‘मेरो जीवनमाथि फिल्म बनाए ‘बोरिङ’ फिल्म बन्छ’
समुन्द्र राज घिमिरे, काठमाडौं, माघ ९
‘आमाले मर्ने रोल नगर भन्नु भयो’-ऋचा शर्मा
ऋचा शर्मा पछिल्लो समय चरित्रमा डुबेर अभिनय गर्न सक्ने अभिनेत्रीको रूपमा चिनिन्छिन्। ‘फस्र्ट लभ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी उनले हाइवे, मेरो लभस्टोरी, लुट, उमा, भिजा गर्ल, जिन्दगी रक्स, टलकजंग भर्सेस टुल्के, को-आफ्नो, जंगेलगायत फिल्ममा अभिनय गरिसकेकी छिन्।
टलकजंग भर्सेस टुल्केमा निभाएको चरित्रले उनलाई राष्ट्रिय अवार्डसमेत दिलायो। म्युजिक भिडियो, र्याम्प मोडलिङ, टेलिभिजन शोमा पनि उनी चिनिएकी अनुहार हुन्। सन् २००७ मा उनले ‘मिस नेपाल’ मा पनि भाग लिएकी थिइन्।
टिजर मात्र रिलिज भएको फिल्म ‘को आफ्नो’ बाट उनी अहिले ‘लुक्स’ का कारण चर्चामा छिन्। फिल्मसम्बन्धी अध्ययन गरेकी ऋचा अभिनयको कार्यशाला पनि चलाउँछिन्। सुन्दर अभिनेत्री ऋचा भिजा गर्लकी निर्माता पनि हुन्। उनीसँग सेतोपाटीको ‘सिनेमा संवाद’ स्तम्भका लागि समुन्द्र राज घिमिरेले गरेको फिल्मी कुराकानी–
पहिलोपटक कुन फिल्म हेरेको याद छ ?
कहाँ याद हुनु! बच्चैदेखि धेरै फिल्म हेर्ने भएकाले कुन फिल्म हेरेँ याद छैन। मलाई महाभारत हेरेको याद छ। यसको डायलग ‘में तुम्हे ले जाराहा हुँ कुरूक्षेत्रसे दुर स्वप्नवाटीका’ अझै गुञ्जिरहन्छ। नेपाल टेलिभिजनबाट शनिबार फिल्म आउँथ्यो । त्यो बेला बज्ने विज्ञापन पनि याद छ।
तपाईँको फिल्मी सपनामा यसले कुनै प्रभाव पार्यो?
यसले मलाई सोच्ने बनाउँथ्यो। यसभित्र मानिस कसरी पुग्थे होला भन्ने लाग्थ्यो। टेलिभिजन मेरा लागि विचित्रको संसार थियो। जबसम्म म आफू टेलिभिजनमा आएको थिइन तबसम्म टेलिभिजन विचित्र लाग्थ्यो।
सानो छँदाको फिल्म माहोल कसरी सम्झनुहुन्छ?
त्यो बेला रमाइलो मात्र थियो। तराईको ठाउँ भएकाले मलाई फिल्म हेर्दाको रमाइलोभन्दा फिल्म हलको माहोल रमाइलो लाग्थ्यो। मिठोमिठो खान पाइन्छभन्दा रमाइलो लाग्थ्यो। फिल्म हेर्दा जब पात्रका संवेदनालाई लिएर मानिसहरू रून्छन्, हाँस्छन् त्यो रमाइलो लाग्थ्यो।
फिल्म के हो?
कसैको दिमागका कल्पना या यथार्थलाई कथा बुनेर क्यामराले स्क्रिनमा ल्याउने प्रक्रिया हो। फिल्म हेरिरहँदा अरू कुरा बिर्सिने भएकाले मेरो लागि भने ‘थेरापी’ हो।
केका लागि फिल्म हेर्नुहुन्छ?
