Author Topic: Bhupin Byakuk poems (भूपिन ब्याकुल)  (Read 2952 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Bhupin Byakuk poems (भूपिन ब्याकुल)
« on: February 21, 2015, 04:45:20 AM »
तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

शहरले अपहरण गरेको छ, तिम्रो आत्मा
र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी
देश, म त्यही आस्था र ढुकढुकी खोज्दै
यस्तो गाउंमा आईपुगेको छुं
जहां मान्छेहरु भन्दा बढी घरहरु छन्
जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

मेरो अनुहारनै
एउटा प्रश्न भएर अगाडि उभिए पछि
गाउंका बृद्ध मुखिया ओतेले भने –
“युवतीहरु सपना खोज्न शहर पसेका छन्
युवाहरु जिवन खोज्न बिदेश पसेका छन्
र प्राण थामि रहेका बुढा बुढीहरु
आंगनमा काल पर्खेर बसेका छन्
यो गाउंको तातो पसिना
बिदेशको माटोमा बगेको छ
यो गाउंको तातो रगत
बिदेशको पानीमा बगेको छ ।”

मैले सोधें –
“कसले रोपेर गए
लाहुरे फुलका यि उदास बोटहरु ?
कसले गोडेर गए
फुलबारी, करेसाबारी र खेतबारीहरु ?
खोई बिहान जगाउन
भालेहरु बासेको यो गाउंमा ?
खोई गाउं ब्युंझाउन
हिमालहरु हांसेको यो गाउंमा ?”

गाउंको जम्मै उज्यालो बिदेश लैजाने
छोरा छोरीहरु सम्झदै
बृद्ध मुखिया आतेले रुंदै भने –
“लाहुरे फुलहरु नओईलाउंदै
र बिहान ब्युंझाउन भालेहरु नबास्दै
उनीहरु आएनन् भने
मृत्यु आउने छ हाम्रा ओछ्यानहरुमा
हामीहरु सबै यसरी मर्नेछौंकी
मलामी जान पनि कोही बांकी रहने छैनन् !”

मैले देखि रहेको थिएं –
शहरमा एक रात पनि बास नपाएर
संवेदनामा संस्कृतिहरु गाउं पस्दै थिए
र यहि क्रममा
तामागी
देशको मानचित्रबाट मेटिदैं थियो !

– भुपीन व्याकुल, रचनास्थल: तामागी, २०५५

***

किताब

मेरो हृदयको पुरानो दराजमा
मलाई मनपर्ने
प्रिय किताब छ !

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
पाउँछु
हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन्
मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र
जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन्
त्यही एउटा किताब छ
जसका पृष्ठहरु भित्रबाट
एकाएक हराउँछन् शब्दहरु
र जसरी भरिन्छन् इनारहरु बर्षामा
त्यसरी नै भरिन्छन् किताबका रिक्त पानाहरु

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
हिजो दुखाएका शब्दहरु गाएब छन्
हिजो हँसाएका शब्दहरु पनि गाएब छन्
रुप बदलिरहेका शब्दहरु पढेर
म कसरि अर्थ लगाउन सक्छु अ त्यो किताबको ?

मेरो पुस्तकालयमा
जहाँ शब्दहरुको नदी बग्छ
र किताबको सीमनाबाहिर पुगेर टुंगिन्छ
जहाँ शब्दहरुको घाम लाग्छ
र किताबको क्षितिजबाहिर पुगेर डुब्छ
जहाँ शब्दहरुको अर्थ बग्छ
र किताबको भूगोलबाहिर निस्किएर हराउँछ

संसारका सबैसबै प्रेमिहरुसंग छ
शब्दहरु हराउने र भेटिने
अर्थहरु बग्ने र बदलिरहने
प्रेमको किताब !


