बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक
9/15/2014
कृष्णप्रसाद कोइराला
उपप्राध्यापक
पिण्डेश्वर विद्यापीठ
१. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम
नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् १९४४ देखि १९८५ सम्मको प्रथम चरणमा नेपाली समाज नाटक संस्कृतका केही अनूदित र रूपान्तरित स्वरूपमा देखा परेको नेपाली नाट्यविधा वि. सं. १९८६ देखि वि. सं २००७ सम्मको दोस्रो चरणमा सामाजिक, मौलिक, शिल्पगत नवीनता, संवादात्मक संक्षिप्तता, स्वच्छन्दता र पाश्चात्य नाटक सिद्धान्तद्वारा प्रभावित देखिन्छ र वि. सं. २००८ देखि हालसम्मको तेस्रो चरणमा मनोविश्लेषणात्मक, व्यङ्ग्यात्मक, प्रतिकात्मक, भावात्मक, आञ्चलिक आदि विशेषताहरू दिँदै अघि बढेको पाइन्छ । नेपाली नाट्य साहित्यलाई आधुनिकताको पाइलामा पदार्पण गराउने श्रेय नाट्य सम्राट् बालकृष्ण समलाई जान्छ ।
१.१ समको जीवनीसार
प्रथम आधुनिक मौलिक नाटककार बालकृष्ण सम बहुमुखी प्रतिभाका व्यक्तित्व हुन् । डमर शमशेरका नाति तथा शमरशमशेर अनि माता कीर्ति राज्य लक्ष्मी देवीका माहिला सुपुत्रका रूपमा समको जन्म वि.सं. १९५९ साल माघ २४ गते शुक्रवार दिन काठमाडौँको ज्ञानेश्वरमा भएको हो । बालककाल देखि नै साहित्य सिर्जनामा लगेका समले आइ. एस्सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्, यद्यपि उनले स्वअध्ययनबाट ज्ञान, विज्ञान, संस्कृति, कला जस्ता क्षेत्रबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाएका छन् र उनी राणा परिवारका शमशेर भए पनि २००७ सालपछि जनतालाई दुःख दिने राणाहरूले लेख्ने शमशेरबाट शेर हटाएर सम थर राखेका हुनाले उनलाई सोही नामबाटै बढी चिनिन्छ । उनले चित्रकला, निर्देशन, अभिनय, कविता, निबन्ध तथा जीवनी लेखन जस्ता क्षेत्रमा कलम चलाए पनि उनको सफलताको क्षेत्र भनेको नाट्यक्षेत्र नै हो। पूर्णाङ्की तथा एकाङ्की दुवै क्षेत्रमा उत्तिकै कुशलताका साथ कलम चलाउने समले ऐतिहासिक, पौराणिक, सामाजिक तीनै विषयवस्तुका नाटकहरू लेखेका छन् । उनको एकाङ्की लेखन पनि दुःखान्त, सुखान्त, ऐतिहासिक र प्रयोगशील प्रवृत्तिमा विन्यस्त छन् । समले मुटुको व्यथा (१९८६), अन्धवेग (१९९६), प्रेमपिण्ड (२००९), अमरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२) जस्ता दुःखान्त नाटकहरू लेखेका छन् भने ध्रुव (१९८६), प्रह्लाद (१९९४), मुकुन्द इन्दिरा (१९९४), म (२००२), ऊ मरेकी छैन (२०३५) जस्ता सुखान्त नाटकहरू पनि लेखेका छन् । उनको स्वास्नी मान्छे (२०३३) जस्तो प्रयोगशील नाटक पनि प्रकाशित छ । उनको आगो र पानी खण्डकाव्य तथा चीसो चुल्हो महाकाव्य पनि प्रकाशित छ । उनको बालकृष्ण समका प्रतिनिधि कविता नामक कवितासङ्ग्र्रह पनि प्रकाशित देखिन्छ । हाम्रा राष्ट्रिय विभूतिहरू (२०२४) नामक जीवनी सङ्ग्रह पनि उनले प्रकाशित गराएका छन् । दुई दर्जन भन्दा बढी एकाङ्की सिर्जना गर्ने सम एकाङ्कीका तहमा पनि तीनै खालका (सामाजिक, पौराणिक, ऐतिहासिक) विषयवस्तुहरू अवलम्बन गर्छन् । बौद्धिक तथा शास्त्रीय पारामा नाटक तथा एकाङ्की सिर्जना गर्ने सम रेडियो नेपालका डाइरेक्टर (निर्देशक), पृथ्वी प्रज्ञा पुरस्कारका विजेता तथा एक सफल लेखक तथा स्रष्टा हुन् । नाट्यसम्राट् समले त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधिको सम्मान पाउनुका साथै लामो समयसम्म साहित्य सेवा गर्दागर्दै वि. सं. २०३८ साल श्रावण ६ गते यस संसारबाट विदा हुन पुग्छन् ।