अहिले पहिलेजस्तो छैन, हेर्नुको उद्धेश्य फेरिएको छ। अहिले हेर्नका लागि मात्र हेरिँदैन, बोरिङभन्दा बोरिङ फिल्म पनि हेरिन्छ। अहिले तपाईँलाई भेट्नुअघि म इरफान र नवाजुद्दिनको सर्ट फिल्म ‘बाइपास’ हेरिरहेको थिएँ। फिल्म क्षेत्रमा भएपछि जस्तो पनि हेर्नुपर्छ। जापानीज, चीनियाँ, फ्रान्सेली, इरानी फिल्म पनि हेर्न थालेकी छु। हरेक फिल्ममेकरको फरक-फरक स्टाइल हुन्छ। विशाल भारद्वाजले कस्तो फिल्म बनाएछन्, सञ्जयलीला भन्सालीले सेट, लाइट र कस्ट्युममा कस्तो फिल्म खिचेछन् भनेर हेर्छु। मन परेको अभिनेता/अभिनेत्रीले जस्तो गरेपनि हेर्छु। भर्खरै डिक्याप्रियोको ‘रेभेनेन्ट’ हेरेँ, किनकि मलाई डिक्याप्रियोको ‘पर्फमेन्स’ हेर्नुथियो। पहिले नामै नसुनेका तर अवार्ड जितेका फिल्म हुन्छन्, ती कस्ता रहेछन् भनेर हेर्छु। तनावमुक्त हुन पनि हेर्छु।
फिल्म हेर्दा विशेष केमा ध्यान जान्छ?
मलाई हरेक फिल्म गर्दा आफू पर्दामा ऋचा देखिनुहुँदैन है भन्ने चुनौति हुन्छ। त्यसैले कलाकारको पर्फमेन्समा ध्यान जान्छ।
सबैभन्दा बढी प्रभाव पारेको फिल्म
सायद म धेरै फिल्मी भएर पनि होला, प्रियंका चोपडाको ‘सात खुन माफ’ले मलाई धेरै प्रभाव पारेको हो। यो फिल्मको ‘ह्याङओभर’ लामो समयसम्म रह्यो। बारम्बार प्रियंका हाँसेको, बोलेको झल्को आइरहन्थ्यो। महिलाप्रधान फिल्महरुले प्रभाव पार्छन्। ‘क्विन’ बाट महिला एक्लै भो त के भो? भन्ने भयो। ‘मेरी कोम’ र ‘इनसाइड आउट’ ले बढी प्रभाव छोड्यो।
अभिनेत्री भएकाले संवेदनाको खाँचो हुन्छ। आफूले खेल्ने फिल्मका लागि हेरेका फिल्मबाट केही लिँदा केही फरक पर्दैन भन्ने लाग्छ। हरेक फिल्मले केही न केही प्रभाव पार्छ।
आफ्नो जीवनसँग मिल्दोजुल्दो चरित्र?
मेरो जीवनमाथि फिल्म बनायो भने साँच्चै ‘बोरिङ’ फिल्म बन्छ होला। त्यसैले मेरो जीवनसँग मिल्ने कुनै चरित्र छैन। कुनैकुनै फिल्मको कुनैकुनै भागमा मेरो जीवनको थोरै ‘एपिसोड’ भेटिन्छ।
कुनै फिल्म हेरेर म पनि यस्तो गर्न सक्छु भन्ने लागेको छ?
हालै हेरेको फिल्म ‘मार्गरिता विथ अ स्ट्र’ मा कल्की कोचलिनले निभाएको भूमिकामा म पनि यस्तो गर्न पाए भन्ने लाग्यो। ‘म्याड म्याक्स’ की चार्लिज थेरनको भूमिकाले पनि त्यस्तै बनायो। महिलाको लागि ‘प्लस प्वाइन्ट’ भनेको उसको शरीर हो। ‘डर्टी पिक्चर’ हेरेर म पनि यस्तो गर्न सक्छु भन्ने जोश आएको थियो। मलाई आफ्नै फिल्म ‘को आफ्नो’ हेरेपछि मेरो क्षमतामा थप विश्वास भयो। म अब मुस्ताङमा गएर साडी फहराएर नाच्ने रोल पनि गर्न सक्छु, भ्रष्टाचारी नेतादेखि कडा पुलिस बन्न पनि सक्छुजस्तो लाग्छ।
अब कस्तो भूमिका गर्न मन छ?
