Author Topic: Acharya Prabha poems (आचार्य प्रभाका कविताहरू)  (Read 3625 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15865
(यौन कबिता)

तिमी यौवनको मातले निथरुक्क भिजेको बेला
म बैँशको उन्माद बोकेर
आँधीको बेग बनी आउँला
त्यो पल केवल तिमी हुनेछौ
मेरो चाहनाभित्र
अनी म हुनेछु
तिम्रो लज्जित भावनाभित्र
म आवेगले मात्तिएको बेला
तिमी कठोर नबन्नु,
मैले कतै पाप गरेँ भनेँ
मलाई पापी नभन्नु
किनकी…….त्यो क्षण
म तिमीप्रती आशक्त बनुँला,
मदहोशिमा चुमुँला,
बुझ्नु तिमीले त्यो यौवनको
आशक्ती हो भनी
दुई धड्कनको ढुक्ढुकी हो भनी
अनी प्रेमको बर्षात भनी
अनी सम्झनु तिमीले
मीठो आनान्दानुभूति हो भनी
अनी फेरि कल्पनु
प्रकृतिको बरदान हो भनी
फेरि स्वीकार्नु तिमीले
तिमी र म बिचको प्रणयको सम्झौता हो भनि
बस….. हाम्रो संगै
बाँच्ने एउटा बहाना हो भनी।

(अमेरिका )


प्रेम दिवस गीत

भन्नेहरू भन्दै गरुन प्रेम झुटो भनी
सोंच्नेहरू सोँच्दै गरुन माया खोटो भनी

देखाउँन सकौँ हामी प्रेम अमर छ भनी
बताउँन सकौं हामी माया अजर छ भनी

बन्न सकौँ मायाँमा अमर जोडी हामी
लेखौँ हामी पिरतीको अमर काहानी

फेर्न सकौं कलंकको अमिट प्रेम कथालाई
साट्न सकौँ दुई मुटुको पीर ब्यथालाई

(रचना समय २ /१२ /१० साँझ ५ ।१५ )

****

नविन बर्ष झुल्कियो (गजल)

हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।

नविन बर्ष, झुल्कियो अब, लिएर सुखद
सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।

बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर
लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।

रगतको खोलो, चाहिन्न अब, सद्भाव चाहिन्छ
बाँचौला सबै, एकार्का माझ, नजिक धाएर ।

नव यो बर्ष, खुशीले मान्दै, मनमा फुलाउँ
मायाको साक्षी, बनेर बाँचौं पिरती लाएर ।

(नयाँ बर्ष २०६७ सालको आगमनलाई हार्दिक स्वागत गर्दै सिर्जिएको गजल)

****

 सम्झन डर लाग्यो (गजल)

सम्झन डर लाग्यो
बिर्सन कर लाग्यो

तिम्रा नाटक हेरी
केनै पो भर लाग्यो?

यत्ती ढाँट्यौ मलाई
झनै अभर लाग्यो ।

जाली,झेली देख्दा त
अझ पो पर लाग्यो ।

बिस्वाश यत्ति थियो
शंखा नै तर लाग्यो ।

(रचना ३ /२५ /२०१० )

***

Euta Nakshatra Jharechha Sahityaakash Bata

म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ

म कामना गर्दछु वहाँको चिरशान्तिको
म प्रार्थना गर्दछु वहाँको प्रतिभाको दिर्घायुको
शरीर माटोमा मिल्यो त के भो ?
साहित्यरुपी सन्तानहरू जिवित नै छन
आत्मा पलायन भयो त के भो ?
सृजनाका डोबहरू बाटाभरि यत्रतत्र छन

देह मर्यो रे वहाँको सदाकोलागि
कबिताहरू जिउँदो आत्मा बनेर गुन्जिरहनेछन ,
छायाँ बिलिन भयो रे सुन्यतामा
कथाहरू जिवित बनेर सल्बलाई रहनेछन
सबको मनमस्तिष्कमा

हो म फेरि पनि भन्छु
एउटा देह पलायन भयो रे, आत्माले चिरनिन्द्रा रोज्यो रे
तर अजर, अमर बन्नेछ सदा
वहाँका साहित्यरूपी सन्तानहरू
सबका अन्तरात्माभित्र गुन्जिरहने छन
वहाँका भावनारूपी साहित्यका शब्दहरू
यसैले म चडाउदैछु वहाँलाई
श्रद्धान्जली स्वरूप सम्झनाका
यीशब्द सुमनहरू

(आदर्णीय दाइ भवानी घिमिरेको सम्झनामा समर्पित कबिता )

****

*शिशु गजल*

अन्यायको बिरुद्द आगो भै बलौँ हामी
देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी ।

सन्तान हौँ हामी सबै एउटै देश नेपालको
आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

एउटै आकाश ओढेर,बाँच्दै आयौँ हामी सबै
एकताको नारा लगाइ,एक बनी चलौँ हामी।

को हो पराइ,को आफन्त भेदभाव नराखी
शत्रुको गोली सामु आए,फलाम बनी छलौँ हामी ।

****

 नभन घातका कुरा (गजल)

नभन घातका कुरा
नगर जातका कुरा ।

कहिल्यै नपरोस् सुन्न
बैगुनी हातका कुरा।

जीवन बितेछ त्यसै
भनन रातका कुरा।

हरियो बन्नेछु सधैं
बुझन पातका कुरा ।

बोतल रित्याइ भन्छु
सुनन मातका कुरा ।

पीडामा डुबेकी छु म
नभन आहतका कुरा ।

मनमा बस्नेछौ तिमी
गरन राहतका कुरा ।

****


बहकिन सक्छ मन
कतै छट्पटिमा आत्तिएर
टुक्रिन सक्छ मन
कँही पीडामा बल्झिएर,
हो, मन यस्तै छ
कोमल बन्छ कहिले
नचाहिंदो तर्कमा बिनासित्तिमा,
कठोर बन्छ कहिले
डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म
त्यसैले त हजार मान्छेको मन
हज्जार थरिका ………,
अनि ब्यवहार पनि परिपरिका ।
आखिर सबै परिणामहरुको
उपज हो यो मन ,
अनी त… सोँचाइ र बुझाईमा पनि
कत्ती असमानता ?
शायद मनको बर्गिकरण नभएको भए
जीवन भोगाइमा हुने थिएन भिन्नता
हो यही मनको दर्पणले
कसैको मुहारमा बुद्धको आकृति
झल्काएको छ भने
यही मनको रंगले कसैको मुहारमा
कालो रंग पोतिएको छ ,
म त भन्छु,
मन बजारमा तमाशा देखाउने नौटंकी हो
फेरि भन्छु यो मन,
छेपारोको रंग फेर्ने प्रव्रीती हो ,
अनि भन्छु मन
आकाश गर्जिएर धर्तीलाई
त्रास देखाउने गर्जन हो
हो यो मन ,
मान्छेलाई बिभिन्न रूपमा
अभिनय गराउने निर्देशक हो ।

(अमेरिका )

*******


निरिह


मायाको कठघरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफी
दिन नै सक्छु,
न त तिमीलाई मनको जेलमा
थुनी रहन सक्छु,
न त निर्दोष ठानी आजाद गर्न नै सक्छु
बस! यो कस्तो अभियोग लाग्यो तिमीलाई
न कहिल्यै मनको हथकैडी फुकाएर
छाडिदिन नै सक्छु।
हो तिमीले सजाय भोग्नै पर्छ
मनको चार दिवारीभित्र कैदीको
पर्याय बन्नै पर्छ,
किनकि तिमी दोषी बन्यौ
मीठो भूल गरेर ,
तिमीमा अभियोग लाग्यो
कसैको मन चोरेर ।
जाउ जहाँ जान सक्छौ तिमी
न्यायको ढोका ढक्ढक्याउन
एलान गर म दोषी हुइन भनेर
त र पनि म तिमीलाई दोषी नै देख्छु
तिम्रो मन र आँखाभरी चोरीको
झलक नै पाउँछु ,
खुलासा गर फेरि पनि
म निर्दोष छु भनेर
त र पनि म तिमीलाई
क्षमाको भिख दिन कँजुसाइ नै गर्छु
किन कि गर्यौ तिमीले
अन्जान भूल,
गड्यो मेरो मनमा मायाको शूल
ल… भन गर्छौ कि त मायाको कबुल?
कि त स्वीकार्छौ
आफ्नो मीठो भुल ?
त र मैले त बन्दी नै बनाएँ
मनको कठ्घरामा,
अपराधी नै भए पनि मन पराएँ
सुस्तरी सुस्तरी ……….
अनि ठहराएँ आजीवन मायाको दोषी ।

