Author Topic: आयाम फुयाल - Aayam Phuyal poems  (Read 2664 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
आयाम फुयाल - Aayam Phuyal poems
« on: February 20, 2015, 03:04:42 AM »
सञ्जीवनीहरु

एउटा लाम्चो क्यानभास…
त्यसमा कोरिएको,
मेरो मातृभूमिको रुन्चे आकृति,
मेरो मातृभूमिको करुण रोदन,
अनि, मेरो मातृभूमिको निसार चिच्चाहट!
दृश्य एकमा म नियाल्दछु-
आजभोलिका उराठलाग्दा दिनहरु,
कहालीपुर्ण चर्किएका भाष्करका रश्मि,
शून्य अस्तित्व बोकेका मेरा छाया
र मरेतुल्य नरहरु!
सुनकोसीको क्रुर व्यग्रता,
भोटेकोसिको आडम्बरी थुनाइ,
डाँडा-पाखाका बजार ओर्लाई
र यी तथाकथित सर्वश्रेष्ठ मानवजातिको आर्तनाद!
गगनचुम्बी हिमचुचुराका आँसु,
शिर निहुराहिरहेका चोमोलुङ्मा र कन्चनजङ्घाहरु,
वेदनाजन्य ध्वनि निकालेर बगेका हिमनदीहरु,
अघोरी बनेका लेक र तालहरु!
डिपार्टमेन्टल महल बनेर उभिएका चारकोसे झाडी,
प्राण विहिन जङ्गल
प्यासी मुहान
र आना र दाममा चिरिएका जमिन।
दृश्य दुईमा म खोज्दछु-
बट्टामा सिमित कस्तुरी,
गुगल चित्रमा सिमित डाँफे र मुनाल,
क्यानडाको भिसा लागेका काँडेभ्याकुर,
दुर्ग खोज्दै हिडेका सारौँ र परेवा!
साउदीको रापिलो घाममा टटि्एका बलभद्र र अमरसिहंहरु,
रातका रानी बनेका भृकुटी र सीताहरु,
अमेरिकामा पाइप कस्दै गरेका पृथ्वीनारायण र जङ्गबहादुरहरु,
र दुतावास धाउदै गरेका कर्मठ नेपली युवाहरु!
क्यासिनोमा पत्ती फिट्दै गरेका भानुभक्तहरु,
कोठीका रिवन काट्दै गरेका देवकोटाहरु,
व्यभिचारी बनेका लेखनाथहरु
र ज्ञानशून्य समहरु!
उपेक्षित बन्दै गएका वेद र उपनिषदहरु,
मिथ्या भाषण बनेका गीता र रामायण्हरु,
निरर्थक बनेका प्रश्नोतर र मुनामदनहरु,
विना परिश्रम सिर्जिएझैँ श्रीमदभागवत
र छन्द भाचिएको मेरो साहित्य!
दृश्य तीनमा म नियाल्दछु-
भाचिएको सहनाई,
भ्वाङ परेका डम्फु,
खिया लागेका नौमतीबाजाहरु
अनि एकादेशका झैँ बासुरी र सारङ्गीहरु!
राष्ट्रिय धुनले पाकेका कान,
मङ्गलधुनले फाटेका जाली,
डिस्को धाएका नारायण गोपाल र तारादेवीहरु
र शरीर मात्र उत्तेजित पार्ने बेसुरा सङ्गीतहरु!
दिनानुदिन प्यारा बन्दै गएका क्याप्सुल र ट्याब्लेट,
विदेश भ्रमणमा पठाइएका यार्सा र चिराइतो,
कुहिएका पाँचऔले र सर्पगन्धा,
सखाप भएका ती सञ्जीवनीहरु!
बुट्टा कुँदिएको अग्राख,
‘बेड’ भनेर चिनिएको उत्तीस,
विराजमानका साधन बनेका साल र पयूँ,
र यही क्यानभास अडाइएको हाड्बेल र वयर!
नापो छोटिएका घाँघरहरु,
सङ्ग्राहलयमा सजाइएका गुन्यू-चोलीहरु,
घर पुस्ने टाला भएका दौरा-सुरुवालहरु
र लत्याइएका परम्परागत पोसाकहरु!
दृश्य चारमा म खोजिरहेछु-
पूर्खाको रगतको मुल्य,
समग्र स्वार्थविहिनता,
राष्ट्रघातीको उठिबास
र मुर्झाएको देशभक्तिमा
सञ्जीवनीको सञ्चार !