गर्न मन त धेरै छ। नेगेटिभ रोल गर्ने मन थियो, ‘जंगे’ मा गरेँ। हुन त माला, भाग सानी भाग, उमा, मायाज बार, सुन्तलीजस्ता नारीप्रधान फिल्म आएका छन्। तर, नेपालमा अभिनेत्रीका लागि सोचेर कथा खासै लेखिँदैन। अहिले यस्तै रोल गर्न मन छ भन्दिनँ तर, राम्रो चरित्र छ भने दुई सिन मात्र दिने हो भने दिलदेखि नै गर्न सक्छु भन्ने आत्मविश्वास छ। मलाई अब दोहोरो भूमिका गर्न मन छ।
धेरैपटक हेरेको फिल्म ?
हैदर, थ्यौरी अफ एभ्रिथिङ, दृश्यम, कुसुमे रूमाल, कान्छी धेरैपटक हेरेको छु। लुट त २०-२२ पटक हेरेँ होला।
फिल्म हेर्दा/खेल्दाका रमाइलो क्षण?
पेरिस बस्दा निद्रा लागेन भने फिल्म हेर्न गइन्थ्यो। परिवारसँग फिल्म हेर्दा क्षण रमाइलो लाग्छ। मलाई ‘हरर’ र ‘रोमान्स’ जनराका फिल्म मन पर्छन्। एक्लै बसेर ल्यापटपमा हरर फिल्म हेरेपछि ट्वाइलेट जानै डर लाग्छ। त्यो क्षण पछि सम्झिँदा साँच्चै मजा हुन्छ। ‘तारे जमिन पर’ हेर्दा बाथरूममा गएर रोएको छु। ‘उमा’ फिल्ममा म छु जसमा मेरो चरित्र अन्तिममा मर्छ। आमाले उमा हेरेपछि दुई दिन निदाउन सक्नुभएन। त्यसपछि उहाँले यस्तो मर्ने रोल नगर भन्नुभयो। मैले यसलाई हल्का रूपमा लिएँ।
कुन समयमा धेरै फिल्म हेर्नुभयो?
अहिले धेरै हेर्दैछु। हिजो मात्रै जेम्स बन्ट फिल्म ‘स्पेक्ट्र’ हेरेँ, साह्रै झुर लाग्यो।
कस्ता फिल्म मन पर्छन् र कसरी छान्नुहुन्छ ?
सन् २०१२ देखि फ्रेन्च फिल्म हेर्न थालेको छु। निर्देशक प्रचण्डमान श्रेष्ठले फरकफरक इरानी फिल्म हेर्न सुझाउनुहुन्छ। इरानी फिल्म एकदमै मनपर्छ। हिन्दी फिल्ममा विविधता आइरहेका छन्। विदेशका साथी छन् जो संसारका राम्राराम्रा फिल्म हेर्छन् । उनीहरूको सुझावमा फिल्म हेर्छु।
नेपाली अभिनेत्रीको कमजोरी केहो?
