गाली मात्र गरेको हो
राजकुमार जोशी पहिलादेखि नै राम्रो रोल चाहियो, लामो रोल चाहियो भनेर अनुरोध गर्थे। त्यसपछि मैले उनको प्रतिभालाई हेरेर सानो रोल भए पनि दिएको हुँ। सुटिङका क्रममा उनले टेक खान पुगे। यस सम्बन्धमा मैले कमेन्ट गरेको हुँ। तर उनी सुटिङस्पटमा ठूल-ठूलो स्वरले कराउन थाले। कलाकार भएपछि सहनशील त हुनु नै पर्यो। मैले पनि पहिला निर्देशकबाट टेक खाँदा गाली खानुपरेको थियो। तर उनी अनुशासनमा बसेनन्, नियममा बसेनन् अनि दीपा र अन्य साथीहरुले गाली गरेकोसम्म हो।
- दीपकराज गिरी- कलाकार तीतो सत्य युनिट
- राजकुमार जोशी Version of story
ममाथि दुर्व्यवहार भयो
म २०३९ सालदेखि कला क्षेत्रमा प्रवेश गरेको हुँ। सुदूर पश्चिमाञ्चल क्षेत्र धनगढीबाट विभिन्न समयमा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै आएको छु। सात-आठ वर्षदेखि अहिलेसम्म राजधानी आई कला क्षेत्रमा लागि परेको छु। यस अवधिमा मैले चलचित्रहरु अंजुली, यस्तै रहेछ जिन्दगी, मनको टुक्रा, इन्द्रावती, सुखदुःख, उपहार, ठूले, ख्यालख्यालैमा, लडाइँ, ममता, उकाली ओराली, हमी तीन भाइ, को होला मेरो मायालु, ए पण्डित बाजे, अभिमन्यू, भाग्य विधाता र मर्ममा विभिन्न भूमिका निर्वाह गरी अभिनय गरिसेको छु।
त्यस्तै गरी नेपाली च्यानलहरुबाट प्रसारित टेलिशृङ्खला हिजो आजका कुरा, कसलाई आफ्नो भनुँ, दर्शन जिन्दगीको, अपराध, पुष्पाञ्जली, लुकामारी र तीतो सत्यलगायतका विभिन्न टेलिशृङ्खलामा अभिनय गरिसकेको छु। हालै मात्र जातीय समानताका लागि कैलालीबाट निर्माण गरिएको ‘ममता’ टेलिचलचित्रमा निर्देशन सहयोगी र कलाकारको रुपमा पनि काम गरेको छु।
टेलिसिरियलमा काम गर्ने सिलसिलामा गत माघ २२ गते ‘तीतो सत्य’मा छायांकनका क्रममा उक्त शृङ्खलाका निर्देशक दीपकराज गिरी, दिपाश्री निरौला र उक्त युनिटका एक प्राविधिकबाट ममाथि सांघातिक आक्रमणको प्रयास भएकाले कामनाका पाठकसमक्ष उक्त घटनाका बारेमा जानकारी गराउन चाहन्छु।
तीतो सत्यमा मैले यसअघि पनि धेरै पटक अभिनय गरिसकेको थिएँ। अभिनय गर्ने क्रममा मलाई माघ २२ गते तीनकुनेको सुटिङ लोकेसनमा बोलाइएको थियो। म १० बजे बिहान कलंकीस्थिति आफ्नो निवासबाट निस्किएर ११ बजेतिर सुटिङस्थलमा पुगें। बाटोमा ट्राफिक जामका कारण अलि ढिलो हुन पुग्यो। स्पष्टमा पुग्दा सुटिङ शुरु भैसकेको थिएन। तर पनि ढिलो आएको कारण मैले खप्की खानुपर्यो। मेरो ढिलाइले गर्दा सुटिङमा अप्ठ्यारो हुन गएको भए म जाऊँ त भन्दा अहिले जानु पर्दैन, बस्दै गर्नु भनेर मलाई सम्झाइयो। म सुटिङ कार्यलाई सघाउँदै बसें।
