जंगली स्याल घरपालुवा कुकुर बनेको नेपालबाटै
आज कुकुर तिहार। बिहानै घर वा टोलका कुकुरलाई फूलमाला लगाइदिएर, मासुभात खुवाएर पूजा त पक्कै गर्नुभयो होला!
पूजा गर्दा तपाईंले तिनका तेजिला आँखा, पुटुक्क परेको रसिलो नाक, धारिला दाँत, लत्रिएका लामा-लामा कान, बाक्लो भुत्ला वा घुम्रिएको पुच्छर कत्तिको ख्याल राख्नुभयो त?
प्रश्न पढ्नेबित्तिकै तपाईंको अनुहारमा हल्का मुस्कान नाच्यो होला। मनमा खेल्यो होला, कुकुरको जातै त्यस्तो, यसमा ख्याल राख्नुपर्ने के नै छ र?
उसो भए लौ सुन्नुस्।
राम्ररी ध्यान दिएर हेर्ने हो भने तपाईंले कुकुरका आँखामा यस्तो तेज पाउनुहुन्छ, जुन उच्च हिमाली भेगको छाला डढाउने तेजिलो घाममा टाढाटाढाका दृश्य हेर्न काम लाग्छ।
कुकुरका नाक प्रायः पानी बगेर रसिलो किन भइरहने होला? कतै त्यो हिमाली चिसोपनाको अनुभूति गराउन त हैन?
कुकुरका भुत्ला राम्ररी हेर्नुस् त, हिमाली भेगको ठिहिरो जाडो छेक्नसक्ने बाक्लो छ।
यो समानता संयोग मात्र हो वा यसमा केही सम्बन्ध पनि छ ?
कुकुरहरूको जैविक विकास क्रमसम्बन्धी प्रकाशित पछिल्लो वैज्ञानिक प्रतिवेदनलाई आधार मान्ने हो भने यसमा संयोगभन्दा सम्बन्ध नै बढ्ता देखिन्छ।
संसारका विभिन्न देशबाट संकलन गरिएको कुकुरको डिएनए परीक्षणबाट वैज्ञानिकहरू के नतिजामा पुगेका छन् भने, घरपालुवा कुकुरको विकास मध्य–एसियाबाट भएको हो। त्यसमा पनि नेपाल वा मंगोलियाबाट कुकुर घरमा पाल्ने चलन सुरु भएको निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।
नेपालमा कुकुर पूजा गरिने भएर मात्र होइन, संसारभरि नै यो जनावरलाई मान्छेको निकट साथीका रूपमा लिइन्छ। यसले घरको रक्षा गर्नु, चोरहरूबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन मद्दत गर्नु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु त सामान्य भए, वैज्ञानिकहरूले कुकुरसँग मान्छेको भावनात्मक सम्बन्ध पनि जोडिएको बताएका छन्। भन्नुको मतलब, मान्छेलाई जस्तो पीडा हुन्छ, कुकुरले त्यस्तै पीडा अनुभूत गर्न सक्छ। वा, मान्छेको खुसी र दुःखलाई जस्ताको तस्तै महसुस गर्न सक्ने खुबी कुकुरमा मात्र हुन्छ।
के कुकुरहरूमा सृष्टिदेखि नै यस्तो खुबी थियो त?