(अमेरिका )


****


कहिलेकँहि नशाले तिमी, मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।

मन हो बहलाउन, जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

म त तिम्रै चाहना हुँ, रिसाउ वा खुसाउ मसँग
रिसले होइन,दङ्याएर, पात्तिएको मन पर्छ ।

मनले माया गरेपछी, हर कुरा नै मीठो हुन्छ
म सँग रिसाएर, कागज झैँ च्यात्तिएको मन पर्छ ।

(अमेरिका)

(गजल बिशेष गरेर शुरा,सुन्दरी लाई लिएर पहिला लेखिने गरिन्थ्यो आजकल भने बिभिन्न कुरालाई समेटेर लेख्न थालिएको छ यो शिशु गजलमा मैले पनि अलिकती नशाकै चर्चा गर्ने प्रयास गरेकिछु )


*****

रोजेँ मैले मनको साथी, तिमीलाई प्रवास आज
जब तिम्रो हात पाएँ, छायो मनमा मधुमास आज ।

छहारिको खोजी थियो, यो मन लुकाउनलाई
अनायसै पाएँ तिम्रो, सुन्दर मनको आवास आज ।

एकान्त प्रेमी मन मेरो,किन चन्चल बन्दैछ
जब दिलले तिमीसँग,गर्यो मीठो सहवास आज ।

स्वतन्त्र र आजाद थियो,समयको हरेक पल
मलाई नै कैद गर्ने,त्यो बन्यो काराबास आज ।

(अमेरिका )

(गजलले फेरी कसैको उपनाममा सजिन मन पराएको छ गल्ती भये क्षमा प्रार्थी छु ।



*****

« Last Edit: February 20, 2015, 03:28:40 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15865
नमान पीर हँसाऊ मन फुलाऊ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाऊ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाऊ जिन्दगी ।

बाँचेर हेर हर्षले यहाँ जीवन सजाई
हर्षले बाँच ब्यथाले हैन डुलाऊ जिन्दगी ।

रित्याइदेऊ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाऊ जिन्दगी ।

(झ्याउरे लयमा ३ +२, ३ +२, ३ +३, मात्रा मा गजल लेखन अभ्यास
सबैको तारतम्य मिलाउँदा कहिं न कहिं त चुकी हाल्छ त र पनि प्रयास जारी छ )


****

 सम्झौता

यो शुन्य मथिंगलमा
केवल…बेदनाको आगो सल्काएर
यत्तिखेर म न्यानो तापिरहेछु
आफ्नै समस्याको धुनी सम्झी
हो,
आउँछन, जान्छन
पिर,ब्यथाका उकाली ओरालीहरु
तर हामीले धैर्यताको तोक्मा टेकेर
आफूलाई राहतको बिसौनी दिनु पर्छ
ताकी यो सँधै अनि सबैलाई
परि आउने जंजाल हो भनि ।
नत्र त कसरी जीवन बढ्ला
आफ्नो रफ्तारमा अगाडि?
किन कि यस्तै यस्तै बाध्यतामा
जीवनले आफ्नो सत्यता भोग्न
आत्मासात गरेकोछ ,
यसैले म अचेल सम्झौताको
पहाडसँग आफूलाई उभ्याउन
प्रयासरत छु।
कत्ति पनि नथाकी,
रत्तिभर नभागी आफूलाई
त्यही पिर,ब्यथाको पर्याय मान्दै
रापिलो धुनिमा चिसिएको मन सेक्दै
हाँस्न, बाँच्न र जीवन भनाउन
उत्प्रेरित छु, उत्साहित छु ।

********

सँगै बाँच्ने बाचा हाम्रो,पुरा हुन दिएन दस्तुरले
हाम्रो भेटको निवेदन पनि किन लिएन दस्तुरले ?

च्यातियो हाम्रो मनको रुमाल, जहाँ माया बाँधिएथ्यो
दयालु बनी हाम्रो पक्षमा, फेरि किन सिएन दस्तुरले?

खै!कस्तो मिलन हो? समाजबिच एकसाथ हुनै नसकिने
हाम्रो चाहनाको चोखो अम्रितलाई, किन पिएन दस्तुरले?

केही ढिलो भएछ,हाम्रो जीवनले सँगै हाँस्ने पल पाउन
जिउनु पर्थ्यो हाम्रो निम्ती भएनी किन जिएन दस्तुरले?

(अमेरिका)

*****


मूर्ती पुजेर
मान्छेलाई घ्रीणित ब्यवहार गर्नु
मानवीयता हैन जस्तो लाग्छ
त र…… बाध्यता,
जब मान्छेहरु नै मूर्ती भन्दा
अन्धो र कठोर बन्छन भने
अनी…. मान्छेहरु नै अचल बनेर
पापको भागीदार बन्छन भने
अर्को बिकल्प नै के रह्यो र ?
हो कस्ले सुनेको छ ?
इश्वरले आशिष फलाकेको ?
कस्ले महसुश गरेको छ
ढुङ्गाको मूर्तिले शीरमा
आशिर्बादको स्पर्षले छोएको ?
त र पनि मान्छे,
आस्थाको धरोहरमा भुलेर
ढुङ्गाको देव पुज्न वाध्य छन
मान्छेलाई अनास्थाको खन्डहरमा
धकेलेर निर्जिव मूर्तिलाई
कोठा र चोटामा सजाउन
लालायित छन
अनी…. यिनै मान्छे,
मानवियताको ब्यापारी बनेर
इेश्वरलाई बली चढाउने बहनामा
निरीह पशुहरुको हत्या गर्न
उत्प्रेरित छन।
वास्तवमा कस्ले सुनेको छ
मूर्तिले रगतको भीख मागेको ?
कस्ले देखेको छ
ढुङ्गाका देवताहरुले हिंस्रक बनेर
बलिको रगत पिएको र चोक्टा लुछेको?
त र…… पनि मान्छे
धर्मको आढ्मा हत्या गर्न
अभिप्रेरित छन
अनी तिनै प्रशादरूपी चोक्टाहारु
राक्षस बनेर प्रशादको बहना गरी
लोभि जिब्राहरु लप्लपाएर
लुछ्न मग्न छन ।
अब…. सोंचौ,
मानव मनमस्तिष्क लाई घच्घच्याएर
मान्छेको अपमान मान्छेले किन गरिरहेछन ?
मूर्ती पुज्ने निहुमा हत्यारा
किन बनी रहेछन ?
अनी….. मान्छेलाई विश्वाशको
किनाराबाट पंछाएर
निर्जिव ढुङ्गा किन ढोगी रहेछन ?
हो…. मूर्ती पुज्ने मनहरुले नै
मान्छेलाई घ्रीणा गरिरहेछन
तर फेरी निर्जिव देवताको आस्थाको
अभिप्शामा आँफै राक्षस बनिरहेछन
त्यसैले मूर्ती पुजेर मानवताको
ढोङ पिट्नु र मान्छेबाट नै अमानविय
ब्यवहार पाउनु शायद एकार्काको
पर्याय बनिरहेछ ……….!

(अमेरिका )


*****


परदेशमा भए पनि, खुशीले हाँस अनुकूल तिमी
दु:खको भूमरीलाई हाँसोले नास अनुकूल तिमी ।

नसोँच कहिल्यै म मात्र, बिदेशको पीडामा छु सधैं
खुशीमा फूलको माला, प्रेमले गाँस अनुकूल तिमी।

छट्पटिमा बिते कठै! तिम्रो रात अनि दिन पनि
मनको पीडालाई, धैर्यताले मास अनुकूल तिमी ।

बगाउँदैछौ पसिना बिदेशमा, त्यो क्षणिक हो जान
तरै पनि देशलाई, मनमा टाँस अनुकूल तिमी ।

(यो गजल मैले अनुकूलको नामबाट प्रभावित बनी लेखेँ
१९/१९ अक्षरबाट प्रयास छ।समर्पित अनुकूललाई यो शिशु गजल)