-आयाम फुयाल
कक्षा-१२
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर


भ्रष्टाचारी दुबो

बेजोडले गड्गडाउँछ
खोलो गर्जेर बग्छ
हजारौँ टरबाइन घुमाउने
शक्ति भिरी आउँछ
तर…
टरबाइन झोलामा बोकिन्छन्
र शक्ति गएर गाउँमा पोखिन्छन्!
एक साता पछी,
ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ
सजीव लासले गिज्याउँछ
निर्जीव लासले पनि गिज्याउँछ
र तीन पाउण्ड पाउरोटी फाल्छ
भोलिपल्टको खबरले भन्छ-
बाढीपिडितलाई तीन करोडको राहत वितरण!
अघिल्लोदिन चिल्ला रोड देखिन्छन्
भोलिपल्ट,
गाडीको चक्काले अड्डा हिँडेको कथित राष्ट्रसेवकको प्यान्टमा
बाटोको हिलो लिपिदिन्छ
सराप्छ… मज्जैले सराप्छ…
र देख्छ बाटो छेउछाउका सुकिलामुकिलाका अलकत्रे महल!
दुई व्यक्ति
दुई व्रिफकेश
चार डिब्बा
निर्धक्क हाँसोका साथ साटिन्छन्
भोलिपल्टको पत्रिकाले छाप्छ-
फलानो निकुञ्जमा चार गैँडा मृत भेटिए!

पोल्छ…
चर्किन्छ…
अनि देशभक्ति अल्लालिँदै आह्वान गर्छ-
झुन्डाइदे ती झोले
डोजर लगाइदे ती अलकत्रे महल
गिँड्दे ती टेबलमुनिका हात
र तेजाब छर्किदे यो मौलाएको
भ्रष्टाचारी दुबो माथि !!!


अँ साँची

अँ साँची, अब कर्णाली नबग्ने अरे,
मर्स्याङ्दी नसुसाउने अरे,
भोटेकोसी सन्यास लिने अरे,
अनि त्रिशुली सुख्ने अरे!

अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे,
कन्चनजंघा पग्लिदिन्छ अरे,
मकालु र मनास्लु एकादेशका भइदिने अरे,
अनि साइपल र जुगल भासिदिने अरे!

अँ साँची, हिमाली डाफे आफुलाई कालो देख्नचाहन्छ अरे,
लेकको मुनाल डुबी’दिन्छु भन्छ अरे,
बेसीको कालिज आत्महत्या गरिदिन्छ अरे,
अनि पहाडको काडे-भ्याकुर सरुवा गर्छ अरे!

अँ साँची, गोर्खालीले खुकुरी लुकाइदिन्छन अरे,
राजा, महाराजा विदेश पलायन भइदिन्छन अरे,
नेता सबै पन्चदेवल गई दिन्छन अरे,
अनि सुकुम्बासी सबै पासो लाइ’दिन्छन अरे!
अँ साँची, खाली डाँडा सबै डिपार्ट्मेन्टल स्टोरबन्छन अरे,
पाखा पखेरा सबै हाउजिङ बनाउँछन अरे,
पानीका मुहान सबै प्यासी छन अरे,
अनि खाली जग्गा सबै विशाल बिल्डिङ बन्छनअरे!
अँ साँची, कर्मचारी सबै अनशन बसिदिन्छनअरे,
जागिरे सबै घर बसिदिन्छन अरे,
सेना सबै गाउँतिर लाग्छन अरे,
खुकुरी सबै खैरा रगंले पोतिन्छन अरे!

खै, यस्तै सुनिन्छ बजारमा; बकवास् हो भन्छनसबै अरे,
खै यस्तै देखिन्छ यहाँ; सबै दृष्टिभ्रम हो भन्छनअरे,
ज्या! नेपाल त खै कसले पो हो चुँडेर लगिदिन्छअरे,

पत्ता-पत्ता भइ सबै झर्छन निस्पट्ट झैँ भुइँमा अरे!!


