नारायणगोपालको भद्रगोल तबला
रामेश |
२०७१ मङ्शिर २० शनिबार
२०१९ सालमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा ओखलढुंगाबाट प्रतिनिधित्व गर्दै रायन र म आयौं। लोकगीत सम्मेलन सम्पन्न भइसकेपछि रेडियो नेपालले बालाजुमा बिदाइ पार्टी आयोजना गरेको थियो। त्यहीँ नारायणगोपाललाई मैले पहिलोपल्ट देखेँ। त्यो बेला उनका गीतहरू रेकर्ड भएर श्रोतामाझ आइसकेको थिएन।
हामीले पनि उनको गीत नसुनेकाले त्यति मतलब राखेनौं। तर रेडियोका वाद्यवादकहरू भन्थे, 'स्वर त निकै राम्रो छ। चाँडै कलकत्तामा रेकर्ड भएर उसको गीत बजारमा आउँदैछ।' नभन्दै ओखलढुंगा फर्केपछि रेडियोबाट उनको स्वरमा गीतहरू सुनियो- 'स्वर्गकी रानी, मायाकी खानी', 'भो भो नसोध अब के मलाई', 'ए कान्छा ठट्ट्रैमा यो बैंस जान लाग्यो'। स्वर मस्त र मादक थियो।
गोपाल योञ्जन र नारायणगोपाल पारिजात दिदीकहाँ आउँदा उनीहरुको मितेरी जीवनका झाकीझलक नजिकैबाट हेर्ने र सुन्ने अवसर मिल्थ्यो। अहा ! कति वजनदार,कति गहकिलो मित्रता! क्या उल्लास! चुटकिलाका वर्षा! रमाइला, फर्स्याइला, रंगिला मान्छेहरु! उनीहरुले नजानेको क्यै छैनजस्तो। किहलेकाही त लाग्थ्यो, यिनै रहरलाग्दा उम्दा कलाकारहरुसँग जीवनभरि सँगै रहन पाए जीवन कति सार्थक र सुखद हुँदो हो !
गाउँमा शिक्षक थिएँ। दिक्तेल जिल्ला, बुइपाभन्दा तल खाम्तेल गाउँमा। एउटा सानो ट्रान्जिस्टर साथी थियो। ठाउँ पर्यो त्यस्तै- रेडियो नेपाल टिप्नै नमान्ने... कोप्चेरो। तर, रेडियो खर्साङचाहिँ दन्केर बज्ने।
खर्साङ रेडियो दिनदिनै सुन्दा दार्जिलिङका कलाकारसँग मेरो परिचय हुँदै गयो। सायद आठदसजनाको टिम थियो। शरण प्रधान, रञ्जित गजमेर, गोपाल योञ्जन, कर्म योञ्जन, अरुणा लामा, जितेन्द्र बर्देवा र अरू।
'छुइयामा हाहाहा, छुइयामा हा...