दिउँसो नास्ता गर्ने क्रममा मलाई एउटा भूमिकाको लागि बोलाइयो। अहिलेलाई केही नगरौं पछि लामो भूमिका भए गरौंला भनेर म बिदा हुन थाले। तर दीपकराज गिरीले जंगिँदै यहाँ आएर यस्तो कुरा गर्ने - तपाईंलाई थाहा छ, यो कस्तो किसिमको रोल हो भनेर - तपाईंले स्क्रिप्ट पढ्नु भएको छ - भने। म सुटिङ अवधिभर युनिटसँगै बसें। सुटिङको लागि तीनकुनेस्थित पेट्रोलपम्पमा पुग्नुअघि मलाई मेरो संवाद अम्झाइयो र सो पम्पमा सुटिङ गर्न थालियो। सुटिङ एकदमै हतार भैरहेको थियो। मैले अभिनय गर्दा केही समयसम्म संवाद दोहोर्याउनुपर्यो।
त्यसबीचमा दीपाश्रीले मलाई १७-१८ वटा चलचित्रमा खेलेको रे १ संवाद बोल्न पनि आउँदैन - भन्दै सबैको अगाडि बेइज्जत गरिन्।चारैतिरबाट सुटिङ हेर्न आएका दर्शकको अगाडि त्यसो भन्दा पनि मैले केही प्रतिउत्तर दिइन। किनकि त्यो बेला सुटिङको समय थियो। केही समयपछि मेरो टेक ओके भयो। करिब ५ मिनेटको अन्तरालमा सुटिङ प्याकअप पनि भयो।दीपकजीले एउटा डाइलग कण्ठ गर्न नसक्ने मान्छेले लामो रोल गर्छु भनेर फूर्ति लगाउने भन्दै सबै दर्शकको अगाडि पुनः गाली गर्न थालेपछि मैले पनि जतिसुकै व्यावसायिक कलाकारले पनि टेक खान सक्छ सर, कहिलेकाहीं तपाईंलाई पनि यस्तो हुन सक्छ भन्ने जवाफ दिएँ। त्यसपछि दीपकले तिमी बढ्ता कुरा नगर १० बजे बोलाएको मान्छे ११ बजे आउने अनि यस्तो कुरा गर्ने भनी झपार्न थाले।
मैले पनि जवाफमा बिहानदेखि बेलुकासम्म सुटिङस्पटमा बसेको छु। एक छाक खाना र दिउँसोको नास्ता पनि नगरेर बिनापैसा अभिनय गर्दा पनि मैले धोका दिएको आरोप लगाउन त भएन नि १ बरु मैले गरेको अभिनय मन परेको छैन भने सिन हटाइदिए हुन्छ। यदि मेरो अभिनयको सिन राखिएमा मेरो नाम पनि राख्नुहोला, किनकि पहिले पनि काम गर्दा धेरै पटक क्याप्सनमा मेरो नाम छुटेको थियो।’
त्यसपछि दीपाले त्रि्रो नाम किन राख्ने - ‘तिमी को हौ र - यस्ता मान्छेको नाम राखिँदैन भनेर भनिन्। मैले तत्कालै तपाईं मलाई काम गर्न बोलाउने काम गरिसकेपछि नाम चाहिँ नराख्ने यो त हामीजस्ता कलाकारमाथि अन्याय र श्रम शोषण भयो नि, भने। तत्पश्चात् दीपक र दीपाले ममाथि आक्रमण गर्न खोजे। त्यत्तिकैमा सुटिङका एक प्राविधिक आएर मलाई मारिदिन्छु भन्दै ट्राइपोर्ट लिएर आक्रमण गर्न खोजे। तर जम्मा भएका स्थानीय बासिन्दाले उनीहरुलाई समातेर एकातिर लगेपछि म ठूलो आक्रमणबाट जोगिएँ।यसरी कुनै सम्झौता नै नगरेको अवस्था र रोलको बारेमा कुनै स्पष्ट जानकारी नै नदिई सुटिङ स्पटमा बोलाइएको भए तापनि मलाई अनेक बहानामा मानसिक यातना दिइयो। विभिन्न विकृति र विसंगतिमाथि घोचपेच गरी चर्चाको शिखरमा पुग्न सफल जिम्मेवार कलाकारबाट यस्तो व्यवहार हुनु कदापि ठीक होइन। त्यस बखत मेरो धैर्य टुटेको भए त्यहाँ भिडन्त नै हुन सक्ने अवस्था थियो तर मैले आफ्नो धैर्यलाई कायम राखेका कारण त्यस्तो दुर्घटना हुन पाएन।
- राजकुमार जोशी -कलाकार)
source - Kamana (218)