***
छालहरु

छालहरु
नदि बगिरेहेका संकेतहरू हुन्
नदि बग्छ
र छालहरु निस्कन्छ

छालहरु
नदीले गाएका मौन गीतहरु हुन्
नदीले भरेका प्रिय संगीतहरु हुन्
अक्षरहरु हुन् छालहरु
नदीले उत्कर्षमा रचेका
जो बुझ्दैनन नदीले लेखेका शब्दहरु
जो सुन्दैनन नदीले गाएका धूनहर
मलाई शंका छैन
ती मेरो देशका शासकहरु हुन्

छालहरु हुलाकीहरु हुन
खबर पर्खेर बसिरहेका आफन्तहरुलाई
बगिरहने नदीको कथा सुनाउँछन्
छालहरु बेनामे चिठ्ठीहरु हुन्
नदीको अतल गहिराइबाट झिकेर
खामबन्दि गरिरहन्छन परिवर्तनका सन्देशहरु
र नदीतटक बस्तीहरुलाई सुनाउँछन्
समयको नरोकिने धूनझैँ
हरेक लहरका नदीका
जीवनका प्रिय संकेतहरु हुन् !
एउटा अग्लो घुम्ने कुर्चीमाथि
मस्त निदैरहंछ देश
र छालहरु आइरहन्छन
कुर्चीको क्षितिजमाथि
संधै दुबिरहांचा एउटा घाम
र छालहरु गइरहन्छन्
मा सोचिरहेछु युगौदेखि
किन शासकहरु देश बनाउन चाहन्छन
छाल नाउने सपाट नदिजस्तै
जब किनारमा उभिएर एउटा युग
लेखिरहेछ रगतले प्रेमपत्र
छालहरुको नाममा !

छालहरु
नदि बगिरेहेका संकेतहरु हुन् !


****

 कुमारी गाउँ

दिनदिनै निस्किरहने भूइंचालोका लहरहरु
जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट
पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट

छिन्छिनै आइरहने आतंकका तरंगहरु
जो जन्मिन्छन्
एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट
आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट

अफ्रिकाका भोकमरी र युद्धहरुबाट
अमेरिकाकोकुरूप दादागिरी र अग्निमय आँखाहरुबाट

तिनीहरु आइरहन्छन्
आउन्
र सहरसम्म आइपुगेर उतै फर्किउन

तिनीहरु जन्मिरहँछन्
जन्मिउन्
र यी डाँडाहरु काटेर गाउँमा नाछिरुन्

मानवताको भजन गाउन ब्यस्त छ
प्रेमको सुसेली बाँसुरीमा सजाउन ब्यस्त छ
आतङ्कले नछोएका धेरै कुमारी गाउँहरुझैं
यो गाउँ

दिनदिनै आइरहने भूइंचालोका लहरहरु
छिन्छिनै आइरहने आतङ्कका तरंगहरु
यी डाँडाहरु काटेर गाउँमा नछिरुन्

****

 उल्टो रुख

बालककालमा
बालसाथीहरुले भन्थे-
“फलफुल खाँदा बियाँहरु ननिल्नू
निलेपछि
पेटमा उम्रिन्छन बियाँहरु
पेटमा नै बिरुवा लाग्छ
पेटमा नै बिरुवा पलाउँछ
रुख बन्छ
र मानिसको मृत्यु हुन्छ | ”

रातभरी सपनामा म
आफ्नो पेटमा रुख देख्थें
मृत्युदेखि भयभित
म संधैसंधै
फलफूलका बियाँहरुसंग सतर्क रहन्थेँ

थाह छैन कहिले निलें मैले
अन्जानमा फलफुलका बियाँहरु ?
कहिले उम्रियो यो उल्टो रुख मेरो शरीरभित्र ?
कहिले हाँगाहरु पलाए ?
मेरो मस्तिष्कभरि
कहिले झ्यांगिए रुखका जराहरु ?