वर्ष दिनको आँसु खसाली
मन रुन्छ मेरो डाँडापारि'
पछि विस्तारै अरू गीतहरू पनि निरन्तर सुनिन थाले- 'यहाँ फूल नफुलेछ, बहार आउन नै भुलेछ', 'हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो', 'जाउन फूलको देशमा', 'किन यो मन उदास छ मेरो'...। अम्बर गुरुङको 'नौ लाख तारा'को चर्चा पहाडतिर पनि चल्दै थियो।
खर्साङबाटै शान्ति ठटालका स्वरमा गीतहरू पनि सुन्न थालियो। यसरी एउटा गरिब गाउँमा दार्जिलिङका कलाकारसँग खरसाङ रेडियोबाट मेरो चिनजान अनि गीतिसम्बन्ध रहन पुग्यो।
नारायणगोपालको स्वरसँग दार्जिलिङ, कालिङपोङ पनि निकै प्रभावित रह्यो। उनलाई उताबाट निम्तो आइरहन थाल्यो। उनी बराबर उतै जान थाले। दार्जिलिङका गोपाल योञ्जन पनि उनको स्वरसँग निकै आकर्षित थिए।
आफूले रचना गरेका गीतसंगीतहरू उनको स्वरमा गवाउने चाहना राख्थे। साथीहरूले कुरा बुझे। त्यो उद्देश्य पूरा हुने गतिलो माध्यम मितेरी साइनो नै थियो। बाँधिदिए यी दुईलाई गाढा मितेरी साइनोमा।
नारायणगोपाल गुरुवाचार्य नेवार र गोपाल योञ्जन तामाङ जातिका थिए। तर, मित्रताले जात धर्म हेरेन। उनीहरूको मितेरी साइनोबाट नेपाली गीतिढुकुटी निकै सम्पन्न र समृद्ध भएको गीतसंगीत प्रेमीहरूले अनुभव गरे।
'तिम्रोजस्तो मुटु मेरो पनि...', 'मेरो गीत मेरो प्रतिविम्ब हैन', 'मेरो गीत म उभेको धुलोले सुनोस्', 'सबलाई रिझाऊँभन्दा पसलमा बेचिएछु', 'सारा दिन अरूलाई बाडेँ'जस्ता कैयौं गीत प्रचारप्रसारमा आउन थालेपछि प्रशंसकहरूले मुख खोले, 'क्या संगीत, क्या स्वर ! गीतहरू पनि कति स्तरीय र भावपूर्ण।'
पारिजातको प्रयास
२०१९ सालको रेडियो नेपालको लोकगीत सम्मेलनपछि हामी ओखलढुंगा घरतिर फर्केका थियौं। तर कलाकार हुने सपना बोकेर फेरि २०२१ सालतिर काठमाडौं झर्यौं। २०२३ सालसम्म करिब तीन वर्ष रेडियो नेपालमा लोकगीतहरू गाएपछि रेडियोसँगको सम्बन्ध टुट्यो।
रेडियो नेपालमा हाम्रो थोरै पारिश्रमिक पनि किर्ते गरेर खाइदिने भ्रष्टहरूको नाममा भ्रष्टाचारको मुद्दा सप्रमाण दर्ता गरायौं। भ्रष्टहरूले 'अब रेडियो नेपालमा गीत गाउन आउलास् भन्ने खबर पठाए।'
घर फर्कने तरखर गर्दागर्दै पारिजात दिदीले हामीसँग भेट्ने चाहना गर्नुभएको खबर आयो। रेडियोमा सुनिने हाम्रा पूर्वेली लोकगीतहरू उहाँलाई धेरै मन पर्दो रहेछ। भेटघाट विस्तारै बाक्लिएपछि दिदीलाई हामीले संकलन गरेका लोकगीत र आफैंले सिर्जना गरेका गीतसंगीतहरू सुनाउन थाल्यौं।
निकै दिनपछि उहाँले भन्नुभयो, 'तिमीहरूले गाएका लोकगीतहरू अनि आफैंले रचेका शब्द र संगीतहरूमा आफ्नैखाले विशेषता छ। मौलिक शैली र गुण छ। मलाई लाग्छ, तिमीहरूको प्रतिभा सबैमा पुर्याउन आवश्यक छ।' नभन्दै 'राल्फा' समूह निर्माण गरेर उहाँले साहित्य र संगीत विधामार्फत हामी र हाम्रा कृतिहरूलाई आफ्ना परिचित व्यक्तित्वमाझ लैजान सुरु गर्नुभयो।
गोपाल योञ्जन पारिजात दिदीकी ठूलीआमाको छोरा हुनुहुन्थ्यो। आफ्नो जाति र परिवारबाट एकजना कलाकार राष्ट्रिय परिवेशमा झुल्किँदा उहाँलाई गौरवबोध हुन्थ्यो। सुकन दिदी पनि उत्तिकै खुसी।
बेलाबेलामा दिदीहरूलाई भेट्न गोपाल योञ्जन आइरहने गर्दा उनलाई नजिकैबाट देख्न, सुन्न र भेट्न पाउँदा हामीलाई आनन्द लाग्थ्यो। केही बुझ्ने, जान्ने, सुन्ने र सिक्ने मौका पाइने आशामा हामी हुन्थ्यौं।
यसरी गोपाल योञ्जन र नारायणगोपाल दुई मीतज्यू समयसमयमा दिदीकहाँ आउँदा उनीहरूको मितेरी जीवनका केही झाँकीझलक नजिकैबाट हेर्ने र सुन्ने अवसर मिल्थ्यो। अहा ! कति वजनदार, कति गहकिलो मित्रता !
