबाट काठमाडौंमा बसोबास गर्ने अवसर पाएको हो ।
उतिवेला रामेछापको ठोसे भाषा पाठशालाका शिक्षक मेरा पितालाई त्यही गाउँ गहिराथोकका नरबहादुर खत्रीले जग्गासम्बन्धी मुद्दा हालेछन् । त्यही मुद्दाको तारेख खेप्न २००० सालमा उनी काठमाडौं आएर आफ्नै गाउँका कप्तान तेजबहादुर कार्कीको घरमा पाहुना बनेर केही दिन बसेछन् । त्यहीवेलाको कुरा हो समुद्रकुमारी राणाले टंगाल दरबारमा भव्य पुराण आयोजना गर्ने भइछिन् । पण्डित ब्राह्मणहरू खोज्नेक्रममा तेजबहादुरकै सिफारिसमा मेरा पितालाई त्यस पुराणमा बस्ने मौका जुरेछ । सप्ताह महापुराणका मुख्यवाचक पण्डित लेखनाथ पौड्याल रहेछन् । उनको पुराणवाचन शैलीबाट थुप्रै प्रभावित रहेछन् । यी कवि समूहको बीचमा बसेर टाउको हल्लाउँदै बीचबीचमा आफ्ना कविताबाट समेत उदाहरण दिँदै पुराण वाचन गर्थे रे । सप्ताहको तेस्रो दिन पुराण वाचन गर्दागर्दै घाँटी दुखेर ब्ााेल्न पनि नसक्ने भएछन्, लेखनाथ । अब के गर्ने ? त्यहाँ वरण भएका ब्राह्मणहरूले ठूलो तनाव झेल्नुपरेछ । त्यही समूहमध्येबाट नै एकजनालाई वाचक छानेर काम चलाउने निर्णय गरिएछ । कामान्डर इन चिफ पद्मशमशेरसहित ठुल्ठूला जर्नेल, कर्नेल, तिनका पत्नी र भाइभारदारहरू पुराण सुन्न आउने हुँदा केही तलमाथि पर्यो भने अनिष्ट हुने डरले उपवाचक उमानाथ -हिरण्यशमशेरको दरबारका पण्डित) सहित सबै पण्डित पुराण वाचन गर्न हच्किएछन् ।
अन्त्यमा त्यही भीडबाट काठमाडौंको नयाँ मान्छे पहाडिया पण्डित सोमनाथ घिमिरेलाई सोधिएछ, 'कसो पण्डितजी सकिन्छ वाचक भएर श्रीमद्भागवत् पुराण सुनाउन ?'
'मेरा पिता पनि पुराणवाचक हुन्, मैले पनि बनारसमा पढेर आई रामेछापको स्कुलमा शिक्षकको जागिर खाए पनि गाउँगाउँमा पुराण भन्ने काम गरेकै छु, पुराण भन्ने शैली जहाँ पनि एउटै हो, किन नसक्नु, सक्छु,' पिताजीले भनेछन् ।
त्यसपछि माइला गुरुज्यू हेमराज पाण्डे, हेडगुरु सोमनाथ सिग्देलसहित पण्डित लेखनाथहरूका अघि एक अध्याय भागवत् पुराण अर्थसहित सुनाउन लगाइएछ । पुराणवाचन सन्तोषजनक भएपछि चौथो दिनबाट पुराणवाचक पण्डित पौड्यालको ठाउँमा कामचलाउ बनेर मेरा पिताले पुराण भनेछन् । सप्ताहको साङ्गेसम्मै उनैले भन्नुपरेछ । उनको वाचनबाट समुद्रकुमारीसहितका राणा परिवार कति प्रभावित भएछन् भने त्यसको ठीक एक वर्षपछि २००१ सालमा कप्तान तेजबहादुरमार्फत सोमनाथ घिमिरेलाई रामेछापबाट काठमाडौं झिकाई शिक्षकको जागिरबाट राजीनामा दिन लगाई समुद्रकुमारीले आफ्नो दरबारमा पुराणवाचक पण्डितमा नियुक्त गरिछन् । पिताजीलाई नै वाचक बनाएर फेरि अर्को सप्ताह आयोजना गरिएछ र घरजग्गा, गाई-गोठसहित दान दिइएछ । टंगाल गहनापोखरीको त्यसै नयाँ घर प्रवेशको साइतका वेला सोमनाथको परिवार २००३ सालमा काठमाडौं आई बसेको थियो ।
लेखनाथका आनीबानी...