*****


 बन्द बाकस

सधैं बिरक्तिमा सुस्ताएर
मनलाई निचोर्दै
हाँस्न बाध्य अधरहरु
कलेटीको पाप्रासँगै
सम्झौतारुपी थुकहरु
निल्न वाध्य छन् ।
सास्तीहरुको पाहुपासभित्र
आफूलाई चाबी लगाएर
स्वतन्त्रता र शान्तिको
चाबीले खोल्न ब्याकुल
ती मनहरु,
तालाका प्वालहरुमा चाबी
हुल्न नै डराइरहेछन्
किन कि चाबी खोल्ने हातहरु
काँपी रहेछन
गोली बारुदको आट्टहासरुपी
आवाजको त्रासमा ।
सचेत मन त छ
तर छैन सचेतता कसैमा
कोमल भाव त छ
तर कोमलता छैन कसैमा
त्यसैले कस्को साहस?
स्वतन्त्रा र शान्तिको ताला खोल्ने ।
साँचो बोल्न पनि
बोली तौलिनु पर्छ
सत्य अपनाउन पनि
असत्यलाई अंगाल्नु पर्छ
त्यसैले त हरेक मन
पक्षघातको शिकार बनिरहेछ
हर पौरखी र बलिया पाखुराहरु पनि
सुस्तताको डोरीले बाँधिएको छ ।
हो त्यसैले ती हातहरु
लग्लग काँपी रहेछन्
अनि,
शान्ति र सभ्यताको
शब्द ओकल्ने अधरहरु
थर्थराइ रहेछन ,
विवशताको कठ्घरामा
थुनिएर ।
त्यसैले बन्द छ त्यो बाकस
अशान्ति र अन्यायको
तालामा जकडिएर ।
सारा हातहरु लालायित छन्
त्यो अर्घेलो तालाको
बन्धन तोड्न ,
हेरौँ अब कहिले जुर्ने हो?
त्यो सुनौलो अवसर
त्यो क्रुर तालाको
पलायनताको समय ।


*****

म छु बिश्वस्त गरेनौ शायद, मेरो मायालाई तिरष्कार
अनि सोच्दैछु फेरि यो पनि, गर्ने छैनौ मनबाट बहिष्कार ।

तिम्रो माया जिउने आधार भयो, अनि आश्वासन जीवन
जीत भयौ तिमी यसै मेरो, अनि भयौ जीतको पुरस्कार ।

ठान्दछु म मन स्वच्छ भए, पाईन्छ मीठो खुशीको बरदान
कुन ईश्वर हो त्यो जस्ले, रच्यो तिम्लाई गर्दछु म नमस्कार।

हो भावना र चाहनाले रोज्यो तिम्लाई, यस्मा मेरो के दोष ?
थाहा छ मलाई यो पनि, तिमीमा छैन मेरो पूर्ण अधिकार ।

(९/२९/ २००९ साँझ )


देश किन दुख्नु ?

सब लेख्छन देश दुखेको
कबिता, गीत, गजल
अनि के के, के के, …….?
मलाई त लाग्दैन कि
देश दुखेको छ,
देशलाई रोग लागेको छ,
देश शिथिल छ ,
अँह…. होईन………,
म पटक्क मान्दिन,
देश किन दुख्नु ?
यदि देश दुखेको भए
शायद……. यत्ति बिघ्न
आप्राधिक क्रियाकलापहरू सहेर
उ अझ सबल झैँ किन
अडिग भएर बाँचिरहन्थ्यो ?
बरु लेख्नोस न
देश दुखेको गुनासो हैन
देशलाइ उपचार गर्ने
मथिंगलहरू नै
रोगले भयभित बनी
दुखेको छ भनी,
अनि सोच्नुहोस् न ,
देशलाई सुरक्षा दिने
पाखुराहरू नै
“प्यारालाइसिस”ले
ग्रषित छ भनी ।
अनि भन्नु होस् न
देशको जग बनेर देशलाई
उभ्याउने खुट्टाहरू नै
“रिक्रेट्स” जस्तो संक्रामक रोगले
कुंजिएको छ भनी ।
यी सब रोगहरूमा
नजर अन्दाज गर्ने आँखाहरूमा नै
रतन्धो लागेको छ भने
अब कसरी भन्ने
देश दुखेको छ
देश दलदलमा फँसेको छ भनेर ?
म त भन्छु हामी सबै
मित्थ्या भ्रममा फँसेका छौं
केवल देशलाई दोषेका छौं
जब हामी नै असक्त र
अपाहिज छौं भने,
धर्ती कसरी अशक्त बन्न सक्छ ?
उ त कालान्तरदेखि नै
स्वस्थ्य, अजर, अमर छ
त र अफ्सोच !
उस्लाइ सम्रक्षण गर्ने
हाम्रा हौशला र सोंचहरूमा नै
धमिरा लागेको छ भने
अब सम्झौं
देश कसरी दुख्न सक्छ ?
शायद देश दुखेर
उस्ले पीडाबोध गरेको भए
त्यो छात्ती जीर्ण, जीर्ण बनेर
यत्तिखेर सम्म
कहाँ हामीले देश दुखेको
पीडाबोध गर्ने मौका पाउँथ्यौँ र ?
हो….. देश सबल बनेर त
हामीले नानाथरी अभिनय गर्दै
देशको छात्तीलाई रंगमन्च
बनाएर टेकीरहेका छौं,
कुल्चिरहेका छौं ,
बिभिन्न ढोङ रचेर ।
अब भने शायद
यसरी नै यो छातीमा
तान्डव नृत्य गरिरह्यौ भने
देश दुख्नु मात्र नै
देश दीर्घ रोगी बनेर
कुनै दिन लम्पसार बनिदिनेछ
अनि हामीले देश दुखेको
आभाष मात्र ग र्नेछैनौ
देश चिरनिद्रामा सुतेको नै
महसुश गर्नेछौँ
अनि हामी आफैं
चिरनिन्द्रा बाट ब्युँझनेछौ
कि…. देश दुखेको वा,
हाम्रै सोंच, मानसपटलमा
रोगका किटाणुहरूले
संक्रमण गरेको भनी
त्यसैले म मान्दिन
देश दुखेको छ भनी ……..।

(मार्च १५, २०१० रचना समय )

****


आरोप प्रत्यारोप,
विश्वाश, अबिश्वास,
घाट, प्रतिघात
न्याय, अन्याय को चक्रब्युहमा
फँसेको म निरीह देश
मेरो स्वाभिमान आज भोली
हरेक जनताको अभिमान अनी प्रतिशोधको
ज्वाला बनेर जलिरहेछ ।
स्वाभिमानको अग्लो शीर बनेर
उभिएको मेरो सगरमाथा पग्लिएर
हर आँखामा छचल्किएकोछ ।
चन्द्र,सूर्य छात्तिमा टाँसेर
फर्फराउने मेरो प्रतिक
केवल लाजको पछयौरिमा मात्र परिणत छ ।
बिडन्बना हो या सतिको सराप भनु .
मेरो छात्ती कौरव ,पान्डवको
युद्धरूपी रणभूमी बनेको छ ।
स्वयम्भूको त्री नेत्रले
तान्डव न्रीत्य हेर्न मात्र बिवस छ
अधीर बनेर मलाई सदा सर्वदा
आषिश दिने पशुपतिनाथ
यथार्थ मा नै”पशुहरुको ”पतिमा मात्र अनुवाद छ ।
हामी एक हौ भन्ने बाणी
अनेकतामा बिभाजित छ
मेरी आमा मेरो देश भन्ने
भावना र शब्दहरु इेर्ष्या र जलन अनी घ्रीणामा
परिवर्तित् छ ,
त्यसैले म निरीह देश
मेरो ललाटमा केवल —
निरीह कोरिएको छ
मेरो आफ्नो स्वाभिमान ,अस्मिता
बन्धकमा परेको छ ।


****

नसम्झनु दाजु मलाई तीजमा आइन भनेर
अरुले झैं तीजको गीत बहिनीले गाइन भनेर

आँखा त्यसै रसाउँछ, पीडा बढ्दैछ मनभित्र
नसोँच्नु पाप है , माया चेलीले लाइन भनेर

नसम्झनु दाजु मलाई तीजमा आइन भनेर
अरुले झैं तीजको गीत बहिनीले गाइन भनेर

आँखा त्यसै रसाउँछ, पीडा बढ्दैछ मनभित्र
नसोँच्नु पाप है , माया चेलीले लाइन भनेर

झ-झल्कोले सताउँछ, मुटु पनि चर्किरैछ मेरो
मन त्यसै रोइरैछ, माइती भेट्न पाइन भनेर

परदेशमा रुँदैछु म, भेट हुने दिन गन्दै आज
नसोँच्नु है दाजुभाइ, तीजको दर खाइन भनेर

(समर्पित शिशु तीज गजल जो चेलीहरु
आफ्ना माइतीबाट टाढा रहनु भएको छ )

