Author Topic: Shyam Bhattarai (श्याम भट्टराई) - Director  (Read 4157 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 730
निर्देशक श्याम भट्टराई : रेखा र रञ्जना दुबैलाई धन्यवाद !
विछोडको पीडा भोग्न चाहन्न, फेरि गल्ती किन गरुँ ?

मानिसको जीवन सधैं एकनाशले कहाँ चल्छ र ? कहिले खुशी, कहिले दुखको परिधिबाट अगाडि बढ्दै सुनौलो घामको आशामा दौडिरहन्छ मानिस । यही भिडमा रुमलिएका एक पात्र हुन्, निर्देशक श्याम भट्टराई ।

सिरियल गहना, जानकीदेखि चलचित्र मौसम निर्माण गर्दा श्यामको जीवन धपक्कै बलेको थियो । तर, आफ्नो करिअरलाई तिलाञ्जली दिँदै अर्कैको जीवनका बारेमा सोच्दा श्यामको जीवनमा थुप्रै पीडाका बाँधहरु फुटेका छन्, आँखामा नरोकिने आँशुका ढिक्काहरु जमेका छन् । तर, पनि आफूलाई तङ्ग्राउँदै श्याम अगाडि बढ्न खोज्दैछन् ।

निर्देशक भट्टराईले आफ्नो जीवनका यस्तै पलहरुलाई अनलाइखबरसँग विस्तृतमा साटेका छन् ।


आफूलाई सम्पादन गर्न नै बिर्सिएँछु


मानिस यस्तो प्राणी हो, जसले खाली अरुलाई मात्र विभिन्न कोणबाट हेर्छ र सच्चिने मौका दिन्छ । तर, अरुलाई सम्पादन गर्दा गर्दै आफूले आफूलाई नै सम्पादन गर्न सक्दैन । सायद, मैले पनि मेरो जीवनलाई यसरी नै सम्पादन गरेको भए, धेरै कुरा बुझ्थें होला, सिक्थें होला ।

सधैं, ठूलै युद्ध जित्नु झै गरेर दौडँदा थुप्रै झमेला र तनाव भोगियो । मलाई लाग्यो, मैले आफ्नो जीवनलाई किन सम्पादन गरिँन ? सायद आफूले आफूलाई सम्पादन गरेर हेरेको भए यस्तो हुँदैनथ्यो होला कि जस्तो लाग्छ ।

प्रेममा दिन नै आनन्द आउँछ 

जब म रञ्जना शर्माको प्रेममा परें, मैले आफ्ना बारेमा त सोच्नै छाडें । उनकै आवश्यकता र ईच्छा पूरा गर्नु आफ्नो सफलता लाग्यो मलाई । उनको सपना नायिका बन्ने थियो, यसका लागि म उनलाई साथ दिन सक्थें । प्रेममा लिनभन्दा दिन नै आनन्द आउँने रहेछ ।

उनी नायिका बन्न चाहन्थिन् । मसँग उनलाई दिनका लागि गाडी, घर केही थिएन । तर, उनले रोजेको सपना पूरा गर्ने सामथ्र्य थियो । चाहे सिरियल ‘जानकी’ होस् या चलचित्र ‘मौसम’, मैले उनकै लागि मात्र सोचें, आफ्ना बारेमा केही सोचिँन । उनको मुस्कान हराउँदा म त्यसलाई खोज्ने कोशिशमा लाग्थें । तर, मेरो मुस्कान हराएको उनले चाल नै पाइनन् । तर, म यो कुरामा कहिल्यै पश्चताप गर्दिन ।

उनको सपना अमेरिका पुग्नु थियो, मैले साथ दिएँ । अब, उनले मेरो साथमा साथ दिनु आवश्यक ठानिनन् भने मेरो भन्नु के छ र ?

सपना टुट्दा बीच बाटोमै हराएको यात्री बनेँ

भक्तराज आचार्यको चर्चित गीत ‘हजार सपनाहरुको माया लागेर आउँछ’ भनेजस्तै भयो, जब रञ्जना मेरो दुनियाँबाट टाढा पुगिन् । ६ महिनापछि एकाएक सम्पर्कबाट टाढा रहँदा मलाई लाग्यो कि मेरा सपनाहरु धुजाधुजा भए । एउटा बतासले मेरो सपनालाई अस्तित्व नै नरहने गरी उडाएर लग्यो ।


