Author Topic: Shyamal poems (श्यामल )  (Read 3432 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Shyamal poems (श्यामल )
« on: February 21, 2015, 04:38:51 AM »
पावरहाउस
(मधुपर्क २०६६ माघ)

समयसँगसँगै थिचिदै गएका सपना
सानासाना आँखामा देखिने इन्द्रेणी
समय सँगसँगै अगोचर हुँदै गएका
कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै
चिसोले कठ्याङ्गि्रएका मानिसहरू
आफैँले बनाएको मोटर र रेलले किचेर मरेका आत्माहरू
आफैँले उडाएको हवाइजहाजको
स्वप्नयात्रामा बिताएको जवानी
सानो घर, खरबारी र ढुङ्गेधारा
मसिना बुट्टाले सजाइएका झ्यालढोका
र कलापूर्ण टुँडालहरू
लेखेका सिलोक र भरेका भाका
हालेका मतपत्र, उमारेका फूल
हुर्काएका डिंगाबाछा, खनेका डहर, बनाएका साँघु
रोपेका वरपीपल
चिनेका चौतारी
जोगाएको पानीको मूल
समय सँगसँगै प्लास्टिकको थुप्रोमुनि
थुप्रोमुनि अर्को थुप्रोमुनि अर्को थुप्रो
कसैले पनि नचिनेर
लासमाथि लास, त्यसमाथि थुप्रै लास
आफ्नै विचारले क्षत्विक्षत् पारी फ्याँकिदिएका
लासको चाङ ।
हुन त ती कुहिनै नपर्ने गरी थिचिएर गए
सतहमा नदेखिने गरी
हुन त कोइला बने तिनीहरू फेरि मिचिएर गए
कोइला पनि थिचिएर हीरा बने तिनीहरू
ऊर्जाशील, चम्किला, थोरै, दुर्लभ
उनीहरू नै त हुन् मेरा पावरहाउस
जब चम्कनेछन् स्वयं
नष्ट हुनेछ अँध्यारो ।
हेर्दा पावरहाउसमा कतै देखिन्न जस्तो छ यो पावरहाउस
तर भित्रभित्रै प्रवाहित हुन्छ त्यो कतै
यता हेर कमरेड
ओ मेरो समयका भयानक कमरेड
श्यामलको मूर्ति उभ्याइएको जमिनमुनि
कोही छ रुवाइएको ।


****

कोस्मोस कोनिया



गुडबाई कोनिया
फेरी भटौंला ।
फेरि भेट हुनु अघि
ओहो, केही ठेगान छैन
के—के हुने हो
तिम्रो—मेरो फेरि भेट हुनुअघि !
सरकारले दिएको पानीले
म मर्न सक्छु
म मर्न सक्छु
बजारमा राखिएका विषाक्त
औषधीहरुले
पुस्तक पसलमा सजाइएका
कानुनका किताबहरुमा
लेखिएको छ मृत्युदण्ड !
आफ्नो कोटको खल्तीभित्र लुकाएको छ
सरकारले ‘मृत्यु‘
डलरझै बिलकुल डलरझै
यद्यपि तिम्रो शुभकामना लिएको छु
कोनिया, म गायब हुन सक्छु ।
गुडवाई कोनिया,
फेरि भेटौला ।
फेरिन थालेका छन् मेरा शब्दहरु
निःशब्द उभिएका
क्रूद्ध जेलका अमानवीय ढोकाहरुमा
गएर बज्रनेछ
शब्दहरुको आवाज
ज्वरमग्न छु म
अग्निशमन गर्न असमर्थ
न्यू ओतानीको पच्चीसौ तलाको
एउटा कोठामा ।
गुडबाई कोनिया,
फेरि भेटौला ।
उदाङ्ग परेका रहस्यहरुमाझ
भित्तामा नारा कोर्दैछ एउटा युवक
परम्पराले हिर्काएर
छियाछिया भइसकेको उसको अनुहारमा
तिम्रो पनि अनुहार छ
डलरले हिर्काउँदा—हिर्काउँदै कुरुप पारेको
पपुआ न्यूगिनी झैं
के भन्न सकिन्छ र
फेरि भेट हुनुअघि ?
गुडवाई कोनिया,
फेरि भेटौंला ।
खोज्दैछु अर्थहरु
कि देश भनेको के हो ?
के हो प्रजातन्त्र ?
पुलिसले चुट्तै लगेकी एक युवतीको
चिच्याहटमा लुकेको
कुनै कविताको शीर्षक के हो ?
अर्थविहीन शब्दहरुविरुद्ध चालू छ युद्ध
चालू छ निरन्तर एक धर्मयुद्ध
म कहाँ छु कुन्नि, भयानक अग्निमा छु
जहाँ छु म भाउन्नमा छु
कोनिया,
चलाख छ प्रजातन्त्रको बन्दुक
हाम्रो भेट हुनुअघि
म निदाउन सक्छु ।
गुडवाई कोनिया,
संसारको कुनै पनि छेउमा
भरसक फेरि भेटौंला ।