थिएन।
हजारौं हजार वर्षअघि अहिले जुन घरपालुवा जनावरलाई हामी कुकुर भन्छौं, त्यो थिँदै थिएन। योसँग मिल्दोजुल्दो स्याल थियो, जुन अहिले पनि छँदैछ। त्यही जंगली स्याल र मान्छेबीच कुनै जमानामा सुरु भएको घनिष्ठताबाट नै यो धर्तीमा मानव जातिको प्रिय घरपालुवा जनावर कुकुर विकास भएको हो।
वर्षौंदेखि कुकुरको यो रहस्यपूर्ण कथा खोतलिरहेका वैज्ञानिकले जंगली स्यालबाट घरपालुवा कुकुर विकास भएको समय कम्तीमा १५ हजार वर्ष अघिलाई मानेका छन्। पहिले दक्षिणी चीन, मध्यपूर्व, साइबेरिया र युरोपबाट घरपालुवा कुकुर विकास भएको अनुमान थियो। नयाँ अनुसन्धानले भने मध्य–एसियालाई घरपालुवा कुकुरको उद्गम स्थल मानेको छ।
अमेरिकाको न्यूयोर्कस्थित कर्नल युनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसनको एडम बोयको ल्याबरेटोरीले संसारका ३८ देशबाट ५ सय ४९ थरीका कुकुरको डिएनए परीक्षण गरी यो निष्कर्ष निकालेको हो। वैज्ञानिकहरूले एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्व, अस्ट्रेलिया लगायत संसारभरको प्रतिनिधित्व हुने गरी कुकुरको डिएनए संकलन गरेका थिए।
यो अनुसन्धानमा घरमै पालिएका कुकुरको डिएनए परीक्षण गरिएको थिएन। ग्रामीण क्षेत्रका मान्छेसँगै घुलमिल भएर बसोबास गर्ने र त्यहीँका गल्लीमा निस्फिक्री घुमफिर गर्ने कुकुरको डिएनए अनुसन्धानमा सामेल गरिएको वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार कुकुरको सबभन्दा पुरानो पुर्खाको खोजीमा यो परीक्षण केन्द्रित थियो। र, नतिजा निस्क्यो– मध्य–एसियाको नेपाल वा मंगोलिया। यो नतिजा करिब तीन साताअघि नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित भइसकेको छ।
‘घरपालुवा कुकुरको विकास कहिले र किन भयो भन्ने विषयमा धेरै बहस हुँदै आएका छन्,’ अनुसन्धानका लेखक एडम बोयकोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन्, ‘मेरो विचारमा सबभन्दा पहिला हामीलाई यो विकास कहाँ भयो भन्ने थाहा हुनुपर्छ।’
‘पछिल्लो अनुसन्धानले मध्य–एसियाको कुन देशबाट घरपालुवा कुकुर विकास भएको हुनसक्छ भनी हामीले पुर्खाको जरा पत्ता लगाएका छौं, समग्र विकासक्रम पहिल्याउनमा यसले नयाँ दिशा दिएको छ,’ उनले थपे।
घरपालुवा कुकुरको पुर्खाको खोजीमा यो अहिलेसम्मकै गहन निष्कर्ष भए पनि अन्तिम भने नभएको वैज्ञानिकहरू बताउँछन्।
एडम बोयको आफैं पनि यो नतिजाले वैज्ञानिकहरूबीच लामो समयदेखि जारी बहस अन्त्य नहुनेमा सहमत छन्। ‘यो अनुसन्धान नै अन्तिम हो भनेर म भन्दिनँ,’ उनले भने, ‘यसले आगामी दिनमा थप अनुसन्धान गर्न सहयोग भने पु¥याउनेछ।’
घरपालुवा कुकुरको पुर्खाको खोजीमा दत्तचित्त केही वैज्ञानिक एडम बोयकोको निष्कर्षसँग सहमत छैनन्।
स्विडेनको स्टकहोल्मस्थित रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक पिटर साभोलेनिनले यो विषयमा गहन अनुसन्धान गरेका छन्। उनको निष्कर्ष छ, घरपालुवा कुकुरको विकासक्रम दक्षिणपूर्वी एसियाबाट सुरु भएको हो। उनी दक्षिणी चीन यसको उद्गम हुन सक्ने बताउँछन्।
नयाँ अनुसन्धानमा दक्षिणी चीनमा पाइने कुकुरको डिएनए नमूना नसमेटिएको औंल्याउँदै उनले ‘द क्रिश्चियन साइन्स मनिटर’ सँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरू दक्षिणी चीनबाट विकास भएको विश्वास गर्दैनन् भने कम्तीमा त्यहाँका कुकुरको डिएनए परीक्षण गरेर यो मान्यतालाई वैज्ञानिक रूपमा अस्वीकार गर्ने हिम्मत गर्नुपथ्र्यो।’
बोयकोको भने आफ्नै तर्क छ।
‘हो, बढीभन्दा बढी ठाउँबाट डिएनए संकलन गर्न सकेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीले उत्तरी भियतनामका कुकुरको नमूना परीक्षण गरेका छौं, यो चिनियाँ सीमा नजिक नै पर्छ।’
अमेरिकाकै लस एन्जेल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका रोबर्ट वेन पनि एडम बोयकोको निष्कर्षसँग सहमति राख्दैनन्। उनले डिएनएका पुराना अवशेषको अनुसन्धानबाट सन् २०१३ मै घरपालुवा कुकुरको विकास युरोपबाट भएको निष्कर्ष निकालेका थिए।
अक्सफोर्ड युनिभर्सिटीका ग्रेगर लार्सनले भने यो नतिजालाई ‘उपलब्धिमूलक’ भनी व्याख्या गरेका छन्।
...