मेरो चढ्दो उमेरले पनि त्यस्तै मित्रताको रहर गर्यो। क्या उल्लास ! चुट्किलाहरूका वर्षा ! रमाइला, फस्र्याइला, रंगिला मान्छेहरू ! उनीहरूले नजानेको क्यै छैनजस्तो। कहिलेकाहीँ त लाग्थ्यो, यिनै रहरलाग्दा उम्दा कलाकारहरूसँग दिनभरमात्र हैन, जीवनभरि सँगै रहन पाए जीवन कति सार्थक र सुखद हुँदो हो !
त्यही सिलसिलामा एक दिन मीतज्यूहरूलाई दिदीले कोठामा बोलाउनुभयो। साँझ दुवै मीतज्यू आए। हार्मोनियमको व्यवस्था गरिएको थियो। दिदी र अरू श्रोताहरूको आग्रहमा नारायणगोपालले 'आज र राति के देखेँ सपना मै मरी गएको' र गोपाल योञ्जनले 'पिउँछु अधर सुराको बेहोश बेहोश भएर' भन्ने गीत गाए।
जोर गितार बजाएर गीत गाउन सुरुमात्र के गरेका थियौ.. ल नारायणगोपाल तबला बजाउन पो सुरु गरे। छ मात्राको दादरा तालमा गीत थियो। एकैछिनमा भड्याङ र भडुङ जथाभावी अनेक खाले तलमा पो बजाउन थाले। आज पनि म सोच्छु, के नारायणगोपालले भाङभुत्ते तबला बजाएर हाम्रो तालसम्बन्धी योग्यताको जाँच लिन खोजेका थिए वा गीत भत्काएर बिजोग देखाउन नियतपूर्वक भद्रगोल ताल कानेका थिए ?
त्यसपछि दिदीको इच्छाअनुसार हामीहरूले गोपाल योञ्जन र नारायणगोपालसमक्ष दिदीलाई उत्कृष्ट लागेका राल्फाका छानिएका गीतहरू सुनायौं- 'रातसित मर्नेलाई मैले ढुंगाको चिसो लेउभरि पाएँ', 'बालुवा, किथ्रा, मरुभूमि', 'भोकै मर्ने महाकविका पेटका सारंगीहरू', 'कहाँ थियो धरती मेरो कहाँ थियो आकाश', 'कोसीछेउ उभेको सिमल जत्ति नि बाँच्दिनँ म'।
हामीले गाएपछि उनीहरूको के प्रतिक्रिया हुन्छ, त्यो बुझ्न दिदी साथै हामी पनि उत्सुक थियौं। तर, अहँ त्यहाँ कुनै प्रतिक्रिया थिएन। मानौं, हामी कुनै गायक, संगीतकार नै होइनौं। हामीले कुनै गीत गाएकै छैनौं।
दिदी चाहनुहुन्थ्यो, नाम चलेर शक्ति र विश्वास कमाएका उनीहरूले गाउँपहाडबाट आएका यी नयाँ चिचिलाहरूलाई उठाउन र चिनाउन केही अवसर, केही साथ सहयोग दिऊन्। तर हामी भएर पनि नभजस्तै भयौं त्यहाँ।
त्यो दिन गोपाल योञ्जन र नारायणगोपालसँगको भेटघाट र उनीहरूको व्यवहारबाट हामी निराश भयौ अपमानित भएको अनुभव भयो। दिदी त आक्रोशित नै हुनुभयो। 'के कुरामा उनीहरूको भन्दा तिमीहरूको गीत कमजोर छ?