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15865
देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरूले
अँझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरूले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा सृजना अमेय छन।
हाँसी रहेछौ तिमी अटल सूर्य बनेर
नेपाली साहित्यकाशमा ,
बाँची रहेछौ तिमी”मुना मदन”बनेर
हर सर्जकहरूका मानसपटलमा ।
ज्योति थियौ तिमी अलौकिक ज्ञानको
मोती बन्यौ तिमी साहित्यरूपी समुद्रको ,
त्यही ज्योति आज
साहित्यको “आभा” बन्यो
त्यही मोती सबको सृजनाको माला बन्यो ।
तिमी प्रतीक हौ कवितामय संसारको
पथ प्रदर्शक हौ तिमी सद्भभाव र सहृदयताको ,
गर्न सकौं ग्रहण सबले
तिम्रा प्रसादरूपी कविताका उपदेशहरू
पाउन सकौं सदा तिम्रा अजम्बरी
आत्माका जसहरू ।
तिम्रै सृजनामा अमर बने
निश्चल प्रेमीको जोडी “मुना मदन”
तिम्रै भावनामा समान भए
जातिभेद पनि ,
यसैले हामी गर्छौं श्रद्धा
“लक्ष्मी” तिमीलाई आजन्मभरि
तिम्रै चरणमा राख्छौं माथ हामी सधैंभरि ।

(अमेरिका )

****

लाग्छ सबै फिक्का फिक्का



उस्तै हो हिमाल, वन, जंगल, डाँडा, काँडा
उस्तै छन,
मान्छे पनि उनै हुन
घाम, जून उही छन
त र पनि किन लाग्छ
सबै फरक, फरक ?

माटो त्यही हो,
टेक्ने धर्ती उस्तै छ ,
हावाको स्पर्षले उसरी नै छुन्छ
त र पनि किन लाग्छ
सबै फिक्का,फिक्का ?

मन उही छ छातीभित्र
मुटुको आकार उही हो
हेर्ने आँखाहरू त्यही हुन,
त र पनि किन लाग्छ
सबै नौला,नौला ?

हो…. यो सत्य हो,
म देख्दिन आफन्तको छायाँ,
पाउँदिन ति मायारुपी शब्दहरू,
अनि साट्न सक्दिन भावनाका उद्गगारहरू,
किनकि फरक यत्ति हो
म आफ्नो आगनबाट ओझेल छु
म आफन्तको सामिप्यताबाट
बन्चित छु ,
आफ्नो माटोबाट बिरानो छु ,
बस ……………!

(अमेरिका )


*****


संगीत बिहीन मौन जुवारी




ब्यर्थ बिचारको उहापोहमा
मस्तिष्क खर्चेर हामी
सदा शीतयुद्धमा लडिरहेछौँ
ता पनि…..
सकारात्मक निश्कर्षको
प्राप्ती छैन हामीलाई ,
अन्यौलमा भौँतारी रहेछौं
अकथित भावनाहरु मनभरी गुम्साएर
एकार्काका बिचारहरुसँग
असहमतिको सहिछाप गर्दै
मौन जुवारी खेलिरहेछौँ ।
कोही राजनीतिको रखवाला भएर
युद्धको धावा बोलिरहेछौँ
कोही धर्मको बिभाजनमा एकार्कालाई
बिभाजित गरिरहेछौं
कोही लिंगभेदको निहुंमा आफूलाई
अग्रणी बनाइ रहेछौं ,
कोही जातिबादमा
अन्धो बनिरहेछौँ ।
हो यो मौन जुवारीमा
न मादलको मीठो ताल छ,
न त सारंगीको स्वीकृतिको
मन छुने मीठो धुन छ
न त बाँसुरीको लय छ
फगत !यो जुवारी संगीतबिहिन छ
असमर्थन र अस्वीकृतिका शब्दहरु
ब्यर्थमा भरिएको छ
यो कण्ठबिहिन जुवारीमा
पोख्त संगीतकारको कमी छ
मीठो स्वरदिने गलाको
आवश्यकता छ
अनि सहि शब्दकारको खाँचो छ
यो मौन जुवारीमा ।


****

 देश सम्झेर

हो, म चटक्कै
आफ्नो माटो बिर्सिएर
सात समुन्द्रको माटो
टेक्न आइपुगे,
तर मेरो देशको माटो
मेरो निधारमा टिका बनेर
टाँसिएको छ
कहिल्यै नमेटिने गरी ।
मेरा खाली पाईतालाहरुमा
टाँसिएका मेरो सानो देशका
माटोका कणहरु अझै पनि
मेरा औंला औँलाहरुमा
टल्किरहेछन् सगरमाथाको
पर्याय बनेर ।
निधारमा मेहेनतको पसिना पग्लँदा
म सम्झने गर्छु,
त्यो खेतबारी र करेसाबारीका
कुलेसोहरु, अनि तृप्त बन्छु
र…,
आनन्दानुभूतीको श्वास फेर्छु
पराई भूमीको यो आँगनमा ।
जब आकाशमा
परेवाका हुलहरु
छताछुल्ल बनेर
उडेको देख्छु
तब लाग्छ मलाई
मेरो देशको बुद्धले
मलाई सम्झेर शान्तिको दूत
पठाइदिए अनि म
आकाशतिर फर्किएर
शान्तिको गीत एक पटक
गुन्गुनाउँछु
बुद्धमशरणम गच्छामी……!


*******

जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ
निराशामै अल्झिदिने जिउँदो लाश रैछ ।

जस्तो चल्छ, चल्दै जान्छ भोग्नै पर्छ आखिर
पीडा, ब्यथा बिर्सिएमा जीवन आहा! खास रैछ ।

बाँच्यौ भनी मक्ख पर्छन, यहाँ मान्छेहरु
साँचो जीवन बचाउने संघर्ष नै सास रैछ ।

जिन्दगीमा हाँसो,खुशी सबै नै अमुल्य छन
खुशी, हाँसो अँगाल्नु मात्र जीवन ह्रास रैछ ।

(अमेरिका )

****

बिक्षिप्त नगरी ईलाम (गजल)

प्रकृतिकी रानीलाई दैवले छल्यो किन ?
सुन्दर त्यो आक्रिती,ध्वस्त भई जल्यो किन ?

हाहाकार नै मच्च्यो होला,धुँवाले नभ ढाक्दा
त्यती मनोरम शहर,दन्दनी बल्यो किन ?

प्रकृतिलाई हँसाई,आफु पनि हाँसेथ्यो
रुखो हावा त्यहि क्षण,सरर चल्यो किन ?

उच्च शीर फैलाई,पहाडको शान राखेथ्यो
त्यहि शीर कस्तोगरी,आज फेरि ढल्यो किन ?

हँसाइ सबैलाई स्वागत गर्दै बाँच्ने शहर
हाँस्ने अधरमा नै,कालो रंग दल्यो किन ?

(बिक्षिप्त नगरी ईलाम प्रति गजलरुपी शब्दहरु समर्पण फेरि एकपटक ).



****

नजरको बाणले हान्यो कि मलाई ? (गजल)

नजरको बाणले हान्यो कि मलाई ?
मनको मन्त्रले तान्यो कि मलाई ।

बुझ्न नै सकिन आज खै के भनुँ ?
प्रियसी भनेर जान्यो कि मलाई ।

सकिन बुझेर मन नि कहिल्यै
जीवन संगीनी मान्यो कि मलाई ।

शायद असल प्रेमी नै भएर
मनकी प्रेमिका ठान्यो कि मलाई ।

हज्जारौं सुन्दरी छाड्दै पो यसरी
एक्मात्र मायालु छान्यो कि मलाई ।

छुटाइ कहिल्यै टाढा नै नगर्न
कसिलो डोरिले बान्यो कि मलाई ।

(रचना १९ अगस्ट २०१० )


****

बदामी छन गाला मेरा



बदामी छन गाला मेरा नयन छन लट्ठ
मेरो रूप हेरि हेरि पर्छन सबै दंग

नागबेली केशराशी लहराउँदा झन
रूप मेरो देख्दा अझ मान्छ कस्को मन

पिपलपाते अधर् मेरो मुहार छ हिस्सी
चाल मेरो हेरेर नै सबै हिँड्छन् जिस्की

लचकदार हिँडाइ मेरो हाँसो छ मीठो
लजालुपन देख्दा मेरो फंस्छन् जवान ठिटो


****

तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।

अन्जान र खाली थियो मनको सँघार मेरो
आशाको सुन्दर महल कस्तो गरी ठड्यो हेर ।

निरशता र अधुरो रहर, मात्र बाँकी थियो
सारा आज खाक भै मेटिएर डढ्यो आज ।

धेरै नाम लेखिए मन भित्रका पानाहरूमा
तर केवल तिम्रै नाम यो अधरले पढ्यो हेर ।

(अमेरिका)


