
किसको प्रचारप्रति अरुणिमा असन्तुष्ट
लक्ष्मण सुवेदी, काठमाण्डौ, २०६६ फाल्गुन २१, शुक्रवार
कथा मन परे र चरित्र तगडा भए किस सिन दिन आपत्ति नहुने धारणा राख्छिन् नायिका अरुणिमा लम्साल । तर, मोफसलका दुई दर्जन हलमा शुक्रबारदेखि प्रदर्शन हुन लागेको आफ्नो मान्छे आफ्नै हुन्छ फिल्ममा नवनायक मुकेश ढकालसँग आफूले दिएको टंक किसको प्रचारप्रति भने उनले असन्तुष्टि जनाएकी छिन् ।
पहिला निर्माता/निर्देशकसँग मिडियामा नल्याउने सर्तमा सो किस सिन सुटिङ गरिए पनि उनीहरूले प्रचारमा ल्याएकाले आफ्नो चित्त दुखेको अरुणिमा बताउँछिन् । भन्छिन्, 'चरित्रमा डुबेर किस सिन गरेँ । तर, निर्माता/निर्देशकसँग पहिल्यै सो दृश्य मिडियामा प्रचार नगर्ने सहमति भएको थियो । उहाँहरूले त्यसैलाई हाइलाइट गर्नुभएको छ ।'
करिब एक मिनेट लामो सो किस सिन कथाको मागअनुसार नै गरेको दाबी गर्दै अरुणिमा भन्छिन्, 'हलमा हेर्न दर्शकलाई मनोरञ्जन होस् भनेर सट दिएँ । तर, उहाँहरूले सम्झौताबमोजिम काम गर्नुभएन । आउनु आइहाल्यो । अब मलाई आपत्ति छैन ।' आफू घरपरिवारमा त्यस्ता कामुक दृश्यले असर पार्ला भन्ने ठानेर उक्त किस सिन मिडियामा नल्याउने सर्त राखेको बताउँदै उनले भनिन्, 'अब मेरो केही गुनासो छैन । हुनु भइहाल्यो । मेरो परिवार बुझ्झकी छ । केही असर पदैन ।'
फिल्ममा हेर्दा टंक किसजस्तो देखिने भए पनि उक्त सिन टंक नभई 'टच सिन' मात्र भएको दाबी उनले गरेकी छिन् । 'मैले ओठ मात्र चलाएकी छु । त्यो टंक किस होइन,' उनी भन्छिन्, 'त्यो किस सिन मात्रै हो । फिल्म हेर्दा जो-कोहीले पनि बुझ्छ ।' सो दृश्य छायांकन गरेर गएपछि मात्रै आफ्नो पति अमितलाई जानकारी दिएको अरुणिमाले बताइन् । 'श्रीमान्लाई आज मैले यस्तो सिन दिएँ भनेँ । उहाँले केही प्रतिक्रिया जनाउनुभएन,' अरुणिमाले भनिन्, 'त्यो त अभिनय मात्रै हो । उहाँ मेरो पेसा बुझ्नुहुन्छ । त्यसकारण उहाँलाई यस्तो कुरामा चासो हुदैन ।'
यसभन्दा पहिला अरुणिमाले अभिमन्यू फिल्ममा नायक निखिल उप्रेतीसँग चुम्बन दृश्य दिएकी थिइन् । 'सुटिङको वेलामा सयौँ मान्छेको भीड हुन्छ । मासमा किस सिन गर्नुपर्ने भएकाले कुनै फिलिङ्स नै आउँदैन,' उनी भन्छिन्, 'म मात्र काममा ध्यान दिन्छु । दर्शकले मनोरञ्जन लिऊन् भनेर पनि त्यस्ता दृश्य दिइन्छ । यसमा आपत्ति छैन ।'
फिल्ममा अर्को एउटा दृश्यमा अरुणिमाले लगाएको मिनिस्कर्ट पंखा लगाएर उठाइएको छ । त्यो कामुक दृश्य पनि सहमतिमै गरेको खुलासा अरुणिमाको छ । 'कलेजका उटपट्याङ केटाहरूले पंखा लगाएर मेरो स्कट उडाउँछन् । दृश्य रमाइलो छ,' फिल्ममा आफूले पाएको रोलअनुसार निकै राम्रो काम गरेको जिकिर गर्दै उनी भन्छिन्, 'पंखा लगाएर स्कर्ट उडाए पनि मैले भित्र हापपाइन्ट लगाएकी छु । सिन भल्गर लाग्दैन ।'