कसरी भए कुकुर मानिसको साथी?
कुकुर संसारकै पहिलो घरपालुवा जनावर हो भन्नेमा वैज्ञानिकहरू सहमत छन्। तर, मानिसले नियोजित रूपमै यसलाई आफ्नो साथी बनाएका होइनन्।
यसमा सबभन्दा विश्वासिलो अनुमान के भने, मानिसहरू समूहमा बस्न थालेपछि जंगलका स्याल आहाराको खोजीमा मानव बसोबास छेउछाउ जान थाले। मानिसले आफूले खाएर फाल्ने खानेकुरा नै उनीहरूको आहारा बन्दै गयो। पछि यो यति नियमित हुँदै गयो, मानिसको समूह शिकारका लागि एक ठाउँबाट अर्को ठाउँ चहार्दा पनि ती स्याल पछ्याउँदै हिँड्न थाले।
मान्छेलाई पनि उनीहरूको साथ सहज लाग्दै गयो। शिकारको निम्ति जंगल–जंगल भौंतारिँदा स्यालको साथ पाएर एक किसिमले सुरक्षाको अनुभूति पनि भयो। त्यसैले, न मान्छेले तिनलाई लखेटे न तिनले मान्छेलाई पछ्याउन छाडे।
गत वर्षको एक वैज्ञानिक अनुसन्धानअनुसार स्याल र कुकुरबीच एउटै मात्र असमानता भेटिन्छ। वर्षौंदेखि मानिससँग घुलमिल भएर बस्दा कुकुरको पाचन प्रणाली र पाचन रस लगभग मान्छेकै जस्तो भइसकेको छ। हजारौं हजार वर्षदेखि मान्छेले खाने चिजमै निर्भर रहँदै आएकाले कुकुरको पाचन रस र प्रणालीमा त्यसैअनुरुप परिवर्तन आएको वैज्ञानिकहरूको विश्वास छ।
उक्त अनुसन्धानमा सामेल स्विडिस समूहका अनुसार मान्छेले खाने आहारा मन पर्ने भएकैले कुकुर मानव जातिसँग घुलमिल भएको हो। मान्छेलाई पनि उनीहरूसँग बढ्ता सहज अनुभूति हुँदै गएकाले यो सम्बन्ध प्रगाढ बन्दै गएको वैज्ञानिकहरूले अनुमान गरेका छन्।
...
कुकुरको पुर्खाको खोजी किन?
वैज्ञानिकहरूले यति लामो समय खर्च गरेर कुकुरको पुर्खामाथि अनुसन्धान गर्नुको कारण के त?
‘कुकुरको पुर्खाको खोजी भनेको एक किसिमले मान्छेकै पुर्खाको खोजी हो,’ एडम बोयकोको भनाइ छ, ‘कुकुरको कथाले वास्तवमा हामीलाई मानवीय विकासक्रमकै नयाँ कथा थाहा पाउन मद्दत गर्छ।’
पहिलो घरपालुवा जनावरका रूपमा कुकुरको इतिहासले मानव इतिहासकै पृष्ठभूमि छर्लंग पार्ने उनले बताएका छन्।
अर्का वैज्ञानिक पिटर साभोलेनिन पनि कुकुर र मानव इतिहासबीच अत्यन्त निकट सम्बन्ध रहेको बताउँछन्। ‘हजारौं हजार वर्षदेखि कुकुरले मान्छेलाई पछ्याउँदै आएका छन्,’ उनले भने, ‘कुकुरको इतिहास खोज्नु भनेको मान्छेकै इतिहास थाहा पाउनु हो। र, यो एउटा देशका लागि मात्र होइन, हरेक देश र हरेक महादेशका हकमा लागू हुन्छ।’
‘त्यसैले, मानव इतिहासको खोजी हाम्रा लागि महत्वपूर्ण छ भने कुकुरको इतिहास पनि उत्तिकै महत्वपूर्ण हुन्छ, यसलाई बेवास्ता गर्न मिल्दैन,’ उनले भने।
मानिस र कुकुरको यो घनिष्ट सम्बन्धलाई नेपालले जति अरू कसले आत्मसात गरेको होला, जहाँ सांस्कृतिक रूपमै कुकुरलाई फूलमाला लगाएर पूजा गर्ने चलन छ।
तपाईंले बिर्सनु त भएन आज कुकुर पूजा गर्न!
(विभिन्न एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: मंगलबार, कार्तिक २४, २०७२
SetoPati