****


फुलेको जवानी !
(असोज मधुपर्क, २०६८)

अहा ! जिन्दगीमा सुनौला पला ती
सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती
छँदा कोपिला, फक्रँदाका कहानी
छुटे, शेष भो लौ, फुलेको जवानी !
अनेकौँ कडा ग्रीष्मका तप्त राप
सही, शुष्क हेमन्तको दृष्टिपात
शरद्को उज्यालो, बसन्ती बिहानी
मुछी घामछायाँ, फुलेको जवानी !
सयौँ प्राप्तिका साथ, सन्तुष्ट आँखा
अझै तिर्सनामा डुलेका चनाखा
सयौँ मोड-घुम्ती, सयौँ लाभ-हानी
निफन्दै, नियाल्दै, फुलेको जवानी !
सयौँ शोकका तप्त गङ्गा नुहाई
अझै उत्ति हषर्ाश्रुमा छङ्छङ्गाई
नपाएर पत्तो, उसै जिन्दगानी
छचल्केर आयो, फुलेको जवानी !

*****


उफ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
“आमा” “आमा”……..
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,
अनि मलाई कानमा शब्दहरूको
बौछार गर्न थाल्यो
ए… “आमा” शब्दको साईनो
कस्लाई लगाइरेको छस ?
छैन तेरी आमाको अस्तित्व अब
ऊ हेर तेरी आमा खोक्रो शरीर लिएर
हावामा कावा खाँदै
माया र सद्भावनाको साईनो खोज्दै
उडिरहेकी छे,
नत्र….विश्वाश लाग्दैन भने
मैले आफ्नो शिर उठाएर माथि हेरें
एउटा रङहिन चङ्गा बत्तसिदै उडिरहेको थियो
म हेरी रहें,हेरि रहें ,
चङ्गा कावा खाँदै उडिरहेकोथियो
अनायस…. धागो चुंडियो
चङ्गा बत्तासिदै भुइँमा झर्न थाल्यो
म अधीर बनेर हेरिरहेको थिएँ
अनायस फेरि मैले टेकेको
सगरमाथाको हिउँ पनि पग्लिन थाल्यो
म पनि खुट्टाले अडान पाउन नसकी
भुइँमा बज्रिन पुगेँ ,
मेरो शरीर त्यही चङ्गाको छात्तिमा
अडिन पुगेछ,
मेरा शरीरमा अल्झिएका हिउँका ढिक्काहरू
अनायस पानी बनेर चङ्गाको छात्ती चिस्याउन
वाध्य बनेछ,
त्यो चिसोपनले जब म निन्द्राबाट
झल्याँस बिउँझे मेरो अगाडि
एउटा जवान केटो उभिएको रहेछ
जस्ले भनी रहेकोथियो आज मेरो
लापरवाहिको कारणले मैले मन पराएको
चङ्गा खुशीले उड्न नपाई भुइँमा खस्यो
जस्को खुशीको उडानको अधिकार मैले खोसें
जस्ले अल्पायुमा नै अवसानको बाटो
रोज्नु पर्यो,
जसरी मेरी धर्तिरुपी आमाले भोग्दैछिन
हो म त्यही अप्राधी खेलाडी बनेँ
जस्को डोरी मेरो हातमा थियो
आफ्नै लापरवाहिले आँफै छिनाएँ ।
ऊ मौन बन्यो
मेरो शरीरबाट पग्लिएर झरेको पानी त
त्यही चङ्गाको आसुँ बनेर झर्न थाल्यो
मैले चङ्गालाई समातेर हेर्न चाहेँ
त्यही आँशुरुपी पानीले गलेर
चङ्गाको स्वरूप भाताभुङ भयो
अनि बल्ल….. म झस्किन पुगेँ,
कतै मेरी आमा पनि यसरी नै
आकारहिन भ्एर मेटिने त हैन ?
अनि सोँचे मैले मेरी आमाको पटुकीलाई पनि
दर्हिलो सँग समाउनु पर्छ ,
कतै त्यही जवान केटोको हातबाट
धागो चुँडिएर चङ्गा झरे झैँ
मेरी आमाको पटुकी पनि चुँडिएर
आमा निर्बस्त्र नहुन र आमाको
अस्तित्व पनि त्यो निरश चङ्गा झै
सुन्यतामा बिलिन नहोस्…..,

अस्तु

(अमेरिका )


*****

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका लाउन सकिन दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु
सयपत्रीको मालामा , मुस्काउन सकिन दाजु ।

रमाइलो त्यो पल अनी खुशीको मिलन पनि
चाहेर पनि यो मनले, पाउन सकिन दाजु ।

तिहारको रमझम, देउसे, भैली मनमै छ
अन्धकारमा म, जून बनी छाऊन सकिन दाजु ।

(परदेश बाट )


****

हौ तिमी प्रेरणाकी खानी

हौ तिमी प्रेरणाकी खानी
अनी कोमलताकी रानी।

हौ, जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।

प्रक्रितिमै छौ सुन्दरम
अनी हौ फूल की जवानी ।

पाएर तिमीलाई सधैं
मुस्काउँछ हर बिहानी ।

सीता र द्रौपती पनि
बोल्छन् प्रेमकै काहानी ।

यदि नभए धर्तिमा तिमी
हुन्थे नी कत्ति मनमानी ।

झरना पनि हौ तिमी नै
गंगा सरि निर्मल पानी ।

(नारी दिवश । ९ /९ अक्षरको गजल यसै उपलक्षमा कोर्न अभिप्रेरित भएँ )


*****

उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म ,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र रु
अनी —सेता अग्ला हिमालहरुको
द्रीश्यले किन मोहित थिइन र रु
तर —फूलको सौन्द्रय र सुगन्धले
गाँस पुग्ने भए ,
हिमशिखरको काखमा बास टर्ने भए
शायद —मैले जिउनुको अर्थमा
लक्ष्मण रेखा पार गर्ने थिइन ।
म मान्छे ,
आफु बाँचेर अरुलाई पनि बचाउनु छ
बचाउनुको आशयमा बांच्ने आधार खोज्नु छ ।
त्यसैले —बलियो आधारको खोजिमा
म आफ्नो भुमीबाट अलग्गिएकिछु ।
मलाई दलान र बलेशिको आनन्द
किन थिएन र रु
अनी करेशाबारी र खेत्बारिको
झझल्को आँखामा किन छैन र रु
त र —दलान र बलेशी नै
आजभोलि पराइ ठान्नु परेपछी
करेशाबारी र खेतबारी नै बन्धकमा परेपछी
शायद —म,
अर्को श्रीजनाको अर्थमा
पराइ बनेकिछु
मेरो बन्धकी हाँसो उकास्न ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15865
तिम्रो मायाको तापले यो मनले न्यानो चाह्यो प्रवास
तिम्रो मीठो सामिप्यताले मनले राहत पायो प्रवास।

उजाड थियो मनको पाखा मेरो ,निरश थियो बैँश पनि
अनायस तिम्रो आगमनले हरियाली छायो प्रवास ।

उदासी नै साथ थियो,थिएन कहिल्यै मन खुशी
जब संघार टेक्यौ दिलको मनले गीत गायो प्रवास।

सोँच्न थाल्यो मनले अब,भुल्ने छैन उस्लाई भनी
तिमीसङै समाहित भएर कसम मनले खायो प्रवास ।

(अमेरिका )

(उक्त शिशु गजलमा मैले प्रवासको नाम रदिफको
रुपमा पैँचो लिएकी छु आपत्ति नहोला भन्ने आशामा )