जीवन एउटा यात्रामा हिँड्छ भन्ने थियो । यसैका लागि हामीले लामो समयदेखि मिहेनत पनि गरेका थियौं । तर, एकाएक जिन्दगीको गाडीले दुर्घटनाको ट्रयाक समातेपछि मलाई के भयो होला, तपाई आफै अनुमान लगाउनुहोस् ।

उनी जानेबेलामा सल्लाह गरेरै गएकी थिइन् । मेरो याद आउँछ भनेर मेरा तस्वीर, भिडियो र आवाज संकलन गरेर लगेकी थिइन् । तर, मेरो आवाज उनको मोबाइल अमेरिकामा नपुग्दै कुनै कुनामा विलय हुन्छ भन्ने कहिल्यै लागेको थिएन ।

मेरो आवाज अमेरिकामा मात्र होइन, नेपालमा पनि विलय भयो । मैले परिवारलाई के भन्नु ? सोध्ने मानिसलाई के खबर दिनु ? संकटमा रहेँ । जसका लागि यत्रो गरियो, उसैले वीच बाटोमै मुन्टो घुमाउँदा म ६ महिना विक्षिप्त भएँ ।

मेरो गल्ती र दोस्रो बिहे

यदि मैले कुनै गल्ती गरेको छु भने त्यो हामी एकसाथ हुँदा नै गरेको छु । श्रीमतीको चाहना हुन्छ, श्रीमानले काम सकेपछि आफूसँग नै बसोस्, कुरा शेयर गरोस् भन्ने । सायद मैले चलचित्र क्षेत्रमा लागेकाले यो दिन सकिँन होला । म धेरै चलचित्र गर्नुहुँदैन भन्ने स्वभावको थिएँ । तर, रञ्जना हातमा आएका सबै चलचित्र गर्ने, पैसा कमाउने सोचमा थिइन् । यही कुरामा नै हाम्रो विचारमा फरकपन आएको थियो । मैले  बिहे गरेलगत्तै उनलाई कुनै चमत्कार गरेर घर, महल र गाडी दिन सकेको पनि थिइँन । तर, यो कुरामा उनले कहिल्यै गुनासो गरिन् भन्ने मलाई लाग्दैन । जाने बेलामा पनि अंगालो हालेर, रोएर गएको मानिसलाई त्यहाँको हावा, पानी र परिवेशले यसरी एकाएक परिवर्तनको नयाँ दुनियाँमा लैजान्छ भन्ने मलाई लागेको थिएन ।

चार वर्ष त मैले बिहेका बारेमा केही पनि सोचिँन । तर, २ बर्ष अगाडि रञ्जनाजीले श्यामले अब अर्को बिहे गरे हुन्छ भन्नुभएको रहेछ । यसपछि मेरो परिवारबाट पनि खुबै प्रेसर आइरहेको छ, बुढी हजुरआमा नाति खेलाउन चाहनुहुन्छ ।

तर, पनि चाहन्छु एउटा राम्रो जोडी पाउँ । तर, जब आफूसँग आउने जोडीको भावना फरक भयो भने फेरि विछोडको पीडा भोग्न चाहन्न । खै, बिहे गर्न नजुरेको हो कि रञ्जनाको छाँया अझै नसकिएको हो, मलाई थाहा छैन ।

किन टुट्यो सम्बन्ध ?

रञ्जनालाई मैले सिरियलदेखि चलचित्रसम्म ल्याएको हो । तर, उनको चाहना थियो, धेरैभन्दा धेरै चलचित्र खेल्नु । तर, म उहाँलाई गर्व गर्न लायक चलचित्र मात्र खेल्न सुझाव दिन्थें, जसका कारण मौसम चलचित्र बनाएपछि हामीले यो कामबाट ब्रेक लियौं । अब, यो मानिसले मलाई चलचित्र पनि खेल्न दिँदैन भने योसँग किन बसुँ भनेर उहाँ ६ महिनाजति माइत गएर बस्नुभयो । त्यतिबेलादेखि नै हामीमा एक हुन नलेखेको रहेछ कि जस्तो लाग्छ आजभोलि मलाई ।

    रञ्जनासँग टुट्दा मलाई त्यति पीडा भएको थिएन होला, जति पीडा रेखाले दिइन् मलाई

त्यहीबेला नै डिभोर्स भयो भन्ने चर्चा पनि भएको थियो । सायद, डिभोर्सको मुना उहाँको दिमागमा यहीँबाट नै पलाएको हुन सक्छ । पछि उहाँ फेरि फर्कनुभयो र अमेरिका जानुभयो । उहाँलाई पनि लाग्यो होला, श्रीमान-श्रीमती अलग भएर बस्दा मानिसले कसरी खेल्ने मौका पाउँछ भन्ने उहाँले वुझ्नुभयो । उहाँले मलाई एकसाथ हुँदा मानिसले गर्ने व्यवहार र एक्लो हुँदा गर्ने व्यवहार फरक हुने रहेछ भन्नुभएको थियो ।  अमेरिका पुगेपछि अलग हुनुपर्ने कारण केही छ जस्तो लाग्दैन ।