धमिलो कर्णाली

नेपाल दुख्यो, भूमि काँप्यो
आर्तनाद पोखियो
खै, खै मेरो अस्तित्व??
खै मेरो सार्थकता??
खै मेरो स्वाधीनता??
अनि आँखाबाट कर्णाली बगायो, त्यो पनि धमिलो…

झसङ्ग भई सत्तेजुगका प्रल्हादले माटो नियाले
देख्छन्-
बन्दुकको नालले गरेको राजनीति
खसीको टाउको देखाई बेचिएका कुकुरका मासु
पानी नबगेको बागमती
स्वार्थी सोच र ध्रुत दिमागले रुमलिएको मुलुक
औँलोले डोराइएका तराईबासी
एकसरो भाङ्ग्रो नपाएर कठ्याङ्ग्रिएका शेर्पा दाजु
एक किलो गोलभेडा किन्न सुनारका धाउने तल्लारे काका
‘जीवनजल’ नपाएर मर्न बाध्ये जाजरकोटका बन्धु
राष्ट्रघातीलाई बिछ्याइएको रातो कार्पेट
कखरा मात्र जान्ने संविधानविद्
दाजु मार्ने हत्यारा कानुनविद्
आफ्नै छोरीको घाँघर च्यातिदिने साधुसन्त
बाउआमालाई पञ्चदेवल रोज्ने सुपुत्र
चार बीस नाघेकी आमैलाई मलमुत्र चटाउने धर्मरक्षक
अनाथलाई चिसो पेटीमा पल्टाउने समाजसेवी
झोलामा बोकिएका मर्स्याङ्दी र कुलेखानी
मुद्रामा गनिएका डाँफे मुनाल
मानव छाला ढाक्ने बाघ र चितुवा
वजन रहित हात्ति र गैँडा
र सभ्यता बिर्सेको मानव!

द्रविभूत भई प्रल्हादले त्रेताका रामलाई पुकारे
राम धनुष लिएर उदाए अनि,
नियाले उही बिसङ्गतीले जेलिएको नेपाल
देख्छन्-
जलले भरिएको देशमा छाएको लोडसेडिङ्
अपार्ट्मेन्ट भई ठडिएका हरिया वन-जङ्गल
दिनहुँ खाने पोषिलो सागपात फुट्पाथको धुलोमा
अनि खुट्टामा लाउने जुत्ता ए.सि. जडित कोठामा
ए.बी.सि. डी. मात्र रट्ने राजदूत
करोड खर्चेर नामका अघि लेखिएका डाक्टर
बाह्र पढाउने मात्र एघार पास
दराजमा चार् पुस्तक सजाई बनेको साहित्यकार
स्वैरकल्पना बनेको कपोलकल्पना
छन्द भाच्ने प्रखर छन्दकवि
‘पानीमाथिको ओभानो’ भई लेखिएका आत्मकथा
छायानुवादका नाममा सारिएका रचना
बुद्धभन्दा उपल्लोकोटिमा रहेक दुर्बुद्धहरु
सुकिलामुकिलाका सवारीमा लखेटिएका सडकबालक
बैठकका लागि चुनिएका पाँचतारे
साउदीमा मरूभूमि भिजाउने नेपाली जनता
सररर… नेता बुलेटप्रुफमा
स्वावलम्बिपनको खोल ओडी धाइएका मन्त्री क्वार्टर
पाँचहजारे पत्रकारको बढदो सङ्ख्या
गरीबी हटाउन मारिएका गरीब
र मूकदर्शक बनेको सरकार!

भावविह्वल भई रामले कृष्णलाई पुकारे
द्वापरका कृष्ण त्रसित नेपाल हेर्दा भए
देख्छन्-
सारेगमले चर्किएका कान
बाँसुरीले नजितेको मन
रोदी र दोहोरीले गएका इज्जत
देउडा र राष्ट्रिय गानले अघाएका कण्ठ
पैसाका नाममा लगाइएका सप्ताह र नवाह
मासुभातमा रुपान्तरित चन्दा
गुम्बाले नदेखेको मस्जिद
पशुपतिनाथले नदेखेको गिर्जाघर
धमिरो लागेर मक्किएका गुन्यूचोली
सन्दुसमा थन्किएका दौर-सुरुवाल
फोहोर उठाउने ट्रकमा कोचिएका हाकुपटासी
मलखाल्डोमा भेटिएका घलेक
वनमानुष भनि चिनाइएका राउटे
अमानव ठानिएका चेपाङ्ग
पीछडिन बाध्ये जनजाती
दलित भनि बाँधिएको कुवा पँधेरो
सर्वहाराको खेदो गर्ने मार्क्सवादी
क्रान्तिको नाममा मुसिएका अबोध लाश
विदेशीका लागि चम्काइएका नेपाली सडक
र सिद्धान्त बेचिएको राजनीति!

उठ् आयाम उठ् …
उठ्!
एकैस्वरमा कराए प्रल्हाद, राम अनि कृष्ण
आत्मसात् गर्…
बुद्धको शान्त आत्मा
क्राइस्टको महानता
मोहम्मदको निष्ठा
अनि विवश कर्णको दानवीरता ! ! !