*****

तिमी,
बर, पिपलको छहारी थियौ
त्यो गोरेटोको,
हर थकित बटुवाहरूको निम्ति
जो थकित अनी त्रिषित बनेर
तिम्रो शितलताको आशामा
तिम्रो कुटिमा बिश्राम गर्न पुग्दथे
हो म पनि त्यही बटुवा मध्ये
एक थिएँ जस्लाई तिमीले
हाँसी खुशीले स्वागत गर्थ्यौ
मेरो भोक,रोग,शोकको ख्याल गर्थ्यौ
आफू आधा पेट खाएर पनि
मेरो र साराको भोकलाई प्राथमिकता दिन्थ्यौ
त र अनायस मैले सुनेँ
अब तिम्रो अस्तित्व छैन रे
तिमी त यो धरतीलाई छाडेर बिलिन भयौ रे
म कसरी विश्वाश गरुँ ?
तिमी त्यती निर्दैयी बनेर
हामीलाई त्याग्छौ भनी ?
म कसरी मन थामुँ ?
अब हाम्रो मिलन असम्भव छ भनी,
अनी म कसरी मानुँ ?
तिमी ओइलिएर झर्यौ भनी ?
तिमी त गुलाब थियौ
हज्जारौँ काँढा बिच पनि हाँसेकिथियौ,
तिमी त साहशी नारी थियौ
लाखौँ बाधा अड्चन पनि सहेकीथियौ
त र कस्तो बिडम्बना पर्‍यो ?
जस्को सामु तिमी थाक्यौ गल्यौ
अनी त्यो चौडा मन खुम्च्याएर
म्रीत्युको काख रोज्न पुग्यौ ।
जब सुनेँ मैले तिमी अस्ताएको खबर
मेरा आँखा अघाडी छाउन थाले
हाम्रा अतितहरू,
कहिले तिम्रो दु:ख छचल्किंदा
मैले शान्त्वनाले पुछिदिएको
कहिले पीडाले म आक्रान्त बन्दा
तिम्रा आश्वासनरुपी हातहरूले
मलाई राहत दिएको ।
हो म कसरी भुल्न सक्छु र ?
थोरै खुशीमा पनि हामी
रमाएका क्षणहरू।
झझल्को बनेर छाइरहेछ यसघडी,
त्यो आङन, त्यो गोरेटो
जहां हामी मनको गाँठो फुकाएर
ब्यथाहरू साट्ने गर्थ्यौँ
अनी जत्तिबेला हामी एकार्काको
पर्यायी बनेर मीठा सपनाहरू बाँडेर
हरपल काट्ने गर्थ्यौँ
त र अफ्सोच!
सब सपना भए
हाम्रा साथहरू मात्र, अब झझल्को भए
मात्र झझल्को भए ।

(भर्खरमात्र मेरी जेठानी दिदी ब्रेनक्यान्सरबाट बित्नु भयो
वहाँको सम्झनामा यो कबिता परदेशबाट )

(अमेरिका )

***


किन किन मन मेरो त्यसै नै जली रह्यो
रापिलो आगो बनी तन मेरो बली रह्यो ।

मुहारमा खुशी छैन,अधरमा हाँसो पनि
सुस्ताएर सारा शरीर कमजोर बनी ढली रह्यो ।

जोश,जाँगर खोसिएर मन त्यसै निरश भयो
किन ,किन सारा उत्साह भित्र भित्रै गलि रह्यो ।

बसमा छैन मन मेरो बेचैन् छ दिल पनि
सारा पीडा मनभरी आँधी बनी चलिरह्यो ।



****


अन्तिम कोशेली गिरिजालाई

एउटा हस्ती अनि
राजनीतिक धरोहरको
समापन …….
आखिर पेवा न हो मृत्यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरूले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरू ।
हो मृत्यु अवश्यम्भावी छ
चाहे जो, जेसुकै होस्
कालले उसलाई
पर्खिरहेकै हुन्छ
त्यसैले ………
आफ्ना लक्ष, उदेश्यलाई
थाती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ
संसारकै नियम सम्झी ।
हो….. मान्छे हो,
जीवनभर कोशिश र संघर्षमा
जीवनलाई उप्केरा दिँदै
फलाउन फुलाउन चाहन्छ
कत्ति कोशिश फल बनेर झाँगिन्छन
कत्ति प्रयास तुषारोले
कुहाइदिन्छन्,
त र पनि नहार्नुको
एउटा ईतिहास लेखेर
मृत्यु रोज्नु मान्छेको
महानता र शाहस हो
हो यही शाहसको एउटा
पर्याय हो गिरिजा
जस्ले जस, अप्जसका
ढाकरहरू बोकेर पनि
आफुलाई थकित नमान्नुको
एउटा बहादुर भरिया
साबित गरेको थियो।
प्रौढताको सिमालाई पनि
तरुणपनको जलप लगाएर
नव जोश, जाँगरको
पहिचान दिएको थियो
सलाम छ त्यो
अडिग बिस्वाशलाई
अनि प्रणाम छ त्यो
शाहसिक कदमलाई ।
शरीर माटो बन्न सक्छ
बन्ने छैनन् उस्का
समर्पणका चेतनाहरू
सधैंभरी हर नेपालीका छातीमा
दुख्नेछन उसका
अभावका बेदनाहरू ।
सुत चीर निद्रामा तिमी
त र पनि ब्युँझनेछन
तिम्रा हर समर्पित भावनाहरू
दिन्छौं यही बिदाइका शब्दहरू
श्रदान्जली ठानी अन्तिम
कोशेलीहरू ।

(रचना -३।१९।२०१० समय ४ बजे बिहान )


****

रहेन अस्तित्व तिम्रो अब
खै! तिम्रो रूपको महत्व
अनि खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरू ,
अनि धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
“नम्र”लाग्दथ्यो तिम्रो स्वभाव
“नम्रता”नाम पाए झैं
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिई सजाए झैं
त र अब लाग्यो …………,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधीबेहरी बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनि तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनि बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनि कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ “सानो संसारको छानो”
अनि सर्वांग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ……………,
हो यही नियती भोग्नु पर्यो तिमीले
बैंश र रूपको आडम्बरमा फँसेर ,
अब सोच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानीको ज्वालामा दन्केर ।

(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )


****

मेरो कुमारी माया सुम्पें तिमीलाई
कतै तिम्रो बाहुपासमा लुकेर
बैंशको अनुभूति पाउला भनी
हो….यो माया अन्जान छ,कोमल छ,
जसलाई तिमीले शिशु ठानेर
मायाको स्पर्शले चुम्नु पर्छ
यो मायाले वयस्कले झै
तिम्रो मादक इशाराको भाषा नबुझ्न सक्छ ,
यसले यौवनाको आकर्षणले
तिमीलाई आकर्षित नपार्न सक्छ
किनकी …….यो माया आफ्नो कुमारित्वमा
मात्र लाडिन जानेको छ ,
त्यसैले सुम्पें तिमीलाई
यो कोमल,अन्जान ,कुमारीमायालाई
बैशको पानी उघाउन लगाउछौ भनी
यो माया तिम्रो आलिंगनमा आत्तिन सक्छ
फेरी अन्जान बनेर तिम्रो प्यारमा
मात्तिन पनि सक्छ ,
तिम्रो बिश्वास र भरोशामा
मैले यसलाई छाडेको छु
अत्त्याउने छैनौ बैंशको मीठो अभिप्शामा
यसलाई तिमीले
हो ……यो कलिलो छ ,
यसलाई नमत्याऊ बालशुलभ ठानेर
बस……..यसलाई त तिमीले तरुणावस्थामा
परिभाषित गर्नुपर्छ,
यसको कुमारित्वको तागारोलाई पंछाएर
यौवनको बाटो देखाउनु पर्छ


****


यो बर्ष हाम्रै हित बनेर आउनेछ

बिस्मृतिको धुलोमा
पुरिँदै, धसिँदै
अनि कुना,कन्दरा र डाली डालीमा
लहराउँदै आयो भन्छन्
नयाँ बर्ष।

मनमष्तिस्कमा
बिझाउँदै,पोल्दै
अनि आँखा र अधरहरूमा
लोलाउँदै, मुस्काउँदै
सुसायो भन्छन्
नयाँ बर्ष ।

खै त! अतितमा झै
उल्लास र उमंग
नयाँ बर्षको?
खै त! बिगतमा झै
हर्ष र खुशियाली
नव आगमनको?
हो सबै प्रश्नहरू
अनुत्तरित छन्
सबै जिज्ञासाहरू
मौन छन्
किनकि हामी सबै
यस घडी मौनताको
छाँयाभित्र अल्मलिएकाछौं
त र पनि हामी
हौं, आशाबादी
यो बर्ष हाम्रै हित
बनेर आउनेछ,
यो समय हाम्रै जीत
बनेर छाउनेछ।

