संघियता
शासक
तिमीलाई घडि मनपर्छ वा समय ?
शासक
तिमीलाई फूल चाहिन्छ कि माली ?
भन
तिमीलाई
मेरो कविताको
कस्तो हरफ मनपर्छ ?
तिम्रो अनुहारजस्तो
वा
भोको नाङगो नेपालीजस्तो ?
आहाराको खोजीमा
प्रत्येक बिहान बाँसझ्याङबाट
उडिरहेका बकुल्लाझै
दिनहुँ
तेस्रो विश्वको
पासपोर्ट बोकेर
उडिरहेछन् हजारौं मदनहरू
उस्तै छ कर्णालीको कछाड
उस्तै छ कालापहाड जानेका कहानी
चुनावी नारामा
धेरै पटक सुनियो
उस्तादले गाएको
राष्ट्रवादको गीत
र
देखियो धेरै–धेरै
काचुली फेर्नेहरूलाई
सिँहदरबार छेउ
हामीलाई मनपर्देन
कालो जुत्तामा उभिएको मान्छे
कालो घोडा चढेको सालिक
अनि
बिरूपाक्ष भन्दा
कुरूप बनाइएको
कालो काठमाडौं
हामीलाई फर्काइदेउ
हाम्रो सानो संसार
हामी तराइको घुङी र सिपीले बाँचौला
हामी पहाडको चण्डि र भैलीमै रमाउला
हामी कर्णालीको कछाड नै लगाउँला
हामी हाम्रै आँगनको फूल बनौला
हामी हाम्रै माटोको माली बनौला ।
********
‘साक्षी शहर’मा
आँखामा राखेर
उत्साहको झोला
हिँडिरहेको होला
त्यो
सौन्दर्यको शहर……
उस्तै होला
हामीले हिडेको
हङकङ पार्कको बाटो
उस्तै होला
भूँइमा खस्तै गरेको
जोर्डनको साँझ
त्यो
परको समुद्रमा
चलिरहेको होला किस्ती
वा
झन रफ्तारमा
दौडिरहेको होला
मास ट्रान्जीट रेल्वे
यही पल
आँसुको मधुरो मैनमा
छाम्दै हौला तिमी
मर्ने मान्छेको नमर्ने याद
जुन १, २००३
****
गोलो सम्झना
मसँग
गिटारको खोलमात्र छ
गिटार
र
गिटारको आवाज
तिमीसगै कहाँ….. कहाँ……
यो
बर्षको समय
बगिरहेको बाग्मती जस्तो
धमिलो आँसु झँर्दै
परिरहेछ झरी
म
तिम्रो सम्झनाको सप्कोले
ढाकीरहेछु रातो गुलाफ
कालो सेतो खुइलिदै गएको
जेब्रा क्रसमा
एक्लै छु
कुनै क्याफेको
टेवल नं. २ मा
तर
सँगै बसेको छ
तिम्रो सम्झना
कालो कोकको बोतलमा पनि देख्छु
तिम्रै अनुहारको गोरो झझल्को
कहाँ सँगै छैनन् सम्झनाहरु ?
यो सिहदरबारको
फराकिलो गेटदेखि
त्यो सुदूर गाँउको
केरा झ्याङसम्म
अझैपनि
कुनै पहाडि बाटोमा
गुड्ने गाडीको पछाडि झुण्डिएको
गाउँले मान्छे वा उसको छाँयाँसरी
झुण्डीदै झुण्डीदै पछ्याइरहन्छ किन ?
तिम्रो एक अँगालो अनुहार
चित्रकारको आलो पेन्टिङ जस्ता
भर्खरै देखिएको छ
कोपिला इन्द्रेणी
आकाशमा
त्यो इन्द्रेणीमुनि
तिमीलाई सम्झेर लेख्दा
किन काम्छन् मेरा हातहरू
सायद
माइकल ज्याक्सनको
मृत्यूझैं
दुःखे मेरा औंलाहरू
यहिनेर हो यहिनेर
बच्चाले हिर्काएको फुटबलजस्तो
पुग्न नसकेर टाढा
रोकिएको थियो
हाम्रो गोलो यात्रा ।
****
महत्त्व
(मधुपर्क जेठ, २०६९)
बार्दलीमा बसेर
खोकिरहेको बृद्ध मान्छे
सोच्दो हो
किताबका भारी बोकेर
सिमाना काटेका छोराछोरीहरू
धर्तीको
कति नं. अक्षांश र देशान्तरमा
सपनाका गलैचाहरू बुनिरहेका होलान् ?
कुनै अधबैंसेलाई
कतै बसमा, माइक्रोमा, टयाक्सीमा वा
हिँड्दा हिँड्दै शहरका अनाम गल्लीहरूमा
आˆनो यौवनका दिनहरू
फर्केलाझैं बनाइदिने
पुराना दिनका गीतहरू
झट्ट सुन्दा
आˆनो शरीरमा दौडिरहेको रगत पनि रोकेर
दाँज्न मन लाग्दो हो
मध्यान्हपछि
सानो अझ सानो हुँदै
श्रीमतीको निधारमा अट्ने
टीकाजत्रो घाम
स्वार्थी प्रेमीको नाममा
पहाडजत्रो आँसुको ढिक्का झार्दै
त्यो बटुवा
ओझेल पर्दो हो
वारि डाँडाबाट पारि डाँडातिर
भागिरहेको बतासभन्दा छिटो, र
सोच्दो हो
गमलामा संसार देख्नेलाई
मीठो लाग्दैन सायद
जङ्गली फूलको सुवास ।
– विराटनगर
****