गीतको स्तरीयता, विविधता, संगीतरचना, स्वर र प्रस्तुतिहरू केमा? मलाई लाग्छ, यिनीहरूलाई पनि राल्फाको गीतसंगीतको स्तरीयता बुझ्न निकै समय लाग्छ। सायद नबुझेरै केही नबोलेका होलान् कि? यो कुरा पछि समयले बताउला।'
सुकन दिदीचाहिँ अर्कै कुराबाट दु:खी हुनुभएको देखिन्थ्यो, 'बाबु हो, आज गोपालले रक्सीको गीत गायो। संगतले नामचाहिँ कमायो तर उसको घरपरिवार त दु:खी नै होला। यिनीहरूको घर त बुद्धले बास गरेको घर हो।
कस्ता बुद्धमार्गी भने सागपातमा भएका किराहरू मर्लान् भनेर एकएक पत्ता केलाएर खाने। भुइँमा हिँड्दा किरा कमिला मर्लान् कि भनेर पाउ चालीचाली हिँड्ने। जाँड, रक्सी र अन्य कुनै पनि नशा बर्जित छ त्यो घरमा।
गोपाल यस्तो होला भनेर त उनीहरू सपनामा पनि सोच्न सक्तैनथे। तर आज गोपाल यस्तो भयो- रक्सी नभई गाउनै नसक्ने, बाँच्नै नसक्ने। आजै त हाम्रैअघि 'पिउँछु मुहान सुराको' भनेर गायो। नसोचेको कुरा भयो बाबु आज।'
यस्तैमा केही दिनपछि अर्को गीत रेडियोमा बज्यो :
'गल्ती हजार हुन्छन् यहाँ होश हरा'को बेला
एक्लै तिमी नआऊ म मात्तिएको बेला।'
गोपाल योञ्जनको रचना, संगीत अनि नारायणगोपालको स्वरमा यो गीत सुनिसकेपछि दिदीहरूले गोपाल र रक्सीका बारेमा कुरै गर्न छाड्नुभो। 'गोपाल अब हाम्रो रहेन। अर्कै भइसक्यो', मलिन आवाजमा सुकन दिदीले भन्नुभो। पञ्चायती व्यवस्थाको सरकारले समेत 'यो त अति नै भयो' भनेर त्यो गीत रेडियो नेपालबाट बज्न प्रतिबन्धै लगाइदियो।
भूपि दाइसँग दिदी राल्फाका गीतहरूबारे कुरा गरिरहनुहुन्थ्यो। कहिलेकाहीँ त निकै गरमागरमी बहस पनि चल्थ्यो। दिदी बराबर भनिरहनुहुन्थ्यो, 'के कुरामा राल्फाका गीतहरू पछि छन्? नेपाली गीतसंगीत क्षेत्रमा यी आउलान् र हाम्रो अस्तित्व हल्का होला भन्ने सायद धेरैलाई डर र ईर्ष्या छ।
कालो व्यवस्था उदांग हुने डर सरकारलाई पनि छ। त्यसैले सबै मिलेर राल्फालाई उठ्न र फैलिन दिँदैनन्। तिम्रो यसमा के विचार छ? सूर्य आकाशमा हुन्छ, हत्केलाले छोपेर छोपिँदैन कि !'