पन्साऊँ नकारात्मक
सोंचहरूलाई,
हटाऊँ बैमनष्यताका
पर्खालहरूलाई,
गरौं न्वारान
आउने नयाँ शिशुको
राखौँ नाम
शान्ति र सद्भाव भनी ।

पर्दैन गर्न स्वागत
फूलको हत्या गरेर
पर्दैन गाउन गीत
शुभकामना भनेर
गरौं चोखो आत्माले
भाव स्वच्छ पोखेर
मिलाऊँ हातहरू
नयाँ बर्ष सुखद
होस् भनेर।

यही कामना गरौ
सबै मिलेर,
नयाँ भावना जगाउँ
नव बर्ष फलोस्, फुलोस
भनेर।

2015
****

सयपत्री मखमली ,गोदावरी अनी चमेलिसङै
मेरो आगन रमायो शायद ।
दुबो अनी अक्षतामा दशै तिहार
जग्मगायो शायद,
म भने झ झल्को आँखाभरी सजाएर
परदेशी हुनुको पीडाबोध सहिरहेछु
साँझको नभलाई चिहाएर
मान्यजनको आशिषको कामना मागिरहेछु ।
त्यो देवी थान,
लिङेपिङमा आफ्नो बैँश साटेर मचियो होला ।
त्यो गाउँको गोरेटो
आषिशको टीका र जमराले ढाक्यो होला
अभावको भकारीमा जमरा टुसाए शायद ।
बर्षौ बर्ष हराएको खुशी
लालुपाते ओठ बनेर मुस्काए होलान ।
म भने,
सम्झना मनभरी पालेर
टाढा हुनुको आघात खपिरहेछु ।
पारी क्षितिजलाई मेरो आगनको
पर्याय मानेर
जुन, तारा झलमल्ल कल्पनामा
सजाइरहेछु ।


2015

****
करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरुलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।
बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनी पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको
त्यो समयमा आफ्नाहरु पनि
तर्किएर बैरी बने होलान,
मन भौंतारिएर आश्वासनको खोजिमा थियो
शान्त्वनाको पुल बाँधिदिने हातहरु
सुन्यतामा हराए शायद ,
हो यस्तै बाध्यताहरुको कसिमा
आफुलाई बाँधेर म परदेशिएकी छु।
बैरी र अवसरबादिहरुलाई आकर्षणको
फूल चढाउन
म टाढा आइपुगेकी छु ,
मेरो टाडिनुको अर्थ हो
म आकर्षक बनुँ
जस्लाई फेरि बैरी मनहरुले
श्रद्धा र आफ्नोपनको आँखाले नियालोस
घ्रीणा र हिनभावनालाइ पखालेर
एउटा जिवित मान्छे बनोस।

****

धेरै समयपछि आज म
भिन्दै प्रसव पीडाले छटपटिएँ
म चकित भएँ आश्चर्यमा डुबेँ
हँ म गर्भवति त थिईनँ
किन अनि कसरी
मलाई प्रसव पीडाको आभास भयो?
तर म भ्रममा परिछुँ
केवल… मान्छे जन्माउनमात्र पीडाबोध गरिछु
म भित्र भावनारुपी बच्चाहरुपनी
जन्मने उत्कट अभिलाषाहरु बोकेर
छट्पटिई रहेका रहेछन्
एउटा सिङ्गो भावनाको
स्वरुप बन्न लालायित रहेछन्
तर…
म भने समयलाई केवल परिश्रम र द्रव्यमा
अनुवाद गरेर मेरा भावनारुपी सन्तानलाई
मानस पटलबाट बहिष्कार गरिरहेकी रहिछु
मेरा श्रृजनारुपी सन्तानहरुलाई
गर्भमै तुहाउने अभिष्ट बोकि
आफ्नो परिवेशमा हराई रहेकी रहिछु ।

****



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15865
 समर्पण

म पहाड उक्लेर
समतल नियाल्ने मान्छे
म पहाडको उचाइमा
अभिमानी बन्न सक्दिन
र समतलको होँचाइमा
उसलाई बिर्सन सक्दिन
किनकि पहाडको
स्वाभिमान बढ्नु भनेको नै
समतल भुइँमा लमतन्न परिदिनु हो
पहाडले नभ चुम्नु भनेको नै
समतलले तल बसिदिनु हो
समग्रमा कसैको स्वाभिमान
भनेको नै कसैको समर्पण हो
यसैले म भन्छु
कसैको समर्पणमा
आफ्नो आभा झल्केको
अनि आफू अग्लिएको
उचाइलाई ति सबैले
स्वच्छ आत्माले हृदयंगम गर्न सक्नु नै
अझ अर्को स्वाभिमान बढ्नु हो
कसैमा फेरि नौलो
सम्मानको कारोबार हुनु हो
यसर्थ,
स्वाभिमान बढ्नु र
उचाइ छुनुमा समर्पणको
कथा नीरिह छ
उ सधैं बिवश छ
अनि सबैको नजरबाट
ओझेलमा छ
त्यसैले नबिर्स कसैले पनि
पहाड उक्लेर
समतलको अस्तित्व भुल्नु,
समतललाई केवल लडिरहेको
निर्जिव शरीर मात्र देख्नु हो
त्यसैले म त
पहाड उक्लन
समतललाई नियाल्छु ।



*****


 कसरी खायो आगोले हेर कमलको शरीर
(शोक बिव्हल कबिता)

किन खायो आगोको लप्काले
त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ?
किन डाहा गर्‍यो अदृश्य शक्तिले
मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?

छातीभरी हरियाली चिया सजाइ
माइबेनीलाई शीरमा सलल बगाइ
पूर्वमा हरियाली बोकेर उभियौ
“पहाडकी रानी”को उपमा सजायौ
कुन दैव लाग्यो हरे तिमीलाई ?

क्षणभर मै बनायो अस्तित्वहिन तिमीलाई
सबैकी सपनाकी रानी थियौ तिमी
तर आज बन्यौ खरानी तिमी ।
उफ! सक्दिन सहन म तिम्रो ब्यथा
कसरी लेखुँ अब म तिम्रो बिह्वल कथा ?

शीरमा चाँप,गुराँस सजाइ
पर्यटकलाई मुग्ध बनाउथ्यौ
मधेशका तृषित काकाकुललाई
झरनाको चिसो पानी पिलाउँथ्यौ
कसरी रापमा छट्पटियौ हौली
“ईलाम”को अस्तित्व अब कहाँ भेटौली ?

रोइ रोइ छाती पिटिरहेछन हेर
तिम्रै काखका सारा सन्तती
तर नगर चिन्ता आशुमा डुबी
फेर्नेछन सन्तानले तिम्रो नयाँ जूनी
किन क्रुर बन्यो त्यो निर्दयी अग्नी ?
सोध्न मन लाग्यो तिम्रो दोष
के छ भनि ?
बिवश बन्यौ की बाध्यतामा फस्यौ
त्यो सुन्दर रूपमा किन खरानी घस्यौ ?

भो अब बिव्हल नबन तिमी
तिमीलाई सिंगार्छौ अब फेरि हामी
रूप त जलेर केही हुन्न खासै
मन जलाइ नमार आशै
बौरिनु पर्छ फेरी तिमीले
लिनु पर्छ पुनर्जन्म अनी तिमीले
बिर्सिनु आगोको त्यो क्रुर लप्कालाई
अब फेरि सम्हाल्नु पर्छ तिमीले
लाजको सप्कालाई ।
नसम्झ खाग भै बिलाए भनि
नडराउ शत्रुले जलाए भनि ।

(आगोको लप्कामा फसेकी “पहाडकी रानी” ईलामको सम्झनमा शोक बिव्हल कबिता रचना २ /१६ /१० )


*****


आमा —
तिमी समुन्द्र हौ
त्यसैले त —,
शान्त लहर भै बगिरहेछौ
सुस्त —सुस्त,
न त कहिल्यै थकानको महसुश गर्यौ
न,त उर्लिदो भेल बनेर तिमीले
साराको सपना बगायौ ,
बरु —आफु निश्चिन्त बनेर
किनारालाई साथ दिइ बगिरह्यौ ।
तिमीले छहरा झै आफ्नो यौवन
उदाङ पारीनौ,
अनी —तिमिले झरना बनेर
कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ ,
त र —तिमी त धैर्य बनेर बगिरह्यौ ,
केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ ।
तिमीले खहरे झै मात्तिएर
क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ
तिमीले उर्लिदो खोला बनेर
बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ
बस —बगिरह्यौ ,
सदाबहार बनेर ।
तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन ,
तिमीले शरद, ॠतु पनि पर्खन परेन ,
तिम्रो यौवनले चन्चलताको
प्रदर्शन पनि गरेन ।
खोला, झरना, छहरा,छांगा झै
तिम्रो रूपले फेरिनु पनि परेन
कहिले अन्धाधुन्द बाढि बनेर
बहुलाको नियती भोग्नु परेन
अनी —कहिले बगरलाई नीरिह एक्लो बनाएर
तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन
तिमी त निस्वार्थी समुन्द्र बन्यौ
जस्ले शितलता दिने कोशीश मात्र गर्यो ।
तिमी सतहको प्रीय बन्यौ
आकाश छुने उदेश्य कहिल्यै बोकिनौ
जस्ले —साथ दिइरहयो किनाराको
भरपर्दो सहारा को अस्तित्व बनेर ।