रेखाले दिएको पीडा झनै दर्दनाक

जतिबेला आफ्नै बहिनी बनाएकी रेखा थापाले ममाथि नमीठो  प्रहार गरिन्, महेन्द्रनगरदेखि काठमाण्डौसम्मको यात्रामा मेरा आँशुहरु रोकिएनन् । रञ्जनासँग टुट्दा मलाई त्यति पीडा भएको थिएन होला, जति पीडा रेखाले दिइन् मलाई ।

रेखा थापाजस्तो चर्चित अनुहारले बोल्दा जोकोहीले पनि सुन्छन् । तर, मेरो हराएको आवाज सुन्ने को ? मुड चलेका बेलामा दाइ आउनुहोस् एक प्याक खाउँ भन्नदेखि फेसुबकमा स्टाटस लेख्छु, पठाइदिनुहोस् न समेत भन्थिन् रेखा । मैले रेखाका बारेमा कहिल्यै पनि नकारात्मक सोचिँन । उनी समाजसेवामा लागेर राउटेका बच्चा काठमाण्डौ ल्याउँदा वृत्तचित्र बनाउने म नै  थिएँ ।

हामी राउटेका वच्चा लिन जाँदा रेखाले अब चलचित्र गर्नुपर्छ भनिन् । मैले छवि ओझाको गर्दैछु, तिमीलाई समय दिन सक्दिँन भनें । तर, उनले छविको त जहिले गरे पनि हुन्छ, मेरो गर्नुपर्छ भन्दा मैले छवि ओझालाई केही नसोधी हुन्छ भनें । सायद, त्यो दिन मैले गल्ती गरेंछु भन्ने लाग्छ  ।

रेखाले तपाई अब नमस्ते नेपाल पनि जानुपर्दैन भनिन् । म बहकिएँ र छवि बाको अफिस जान छाडें । जब हामी महेन्द्रनगरमा छायांकनका लागि पुग्यौं, कामका क्रममा हुने कमी कमजोरीमा निर्देशकको हैसियतले मैले औला उठाएँ ।

सायद, यो रेखा र सुदर्शनलाई मन परेन होला । रेखाले एक्कासी मलाई तपाई जानुहोस् भनेर पठाइदिइन् । अब, तपाई आफै भन्नुहोस्, चलचित्र गर्न भनेर महेन्द्रनगर पुगेको निर्देशक, कामको वीचबाटै निस्किँदा मलाई के भयो होला ?

रेखाले विज्ञप्ति निकालेरै मलाई चरित्र नभएको, केटी समात्न गएको, चलचित्र निर्देशन गर्न नसक्ने निर्देशक जस्ता आरोप लगाइन् । तर, खै, अहिलेसम्म पुष्टि गर्न सकेकी छैनन् ।

सुदर्शनलाई भनें- दुईपटक निकाल्ने काम नगर

मलाई लाग्छ हिम्मतवालीबाट मलाई निकाल्नुको पछाडि रेखा थापा र सुदर्शन गौतम दुबैको हात छ । यो कुरा स्वयंम मलाई सुदर्शनले पनि भनेको छ । चलचित्रको सेन्सर मैले रोकिदिँदा रेखाले दाइ तपाईका कारणले मेरो चलचित्र रिलिज हुन पाएन भनिन् ।

   रञ्जनाले मलाई माया, प्रेम र विछोड सिकाएकी छिन् । रेखाले आफ्नो सोच्दा कस्तो परिणाम आउँछ भन्ने सिकाएकी छिन्

म पनि कमलो मनको मानिस, विना कुनै स्वार्थ फुकुवा गरिदिएँ । सुदर्शनले मलाई तपाईले नै ल्याएको मानिस हुँ भन्दै किन मैले यस्तो गरे भनेर गल्ती स्वीकार गरेका छन् । उनले रेखाको गल्तीले गर्दा उनकै पक्ष लिएर मैले तपाईमाथि अन्याय गरें समेत भनेका छन् । यसैले पनि यो कुरामा दुबैजनाको हात थियो भन्ने मलाई लाग्छ ।