****

 सर्त

जबसम्म नारी बलात्कृत भइरहन्छे
र आकास धुजा धुजा पार्ने गरी
महासागर सुक्ने गरी चिच्याइरहनेछ
जबसम्म चरा कैद गरिएको हुन्छ पिँजडामा
उसले आफ्ना स—साना चुच्चाले
फलामको पिंजडा भत्काउन छाड्ने छैन
परन्तु जीवित नै हुनेछ करुणा र कोमलता
प्रेमीहरूले छिनाल्नेछन् आफुलाई बाँध्ने सिक्रीहरू
प्रेम चलिरहनेछ ।

जबसम्म हत्याराको मुठीमा छटपटिएको हुन्छ न्याय
र पैसा हुन्छ डाँकाको ब्रिफकेशमा
जबसम्म आलमारीका किताबमा बन्द हुन्छ इज्जत
र शिक्षा बेरिएको हुन्छ
काँजो बेरिएजस्तै मास्टरको लट्ठीमा
जबसम्म बसिरहनेछ हत्यारा आरामदायी मेचमा
र मानिसहरु हुनेछन् त्यसभन्दा तल भुईंमा
धर्ती कम्पायमान भइरहनेछ ।

त्यतिन्जेलसम्म जन्मिरहनेछन् स्पार्टाकसहरू
जबसम्म चराहरुले गीत गाउन छाड्ने छैनन्
जबसम्म जमीन बाँझो हुन्छ र
कोदालीले विना काम
कुनामा झोक्राइरहनुपर्छ
किसानले जबसम्म हातमा लाठी लिएर
जमीन जोगाइरहनुपर्छ
क्रोध बढिरहनेछ ।

पानी भएसम्म नदी बगिरहनेछ
चेत भएसम्म मानिस छट्पटाइरहनेछ
विश्वास भएसम्म मानिस विश्वास गरिरहनेछ
आशा भएसम्म हौसला भइरहनेछ
बाजा भएसम्म सुनिइरहनेछ ताल, सुर र नाद
यो मन झंकृत भइरहनेछ ।

यी निराशा, क्रोध र हो—हल्लाका बीच
शिशुहरु जन्मिइरहनेछन्
र तिनकी आमाका पवित्र स्तनबाट
जीवन रसाइरहनेछ
मानिस आफ्नै देवताबाट मुक्त नभएसम्म
दासमोचन भएको मानिने छैन
त्यसपछि पनि अनन्तकालसम्म
मानिसहरुको आवाजले हावा कम्पित भइरहनेछ
जीवन चलिरहनेछ ।

