
साप्ताहिकमा मिति २०७० पुस २६ गते मध्यपृष्ठमा प्रकाशित नेपाली चलचित्रकी नायिका नीता ढुंगानाको ब्लो अप
नीता ढुंगानाको परिचय पछाडि गत वर्षदेखि एउटा अर्को शब्द थपिएको छ 'गाला रातै गर्ल' । चलचित्र 'नोटबुक' को चर्चित गीत 'गालारातै' ले उक्त चलचित्रकी यी नायिकाको चर्चा एकाएक बढायो । 'मितिनी' र 'अजम्बरी नाता' की बालकलाकार नीताले अलिक ठूली भएपछि तीनवटा भोजपुरी चलचित्रमा अभिनय गरिन् । बालकलाकारका रूपमा उनलाई टेलिश्रृंखला 'चेतना'मा पनि देखिएको थियो । विमल पौडेलद्वारा निर्देशित चलचित्र 'किसान' उनले नायिकाका रूपमा उनले अभिनय गरेको पहिलो चलचित्र थियो, तर ऋषि लामिछाने निर्देशित 'हाम्रो माया जुनी जुनीलाई' ले उनलाई चर्चामा ल्यायो । चर्चाले उनलाई दर्जनौं म्युजिक भिडियोमा मोडल पनि बनायो । दुई वर्षअघि स्कुटी दुर्घटनामा परेर गालामा चोट लागेपछि उनले पाएका आधादर्जन अफर छाड्नुपर्यो । गालामा दाग लिएरै चलचित्र तथा म्युजिक भिडियोहरूमा अभिनय गर्न थालेकी नीता गत वर्ष आमाको मृत्युले शोकमा पनि डुबिन् ।
'भगवान्ले मलाई दुःखसँगै सुख पनि दिँदै गए,' नीता आफ्ना सुखका कथा सुनाउन थालिन् । 'नोटबुक'को सफलताले एकपछि अर्को एवार्ड थाप्ने क्रममा उनले बालकुमारीमा एउटा अपार्टमेन्ट पनि पाएकी छिन्, १० लाख छुटमा । अहिले त्यही अपार्टमेन्टमा बस्ने नीता यतिबेला चलचित्र 'छ एकान छ'को प्रदर्शनको मिति पर्खिरहेकी छिन् । पुस २६ गते सार्वजनिक हुन लागेको उक्त चलचित्र दीपकराज गिरी, दीपाश्री निरौला तथा निर्मल शर्माले निर्माण गरेका हुन् । दिनेश डिसीले निर्देशन गरेको हास्यचलचित्र 'छ एकान छ'मा दीपकराजका साथमा शिवहरि पौडेल, जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे र सन्दिप क्षेत्री नायक छन् भने नीता एक्ली नायिका । छ जना हास्य कलाकारसँग रोमान्स गरेकी नीताले वास्तविक जीवनमा भने 'सिरियस रोमान्स'मा नपरेको बताइन् । 'मेरो मर्म बुझ्ने व्यक्ति मेरो जीवनसाथी हुनसक्छ, तर अहिले मलाई विवाहको हतार छैन,'- नीताले स्वाभाविक मुस्कान छर्दै भनिन् । अनि ब्वाइफ्रेन्ड नि ? खित्का छाड्दै उनले भनिन् -'भेटेपछि खुसुक्क भन्नेछु ।'
-सुव्रत आचार्य
तस्बिर- महेश प्रधान
लोकेसन- विश्राम वाटिका रेस्टुराँ, नागदह, ललितपुर
हेयर तथा मेकअप- संगीता मिश्र आचार्य, शोभाज ब्युटिपार्लर, कुमारीपाटी
पहिरन- प्रमिशा वार्डरोव, चाबहिल