हामीसँग प्यासनबाहेक केही छैन। नेपाली अभिनेत्रीले केही नगर्दा नै धेरै गरेका छन्। दीपिका पादुकोण, जेनिफर लरेन्सलाई जेनिफर बनाउन उनीहरुका पछाडि हजारौं छन्। लिंकन खेलेर ड्यानियलले तीन पुस्तालाई पुग्ने पैसा पाए। कलाकारलाई ‘मोटिभेसन’ चाहिन्छ, त्यो भनेको पैसा पनि हो। यदि मोटिभेसन हुन्थ्यो भने नेपालका अभिनेत्री पनि ‘वल्र्ड क्लास’ को काम गर्न सक्छन्।
तपाईँको आदर्श अभिनेत्री
मेरो आदर्श कोही पनि भएन। मलाई योजस्तो बनौं भनेर कहिले पनि भएन। मन परेको हिसाबले तब्बुले जे गरेपनि मनपर्छ। फिल्म हेर्दा मलाई तब्बु आफ्नै दिदीजस्तो लाग्छ। तब्बुले दुई सिन गरेको भएपनि फिल्म हेर्छु। तृप्ती नाडकरले मलाई धेरै प्रभाव पार्नुभयो। भाग्य मान्नुपर्छ मैले सँगै फिल्म खेल्न पाएँ। गौरी मल्लले सिंहदरबार सिरियलमा गरेको रोलले प्रभाव पारिरहेको छ। रेखा थापाले किस्मतमा, नम्रताले सानो संसारमा, प्रियंकाले सुन्तली र केकीले फन्कोमा गरेको रोल मलाई मन परेको हो। बलिउडमा नन्दिता दास र हलिउडमा जुलिया रोबर्ट्स मलाई साह्रै मन पर्छन्।
देख्ने बित्तिकै मन नपर्ने अभिनेत्री
छन्। तर, नामै लिन अप्ठ्यारो हुन्छ मलाई। अस्ती भर्खर खादा लगाएर फोटोसुट गराउनुभयो नि! तपाईँलाई थाहै छ म नाम लिन्नँ। हामी त केही चेन्ज गरौं भनेर लागिरहेका छौं तर, जो यो क्षेत्रमा आएर ‘हिरोइन’ हुँ भनिरहेका छन् जसलाई लिएर आम मानिसमा ‘हिरोइन’ भनेको त यस्तै त हो नि भन्ने छाप पर्छ। तर, म यसमा केही बोल्दिनँ। यो पनि एउटा पाटो भन्ने मान्छु। न म उहाँहरूसँग केही लिन्छु, न उहाँहरूले नै मसँग केही लिनुहोला। मसँग संगत पनि छैन र गर्ने मन पनि छैन। पर्दामा पनि त्यस्ता छन् जसलाई देख्दा के उनीहरू गम्भीर छन्? के गरिरहेका छन्? गर्न चाहेर गरिरहेका हुन् कि पर्दामा आएर हिरोइन बन्न मात्र खोजिरहेका छन् भन्ने प्रश्न उठ्छ।
फेरि यहाँ त्यस्तैलाई अवार्ड दिएर प्रोत्साहन गरिन्छ। मलाई नै दिनुपर्छ भनेर भन्न खोजेको होइन है।
‘अभिनेत्री’ र ‘हिरोइन’ फरक हो भन्ने नेपाली अभिनेत्रीले बुझेका छन्?
मैले अरूलाई ‘जज’ गर्न मिल्दैन। तर, एकदमै कमले बुझेजस्तो लाग्छ।
तपाईँचाहिँ के हो त?
मैले दाबी गर्न मिल्दैन। मेरो परिचय दर्शकले दिने हो। मैले त ‘हाइवे’ बाटै हिरोइन होइन कलाकार बन्न खोजेको हुँ। ‘टलकजंग भर्सेस टुल्के’, ‘को आफ्नो’मा म हिरोइन होइन।
मैले अघि नै भनेको छु, दर्शकले मलाई पर्दामा हेर्दा ऋचा शर्मा भनेर बिर्सनुपर्छ भन्ने लाग्छ। यदिसम्म कि मेरो आमाले पनि बिर्सिनुपर्छ। शतप्रतिशत पूर्ण कोही हुँदैन।
मन पर्ने अभिनेता?
सौगात मल्ल र कर्मा। हलिउडमा लियोनार्दो डिक्याप्रियो। डिक्याप्रियो नै मन परेको भन्दा उसको अभिनयमा खारिँदै गएको कौशलता मनपर्छ। ‘टाइटानिक’ देखि ‘रेभेनेन्ट’सम्म हेर्दा उसमा बेजोडको परिपक्वता पाइन्छ।
प्रकाशित मिति: शनिबार, माघ ९, २०७२ १०:५६:३३