***

भैरहवा मै   


चिनी–पानी खुवाएर
गाउँको हालखबर सुनायो
बसिर मुसलमानले ।
रोहिणी खोलाले घेरेको छ गाउँ
र भयभीत छ वर्षा–आतङ्कबाट
गाडाको बगरको गिटी टिपेर लादिरहेका
काली कन्याहरूका आँखामा
देख्न सकिन्छ अनौठो तेज
मध्याह्नको धुपले डामेको छाला
र बसिरको राजनीतिमा
केही पाइनेछैन अन्तर
तर उसले गर्धन आफ्नै थापेर
बचाएको थियो कुनै नेता
(जो प्रधानमन्त्री छ आज)
कुरा सुरु गर्छ बसिर यस्तै कुराबाट ।
चिनी–पानीको घुट्कासँगै
सुरजपुराको कथा पनि मिसायो
बसिर मुसलमानले ।
के सोच्छन् गिटी टिपिरहेका
यी काली कन्याहरू
नदीको कटान
उर्लँदो भेल
र आफ्नो चढ्दै गरेको जवानीबारे ?
के सोच्छन्
यी काली कन्याहरू
गोरुलाई सारेर आफ्नो बोझ
आफूलाई हलुङ्गो हुने वा नहुनेबारे ?
बसिरको इतिहास–नायक
र रोहिणीमा मिसिएर आउने खोलाहरूबारे ?
के सोच्छन् उत्तरको सेतो पहाड
पग्ले–नपग्लेको बारे ?
के सोच्छन् कुन्नि
आफ्नै घरमा लगाउनुपर्ने आगोको बिउबारे
अब चाँडै सँगै सुत्नुपर्ने जङ्गली बाघहरूबारे
म सोच्छु बसिरलाई
के सोच्छन् यी कन्याहरू
आफूजस्तै अरू कन्याहरूबारे ?
“केही सोच्दैनन् यिनीहरू
हो, सोच्नै सक्दैनन्”
भन्यो
र चिम्लिदियो आँखा
बसिर मुसलमानले ।

***

अन्तिम युद्ध


चमेराहरू झुन्डिइराखुन् रूखका हाँगाहरूमा
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहुन्
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसुन्
या घाम ताप्न निस्कुन् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँे
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागुन् आ–आफ्नो ईश्वरसँग
मलाई आपत्ति छैन शासकहरू हो !
यो संसार सबैको हो ।
तर राति झ्यालबाट पसेर चोरझैँ
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले
मन्त्रीको आदेशमा डाँकाले झैँ
सुकुम्बासी गाउँ नउजाडुन् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाख्राको कल्चौँडो खान हुन्न बघिनीहरूले
सानो दुधे शिशुलाई आँगनमा सुताएर
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा
सर्पदंशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले
पण्डितहरू पनि बुझून्—मानिसको बलि दिनु हुन्न
पादरी वा मौलवीहरू पनि बुझून्—
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।
संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्घ गर्न
अन्तिम युद्घ अर्थात निर्णायक युद्घ
जसले फैसला गर्नेछ हारजितको
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार
नैतिकता हो ।

****

Swayam Kantur Bidwan Kashinath

पढ्छ अहोरात्र पलेँटी कसेर पुरानो लिउमाथि
र खोतल्छ टिपोटहरू
घोरिएर पढ्छ भोजपत्र, ताम्रपत्र र शिलापत्रका उतार
वा स्वस्थानी व्रतकथाको माइक्रो फिल्म
केही टिप्छ, केही न केही टिप्नैपर्ने भएकाले
कृषि शाखाले दिएको दस वर्ष बुढो डायरीमा
जान्छ तिलौराकोट, लुम्बिनी
या त क्राचल्लको भाषा पढ्न दुल्लू कि त सिजातिर
फर्कन्छ काठमाडौँ थोत्रो बसमा
मानिसहरू कोचाकोच गरिएको भिडियो कोचमा
सोच्छ पुरातत्व विभागको वाचनालय–
‘यी मानिसहरूझैँ कोचिएका छन् बिचरा
पुराना दामी पाण्डुलिपिहरू दराजको धुलाम्मे कुनामा’
सोच्दै थियो, झन्डै मरेको दुर्घटनामा
बाँच्छ र सोच्छ गरुडपुराणको छालाको गाता
सोच्छ आफ्नी पत्नीझैँ लाग्छ मैथुनरत
मन्दिर–टुँडालका मल्लकालीन अप्सराहरू
काष्ठकला/प्रस्तरकला र अर्को कुनै कला
हराएका अक्षर/खिइएका अङ्कहरू जोडजाड गर्छ
यो पावरलाल चस्मा पाटन पुग्छ मानिस भेटिँदैन
भक्तपुर पुग्छ र देख्छ काष्ठकला ज्यापू दाइको खर्पन देख्दैन
हेर्दैन जिउँदा मानिसहरूप्रति किमार्थ हेर्दैन
मध्यरात सपनामा भ्रमण गर्छ अजन्ता र एलोराका गुफा
बिहान हेर्छ ताजा अखबार र पढ्छ– सूर्यबहादुर प्रधानमन्त्री
संस्कृति स्तम्भमा हेरेको चस्मा गाडेर– देखियो फेरी पहिलेकै कुरा
‘चौबीस – पच्चीस सालको परेछ’ भनेर थन्क्याउँछ अखबार
पुराना अखबारको कन्तुरमा
स्वयम् यौटा विदीर्ण कन्तुर विद्वान काशीनाथ ।