त्यो साँझपछिको भेटघाटमा मीतज्यूहरूप्रति हाम्रो जुन आकर्षण र मोह थियो। विस्तारै हराउँदै गयो। तर अनेक घटनाले हामीलाई सँगसँगै जोड्दै लान पनि थाल्यो। वीरगन्जका एकजना राणालाई लोकगीत सम्मेलन चलाउने लहड चलेछ। राल्फालाई पनि निम्तो आयो।
दिदीले हामीलाई सहभागी हुन पठाउनुभयो। सम्मेलनमा निकै घच्चाघच्ची पर्यो हाम्रो। 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा' भन्ने गीत नै मुख्य आकर्षण थियो मीतज्यूहरूको भने हामीले 'राम राम रेलिसिक्री रामबेली बनमा', 'झिल्लीमाईको जन्ती नै आए दमाहा ठोकेर', 'रातोमाटो सिन्दूरको साटो', 'रेशम', 'भोल्गाकी सानी नानी'जस्ता गीत गायौं। सम्मेलन सकिएपछि भर्खर बस्ती बस्न सुरु गरेको हेटौंडामा हेटौंडावासीले हाम्रोमात्र कार्यक्रमको विशेष आयोजना गर्यो। पूर्वेली लोकगीतहरू उराल्यौं हामीले।
एउटा सुखद संयोग, झलकमान र जितबहादुर गन्धर्वसँग त्यहीँ हाम्रो भेट भयो र उनकै स्वरबाट पहिलोपल्ट 'बाबाले सोध्लान् नि खै छोरा भन्लान्' भन्ने मार्मिक लोकगीत सुन्यौं।
हामी र उनीहरु
एक दिन मीतज्यूहरू र हामीलाई भारतीय सांस्कृतिक सहचरीको आयोजनामा सांस्कृतिक साँझ मनाउने निम्तो आयो। मेहफिलमा मीतज्यूहरूले गीत गाइसकेपछि हामीलाई अनुरोध आयो। जोर गितार बजाएर गीत गाउन सुरुमात्र के गरेका थियौं... ल, नारायणगोपालले तबला समाते र बजाउन पो सुरु गरे !
छ मात्राको दादरा तालमा गीत थियो। 'रातसित मर्नेलाई मैले ढुंगाको चिसो लेउभरि पाएँ' गाउँदै थियौं। एकैछिनमा भड्याङ र भुडुङ जथाभावी अनेक खाले ताल पो बजाउन थाले उनले। तर उनको भाङभुत्ते तालवादनले हाम्रो गीतको सत्यानासचाहिँ पार्न सकेन।
उनको तबलामा ध्यान नदिई गितारको तालमा अडिएर पूरै गीत नबिगारी गायौं। आज पनि म सोच्छु- के नारायणगोपालले भाङभुत्ते तबला बजाएर हाम्रो तालसम्बन्धी योग्यताको जाँच लिन खोजेका थिए वा हाम्रो गीत भत्काएर बिजोग देखाउन नियतपूर्वक भद्रगोल ताल हानेका थिए?
