कुर्सीको झगडा
कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो
सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो
गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो
ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो–१
कुर्सी, गाई दुवै म धान्दछु भनी अर्कै उठ्यो डुक्रियो
नाङ्गो भो सब राष्ट्र भाँडिन गई धाँजा पर्यो टुक्रियो
साझा यो फुलबारि मास्न कसिए हाम्रो बिजोकै गरी
बाँच्ने छैन स्वतन्त्रता मुलुक नै फुट्ने छ ऐनासरी–२
आशा उन्नतिको मरेर मनमा सारा स्वदेशीहरू
रुन्छन् आज नदेखि रक्षण यहाँ नेपालको आबरू
कामै छैन कतै परिश्रम गरी खाने, युवा तर्सिए
देशै छाडि पराइका मुलुकमा लागे बसाइँ सरे–३
छोरीलाई म इन्दिरासरहकी पार्छु भनी चम्किने
देशैको पद शीर्ष लिन्छु म भनी मैदानमा बम्किने
भ्रष्टाचार र घूस, चाकरिहरू सामन्तसाथै ढलून्
नेपाली स्थिति फेरिएर जनमा आशाहरू उर्लिऊन्–४
शिक्षा, स्वस्थ्य र काममाम सबले पाऊन् थियो चाहना
नेपालित्व रहोस् सधैँ भुवनमा कल्याणको कामना
हामी नै झगडा गरेर घरमा बाझ्यौँ भने चर्चरी
हुन्छौँ दास पराइको पगमुनि रुन्छौँ सधैँ धर्धरी–५
कुर्सी, शक्ति र द्रव्यतर्फ दलका सिद्धान्तको दुर्दशा
हाँस्ने छन् सब मित्र मस्तसितले देखेर हाम्रो दशा
बिर्सन्छन् जनता र राष्ट्र यिनले पाएर कुर्सी पनि
हामी एक थियौँ र त्रास छ कतै मेटिन्छ राष्ट्रै भनी–६
****
सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर
दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर
छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा
लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा
यस्तैमा घरबाट खल्बल गरी आयो महागर्जन
“पीडाका र गरीबीका दिनहरू फाल्यौँ सबै बन्धन
सामन्तीहरू एकएक सितले गर्ल्याम्म गर्दै ढले
न्यानो सूर्य झिलीमिली भई सबै थोत्रा प्रथा नै जले”
देखेँ बाहिर वृक्ष झ्याङहरू ता झ्याम्मै हरिया भए
झिक्रे रूखहरू सिँगारिन गई नौला छटा फैलिए
वासन्ती रमणीयता जब यहाँ आयो म छक्कै परेँ
मैले ध्यान खिची घरैतिर लगेँ, नेपाल नै सम्झिएँ
आयो बल्ल नयाँ वसन्त घरमा बाजा बजाईकन
के नेपाल नयाँ हुँदै छ त भनी गर्दै छु यो चिन्तन
शङ्काका भरमा बसेँ म पीरले कल्पन्छु नेपाल त्यो
होला शान्त कहाँ? विभेदफूटले चाला नराम्रो लियो
****
तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो
गाईपूजा कसरी गर्नु?
स्मृति मात्र अब शेष भयो
लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा
भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा
किन यस्तो यो खल्लो जीवन चाड दसैँ पनि गुजरिसक्यो
होली आउँछ सुटुक्क बित्छ मन नै मेरो खुमरिसक्यो
भित्र छ पीडा अन्धकारले बाहिर जति नै बिजुली बलोस्
नत सँगिनीहरु घरघर नाच्छन् नत मादलको ताल चलोस्
घाम उही हो बादल उस्तै तर चङ्गा छैनन् कतै पनि
शून्य छ सबतिर मन नै रित्तो समय बित्तछ व्यस्त बनी
शब्दकोश अब सक्छु भन्थेँ सामग्री सब उतै छुट्यो
लिन जान पनि कसरी जानु?
लथालिङ्ग भै घरै फुट्यो
दसैँ तिहारले सारा कष्ट बढारिदिन्थे प्रति वर्ष
अनि उत्साहले सालभरि नै मान्थ्यौँ हामी अति हर्ष
छेपाराकै कथा सरह यो जीवन गुज्रन लाग्दै छ
घरको माया जति गरे पनि आशा टाढा भाग्दै छ