***

सम्भ्रान्त

भीडका आँखाहरू सहन सक्दैन
ऊ एक्लो छ ।
ऊ एक्लो छ
र उसलाई कुनै कुरामा विश्वास छैन
उसलाइ विश्वास छैन आफ्नी धर्मपत्नीमाथि
र विश्वास छैन आफ्नो सम्बन्धमाथि
इतिहासले आफ्ना पानाहरूमा
यस्ता तिथिहरू राखेको छ
कि ऊ खस्न सक्छ कुनै पनि बेला
कुनै पनि बेला
उसको अङ्गरक्षकको अनुशासन
भङ्ग हुन सक्छ
र उसको पहिलो शिला
कमजोर हुन सक्छ ।
त्यति नरम ओछ्यान
उसलाई खतरा लाग्छ
कोही चिच्याउँछ कि पलङमुनिबाट ?
उसलाई शङ्का लाग्छ
कुनै पनि बेला
उसका साथीहरू
कृत्रिम चुम्बकमा टाँसिएका आलपिनहरूझैँ
एक
एकपछि अर्को
र अर्कोपछि अर्को हुँदै
झर्दै जान्छन उसबाट
एक्लोपन यसरी दुख्छ
कि उ त्यसलाई दबाउन
क्याप्सुलहरू खान्छ
ऊ एक्लो छ ।
ऊ एक्लो, एक्लो र नितान्त एक्लो छ
यसरी उसलाई
आफ्नो शिरमाथि सुहाउने रत्नजडित टोपीहरूमाथि
त्यति विश्वास छैन
बहुमूल्य पोसाकहरू
र सौखिन पाइलाहरूमा
किञ्चित विश्वास छै,
फगत नसाहरूमा विश्वास छ
जसले छोपेर आफ्नो भयाक्रान्त अनुहार
आफुबाट भगाउँछ
तर ऊ एक्लो छ ।
जसरी झर्दै जान्छन् कुकुर बुढिएपछि
र कुकुरलाई आफुले लुछ्ने गरेको
मासुको टुक्रो असजिलो लाग्छ
त्यस्तै लाग्छन् भीडका आँखाहरू
त्यस्तै लाग्छन्
मानौँ ऊ भीड छलिरहेछ
तर लखेटिएको मानस
नसाले छोप्ने कसरत गर्छ
उसलाई आफुले चढ्ने गरेको घोडासँग
असाध्य डर लाग्छ
ऊ एक्लो छ ।
म भीडमा छु
र भीड स्थुल हुँदै गएको छ ।