थाह छैन
कहिले र कसरि हुर्काएँ मैले
यो सुन्दर उल्टो रूख आफुँभित्र ?
यधपि थाह छ-
म भित्र हुर्किएको यो उल्टो रुख
कोर्न थालेको छु आस्थाले ब्रसले
मनको रङ्गहीन क्यानभासमा-
एक सुन्दर देश र एक सुन्दर विश्व,
मन पराउन थालेको छु-
सम्झौताहीन जीवन,
माया या घृणा गर्न थालेको छु जीवनलाई
माया या घृणा गर्न थालेको छु मृत्युलाई
र खोज्न थालेको छु उत्साहले-
मान्छेकै बस्तीमा मान्छे हरु
मनकै बस्तीमा इश्वरहरु !

हामी सबैले निल्छौँ अन्जानमा
फलफुलका बियाँहरु
उम्रिन्छन् तिनीहरु
हाम्रो मलिलो छातीभित्र
र हुर्काउँछौं आफुँभित्र
सुन्दर तर उल्टा रुखहरु !

बाल्यकालमा
बालसाथीहरु भन्थे-
‘फलफुल खाँदा बियाँहरु ननिल्नू !’


****

परिवर्तन

म त्यही देशको उदास कवि हूँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !

रुखको देहबाट
उडेर जान्छ पुरानो गन्ध
र नयाँ बैंश पलाउँछ
हिमालको आँखाबाट
चुहिएर सकिन्छ निद्राको साँझ
बगिरहेको नदीहरुमा
फरकफरक लहरहरु दौडन्छन्
तर उस्तै छन्
सोचका साँघुरा गल्लीहरु
अन्त हुने हाम्रा यात्राहरु
हाम्रो जीवनको क्यालेन्डरमा
मात्र बर्ष परिवर्तन हुन्छ

जताततै
आवाजका लस्करहरु छन्
हामीसँग तिनीहरुलाई सुन्ने कानहरु छैनन्
जताततै
उत्सवका तयारीहरु छन्
हामीसँग तिनीहरुलाई देख्ने आँखाहरु छैनन्
युगका अँध्यारा गुफाहरुमा
हामीहरु
उही आदीम निद्रा सुतिरहेछौँ
हाम्रै आसपासबाट गुज्रिएर
मात्र समय परिवर्तन हुन्छ !

मा त्यही देशको गरिब कवि हुँ
जहाँ परिवर्तनको नाममा
मात्र मौसम परिवर्तन हुन्छ !


***

पाठकको हत्या

यस युगको महान् कवि
पाठकको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन

शब्दको मन्दिरमा
बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ
झुठा मिथहरुको टुँडाल सजाउँछ
थुनिराख्छ कवि
निकाल्नै चाहन्नँ मन्दिरबाहिर
शब्दका नयाँ इश्वरहरुलाई !

आत्मप्रलापका लागि
कबिताभर स्खलित गर्छ
शब्दका कामुकताहरु
सुन्दरी वेश्यालाई झैं कवि
भोग्छ शब्दहरुको सौन्दर्यलाई !

कवि
अक्षरका आत्महरुको चीरहरण गर्छ
अक्षरहरुलाई नाङ्गै पार्छ
र कुण्ठाको सपाट सडकमा हिडाउँछ !

‘एडिक्ट’ छ कबिताको
कविताका नसाहरूमा सिरिन्ज हान्छ
कविताका कलिला हातहरुमा
अँध्यारो सूर्य थमाउँछ

दुर्व्यसनी आँखाहरुमा
रक्सीले मातेको पृथ्वी बोकेर
कविताको अन्तरिक्षमा हराउँछ

नयाँ कवितामा
ककटेल उपदेशहरु वान्ता गर्छ
हल्लाहरुको हाटबजारमा
शब्दहरुको किनबेच गर्छ
समीक्षा गर्न लगाउँछ भक्तहरुलाई
सापटी पुरस्कार थाप्छ
र सृजनशील उचाइको भ्रममा बाँच्छ !