त्यो बेला भेँडासिंको छेउ मछिन्द्रबहालनिर हाम्रो डेरा थियो अनि नारायणगोपालको घर अलि पर। राति खाना खाइसकेपछि भजनसंगीतको अध्ययन र आनन्द लिन भजनमण्डलीभित्र पुग्थ्यौं। मुग्ध भएर सुन्थ्यौं।
कतिपय भजन त हाम्रो बाले पनि गाउनुहुन्थ्यो जसलाई सुन्दा उहिलेको समय अनि बाको याद आइरहन्थ्यो। कोही कोही बेला गाँजाको नसाले मस्त भएर नारायणगोपाल पनि आइपुग्थे र लीन भएर भजन गाउन थाल्थे।
उनी आउँदा सबैले रमाइलो मान्थे। भजन सकिएपछि उनलाई गीत गाउन अरूहरूले आग्रह गर्थे। उनी सुन्दै नसुन्याझैं जुरुक्क उठेर हिँड्थे। 'यस्तै हो यो', अरूहरू भन्थे।
टोले साथीहरूले उनीबारे अनेक जानकारी सुनाउँथे, 'यो त असनको हान्ने साँढे हो। कसैलाई टेर्दैन, कसैलाई गन्दैन।' कोही अनेक घटना सुनाउँथे, 'रक्सीले चुर भई मातेपछि यो एकपल्ट भोटाहिटीतिरबाट आउँदै गरेको मछिन्द्रनाथको रथ रोक्न एक्लै हानिएर पुगेको थियो।' त्यो बेला नारायणगोपालको जीउ बलिष्ठ साँढेको भन्दा कम थिएन। कुस्तीबाज छोटेमोटे पहलमानजस्तो- मोटो र सन्डो।
पारिजात दिदीकहाँ खबर आयो, 'उतैकी एउटी केटीले नारायणगोपाललाई मन पराएकी छे रे। केटीचाहिँ शेर्पिनी, लमिनी के हो रे ! अहिल्यै बिहे नै गरिहाल्ने रे।'
एक दिन मध्याह्नमा मछिन्द्रबहालनिर नारायणगोपालले हामीसँग परिचय गराए, 'उनी पेमला, मेरो जीवनसाथी। अनि उनीहरू हाम्रा राल्फा भाइहरू।' हामीले हेर्यौं, 'कति शिष्ट, गम्भीर र भद्र महिला। देख्दै आदर लाग्ने।' दुई हात जोडेर हामीले नमस्ते अभिवादन ग:यौं।
काठमाडौंमा 'गोपाल योञ्जन नाइट' हुने भयो। एक किसिमको तरंग चल्यो। हामीलाई पनि सहभागी हुन खबर आयो। भेटमा गोपाल योञ्जनको संगीतमा दुई गीत अनि दुइटा लोकगीतचाहिँ हाम्रै संकलनको गाउने निर्णय भयो।
राष्ट्रिय नाचघरको मञ्चमा राल्फाको गठनपछि पहिलो गायन प्रस्तुति थियो त्यो। त्यसमा रायन, अरिम, म र गणेश रसिक उत्रेका थियौं। गोपाल योञ्जनले हार्मोनियममा लिड गरेका थिए। त्यो फोटोले आज पनि भावुक बनाउँछ मलाई।
कार्यक्रममा गोपाल योञ्जनका धेरै स्तरीय शब्दरचना र संगीत विभिन्न गायकगायिकाका आवाजमा प्रस्तुत भए। तर हाम्रा नेपाली श्रोतादर्शकलाई रुचेन, पचेन। असभ्य होहल्ला, हुटिङले कार्यक्रमलाई बाधा पु:याइरहयो। कार्यक्रम सकिनेबित्तिकै गोपाल योञ्जन डाँको छाडेर रुन थाले।
'दार्जिलिङमा हामी हाम्रो देश नेपाल भनेर कति गौरव गथ्र्यौं। बंगालीहरूसँग नेपाली कलासंस्कृतिका लागि कति लड्थ्यौं, भिड्थ्यौं तर आज मेरो देशले मलाई अपमान र बेइज्जती गर्यो।' कसैको काखमा शिर राखेर उनी रोइरहेका थिए।
वरिपरि सम्झाउनेहरू निकै थिए। सायद यही तितो घटनाका कारण होला, केही समयपछि उनले गीत लेखे, 'मेरो गीत म उभेको धुलोले सुनोस्... मेरो गीत कोही सुन्दैन भने आकाश बतासले सुनोस्। सुखीलाई रुच्दैन भने कोही असहायले सुनोस्।'
एक रात ८ बजेपछिको अंग्रेजी समाचार आइरहेको थियो। गोपाल योञ्जन पारिजात दिदीको कोठामै थिए। अंग्रेजी खबर सुन्दासुन्दै मक्ख परेर गोपाल बोलिरहेका थिए, 'सो नाइस् पर्फमेन्स लेडी'।
केही समयपछि दिदीकहाँ नै खबर आयो- ब्रिटिस भीसीकी छोरीसँग गोपालको बिहे हुने पक्का भो। 'कोसँग?' 'त्यै क्या, रेडियोबाट अंग्रेजी खबर भन्ने रेन्छेन डोल्मासँग...।' लौ दुवै मीतज्यू बिहेबन्धनमा बाँधिए।
समय बित्दै जाँदा एक समूहबाट समाजमा नमीठा कुराहरू फैलाउन सुरु भयो, 'नारायणगोपाललाई नारायणगोपाल बनाउने गोपाल योञ्जनका गीतहरू हुन्। पहिले उसका गीतहरू के थिए? पूरै अल्लारे... स्तरहीन...। पछि गोपाल योञ्जनका गीतहरूले नारायणगोपाललाई कहाँ पुर्यायो !'