***

दुश्व्पन


खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी
रगतको बेगवान् नदीमाथि हल्लिदै छ
झोलुङ्गे पुल
भन्छन् योद्धाअरुले डामेका ढाडहरु
अब के—के हुने हो ।
कोचिएको छ खचाखच दिमागमा
बदलाको भूत
बाटाहरु यति धेरै छन् यस ठाउँमा
कुन बाटामा कोही किन जाने हो
भन्छन् स्कूलका मास्टरहरु
स्कूल नगएको पनि धेरै भयो
अब के—के हुने हो ।
जहाँ गए पनि हुन्थ्यो
जति बेला पुगे पनि हुन्थ्यो
कसले जाँच्थ्यो रपिठयूको झोला
र सोलीमा राखिएको कोसेली
अहो, अचेल आउदँन
कोही आफन्त
उराठलाग्दो फलैचामा बसेर
सोचिरहन्छन्
बूढाहरु धुवाँको सर्को
तान्दै
अब के—के हुने हो ।
हामी त खेल्थ्यौ जे भेटयो त्यही
हामी त जान्थ्यौं जहाँ मन पथ्र्यो उहीं
अचेल पड्किन्छन् भाँडाहरु
हाम्रा प्यारा खेलौनाहरु
अहो, छुनै हुँदैन केही पनि
नजाऊ नानी कतै पनि
भन्छन् हाम्रा आमाहरु
खेल्ने जमाना गयो
अब के—के हुने हो ।
धेरै भयो हुलाकी छैन
तीन–तीन महिनामा आउने चिठी
धेरै भयो आएको छैन
रेडियोले गन्ती गर्छ
जङ्गलको लासहरू
हरे ! मेरो लाहुरेलाई के भयो
भन्छन् लाहुरेनी युवतीहरू
अब के–के हुने हो !
कहिल्यै केही नखाए पनि
गर्मी भए पनि, जाडाले सताए पनि
हाँसिरहेको हुन्थ्यो बुद्धको मूर्ति
धेरै भयो चुपचाप रुन थाल्यो
भन्छन् क्युरियो पसलका मालिकहरू
अहो ! यस देशमा के हुन थाल्यो ?
यो मूर्ति अझै कति रूने हो
अब के–के हुने हो !
टेलिभिजनको पर्दामा
सा¥है गम्भीर देखिए गृहमन्त्री
र उदास देखियो
उत्तरी श्वेतमाला
पहाडबाट मुस्काउन छाडेर
बमसगैँ तुलमा टाँगियो घाम
कहिल्यै नरिसाउने माइलो
रिसायो बेसरी
अब के–के हुने हो !

***

दिलमाया


मेरो सपना खोसेर राखिएको छ
थिम्पूको अँध्यारो जेलमा
सर, म त्यसै फर्कनेछैनँ भुटान ।
म सम्झन्छु आफू रोएको बाल्यकाल
तर जति म रोएँ
मेरो सात क्लासको किताब
च्यातिएको दिन रोएँ
त्यही दिन म जति रोएँ रोइसकें
जुन दिा पसे पिाहीहरु हाम्रो घरमा
र उफ्रन थाले
मेरी आमाको शरीरमाथि
मसँग अब छैन रुनलाई आँसुको मुहान
सर, अब रुन आउँदैन
म बेस्सरी राइसकें ।
म हाँस्थें पनि कहिलेकाहीं
जब चुट्किला सुनाउँथे हाम्रा बाबा
एक दिन। कुनै एक दिन
मुसा फुत्केर भाग्यो बिरालोको पन्जाबाट
र दुलाको मुखैनेर रुँगेर बस्यो बिरालो !
म बेस्सरी हाँसेकी थिएँ ।
हँसाउन सिपालु थिए देवीलाल सर
त ती बाबा छन् न चुट्किला
न बिरालो छ न देवीलाला सर
हाँस्नुजति हाँसिसके म
अब हास्न आउदैन मलाई
सर मैले त हाँसो त साम्चीमै छाडिसकेँ
सर, यौटा केटो थियो उहीँ
लुकी—लुकी हेथ्र्यो मतिर
नहेरुँ भन्दाभन्दै आनायास
आँखा गइहाल्थे उसतिर
यसैलाई भनिन्छ भने प्रेम
प्रेम पनि छैन मसित
त्यसलाई पनि मारिसके शासकहरुले ।
कन्काईको बगरमा छु म
र सब थोक छाडेर आएकी छु यो ज्यानबाहेक
फेरि किन सोध्नुहुन्छ भुटान जनो—नजाने कुरा ?
मैले मेरो सपना फर्काउनु छ
मैले मेरो आँसु फर्काउनु छ
मैले मेरो हाँसो फर्काउनु छ
मैले मेरो प्रेम फर्काउनु छ
मैले मेरो किताब फर्काउनु छ
थुनेर राखिएको मेरो सर्वस्व फर्काउनु छ
सर, म त्यसै फर्किने छैन भुटान ।