सुदर्शनले मलाई तपाईसँग फेरि काम गरेर तपाईको गुन तिर्न चाहन्छु भनेका छन् । मैले पनि ठट्यौली शैलीमा- ‘एउटा निर्देशकलाई दुईपटक निकाल्ने काम नगर’ भनें ।

छवि र रेखासँग काम गर्दाको अनुभव

जब म महेन्द्रनगरबाट फर्किएँ, घरबाहिर आउन सकिँन । जसरी रञ्जना अमेरिका गएपछि घरमै हराएको थिएँ, रेखाले चलचित्रबाट निकाल्दा पनि यस्तै भयो । एउटी कुमारी केटी विना गल्ती बलात्कारको शिकारमा परेजस्तै भयो मलाई ।

यही भीडमा अर्को मानिसको जन्म भयो छवि ओझाको, जसले मलाई यो दिक्दारीको अवस्थाबाट छुटाउनुभयो र नयाँ चलचित्रमा काम गर्ने अवसर दिनुभयो । मलाई त्यतिबेला लाग्यो, सम्भावनाका ढोकाहरु मर्दा रहेनछन् ।

रेखा थापा क्षणिक स्वार्थका निम्ति, चर्चामा आउनका लागि उत्तेजनामा आइहाल्छिन् । आज स्कुप बन्छ, भोलि जे होला भन्ने सोच छ रेखाको । उनी भोलि पनि मानिस चाहिन्छ या चाहिँदैन भन्ने नै सोच्दिनन् । तर, छवि ओझामा यो बानी छैन । उहाँ भोलि पनि यो मानिस मलाई चाहिन्छ भनेर सोच्नुहुन्छ ।

म त रेखाको व्यक्तिगत जीवन दुखी नै देख्छु । मलाई निकालिन्, छविसँग अलग बसिन्, खै कहाँ खुशी छिन् र रेखा ? मलाई चलचित्रबाट निकालेपछि अब रेखा पक्का निर्देशक बनिन् होला भन्ने लागेको थियो । तर, खै उनको नयाँ चलचित्रको निर्देशक त अर्कै छन् । अनि, मलाई निकालेर रेखाले के सिकिन् त । बहिनी अब निर्देशक बनिन् होला भनेको त अर्कै निर्देशक लिएर चलचित्र बनाउँदैछिन् ।

जीवन सिकाउने रञ्जना र रेखा दुबैलाई धन्यवाद

मलाई कोहीसँग पनि रीस राग छैन । रञ्जनाले मलाई माया, प्रेम र विछोड सिकाएकी छिन् । एउटा मानिसले दिएको साथलाई कसरी अरुले बिर्सिर्एर आफ्नो बाटो खोञ्जछन् भन्ने रञ्जनाले सिकाएकी छिन् ।

रेखाले पनि आफ्नो सोच्दा कस्तो परिणाम आउँछ भन्ने सिकाएकी छिन् । मेरो जीवनमा नयाँ किरणहरु कोरिँदैछन् । जीवनमा निभ्न आँटेको दीयो फेरि बलेको छ । अब म जिन्दगीलाई सम्पादन गरेर मात्र पढ्ने गर्छु । सायद, एकपटक गरेको भूल अब मैले दोहोर्‍याउन हुँदैन ।

छ बर्षदेखि शारीरिक सम्बन्धबाट टाढा

म यो कुरा नढाँटी भन्छु, रञ्जनासँग टाढा भएपछि मैले अरु कुनै पनि युवतीलाई छोएको छैन । म ६ बर्षदेखि सेक्सको दुनियाँबाट टाढा छु । तर, शारीरिक आवश्यकता पूरा गर्ने नाउँमा कुनै युवतीसँग  प्रेम भएन भने तपाई भन्नुहोस्, पुरुषले कसरी उसलाई छुन सक्छ ? कसरी सुमसुम्याउन सक्छ ?

मैले प्रेम, विवाह र विछोड सबैको अनुभव लिएको छु । यो मेरा लागि परिचित दुःख हो । मेरा लागि परिचित दुख नै ठीक छ, अपरिचित दुखको भूँवरीमा रुमल्लिएर फेरि म गल्ती किन गरुँ ?

प्रस्तुती : विजय आवाज/अनलाइनखबर

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Shyam Bhattarai (श्याम भट्टराई) - Director
« Reply #1 on: March 15, 2015, 11:16:23 AM »
"हिम्मतवाली"को खास निर्देशक श्याम थिए

http://xnepali.net/movies/nepali-movie-himmatwali/