१.२ समको नाट्यप्रवृत्ति
नेपाली साहित्यमा मौलिक र सामाजिक नाटक लेखी आधुनिक प्रवृत्ति भित्र्याउने नाट्यसम्राट् बालकृष्ण सम (१९५९—२०३८) नेपालका पहिला आधुनिक नाटककार हुन् । अङ्ग्रेजी नाटकका शेक्सपियरको नाट्यरचना—शैलीबाट अत्यधिक प्रभावित रहेका समले ह्यानरिक इब्सन र जर्ज बर्नाड शबाट प्रेरित भएर पनि नाट्यरचना गरेका छन् । अङ्क र दृश्यको समुचित विभाजन गरी अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दोबद्ध पद्यात्मक नाटक रच्ने प्रेरणा समले शेक्सपियरबाट ग्रहण गरेका हुन् । यिनी गद्य र पद्य दुबै ढाँचाका भाषाका प्रयोग गरी नाटकको रचना गर्दछन् । त्यस्तै यिनले सुखान्त र दुःखान्त दुबै खाले कथानकलाई नाटकमा प्रस्तुत गरेका छन् । उनका नाटकहरू ऐतिहासिक, पौराणिक र सामाजिक गरी तीनै खाले विषयवस्तुमा आधारित छन् । उनले खासगरी शेक्सपियरको शैलीका स्वच्छन्दतावादी भावधारालाई अपनाएको देखिन्छ । तथापि यिनका नाटकमा ईब्सन र शका जस्ता समस्यामूलक यथार्थवादको प्रयोग पाइन्छ । उनी नाट्यकलाको पूर्वीय साहित्य शास्त्रीय चिन्तनलाई पनि आफ््ना नाट्यरचनामा स्थान दिन्छन् । त्यस्तै उनले नाटकमा गीतको प्रयोग गर्ने परिपाटीलाई स्थान दिएर नेपाली लोकनाट्यकलाको पनि उपयोग गरेको पाइन्छ । उनले प्रायः घटनाप्रधान नाटकहरू सर्जिएका भए तापनि उनका नाटकमा पात्रहरूको चरित्रचित्रण अति प्रभावकारी ढंगमा भएको पाइन्छ । उनका नाटकहरूले समाजसुधारको उच्च आकाङ्क्षालाई प्रकट गरेका हुन्छन् । नेपाली समाजमा रहेका अन्धविश्वास, बालविवाह, अनमेल विवाह, बहुविवाह जस्ता कुप्रथा र वेश्यावृत्ति, जुवा, मदिरापान जस्ता दुराचरण आदिका दुष्परिणाम दर्साएर उनले समाजलाई सुधारको मार्गमा चल्न प्रेरित गरेका छन् । उनले आफ्ना नाट्यरचनाका माध्यमबाट राष्ट्रप्रेम, जातीप्रेम, मित्रप्रेम, पितृभक्ति, पतिभक्ति, संस्कृतिको रक्षा, मानवतावाद, भाइचारा आदि उच्च आदर्शवादी चिन्तन र विचारहरू प्रकट गरेका छन् । उनका नाटकहरू बौद्धिकताले भरिपूर्ण हुन्छन् । यिनको भाषाप्रयोगमा तत्समता, शब्दाडम्बर, अनेकार्थकता र घुमाउरोपना पाइन्छन् । उनको नाटकमा लामालामा संवाद र उच्च बौद्धिक दार्शनिक आग्रह पोखिएका हुन्छन् । उनले प्रशस्त नाटक लेखी नेपाली नाट्यसाहित्यको श्रीबृद्धि गरेको हुँदा यिनलाई नाट्यसम्राट् भन्नु उचित देखिन्छ ।
१.२.१ नाट्यप्रवृत्तिका वैशिष्ट्यहरू
- नेपाली नाटकलाई आधुनिकतामा पुर्याउने आधुनिक नाटककार,
- गद्य तथा पद्य दुवै शैलीमा नाटक लेख्ने नाटककार,
- सुखान्त दुःखान्त दुवैखालका नाटक लेख्ने नाटककार,
- ऐतिहासिक पौराणिक तथा सामाजिक तीनै प्रकारका नाटक लेख्ने नाटककार,
- परिष्कारवादी शैली शिल्पको नाटक लेख्ने नाटककार,
- दार्शनिक बौद्धिक नाटककार,
- पूर्वीय पाश्चात्य दुवै ढाँचामा नाटक लेख्ने नाटककार आदि