***


जाडो

एक्लै छु म
र दिल्लीको सडकमा गर्मी पस्दैन
म बसेको
पाँचतारे होटेलको
दुई सय चौध नम्बरको कोठामा ।
झुग्गीका मानिसहरुको
जाँड खाने भट्टी होईन
एक्लो छु
एक्लै
टेलिभिजनको पर्दा
टेबुल—लाईट
पङ्खा, एअरकुलर
रक्सीका बोलत
हट डग र ह्याम्बर्गर
सबैसँग आनन्द गर्न सक्छु,
लबी म्यानेजर सुन्दरीका आँखामा
अल्झन सक्छु
खै मेरा ओछयानका उपियाँहरु ?
खै मेरो गर्मी ?
खै मेरो जाडो ?
र र्खै उदास आँखा लगाएर
हिजोदेखि भोकै बसेको मेरो भाइ ?
खै मेरा प्रिय मित्रहरु
जससँग हल्लँदा पनि
अनुभव हुन्छ —म बाँचेको छु ।
बाँचेको छु
तिनै हल्ला र काठमाडौका गल्लीहरुमा
बसेको छु एक्लंै तपस्यारत बुद्धझै
समाधि कसेर दिल्लीको पाँचतारे होटेलमा
र सोच्दैछु
किस्ने छेत्रीले किन माग्यो
मेरो भिजिटिङ कार्ड ?
बाथ टवमा नुहाउँछु
र मलाई सम्झना हुन्छ भक्केमुलाको
लिफ्बाट घरी उक्लेको छु
घरी ओर्लेको छु
र मलाई सम्झना हुन्छ
मेरो घरको लिस्नुको
जसबाट कति पटक पछारिएको छु भुइँमा
बोलेको छु अङ्गेजीमा सिगार च्यापेका ओठले
मलाई कलकत्ते तमाखु राखेर
माइली मैयाँले दिएको
बुट्टेदार सुल्पाको सम्झना हुन्छ ।
बाहिर मानिसहरु मर्दै छन्
तातो हावाको लहरले
र भित्र जाडो छ ।

****



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Shyamal poems (श्यामल )
« Reply #1 on: February 21, 2015, 04:40:22 AM »
भूपी शेरचन



एउटा बम हानिएको छ तिमीमाथि
सम्पूर्ण मान्यता बाजी थाप्न लगाएर
विजेता भएका छन्
तिम्रा कथित इष्टदेवहरु
विचारलाई यसरी हानियो बम
कि ए उड्यो तिम्रो टाउकाबाट
संवेदनालाई यसरी हानियो बाम
कि ऊ छुट्यो तिम्रो शरीरबाट
यसरी बम हानियो तिम्रो स्वरमाथि
कि ऊ भाग्यो तिम्रो कण्ठबाट
थाहै नहुने गरी
औंला, कलम र कागजमाथि
हानियो बम
र ती अलग भए एकअर्काबाट ।
एउटा बम हानिएको छ सृष्टिमाथि
आज
मौन कोठामा बसिरहेछ
मैन टेलिफोन
र सिरानीसँग बसिरहेछ
तिम्रो अन्तिम मित्र—अक्सिजन सिलिन्डर
कामूको पात्रझैं
यातना ग्रहण गरिरहेको
अस्ताचलको प्यारो सूर्य !
जति बमहरु परे पनि
कहाँ मर्छन् ती
कविताका कितावहरु ?
यद्यपि असाध्य रोग हानिएको छ
यस देशको प्रिय कविमाथि !
एउटा बम हानिएको छ
भालेको सिउरमाथि
एउटा बम हानिएको छ
चेतनामाथि !


***
दसनीको लेहङ्गा

तातो हावाको झाँकाले
फरफराउँछ
पराजित मुलुकको झन्डाजस्तो
दसनीको लेहङ्गा ।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिन्दारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रङ्गीन छ
हजारौँ फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा ।

दाउरा लिन गएको
जङ्गलबाट फर्केन
कसैलाई थाहा छ कि
कहाँ फरफराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा ।


****