*****


पिउन देऊ मलाई रसिलो त्यो अधर तिम्रो
जुझाइ राख मसँग नशालु त्यो नजर तिम्रो

एकान्तले सताइरह्यो छट्पटियो मन पनि
दिलको माझ सारुँ कि मायाको त्यो शहर तिम्रो

आलिङनमा बाँधु कि आँखामा लुकाइराखुँ ?
मलाई बुझ्न दिन्छौ कि लुकाएको त्यो रहर तिम्रो

भन्ने गर्छौ तिमी मलाई, रात काट्न गार्हो भो
मलाई अब सुम्पिदेऊ, अनिदो रातको प्रहर तिम्रो ?

(शिशु गजल )


****

नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो सामू
मेरा मनका सारा ब्यथाहरू पनि, सारें तिम्रो सामू

दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात
आँशुको नदी पार गर्दै, आफूलाई तारें तिम्रो सामू

उडिरहन्थ्यो यो मन पनि बहकी, सधैं कहाँ कहाँ ?
थाम्न नसकी पीडा मनको, फेरि हारें तिम्रो सामू

आफैंबाट अल्पपरिचित बनी, बाँचिरहेथें म एक्लै
अन्जान बनेको मनलाई आज पारें तिम्रो सामू

(अमेरिका )


*****


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15865
स्वार्थी चाहाना/ आचार्य प्रभा

कथा



कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ ।

एकदिन उनी दलानमा बसेर छोरीसँग कुरा गरिरहेकी थिइन् । छेउमा आफूले बच्चादेखी पालेको छाउरी कुकुर, जस्को नाम मिक्की थियो, खेलिरहेकी थिई । परबाट एउटा  कुकुर लुरुलुरु कुद्दै आइरहेको देखेर मिक्की पनि पुच्छर हल्लाउँदै  उक्त कुकुर भएतिर गई । आमा चाहीँले मिक्किलाई रोक्न  खोजिन् । तर, मिक्की उम्किएर उक्त कुकुर भएतिर पुगी । आफूले रोक्न खोज्दा पनि मिक्की फुत्किएर भागेकिमा उनलाई खपिनसक्नु रिस उठ्यो र रिसको आवेगमा उनले एउटा बलियो लट्ठिको झट्टिले मिक्कीलाई ताकेर हानिन् । मिक्की उक्त झट्टिको प्रहारले भुतुक्क भएर भुइमा लडी ।  यो दृष्य देखेर छोरी रुन थालिन् । मिक्की उनको प्रिय कुकुर थिई जस्लाई उनले बच्चामा नै साथीको घरबाट ल्याएर लालन पालन गरेर हुर्काएकी थिइन् । मिक्की  आँखा पल्टाएर छट्पटी रहेकी देख्दा उनको आँखाबाट अश्रुधारा बग्न थाल्यो । उन्ले रुदै भन्न थालिन् । ''आमा यो तपाईंले के गर्नु भएको ? एउटा  निरीह पशुलाई तपाईंले यसरी रिस पोख्नु हुन्छ ? यस्ले त्यस्तो के बिगारेकी  थिइ र तपाईंले यस्तो मरणासन्न अवस्थामा पुर्‍याउनु भयो ?''

आमाले छोरीलाई सम्झाइन्, पशुको केही अधिकार हुँदैन ऊ सधैं बन्देजमा नै रहनु पर्छ । उसका कुनै  प्राकृतिक नियम र चाहना नै हुँदैनन् । ''अनि किन त अर्को कुकुर देख्न साथ कुदेर जानु ? झन मैले त्यत्रो रोक्दैछु नटेरी कुदेर गइ फेरि बच्चा जन्माउँने भइ भने कस्ले त्यस्को बच्चाहरुलाई स्याहर्छ ? बन्धनमा राख्दा पो अरु कुकुरसँग ... ।'' यति भन्दै आमा चुप लागिन् ।

आमाको कुरा सुनेर छोरीले ब्यङ्ग्यात्मक हाँसो उडाउदै भनिन्, ''आमा तपाईंलाई आफ्नी छोरीको विवाह नहुँदा र कुनै केटोले नहेर्दा ठूलो पीर परेको छ । जस्लाई पनि त्यही पीडा पोख्नु हुन्छ । मेरी छोरीको अझसम्म विवाह हुन सकेन घरजम  बस्न सकेन भनेर । तपाईंलाई आफ्नी छोरीको भने त्यत्रो पीर छ भने मिक्की पनि त म जस्तै छोरी हो भगवानले उस्लाई कुकुरको जूनी दियो । ऊ पशुमा गनिइ तर ऊ पनि त प्रकृतिको देन हो । बोल्न ,भावना पोख्न पो सक्दिन त ! पशु नै भए  पनि उनिहरुका पनि जोडी हुन्छन् ,बच्चा जन्माउने अधिकार हुन्छ उनीहरुलाई पनि स्वतन्त्रता चाहिन्छ । तपाईं मान्छे भएर पनि यो कुरा किन बुझ्नु हुन्न ? हामी मान्छे भएर गर्व गर्छौ र अर्काको अधिकारमा हस्तक्षेप गर्छौ र आफ्नो मात्र हित र स्वार्थ हेर्छौ भने हामी मानव हुनुको औचित्य नै के भयो र ? बिचरी मिक्की आफू एक्ली भएकीले साथी पाउनुको खुशीमा आज मरणासन्न अवस्थामा पुगी । तपाईंलाई भने आफुले बहादुरी गरेको भान भयो । छाडिदिनोस्  अब मेरो विवाहको चिन्ता । मेरो आफ्नै केटो छ । जो भद्र र सुशील  छ । हामीलाई विवाह गर्न हत्तार छैन । हाम्रा लक्षहरु  धेरै छन् । विवाह हुनु नै सम्पूर्ण होइन । हामी पहिला आफ्ना लक्ष पूरा गर्छौ अनी पछि विवाह । मिक्कीमाथि अाक्रोस पोखेर अब त तपाईंलाई चित्त बुझ्यो होला तर ... । हामी कोही पनि आफ्नोमात्र स्वार्थमा नलागौँ । प्रकृतिले सबैलाई जन्म,मरण र जीवनसाथी रोज्ने अधिकार दिएकी हुन्छिन् त्यसैले कसैको पनि इच्छा र आकांक्षामा कुठाराघात नगरौँ । मान्छे सर्वश्रेष्ठ प्राणी त हो तर निरिहहरुलाई आफ्नो बसमा राखेर आफू अभिमानी बन्ने मात्र खुबी हामीमा छ ।" यति भन्दै छोरीले मिक्कीलाई मुसार्न थाली मिक्कीले छट्पटाएर टाउको लरक्क पारी ।

आमाको मनमा आत्माग्लानी छायो । उनी हत्केलाले मुख छोपेर रुदै पश्चाताप गर्न थालिन् । ''साँच्चै म पनि कति निष्ठुरी  र स्वार्थी भएँछु। मिक्कीले त्यस्तो के गल्ती गरेकी थिई र ? खाली आफ्नो साथीमात्र त खोजेर गएकी थिई नि ! यत्तिका बर्षसम्म घरको रखवारि गरेर बसी । आफ्नै बच्चा जस्तो लाग्थ्यो तर आज उस्को सानो खुशीमा म दैत्य बनेर उस्लाई मरण रोज्न लगाएँ  । मेरा सन्तानहरु मध्येमा आज एउटा  सन्तान गुमाएँ । म कति पापिनी र स्वार्थी भएँ । यत्तिकैबिचमा छोरीले मिक्कीलाई कपडामा लुटुपुटु पारेर आँखाबाट ओझेल बनाइसकेकी थिइन् ।