कविज्यूको स्वभाव गजबको थियो । हँसिमजाक गर्न पोख्त थिए । कसैले एकादशी कहिले हो बाजे भनेर सोध्यो भने उनी भन्थे, 'मेरो घ्याम्पोमा जहिले चामल सकिन्छ त्यही दिन हो ।' उनका दाह्रीबारे पनि मैले समुद्रकुमारीको मुखबाट गजबको कुरा सुनेको थिएँ । तर, कति सही हो मलाई थाहा छैन । समुद्रकुमारीले भनेकी थिइन्, 'पहिले लेखनाथको गालामा दाह्री थिएन । दाहिने गालामा सानो मासुको डल्लो थियो । पढाउन लाग्दा कहिलेकाहीँ केटाकेटी यो डल्लो के हो ? भनेर सोध्थे । लेखनाथ भन्थे- यो त कविताको पोको पो हो बाबै । चाहिएका वेला यहीँबाट कविता निकाल्छु ।' यसरी आफ्नो गालाको सानो घाउको डल्लो छोप्नैका लागि उनले दाह्री पालेका थिए भन्ने सुनेको थिएँ ।
लेखनाथ वेलावेला सीता महारानीको दरबार सीताभवन -अहिलेको बालमन्दिर, नक्साल) गइरहन्थे । अनि कहिलेकाहीँ टंगाल दरबार पनि आउँथे । समुद्रकुमारीले कुनै विशेष पर्व-तिथिमा लेखनाथलाई भोजन गराउँथिन् । लेखनाथ भान्सामा खान बस्थे धोती फेरेर । एकपटक भोजन गराउँदा तरकारी मुखमा हाल्नेबित्तिकै लेखनाथ निकै झोक्किए र सोधे, 'आज तरकारी किन अलिनो, कोही राणाजी मरे कि क्या हो ?' समुद्रकुमारीले भनिन्, 'कोही मरेको छैन ।' भान्सेबज्यैले लेखनाथलाई काँचो नुन टक्र्याइन् । लेखनाथको क्रोध नाकैमा पुगेछ क्यारे । भनेछन्, 'काँचो नुन खाने गोरु देख्यौ कि के बज्यै मलाई ?'
भीमशमशेरको दरबारमा महिला र केटाकेटीलाई पढाउने काम पहिले पण्डित भुरमणिले गर्थे । उनी यति सोझा प्रकृतिका थिए कि केटाकेटी उनलाई कत्ति पनि टेर्दैनथे । समुद्रकुमारीकी सासू, भीमशमशेरकी माहिली पत्नी बदन दिव्यश्वरीले आफ्नो दरबारमा हजुरिया पण्डित सदाशिव दीक्षित -डा. हेमांग दीक्षितका हजुरबुबा)लाई केटाकेटी पढाउने एकजना शिक्षक खोजिदिन भनिन् । सदाशिवले आफ्ना छोराछोरी पढाउन घरमा पोखराका एकजना विद्यार्थी राखेको छु, उनैलाई ल्याइदिन्छु भने । यसरी लेखनाथ भीमशमशेरको टंगाल दरब्ाारमा १९६८ सालमा प्रवेश गरेका थिए ट्युसन शिक्षकका रूपमा । लेखनाथले भीमशमशेरका छोरा यज्ञशमशेर, नातिहरू वसन्तशमशेर, सुवर्णशमशेर, महावीरशमशेर, सत्यशमशेर, मनशमशेरसहित बुहारी, छोरीहरू समुद्रकुमारी, टुकुमैया आदिलाई नेपाली, संस्कृत, धार्मिक कथालगायतका किताब पढाउँथे । त्यसवेला दरबारका धेरैलाई उनले अक्षराम्भ पनि गराए । उनीहरूलाई पढाउने सन्दर्भमा लेखनाथले १९६८ सालतिर पञ्चतन्त्रलाई संस्कृतबाट नेपालीमा पनि अनुवाद गरे । तर, २००४ सालमा मात्र त्यो किताब प्रकाशित भयो । यो पुस्तक लेखनाथले भीमशमशेरलाई समर्पण गरेका थिए । त्यस किताबमा भीमशमशेरको तारिफ गर्दै लेखनाथले लेेखेका छन्,
हुनुहुन्थ्यो महाराज भीमशमशेर भूपति
जस्का प्रोज्वल देखिन्थ्यो सर्वदा न्यायपद्धति
उहाँको प्रेरणाद्वारा लोककल्याण खातिर
भाषामा लेखिएको यो पञ्चतन्त्र मनोहर
उहाँकै कीर्तिका दिव्य पताका तुल्य भैकन
फर्फराओस् भनी गर्छु श्रद्धासाथ समर्पण
मेरा पिता सीता महारानीकी बुहारी समुद्रकुमारीका पण्डित थिए र लेखनाथचाहिँ भीमशमशेरकी कान्छी श्रीमती सीता महारानीका पण्डित । लेखनाथले तेजशमशेर राणाबाट घरजग्गा दान पाएका थिए र मेरा पिताले समुद्रकुमारी राणाबाट । यस्ता केही समानता थिए मेरो पिता र उनीबीच । र, उनीहरू निकै मिल्ने मित्र पनि बनेका थिए उसवेला । समुद्रकुमारी राणा र मेरा पिताबाट पाएको जानकारी अनि म आफैंले देखेका कति घटनाको आधारमा मेरा मानसपटलमा बसेका केही सम्झनाका आधारमा मैले यहाँ लेखनाथबारे केही बोलेको हुँ ।