http://serialsansar.net/pratap-lama-wins-the-nepali-tara-season-3/मोरङका प्रताप लामा तेस्रो नेपाली ताराहजारौँ सांगीतिक प्रतिस्पर्धिहरूलाई पन्छाउँदै मोरङका प्रताप लामाले नेपाली तारा ३को उपाधि हात पारेका छन्।
काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार आयोजना गरिएको भव्य कार्यक्रम माझ प्रताप लामा कोका–कोला नेपाली तारा ३ का विजेता घोषित भएका हुन्।
प्रतिस्पर्धाको ग्राण्ड फिनालेमा प्रताप लामाले देबेश राई र सुरेस लामालाई पछि पार्दै नेपालको सबैभन्दा प्रतिष्ठित सांगीतिक रियालीटी सो जितेका हुन्। नेपाली ताराका पहिलो र दोस्रो संस्करणका विजेताहरु दीपक लिम्बु र सन्तोष लामाले जजहरू र प्रायोजकको उपस्थितीमा प्रताप लामालाई ट्रफि दिएका थिए। यस्तै विजेता लामालाई एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाज डिस्कोभर बाइकको साँचो हस्तान्तरण गरेका थिए।
यसका साथै प्रताप लामाले २ लाख ५० हजार नगद पुरस्कार पनि प्राप्त गरे। प्रतियोगितामा पहिलो रनर अप भएका देबेस राईले ५० हजार र दोस्रो रनर अप भएका सुरेश लामाले २५ हजार प्राप्त गरे। यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अष्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन्। अन्तिम ५ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गरेका थिए।
आफनो अन्तिम स्टुडियो प्रदर्शन पहिलै दिइसकेको र निर्णायकहरुले उनीहरुलाई अङ्क पनि दिएसकेको भएपनि सोही दिन बिहान १० बजेसम्म भोटिङ भएको थियो र ती भोटहरु निर्णायकहरुले दिएको अङ्कमा जोडिएको थियो।
कार्यक्रममा नेपाली ताराका पहिलो र दोस्रो संस्करणका विजेताहरु दीपक लिम्बु र सन्तोष लामा तथा पहिलो संस्करणका रनर अप धर्मेन्द्र सेवानले पनि आ–आफ्नो प्रस्तुती दिएका थिए।
यसका साथै कार्यक्रमका उत्कृष्ट १० प्रतियोगीहरुले गाएको एल्बम “कोका–कोला नेपाली तारा सिजन ३ टप १०” एल्बम प्रेजेन्टेड बाई रोयल स्ट्याग मेगा म्युजिक पनि विमोचन गरिएको थियो।
साथै प्रतियोगिताका दौरान दर्शकहरुको लागि आयोजना गरिएको गीतकार प्रतियोगीताका विजेताहरु विश्व लिम्बु, नवराज दाहाल र लक्ष्मण बस्नेतलाई पुरस्कृत गरिएको थियो।
नेपाली तारा ३ को यो यात्रा भदौ १७मा धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौँ आएको थियो।
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २२, २०७१ १८:३२:१४