अर्को समूहले पनि प्रतिवादमा त्यस्तै आरोप फैलाउन थाल्यो, 'जतिसुकै राम्रो गीत किन नहोस्, नारायणगोपालको स्वर नपाएको भए कुन कुनातिर कुहिएर सड्थ्यो होला त्यस्ता गीत ! त्यै स्वरको लागि न हो, गोपाल योञ्जनले मरिहत्ते हालेको।' कुरा दुवैतिरको सही थियो।
नारायणगोपालको स्वर र प्रस्तुतिले गोपाल योञ्जनको गीत जीवन्त भएको थियो। त्यस्तै गोपाल योञ्जनका भावपूर्ण शब्द र मर्मस्पर्शी लयहरूले नारायणगोपालको स्वरको पहिचान र उचाइ उठाएको थियो।
हुँदाहुँदै दुई मीतज्यूको सम्बन्ध चिसिँदै गयो। अन्त्यमा अलग हुने समय पनि आयो। नारायणगोपाल अरू गीतकारका गीत खोज्दै त्यसमा आफैंले संगीत भर्दै गाउन थाले। गोपाल योञ्जनले पनि आफ्नो शब्दरचना र संगीतमा विस्तारै आफ्नै स्वरमा गाउन सुरु गरे।
नारायणगोपालका पछिल्ला गीतहरू प्रेमप्रणयका र केही राष्ट्रिय गान थिए भने गोपाल योञ्जनका गीतहरूमा केही विविधता थियो। तर समाजमा रहेका कुरीति, विकृति, विभेद र असमानता हटाउन दुवैतिरबाट त्यति कला र गला चलेन।
समाजमा व्याप्त अन्धविश्वास, कुसंस्कार, ध्वस्त पार्न जनतालाई सचेत पार्दै जनताबाटै त्यस्ता अभियान सञ्चालित होस् भन्ने भावना कुनै गीतमा पाइएन। जनतामा राजनीतिक चेतना उठाउन, एक मुठी सामन्त र सम्भ्रान्त वर्गको हातमा रहेको राजनीतिक शक्ति जनतामा पु:याउने सोच दुवैतिरका कुनै गीतमा पाइँदैनथ्यो। हामी भने एउटा सोच, लक्ष्यका साथ जनताको पक्षमा उभिएर राल्फादेखि नै गीत गाइरहेका थियौं।
राल्फाबाट कम्युनिस्टतिर ढल्कँदै आखिर कमरेड नै बन्यौं हामी। कम्युनिस्ट कमरेड बनेपछि हामीलाई अर्कै ढंगबाट शिक्षादीक्षा दिन थालियो। 'गरिब, दुखी, श्रमशील जनताका पक्षमा सम्पूर्ण कलाकर्म' भन्ने सिद्धान्त मनको अन्तरसम्म पुर्याइयो। मजदुर, किसान र लालसेनाका लागि कलासाहित्य भन्ने माओत्सेतुङका कृति-किताबहरू पढ्न लगाइयो।