सबैभन्दा बढी
अमूल्य प्रेमका सस्ता कबिताहरु लेख्छ
कि कवितामा
आत्महत्याको बीउ छर्छ
प्रिय छैनन् जीवनका बहुलरङ्गहरु
यस युगको महान कवि
सादा रङ्गहरुको कोलाजभित्र निस्सासिन्छ !

आधुनिक ‘भ्यानगग’ हो
यस युगको महान कवि
सत्ताको समर्पणमा
कविताको कान काट्छ र चढाउँछ
र गर्वले
बुच्चा कविताहरुको पोट्रेट बनाउँछ !

यस युगको महान् कवि
पाठकहरुको हत्या गर्छ
तर कुनै शोकगीत गाउँदैन


****


समय-नासिया

आधी जून मन पराउने अहुनार सम्झिन्छु
कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै
पुरै रात चिप्लिएर जान्छ
र नयाँ बिहान
गहिरो निद्राबाट ब्युँझन्छ
मा बिर्सन्छु समय !

पढिरहेको हुन्छु कुनै किताब
जीवनलाई छोएर बगेको, कुनै नदीजस्तो
या सुनिरहेको हुन्छु कुनै सङ्गीत
बलेंसीमा तप्किरहेको पानीको मिठो आवाजजस्तो
या आँफै संग लाज लागेर
अब कहिल्यै दुख्दिनँ भन्ने झुटा कसम खाइरेहेको हुन्छु
मलाई ख्याल हुदैन समयको …. !

गुम्बामा पर्खिबस्छु
कहिल्यै बत्ति बाल्न नआउने उसलाई
कसैले बालेर गएका बत्तिहरु निभ्छन्
कसैले अर्को बत्ति जलाएर जान्छ
गीत सकिएपछि
क्रमशः बिलाउँदै गएको सङ्गीतको धूनझैं
मेरो आफ्नै धून निभ्दै जान्छ मभित्र

आह !
सालिकझैं टक्क अडिएर समय
मेरो जीवनको चोकमा उभिन्छ

गुम्बामा बत्तिहरु जलिरहन्छन्
गुम्बामा बत्तिहरु निभिरहन्छन्
अँह कदापि जलाउन चाहन्नँ म
निभेको बत्तिजस्तो समय !

यो कस्तो चरम आनन्द ?
आफ्नै जीवनको साँघुरो आँगनमा
सहिद भएको समयको लास हेरिरहेको छु
मानौं मलाई जीवनभरी
समय-नासिया भएको छ
र मानौं मैले
समयलाई चिन्न अस्वीकार गरिदिएको छु
जसरि प्रत्येक जुनेली रातहरुमा
जूनले मलाई चिन्न अस्वीकार गर्छ !


****

कम्प्युटरमा ईश्वर

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !

इन्टरनेटमा
देवीहरुसंग
कामुक लयमा
साइबर सेक्सका कुराहरु गरिरहेका छन् –
ईश्वरहरु !

ईश्वरहरुका हातमा
माउस रिंगिरहेको छ
या रिमोट कन्ट्रोल
या बन्दुक नाचिरहेको छ !

डिजिटल कोठाभित्र
आधुनिक द्रौपदीसरुसँग
ब्लु-फिल्म हेरिरहेका छन् –
ईश्वरहरु !

आधुनिकता प्रति असीम सम्मान र असीमित तृष्णा छ –
ईश्वरहरुको !

सभ्यताप्रति
अपार स्नेह र अपरिमित लालच छ –
ईश्वरहरुको
तर पनि अझै
आधुनिक हुन सकिरहेका छैनन्
स्वर्गको आदिम जङ्गलबाट
बाहिर निस्कन सकिरहेका छैनन्
नीतिशास्त्रको पुस्तकमा जमेको
शताब्दियौं पुरानो धुलो
अझै पनि पुछ्न सकिरहेका छैनन् –
ईश्वरहरु !

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !